निर्णय नं. १५९६ - अपुताली

निर्णय नं. १५९६ ने.का.प. २०३९ अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३८ सालको दे.पु.नं. २६२
फैसला भएको मिति : २०३९।१०।६।५ मा
पुनरावेदक : भ.पु.जि.बोडे नछु टोल बस्ने जगतनरसिंह अकल
विरुद्ध
विपक्षी : का.प.जि.वनेपा भोलाखा टोल बस्ने लाटीपुतली श्रेष्ठ
मुद्दा : अपुताली
(१) छोरा पाएको कारणले सो छोरा पाउने सम्बन्धको विषयमा पनि वादीलाई अघि नै थाहा थियो भनी अनुमान गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १४)
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. म.क्षे.अ.को इन्साफमा चित्त बुझेन भनी पुनरावेदक वादी जगतनरसिंको पर्न आएको पुनरावेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा यस प्रकार छ :
२. मेरा बाबु आमाको छोरा नभई म एउटै छोरी भएको, बाबु आमा परलोक भएको र म विवाह नभई बसेकीलाई कान्छा वाबुले निकाले भनी पुतलीले मेरा उपर उजुर गरेकीमा दाजु मरेपछि भाउजु भतिजी यो वादीसँग आई बसेकी हुँदा अपुताली मेरो हक भन्ने मेरो जिकिर भएकोमा सुरु र अञ्चल अदालतबाट म भिन्न भई सकेकोले सँगबस्ने छोरीकै हक हुन्छ भनी छिनियो र यहि बीचमा भतिजी लाटी पुतली पुड्केसँग पोइल गइछन् भन्ने थाहा हुन आयो र पोइल गएकी छोरीले अपुताली खानपाउने होइन भनी भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा इन्साफ अञ्चल अदालतकै मनासिव छ, पोइल गएका कुरामा नालेस परेको बखत ठहरे बमोजिम हुन्छ भनी फैसला भएको । निज प्र.पुतलीका बाबुको अंशको खेत भिनाजु नाताको विपक्षी तेजकृष्णलाई कमाउन दिई राखेको सो, जग्गा र स्वबासी घर समेतमा आधा मेरो हुने ऐन रहेछ छुट्याई देउ भनी भतिजी र उसको लोग्ने जग्गा कमाउने तेजकृष्ण समेतलाई एकैठाउँमा भेला गराई भन्दा जग्गा त परै रहोस घरबाट पनि उठाउँछौं भनी जवाफ गरेको र पुतली पुड्केसँग पोइल गई भन्ने ०२३ सालमा छोरा पाएको ०२३ साल श्रावण २ गतेको गोरखापत्रबाट थाहा भएको र अपुतालीमा दावा गर्ने म्याद ३ बर्ष भित्रै नालेस गर्न आएको छु । दाजु धिर्जनरसिंहको अपुतालीमा छोरी पुतली र भाइ म दुई जनाले आधी आधी व्यहोर्न पाउनेमा जम्मै आफैले मात्र खान लागेकोले विपक्षीहरुलाई सजाय गरी दाजुका हकको बोडे नछुटोलको पूर्व धर्मनारानको घर, दक्षिण पोखरी, पश्चिम नन्दकुमार र खेत उत्तर बाटो, यति ४ किल्ला भित्रको २ नाले ३१/२ कबले झिंगटी छाना भएको घर पुरानो भई भत्के बिग्रेको मोल रु.४०००।–मा २०००।–पर्ने घर आधा र गुठि अधिनस्थ भत्केश्वर गुठीको वार्ड नं.१ वार्ड नं.६ निरवाराही मौजाबाट ३१०–३१३–३३१ कित्ता गराई नपाएको छ भन्ने बुझिएको दर्तापूर्जा भई नसकेकोले हालको नाप ठहर भन्न नसके तापनि उक्त ५ पाई ।।। जग्गामा ३ भाग लागेकोमा धिर्जमानको १।।६। मध्येबाट आधि मोल रु.२०००।–जाने खेत ।।।६।। विपक्षीले दावा खिचोला गर्न नपाउने गराई पाउँ भन्ने समेत व्यहोराको जगतनरसिंहको फिराद ।
३. मेरा बाबुको म एक छोरी बाहेक अरु सन्तान नभएको र बाबु आमा दुवै परलोक भएको काजकृया माहिला बाबु हर्षनरसिंहबाट भएको र मलाई पनि निजै हर्षनारायणले नै पालनपोषण गर्दै आउनु भएको । उहाँ पनि ०२५ सालमा परलोक भई फिराद दावी बमोजिम पोइल गई छोरा पाएको भए तापनि लोग्नेले मलाई घरमा लान नसक्ने भएकोले माहिला बाबुको छोरा हेमबहादुरका आश्रयमा बसी आएको छु । आजसम्म पालनपोषण गरी आएको छ, आमा बाबुले मलाई दिनु भएको बकसपत्रबाट मेरो हक भएको घर जग्गा जमीन मध्ये बोडे नछुटोलको घर रु.९०००।–मा तुलसी साहूलाई राजीनामा गरी दिई सकेको छु । बाँकी जग्गा तेजकृष्णले कमाई आएको छ । विपक्षको मात्र ३ पुस्ता भित्रको हकवाला नभई हेमबहादुर पनि भएकोले मलाई दुःख दिई आएका र विपक्षीका दावी अनुसार विपक्षी मात्र नपाउने भन्ने समेत लाटी पुतलीको प्रतिउत्तरपत्र ।
४. लाटी पुतलीको बाबु आमा परलोक भएकोले काजकृया निजका माहिला बाबु हर्षनरसिं तर्फबाट भएको र हर्षनरसिंले पुतलीलाई बनेपामा दिई पालन पोषण गर्दै आउनु भएको, निज पछि निजको छोरा हेमबहादुरले गरी आउनु भएको । पुतली पोइल गई छोरा पाउनु भएको भए पनि हेमबहादुरका साथमै बसी पालनपोषण गर्दै आउनु भएको । अपुतालीको २ नं.अनुसार विपक्षको मात्र ३ पुस्ताको हकवाला नभई हेमबहादुर पनि हो । मेरो नाउँमा फिराद गर्न उपयुक्त छैन भन्ने समेत तेजकृष्णको प्रतिउत्तरपत्र ।
५. लाटी पुतलीको बाबु धिर्जनरसिं मेरा ३ पुस्ताको ठूलो बाबु हो । प्र.लाई बाबुले र मैले आजसम्म पालनपोषण गरी खान लाउन समेत दिई राखेको छ । वादीको मात्र हक होइन भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएको हेमबहादुरको बयान ।
६. प्र.पुड्के श्रेष्ठका नाउँको म्याद टोल पनि नमिलेको र हेरा बैद्य भन्ने पनि नभएका, निजको छोरा पुड्के भन्ने सम्म लेखिएको निजको नाउँ र वडा नं.समेत किटानसाथ लेखिआएका बखत तामेल गरी पठाउने गरी मुचुल्का भई का.प.जि.अ.बाट चलानी साथ आएको रहेछ ।
७. यसमा अपुतालीका १ नं.बमोजिम धिर्जनरसिंको वादी जगतनरसिंह ३ पुस्ता भित्रको भाइ भएको, पुतली पोइल गई सकेकोले धिर्जनरसिंको अपुतालीमा अपुतालीका २ नं.ले आधा सम्म वादीले पाउने आधा २ पुस्ताभित्रको हकवालाले पाउने । प्र.मध्ये हेमबहादुर पनि धिर्जनरसिंको ३ पुस्ता भित्रको हकवाला देखिन्छ । तापनि, निजको उजूर परेको नदेखिनाले वादीको आधा अपुतालीमा प्रतिवादीले खिचोला गरेको ठर्हछ भन्ने समेत व्यहोराको ०२९।१।६।३ को भक्तपुर जिल्ला अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको हेमबहादुर तेजकृष्णको बाग्मती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
९. प्रमाणको जग्गा धनमाल दिलाई पाउँ भन्ने मुद्दामा प्रतिउत्तरपत्रमा पोइल गएको भन्ने जिकिर लिएकोले अपुताली आधा दिलाउने ठहर गरेको सुरुको इन्साफसँग यो बेञ्च सहमत हुन सकेन र पोइल गएको भन्ने कुरा यथासमय थाहा जनक भएको प्रष्ट देखिएको, छोरा जन्मेको मितिले ३ बर्ष भित्रको म्याद कायम गरी निर्णय गरेको मिलेन । ०२२ सालमै पोइल गएको भन्ने कुरा खोलाई र छोरा जन्मेको भन्ने लेखाई निजबाट ०२५।१२।६ को नालेसबाट म्याद भित्रको भनी निर्णय गर्न नमिल्ने हुँदा खारेज गरी दिने ठर्हछ भन्ने समेत व्यहोराको बाग्मती अञ्चल अदालतको फैसला ।
