शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४५१ - लुटपिट

भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक:

निर्णय नं. ४४५१    ने.का.प. २०४९ ()  अङ्क १

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४६ सालको फौ.पु.इ.नं. २५

फैसला भएको मिति : २०४८।१२।१८।३ मा

निवेदक/वादी: झापा जिल्ला बुधवारे गा.वि.स. वा.नं.९ बस्ने लक्ष्मीप्रसाद कोइरालाको मु.स. गर्ने प्रजापति कोइराला

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने भागिरथा न्यौपाने

मुद्दा : लुटपिट

(१)    तत्कालीन कब्जा वादीको रहेको धितो राखिएको सामानको सम्बन्धमा अ.बं. ८२ नं. अनुसार यी वादीलाई नालेश उजूर गर्ने हकदैया छैन भन्न नमिल्ने ।

(प्रकरण नं. १५)

(२)   प्रतिवादीले वादीले गोदाम गरी राखेको कोठाबाट चामल वादीको मन्जूरी बिना झिकी लगेमा स्वीकार गरेको, वादीका साक्षीहरुले लुटी लगेको भनी प्रष्ट रुपमा किटानी बकपत्र गरी दिएको र गोदाम रक्षकले पनि गोदाम सार्न लाग्दा जबरजस्ती चामल लुटी लगेको भनी किटान बयान गरी दिएको समेत आधार प्रमाणबाट प्रतिवादीले लुटपीट गरेको देखिँदा वादी दावी बमोजिम प्रतिवादी समेतले लुटपीट गरेको ठहर्‍याएको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १५)

निवेदक/वादी तर्फबाट: विद्वारा वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा

विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल

फैसला

न्या.कृष्णजंग रायमाझी

१.     सर्वोच्च अदालत पूर्णइजलासबाट भएको मिति २०४२।६।२५ को निर्णय दोहर्‍याई हेरिदिनु भन्ने हु.प्र. बक्स पाउँ भनी वादीले दिएको विन्तिपत्रमा उक्त लुटपिट मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्से बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    विपक्षी भागीरथाको गोदाम मैले भाडामा लिई नेपाल बैंकसंग कारोवार गरेको नं. २३ को गोदामबाट २५ नं. गोदाममा चामल सार्दा विपक्षी भागिरथाले अरु मानिस समेतलाई गोदामको चामल बोरा १९२ र ११ बोरा कोदो समेत लुटपिट गरी लगे, मेरो भागमा पर्ने चामल बोरा ९५ को बिगो रु. १७,००५।दिलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोरा भएको फिराद रहेछ ।

३.    रामकुमार शर्मासंग अघि देखि कारोवार गरी आएकोमा सो कर्जा वापतको चामल बोरा ८८ निकाली दिएकाले लिएको मात्र हुँ लुटपिट गरेको छैन भन्ने प्र.भागिरथा न्यौपाने र ०३०।१।४ गतेका दिन छोरा हरिप्रसादलाई घ्यू पुर्‍याउन गएको छु लुटपिट गरेको होइन भन्ने देवीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी जिकिर बमोजिम सबूद गुज्रन नसकेकोले र लुटपिटको चामल मध्ये ८८ बोरा चामल लगेकोमा प्र.भागिरथा सावितै देखिँदा वादी दावी बमोजिम प्र.भागिरथा समेतले लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोरा भएको ०३३।१।२९।३ को इलाम जिल्ला अदालतको फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन शुरु इन्साफ उल्टाई मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी झुठ्ठा लुटपिटका दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोरा भएको प्र.भागिरथाको पुनरावेदन ।

६.    वादीको साक्षीहरुको बकाई एक अर्कासंग परस्पर बाझिएकोले शुरु इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम र क्षेत्रीय अदालत नियमावली अनुसार झगडिया झिकाई पेश गर्नु भन्ने पू.क्षे.अ. को डिभिजनबेञ्चको ०३५।९।६।३ गतेको आदेश रहेछ ।

७.    इलाम जिल्ला अदालतबाट वादी दावी बमोजिमको चामल पुनरावेदिका र प्रतिवादी समेतले लुटपिट ठहराएको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोरा भएको मिति ०३६।१।२ गतेको पू.क्षे.अ. को फैसला रहेछ ।

८.    उक्त पू.क्षे.अ. को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षत गम्भीर कानुनी त्रुटि भएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति पाउँ भन्ने पुनरावेदिका प्रतिवादी भागिरथा न्यौपानेको यस अदालतमा पर्न आएको निवेदन रहेछ ।

९.    बैंकसंग कारोवार गरी नेपाल बैंकलाई धितो राखेको गोदामको चामल बोरा लुटी लग्यो भन्ने वादी दावी भएको प्रस्तुत मुद्दामा पेटबोलीबाट अ.बं. १३९ नं. बमोजिम चामल धितो लिने ने.बैंकलाई पनि बुझी निर्णय गर्नु पर्नेमा सो भए गरेको नदेखिएकोले उक्त पू.क्षे.अ. को निर्णयमा अ.बं. १३९ नं. को त्रुटि भएको हुँदा त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोरा भएको यस अदालत डिभिजनबेञ्चको ०३७।४।२० गतेको आदेश रहेछ ।

१०.    यसमा चामल बोरा ९५ प्रतिवादीहरुले लुटी लगे भनी वादीले दावी लिनु भएकोमा रामकुमारसंग लिनु पर्ने लेनामा दिएको, झुठ्ठा दोष लगाएको मात्र हो झुठ्ठा वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिवादी भएकोमा यिनै रामकुमारले सर्वोच्च अदालतमा विपक्षी भागीरथा न्यौपाने समेत उपर दिएको उत्प्रेषणको १२६३ को रिटनिवेदनमा प्र.भागिरथाले लुटी लगेको कुरा दर्शाएको मिसिल सामेल रहेको उक्त रिटनिवेदनको नक्कलबाट देखिँदा लेनामा रामकुमारले उक्त चामल बोरा दिएको भन्ने प्रतिवादीको भनाई फजुल देखिन्छ ।

११.    रामकुमार शर्मासंगको लेनाको सबूद प्रतिवादीले दिन नसकेको र खुदै रामकुमारले प्र.भागिरथाले लुटी लगेकोे भनेको पाइन्छ । चामल लुटपिट गरेको कुरा वादीका साक्षीहरुले लेखी दिएको र वादीले गोदाम भाडामा लिई राखेको, त्यस्तो चामल लगेमा प्रतेवादी स्वयं सावितै हुँदा यस्तो अवस्थामा बैंक बुझी रहनु पर्ने आवश्यक समेत देखिन्न । वादी दावी बमोजिम चामल प्रतेवादी समेतले लुटपिट गरेको ठहराएको इलाम जिल्ला अदालतको इन्साफ मनासिब ठहराएको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने ०३९।११।१२।५ को डिभिजनबेञ्चको फैसला ।

१२.   वादीले चामल धितो राखी नेपाल बैंक लिमिटेड शनिश्चरे उपशाखाबाट कर्जा लिएकोमा विवाद छैन । धितो राखेको चामल नेपाल बैंक लिमिटेडको जिम्मामा रहँदाको अवस्थामा लुटपिट भएको भन्ने कुरा मिसिल संलग्न कागजहरुबाट देखिन्छ । यस्तो अवस्थामा लुटपिटमा नालेश गर्ने हकदैया अ.बं. ८२ नं. ले नेपाल बैंक लिमिटेडलाई भएको देखिन्छ वादीलाई हकदैया नै नभएको स्थितिमा निजको नालेश नै लाग्न नसक्ने हुँदा अन्य कुरा तर्फ विचार गर्नु परेन प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत यस अदालत पूर्णइजलासको मिति २०४२।६।२५ को फैसला ।

१३.   पूर्णइजलासको उक्त निर्णय दोहोराई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी वादीले दिएको विन्तिपत्रमा उक्त लुटपिट मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भई पेश हुन आएको रहेछ ।

१४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्माले बैंकसंग भएको शर्तनामाको दफा ७ मा धितो राखेको माल वस्तु ग्राहककै रेखदेखमा रहने र माल हिनामिना अदल बदल भएमा ग्राहक आफै जवाफदेही हुनु पर्ने भन्ने शर्त रहेको छ । गोदाम घर वादी आफैले भाडामा लिएको र गोदाममा पनि बैंक र ग्राहक दुवैको ताल्चा लगाइएको छ । यस्तो स्थितिमा धितोमा राखिएको मालमा तत्कालीन कब्जा वादीको थिएन भनी भन्न मिल्दैन । यसर्थ वादीको हकदैया छैन भन्न मिल्दैन । प्रतिवादी भागिरथाले धितो राखिएको सामान लगेमा स्वीकार नै गरेको हुँदा वादी दावी बमोजिम ठहर हुनु पर्ने भन्ने र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(ख) अनुसार धितोमा राखिएको माल तत्कालीन रुपमा बैंकको कब्जामा रहने स्पष्ट छ । बैंकको कब्जामा वा जिम्मा भएको अवस्थामा लुटपिट भएको भन्ने वादीको फिरादबाटै देखिन्छ । यस्तो अवस्थामा अ.बं. ८२ नं. बमोजिम नालेश उजूर गर्ने हकदैया नेपाल बैंक लिमिटेडलाई मात्र छ । हकदैया नै नभएको विषयमा नालेश उजूर गरेको हुँदा वादी दावी खारेज हुने ठहर्‍याएको सर्वोच्च अदालत पूर्णइजलासको इन्साफ सदर हुनु पर्ने भनी बहस गर्नु भयो ।

१५.   निर्णयतर्फ विचार गर्दा यसमा ९५ बोरा चामल प्रतिवादी भागरिथा न्यौपानेसंग गोदाम भाडामा लिई राखेको र सो चामल धितो राखी नेपाल बैंक लिमिटेड शनिश्चरे उपशाखाबाट वादीले कर्जा लिएकोमा विवाद देखिन्न । वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(ख) मा बैंकले चल सम्पत्तिको धितोमा कर्जा दिन सक्नेछ र यसरी कर्जा दिंदा बैंकले आफूलाई मान्य हुने शर्तहरु गराउनु पर्नेछभन्ने उल्लेख भएको पाइन्छ । लक्ष्मीप्रसाद कोइराला र नेपाल बैंक लिमिटेड शनिश्चरे शाखा बीच भएको मिति ०२९।११।२१ र २०२९।१२।३ को लिखतमा उल्लेखित शर्तको दफा ७ मा ग्राहकको गोदाममा रहेको मालहरुमा हाम्रो र ग्राहकको ताला लागी निजै ग्राहकको रेखदेखमा रहने छ, सो गोदाममा कुनै किसिमबाट माल हिनामिना वा अदल बदल हुन गएमा ग्राहक स्वयं जवाफदेही हुनु पर्नेछभन्ने उल्लेख भएको पाइन्छ । साथै लिखतमा गोदामको भाडा ग्राहकले नै व्यहोर्नु पर्ने भन्ने शर्त पनि रहेको देखिन्छ । यसरी धितो रहेको माल ग्राहककै रेखदेखमा रहने, हिनामिना भएमा ग्राहक स्वयं जवाफदेही हुनुपर्ने, गोदाम भाडा ग्राहकले नै व्यहोर्नु पर्ने, शर्त राखिएको गोदाममा ग्राहकको समेत ताल्चा लागाइएको अवस्थामा धितो मालमा नेपाल बैंक र ग्राहक समेतको संयुक्त रुपमा कब्जा तथा नियन्त्रणमा रही ग्राहकको रेखदेखमा रहेको देखिन्छ । तसर्थ तत्कालीन कब्जा वादी लक्ष्मीप्रसाद कोइरालाको थिएन भनी प्रतिवादी तर्फका विद्वान कानुन व्यवसायीले उठाउनु भएको तर्क युक्तिसंगत देखिएन । अतः धितो राखिएको उक्त सामानको सम्बन्धमा अ.बं. ८२ नं. अनुसार यी वादीलाई नालेश उजूर गर्न हकदैया छैन भन्न मिलेन । अब वादी दावी बमोजिम प्रतिवादीले लुटपिट गरेको हो होइन ? त्यसतर्फ हेर्दा प्रतिवादी मध्येका भागिरथा न्यौपानेले प्रतिउत्तर दिंदा वादी दावी बमोजिम लुटी लगेको होइन रामकुमारसंगको लेनामा चामल बोरा ८८ लगेको हो भनी आफ्नो घरमा गोदाम गरी वादीले राखेको चामल लगेको स्वीकार गरेको देखिन्छ । उक्त चामल प्रतिवादी भागिरथाले यी वादीबाट लग्न पाउने कुनै आधार लिखत पेश गर्न सकेको छैन । आफूले लगेको चामल रामकुमारकै हो भनी प्रतिउत्तरमा लेख्न सक्नु भएको पनि छैन । मेघनाथ ढकाल, मोहनलाल पाठक, दिनानाथ ढकाल, त्रिविक्रम गौतम समेतका साक्षीहरुले वादी दावी बमोजिम बैंकको कर्मचारी समेत भई गोदामको ताल्चा खोली चामल अर्को गोदाममा सार्न लाग्दा प्रतिवादी भागिरथाले अरु व्यक्ति समेतको सहयोगबाट चामल लुटपिट गरी लगेको हो भनी किटानी साथ बकपत्र गरेको देखिन्छ । त्यसरी नै बैंकको गोदाम रक्षक नारद कोइरालाले पनि गोदाम सार्न खोज्दा प्रतिवादी भागिरथाले गोदाममा रहेको चामल जबरजस्ती झिकी लगेको भनी अदालतमा आई बयान गरेको देखिन्छ । यसरी प्रतिवादी भागिरथा न्यौपानेले वादीले गोदाम गरी राखेको कोठाबाट चामल वादीको मन्जूरी बिना झिकी लगेमा स्वीकार गरेको, वादीको साक्षीहरुले भागिरथाले लुटी लगेको भनी प्रष्ट रुपमा किटानी बकपत्र गरिदिएको र गोदाम रक्षक नारद कोइरालाले पनि गोदाम सार्न लाग्दा भागिरथाले जबरजस्ती चामल लुटी लगेको भनी किटान बयान गरी दिएको समेत आधार प्रमाणबाट प्रतिवादीले लुटपिट गरेको देखिँदा वादी दावी बमोजिम प्रतिवादी भागिरथा न्यौपाने समेतले लुटपिट गरेको ठहर्‍याएको सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मनासिब ठहर्छ । वादीलाई फिराद गर्ने हकदैया नै नभएको भनी फिराद दावी खारेज गर्ने गरेको सर्वोच्च अदालत पूर्णइजलासको इन्साफ मिलेको देखिएन ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम (फुलबेञ्च) पूर्णइजलासको इन्साफ उल्टी भएकोले सो स.अ. फुलबेञ्च पूर्णइजलासको २०४२।६।२।२५ को फैसला बमोजिम कसिएको देहाय बमोजिमका लगत बमोजिम गर्नु पर्दैन सो लगत काटी देहाय बमोजिम गर्नु भनी का.जि.अ. मा लगत दिनु.....१, शुरु झापा जि.अ. को ०३३।१।२९ को फैसला र ०३३।२।६ का लगत कट्टी गर्न झापा जि.अ. मा लेखी पठाउने गरेकोमा सो लगत कट्टा गर्नु पर्दैन शुरु फैसला बमोजिमको लगत कायम गर्नु भनी झापा जि.अ. मा लेखी पठाउने कलम....१, प्र.भागीरथा न्यौपानेले जरिवाना रु. ३४०।१० वापत जेथा जमानी दिएको झापा महेशपुर गा.पं. वा.नं. ८क. कि.नं. ५५१, ५५२ को ०० जग्गा र सो जग्गामा बनेको घर जग्गा फुकुवा गर्ने गरेकोमा सो जरिवाना असूल नभएसम्म फुकुवा गर्न पर्दैन भनी झापा जि.अ. मा लेखी पठाउने कलम......१, प्र.भागीरथा न्यौपानेलाई पू.क्षे.अ. को फैसलाले लागेको ज.रु. ३४०।१० र स.अ. डिभिजनबेञ्चको फैसलाले लागेको ज.रु. १७०।५५ असूल भइसकेको निजलाई फिर्ता दिने गरेकोमा फिर्ता भई नसकेको भए फिर्ता दिने गरेको लगत काटी दिने र फिर्ता भइसकेको भए, फिर्ता भएको रकम ऐन बमोजिम असूल गरी लिनु भनी झापा जि.अ. मा लेखी पठाउने कलम....१, मिसिल नियम बमोजिम गरी बुझाई दिनु.........२

 

उक्त रायमा हामी सहमत छौं ।

 

प्र.न्या.विश्वनाथ उपाध्याय,

न्या.सुरेन्द्रप्रसाद सिंह,

न्या.हरगोविन्द सिंह प्रधान,

न्या.ओमभक्त श्रेष्ठ

 

इतिसम्वत् २०४८ साल चैत्र १८ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु