निर्णय नं. ६१३७ - फैसला बदर

निर्णय नं.६१३७ २०५३, ने.का.प.
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्वत् २०५१ सालको दे.पु. नं. .....१९१८
फैसला मितिः- २०५३।१।२५।३
मुद्दा: फैसला बदर ।
पुनरावेदक/वादीः- काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं. २५ ईन्द्रचोक घर भई हाल जिल्ला मकवानपुर गा.वि.स.पालुङ्ग वडा नं. ५ बस्ने राधामोहन प्रसादको छोरा रामाशंकर रौनियार ।
विरुद्ध
विपक्षी/प्रतिवादीः- जिल्ला पर्सा, विरगंज नगरपालिका वडा नं. ८ बस्ने कपिलदेव प्रसाद रौनियार ।
जुन तामेलीलाई कीर्ते जालसाजी भन्ने दाबी जिकिर गरी यो फैसला बदरको नालेश वादीले गरेका हुन् सो म्याद जालसाजी कीर्ते मुद्दाको फैसला दोहोर्याई पाऊँ भन्ने वादीको निवेदन नै यस अदालतको संयुक्त इजलासबाट मिति २०५२।३।२६ गते तामेलीमा राख्ने आदेश भैसकेकोबाट यो फैसला बदर गर्न दिएको मुल आधार नै अस्तित्व विहिन भै सकेको र लगाउको फौ.पु.नं. ८८७ को कीर्ते जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ नै सदर ठहरी आजै यसै इजलासबाट फैसला भएको समेतका आधार प्रमाणबाट पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने ।
(प्र.नं.११)
अ.बं. ८६ नं. का आधारमा लेनदेन मुद्दामा भएको फैसला बदर गरी पाऊँ भन्ने वादीको फिराद दावी देखिन्छ । अ.बं. ८६ नं. को कानूनी व्यवस्था हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जाने छ त्यसले थाहा पाएको पैतिस दिन भित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होईन भनी आफ्नो हक जतिमा झगडियाका नाउँमा नालिश दिए इन्साफ गरी दिनु पर्छ भन्ने व्यवस्था भएबाट यी पुनरावेदक वादी स्वयं फैसला बदर गर्न माग गरिएको लेनदेन मुद्दाको प्रतिवादी भएको देखिँदा अ.बं. ८६ नं. को सुविधा निजले पाउन सक्ने भन्न नमिल्ने ।
(प्र.नं.११)
कुनै दुई पक्ष मिलि आपसमा मुद्दा गरी फैसला मिलापत्र ईत्यादि गराई तेश्रो पक्षको हक जाने कृया भएको रहेछ भने त्यस्तो अवस्थामा मात्र अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले उजुर गर्न पाउने ।
(प्र.नं.११)
पुनरावेदक वादी लेनदेन मुद्दामा तेश्रो पक्ष नभै प्रतिवादी अर्थात दोश्रो पक्ष रहेकोले निजलाई फैसला बदरमा नालेश गर्ने हकदैयाको अभाव रहेको देखिने ।
(प्र.नं.११)
पुनरावेदक तर्फबाटः- ×
विपक्षी तर्फबाटः- ×
अवलम्वित नजीरः- ×
फैसला
न्या. गोबिन्द बहादुर श्रेष्ठः- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत हेटौडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छः-
२. विपक्षीहरुलाई मैले जिल्ला पर्सा शंकर सरैया गाऊँ पंचायत अन्तर्गतको जग्गा जमिन रेखदेख गर्न बाली बुझ्न र त्यस सम्बन्धमा मुद्दा मामिला गर्नको लागि वारेसनामाको लागि केही लिफा दिई राखेकोमा विपक्षी समेतले सो वारेसनामाको लिफामा कपाली तमसुक बनाई सो कपाली तमसुकमा मेरो गलत वतन र उमेर समेत लेखी कीर्ते जालसाजी गरी मलाई प्रतिवादी बनाई लेनदेन मुद्दा दिई मेरो नाउँको इतलायनामा सोही गलत वतनमा तामेल गराई मलाई प्रतिवाद गर्न मौकाबाट समेत बंचित गरी कीर्ते जालसाजी काम कारवाही र तामेलीमा समेत कीर्ते जालसाजी गर्नु गराउनु भएकोमा विपक्षी समेत उपर कीर्ते जालसाजी मुद्दामा सम्पुर्ण व्यहोरा खुलाई आजै छुट्टाछुट्टै नालेस गरेको छु । सो कीर्ते जालसाजी तमसुकको आधारमा मेरो नाउँमा लेनदेन मुद्दा दिई मेरो नाउँको इतलायनामा समेत तामेल गराई मलाई प्रतिवाद गर्नबाट बंचित गरी मुखको परिपंचले कीर्ते जालसाजी गर्नु भएकोमा समेत छुट्टाछुट्टै मुद्दा दिएको छु । सोही कीर्ते लिखतको आधारमा साँवा ब्याज भराई पाउने ठहरी फैसला भएकोले सो फैसला बदर गर्नको लागि नालिस दिन आएको छु । उल्लेखित किसिमबाट भएको फैसलाबाट मेरो हक जान नसक्ने भएकोले अ.बं. ८६ नं. अनुसार सो फैसला बदर गरी लागेको कोर्ट फी समेत दिलाई भराई पाऊँ भन्ने समेत वादी दाबी ।
३. वादीले म बाट रु.१८००१।- बन्द व्यापार गर्नलाई कर्जा लिई आफ्नो स्वेच्छाले तमसुक लेखाई रीतपूर्वक सहीछाप गरी दिनु भएको हुँदा भाखामा नबुझाएको हुँदा मेरो सम्मानित अदालतमा नालेस परी कारवाही चली वादीको नाउँमा सक्कल नक्कल रीतपूर्वक तामेल भै उक्त मुद्दामा मैले वादीबाट साँवा ब्याज भरी पाउने ठहरी फैसला भएकोमा सो सद्दे व्यवहारको हो । सो सद्दे साँचो व्यवहारबाट भएको फैसला बदर तर्फ नालेस गर्नु भएको छ । आफ्नो हक जाने कुरामा थाहा पाएको फैसला बदर हुन नसक्ने वादीले अ.बं. ८६ नं. को म्याद भित्रै भनी फैसला बदर तर्फ नालेस गर्नु भएको छ । आफ्नो हक जाने कुरामा थाहा पाएको मितिले ३५ दिन भित्र फिराद लाग्ने व्यवस्था भएपछि वादीले कहिले कुन मितिमा उल्लेखित फैसला भएको कुरा थाहा पाएको रहेछ सो कुरा लेख्न नसकेबाट नालेश म्याद भित्र परेको भन्ने नभई खारेज भागी छ भन्ने समेत प्रतिवादी ।
४. यसै सम्बन्धित यिनै वादीले यिनै प्रतिवादी कपिलदेव प्रसाद उपर दिएको फौ.नं. ३७२ को कीर्ते जालसाजी मुद्दामा आजै यस बेन्चमा प्रतिवादीले गराई लिएको मूल लिखत कीर्ते ठहरी फैसला भएकोले उक्त कीर्ते लिखतको आधारमा भएको फैसला बदर हुने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति २०४६।३।११ को फैसला ।
५. कीर्ते जालसाजी मुद्दाको आडबाट फैसला बदर गर्ने गरेको शुरुको फैसला बिलकुलै नमिलेको र अ.बं. ८६ नं. को प्रत्यक्ष त्रुटि गरिएको फैसला उल्टाई इन्साफ पाऊँ भन्ने प्रतिवादी कपिलदेव प्रसाद रौनियारले गरेको पुनरावेदन पत्र रहेछ ।
६. यसमा आफै प्रतिवादी भएको मुद्दाको फैसला बदर गरेको उक्त फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने तत्कालिन नारायणी अञ्चल अदालतको आदेश रहेछ ।
७. प्रस्तुत मुद्दाका वादी लेनदेन मुद्दामा उनाउ व्यक्ति नभै प्रतिवादी रहेका र आफै प्रतिवादी रहेको मुद्दाको फैसला बदरम नालेश गरेको देखियो । मुद्दाका पक्ष विपक्षले अ.बं. ८६ नं. अन्तरगत नालेश गर्न सक्ने प्रावधान नहुँदा हकदैया समेतको अभावमा फिराद दाबी नै खारेज गर्नु पर्नेमा शुरु पर्सा जिल्ला अदालतले वादी दाबी बमोजिम फैसला बदर हुने ठहराएको मिति २०४६।३।११ को फैसला मिलेको नदेखिँदा बदर भै फिराद दाबी नै खारेज हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०४९।३।१५ को फैसला ।
८. लगाउको फौ.पु.नं. ४०७ को कीर्ते जालसाजी मुद्दामा आजै सम्मानित अदालतमा पुनरावेदन अदालत हेटौडाको फैसला उपर पुनरावेदन र फौ.पु.नं. ४३३ को कीर्ते जालसाजी मुद्दामा दोहोर्याई पाऊँ भनी छुट्टै निवेदन दायर गरेको छु । प्रस्तुत मुद्दामा विपक्षीले कीर्ते जालसाजी तमसुक खडा गरी गराई झुठा घर वतन उल्लेख गरी लेनदेन मुद्दा दिई जालसाजी पूर्वक इतलायनामा तामेल गरी गराई मलाई प्रतिवाद गर्ने मौकाबाट बंचित गरिएकोबाट मैले सो लेनदेन मुद्दाको फैसलाबारे थाहा पाई अ.बं.८६ नं. बमोजिम फैसला बदर तर्फ दिएको प्रस्तुत फिराद दाबी भएको कानून अनुकुल हुँदाहुँदै अ.बं. ८६ नं. को गलत ब्याख्या गरी वादी दाबी नै खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु पर्सा जिल्ला अदालतकै फैसला सदर कायम राखी पाऊँ भन्ने समेत व्यहोराको वादी राम शंकर रौनियारको पुनरावेदन अदालत हेटौंडा मार्फत यस अदालतमा दर्ता हुन आएको पुनरावेदन पत्र ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढि इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिलेको के रहेछ त्यसतर्फ नै निर्णय दिनु पर्ने हुन आयो ।
१०. यसमा विपक्षीलाई मैले पर्सा सकर सरैया गा.पं. अन्तर्गतको जग्गा जमिन रेखदेख गर्न बाली बुझ्न र त्यस सम्बन्धमा मुद्दा मामिला समेत गर्न वारेसनामाको लागि सहीछाप गरी लिफा दिई राखेकोमा सो मा कपाली तमसुक बनाई म उपर लेनदेन मुद्दा दायर गरेको र इतलायनामा समेत गलत वतनमा तामेल गराई म बाट सांवा ब्याज समेत भरी पाउने ठहरी एकतर्फी फैसला गराएकोले त्यस प्रकारको फैसलाबाट मेरो हक जान नसक्ने हुँदा अ.बं. ८६ नं. बमोजिम उक्त फैसला बदर गरी पाऊँ भन्ने वादी दाबी र सद्दे लिखतको आधारमा मैले विपक्षीबाट सांवा ब्याज भरी पाउने ठहरी भएको फैसलाबाट वादीको कुनै हक हनन् नभएकोले खारेज गरी पाऊँ भन्ने समेतको प्रतिउत्तर जिकिर भै प्रतिवादीले गराई लिएको मूल लिखत कीर्ते ठहरी फैसला भएकोले उक्त कीर्ते लिखतको आधारमा भएको फैसला बदर हुने ठहर्छ भन्ने शुरु पर्सा जिल्ला अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत हेटौंडाबाट मुद्दाका पक्ष विपक्षले अ.बं. ८६ नं. अन्तर्गत नालेश गर्न सक्ने प्रावधान नहुँदा हददैया समेतको अभावमा फिराद दावी नै खारेज हुने ठहरेछ भन्ने फैसला भएको र उक्त फैसला उपर चित्त बुझेन भनी वादीको यस अदालतमा पुनरावेदन पर्न आएको रहेछ । निजको पुनरावेदन हेर्दा कीर्ते जालसाजी लिखत खडा गरी लेनदेन मुद्दा दिएको, मेरो नाउँको इतलायनामा समेत गलत वतनमा तामेल गराई प्रतिवाद गर्ने मौकाबाट बंचित गरी गरेको फैसलाबाट मेरो हक जाने स्वतः सिद्ध हुँदाहुदै अ.बं. ८६ नं को गलत व्याख्या गरी गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु फैसला नै सदर कायम राखी पाऊँ भन्ने नै मुख्य जिकिर लिएको पाईन्छ ।
११. अब पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के रहेछ ? त्यसतर्फ विचार गर्दा विवादित लिखतको आधारमा कपिलदेवले यी पुनरावेदक वादी उपर पर्सा जिल्ला अदालतमा लेनदेन मुद्दा दिई उक्त अदालतबाट लिखत बमोजिमको सांवा ब्याज वादीले भरी पाउने ठहरी फैसला भएकोमा विवाद छैन । उक्त लेनदेन मुद्दामा यी पुनरावेदकका नाउँको इतलायनामा कीर्ते जालसाजीपूर्ण तरिकाले तामेल गराएको हुँदा सजाय गरी पाऊँ भनी कपिलदेव समेत उपर दिएको कीर्ते जालसाजी मुद्दा वादी दाबी नपुग्ने गरी भएको शुरुको फैसला नै सदर गरी पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको उक्त फैसला दोहोर्याई पाऊँ भनी यी पुनरावेदकले यस अदालतमा दिएको निवेदन मिति २०५२।३।२६ मा तामेलीमा राख्ने आदेश समेत भएको देखिन्छ । यसरी जुन तामेलीलाई कीर्ते जालसाजी भन्ने दाबी जिकिर गरी यो फैसला बदरको नालेश वादीले गरेका हुन् सो म्याद जालसाजी कीर्ते मुद्दाको फैसला दोहोर्याई पाऊँ भन्ने वादीको निवेदन नै यस अदालतको संयुक्त इजलासबाट मिति २०५२।३।२६ गते तामेलीमा राख्ने आदेश भैसकेकोबाट यो फैसला बदर गर्न दिएको मुल आधार नै अस्तित्व विहिन भैसकेको र लगाउको फौ.पु.नं. ८८७ को कीर्ते जालसाजी मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ नै सदर ठहरी आजै यसै इजलासबाट फैसला भएको समेतका आधार प्रमाणबाट पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । अ.बं. ८६ नं. का आधारमा लेनदेन मुद्दामा भएको फैसला बदर गरी पाऊँ भन्ने वादीको फिराद दाबी देखिन्छ । अ.बं. ८६ नं. को कानूनी व्यवस्था हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकाले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जाने छ त्यसले थाहा पाएको पैतिस दिन भित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होईन भनी आफ्नो हक जतिमा झगडियाका नाउँमा नालिश दिए इन्साफ गरी दिनु पर्छ भन्ने व्यवस्था भएबाट यी पुनरावेदक वादी स्वयं फैसला बदर गर्न माग गरिएको लेनदेन मुद्दाको प्रतिवादी भएको देखिँदा अ.बं. ८६ नं. को सुविधा निजले पाउन सक्ने भन्न मिल्दैन । कुनै दुई पक्ष मिलि आपसमा मुद्दा गरी फैसला मिलापत्र ईत्यादि गराई तेश्रो पक्षको हक जाने कृया भएको रहेछ भने त्यस्तो अवस्थामा मात्र अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले उजुर गर्न पाउने हो । यी पुनरावेदक वादी लेनदेन मुद्दामा तेश्रो पक्ष नभै प्रतिवादी अर्थात दोश्रो पक्ष रहेकोले निजलाई फैसला बदरमा नालेश गर्न हदकैयाको अभाव रहेको देखियो । तसर्थ हकदैया समेतको अभावमा फिराद दाबी नै खारेज गर्न पर्नेमा शुरु पर्सा जिल्ला अदालतले वादी दाबी बमोजिम फैसला बदर हुने ठहराएको फैसला बदर गरी फिराद दाबी नै खारेज हुने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति सम्बत् २०५३ साल वैशाख २५ गते रोज ३ शुभम् ............................................।