१०. इन्साफ जाँच गरी पाउँ भनी जगतनरसिंका हकमा ज्ञानमायाँले चढाएको निवेदनमा इन्साफ जाँच गरी दिनु भन्ने बक्स भएका प्रमाङ्गी बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतबाट हेरिएको रहेछ ।
११. इन्साफ बाग्मती अञ्चल अदालतको मनासिव ठर्हछ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।१।११।४ को फैसला ।
१२. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी जगतनरसिंको परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई देवानी पुनरावेदनमा दर्ता गर्नु यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
१३. अपुताली परेको मितिले ३ बर्ष भित्र फिराद परेको नदेखिनाले वादी दावी खारेज हुने ठर्हछ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मिलेको छ, छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१४. मिसिल संलग्न रहेका कागजात हेर्दा वादी हकदार भएको कुरामा विवाद परेको देखिन्न । वादी भक्तपुर जिल्ला बोडे बस्ने गरेको प्रतिवादी बनेपा बस्ने गरेको मिसिल संलग्न कागजातबाट देखिन आउँछ । यसबाट वादी प्रतिवादी एकै ठाउँमा रहे बसेको देखिन आउँदैन । लाटी पुतली ०२३ साल श्रावण २ गतेको गोरखापत्रमा प्रकाशित खबर अनुसार पोइल गएको कुरा थाहा पाई प्रस्तुत फिराद ०२५।१२।६।४ मा परेको देखिन्छ । सो गोरखापत्रमा प्रकाशित भएको मितिले ३ बर्ष भित्र यो फिराद परेको देखिन्छ । यो फिरादपत्रमा ०२३ साल आषाढमा लाटीले छोरा पाएको कारणले लाटी उक्त गोरखापत्रमा प्रकाशित सूचना भन्दा अघि नै पोइल गएको कुरा माथि उल्लेख भएबमोजिम वादीलाई थाहा भएको देखिन आउँदैन । ०२३ साल आषाढमा लाटीले छोरा पाएको कुरा वादीलाई थाहा भए पनि सो छोरा पाउनु भन्दा अघी लाटी पुतली पोइल गएको सम्बन्धमा वादीलाई थाहा भएको देखिन्न । यस्तो स्थितिमा छोरा पाएको कारणले सो छोरा पाउने सम्बन्धको विषयमा पनि वादीलाई अघि नै थाहा थियो भनी अनुमान गर्न मिल्ने देखिन्न । तसर्थ, वादी दावी अपुतालीका २० नं.मा उल्लेख भएको म्याद ३ बर्षभित्र नै यो फिराद परेको देखिन्छ ।
१५. माथि उल्लेख भएबमोजिम प्रस्तुत फिराद म्याद भित्र परेको देखिनाले तत्कालिन अपुतालीका २ नं.मा उल्लेख भए अनुसार वादी दावी बमोजिम २ भागको १ भाग अपुताली पुनरावेदन जिकिर बमोजिम वादीले पाउने ठर्हछ । मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय उल्टी हुने ठर्हछ । सो ठहर्नाले अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम बाग्मती अञ्चल अदालतका ०३२।२।४ का फैसलाले वादी जगतनरसिंबाट प्रतिवादी लाटी पुतलीलाई रु.११।२८ र प्र.तेजकृष्णलाई समेत ११।२७ कोर्टफी भराई दिने गरेकोमा अब सो बमोजिम गर्नु पर्दैन । सो को सम्पूर्ण लगत काटी दिनु भनी का.जि.अ.मा लगत दिनु..........................................................................१
मिसिल नियमानुसार गरी बुझाई दिनु..........................................२
म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०३९ साल माघ ६ गते रोज ५ शुभम् ।