निर्णय नं. ४४८९ - विदेशी मुद्रा अवैध कारोबार

निर्णय नं. ४४८९ ने.का.प. २०४९ (क) अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्द्रबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. ४२७
फैसला भएको मिति : २०४९।३।२४।४ मा
पुनरावेदक/प्रतिवादी: पोखरा न.पं. वा.नं. ६ बस्ने कालीबहादुर अधिकारी
विरुद्ध
विपक्षी/वादी: श्री को सरकार, राजश्व अनुशन्धान महाशाखा
मुद्दा : विदेशी मुद्रा अवैध कारोबार
(१) खानतलासी लिंदा कम्तीमा “दुईजना स्थानीय पञ्चहरु साक्षी राखी” भन्ने कानुनको मकसद केवल एक पञ्च साक्षी राख्दैमा पूरा हुने भनी अर्थ गर्नु कानुन अनुकूल नहुने ।
(प्रकरण नं. २४)
(२) कानुनको प्रयोग गर्दा कानुनी व्यवस्थाले लिएको निर्दिष्ट उद्देश्यको परिपूर्ति भएको छ की छैन भनेर न्यायकर्ताले ख्याल राख्नु पर्ने ।
(प्रकरण नं. २५)
(३) कानुनमा उल्लेखित कुनै पनि कार्य विधिगत प्रावधानको प्रयोग गर्दा कानुन बमोजिम नै गरिनु पर्ने ।
(प्रकरण नं. २५)
(४) कानुन अनुकूल नभएको कुनै पनि प्रमाण कागजातले निर्विवाद प्रमाणको भूमिका निर्वाह गर्न नसक्ने । (प्रकरण नं. २६)
(५) कानुन अनुकूल नभएको बरामदी मुचुल्काको आधारबाट आरोपित कसूरमा दोषी ठहर गर्नु कानुनसंगत नहुने ।
(प्रकरण नं. २७)
पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा
वादीतर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. ०४५।३।२६ गते का.जि.का.न.पं. वडा नं. ३१ बागबजार डेरा गरी बस्ने रमेश अग्रवालको डेरामा रमेश अग्रवाल, शुरेश अग्रवाल र कमल बर्माले नगद यु.एस.डलर ३०,९००।– दिइरहेको गण्डकी अञ्चल कास्की जिल्ला पोखरा न.पं.वा.नं. ६ बस्ने कालीबहादुर अधिकारीले सुन टेल ५४ रमेश अग्रवाललाई दिई सुन र विदेशी मुद्रा लिनु दिनु गरी अवैध कारोवार गरी रहेको अवस्थामा पक्राउ परेको भन्ने समेत बरामदी मुचुल्का ।
३. भारत कलकत्तामा बाबुलालले ३ वटा कागज र कण्डमले बेरेको ३ वटा बीटा काठमाडौंमा रमेश अग्रवाललाई दिई उसले दिएको सामान लिई आउनु भनेकोले नाइट बसबाट काठमाडौं आई निज रमेश अग्रवाल बसेको डेरामा गई सो तीनवटा बिटा दिन नपाउँदै पक्राउ गरेको हो । सो बिटा फुकाउँदा यु.एस. डलर रहेछ भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा शुरेशकुमार अग्रवालले गरेको बयान ।
४. ०४५।३।२६ का दिन विहान मलाई झोछे डेरा गरी बस्ने लक्ष्मीनारायणले १२,८००।– यु.एस. डलर दिई सुन ल्याई दिनु भनेकोले रमेश अग्रवालको डेरामा गई सो डलर रमेश अग्रवाललाई दिएको, रमेशले कालीबहादुरसंग सुन लिई मलाई दिनु पर्ने थियो भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा भएको कमलकुमार बर्माको बयान ।
५. कलकत्ताको सन्नु सोनीले मलाई सुन किनेर ल्याई दिन अमेरिकी डलर १२,८००।– दिएको काठमाडौं आई मैले लक्ष्मीनारायणलाई दिएको सुन आउनु भन्दा पहिले नै लक्ष्मीनारायण सहित पक्राउ परेको हुँ । यो भन्दा पहिले पनि उसले मलाई २० टेल सुन खरिद गरेर ल्याई दिएको थियो त्यो सुन सोनीलाई दिएँ भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा विनोदकुमार सोनीले गरेको बयान ।
६. मैले कमलकुमार बर्मालाई यु.एस. डलर १२,८००।– दिई सुन लिन पठाएको हो, निजले डलर लगी कसलाई दिने र सुन को बाट ल्याउने हो मलाई थाहा छैन । मैले कमललाई दिएको डलर कलकत्तामा बस्ने विनोद सोनीले दिएको हो भन्ने समेत राजश्व अनुसन्धान महाशाखामा लक्ष्मीनारायण माथच (सोनी) ले गरेको बयान ।
७. मैले नेपाल अधिराज्य भित्र पटक पटक खरिद गरेको सुन बिक्री गर्ने विचारले सेम्पल देखाउन क्वालिटी रेष्टुरेण्टका मालिक अनिलसंग रमेश अग्रवालको डेरामा गएको थिएँ रमेश अग्रवालको डेरामा यस महाशाखाबाट खटिएका कर्मचारीले पक्राउ गरेका हुन् भन्ने समेत कालीबहादुर अधिकारीले राजश्व अनुसन्धान महाशाखामा गरेको बयान ।
८. यस महाशाखाका कर्मचारीहरु मेरो घरमा अनुसन्धानको सिलसिलामा आउँदा मेरो घरमा आएका सुरेश सोनीको साथबाट १८,१००।– र कमल सोनीको साथबाट १२,८००।– यु.एस. डलर, कालीबहादुर अधिकारीबाट ५४ टेल सुन समेत फेला परी मौका मुचुल्का सहित सो डलर र सुन समेत मलाई पनि पक्राउ गरी ल्याएको हो । डलर र सुनको लेनदेन गराई कमिशन खाने गरेको छु भन्ने समेत रमेशकुमार अग्रवालले राजश्व अनुसन्धान महाशाखामा गरेको बयान ।
९. प्रतिवादी सुरेश अग्रवाल भारतबाट अवैध संकलित यू.एस. डलर लिई आई रमेश अग्रवाललाई दिई रमेश अग्रवालले सो डलरबाट कालीबहादुरसंग खरिद गरेको सुन लिई भारत जाने कुरामा सावित भएको विनोदकुमार सोनी भारतबाट अवैध संकलित यू.एस. डलर लिई आई लक्ष्मीनारायणसंग सम्पर्क गरी लक्ष्मीनारायणले कमल बर्मासंग सम्पर्क राखी कमल बर्माले डलर रमेश अग्रवाललाई दिई बदलामा कालीबहादुरले ल्याएको सुन लिई भारत जाने कुरामा सावित भएको, यस सम्बन्धमा सबै अभियुक्तहरुको मुख मिलेबाट प्रतिवादीहरुले बिना इजाजत अवैध कारोवारद्वारा संकलित विदेशी मुद्रा काठमाडौंमा ल्याई अवैध कारोवार गरेकोले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ र ५ को विपरीत काम गरेको हुँदा प्रतिवादीहरुलाई सोही ऐनको दफा १७(१) बमोजिम सजायँ गरी बरामद भएको यू.एस. डलर ३०,९००।– को पक्राउ परेको दिनको राष्ट्र बैंकले तोकेको प्रति डलर २३।५० ले हुने रु. ७,२६,१५०।– जफत गर्ने र सुराकीलाई ऐनको दफा २० बमोजिम इनाम दिलाई दिन समेत अनुरोध गरिन्छ भन्ने समेत राजश्व अनुसन्धान महाशाखाको आरोपपत्र ।
१०. म कलकत्ताबाट काठमाडौंमा काम गर्नको लागि आई लक्ष्मीनारायण सोनीको डेरामा बसेको, भोलिपल्ट राजश्व अनुसन्धान महाशाखाका कर्मचारीले मलाई र लक्ष्मीनारायणलाई पक्राउ गरी ल्याएका हुन् हामीबाट विदेशी मुद्रा बरामद भएको होइन । मैले लक्ष्मीनारायणलाई डलर दिएको र सुन खरीद गरी निकासी गर्न लागेको समेत होइन भन्ने समेत प्रतिवादी विनोदकुमार सोनीको वागमती विशेष अदालतमा भएको बयान ।
११. मैले विनोदकुमार सोनीसंग १२,८००।– यू. एस. डलर लिई कमल वर्मालाई दिएको होइन, विदेशी मुद्राको कारोवार र सुन किनी निकासी गर्न लागेको समेत होइन भन्ने समेत प्रतिवादी लक्ष्मीनारायण मायच (सोनी) को वागमती विशेष अदालतमा भएको बयान ।
१२. मैले लक्ष्मीनारायणबाट १२,८००।– यु.एस. डलर लिई रमेश अग्रवाललाई दिएको होइन । म रमेश अग्रवाललाई भेट्न गएको ५–७ मिनेट पछि राजश्व अनुसन्धान महाशाखाको अफिसरहरुले आई मलाई कति डलर लिएर आएका छौं भन भनी कुटपीट गरेका की आफ्नो चिनेकै मान्छे छन् भन्दा मैले लक्ष्मीनारायणलाई चिनेको छु भनें । निजहरुले मलाई समेत लिई लक्ष्मीनारायणको डेरामा गई निजलाई र निज कहाँ बस्ने एकजनालाई समेत पक्राउ गरी लगेका हुन् भन्ने समेत प्रतिवादी कमलकुमार बर्माले वागमती विशेष अदालतमा गरेको बयान ।
१३. मैले आरोप बमोजिम सुरेश अग्रवाल र कमल बर्मासंग डलर लिएको र कालीबहादुरसंग सुन लिई निकासी गर्न लागेको पनि होइन । प्रतिवादी कालीबहादुरलाई म चिन्दिन निज अनिल आहुजासंग मेरो घरमा आएका हुन, किन आएको मलाई थाहा छैन भन्ने समेत प्रतिवादी रमेश अग्रवालको वागमती विशेष अदालतमा भएको बयान ।
१४. म काठमाडौंमा होटल राजमा बसेको, क्वालीटी रेष्टुरेण्टका मालिक अनिल आहुजाले मलाई खाना खान निजको घरमा लग्दा बाटोमा बागबजार पुगे पछि भिडियो क्यासेट लिन जाउँ भनी रमेश अग्रवालको डेरामा लगेको, त्यहाँ पुग्नासाथ राजश्व अनुसन्धान महाशाखाको मानिसहरु आएर समाती मैले पोखराबाट बिक्री गर्न भनी ल्याएको ५४ टेल सुन देखी मलाई एउटा कोठामा राखी अन्य कोठाहरु खानतलासी गर्न लागे, त्यसपछि के भयो मलाई थाहा भएन, अन्य प्रतिवादीहरु कसैलाई चिन्दिन, मैले सुन दिँदै गरेको अवस्थामा र रमेश अग्रवालले डलर मलाई दिँदै गरेको अवस्थामा म पक्राउ परेको होइन भन्ने समेत प्रतिवादी कालीबहादुर अधिकारीले वागमती विशेष अदालतमा गरेको बयान ।
१५. मैले सुन खरीद गर्न रमेश अग्रवाललाई डलर दिएको होइन । म यहाँ कलकत्ताबाट रमेश अग्रवालसंग साहु बाबुलालको रुपैयाँ लिन आएको, म संगबाट डलर बरामद भएको होइन भन्ने समेत प्रतिवादी सुरेशकुमार अग्रवालको वागमती विशेष अदालतमा बयान ।
१६. विदेशी यु.एस. डलर बरामद भएको तथ्यमा कुनै विवाद नभएपछि विदेशी मुद्राको विनिमय दर र सुनको बिक्री गर्र्ने मूल्यको गणना गर्दा सुनका परिमाण र विदेशी मुद्राको हुन आउने मूल्य ठीक मिल्न आएबाट यो यस्तो अवस्थाबाट विदेशी मुद्रा बरामद भएको भनी खुलाउन नसकेपछि बरामदको सुन खरीद गर्न नै विदेशी मुद्रा लि आई लिने दिने कार्यको अवस्थामा पक्राउ परेको देखिएकोले प्रतिवादीहरुले अवैध विदेशी मुद्रामा कारोवार गर्ने कार्य गरेबाट विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ ले निषेधित कार्य गरेको ठहर्छ । प्रतिवादीहरुको कसूरमा संलग्नतामा, अपराधको प्रकृति एवं कसूरको मात्रा अनुसार सोही ऐनको दफा १७(१) बमोजिम बिगो बमोजिम दामासाहीले जरीवाना गरी निजहरु मध्ये प्रतिवादी रमेश अग्रवाल, कालीबहादुर अधिकारी सुरेशकुमार अग्रवाललाई जनही कैद वर्ष १ र कमलकुमार बर्मा, लक्ष्मीनारायण मायच (सोनी), विनोदकुमार सोनीलाई कैद महीना ९ का दरले कैद हुने ठर्हछ भन्ने समेत वागमती विशेष अदालतको मिति २०४५।१०।१७।२ को फैसला ।
१७. बागमती विशेष अदालतको फैसलामा चित्त बुझेन उल्टाई पाउँ भन्ने समेत सुरेशकुमार अग्रवाल, रमेश अग्रवाल, कालीबहादुर अधिकारीको म.क्षे.अ. मा परेको छुट्टाछुट्टै पुनरावेदनपत्र ।
१८. बरामदी मुचुल्काबाट बरामद भएको देखिएको यू.एस. डलर कसरी प्रतिवादी रमेश अग्रवालको निवास स्थानबाट बरामद हुन सक्यो सो कुरा खुलाउन नसकेको देखिएको समेतबाट रमेश अग्रवालको इन्कारी जिकिर पुग्न सक्ने देखिएन । कालीबहादुरले लिई गएको सुन टेल ५४ र लिनु दिनु गरेको यू.एस. डलर समेत एकै साथ बरामद भइरहेको, डलर कालीबहादुरलाई दिएको अवस्थामा पक्राउ परी परेको देखिएकोले समेत निजहरुलाई कसूरदार ठहर्याएको वागमती विशेष अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादी सुरेशकुमार अग्रवालको हकमा निज कारागारबाट छुटी अदालतमा हाजीर हुन नआई म्याद गुजारी बसेकाले निजको पुनरावेदन डिसमिस हुने ठर्हछ भन्ने समेत म.क्षे.अ. को २०४६।७।२३।४ को फैसला ।
१८. शंकास्पद रुपमा रहेको बरामदी मुचुल्कालाई प्रमाण ऐन, २०३१ को दफा १८ विपरीत प्रमाणमा लिई गरिएको फैसला उक्त ऐनको दफा १८, २३(७) तथा ५४ को त्रुटिपूर्ण छ, म बाट सुन र रमेश अग्रवाल, सुरेश अग्रवालबाट डलर बरामद भएको स्थितिमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ बमोजिम अवैध विदेशी मुद्राको कारोवार गरेको ठहर्याएबाट सो ऐनको गलत व्याख्या भएको छ, बरामदी मुचुल्का र खानतलासी गर्दा समेत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११(ख) तथा ११(घ) को रीत पुर्याइएको छैन । उपरोक्त बमोजिम म.क्षे.अ. समेतको फैसला त्रटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) र (ग) का आधारमा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी कालीबहादुर अधिकारीको यस अदालतमा परेको निवेदनपत्र ।
१९. यसमा खानतलासी लिंदा २ जना स्थानीय पंचलाई साक्षी राख्नु पर्नेमा १ जना मात्र सदस्य राखी मुचुल्का खडा गरेको त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०४७।३।१४।५ को आदेश ।
१९. नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लोकभक्त राणाले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११(घ) को उपदफा (१) अनुसार खानतलासी गर्दा पर्चा खडा गर्नु पर्ने र सो दफाको उपदफा (७) अनुसार बरामदी मुचुल्का खडा गर्दा कम्तिमा २ जना पञ्च साक्षी हुनुपर्ने व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा सो व्यवस्था पालना गरिएको छैन, प्रमाण ऐनको दफा १८ अनुसार बरामदी मुचुल्कामा रहेको साक्षी अदालतमा उपस्थित भई बयान गरेको अवस्थामा मात्र सो बरामदी मुचुल्कालाई प्रमाणमा लिन सकिनेमा प्रस्तुत मुद्दामा बरामदी मुचुल्कामा बसेका कुनै पनि साक्षी अदालतमा उपस्थित भई बयान गरेको छैन, मेरा पक्षका साक्षी अनिल आहुजाले बरामदी मुचुल्काको विपरीत सुन र डलरको कारोवार भएको होइन भनी बकपत्र गरेको, बरामद भएको माल कब्जा गरेपछि माल धनीलाई त्यसको निस्सा दिनु पर्नेमा सो बमोजिम निस्सा दिएको देखिँदैन । सुराकीको पत्र ०४५।३।२४ को छ तर खानतलासी गर्ने आदेश ०४५।३।२६ को छ । खानतलासी मुचुल्कामा थपिएका शब्दहरु मूल लेखसँग बाझ्दछ र त्यसमा मेरो पक्ष लगायत अन्य प्रतिवादीहरुको पनि सहिछाप छैन । डलर बरामद भएको र सुन बरामद भएको मुचुल्का खडा गरिएको छ, तर दुबै मुचुल्का हेरिएको खण्डमा भिन्दा भिन्दै व्यक्तिहरु साक्षी बसेका छन् । यस्तो शंकास्पद बरामदी मुचुल्काको मात्र आधारमा राजश्व अनुसन्धान महाशाखा समक्ष समेत इन्कार रहेका मेरा पक्ष कालीबहादुर अधिकारीलाई कसूरदार ठहर्याएको कानुन विपरीत हुँदा सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
२०. वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले काठमाडौंमा सुन बिक्री गर्न आएकोमा प्रतिवादी कालीबहादुर अधिकारी सावित छन्, निजबाट ५४ टेल सुन बरामद भएको छ, सुन र डलर एक ठाउँमा बरामद भइराखेको स्थितिमा डलरबाट सुन खरीद बिक्री हुन लागेको स्पष्ट छ । अनुसन्धान त्रुटिपूर्ण भएको भन्ने पुनरावेदक जिकिरका सम्बन्धमा यसमा कानुनी व्यवस्था बमोजिम पर्चा खडा गरी अनुसन्धान अधिकृत तोकिएको र खानतलासी गर्ने अधिकार समेत प्रदान गरिएको छ । मुचुल्कामा थपिएको अस्वभाविक छैन, कागजमा अन्तिम ठाउँसम्म लेखेको हुनाले मिति नभएको हो मिति नहुँदैमा मुचुल्कामा बदनियत भयो भन्न मिल्दैन, २ जना पञ्च राख्नु पर्ने भन्ने सम्बन्धमा सो अवस्थामा फेला परेसम्म राख्ने हो, सीमित पञ्चहरु हुँदा नभेटिदैमा अनुसन्धान नै नगर्नु व्यवहारिक हुँदैन, अतः वागमती विशेष अदालतको फैसला सदर गरेको म.क्षे.अ.को फैसलामा कुनै त्रुटि नभएको हुँदा कायमै रहनु पर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नु भयो ।
२१. यसमा पुनरावेदक प्रतिवादी कालीबहादुर अधिकारीले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को कसूर गरेको ठहर्याई सजायँ गरेको वागमती विशेष अदालतको फैसला मनासिब ठहर्याएको म.क्षे.अ. को इन्साफ मिलेको छ छैन सो सम्बन्धमा हेरी निर्णय दिनु पर्ने हुन आयो ।
२३. यसमा रमेश अग्रवालको डेराबाट ३०,९००।– यू.एस. डलर र ५४ टेल सुन बरामद भएको कुरा मिति ०४५।३।२६ को बरामदी मुचुल्काबाट देखिन्छ । विदेशी मुद्राको अवैध कारोवारमा संलग्न रहेकोले पुनरावेदक प्रतिवादी कालीबहादुर अधिकारी समेत विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ र ५ को कसूरमा, सोही ऐनको दफा १७(१) बमोजिम सजायँ गरी पाउँ भनी प्रस्तुत मुद्दाको उठान हुन गएको पाइन्छ ।
२२. विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११(घ) को उपदफा (७) को प्रयोजनार्थ प्रस्तुत मुद्दाको उठानको लागि तयार हुन गएको मिति ०४५।३।२६ को बरामदी मुचुल्का कानुन सम्मत नभएको भन्ने पुनरावेदकको मुख्य पुनरावेदन जिकिर रहेको छ ।
२४. यस दफा बमोजिम “खानतलासी लिंदा कम्तिमा दुईजना स्थानीय पञ्चहरु साक्षी राखी निजहरुको उपस्थितिमा खानतलासी लिनु पर्नेछ” भन्ने कानुनी व्यवस्था उक्त ऐनको दफा ११(६) को उपदफा (७) मा रहेको पाइन्छ । प्रस्तुत वारदातको सम्बन्धमा रमेश अग्रवालको डेरा खानतलासी गरी तयार भएको, मिति ०४५।३।२६ को बरामदी मुचुल्कामा प्रेमरत्न बज्राचार्य न.स.स. भनी सहिछाप गरेको देखिन्छ । अन्य पञ्च साक्षी रहेको देखिएन “खानतलासी लिँदा कम्तिमा दुई जना स्थानीय पञ्चहरु साक्षी राखी” भन्ने कानुनको मकसद, केवल एक पञ्च साक्षी राख्दैमा पूरा हुने भनी अर्थ गर्नु कानुन अनुकूल हुँदैन ।
२५. कानुनको प्रयोग गर्दा कानुनी व्यवस्थाले लिएको निर्दिष्ट उद्देश्यको परिपूर्ति भएको छ कि छैन भनेर न्यायकर्ताले ख्याल राख्नु पर्ने हुन्छ । कानुनमा उल्लेखित कुनै पनि कार्यविधिगत प्रावधानको प्रयोग गर्दा कानुन बमोजिम नै गरिनु पर्ने हुन्छ । किनकी कानुनको वास्तविक पक्ष नै त्यसको कार्यविधिगत ९एचयअभमगचब िएबचत० कुरामा अन्तरनिहित रहेको हुन्छ । कानुनले निर्दिष्ट गरेको कार्यविधि कानुन अनुकूल कार्यान्वयन हुन नगएको खण्डमा सो को आधारमा कसै उपर कारवाहीको लागि अभियोगको उठान गरिन्छ भने, त्यस प्रकारको अभियोग, कोही उपर शंकारहित रुपले प्रतिस्थापित हुने हुन्छ भन्न मान्न सारगर्भित हुँदैन ।
२६. पुनरावेदक प्रतिवादी उपर विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ४ र ५ को कसूर गरेको भनी पुष्टी गर्ने मुख्य आधार प्रमाणको रुपमा वादी पक्षबाट प्रस्तुत भएको मिसिल संलग्न मिति ०४५।३।२६ कोे बरामदी मुचुल्का उक्त ऐनको दफा ११(घ) को उपदफा ७ अनकूल देखिन आएन । कानुन अनुकूल नभएको कुनै पनि प्रमाण कागजातले निर्विवाद प्रमाणको भूमिका निर्वाह गर्न सक्ने हुँदैन ।
२७. अतः पुनरावेदक प्रतिवादी कालीबहादुर अधिकारी उपर विदेशी मुद्राको अवैध कारोवार गरेको भनी विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ११(घ) को उपदफा (७) को प्रयोजनार्थ प्रमाणको मुख्य पक्ष भनिएको मिति ०४५।३।२६ को बरामदी मुचुल्का सोही कानुनी व्यवस्था अनुकूल देखिन नआएकोले त्यस्तो कानुन अनुकूल नभएको, बरामदी मुचुल्काको आधारबाट पुनरावेदक प्रतिवादीलाई आरोपित कसूरमा दोषी ठहर गर्न कानुनसंगत हुँदैन । तसर्थ मिति ०४५।३।२६ को कानुन प्रतिकूलले बरामदी मुचुल्काको आधारमा पुनरावेदक प्रतिवादीलाई विदेशी मुद्राको अवैध कारोवार गरेको भनी कसूरदार ठहर गरेको वागमती विशेष अदालतको मिति ०४५।१०।१७ को निर्णयलाई सदर गरेको म.क्षे.अ. को मिति ०४६।७।२३ को फैसला समेत उल्लेखित आधार प्रमाणबाट बदर हुन्छ । पुनरावेदक प्रतिवादी कालीबहादुर अधिकारीले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । सो ठहर्नाले अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी कालीबहादुर अधिकारीले सफाई पाउने ठहरेकोले शुरु वागमती विशेष अदालत र म.क्षे.अ. समेतबाट कैद भएको कैदको सजायँ समेत नलाग्ने हुँदा कट्टा गरी दिनु भनी का.जि.अ. तहसील फाँटमा लेखी पठाई दिनु.......१, पुनरावेदक प्रतिवादी, कालीबहादुर अधिकारी के इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले वागमती विशेष अदालतबाट निजलाई गर्ने गरेको जरिवाना रु. १,२२,०५५।– पुनरावेदन गर्दाका अवस्था धरौट राखेको, इन्साफ सदर हुँदा म.क्षे.अ. बाट थप गर्ने गरेको जरिवाना रु. १२,२०५।५० यस अदालतमा दाखेल गरी सदर स्याहा हुन गएको, र थप कैद वापतको रु. २५९।– धरौटीमा आम्दानी बाँधिएको देखिएको, अब सो रकम निज पुनरावेदक प्रतिवादीले फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र कानुन बमोजिम फिर्ता माग्न आएमा कानुन बमोजिम फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनु.....२, मिसिल नियमानुसार गरी बुझाई दिनु .........३
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्द्रबहादुर श्रेष्ठ
इतिसम्वत् २०४९ साल आषाढ २४ गते रोज ४ शुभम् ।