शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६०७ - उत्प्रेषण

भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११

निर्णय नं. १६०७           ने.का.प. २०३९ अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला

सम्वत् २०३८ सालको रिट निवेदन नं.१५७२

आदेश भएको मिति  : २०३९।११।१३।६ मा

निवेदक      : जिल्ला सर्लाही खुटौना गा.पं..बडा नं.३ बस्ने घाडसर स्थित राम जानकी मन्दिरको   महन्थ रामेश्वर दास वैरागी

विरुद्ध

विपक्षी : भूमिसुधार कार्यालय, सर्लाही, जिल्ला सर्लाही खुटौनी गाउँ पञ्चायत बा.नं.३ भाडसर बस्ने      रामबली खिड्हरी

विषय : उत्प्रेषण

(१)   भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) अनुसारको कबुलियतको अभावमा मोहियानी हक कायम हुन नसक्ने ।

(२)   सर्जमिनको भनाई र बाली बुझाएको भरपाई मात्रको आधारमा मोही कायम गरेको भू.सु.का.को निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) को त्रुटि भएको देखिने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

विपक्षी तर्फबाट      : विद्वान स.अ.श्री पन्नामान तुलाधर र विद्वान व.अ.श्री कृष्णप्रसाद पन्त

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयको मिति ०३८।१०।६।३ को कानूनी त्रुटिपूर्ण निर्णय बदर गरी पाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ :

२.    रामजानकी मन्दिरको नाउँमा नम्बरी दर्ता रहेको जि.सर्लाही खुटौना गा.पं.वार्ड नं.१ को कि.नं.१७ को ०१७११ र कि.नं.५० को ११८ समेत जम्मा जग्गा २९ घर जग्गामा साविकमा गुरु भजन दासको नाममा मोही कायम भई मन्दिर तालुकबाट खेती भई रहेकोमा निजको स्वर्गवास पछि महन्थको हैसियतले रामजानकी मन्दिरकोतर्फबाट कमाई आएकोमा सो जग्गाको ०३६ सालको बाली प्रधानपञ्चलाई बुझाएको र ०३७ सालको बाली मैले बुझी लिएको भनी झुठ्ठा व्यहोरा दर्शाइ मोहियानी हक कायम गरी पाउँ भनी विपक्षीले विपक्षी कार्यालयमा दिएको निबेदनका आधारमा विपक्षीको नाममा मोहियानी हक कायम गर्ने गरी मिति ०३८।१०।६।३ मा गरेको निर्णय भूमिसम्बन्धी ऐनको दफा २५  (१) ऐ.२५(२) र ऐ.३४(१) समेतको प्रतिकूल हुँदा त्यस्तो कानूनी त्रुटिपूर्ण निर्णयले मेरो संवैधानिक तथा कानूनी हकमा आघात पारेकोले नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयको उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

३.    विपक्षीहरुबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशनुसार प्राप्त भएका लिखितजवाफको जिकिर यस प्रकार रहेछ :

४.    जग्गाधनी रिट निवेदकको म भूमिसम्बन्धी ऐनको दफा २५(२) अन्तर्गतको मोही भएकोले ऐ.को दफा ३४(१) अनुसारको कबुलियत हुनुपर्छ भन्ने होइन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५३ अनुसार भूमिसुधार अधिकारीले बिशेष अदालत ऐन बमोजिमको अख्तियार र कार्यप्रणाली अपनाई सर्जमिन गरी वास्तविक तथ्य पत्ता लगाई मलाई मोही कायम गरी मोहियानी हकको प्रमाणपत्र प्रदान गरेको हुँदा कानूनको परिधि भित्र रही गरेको निर्णय बदर हुने होइन । रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी रामवली खिडहरीको लिखितजवाफ रहेछ ।

५.    प्रतिरक्षी रामवली खिड्हरीले विवादको जग्गा धेरै पहिलेदेखि जोति आएको भन्ने कुरा ०३८।९।२५।७ मा कार्यालयबाट भएको सर्जमिनबाट देखिएको र ०३६।१०।१३।१ र ०३७।११।१।५ मा बाली बुझाएको सक्कल भरपाई देखाई नक्कल भरपाई पेश भएकोले यसरी धेरै अघिदेखि जोती आउने रामवली खिड्हरीको मोहियानी हक कायम हुने गरी गरेको निर्णय कानूनसंगत हुँदा रिटनिवेदन खारेज गरीपाउँ भन्नेसमेत भू.सु.का.सर्लाहीको लिखितजवाफ रहेछ ।

६.    तारेखमा रहेका निवेदकका वा.मदनराम र विपक्षीतर्फका जगदिश्वरलाललाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री कमलनरायण दास र विपक्षी कार्यालयतर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर र लिखितजवाफवाला तर्फबाट रहनु भएको विद्वान व.अधिवक्ता श्री कृष्णप्रसाद पन्त समेतको बहस सुनियो । अब निवेदकको माग अनुसार आदेश जारी गर्नु पर्ने हो या होइन सो को निर्णय दिनु परेको छ ।

७.    यसमा विवादित जग्गा दशौं बर्षदेखि मैले जोती आएको हुनाले जग्गाको मोहियानी हक मलाई दिलाई मोही हकको प्रमाणपत्र पाउँ भन्ने निवेदकको मुख्य निवेदन जिकिर भएकोमा रिट निवेदकले मैले भरपाई गरिदिएको छैन, जग्गा मैले नै जोती आएको भन्ने जिकिर लिएकोमा सर्जमिनले जग्गा वादीले धेरै बर्ष अघिदेखि कमाउने गरेको भनी किटान गरी दिएको र बाली बुझाएको भरपाई पनि देखिएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) अनुसार मोही कायम हुने भनी निर्णय गरेको पाइन्छ ।

८.    भू.सं.ऐन, २०२१ को दफा २५(२) अनुसार मोही हुनलाई ऐ.ऐनको दफा ३४(१) बमोजिम जग्गाधनी र मोहीको बीच कबुलियत लिनुदिनु गरी सो को एकप्रति सम्बन्धित पञ्चायतमा दाखिल गर्नु पर्ने कानूनी व्यवस्था भएकोमा भू.सु.का.को निर्णयमा ऐन बमोजिमको त्यस्तो कबुलियत लिनु दिनु भएको भन्ने देखिएन ।

९.    यसरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) अनुसारको कवुलियतको अभावमा मोहियानी हक कायम हुन नसक्ने हुँदा सर्जमिनको भनाई र बाली बुझाएको भरपाई मात्रको आधारमा मोही कायम गरेको भू.सु.का.को निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) को त्रुटि भएको देखिएकोले भू.सु.का.सर्लाहीको मिति ०३८।१०।६।३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । जानकारी निमित्त आदेशको प्रतिलिपी महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०३९ साल फागुण १३ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु