निर्णय नं. ४४५८ - कीर्ते जालसाज

निर्णय नं. ४४५८ ने.का.प. २०४७ (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननी न्यायाधीश श्री मोहनप्रसाद शर्मा
सम्वत् २०४७ सालको फौ.पु.नं. ४०९
फैसला भएको मिति : २०४८।१२।२३।१ मा
निवेदक/वादी: जि.सिरहा वस्तीपुर गा.पं. वा.नं. ९ बस्ने मुसहरु साहु तेली
विरुद्ध
विपक्षी : जि.सिरहा वेल्हा गा.पं. वा.नं. ८ बस्ने जमुनीलाल कर्णसमेत
मुद्दा : कीर्ते जालसाज
(१) आफैंले आफ्नो सहिछाप लेखात्मक रेखात्मक आफ्नो भन्छ भने त्यस्तो लेखात्मक सहिछाप विशेषज्ञबाट जँचाई रहनु पर्ने स्थिति नहुने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव
विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश राउत
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पू.क्षे.अ. को मिति २०४६।९।१६ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी मुसहरु साहु तेलीको यस अदालतमा पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. जिल्ला सिरहा गा.पं. वस्तीपुर वा.नं. ८(क) कि.नं. ४१ को १–०–०, ऐ. वा.नं. ८(ख) कि.नं. १६३ को ०–४–१५, ऐ. वा.नं. ९(ख) कि.नं. ८७ को १–५–३, वार्ड नं. ९(ख) कि.नं. १०९ को १–१–५ समेत जम्मा ३–११–४ जग्गा म मुसहरुको नाममा दर्ता भई भोगी आएकोमा विपक्षी जमुनीलाल कर्णका नाउँमा बकसपत्र लिखत खडा गरी ०३८।५।१ गते पास गराएछन । उक्त लिखतमा मेरो सहिछाप दस्तखत मैले नगरेकोमा विपक्षीहरु मिली बकसपत्र लिखत खडा गरी रजिष्ट्रेशन पास गराएको हुँदा केही व्यहोरा विपक्षी कुञ्जविहारीले र केही व्यहोरा राजकुमार लालले लेखी तयार पारेछन् । मेरो हक मेट्नलाई नभए नगरेको व्यहोरालाई भएको गरेको भनी जालसाज गरेकोले सबै विपक्षीहरुलाई कीर्ते कागजका १० नं. बमोजिम सजायँ समेत गरी पाउँ भन्ने व्यहोराको २०४१।२।३।४ को फिरादपत्र ।
३. वादी दावीको विभिन्न जग्गा विभिन्न कि.नं. हरुको जम्मा जग्गा ३–११–४ मुसहरु साहूले प्रतिवादी मध्येको म जमुनीलाल कर्णलाई मिति ०३८।५।१ मा बकसपत्र पास गरी दिएपछि मैले आफ्नो नाउँमा दर्ता गराई ज.ध.प्र.पुर्जा लिई भोगी आएको छु । वादी दावी अनुसार हामीहरुले कुनै व्यवहारबाट जालसाजी कीर्ते गरेको छैन, वादी दावी खारेज गरिपाउँ भन्ने राज कुमार कर्ण समेत जना ४ को २०४०।५।४।२ को प्रतिउत्तरपत्र ।
४. मुक्ति यादव र महाशंकरलाल २ जनाले प्रतिउत्तर नफिराई गुजारी बसेछन् । यस्मा लिखत हेर्दा रीतपूर्वकको देखिँदा वादी दावी पुग्न सक्दैन भन्ने शुरु सिराहा जिल्ला अदालतको मिति ०४२।११।२० को फैसला शुरु सि.जि.अ. ले मलाई अन्याय पूर्वक हराई गरेको फैसलामा चित्त बुझेन । उक्त इन्साफ बदर गरी पाउँ भन्ने स.अं.अ. राजविराज बेञ्चमा परेको पुनरावेदनपत्र । शुरु सि.जि.अ. को इन्साफ मनासिब छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको स.अं.अ. राजविराजबेञ्चको मिति २०४५।१।१४।३ को फैसला ।
५. स.अं.अ. राजविराज बेञ्चले मलाई हराई गरेको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पु.क्षे.अ. धनकुटामा परेको निवेदनपत्र ।
६. स.अं.अ. राजविराजबेञ्चको फैसलामा न्यायप्रशासन सुधार ऐन, २०३१ को (संशोधन सहित) को दफा १३(४) को देहाय खण्ड (ग) र (घ) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत पू.क्षे.अ. को एक न्यायाधीशको इजलासको मिति ०४५।११।६।६ को आदेश ।
७. वादी आफैले निश्चित दावी लिन आएको भन्ने देखिँदैन र वादीको छोराहरु र श्रीमती वादी भई यही विवादित लिखत सम्बन्धमा जालसाज कीर्ते र लिखत बदरतर्फको दावी भएको मुद्दामा वादी आफैं प्रतिवादी भएकोमा प्रतिवाद गर्दा यो विवादित लिखत गरी राजीनामा नगरेको झुक्याई गराएको भन्ने प्रतिवादी दिएको र यो वादी मुसहरु उक्त मुद्दामा आफ्नु जिकिर समर्थन नभई लिखत सद्दे कायम भइरहेकोमा चित्त बुझाई बसेपछि उक्त मुद्दाको रुप विचार गरी हदम्याद गएको भन्ने आधार देखाई सो गुज्रेको म्याद थामी पाउन श्री ५ महाराजाधिराज सरकारका हजूरमा विन्तिपत्र चढाई बक्स भएको हुकुम प्रमांगीबाट पछि मुद्दा दायर गरेको र विवादित जग्गा बिक्री भई प्रमाणको दोहोरो लिखत मुद्दाबाट अन्य व्यक्ति सत्यनारायण नामको दर्ता कायम भई फैसला भएको भन्ने मुद्दामा यही वादीको एकाघरको छोरा देवेन्द्र साहू तेली प्रतिवादी भएको यो वादीलाई थाहा हुने अवस्थाबाट उक्त जग्गा दर्ता सम्बन्धमा आफ्नो हक कायम गराउन नालीस उजूर दिई बदर गराउन नसकी प्रस्तुत मुद्दा तर्फ पछि नालेश दायर गरेको समेतबाट विवादको लिखत जालसाजी कीर्ते गरी खडा गरेको हो भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको सदर गरेको स.अं.अ. राजविराज बेञ्चको फैसला मिलेको देखिँदा केही परिवर्तन गर्न नपर्ने हुँदा मनासिब ठहर्छ भन्ने समेत मिति २०४६।९।१६ को पू.क्षे.अ. को फैसला ।
८. मिति ०४६।९।१६ को पू.क्षे.अ. को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादी मुसहरु साहुतेलीको यस अदालतमा पर्न आएको निवेदन ।
९. मैले जमुनीलाललाई कुनै प्रकारको लिखत गरिदिएको हैन । लिखत कीर्ते जालसाजी हो भन्ने फिराद दावी रहेको विवादित लिखतमा लागेको कारणीको ल्याप्चे सहिछाप अस्पष्ट भई परीक्षण गर्न नसकिने भन्ने एक विशेषज्ञ, सहिछाप मिलेको भिडेको भन्ने अर्को विशेषज्ञ र हस्ताक्षर सही नमिलेको भन्ने तेश्रो विशेषज्ञबाट पृथक राय व्यक्त भएको यस स्थितिमा नै विशेषज्ञको रायलाई आधार बनाई अदालतबाट निर्णय हुँदै आएको तर प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम विशेषज्ञलाई यस सम्बन्धमा झिकाई परीक्षण गराएको देखिन नआएकोले वादी दावी पुग्न नसक्ने ठहराएको पू.क्षे.अ. को फैसलामा प्रमाण ऐन, २०३१ को दफा २७ को त्रुटि विद्यमान रहेकोले न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) र (ग) समेतको आधारमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्तइजलाको मिति २०४७।१।१३ को आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयको लागि इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता महादेव यादवले उक्त ३–११–४ जग्गाको मोल रु. ६०, ५००।– पर्दछ । तर मिति ०३८।५।१ गतेको बकसपत्रमा रु. ७५००।– मात्र लेखिएको छ । सो बकसपत्र पारीत गरे उपर मेरो पक्षले जालसाजी मुद्दा दायर गरेको थियो उक्त मिति ०३८।५।१ को लिखत झुक्याई सहिछाप गराएका हुन यो सद्दे साँचो व्यहोरा होइन । लिखतको प्रकृतिबाट समेत हेर्दा उक्त लिखत झुक्यानमा पारी गराएको हो । सो लिखत ३ जनाले लेखेको हो पुस्तावारी एक जनाले, कैफियतको महल एकजनाले र मुल लिखत एकजनाले गरी लिखत तयार गरेको हुँदा उक्त लिखत जालसाजी हो । शुरु जि.अ., अञ्चल अदालत र पू.क्षे.अ. समेतको फैसलामा कानुनी त्रुटि हुँदा उक्त फैसला बदर हुनुपर्दछ भनी बहस गर्नु भयो ।
११. विपक्षी प्रतिवादीतर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री प्रकाश राउतले वादीको फिरादहरु म्यादभित्र परेको छैन । मुद्दाको रुप र प्रकृति विचार गरी मुद्दाको शुरुवात गरेको छ । वादी आफैंले मालपोत कार्यालयमा मेरो पक्षलाई बकसपत्र दिएकोमा हाल आएर उक्त कुरा जालसाजी हो भन्न अ.बं. ८२ नं. ले मिल्ने कुरा होइन । वादी आफैले झुक्याई लिखत गरायो भन्दैछ । झुक्याएर गराएको भए तापनि वादी आफैले लिखतको सहिछाप मेरै हो भनेका छन् । झुक्याएको सबूद वादीले दिन सकेको छैन । ०३८।५।१ को लिखत सद्दे र साँचो हो मेरो पक्षले जालसाज कीर्ते काम गरेका होइन सम्पूर्ण व्यवहार कानुन मुताविक नै भएको हो । शुरु जि.अ बाट भएको फैसलालाई अञ्चल अदालत र पू.क्षे.अ. समेतबाट सदर गरेको मिलेकै हुँदा उक्त फैसलामा कानुनी त्रुटि नहुँदा सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
१२. यस्मा पू.क्षे.अ. ले वादी दावी नपुग्ने ठहर गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम विशेषज्ञलाई झिकाई जिरह गरेको नदेखिँदा त्रुटि भयो भनी यस अदालतको संयुक्तइजलासबाट पुनरावेदनको अनुमति प्रदान भएकोले विशेषज्ञलाई बोलाई जिरह हुनु पर्छ भन्दै पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ताले बहस गर्दै मिति २०३८।५।१ को बकसपत्रको विवादको लिखतमा मेरो पक्षलाई झुक्याई सहिछाप गराएका हुन । विवादको लिखतमा रहेको विगहा ३–११–५ जग्गा रु. ७५००।– मा पाउने होइन । अतः वादी दावी बमोजिम जालसाज कीर्ते ठहर हुनुपर्छ भनी बहस गर्नु भएकोमा सो तर्फ हेर्दा पू.क्षे.अ. ले विवादको लिखत जालसाजी कीर्ते गरी खडा गरेको हो भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको सदर गरेको स.अं.अ. राजविराजबेञ्चको फैसला मनासिब ठहर्छ भनी मिति ०४६।९।१६ मा फैसला गरेको पाइन्छ ।
१३. पू.क्षे.अ. ले मिति ०४६।९।१६ मा फैसला गर्दा वादीका विरुद्धमा विशेषज्ञले दिएको रायलाई प्रमाणमा ग्रहण गरेको पाइन्न । प्रमाण ऐन, २०३१ को दफा २३ को उपदफा (७) लाई हेर्दा कुनै व्यक्तिले व्यक्त गरेको कुनै राय सो व्यक्ति साक्षीका रुपमा आफंै अदालतमा उपस्थित भएमा मात्र यस दफा बमोजिम प्रमाणमा लिन हुन्छ भन्ने लेखिएको पाइन्छ । विशेषज्ञले व्यक्त गरेको रायलाई नै अदालतले प्रमाण मानी फैसला गरेको नदेखिँदा त्यस्तो विशेषज्ञले दिएको रायको सम्बन्धमा विशेषज्ञलाई बोलाई जिरह गर्न पाउनु पर्छ भन्ने विद्वान अधिवक्ताको बहस र यस अदालत संयुक्तइजलासले मिति ०४७।१।१३ मा दिएको पुनरावेदनको अनुमतिको आदेश बमोजिम विशेषज्ञलाई बोलाई जिरह गर्नु पर्ने अवस्था देखिन्न । अब मुद्दा तर्फ हेर्दा जुन ०३८।५।१ को बकसपत्र लिखतलाई वादीले मेरो सहिछाप दस्तखत होइन जालसाज गरेको भन्नु भएको छ । सोही ०३८।५।१ को यीनै वादीले गरी दिएको बकसपत्र लिखतलाई मान्यता दिंदै यीनै वादीको पत्नी विन्देश्वरी साहु तेलिन, छोरा अनिरुद्र साहु तेली र देवेन्द्र साहु तेली समेत यीनै वादी उपर ०३८।१२।१० मा लिखत दर्ता बदर मुद्दामा र सोही मितिमा यिनै वादी र हाल यस मुद्दाको प्रतिवादीहरु उपर कीर्ते जालसाजी मुद्दा दिई उक्त मिति ०३८।५।२ को लिखतको कानुनी मान्यता लोप गरिपाउँ भनी दावी लिनु भएकोमा लिखत बदर मुद्दामा वादी विन्देश्वरी तेलीन समेतको वादी दावी नपुग्ने ठहर भई सिराहा जि.अ. बाट २०४०।४।१५ मा फैसला भएको र कीर्ते जालसाजी मुद्दामा पनि वादी विन्देश्वरी तेलीन समेतको वादी दावी नपुग्ने ठहरी ०३८।५।१ को लिखत सद्दे कायम भई फैसला भएको पाइन्छ । पत्नी विन्देश्वरी तेलीन समेतले दिएको उपरोक्त कीर्ते जालसाजी मुद्दा यी वादी मुसहरुले प्रतिउत्तर दिंदा उक्त ०३८।५।१ को बकसपत्र लिखतमा परेकोे सहीछाप आफ्नो हो भनी स्वीकार गर्दै झुठ्ठा जालसाज गरी गराएको भन्नु भएको पाइन्न । आफैले आफ्नो सहीछाप लेखात्मक रेखात्मक आफ्नो भन्छ भने त्यस्तो लेखात्मक सहिछाप विशेषज्ञबाट जँचाई रहनु पर्ने स्थिति हुँदैन ।
१४. यस मुद्दामा एक कुरा र यसै विषयमा अघि ०३८ सालमा चलेको कीर्ते जालसाजी मुद्दामा अर्को कुरा भन्ने वादी साँचो कुरामा चलेको भन्ने स्थिति पनि देखिन्न । विवादको ०३८।५।१ मा बकसपत्रको लिखत सिराहा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास भएको पाइन्छ । उक्त लिखत रजिष्ट्रेशन पास गर्दा वादीलार्ई समेत सुनाई लिनु दिनु गरेको साँचो हो भनी लेखिएको र सनाखत समेत गरिएको पाइन्छ । यस्तो लिखत जालसाज कीर्ते र झुक्याई गराएको भए सिराहा मालपोत कार्यालयको सम्बन्धित कर्मचारीलाई समेत विपक्षी गराउनु पर्नेमा सो समेत गराएको पाइन्न फौजदारी मुद्दामा अभियुक्तको कसूर प्रमाणित गर्ने भार वादीको हुन्छ भनी प्रमाण ऐन, २०३१ को दफा २५ मा लेखिएको पाइन्छ ।
१५. तर विवादको बकसपत्र लिखत कीर्ते जालसाज हो र झुक्याई सहीछाप गराए भनी वादीको दावी कतैबाट पुष्टि हुन आएको पाइन्न । आफैं वादी मुसहरु साहुतेलीले आफ्नो स्वास्नी विन्देश्वरी साहू तेलीनले दिएको कीर्ते जालसाजी मुद्दामा उक्त ०३८।५।२ को लिखतमा परेको सहीछप मेरो हो भन्छ भने त्यस्तो सहीछाप निजको हो वा होइन भनी यस मुद्दाबाट तैकात समेत गर्न नपर्ने हुँदा वादी दावी नपुग्ने ठहराएको सिराहा जिल्ला अदालतको इन्साफ सदर गरेको सगरमाथा अं.अ. राजविराजबेञ्चको इन्साफ मनासिब ठहराएको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.मोहनप्रसाद शर्मा
इतिसम्वत् २०४८ साल चैत्र २३ गते रोज १ शुभम् ।