शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६०९ - अंश

भाग: २४ साल: २०३९ महिना: चैत्र अंक: १२

निर्णय नं. १६०९     ने.का.प. २०३९ अङ्क १२

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.फु.नं. ३०

फैसला भएको मिति  : २०३९।१२।४।६ मा

निवेदक      : जिल्ला भक्तपुर बालकुमारी गा.पं..वडा नं.१ बस्ने तेजकृष्ण गोजा श्रेष्ठ

विरुद्ध

विपक्षी : ऐ.ऐ.बस्ने जीतलाल श्रेष्ठ

मुद्दा : अंश

(१)                प्रतिवादीका पुर्खा बाजेले बकस दिएको जग्गा मैले भोग गरी आएको छु भनी लेखिदिएकोबाट खुदै प्रतिवादीको पेटबोलीबाट बुझिएका (लक्ष्मीनारायणकोसंयोजक) भनाइबाट वादी अंशियार रहेछ भन्ने देखिने ।

(प्रकरण नं. २०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।१०।६ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट ०३६।१०।६ मा छिनिएको अंश मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहराई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने मौसूफका बिशेष जाहेरी बिभाग मार्फत बक्स भई आएको हुुकूम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :

२.    मुल पुर्खा भाजुमनीको छोरा जेठा न्हुछे कान्छा भानीमा न्हुछेको छोरा वीरमान सिंह भन्ने जितनारायण, निजको छोरा निरमान सिं भन्ने जितमान सिं निजको छोरा विपक्षी जितलाल हुन । कान्छा भानीको छोरा हंसराज, निजको छोरा हंसकुमारको निजको छोरा म तेजकृष्ण हुँ । भाजुमती र निजका सन्तानमा बिमान सिंह भन्ने जतनारायण र हंशराज सम्म सँगसगोलै रही निज परलोक भएपछि परिनिर्मान सिं भन्ने जितमान सिंह र हंसकुमार समेत सँगसगोलमै रहनु भएको। सगोलमै निरमान सिं भन्ने जितमान सिंह २०१० सालमा परलोक हुनु भएको त्यस्को ३ वर्षपछि ०१३ साल जेष्ठ महिनामा बाबु हंसकुमार परलोक हुनु भई ४५ दिनको काम सकेपछि २०१३ साल श्रावणदेखि विपक्षी र म परसरमा चित्त नमिली मानो छुट्टिई  अलग बसेका छौं । त्यसरी मानो छुट्टिँदा चल अचल सम्पत्ति सबै विपक्षी जिम्मा थियो । सगोल अवस्थामा रहँदै धेरै जसो जग्गा विपक्षीतर्फ अर्थात निज र निजका बाबु बाजेका नाउँमा दर्ता भई रहेको थोरै जग्गा सम्म मेरो बाबु बाजेका नाउँमा दर्ता रहेको थियो । मर्नेहरुका नाउँमा जग्गा राखी छाड्न नहुने भई केही जग्गा ०१५ सालमा मेरो नाउँमा नाउँसारी गरेको हुँ । नाउँसारी गरेको जग्गाको रसिदको प्रतिलिपि यसैसाथ दाखिल गरेको छु । अरु जग्गा विपक्षी दाजुले आफ्नै नाउँमा नाउँसारी गर्नु भएको छ । उल्लेख गरेबमोजिम पुर्खाका पालाको चल अचल सम्पत्तिमा आधी अंश मलाई दिनोस् भनी विपक्षीलाई बारम्बार भन्दा आलटाल गर्दै आखिर दिन्न भनी जवाफ दिनु भएकोले ०१३ साल श्रावण १५ मानो छुट्टिएको हुँदा त्यसको अघिल्लो दिन श्रावण १४ गते सम्मको पुर्खाका पालाका चल अचल समेतको श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई दुई भाग गरी एक भाग मलाई दिलाई पाउँ भन्ने समेत फिराद ।

३.    वादीले देखाउनु भएको पूर्खा भाजुमणी मेरो पुर्खा होइन । मेरो पूर्खामा जिज्यू बाजेमा जेठा महन्त सिंह, माहिला बेखान सिंह हुन । महन्त सिंहका दुई छोरा थिए । जेठा बाजे जितनारायण र माहिला हरिनारायण हुन् । हरिनारायण अपुतो र आफैँ काल गतिले धेरै अघि परलोक भए । बाजे जितनारायणका छोरा मेरा बाबु निरमान सिंह हुन । माहिला जिजुबाजे बेखान सिंका छोरा मोहय सिं निजका छोरा घिनारान निजकी छोरा दुर्गादेवी र झड्केली छोरा जेठा माधव, माहिला लक्ष्मीदास, लक्ष्मीदासको छोरा लक्ष्मीनारायण हुन । मेरा बाबु निरमान सिंह २००६ साल मार्ग महिनामा परलोक हुनु भएकोलाई वादीले २०१० सालमा परलोक भएको भनी झुठ्ठा व्यहोरा दिएको र अंश नभई एकासगोलमा बसी आएका परिवार सदस्यहरुमा पछि आआफ्नो पालोमा खरीद गरी लिएको बाहेक पैतृक श्रीसम्पत्ति जग्गा परिवारका जेठो व्यक्तिका नाउँमा रहन्छ । भाइ भाइहरुमा मञ्जुरी बेगर नामसारी हुन सक्दैन । विपक्षीले मेरा र निजका बाबु बाजेहरुमा के कति कारणबाट अगल अगल जग्गा नामसारी भए र विपक्षीले २०१५ सालमा सगोल सम्पत्ति कुन प्रकार आफ्नो नाममा नामसारी गरी लिए भन्ने तथ्य कुरा खुलाउन सकेको छैन । ०१३।४।१५ मा मानो छुट्टिएको व्यहोरा बनाई पेश गरेको झुठ्ठा विवरण मात्र हो । मेरा बाबु निरमान सिंहले घिनारानका परलोक भई सकेको जेठी छोरीका पति ज्वाई आसराम, माहिली छोरा दुर्गादेवी र झडकेली छोरा माधव समेत जना तीनलाई २००१।३।३ मा जग्गा छोडपत्र गरी दिँदा वादीका बाबु हंसकुमार अन्तरसाक्षीमा देखिन्छ । हकवाला सगोलका अंशियार भएको भए सो व्यहोरा खुल्नु पर्ने र हक छाडी दिएकोमा नामञ्जुर गर्नु पर्ने नगरेकोबाट पनि वादी हामीहरुका पुर्खामा सगोल परिवारका हकवाला अंशियार होइन भन्ने स्पष्ट देखिन आउँछ । लेखिएबमोजिम आफ्नो सगोल परिवारमा नरही अंशियार समेत नभएका वादीलाई एकै संयुक्त परिवारको सदस्य हकवाला अंशीयार भन्ने दावी लिई आफूले लिन खान नपाउनेमा पाउनु पर्छ भनी झुठ्ठा फिराद दिएबाट फूर्सद पाउँ भन्ने समेत प्रतिउत्तर ।

४.    वादी अंशियार होइन भन्ने समेत प्रतिवादीको जिकिर झुठ्ठा हो भन्ने समेत व्यहोराको वादीको साक्षी काजीमानको बकपत्र ।

५.    वादी प्रतिवादीको पुर्खाका पालादेखि नै मानो छुट्टिई  खाई आएको हो भन्ने समेत व्यहोराको प्र.को साक्षी रुद्रकुमारको बकपत्र ।

६.    वादीलाई प्रतिवादीले अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्र.को साक्षी माहिलाको बकपत्र ।

७.    वादी ०१३ सालदेखि मानो छुट्टिई  भिन्न बसेको हो भन्ने समेत प्र.को साक्षी कृष्णलाल श्रेष्ठको बकपत्र ।

८.    म एउटै पुर्खा बंशजका व्यक्तिलाई अंशियारै होइन भनी झुठ्ठा प्रतिउत्तर दिएमा विपक्षीलाई सजाय होस् । म हकदार भएकोले मेरो वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीका वारेस तेजकृष्णको बयान ।

९.    वादी अंशियार होइन । यस्तो सबूत प्रमाण प्रतिउत्तरमा नै पेश गरेको छु । वादीको पुस्तावारी वादी हंशराज बाबु हंशकुमार सम्म थाहा छ भन्ने समेत व्यहोराको प्र.वा.कृष्णलालको बयान ।

१०.    वादी प्रतिवादी दुवै दाजू भाइ नाताको हो । अंश लिए नलिएको मलाई थाहा छैन भन्ने वादीको र प्रतिवादी जीतलाल समेतको लिखत बदर मुद्दामा झगडा परेको जग्गा मेरो हकको सो निजै वादी प्रतिवादीको आधि आधि हक लाग्ने जग्गा हो भन्ने समेत व्यहोराको प्रतिवादीका पेटबोलीबाट बुझिएका लक्ष्मीनारायण न्हुछे श्रेष्ठको बयान ।

११.    वादी प्रतिवादीका बीच मानो छुट्टिएको मिति फिराद दर्ता भएको ०३१।४।२३।४ को अघिल्ला दिन ०३१।४।२२।३ लाई कायम गरी रीतपूर्वक वादी प्रतिवादीबाट अंशको फाँटवारी दाखिल गराई कोर्टफि समेत सो आदेश अनुरुप दाखिला भएको रहेछ ।

१२.   साक्षी प्रमाण समेतबाट वादी अंशीयार होइन भन्ने नमिल्ने देखियो । प्रतिवादीका पेटबोलीमा लेखिएका लक्षीनारायणले यिनै वादी प्रतिवादी भएको लिखत बदर मुद्दामा लेखिएको जग्गा वादी प्रतिवादी दुवैको आधा आधा हक लाग्ने र वादी प्रतिवादी एउटै पुर्खाको सन्तान हुन भन्ने कुराको बयान गरेबाट वादी अंशीयार रहेनछ भन्न मिलेन । तसर्थ, दुवै पक्षबाट पेश भएका तायदातीमा उल्लेख भएको श्रीसम्पत्तिमा २ भागको १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठर्हछ भन्ने समेत भक्तपुर जिल्ला अदालतको फैसला ।

१३.   सो फैसला उपर प्रतिवादीको बा.अं.अ.मा परेको पुनरावेदन ।

१४.   अंशियार कायम गरी पाउँ भन्ने बयानसमेत भएको र अंशियार कायम गराई माग्ने कुरा नाता कायम सम्बन्धी देखिएको र नाता कायम गराई माग्ने सम्बन्धी मुद्दाको पुनरावेदन सुन्ने अधिकार क्षेत्रीय अदालतलाई भएको हुनाले पुनरावेदकलाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको आदेश ।

१५.   वादीको साक्षी काजीमानको बकाइमा वादी प्रतिवादी एकै पुस्ताको हो, वादी प्रतिवादी छुट्टिएको मिति थाहा छैन, अंशियार होइन भन्ने प्रतिवादी जिकिर झुठ्ठा हो भनी बकी लेखिदिएको देखिन्छ । प्रतिवादीका साक्षी माहिलाले बकपत्र गर्दा वादी प्रतिवादी १० दिने जुठो बार्नु पर्ने दाजुभाइ हुन भनी बकी लेखिदिएको र प्रतिवादीका पेटबोलीबाट बुझिएका लक्ष्मीनारायणले बयान गर्दा वादी प्रतिवादी दुवै दाजु भाइ नाताको भनी लेखिदिएकोले समेत वादी प्रतिवादीको अंशियार होइन भन्न मिलेन । तसर्थ, अरु सुरु जिल्ला अदालतको फैसलामा उल्लिखित प्रमाण परिबन्द समेतले पुनरावेदक जिकिर प्रतितलायक नदेखिएकोले वादीलाई प्रतिवादीबाट अंश दिनु पर्ने ठहर्‍याएको इन्साफ मनासिव ठहर्छ भन्ने समेत ०३४।३।१३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१६.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा चढाएको निवेदनमा मध्यमाञ्चल क्षेत्रीय अदालतले ००१।३।३ र ००४।८।२८ को लिखत प्रमाण नलिई वादीले अंश पाउने ठहराई गरेको निर्णयमा प्रमाण सम्बन्धी सार्वजनिक महत्वको विषयमा गम्भिर कानूनी त्रुटि गरेको देखिँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजनबेञ्चको आदेश ।

१७.   वादीले देखाएको पुस्तावारीमा प्रतिवादीले इन्कार गर्दै आफ्नो अलग पुस्तावारी देखाएको देखिन्छ, प्रतिवादीले देखाएको पुस्तावारीमा वादीले प्रमाणिक आधार लिई कुनै खण्डन गर्न सकेको देखिन आउँदैन । अंशबण्डा गरी दिनु पर्ने तर्फमा प्रमाणको मूल्याङ्कन गर्दा जग्गा नापजाँच हुँदा सर्भे फिल्डबुकमा यो जग्गा मेरो दाजु जितलालको नाउँको हो भनी वादी तेजकृष्णले लेखाएको र प्रतिवादीको बाबुले गरी दिएको ००१।३।३ को लिखतमा वादीको बाबु साक्षी बस्दा हकदारको हैसियतमा नबसी साधारण साक्षीको मात्र स्थान ग्रहण गरी साक्षी बसेको र यसै प्रकार २००४ सालमा प्रतिवादीको बाबु सरह भएको कागजमा केही जग्गा मात्र सगोेल कायम गरी लिखत गरेको अंशको फाँटवारीबाट वादी र प्रतिवादीको छुट्टा छुट्टै जग्गा दर्ता भई जग्गा भोग गरी रहेको देखिन आएको हुनाले वादी र प्रतिवादीहरुको बीचमा वादी दावी बमोजिम बाजेकै पालादेखि चल अचल सगोलमा रही आएको भन्ने तथ्य सबूतको अभावमा वादी दावी समर्थन हुनै नआएकोले प्रतिवादीबाट अंश छुट्याई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने डिभिजनबेञ्चको ०३६।१०।६।१ को फैसला ।

१८.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी ०३९।११।२० मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निवेदक वादीतर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले प्रस्तुत मुद्दामा विवाद विन्दु वादी अंशियार हो होइन सो नै हेर्नु पर्ने हुन आएको छ । वादीले मुल पुर्खा समेत देखाई अंश पाउँ भनी दावी लिनु भएकोमा प्रतिवादीले आफ्नो प्रतिउत्तरमा मुल पुर्खा नै देखाउन सकेको छैन । खुदै प्रतिवादीको पेटबोलीबाट बुझिएको लक्ष्मीनारायणले वादी अंशियार हो भनी लेखिदिएको छ । यस्तो अवस्थामा वादी अंशियार होइन भन्न मिल्दैन । अब वादीले अंश पाउने नपाउने के हो सो तर्फ हेर्दा यी वादी प्रतिवादीको बीचमा अंशबण्डाको कुनै लिखत छैन । भक्तपुर वालकोट गा.पं.वडा नं.९ को कि.नं.८४१, ९०० र ९०१ को जग्गा वादी तेजकृष्ण र प्रतिवादी जितलालको नाममा सगोलमा दर्ता छ । जग्गै जब सगोलमा दर्ता छ भने छुट्टिएको भन्न मिल्दैन । २००१।३।३ को वीरमान सिंगोजा श्रेष्ठ आगे भई माधव समेतलाई गरिदिएको छोडपत्रको कागजमा वादीको बाबु हंसकुमार साक्षी बस्दा सगोलको भनी नलेखिएको नाताबाट छुट्टिई भिन्न भएको भन्न मिल्दैन । अंशबण्डाको ३० नं.अनुसार भागशान्ति दर्ता र बिक्री व्यवहार समेत भए गरेको नदेखिँदा अंश पाउने ठहराएको सुरु जिल्ला अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ सदर हुनुपर्छ भन्ने र विपक्षी प्रतिवादीको तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले वादी प्रतिवादीको नाउँमा अलग अलग दर्ता छ । उक्त कुरा सर्वोच्च अदालतले मिति ०३५।४।१।१ मा दिएको अनुमतिको आदेशमा परेको बोलीबाट देखिन्छ । जग्गा नापी हुँदा यिनै वादीले फिल्डबुकमा दाजु जितलालको जग्गा हो भनी लेखिदिएकोले यी वादी सगोलमा छन् भन्न मिल्दैन । निरमान सिंगोजा श्रेष्ठ भई गरिदिएको २००१।३।३ को छोडपत्रको लिखतमा वादीको बाबु साक्षी बसेको छ । सगोलको भाइ भए सगोलको भाइको हैसियतले साक्षी बसेको देखिनु पर्ने सो देखिएको छैन । पेटबोलीबाट बुझिएका लक्ष्मीनारायणले यी वादी प्रतिवादी सगोलमै छ भनी देखाएको छैन । वादी प्रतिवादीको दर्ता मात्र चलनबाट समेत यी वादी प्रतिवादी अलग अलग भएको मान्नु पर्ने हुँदा अंशमा वादी दावी नपुग्ने ठहराएको डिभिजनबेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१९.    यसमा प्रतिवादीको बाबुले गरिदिएको २००१।३।३ को लिखतमा वादीको बाबु साक्षी बस्दा हकदारको हैसियतमा नबसी साधारण साक्षीको रुपमा बसेको । यसै प्रकार २००४ सालमा प्रतिवादीको बाबुसँग भएको कागजमा केही जग्गामात्र सगोल कायम गरी लिखत गरेको र अंशको फाँटवारीबाट वादी प्रतिवादीको छुट्टाछुट्टै जग्गा दर्ता भई जग्गा भोग गरिआएको देखिन आएकोले वादी दावी बमोजिम बाजेकै पालादेखि सगोलमा रही आएको भन्न नमिल्ने हुँदा वादी दावी पुग्न नसक्ने ठहराएको डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन सो को निर्णय दिन पर्ने हुन आयो ।

२०.   वादीले मुल पुर्खा समेत खोली पुर्खाका पालाका चल अचल समेत श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई दुई भागको एक भाग अंश दिलाई पाउँ भनी फिराद गरेकोमा प्रतिवादीले यी वादी हकवाला अंशियार होइनन् भनी मुल रुपमा प्रतिवाद गरेको पाईन्छ । वादी अंशियार होइन भनी प्रतिवादीले जिकिर लिएकोले यो वादी अंशियार हो होइन सो कुराको नै मूल रुपमा निर्णय दिनु पर्ने हुन आएको छ । वादीले मुल पुर्खा समेत देखाई अंशतर्फ फिराद दावी गर्नु भएकोमा प्रतिवादीले मुल पुर्खा देखाउन सकेको देखिँदैन । भ.पु.जि.बालकुमारी पञ्चायत वडा नं.२ मा कि.नं.२०५ समेतको जग्गा नापी हुँदा यो जग्गा मेरो दाजु जितलालको हो भनी यिनै वादीले फिल्डबुकमा लेखाएको मिसिल सामेल रहेको फिल्डबुक उतारबाट देखिन्छ । प्रतिवादीको पेटबोलीबाट बुझिएको लक्ष्मीनारायणले लिखत बदर मुद्दामा झगडा परेको जग्गा निजै वादी प्रतिवादीहरुको आधी आधी हक लाग्ने जग्गा हो, वादी प्रतिवादीका पुर्खा बाजेले बकस दिएको जग्गा मैले भोग गरी आएको छु भनी लेखी दिएकोबाट खुदै प्रतिवादीको पेटबोलीबाट बुझिएको लक्ष्मीनारायणको भनाईबाट वादी अंशियार रहेछ भन्ने देखिने र जि.भक्तपुर बालकोट गा.पं.वडा नं.९ को कि.नं.८४१, ९०० र ९०१ को जग्गा समेत जितलाल तेजकृष्णको नाउँ समेतमा दर्ता देखिँदा यो वादी अंशियार रहेनछ भन्न मिलेन ।

२१.   अब वादीले अंश पाउने नपाउने के हो भन्नेतर्फ विचार गर्दा वादीले यो यति सालमा अंश लिई सकेको छ भन्ने प्रतिवादीको भनाई जिकिर नभई वादी अंशियारै होइन, भनी मुल प्रतिवादी जिकिर लिएको पाइन्छ । माथि प्रकरणमा उल्लेख गरिएअनुसार वादी अंशियार कायम भएकोले प्रतिवादीले विवाद नउठाएको यो यति सालमा वादीले अंश लिई सकेको अथवा सगोलमा नबसी भिन्न बसेको भन्ने स्थिति रहेन । भक्तपुर बालकोट गा.पं.वडा नं.९ को कि.नं.८४१ का जग्गा समेत वादी प्रतिवादीको सगोलमा दर्ता देखिएको र यिनै वादी प्रतिवादी भएको लिखत बदर मुद्दामा उल्लेख भएको जग्गा आधा आधा हक लाग्ने भनी प्रतिवादीको पेटबोलीबाट बुझिएका लक्ष्मीनारायणले लेखिदिएको र २००१ र २००४ सालको लिखतले वादीले अंश पाएको कुरा नबोलेकोले अंश दिनु पर्ने ठहराएको सुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको म.क्षे.अ.को इन्साफ मनासिव हुँदा म.क्षे.अ.को इन्साफ उल्टी गरेको डिभिजनबेञ्चको इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी तेजकृष्ण गोजा श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी मनासिव  ठहरेकाले सुरु भ.पु.जि.अ.का ०३३।२।१९।३ का फैसलाले प्रतिवादी बाट वादीले भरि पाउने ठहरेको  कोर्टफी रु.२००।९५ स.अ.डिभिजनबेञ्चबाट ०३६।१०।६ का फैसला र ०३७।२।३० का लगतले लगत काट्ने गरेकोमा हाल सुरुको इन्साफ सदर भएकाले उक्त डिभिजनबेञ्चको फैसला बमोजिमको लगत काटी सुरु भु.पु.जि.अ.का फैसला बमोजिम लगत कायम गर्नु भनी सुरु भ.पु.जि.अ.मा लेखी पठाउनु का.जि.अ.त मा लगत दिनु............................................................................१

वादी तेजकृष्ण गोजा श्रेष्ठ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीबाट अंश पाउने ठहरेकाले सुरु भक्तपुर जिल्ला अदालतका ०३३।२।१९।३ को फैसलाले भरी पाउने ठहरेको रु.४४८७।५ को देहायको घर जग्गा बण्डा गर्नु पर्ने हुँदा डिभिजनबेञ्चको उक्त मितिको फैसला र लगतले कट्टा गर्ने गरेकोमा उक्त डिभिजनबेञ्चको लगत काटी भु.पु.जि.अ.का फैसला बमोजिम बेञ्चको लगत कायम गर्नु भनी भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.....................२

भु.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.सिचुननी टोलको पूर्व रामभत्तः श्रेष्ठको र कान्छा राय श्रेष्ठको घर पश्चिममा जोगलाल गोजा श्रेष्ठको बगैंचा उत्तर लुरुकुमार गोजा श्रेष्ठको र माहिला गोजा श्रेष्ठको चोक, दक्षिण हेरालाल लायासो श्रेष्ठको घर यती ४ किल्ला भित्रको पश्चिम मोहडा पूर्व पश्चिम  लङ हात २१, उत्तर दक्षिण हात २० को ४ नाले ३ तले ५ कबले कौशी नभएको पक्कि झिंगटी छाना भएको घर १

थु.पु.बालकुमारी गा.पं.का देहायमा लेखिएका बडा र कित्ता नं.का जग्गामा जिलाल गोजा श्रेष्ठका नाउँमा दर्ता भएका जग्गाहरु १

बडा नं.कि.नं.१ १२९ को रोपनी ०

ऐ.कि.नं.१८४ को रोपनी     ०

ऐ.कि.नं.२९२ को रोपनी     ०

ऐ.कि.नं.२०३ को रोपनी     ०

ऐ.वडा नं.२ को कि.नं.२०५

को रोपनी                      ०

ऐ.कि.नं.२०६ को रोपनी           ०

ऐ.कि.नं.२०७ को रोपनी          ०

ऐ.कि.नं.२०८ को रोपनी           ०

ऐ.ऐ.का नाउँमा ऐ.ऐ.वालकोट गा.पं.का देहायका

वडा कि.को लगतमा दर्ता भएको खेत      १

वडा नं.९ कि.नं.८३५ को रोपनी     ०

ऐ.कि.नं.८४४ को रोपनी           ०

वडा नं.८ कि.नं.१०१९ को रोपनी     ०

ऐ.कि.नं.१०३६ को रोपनी ०

वडा नं.९ को कि.नं.१२९३ को रोपनी ०

ऐ.कि.नं.१२९७ को रोपनी          ०

ऐ.कि.नं.१२९६ को रोपनी           ०

ऐ.ऐ.का नाउँमा ऐ.ऐ.दधिकोट गा.पं.वडा नं.८ का

देहायका कित्ताका खेत             १

कि.नं.२७२ को रोपनी             ०

कि.नं.२७६ को रोपनी                   ०

कि.नं.२८१ को रोपनी             ०

कि.नं.२८८ को रोपनी                   ०

 कि.नं.२९० को रोपनी             ०

ऐ.ऐ.का नाउँमा ऐ.को लोहकिलथली गा.पं.कि.नं.१३५ को लगतमा दर्ता भएको खेत रोपनी ०१ जग्गा                               १

भ.पु.दिव्यश्वरी लोहकिलथली गा.पं.को लगतमा तेजकृष्ण श्रेष्ठका नाउँमा दर्ता भएको देहायका लेखिएको खेत                १

वडा नं.१(ग) मौजा कि.नं.१००२ को रोपनी ०

वडा नं.२ (ख) मौजा कि.नं.७७६ को रोपनी ०

ऐ.ऐ.का नाउँमा ऐ.ऐ.बालकोट गा.पं.वडा नं.९ कि.नं.८३४ को

रोपनी ०० को जग्गा                 १

ऐ.ऐ.का नाउँमा ऐ.ऐ.को दधिकोट गा.पं.वडा नं.८ (ख) मौजा देहायका कित्ताको लगतमा दर्ता भएको खेत                               १

कि.नं.२१४५ को रोपनी                  ०

कि.नं.२१७८ को रोपनी                  ०

कि.नं.२१८२ को रोपनी                  ०-

ऐ.ऐ.का नाउँमा ऐ.ऐ.बालकुमारी गा.पं.वडा नं.१ का

देहाय कित्ताको लगतमा दर्ता भएको खेत    १

कि.नं.१८ को रोपनी                    ०

कि.नं.४५ को रोपनी                   

कि.नं.७० को रोपनी                    ०

कि.नं.९२ को रोपनी                    ०

कि.नं.१०८ को रोपनी                   ०

कि.नं.११५ को रोपनी                   ०

कि.नं.१२५ को रोपनी                         ०

ऐ.ऐ.को नाउँमा ऐ.ऐ.दधिकोट गा.पं.वडा नं.८ (ख)

मौजा देहायमा लेखिएको खेत             १

कि.नं.८२ को रोपनी                    ०

कि.नं.८५ को रोपनी                    ०

कि.नं.८८ को रोपनी                    ०

कि.नं.२०७ को रोपनी                   ०

तेजकृष्ण, जितलाल र लक्ष्मीलाल न्हुछे श्रेष्ठ समेत ३ जनाका नाउँमा ऐ.वालकोट गा.पं.वडा नं.९ का देहायका कित्ताको लगतमा दर्ता भएको खेत मध्ये लक्ष्मीलालको एक भाग कटाइ १

कि.नं.८४१ को रोपनी ०

कि.नं.८४५ को रोपनी ०,

कि.नं.९०० को रोपनी ०

कि.नं.९०१ को रोपनी ०

वालकोट गा.पं.वडा नं.९ को पूर्व लक्ष्मीनारायण, दक्षिण बाटो, पश्चिम बाटो उत्तर चन्द्रमानको जग्गा यति ४ किल्ला भित्रको भू.प्र.का.भ.पु.मा जितलाल गोजाको नाउँमा दर्ता भएको कि.नं.९०२ को क्षेत्रफल ०२ को जग्गा १

दधिकोट गा.पं.वडा नं.८ को पूर्व काशिनाथको जग्गा, दक्षिण रामहरीको, पश्चिम हरिबहादुरको र उत्तर चुरीराजको जग्गा यति ४ किल्ला भित्रको ऐ.को नाउँमा दर्ता भएको कि.नं.१७५९ को क्षेत्रफल ०० को जग्गा १ऐ.ऐ.वडा नं.९ को पूर्व जोगलालको जग्गा, दक्षिण जगतलालको जग्गा, पश्चिम कृष्णकुमारको जग्गा र उत्तर बाटो यति ४ किल्ला भित्रको ऐ.को नाउँमा दर्ता भएको कि.नं.२७२ को क्षेत्रफल ०२ को जग्गा  १

ऐ.ऐ.को पूर्व कष्णकुमारको जग्गा, दक्षिण कृष्णबहादुरको जग्गा, पश्चिम बाटो र उत्तर जोगलालको जग्गा । यति ४ किल्ला भित्रको ऐ.को नाउँमा दर्ता भएको कि.नं.२७६ को क्षेत्रफल ०० को जग्गा  १ ऐ.ऐ.को पूर्व सूर्यलालको जग्गा, दक्षिण कृष्णकुमारको जग्गा, पश्चिम जोगलालको जग्गा र उत्तर जोगलालको जग्गा । यति ४ किल्ला भित्रको ऐ.ऐ.को नाउँमा दर्ता भएको कि.नं.२८१ को क्षेत्रफल ०३ को जग्गा १

ऐ.ऐ.को पूर्व हरिलालको जग्गा, दक्षिण जोगलालको जग्गा, पश्चिम पानासिंहको जग्गा र उत्तर कृष्णकुमारको जग्गा । यति ४ किल्ला भित्रको ऐ.ऐ.को नाउँमा दर्ता भएको कि.नं.२८८ को क्षेत्रफल ०१ को जग्गा  १

ऐ.ऐ.को पूर्व सिरकुमारको जग्गा, दक्षिण इन्द्रकुमारको जग्गा, पश्चिम जोगलालको जग्गा र उत्तर कृष्णकुमारको जग्गा । यति ४ किल्ला भित्रको ऐ.ऐ.को नाउँमा दर्ता भएको कि.नं.२९० को क्षेत्रफल ०१ को जग्गा १बालकुमारी गा.पं.वडा नं.२ को पूर्व चन्द्रमानको जग्गा, दक्षिण बुरकुमारको जग्गा, पश्चिम काजीबहादुरको जग्गा र उत्तर पन्चनारायणको जग्गा यति ४ किल्ला भित्रको ऐ.ऐ.को नाउँमा दर्ता भएको कि.नं.२०३ को क्षेत्रफल ०० को जग्गा १

ऐ.ऐ.वडा नं.१ को पूर्व कान्छाको बगैंचा, दक्षिण हिरालालको घर, पश्चिम जोगलालको बगैंचा र उत्तर लुरुकुमारको चोक । यति ४ किल्ला भित्रको २ नाले ५ कबले ३ तले पक्कि घर  १ चल तर्फको रु.२२३२।५० (दुईहजार दुई सय बत्तिस रुपैयाँ पचास पैसा) को आधा रु.१११६।२५ (एकहजार एकसय सोहृ रुपैयाँ पचिस पैसा) १

माथि इन्साफ खण्डमा वादी दावी पुग्ने ठहरेकोले डिभिजनबेञ्चको फैसला बमोजिम प्रतिवादी जितलाल श्रेष्ठले वादीबाट भरि पाउने ठहराएको बा.अं.अ.मा पुनरावेदन गर्दा मिति ०३३।४।१० मा दाखिल गरेको कोर्टफि रु.२९।९५ र यस अदालतमा पुनरावेदन गर्दा मिति ०३५।४।५।५ मा दाखिल गरेको कोर्टफी रु.२९।९५ समेत जम्मा कोर्टफी रु.५९।९० अब भराउन नपर्ने हुँदा उक्त मितिको डिभिजनबेञ्चको फैसला र लगत बमोजिम भरि भराउ गर्न नपर्ने हुँदा उक्त लगत कट्टा गर्न का.जि.त.मा लगत दिनु...................................................................................३

वादी तेजकृष्ण श्रेष्ठ के स.अ.डिभिजनबेञ्चको फैसलाले लिने गरेको ०३८।६।९ मा दाखिल हुन आएको कोर्टफी रु.५९।९० र मुद्दा दोहर्‍याई बापत ऐ.मितिमा दाखिल हुन आएको रु.१९।९७ समेत जम्मा रु.७९।८७ प्रतिवादी जितलाल श्रेष्ठबाट भरी पाउने हुँदा प्रतिावादीबाट भराइ पाउँ भनी कानूनको म्याद भित्र वादीको दर्खास्त परेमा कोर्टफी ऐन, २०१७ बमोजिम दस्तुर केही नलिई प्रतिवादीबाट वादीलाई भराई दिनु भनी भक्तपुर जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु १

मिसिल नियम बमोजिम गरी बुझाई दिनु.......................४

हामीहरु सहमत छौं ।

 

प्र.न्या.नयनबहादुर खत्री,

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल चैत्र ४ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु