शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १५९८ - जग्गा खिचोला

भाग: २४ साल: २०३९ महिना: माघ अंक: १०

निर्णय नं. १५९८     ने.का.प. २०३९ अङ्क १०

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३६ सालको देवानी विविध नं. ५६

सम्वत् २०३७ सालको देवानी पुनरावेदन नं. २८१

सम्वत् २०३८ सालको देवानी विविध नं. १६५

फैसला भएको मिति  : २०३९।१०।२०।५ मा

निवेदक/प्रतिवादी : जिल्ला चितवन भरतपुर गा.पं.वार्ड नं.११ बस्ने रामबहादुर गुरुङ्ग

विरुद्ध

विपक्षी/वादी : जि.चितवन बसन्तपुर बस्ने बोधकुमारी घिमिरे समेत, चितवन जिल्ला भरतपुर   गा.पं.वार्ड नं.३ नौरंगे बस्ने शनिल्चरा दराई

पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने ठूला छन्दु दराई

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.वडा नं.४ वसन्तपुर बस्ने बाघकुमारी घिमिरे समेत

निवेदक/वादी : ऐ.ऐ.का.न.पं.वार्ड नं.१२ बसन्तपुर बस्ने चेतकुमारी थापा समेत

विरुद्ध

विपक्षी/प्रतिवादी     : ऐ.ऐ.गोद्राङ्ग बस्ने मोहनबहादुर थापा समेत

मुद्दा : जग्गा खिचोला

(१)                जग्गामा खिचोला मुद्दा गरी खिचोला गरेको ठहराउन नसकी डिसमिस फैसला भैसकेको कुरामा अब फेरि सोही जग्गामा खिचोला मुद्दा दिई खिचोला कायम गराउन सक्ने अवस्था रहँदैन।

(प्रकरण नं. २७)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द  रेग्मी

उल्लिखित मुद्दा :

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन इन्साफ जाँच गरी पाउँ भनी चढाएको विन्तिपत्रमा इन्साफ जाँची कानून बमोजिम छिनी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा अनुमती पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त भई विविध र पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ :

२.    २०१९ सालमा राप्ती दुन विकासबाट जग्गा वितरण हुदाँ म चेतकुमारीको छोराका नाममा जग्गा विगाहा ३।७ मा बोधकुमारीको पतिका नाममा विगाहा ४।२ समेतको पूर्जी दिएकाले आवाद गरी ०२४ साल सम्म भोगचलन गरी आएको । मोहनबहादुर थापाले ०२५ सालको बर्षे बाली खाई दिएकाले नारायणी अञ्चलाधीशज्यूसँग कराउँदा बोर्ड गठन भई सरजमिन समेत गरी चेतकुमारी तर्फ ७ कठ्ठा बोधकुमारीतर्फ २ कठ्ठा बाहेक ७ विगाहा जवरजस्ती खाएकोमा बोर्डको ठहर अनुसार मोहनबहादुरतर्फबाट धान बुझाएको श्रेस्ता गाउँ पञ्चायतमा छ । ०२६ सालको बर्षे बाली खनजोत गर्न जाँदा हुल गरी गोरखबहादुरको १८ कठ्ठा जमीन जवरजस्ती कब्जा गर्नु भएको छ। त्यसकारण जग्गाको मोल २००००।को कोर्टफी हाल लिनु पर्दैन । सदरको अदालतबाट ठाडै बुझी दिनु भन्ने प्रमांगी पाउँ । जग्गा म चेतकुमारीको छोरा श्यामबहादुरका नाउँमा छ तापनि निज रोगी हुनाले म बुढीयाले चल्नु परेको म बोधकुमारीको पति तप्तबहादुरका नाममा जग्गा छ तापनि पति पहाड घरमा सौतासँग बसेका हुनाले मैले नै सबकुछ गर्न परेको छ । नाती गोरखबहादुरको हकमा कोर्टफी राखी मुद्दा दायर गर्ने छन तापनि हाम्रै कारणबाट यती भएकोले ठाडै बुझी पाउने हामीलाई नै प्रतिनिधि गरेको हुनाले निजका हकमा समेत विन्ती चढाउन आएका छौं भन्ने चेतकुमारी १, बोधकुमारी १ समेतको निवेदनमा ऐनले उजुर लाग्ने कुरामा ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने हु.प्र.सहितको निवेदन रहेछ ।

३.    सो निवदेदनमा बक्स भएका हु.प्र.अनुसार बयान हुँदा मलाई वारेस दिने चेतकुमारी, बोधकुमारी, गोरखबहादुरको जग्गा हो । रा.दु.वि.बाट ०१९।५।४ मा पाएको जग्गा विगाहा ३।७। चेतकुमारीका छोरा श्यामबहादुरको हो । हेरविचार बाली लगाउने चेतकुमारी हुँदा निजले भोग चलन गरी आएका छन् । तप्तबहादुरले पाएको जग्गा विगाहा ४।२ बोधकुमारीको हुँदा उक्त जग्गामध्ये ४ विगाहा र गोरखाबहादुरको १८ कठ्ठा समेत मोल रु. २००००।जाने जग्गा विगाहा ७।।।३ अन्यायवालाहरुले जवरजस्ती खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत वा.तप्तबहादुर खत्री क्षेत्रीको बयान रहेछ ।

४.    विपक्षका अरुको नाम छैन । बयानमा विपक्षहरु भनी मोहनबहादुर समेत ११ जनाको नाम उल्लेख छ । श्यामबहादुर रोगी भन्ने उल्लेख छ, व्यथा उल्लेख छैन  । तप्तबहादुरले वतन लेख्दा चितवनको लेखेबाट पहाडको वतन नलेखेको हुँदा मुद्दा दायर हुन नसक्ने । बसन्तपुर मौजाका जग्गामात्र भनी जग्गाको कुनै ४ किल्ला कित्ता नम्बर नलेखेको, कुन जग्गामा वादीले दावी गरेको हो नखुलेको, यहि जग्गा भनी दावी नै नभएको, श्यामबहादुर विरामी नभएको र तप्तबहादुर भिन्न भएको हुँदा दर्तावाला बाहेक अरुको हक नपुग्ने । गोरखबहादुरको १८ कठ्ठा जग्गा रामबहादुरले मोहियानीमा कमाएको हुँदा मोहीका नाउँमा खिचोला मुद्दा लाग्न नसक्ने हुँदा खारेज हुन पर्ने । बोधकुमारीले तप्तबहादुरका नाउँको जग्गा घरबास गरी भोग गरी आएको र चेतकुमारीको छोरा श्यामबहादुरले नौरंगी बस्ने देवीप्रसाद धिताललाई १ विगाहा  ऐ.बस्ने छविरमण धिताललाई ५ कठ्ठा घरायसमा छोडपत्र गरी विक्री गरेको । खरीद गर्नेले भोग गरी आएका छन्  । केही जग्गा हाल पनि श्यामबहादुर, चेतकुमारीले भोग चलन बसोबास गरी आएका छन् । सो बाहेक अन्त निजहरुले जमीन भोगेको छैन । हामीले विपक्षहरुले घरबास गरी बसेका बेचेका जग्गा हामीले दावा नलिई छोडी सकेको गोरखबहादुरले मोहियानीमा दिएका बाहेक जग्गा अन्त कहाँ छ थाहासम्म पनि नहुनाले घर खिचोला गरेको छैन भन्ने समेत सनिश्चरा दराई समेतको वा.रविचन्द्रको बयान रहेछ ।

५.    कुन जग्गामा खिचोला गरे भनेको जग्गाको किल्ला कित्ता नम्बर नभएकोले वादी दायर हुन नपर्ने । श्यामबहादुर विरामी नभएको तप्तबहादुर भिन्न बस्नु नभएकोले विपक्षीहरुको हक नपुग्ने भएकोले अ.बं.८२ नं.ले हक नपुग्नेको उजुरी हुँदा खारेज हुन पर्ने । धेरै जनाउपर अ.बं.७२ नं.उनुसार एउटै उजुर नलाग्ने । नापी नक्सा हुँदा भरतपुर गा.पं.वडा नं.३ (क) नक्साको कि.नं.१४१, १५५, १५६, १५७, १५९, १६०, १६१, १६२ कित्तामा श्यामबहादुरको आमा चेतकुमारीको दावा कि.नं.१६३, १६५, १६६, १७८, १८२ को जग्गामा बोधकुमारी समेतले दावा लिई झगडा जनाएको सो कित्ताहरुमा मेरो दावी जिकिर छैन । उक्त जग्गा मेरो हक भोगको नभएकोले मैले खिचोला आदी गरेको छैन भन्ने समेत मोहनबहादुरको वा.रविचन्द्रको बयान रहेछ ।

६.    प्रतिवादी रामबहादुरले सुरु म्याद नै गुजारी बसेको रहेछ ।

७.    वादी बोधकुमारीको अर्का जग्गामा उजूर परेको मैले वारेस भई बयान गरेको सो जग्गा मेरो नाममा दर्ता भए पनि अंशबाट बोधकुमारीको भोग भएकोले निजले हारजित गरेमा मेरो मञ्जुर छ भन्ने समेत व्यहोराको तप्तबहादुरको बयान रहेछ ।

८.    श्यामबहादुरले म्यादै गुजारी बसेको रहेछ ।

९.    वादी चेतकुमारीको हकमा अ.बं.८२ नं.बमोजिम हक बेहक गर्न नमिल्ने हुँदा खारेज गरी दिने र गोरखबहादुरको हकमा जग्गा गोरखबहादुरकै दिएको र सो जग्गामा मोहीयानी छ, छैन यस अदालतबाट विचार गर्न नपर्ने । मोहियानीको निर्णय नभै जग्गाखिचोलामा निर्णय गर्ननमिल्ने । बोधकुमारीको हकमा झगडा जनिएको कि.नं.१६५, १६६, १७८ समेतको जग्गा वादी बोधकुमारीको अंशमा परी सु.बे.तप्तबहादुरको नामको दर्ता भित्रको ठर्हछ । प्रतिवादीले खिचोला गरेको ठर्हछ भन्ने समेत चितवन जिल्ला अदालतको ०३१।१।२९।१ को फैसला ।

१०.    सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको चेतकुमारी बोधकुमारी गोरखबहादुरको संयुक्त पुनरावेदन ।

११.    वादीका जग्गामा खिचोला गरेको ठहराई गरेका इन्साफमा चित्त बुझेन भन्ने शनिश्चरा दराई १, छन्दु दराईको संयुक्त पुनरावेदन जिकिर रहेछ ।

१२.   वादीले दावी गरेका जग्गाको ४ किल्ला खुलेको नहुँदा वादीबाट कागज गराई खुलाई चेतकुमारीको हकमा चाँडो कानून बमोजिम कारवाही किनारा गरी पठाई दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको आदेश ।

१३.   मैले वादीमा दावी गरेको जग्गाको हाल सर्भे नापीबाट कि.नं.१६९ को जग्गा विगाहा ०१४१५, कि.नं.१६८ को ०१०, कि.नं.१६० को ०, कि.नं.१५९ को ०१६, कि.नं.१५८ को ज.वि.०१३, कि.नं.१६५ को ०११, कि.नं.१५७ को ०१२, कि.नं.१५५ को ०१६ र कि.नं.१७० को उत्तर भाग र कि.नं.१५८ को दक्षिण भाग गरी १४ वटा कित्ता कटाएको छ । कि.नं.१५२ मा ०१०० समेत मेरो दावी छ । सो जग्गाको चौहद्धी पूर्व वन डिमार्केसन पश्चिमको कि.नं.१७१, १७२ । उक्त कि.नं.१५२ को उत्तर भागको दक्षिण कि.नं.१६३, १६४, १६६, १६७ र १७० को दक्षिण भागमा परेको भन्ने समेत चेतकुमारीको बयान रहेछ ।

१४.   भरतपुर गा.पं..वार्ड नं.३ नौरंगेको वार्ड नं.३ (क) को कि.नं.१६९ को नापीमा ज.वि.१४१५/४ जग्गा मेरो भागको हो । सो जग्गा ऐलानी ढड्डा परेको हुनाले ०१९ सालदेखि मैले मुढाबुट्टा फाँडी आवाद गरी भू.सु.लागू भएपछि सो जग्गाको क्षेत्रफल १० कठ्ठा कायम गरी ०२५ सालमा जोताहाको निस्सा प्राप्त गरें । चेतकुमारीको छोरा श्यामबहादुरले पूर्जी पाएको भनेको जग्गा यो होइन । चेतकुमारी र श्यामबहादुरले आजतक जग्गा भोग चलन गर्न आएको छैन । सर्भे हुँदा मेरो नाउँमा दर्ता छ भन्ने समेत धनबहादुरको बयान रहेछ ।

१५.   कि.नं.१६९ को जग्गा ०१४१५ मेरो हक भोगको हो । सो, जग्गा तिलकबहादुरले खिचोला गरेकाले उजुर गरेका थिए । सर्भेनापी आएका बखत तिलकबहादुरले भरतपुर गा.पं.वार्ड नं.३ बस्ने आफ्ना छोरा धनबहादुरका नाममा दर्ता गराउनु भयो । कि.नं.१६८ को ०१० जग्गा दसै दराईले खानु भएको छ । कि.नं.१६० को ०१ दसै दराइले खानु भएको, कि.नं.१५९ को ०१६ विष्णुबहादुरले खानु भएको, कि.नं.१६५ को ०११ ठूलो छन्दु दराईले, कि.नं.१५८ को ज.वि.०१३ जग्गा चन्द्रकुमारीले, कि.नं.१५७ को ०१२ पनि चन्द्रकुमारीले, कि.नं.१५५ को ०१६ जग्गा उजुर पर्दाको बखत निज चन्द्रकुमारीले खानु भएको पछिबाट विक्री हुँदा नन्दमायाँ क्षेत्रीनीले खानु भएको, कि.नं.१७० मध्येको ०० जग्गा तिलकबहादुरले खानु भएको, सर्भे नापी हुँदा आफ्नो छोरा रामबहादुरलाई गवाही खान दिनु भएको छ । कि.नं.१५२ को जग्गा मध्ये चन्द्रकुमारीले ०७ जग्गा आफ्नो साविक १५२३ मा गवाही नापी गराई खानु भएको हो भन्ने समेत चेतकुमारीको वा.बोधकुमारीको बयान रहेछ ।

१६.    म दसाई दराईले कि.नं.१६८ र १६० र म विष्णुबहादुरले ०१९ सालदेखि ऐलानी दर्ता गरी ०२७ सालको सर्भेमा वार्ड नं.३ (क) कि.नं.१५९ मा नापी भएको छ र म तिलकबहादुुरले आफ्नो छोराहरुका नाममा नापी दर्तागराएको होइन । म रामबहादुरले कि.नं.१२५ र १२६ जग्गा विगाहा १९ जग्गा ०२६।२।१२ मा चितवन मालबाट विष्णुदेवी ढकालसँग राजीनामा गरी भोगी आएका र ०२७ सालको सर्भे नापीमा सोही जग्गा वार्ड नं.३ (क) कि.नं.१७० नापी दर्ता भई भोग गरी आएको छु । म धनबहादुरले ०२५।२।२० मा जोताह अस्थाई निस्सा पाएको छु । ०२७ सालको नापीमा मेरो नाममा वार्ड नं.३ (क) कि.नं.१६९ मा नापी भएको छ । म चन्द्रकुमारी मेरो खसम इश्वरीप्रसादले रा.दु.वि.वाट कि.नं. ११५, ११३, १८३ र १०३ को चलानी पूर्जि पाउनु भई सोही नाताले भोगी आएको वार्ड नं.३ (क) कि.नं.१५२, १५५, १५७ र १५८ समेतमा पछि पर्न गएको नापी भएको छ । सोही कित्ता मध्ये पनि कैले कुन कित्ता र कैले कुन कित्तामा दावा लिन आउनु भएको छ भन्ने समेत चन्द्रकुमारीको बयान रहेछ ।

१७.   वादी चेतकुमारीको विवादका कि.न.१६५ को ज.वि.०११ मेरो हकका हो । ठूलो छन्दुले खाएको छ भन्ने कुरा झुठ्ठा हो । सविक कि.नं.१२२ को कित्ताको ०१९।५।४ मा रा.दु.वि.बाट मलाई पूर्जी प्राप्त भई नापीमा कि.नं.१६५ मा कित्ता काटिएको मेरो जमीन हो । बादी चेतकुमारीले मेरो हक स्वामित्वको हो भनी दावा लिन सक्नु भएको छैन । यो कि.न.१६५ को जमीनलाई विपक्ष चेतकुमारीको छोरी बोधकुमारीले मेरो भनी दावा गर्नु भएकोमा निज बोधकुमारीको ठहराई ०३१।१।२९ मा फैसला भए तापनि सो इन्साफमा हाम्रो चित्त नबुझी म.क्षे.अ.मा पुनरावेदन परी रहेको छ । चेतकुमारीले ०३४।८।१९ गते कागज गर्दा मेरो हो भनी दावी लिनु भएको, चेतकुमारीले छोरी बोधकुमारीलाई वारेस  दिनु भएको, निज बोधकुमारीले कागज गर्दा कि.नं.१६५ को कित्ता चेतकुमारीको हो भन्नु भएको देखियो । यी आमा छोरी मिली मेरो जग्गा खाने झुठ्ठा षडयन्त्र गरेको हो भन्ने समेत छन्दु दराईको वा.रामचन्द्रको बयान रहेछ ।

१८.   वादी दावाका जग्गा मैले लिएको छैन । भरतपुर पञ्चायत वार्ड नं.रु.३ कित्ता नं.१५५ को जग्गा कठ्ठा ०१४० मैले भोगी आएको छु । ०३०।०३१ सालतिर मैले टंके कुमालसंग रु.५०००। मा खरीद रसिद गरी राजीनामा पास गराई लिएको हो । मैले चन्द्रकुमारीसँग लिएको छैन । चन्द्रकुमारीसँग लिएको भन्ने बोधकुमारीको बयान झुठ्ठो हो । सो जग्गाका जग्गाधनी प्रमणपूर्जा मसँग छ भन्ने समेत नन्दमायाँ श्रेष्ठनीको बयान रहेछ ।

१९.    वादीले वादा गरेको कि.नं.१६५ को जग्गा मिसिल सामेल रहेको ०३१।१।२९ को यस अदालतको फैसलाबाट बोधकुमारीको ठहरी सकेको देखिनाले सो जग्गामा वादी चेतकुमारीको दावा पुग्न नसक्ने, अन्य दावाको कि.नं.१६९, १६८, १५९, १२८, १५७, १५५, १७० । १५२ को जग्गामा वादी दावा अनुसार प्रतिवादीहरुले खिचोला गरेको ठर्हछ भन्ने समेत चितवन जिल्ला अदालतको ०३५।१।२४ को फैसला रहेछ ।

२०    सो फैसला उपर चित्त बुझेन भन्ने तिलकबहादुर समेत जना ५ को संयुक्त र सनिश्चरे दराई समेतको पुनरावेदन जिकिर ।

२१.   जग्गा प्राप्त गरेतर्फ विवाद उठेको छैन । श्यामबहादुरले  सनिश्चरा दराई समेत उपर खिचोला मुद्दा दायर गरी ०२८ सालमा डिसमिस गराएको । छोराले खिचोला कामय गराउन नसकेको सोही जग्गाका हक कायम गराउन चेतकुमारीले सक्नु भएन । तसर्थ, चेतकुमारीको दावी पुग्न सक्दैन । बोधकुमारीको हकमा तप्तबहादुरले जग्गा प्राप्त गरेको तिरो तिरान गरेको देखिन्छ । कि.नं.१६५, १६६, १७८ मा प्रतिवादीले सबूत गुजार्न सकेको छैन । तसर्थ ०३१।१।२९ को सुरु चितवन जिल्ला अदालतको इन्साफ मनासिव ठर्हछ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।३।१ को फैसला रहेछ ।

२२.   मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी सनिश्चरा दराई समेतले दिएको निवेदनमा प्रतिवादीहरुले आफ्नो जग्गाको प्रष्ट सबूत गुजार्न नसकेका वादीले आफ्नो दावीको प्रमाण गुजार्न पर्ने व्यवस्था भएकोले म.क्षे.अ.को फैसलामा कानूनी त्रुटि गरेको मान्नु पर्ने हुँदा निवेदकलाई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को दपदफा (५) को खण्ड (ख) बमोजिमको पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत  डिभिजनबेञ्चको ०३७।११।६।३ को आदेश ।

२३.   मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर इन्साफ जाँच गरी पाउँ भनी वादी बोधकुमारी १ चेतकुमारी १ समेतले संयुक्त र प्र.रामबहादुर गुरुङ्गले समेत चढाएको निवेदनमा इन्साफ जाँची कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई आएको रहेछ ।

२४.   निवेदक वादी वा.समेतको बोधकुमारी घिमिरे निवेदक प्रतिवादी रामबहादुर गुरुङ्ग तथा पुनरावेदक प्रतिवादी शनिश्चरा दराई समेतको वारिस गणेशकुमार श्रेष्ठ रोहवरमा रही पेश हुन आएकोमा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले उजुरी निवेदनमा दराईहरुले अन्याय गरे भन्ने उल्लेख छैन । बयानमा आएर मात्र शनिश्चरा दराई ठूलो छन्दु दराईसमेतको नाम उल्लेख गरेको छ । दराईहरुले कुन जग्गा खिचोला गरे बयानमा खुल्दैन । जग्गाको प्रमाण चलनी पूर्जि पेश गरेको छ । कि.नं.१६५ र १६६ को जग्गा बोधकुमारीको ठहराएको निर्णय मिलेको छैन, बदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भई आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको छ छैन, सो कुराको निर्णय दिनु परेको छ ।

२५.   यसमा निर्णयतर्फ हेर्दा राप्ती दुन विकासबाट श्यामबहादुरले प्राप्त गरेको जग्गामा निजको आमा चेतकुमारी थापाको र तप्तबहादुरले प्राप्त गरेको जग्गामा निजको श्रीमती बोधकुमारी घिमिरेको उजुरीबाट कारवाई चलेको देखिन्छ । जग्गा प्राप्त गर्दा पाएको चलनी पूर्जि भनी पेश गरेकोमा श्यामबहादुरले कि.नं.७५, १२८ को ज.वि.३० तप्तबहादुरले कि.नं.१२७ को ज.वि.४२ प्राप्त गरेको भन्ने उल्लेख भएको पाइन्छ ।

२६.   चेतकुमारीको दावीतर्फ हेर्दा निजको छोरा श्यामबहादुरले प्राप्त गरेको कि.नं.७५, १२८ को जग्गा मध्ये कि.नं.७५ को ज.वि.२० मा विपक्षी इनरी ठागु गरुङ्गहरुले र कि.नं.१२८ को ज.वि.१० मा विपक्षी शनिश्चरा दरैले खिचोला गरे भनी श्यामबहादुरले इश्वरीप्रसाद शर्मा ठागु गुरुङ्ग र शनिश्चरा दराई समेत उपर २०२०।८।१७ मा फिराद गरेको मुद्दामा खिचोला कायम गराउन नसकी वादीले ०२०।११।२१ को तारेख गुजारेको भनी चितवन जिल्ला अ.बाट ०२२।३।२८ मा डिसमिस फैसला भएको प्रमाणको मिसिलबाट देखिन्छ ।

२७.   त्यसरी वादी चेतकुमारीको छोरो श्यामबहादुरले नै प्राप्त गरेको जग्गामा खिचोला मुद्दा गरी खिचोला गरेको ठहराउन नसकी ०२२।३।२८ मा डिसमिस फैसला भई सकेको कुरामा अब फेरि सोही जग्गामा चेतकुमारीले खिचोला मुद्दा दिई खिचोला कायम गराउन सक्ने अवस्था रहँदैन । वादी निवेदकको निवेदन जिकिर पुग्न सक्दैन । अतः वादी चेतकुमारीको दावी पुग्न सक्दैन भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहराई छिनेको इन्साफ मनासिव ठर्हछ ।

२८.   बोधकुमारीको उजुर परेकोतर्फ हेर्दा तप्तबहादुरले राप्ती दुन विकासबाट कि.नं.१२७ को जग्गा प्राप्त गरेको पाइन्छ । सो जग्गा ०१३ साल चैत्र २४ गते भएको जिल्ला चितवन मौजे बसन्तपुर मौजाको नक्साबाट सो कि.नं.१२७ को जग्गा बाटोदेखि दक्षिणतर्फ परेको देखिन्छ । हाल सर्भेबाट ०२७।६।६ मा भएको जि.चितवन पञ्चायत भरतपुर वार्ड नं.३क.को नक्साको कि.नं.१६५, १६६ र १७८ को जग्गा वादीको ठहराई सुरु र क्षेत्रीय अदालतबाट निर्णय गरेको मिलेको छ छैन भनी हेरिएमा सो कि.नं.१७८ को जग्गा मेरो हो भन्ने प्रतिवादी रामबहादुर गुरुङ्गले निवेदनमा जिकिर लिएको पाइन्छ । निज प्रतिवादी रामबहादुरले सुरु म्याद गुजारी प्रतिवादी नै नफिराई बसेको देखिन्छ । सो कि.नं.१७८ को जग्गा वादी बोधकुमारीको कायम ठहराई सुरुले निर्णय गरे उपर निवेदक प्रतिवादी रामबहादुर गुरुङ्गले पुनरावेदन गरी सुरुको निर्णय बदर गराउन सकेको पनि देखिँदैन । सो कि.नं.१७८ को जग्गा बाटोदेखि दक्षिणतर्फ परेको देखिँदा उक्त कि.नं.१७८ को जगगा मेरो भन्ने प्रतिवादी रामबहादुर गुरुङ्गको निवेदन जिकिर पुग्न सक्दैन । सो कि.नं.१७८ को जग्गा वादी बोधकुमारीको कायम गर्ने गरेको ०३१।१।२९ को सुरु चितवन जिल्ला अदालतको इन्साफ मनासिव ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव छ ।

२९.   अब कि.नं.१६५ र १६६ को हकमा प्रतिवादीहरुले सबूत गुजार्न सकेको छैन भन्ने आधारमा निर्णय गरेको पाइन्छ । कि.नं.१६५ र कि.नं.१६६ को जग्गा सर्भेबाट भएको नक्साबाट बाटोदेखि उत्तरतर्फ परेको देखिन्छ । वादी बोधकुमारीको पति तप्तबहादुरले प्राप्त गरेको जगगा २०१३ सालको नक्साबाट बाटोदेखि दक्षिणतर्फ परेको छ भने सो नक्साबाट समेत उक्त कि.नं.१६५ र १६६ को जग्गा बोधकुमारीको भन्न मिल्दैन । प्रतिवादी शनिश्चरा दराईले पेश गरेको चलानी पूर्जिमा कि.नं.१२० र १२१ को जग्गा प्राप्त गरेको भन्ने र प्रतिवादी ठूला छन्दु दराईले पेश गरेको चलानी पूर्जीमा कि.नं.१२२ को जग्गा प्राप्त गरेको भन्ने छ । सो जग्गाहरु २०१३ सालको नक्साबाट बाटोदेखि उत्तरतर्फ परेको र कि.नं.१२० र १२१ हालको सर्भे नक्सामा कि.नं.१६६ र १६७ कि.नं.१२२ को हालको सर्भे नक्सामा कि.नं.१६५ मा पर्छ भनी विद्वान वरिष्ठ अधिवक्ताले बहस गर्नु भएको छ। सो कुरा होइन भनी वादी तर्फबाट भन्न सकेको छैन । यस स्थितिमा कि.नं.१६५ र १६६ को जग्गमा प्रतिवादीहरुले सबूत गुजार्न सकेको छैन भन्न मिल्दैन । सो जग्गा मध्ये कि.नं.१६५ को जग्गा प्र.ठूलो छन्दुको र कि.नं.१६६ को जग्गा प्र.शनिश्चरा दराईको ठर्हछ । सो कि.नं.१६५ र १६६ को जग्गा बोधकुमारीको कायम गर्ने गरेको २०३१।१।२९ को सुरु चितवन जिल्ला अदालतको इन्साफ मनासिव गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सो हदसम्म मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी बोधकुमारीलाई सुरु चितवन जि.अ.का.०३१।१।२९ को फैसलाले भराउने गरेको कोर्ट फी रु.२५३।३१ प्रतिवादी शनिश्चर दराई र ठूलो छन्दु दराईले पुनरावेदन गर्दा चितवन जिल्ला अदालतमा २०३१।२।३० मा धरौट राखेको देखिँदा प्रतिवादीहरुले जितेकाले सो धरौट रहेको कोर्टफी फिर्ता पाउँ भनी प्रतिवादी शनिश्चरा दराई र ठूलो छन्दु दराईको ऐनको म्याद भित्र दरखास्त परे दस्तुर केही नली धरौट कोर्टफी फिर्ता दिनु भनी काठमाडौं  जिल्ला अदालतमा लगत दिनु........................१

सुरु चितवन जिल्ला अदालतको ०३१।१।२९ को फैसलाले बादी बोधकुमारीलाई प्रतिवादीहरुबाट भराउने गरेको कोर्टफी रु.२५३।३१ माथि लेखिए बमोजिम भई भरी भराउ गर्न नपर्ने भएकोले सो लगत काटी दिनु भनी चितवन जिल्ला अदालतमा पठाउन का.जि.अ.मा लगत दिनु.......................................................................२

देहायका प्रतिवादीहरुले सुरु उपर पनुरावेदन गर्दा राखेको कोर्टफी रु.३८। र अनुमतिद्वारा यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३८। समेत जम्मा रु.७६। वादी बोधकुमारीबाट भराई पाउँ भन्ने ऐनको म्याद भित्र जायजात देखाई दरखास्त गरे दस्तुर केही नली प्रतिवादीहरुलाई भराई दिनु भनी का.जि.अ.मा लगत दिनु.........................................३

प्र.शनिश्चरा दराई १ प्र.ठूलो छन्दु दराई १ माथि लेखिए बमोजिम कि.नं.१६५ र १६६ को जग्गा प्रतिवादी शनिश्चरा दराई र प्र.ठूलो छन्दुको ठहरिएको हुँदा चितवन जि.अ.को ०३१।१।२९ को फैसलाले वादी बोधकुमारीको नाउँमा दर्ता गरी दिनु भनी पूर्जि गर्ने गरेको सो बमोजिम गर्नु पर्दैन भनी मिसिलै चितवन जि.अ.मा पठाई दिनु..............................................४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......................................................५

उक्त रायमा म सहमत छु ।

 

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०३९ साल माघ २० गते रोज ५ शुभम्  ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु