शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६०४ - लिखत बदर

भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११

निर्णय नं. १६०४     ने.का.प. २०३९ अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला

सम्वत् २०३८ सालको दे.पु.नं. ३५९

फैसला भएको मिति  : २०३९।४।२२ मा

पुनरावेदक/प्रतिवादी : बा.अं.ल.जि.ल.पु.न.पं. बडा नं.१४ स्वठटोल बस्ने उपेन्द्रगोपाल श्रेष्ठ

विरुद्ध

विपक्षी/वादी : बा.अं.ल.जि.जावलाखेल वा.नं.४ कोमलनाथको पत्नी हिरण्यकुमारी रिसाल

                               मुद्दा : लिखत बदर        

(१)      घर र घरको साँधको मकैबारी घरबारीकै परिभाषा भित्र पर्ने ।

 (प्रकरण नं. ११)

पुनरावेदक प्र.तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री    रामगोपाल श्रेष्ठ

विपक्षी वादी तर्फबाट : विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान व.अ.श्री मुकुन्द रेग्मी

उल्लिखित मुद्दा :

फैसला

न्या.हेरम्बराज

१.     न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकारको रहेछ :

२.    फिरादीका पति डि.कोमलनाथले विन्ति चढाएको व्यहोरा जाहेर हुँदा मोहीयानीमा कूत तिर्ने गरी जुन मोहीको जग्गा उकास हुन आएको छ, उसै जग्गाको साँध सिमाना खोली बहाली पुर्जी समेत गरी दिनु भन्ने हामीलाई हुकुम बक्सेको हुनाले सिउचा मोहीले कमाएको जग्गा रोपनी ५।।२ उकास हुन आएकोले उपरोक्त लेखिएको जग्गा आवाद गुलजार गरी घर बनाई, लागे तिरो भरो चलाई बस्नु भनी श्री ३ बुबाज्यूबाट हुकुम बक्सेकोबाट सो मुताविक बहाली पुर्जी गरी दिएका छौं । उक्त लेखिए बमोजिम काम गर्नु भनी १९९२।१२।१८।५ मा ले.ज.अ.नारायण शम्सेर ज.ब.रा.बाट दरखास्त भई जग्गा पाई घर बनाई बसोबास भोगचलन गरी पछि १९९५।८।३०।५ मा ले.ज.नारायण शम्शेर ज.ब.रा बाट दरखास्त भई पूर्जी पाएको हुँदा आवश्यक परे जति घर गोठ बनाई चलन गरी आएका थियौं, त्यसपछि अन्यायी माधवबहादुरको बाबु मोहनबहादुरले उक्त जग्गा मैले बक्स पाएको हुँदा तपाईले दाखिल गर्नु पर्ने कूत तिरो मलाई दिनोस भनी भनेकोले साविक बमोजिम कूत तिरो निज मोहनबहादुरलाई बुझाउँदै आएका थियौं । त्यता भू.सु.२०२१ र जग्गाको नापजाँच ऐन, २०१९ अनुसार  जग्गावालामा मोहनबहादुर मोहीमा फिरादीका पति कोमलनाथ कायम भई ल.पु.न.पं.वा.नं.४ (झ) कि.नं.५५ बाट दर्ता नापी रोपनी ४।११।० पाको अब्बल ठहर भएको पुर्व उत्तर मोहनबहादुरको जग्गा, पश्चिम मुल बाटो, दक्षिण मुल सडक, यति ४ किल्ला भित्रको उक्त जग्गा निज मोहनबहादुरले आफ्नो छोरा प्रतिवादी माधवबहादुरलाई हालैदेखि पाउने गरी ०२७।२।२७ मा बकसपत्र पास गरी दिएको हुँदा साविक बमोजिम बुझाई आएको तिरो फिरादीका पतिले र फिरादीका पति २०२८ सालमा परलोक भएपछि फिरादीले कानून बमोजिम प्रतिवादी माधवबहादुरलाई बुझाउँदै धरौटी राख्दै आएको छु । यसै बीच प्रतिवादी माधबबहादुरले मेरो मन्जुरी बेगर पराल छाना झिकी टायल छाना हालेको भत्काउन लगाई पाउँ भन्ने समेतको म उपर उजुर दिएकोमा मेरो प्रतिवादी परी ०३२।६।२३ मा फैसला हुँदा निजलाई २।५० जरिवाना समेत गर्ने गरी न.पं..बाट ठहर भएको छ, यस्तो स्थितिमा घर गोठहरु भएको मोहीको घर बारीको जग्गा प्रतिवादीमध्येका माधवबहादुर दिने र उपेन्द्रगोपाल लिने गरी लिखतको कैफियत महलमा तपाई उपेन्द्र श्रेष्ठलाई घर बनाउनको निमित्त मलाई कामकाज गरी दिनु भएकोले सो दिए बापत हालैदेखिको बकसपत्र लेखी दियाँ भन्ने व्यहोरा हाली मा.पो.का.ललितपुरमा ०३५।३।२३ मा हालैदेखिको बकसपत्र गरेछ । अन्यायमा परी गैरकानूनी व्यहोरा जनाई लिनुदिनु भएको लिखत बदर गरिपाउँ भन्नेसमेतको फिरादपत्र ।

३.    जग्गा मिच्नेको १८ नं.बमोजिम नालेस गर्नलाई जग्गामा दर्ता हक पुगेको हुनु पर्ने । जग्गा कमाउने मोहीको जग्गामा कति सम्म हक हुन्छ भन्ने जग्गा जोताहाको नाताबाट भू.सं.ऐन, २०२१ को दफा २५ अनुसार ऐ.दफा ३३ बमोजिम ऐ.दफा ३६ अनुसार बुझाए सम्म जोती खाने मोहीलाई हक हुन्छ । जग्गाको हकमा मोही लागेको जग्गा जसलाई पनि विक्री व्यवहार गर्न ज.धनीलाई प्रतिबन्ध लगाएको छैन । त्यसैले उपेन्द्रगोपाललाई उद्योग व्यापार गर्न तथा घरबास बनाउनलाई हालैदेखि बकसपत्र दिएको छु भन्ने समेत प्र.माधवबहादुरको प्रतिउत्तर ।

४.    साविक जग्गावाला नभई वादी मोही कसरी कायम भयो ? त्यसकारण माधवबहादुरले ०३५।३।२३ गते देखि सो जग्गामा हक छाडी सकेकोले मेरो हक हुन आएको हुँदा मैले वादीलाई कुनै हालतमा मोही कायम नगर्ने हुँदा जग्गाधनी वादीको जोताहा कायम भएको छैन भन्ने सरोकारवाला मानिसले जग्गावाला बीच भएको व्यवहारको लिखत बदर गरी पाउँ भन्ने अ.बं.नं.८२ को विपरीत भएकोले वादी फिराद खारेज हुनुपर्छ भन्ने समेतको प्र.उपेन्द्रगोपालको प्रतिउत्तरपत्र ।

५.    प्र.उपेन्द्रगोपालबाट दाखिल भएको भरपाई थान १२ मा यो बाट प्राप्त हुनु भएको दर्ता उतार गर्ने सारबाट प्राप्त हुन आएको फिल्डबुक उतार मध्ये प्र.उपेन्द्रगोपालबाट प्राप्त हनु आएको बाली बुझाएको भरपाई वादीको वा.लाई देखाउँदा सुनाउँदा सो भरपाईमा भएको सहि र लेखिएको व्यहोरा समेत ठीक साँचो हो भन्ने वा.को बयान ।

६.    वादीको कानूनी अधिकार प्राप्त मोहियानी जग्गामा पक्की घरबास भएको जग्गामा नै ज.ध.प्र.माधवबहादुरले प्र.उपेन्द्रगोपाललाई घर बनाउँन भनी लेखिदिएको सम्म कानून विरुद्ध लिखत देखिन्छ । सम्पूर्ण लिखत बदर कायम गरी पाउँ भन्ने दावा जग्गाधनी हकसम्म दिएको बकसपत्र बदर हुन नसक्ने । अरु यो वादीको सम्बन्धमा कानूनी आधार उपयुक्त देखिएको समेतबाट सो दावी भएका बकसपत्रको कैफियत महलमा तपाई उपेन्द्रगोपाल श्रेष्ठलाई घर बनाउनको निमित्त भन्ने शब्दहरु सम्म बदर हुने ठर्हछ भन्ने समेत सुरु ल.पु.जि.अ.को फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन भनी म.क्षे.अ.मा पुनरावेदन परी अ.बं.नं.२०२ बमोजिम झगडीया झिकाउने म.क्षे.अ.सिंगलबेञ्चको आदेश ।

८.    मोही कोमलनाथको पछि वादीको नामसारीतर्फ कारवाही चलाएको र कानून बमोजिम कबुलियत गराई मोही कायम गराई पाउँ भन्ने विपक्षीले कारवाई चलाएको भू.प्र. का.ललितपुरबाट आएको मिसिलबट देखिएकोले मोही भएको कुरामा विवाद देखिन्न । यो ऐन प्रारम्भ हुनु भन्दा अगावै कुनै मोहीले जग्गावालाको स्वीकृति लिई पक्की घर बनाएको रहेछ भने सो घरबारीको जग्गा विक्री गर्न वा अरु कुनै प्रकारले हक छोडी दिन सक्नेछ भन्ने संशोधित भू.सु.ऐनको दफा २६ (क) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था भएको पाइन्छ । त्यस्तो घरबारीको जग्गामा ज.ध.ले घर बनाउन पाउने हक हस्तान्तरण गर्न र पाउन नसक्ने हुनाले सुरुले बकसपत्र कैफियत महलमा तपाई उपेन्द्रगोपाल श्रेष्ठलाई घर बनाउनको निमित्त भन्ने वाक्यांश बदर गर्ने गरेको सुरुको इन्साफ मनासिव ठर्हछ भन्ने म.क्षे.अ.को फैसला ।

९.    उक्त फैस्ला उपर पुनरावेदनको अनुमती पाउँ भनी निवेदक प्रतिवादी उपेन्द्रगोपालको निवेदन परी जग्गाधनी माधवबहादुर पाण्डेलाई आफ्नो हक भोगको जग्गा उपेन्द्रगोपाललाई २०३५।३।२३ मा बकसपत्र गरी दिएको लिखत बदर गरी पाउँ भनी अ.बं.नं.८२ नं.ले मोहीयानीमा कमाउने वादीलाई अधिकार दिएको देखिँदैन । अधिकार नभएको व्यक्तिको उजुरी सुनी निर्णय गरेकोमा अ.बं.नं.८२ को त्रुटि भएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ (५) (ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने स.अ.डिभिजनबेञ्चको २०३८।९।५ गतेको आदेश ।

१०.    यसमा नियम बमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ तथा विपक्ष वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस समेत सुनी मुद्दाको अध्ययन गरियो । अब यसमा सुरु ल.पु.जि.अ.को फैसला मनासिव ठहराई म.क्षे.अ.ले गरेको फैसला मनासिव हो वा होइन ? भन्ने तर्फ निर्णय दिनु परेको छ ।

११.    यसमा निर्णयतर्फ विचार गर्दा जग्गाधनीको हक माधवबहादुर पाण्डेले उपेन्द्रगोपाललाई ०३५।३।२३ मा बकसपत्र गरेकोमा घर बनाउनको निमित्त भनी बोली परेको राजीनामा लिखत देखिन्छ । जग्गावालाले घर बनाउन नपाउने जग्गालाई घर बनाउनको निमित्त भनी बकस दिन पाउने होइन भन्ने फिरादपत्रमा जिकिर भए अनुसार लिखत जम्मै बदर नहुने । तर, घर बनाउन भनी लेखिएको सम्म बदर हुने भनी म.क्षे.अ.बाट ठहर भएको देखिन्छ । वादीतर्फबाट उक्त जग्गामा घर बनाएको क्याम्पा भित्रको मकैविरहको कित्ता नं.५५ भनी दर्ता उतारबाट देखिएको हुनाले घर र घरको साँधको मकैबारीलाई घरबारीकै परिभाषा भित्र पर्ने भनी भू.सं.ऐन, २०२१ को २ (ङ) मा लेखिएको कारणले घर बनाई बस्नेले उक्त ऐनकै २६ (क) बमोजिम हस्तान्तरण गर्न सक्ने समेत हुँदा अरुले घर बनाउन भनी दिन र लिन उक्त ऐनकै विरोध हुने हुन्छ । त्यसकारणले घर बनाउन निमित्त भनी बकसपत्रमा लेखिएको वाक्यांशसम्म बदर हुन्छ भनी म.क्षे.अ.ले ठहर गरेको फैसला मनासिव ठहर्छ । कोर्टफी राखी पुनरावेदन गरेकोले केही गरी रहन परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०३९ साल श्रावण २२ गते रोज शुभम् ।

 सर्वोच्च अदालत डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

आदेश

सम्वत् २०३९ सालको नि.नं. २२५

बिषय : फैसला सच्याई पाउँ

उपेन्द्रगोपाल श्रेष्ठ ........................................१ पुनरावेदक

विरुद्ध

हिरण्यकुमारी रिसाल ......................................१ विपक्षी

यस अदालतको डिभिजनबेञ्चबाट ०३९।४।२२ मा भएको फैसलामा सामान्य त्रुटि भएकोले सो सच्याई पाउँ भन्ने निवेदन सहित फायल पेश भयो ।

यसमा स.अ.नियमावली, २०२१ को नियम १२५ तथा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १२(ख) अनुसार देहाय बमोजिम कायम हुने गरी फैसला सच्याई दिएको छ ।

१.     फैसलाको दोश्रो पानाको प्रथम हरफको दरखास्त भन्ने शब्दको सट्टा दस्तखत ......१

२.    चौथो पानाको दोश्रो प्रकरणको तेश्रो हरफको राजीनामा भन्ने शब्दको सट्टा बकसपत्र ..१

३.    चौथो पानाको दोश्रो प्रकरणको नवौं हरफको २.६ को सट्टा २६क” 

४.    चौथो पानाको दोश्रो प्रकरणको आठौं हरफको २००० को सट्टा २(ङ)” ......

            न्यायाधीश,       न्यायाधीश,

इतिसम्वत् २०३९ साल भाद्र १६ गते रोज ४ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु