शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६१० - लिखत बदर

भाग: २४ साल: २०३९ महिना: चैत्र अंक: १२

निर्णय नं. १६१०        ने.का.प. २०३९ अङ्क १२

 

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.फु.नं. ३१

फैसला भएको मिति  : २०३९।१२।४।६ मा

निवेदक/वादी : भक्तपुर जिल्ला बालकुमारी गा.पं..वडा नं.१ बस्ने तेजकृष्ण गोजा श्रेष्ठ

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने जीतलाल श्रेष्ठ

मुद्दा : लिखत बदर

(१)                विवादका जग्गाहरु बण्डा नहुँदै दिने लिने गरी लिखत पारित भएको देखिएकोले बदर  हुने ।

(प्रकरण नं. १०)

निवेदक/वादीतर्फबाट :

विपक्षी/प्रतिवादीतर्फबाट :  

उल्लिखित मुद्दा :

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।१०।६ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा लिखत बदर मुद्दाको मिसिल झिकी फुलबेञ्च बाट दोहराई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने मौसूफका बिशेष जाहेरी बिभाग मार्फत बक्स भईआएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ :

२.    भाजुमुनिको छोरा न्हुछे र भानीमा न्हुछेको छोरा बीरमान सिंह भन्ने जितनारायण, निजको छोरा नीरमान सिंह भन्ने जितमान सिं, निजको छोरा विपक्षी मध्येको जितलाल र कान्छा भानीको छोरा हंसराज, निजको छोरा हंसकुमार, निजको छोरा म तेजकृष्ण हुँ । अंशबण्डा नभएको र अंश नदिएकोले जितलालका नाउँमा अंश मुद्दामा यस अदालतमा नालेस परेको दायरै छ । अंशबण्डा भई नसकी निज जितलाल र मेरो हकको भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.२ कि.नं.२०५ को रोपनी ।ऽ।। को १ ऐ.पं.ऐन वडा कि.नं.२०६ को रोपनी ३।। को १ ऐ.पं.ऐ.वडा कि.नं.२०८ को रोपनी ।८। को १ समेत जम्मा रोपनी १ऽ।।। विपक्षी जितलालको नाउँमा दर्ता रहेको नाताले रु.५०००।मा जितलाल दिने विपक्षी पंचनारायणले लिने गरी २०३०।११।१५।३ मा भ.भु.मु.प्र.का.मार्फत रजिष्ट्रेशन पारित गराएछन् । सो कुरा थाहा थिएन, पछि गाउँ घरमा सो कुराको चर्चा चलि भु.पु.भु.प्र.का.मा गई ०३१।४।६।१ मा नक्कल गराई लिई हेराउँदा थाहा र निश्चय भयो । म समेतको बराबर हक भएको जग्गा विपक्षीहरुले परस्पर राजीनामा गरी दिनु लिनु गरेकोले लेनदेन व्यवहारको १० नं.बमोजिम सोही ऐनको म्याद भित्र नालेस गरेको छु । मेरो हक आधि लिनु दिनु गरी राजीनामा पास गरेको बदर गरी पाउँ भन्ने समेत फिराद ।

३.    वादीले प्रतिवादी मध्येका म जितलालको नाउँमा दिएको अंश मुद्दाको फिराद यसै अ.मा दायर छ । वादीले देखाएको पुर्खा र मेरा पुर्खा बेग्ला बेग्लै भएको र मेरो बाबु बाजे पुस्तावारमा भए नभएका व्यक्ति बुझाई आफुलाई हामीहरुका हकवाला तथा अंशियार समेत भनी झुठ्ठा विवरण पेश गरिएको छ । अंश मुद्दाको प्रतिवादीमा मैले देखाएको पुर्खाबाट उक्त मुद्दा इन्साफ पाउने छु । वादी म जितलालको अंशियार नभएकोले मेरो श्रीसम्पत्ति निजको कुनै हक दावी लाग्ने होइन । अंश नभई एकघर सँग बसेका सदस्य नहुँदा वादीलाई लेनदेन व्यवहारको १० नं.अन्तर्गत सो राजीनामामा मञ्जुरी लिनु पर्ने पनि देखिन्न । बिक्री भएको जग्गा विपक्षीलाई फिर्ता हुनु नपर्ने र लिखत बदर पनि हुन नसक्ने सिद्ध छ । आफ्नो हक पुगेको सम्पत्ति बिक्री गरेको र हक पुग्ने व्यक्तिबाट राजीनामा समेत पारित गराई लिई म पंचनारायणको हक भई सकेको जग्गा हुँदा हक नपुग्ने व्यक्तिबाट भएको दावी फिराद लाग्न सक्दैन, खारेज हुनु पर्छ । सगोल एकाघरका र अंशियार समेत नभएका वादीले आफुलाई अंशियार भन्ने दावी लिई हक नपुग्ने व्यक्तिबाट हक पुगेका समर्थ व्यक्तिहरुले गरेको राजीनामा लेनदेन कारोवारको लिखत बदर गरी आफुले लिन खान पाउनु पर्छ भनी झुठ्ठा फिराद गरेबाट फुर्सत पाउँ भन्ने समेत दुवै प्रतिवादीको एउटै प्रतिउत्तर ।

४.    दिने प्रतिवादी जितलाल लिने पंचनारायण भई रु.५०००। मा जग्गा राजीनामा गरी २०३०।११।१५।३ मा रजिष्ट्रेशन पास भएको प्रतिलिपीबाट लेनदेन व्यवहारको १० नं.बमोजिम मञ्जुरी नलिई बिक्री गरेको देखियो । वादी अंशियार होईन भन्न प्रतिवादीले अंश मुद्दामा प्रमाण पुर्‍याउन नसकेको हुनाले वादी दावीको लिखत बदर नहुने भन्न मिलेन, अंश मुद्दामा वादी अंशियार ठहरी फैसला भएकोले वादी दावी बमोजिम लिखतको जग्गा मध्ये वादीको हक आधा बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको फैसला ।

५.    सो फैसला उपर प्रतिवादीको बा.अं.अ.मा परेको पुनरावेदन । यसमा मुद्दा अंश मुद्दाकै लगाउको हुँदा पुनरावेदकलाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको बा.अं.अ.को आदेश ।

६.    यिनै वादी प्रतिवादी भएको अंश मुद्दामा वादीलाई प्रतिवादीले अंश दिनु पर्ने ठहराई भक्तपुर जिल्ला अदालतले गरेको इन्साफ मनासिव ठहरी आजै यस बेञ्चबाट निर्णय भएको हुनाले उक्त अंश मुद्दाबाट वादीले अंश पाउने जग्गा वादीको मञ्जुरी बेगर प्रतिवादीले पन्चनारायणलाई बिक्री गरेको सदर मान्न नहुने हुनाले पुनरावेदन जिकिर र निजतर्फको विद्वान वकिलको तर्क प्रतितलायक भएन । अतः वादी दावी बमोजिम लिखतको जग्गा मध्ये वादीको हक आधा बदर हुने ठहराएको भक्तपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत ०३४।३।१३।२ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरुले चढाएको निवेदनमा यसै सम्बन्धको अंश मुद्दामा पुनरावेदनको अनुमति प्रदान गरेकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिईएको छ भन्ने डिभिजनबेञ्चको आदेश ।

८.    अंश मुद्दाबाट वादी दावी झुठ्ठा ठहरी वादी तेजकृष्णले प्रतिवादी जितलालबाट अंश पाउन नसक्ने ठहरी उक्त अंश मुद्दा आजै फैसला भएकोले लिखत बदर हुन नसक्ने भएबाट वादी दावी पुग्नै नसक्ने ठहर्छ । सुरु भक्तपुर जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादी दावी बमोजिम लिखत बदर गर्ने ठहराएको इन्साफ नमिलेको हुनाले सो इन्साफ गल्ती भई बदर हुन्छ भन्ने डिभिजनबेञ्चको ०३६।१०।६ को फैसला ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी ०३९।११।२० मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा विवादको लिखत बदर नहुने ठहर गरेको डिभिजनबेञ्चको इन्साफ मनासिव बेमुनासिव के हो भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

१०.    यसमा अंशबण्डा नहुँदै जितलालले मेरो समेत हक लाग्ने भ.पु.जि.ठिमी बालकुमारी गा.पं.को वडा नं.२ को कि.नं.२०५, २०६, २०७, २०८ को जितलालको नाउँमा दर्ता भएको जग्गाहरु निजको नाउँमा दर्ता रहेको नाताले रु.५,०००।मा जितलाल दिने विपक्षी पन्चनारायणले लिने गरी ०३०।११।१५।३ मा भू.प्र.का.भक्तपुरबाट पारित भएको राजीनामा लिखत बदर गरिपाउँ भन्ने समेत निवेदक वादीको मुख्य जिकिर देखिन्छ । यिनै वादी प्रतिवादीको बीचमा चलेको अंश मुद्दामा आज यसै बेञ्चबाट वादी तेजकृष्ण श्रेष्ठले वादी दावी बमोजिम २ भागको १ भाग अंश पाउने ठहरी फैसला भएको र विवादका जग्गाहरु बण्डा नहुँदै जितलाल दिने पन्चनारायणले लिने गरी लिखत पारित भएको देखिएकोले उक्त लिखत बदर हुने ठहराएको सुरु भक्तपुर जिल्ला अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । लिखत बदर नहुने ठहराएको डिभिजनबेञ्चको      इन्साफ मिलेको नदेखिँदा बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी तेजकृष्ण गोजा श्रेष्ठकै माथि इन्साफ खण्डमा वादी दावी बमोजिम लिखत बदर हुने ठहरेकोले सुरु भक्तपुर जिल्ला अदालतका ०३३।२।१९।३ का फैसलाले वादीले प्रतिवादी जितलाल गोजा श्रेष्ठबाट भरिपाउने ठहरेको ५।८३ र पन्चनारायण मानन्धरबाट भरी पाउने ठहरेको रु.५।८३ समेत जम्मा कोर्टफी रु.११।६६ स.अ.डिभिजनबेञ्चका ०३६।१०।६ का फैसला र ०३७।२।३० का लगतले लगत काट्ने गरेकोमा हाल सुरुको इन्साफ सदर भएकोले उक्त डिभिजनबेञ्चको फैसला बमोजिमको लगत काटी सुरु भ.पु.जि.अ.को फैसला बमोजिमको लगत कायम गर्नु भनी सुरु भ.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु.......................................१

वादी दावी बमोजिम लिखत बदर हुने ठहरेकोले फैसला बमोजिम वादी तेजकृष्ण गोजा श्रेष्ठको आधा हक लाग्ने भएकोले आधा बदर भएको जनाउ भू.प्र.का.भक्तपुरलाई दिने गरेको सुरु भक्तपुर जि.अ.को लगत काट्ने गरेको उक्त डिभिजनबेञ्चको लगत काटी भ.पु.जि.अ.को फैसला बमोजिमको लगत कायम गर्नु भनी ऐ.मा लेखी पठाउन ऐ.मा लगत दिनु..................२

वादी दावी मनासिव ठहर्दा प्रतिवादी जितलाल समेतले सुरु उपर पुनरावेदन गर्दा वा.अं.अ.मा ०३३।४।१०।१ मा दाखिल गरेको कोर्टफी र अन्य दस्तुर समेत रु.११।५० र स.अ.मा पुनरावेदन गर्दा ०३५।४।६।६ मा दाखिल गरेको कोर्टफी रु.१।५० समेत जम्मा रु.१३। वादीबाट भराउने गरेकोमा अब भराउन नपर्ने हुँदा व्यहोरा जनाई लगत कट्टा गर्न ऐ.ऐ.मा लेखी पठाउन ऐ.ऐ.मा लगत दिनु........................................................३

वादीले तेजकृष्ण गोजा श्रेष्ठ के स.अ.डिभिजनबेञ्चका फैसलाले भराउने गरेको ०३८।६।९ मा दाखिल भऐका कोर्टफी रु.१३। र मुद्दा दोहर्‍याए वापत ऐ.मा दाखिल भएको कोर्टफी रु.१। समेत जम्मा कोर्टफी रु.१४। प्रतिवादीबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को म्याद भित्र दावी गरी आएमा केही दस्तुर नलिई प्रतिवादी जितलाल श्रेष्ठ १ पन्चनारायण मानन्धर समेतबाट वादीलाई भराई दिनु भनी ऐ.मा लेखी पठाउन ऐ.मा लगत दिनु............................४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...............................५

 

हामीहरु सहमत छौं ।

 

प्र.न्या.नयनबहादुर खत्री 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०३९ साल चैत्र४ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु