शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१३० - परमादेश

भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक:

निर्णय नं.६१३०                                                                                               ने.का.., ०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५० सालको दे.पु.नं. १५३३

फैसला मितिः- २०५३।१।१८।३

मुद्दा: परमादेश ।

 

निवेदक/ पुनरावेदकःजिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. १० बस्ने श्यामसुन्दर खेतान ।

विरुद्ध

विपक्षी/प्रत्यर्थीः- नेपालगंज भंसार कार्यालय  ।

           

            प्रस्तुत मुद्दामा मिसिल संलग्न महालेखा परिक्षकको विभाग, ले.. डोर नेपालगंजको पत्र संख्या २२।०४८।४९ मिति २०४८।१२।१६ को पत्रमा लेखिएको सि.नं. १० को प्रमाणित प्रतिलिपि उतारमा निवेदकले पैठारी गरेको प्रस्तुत मुद्दाको निवेदनमा उल्लेख भएको सामानमा रु.३९२।७४ बिक्री कर छुट भएकोले असुल उपर गर्नु पर्ने भनी बेरुजु कायम भएको देखिँदा महालेखा परिक्षकको विभागबाट कायम भएको बेरुजु रकम भन्सार कार्यालयबाट असुल गर्ने कार्यलाई कानून विपरीत कर उठाएको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत नेपालगंजको परमादेश जारी नगर्ने गरेको निर्णय आदेश मिलेकै देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने ।     

            (प्र.नं.)

                       

पुनरावेदक निवेदक तर्फबाटः- ×

प्रत्यर्थी विपक्षी तर्फबाटः- ×

अवलम्वीत नजीरः- ×

 

फैसला

            न्या. ओमभक्त श्रेष्ठःपुनरावेदन अदालत नेपालगंजको मिति २०५०।१।२ को फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-

            .         धारणा इलेक्ट्रोनिक्स फर्मको नामबाट प्र..नं. १४१ र नं. ७० मा पैठारी गरेको पिक्चर ट्युबको बिक्रीकर प्रयोजनको मुल्य रु.२९८३।१६ हुनेमा रु.२५९०२।६९ मात्र कायम गरी कम कायम भएको रु.२९२७।४७ को विक्री कर १० प्रतिशतले हुने रु.३९२।७४ छुट भएकोले यथाशिघ्र दाखिल गर्नु हुन अनुरोध छ भनी विपक्षी कार्यालयको मेरो नाउँमा पत्र प्राप्त भएको र सो पत्रमा कुन कानूनले कुन हिसाबबाट कसरी बिक्री करको मुल्य बढ्न आएको हो सो व्यहोरा उल्लेख नभएकोले मैले विपक्षीलाई सो पत्र बमोजिमको रकम बुझाउन पर्ने नभई गैर कानूनी तरिकाबाट म उपर करको भार सुम्पन खोजेको मात्र हुन् । तसर्थ कानून र नियम विपरीत निवेदकबाट कर नउठाउनु भनी विपक्षीको नाममा अन्तिम आदेश सहित परमादेशको आदेश जारी गरी पाऊँ भन्ने समेत व्यहोराको निवेदन ।

            .         यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो सबै व्यहोरा खुलाई यो आदेश प्राप्त भएको मितिले ७ दिन भित्र पुनरावेदन सरकारी वकिल कार्यालय नेपालगंज मार्फत लिखित जवाफ पेश गर्नु भनी विपक्षीको नाउँमा म्याद जारी गर्नु भन्ने समेत पुनरावेदन अदालत नेपालगंजको आदेश ।

            .         धारणा इलेक्ट्रोनिक्स नेपालगंजले भारतबाट मिति २०४७।१०।२५ मा प्र..नं. १४१ बाट टि.आर.पि. फर्म अन्तर्गत पैठारी गरी ल्याएको भा.रु. ११२६३।- मुल्य बराबरको पिक्चर ट्युबको हुन आउने ने.रु. १८९४०।४२ र भाडा बिमा बापतको रु.९४७।०२ समेत जम्मा मुल्य रु.१९८८७।४४ मा बिक्री कर प्रयोजनको लागी उक्त मुल्यमा साधारण भन्सार महसुल जोडी बिक्री कर रकम असुल गर्नु पर्नेमा भुलबस बिमा र भाडा बापतको रकम नजोडी नेपाल सरकारको फिर्ता पाउने रकम घटाई बाँकी रहेको भन्सार महसुल जोड्ने गरेको कारणबाट बिक्री कर रु.३९२।७४ घटी राजश्व असुल हुन गएकोले सो छुट राजश्व रकम दाखिला गर्नको लागी पत्र लेखी पठाइएको हो । कानून विपरीत उक्त उद्योगसंग कुनै किसिमको कर असुल गर्न खोजिएको होइन । अतः निवेदकको भनाई युक्ति संगत नभएकोले निवेदकको निवेदन खारेज गरी पाऊँ भन्ने समेत व्यहोराको विपक्षी नेपालगंज भन्सार कार्यालयको लिखित जवाफ  ।

            .        बेरुजु कायम भएको रकम निवेदकले तिर्नु पर्ने नै देखिएकोले तिर्नु बुझाउनु पर्ने होइन भन्ने निवेदकको निवेदन जिकिर कानूनसंगत देखिन नआएकोले निवेदकको माग अनुसार परमादेशको आदेश जारी गर्न मिल्ने नदेखिँदा निवेदन खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत नेपालगंजको मिति २०५०।१।२ को निर्णय ।

            .         बेरुजु कुन कानूनको आधारमा गरिएको हो, सो पत्रमा र लिखित जवाफमा समेत प्रष्ट उल्लेख छैन । कुन कानून अनुसार प्रत्यर्थीले रुपैया दाखिल गर्न पत्र लेखेको हो सो पनि प्रष्ट छैन । बेरुजु कायम गरेको व्यहोरा मिसिलबाट देखिंदैन । बेरुजु निकाल्ने बित्तिकै भन्सार कार्यालयले उक्त रकम म बाट असुल उपर गरी लिन पाउने हो भन्न मिल्दैन । विपक्षीबाट माग भएको रकम मैले बुझाउनु पर्ने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला त्रुटिपूर्ण भएकोले सो फैसलालाई बदर गरी मेरो निवेदन बमोजिम परमादेशको आदेश जारी गरी इन्साफ पाऊँ भन्ने समेत निवेदकको तारेखमा नबस्ने गरी यस अदालतमा परेको पुनरावेदन पत्र ।

            .        नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा परमादेशको आदेश जारी नगर्ने गरेको पुनरावेदन अदालत नेपालगंजको निर्णय आदेश मिलेको छ छैन भनी निर्णय दिनु पर्ने हुन आयो । धारणा इलेक्ट्रोनिक्स फर्मको नामबाट पैठारी गरेको पिक्चर ट्युबको बिक्रीकर प्रयोजनको मूल्य कम कायम भई रु.३९२।७४ छुट भएकोले यथाशिघ्र दाखिल गर्नु भनी पत्र पठाएकोले सो रकम मैले तिर्नु बुझाउनु नपर्ने हुँदा कानून विपरीत कर नउठाउनु भनी विपक्षीको नाउँमा परमादेशको आदेश जारी गरी पाउँ भन्ने निवेदकको माग भएकोमा निवेदकबाट भूलबस बिक्रिकर रु.३९२।७४ कम असुल हुन गएकोले सो छुट राजश्व रकम दाखिल गर्न पत्र लेखिएकोले निवेदकसंग कानून विपरीत कुनै कर असुल गर्न खोजिएको नहुँदा निवेदकको निवेदन खारेज गरी पाऊँ भन्ने विपक्षीको लिखित जवाफ ।

            .         प्रस्तुत मुद्दामा मिसिल संलग्न महालेखा परिक्षकको विभाग, ले.. डोर नेपालगंजको पत्र संख्या २२।०४८।४९ मिति २०४८।१२।१६ को पत्रमा लेखिएको सि.नं. १० को प्रमाणित प्रतिलिपि उतारमा निवेदकले पैठारी गरेको प्रस्तुत मुद्दाको निवेदनमा उल्लेख भएको सामानमा रु.३९२।७५ बिक्रि कर छुट भएकोले असुल उपर गर्नुपर्ने भनी बेरुजु कायम भएको देखिँदा महालेखा परीक्षकको विभागबाट कायम भएको बेरुजु रकम भन्सार कार्यालयबाट असुल गर्ने कार्यलाई कानून विपरीत कर  उठाएको भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत नेपालगंजको परमादेश जारी नगर्ने गरेको निर्णय आदेश मिलेकै देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदकले तारेखमा नबस्ने गरी पुनरावेदन गरेकोले पुनरावेदकलाई फैसला भएको जनाउ दिनु । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

 

इति सम्बत् २०५३ साल वैशाख १८ गते रोज ३  शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु