शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६०८ - ।

भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११

निर्णय नं. १६०८           ने.का.प. २०३९ अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको रिट निवेदन नं. ११३२

आदेश भएको मिति : २०३९।११।१ मा

निवेदक      : जिल्ला सिराहा मझोरा गा.पं..वडा नं.२ बस्ने सुभाकलाल यादव

विरुद्ध

विपक्षी : ऐ.ऐ.बस्ने वेचन खत्वे, भू.सु.कार्यालय, सिराहा, भूमिसुधार अधिकारी

(१)                मूल दावी नै संशोधन गरी सो संशोधित दावीको आधारमा भू.सु.का.सिराहाले मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

आदेश

न्या.त्रिलोकप्रताप राणा

१.     विपक्ष कार्यालयको ०३७।९।८ को निर्णय बदर गरी हक प्रचलन गरी पाउँ भनी संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ ।

२.    मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : विपक्षीको नाउँको मझौरा गा.पं.वडा नं.६ कि.नं.१३१ को ०९ को जग्गा मैले मोहीमा कमाई आएको, मोहियानी हकको प्रमाणपत्र प्राप्त नभएकोले जोताहा अस्थाइ निस्सा साथै राखी निवेदन गरेको छु । उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने निवेदन । उल्लिखित जग्गा हरिनारायणका नाउँमा दर्ता भएको कुनै पनि जग्गा निजले मोहीमा कमाई आएको छैन । हरिनारायणले नै कमाएको छ । निवेदक मोही भएको भए नापीको समयमा मोहीको हैसियतले सही गर्नु पर्नेमा सो समेत नगरेकोले निज मोही होइन भन्ने समेत प्रतिउत्तर बयान । मझौरा गा.पं.वार्ड नं.२ बस्ने सुभक यादवको नाउँमा दर्ता भएको गा.पं.मझौरा वडा नं.५ कि.नं.१४२ को ०१०९ जग्गा मध्ये दक्षिण तर्फबाट ०९ जग्गाको मोही प्रमाणपत्र पाउँ भनी दावी गर्नु पर्नेमा ०३७।२।२२ मा दिएको निवेदनमा निरअक्षरी भएकाले जग्गाधनीको नाम कित्ता समेत फरक परेकोले पुनः भूल सुधारको निवेदन दिएको छु र निवेदकले दावी गरेको जग्गा सुभकलाल यादवका नाउँमा दर्ता कायम छ । दाखिल गरेको जग्गा कहिले पनि मोहीमा कमाई आएको छैन । जग्गाधनी आफैंले कमाई आएको छ । वादी दावी झुठ्ठा हो भन्ने व्यहोराको समेत प्रतिउत्तर बयान भएकोमा प्रतिवादी सुभकलाल यादवको जग्गा वादीले प्राप्त गरेको जोताहा अस्थाई निस्साको आधारमा शुभकलालको दर्ता भएको मझौरा गा.पं.वाड नं.५ कि.न.१४९  को ०१०९ मध्ये दक्षिणतर्फबाट ०९ जग्गाको वादी बेचन खत्वेको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय सिराहा ०३७।९।८ को निर्णय ।

३.    फिरादपत्र वा सो सरहको उजुरी निवेदन संशोधन गर्न पाउने कानूनी व्यवस्था कुनै पनि नेपाल कानूनमा विद्यमान छैन । जुनबेला जे मन लाग्यो त्यही दावी गर्दै उजुर गरेमा निर्णय यकिन हुन सक्तैन । साथै, भूमिसुधार ऐन नियम बमोजिमको प्रकृया अनुसार मोही कायम भएको पनि देखिँदैन । तसर्थ, उक्त त्रुटिपूर्ण निर्णय संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत यस अदालतमा ०३८।४।२५ मा पर्न आएको रिट निवेदन जिकिर ।

४.    विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०३८।४।२७ को सिंगलबेञ्चको आदेश ।

५.    मैले साविकदेखि नै जग्गा कमाई आएको हुनाले लगत भरी मेरो नाउँबाट २ नं.अनुसूची प्रकाशन भई राखेको छ । सोलाई विपक्षीले मानी चुप लागी बसेका छन् । मोही सम्बन्धमा सर्वोच्च अदालतको नजीरले पनि २ नं.अनुसूचीलाई मुख्य आधार मान्ने गरी आएको हुनाले भरपाई  र कबुलियत नभएको आधारले मेरो मोही हकबाट बञ्चित नहुने हो । तसर्थ, विपक्षको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत बेचन खत्वेको लिखितजवाफ ।

६.    निवेदकले मोही प्रमाणपत्र पाउँ भनी दावी गरी पछि भुलसुधार गरी निवेदन दिएको आधारमा निज विपक्षलाई मोही हकको प्रमाणपत्र दिने गरी निर्णय भएकोले विपक्षको कुनै संवैधानिक तथा कानूनी हक हनन् नभएकोले प्रस्तुत रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत भूमिसुधार कार्यालय सिराहाको लिखितजवाफ ।

७.    विवादास्पद जग्गाको १ नं.फाराम तथा प्रकाशित २ नं.अनुसूची लगतको प्रतिलिपी झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०३९।८।७ को डिभिजनबेञ्चको आदेश ।

८.    निवेदकतर्फका वा.पुरुषोत्तमप्रसाद श्रेष्ठलाई रोहवरमा राखी विपक्ष कार्यालय तर्फबाट खटी आउनु भएको विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकको माग बमोजिम रिट जारी हुनु पर्ने नपर्ने के हो सो को निर्णय दिनु पर्ने हुन आएको छ ।

९.    यसमा विपक्ष बेचन खत्वेले गा.पं.मझौरा वार्ड नं.६ कि.नं.१३१ को ०९ जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी ०३७।२।२२ मा दावी लिई भू.सु.का.सिराहामा निवेदन दिएकोमा सो तर्फ निवेदकको प्रतिवाद परेपछि गा.पं.मझौरा वडा नं.५ कि.नं.१४२ को ०१०९ जग्गा मध्ये दक्षिणतर्फबाट ०९ जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी दावी भएकोमा जग्गाधनीको नाउँ कित्ता समेत फरक परेकाले भूल सच्याई हाल माग गरेको कित्ता नम्बरका जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी पुनः ०३७।८।१६ मा भूलसुधारको निवेदन परेको हुँदा वादी बेचन खत्वेको नाउँमा मोहियानी हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी भू.सु.का.सिराहाले ०३७।९।८ मा निर्णय गरेको देखिन्छ ।

१०.    विपक्ष बेचन खत्वेले भू.सु.का.सिराहामा मिति ०३७।२।२२ मा दावी लिई निवेदन दर्ता गरी सो तर्फ कार्वाही चली प्रतिवाद भई सकेपछि पुनः आफ्नो दावीलाई मिति ०३७।८।१६ मा संशोधन गरेको पाइन्छ । मुद्दा परेपछि मुल दावी संशोधन गर्न पाउने कानूनमा व्यवस्था भएको देखिन्न । विपक्षी बेचन खत्वेले ०३७।८।१६ मा दिएको निवेदनको आधारमा मूल दावी नै संशोधन गरी सो संशोधित दावीको आधारमा भू.सु.का.सिराहाले मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको निर्णय त्रुटिपूर्ण देखिँदा मिति ०३७।९।८ को भू.सु.का.सिराहाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारी निमित्त निर्णयको एकप्रति प्रतिलिपी महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल फागुण १ गते रोज १ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु