शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६११ - अंश अपुताली

भाग: २४ साल: २०३९ महिना: चैत्र अंक: १२

निर्णय नं. १६११          ने.का.प. २०३९ अङ्क १२

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३८ सालका दे.पु.नं. ३०४

फैसला भएको मिति  : २०३९।१२।१।३ मा

पुनरावेदक वादी : भोजपुर सिद्देश्वर गा.पं. वडा नं.६ मोहरिया, कोहाल गुप्तेश्वर गा.पं.वडा नं.१     वांगदह बस्ने शान्ति प्रधान

विरुद्ध

विपक्षी प्रतिवादी : ऐ.ऐ.सिद्देश्वर गा.पं.वडा नं.६ बस्ने बिष्णुप्रसाद प्रधान

मुद्दा : अंश अपुताली

(१)                अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने भनी फिराद दावी खारेज गर्ने गरी गरेको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी दावी खारेज हुने ।

(प्रकरण नं. ११)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षी तर्फबाट      : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल

उल्लिखित मुद्दा :

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     प्रस्तुत मुद्दामा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ (५) (ख) अुनसार पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसारको छ :

२.    बाजे हर्कमानको ३ छोरामा मेरा बाबु लक्ष्मीप्रसाद जेठा, माहिला कृष्ण्प्रसाद, कान्छा बिष्णुप्रसाद सबै सगोलमा रहेको बखत बाबु लक्ष्मीप्रसाद २०१८।४।१० गते मरेको, आमा ०२० सालमा पोइला गएको, बाबुतर्फ छोरी एक म मात्र जन्म भएको, माइला बाबुकृष्णप्रसाद ०९ सालमा मरी निजको स्वास्नी केही जायजन्म नभई पोइल गएको, मेरा बाबु र कान्छा बाबु विपक्षीको अंशबण्डाको १ नं.ले २ अंश लाग्ने, बाबुको अंश भाग अपुतालीको २ नं.ले म छोरीले पाउने हुँदा बाबुको अंश दिनुहोस् भनी ०३६।११।२ गते विपक्षीलाई भन्दा दिन्न भनेकोले फिराद गर्न आएको छु । तायदाती लिई दुई अंश कायम गरी मेरा बाबु लक्ष्मीप्रसादको १ अंश भाग छुट्याई अपुतालीको २ नं.बमोजिम दिलाई पाउँ भन्ने समेत शान्ती प्रधानको फिरादपत्र ।

३.    बाबु हर्कमान र विवाह नभएकी फुपु शिवकुमारीको पनि अंश नभएकाले हर्कमानको भागबाट अंश पाउने मेरी आमा रामकुमारी, वादी म समेत ३ अंशियार छौं । वादी पोइल गएकी आमाको घर गई बसेकी छन् । अंश माग्न आएको होइन । वादीका बाबु अंश लिई भिन्न बसेको भएमात्र अपुताली वादीले पाउने हो । सो नभई सगोलै भएबाट वादीको उमेर नपुगेको हुँदा अंशबण्डा १६ नं.अ.बं.८२ नं.ले खारेज गरी पाउँ भन्ने समेत विष्णुप्रसादको प्रतिउत्तर ।

४.    अंशबण्डाको १६ नं.ले ३५ बर्ष पुगेपछि अंशमा दावी गर्न पाउने वादीको हक सुरक्षित देखिएकोले बाबुको अंश छुट्याई बाबुको अंश अपुताली दिलाई पाउँ भन्ने वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत भोजपुर जिल्ला अदालतको ०३७।२।८।४ को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी शान्ति प्रधानको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

६.    सुरु भोजपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।८।२२ को फैसला ।

७.    सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा अपुतालीको २ नं.को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिईएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।२७।५ को आदेश ।

८.    पुनरावेदिका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले पुनरावेदिकाको बाबुु मरेपछि बाबुको अपुताली छोरीले पाउने अपुतालीको २ नं.मा व्यवस्था भएकोले बाबुको अंश वादीले अपुताली पाउनु पर्छ । वादी दावी खारेज गरेको सुरु र क्षेत्रीय अदालतको फैसला मिलेको छैन भन्ने समेत र विपक्षीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेलले वादीको बाबुको अंश भएकै छैन, त्यसकारण अपुतालीमा वादीले दावी गर्न पाउँदैन । वादी दावी खारेज गरेको सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

९.    प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेका छ, छैन सो कुराको निर्णय दिनु परेको छ ।

१०.    यसमा निर्णयतर्फ हेर्दा बाबु लक्ष्मीप्रसाद ०१८।४।१० मा मरेको र २०२० सालमा आमा पोइल गएकोले बाबुको अंश अपुताली पाउँ भन्ने समेत ०३६।११।२८ मा यो फिराद वादी शान्ति प्रधानले दिएको देखिन्छ ।

११.    अंशबण्डाको १६ नं.मा पैंतिस बर्ष उमेर पुगेकी विवाह नभएकी छोरीलाई छोरा सरह अंश पाउने हक प्रदान गरेको पाइन्छ । तसर्थ, फिराद गरेको अवस्था र वादीको दावी समेतलाई विचार गर्दा अंशबण्डाको १६ नं.अनुसार अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने भनी फिराद दावी खारेज गर्ने गरी क्षेत्रीय अदालतले गरेको फैसलामा परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी दावी खारेज हुने ठहर्छ भनी सुरु भोजपुर जिल्ला अदालतले गरेको इन्साफ मनासिव गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले ठहराई छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन, मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०३९ साल चैत्र १ गते रोज ३ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु