शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४९७ - अंश, अंश दपोट

भाग: ३४ साल: २०४९ महिना: असार अंक:

निर्णय नं. ४४९७    ने.का.प. २०४९ ()  अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४६ सालको दे.पु.नं. ५६४

फैसला भएको मिति : २०४८।११।२५।१ मा

पुनरावेदक/वादी: जि.सप्तरी जमुनी मध्य पुरा गा.पं. वडा नं. १ बस्ने नसिबलाल यादव

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने खुसीलाल यादव

मुद्दा : अंश, अंश दपोट

(१)    सम्पत्तिको तायदाती नै पेश नभएको अवस्थामा सम्पत्ति लुकाई अंश दपोट गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. १७)

(२)   फिराद ४ मा ३ भागको एक भाग आफ्नो अंश भागको र अर्को १ भाग प्रतिवादीले अंश दपोट गरे वापत निजको भागको समेत गरी विवादको सम्पत्तिको ३ भागको २ भाग आफ्नो नाउँमा कायम गराई पाउँ भन्ने उल्लेख गरेको देखिँदा आफ्नो भागको जग्गामा निजको दावी नभएको भन्न नमिल्ने ।

(प्रकरण नं. १७)

(३)   बाबुहरुको अंश छुटिएपछि सो बाबुको सम्पत्तिबाट मात्र छोराहरुको अंश हक लाग्ने हुँदा बाजेको नाउँको सम्पत्तिमा सोझै नातीहरुको अंश हक लाग्ने र सो अनुरुप निजहरुको नाउँमा समेत अंश बण्डा गरिनु पर्ने भन्ने कुरा अंशबण्डाको १ नं. तथा ३ नं. समेतको विपरीत हुने हुँदा प्रस्तुत मुद्दाबाट यी वादी प्रतिवादीको छोराहरुको अंश भाग छुट्याउनु पर्ने भन्ने कुरा नमिल्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल   

फैसला

न्या.रुद्रबहादुर सिंह

१.     पू.क्षे.अ. को अन्तिम आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    विपक्षी उपर हिरालाल यादवले अंश मुद्दा दिएपछि ०३३।५।३ मा अंश छुट्याई मिलापत्र गरेका थियौं सो अवस्था प्रतिवादीले स्वर्गवास हुनु भएका निचित यादव नाउँ दर्ता भएको जि.स. गा.पं. सिम्रहा सिंगीमौन वा.नं. ४ को कि.नं. ३६२ को १८ जि.स. गा.पं. वैल्ही वा.नं. २(क) कि.नं. २८२ को ० समेत तायदातीमा देखाउँदै नदेखाई मिलापत्र गरे पछि एकलौटी खाने नियतले विपक्षीले कि.नं. को ३६२ को १८ जग्गा ०३७।७।२८ मा नामसारी गरी पाउँ भन्ने मा.पो.का. मा दर्खास्त दिई २०३७।८।१० मा खुसीलालका नाउँमा दर्ता हुने गरी निर्णय भएको रहेछ । उक्त १११  मध्ये ३ भागको १ भाग मेरो भएको र एक भाग ०१०  खुसीलालको भाग दपोट गरेवापत वादीलाई एकलौटी गराई ज.वि. ०१९१ मेरा नाउँमा दर्त गराई पाउँ भन्ने समेत वादी दावी ।

३.    २०३०।१०।२९ मा निचित यादव स्वर्गीय भएपछि ०३२।१२।१६ मा हामी मानो छुटिएर बसेका छौं त्यसो हुँदा मलाई जति सम्पत्ति थाहा हुन्छ त्यति वादीलाई पनि थाहा हुने हुँदा मैले अंश दपोट गरेको नहुँदा वादी दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।

४.    अंश लिई दिई बण्डा भाग छुट्याई दावी छोडी छोडाई मन्जूर भई मिलेका छौं भनी पर्न आएको निवेदन अनुसार नै भएको मिलापत्रमा अब वर्तमान अवस्थामा आएर उक्त मुद्दाका प्रतिवादी यी नसिवलालले समेत अंश दिई वादी हिरालाललाई छुट्याई सकेपछि प्रतिवादी खुसिलाल विरुद्ध दर्ता गर्न ल्याएको अंश दपोटको प्रस्तुत फिराद आफैंले पेश गरेको संयुक्त दर्खास्त प्रतिकूल भएको देखिएकोले लाग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु स.जि.अ. को ०४१।३।१४ को फैसला ।

५.    शुरुले मलाई हराई गरेको फैसलामा चित्त बुझेन उक्त इन्साफ उल्टाई वादी दावी बमोजिम हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदनपत्र ।

६.    हकदैया नपुगेको वा म्याद नाघेको भन्ने जस्ता फिराद खारेज हुन सक्ने बूदाँहरु उल्लेख गरी इन्साफ गर्दा प्रयोग हुने खालका तर्क बूदांहरु उल्लेख गरी खारेज गर्ने गरी शुरुले गरेको खारेजी फैसला नमिलेको हुँदा उक्त फैसला बदर गरी दिएको छ । अब कानुन बमोजिम जे जो बुझ्नु पर्छ बुझी हक इन्साफ गर्नु भनी हाजीर रहेका पक्षलाई तारेख तोकी शुरुमा पठाई दिनु भन्ने समेत स.अं.अ. रा.वि.बेञ्चको फैसला ।

७.    अंश मुद्दामा तायदाती नै नआएको हुँदा वादीले सम्पत्ति दवाई छपाई अंश दपोट गरेको नदेखिँदा अंश दपोट गरेमा अंशबण्डाको २७ नं. बमोजिम गरी पाउने दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको ०४३।१२।२९ को स.जि.अ. को फैसला ।

८.    सप्तरी जिल्ला अदालतको उक्त फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टाई मेरो फिराद दावी र पुनरावेदन जिकिर बमोजिम गरी पाउँ भन्ने वादीको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चमा परेको पुनरावेदन ।

९.    यी वादी प्रतिवादी बीच चलेको ०३२ सालको दे.नं. ३९४७ को अंश मुद्दामा मिति ०३३।५।३ मा भएको मिलापत्रमा कुनै जग्गा अबण्डा हुन बाँकी नरहेको र अंश मुद्दामा कुनै तायदाती समेत पेश नभएको अवस्थामा अंश दपोट गरेको भन्ने वादी दावी नपुग्ने ठहर्‍याई भएको शुरु जि.अ. को फैसला मनासिब ठहर्छ भन्ने स.अं.अ. राजविराज बेञ्चको मिति २०४४।७।२ को फैसला ।

१०.    स.अं.अ. राजविराज बेञ्चको उक्त फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको पू.क्षे.अ. मा परेको निवेदन ।

११.    ०३३।५।३ मा अंश लिनु दिनु गरी मिलापत्र भइसकेपछि अंशबण्डाको २७ नं. बमोजिम अंश दपोटमा नालेश लाग्न र सो आधारबाट दवाए छपाएको भनी वादी दावी बमोजिम एकलौटी हक कायम गर्न मिल्ने नदेखिँदा वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको फैसला सदर गरेको स.अं.अ. राजविराज बेञ्चको फैसला त्रुटिपूर्ण नदेखिँदा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत व्यहोराको पू.क्षे.अ. को मिति ०४४।१२।१९ को आदेश ।

१२.   पू.क्षे.अ. को उक्त आदेशमा कानुन व्याख्या सम्बन्धी त्रुटि विद्यमान देखिँदा सो उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको यस अदालतमा पर्न आएको निवेदन ।

१३.   मिति ०३३।५।३ मा भएको मिलापत्रमा विवादको जग्गा बण्डा भइसकेको नदेखिए पछि सो जग्गा प्रतिवादीले आफ्नो बाबु निचित यादवको नामबाट आफ्नो नाउँमा दर्ता गराएको देखिन्छ । बाबुको नाउँको जग्गामा सबै छोराहरुको बरोबर अंश हक लाग्न जाने कानुनी व्यवस्था भइरहेको अवस्थामा वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको अञ्चलको फैसला उपर पुनरावेदनको अनुमति दिन इन्कार गरेको पू.क्षे.अ. को आदेशमा अंश बण्डाको १ नं. को व्याख्यात्मक त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति ०४६।१२।९ को आदेश ।

१४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंहले यी वादी प्रतिवादी बीच चलेको २०३२ सालको अंश मुद्दामा मिति ०३३।५।३ मा मिलापत्र हुँदा यो विवादको जग्गा बण्डा भएको छैन । अबण्डा रहेको बाबुको सम्पत्तिमा सबै छोराहरुको बराबर हक लाग्ने कुरामा कुनै विवाद छैन । प्रतिवादीले बाबु निचित यादवको हक खाने म एक मात्र छोरा भएको भनी गलत कुराको निवेदन गरी जग्गा आफ्नो नाममा गराएका छन । निजले प्रतिउत्तर दिंदा समेत उक्त जग्गा आफ्नो एकलौटी हक भोगको भनी भन्न सकेका छैनन् । यस्तो अवस्थामा यस अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार पूर्व फैसलाहरु बदर गरी वादी दावी अनुसार गरी पाउँ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

१५.   विपक्षी प्रतिवादी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेलले यी वादी प्रतिवादी बीच चलेको ०३२ सालको अंश मुद्दामा तायदाती नै पेश भएको छैन । तायदाती नै पेश नभएको अवस्थामा विवादको जग्गा तायदातीमा नदेखाई लुकाई राखेको भन्न मिल्दैन । प्रस्तुत मुद्दामा अबण्डा रहेको सम्पत्ति बण्डा गरी पाउँ भन्ने वादी दावी समेत नभएको हुँदा वादी दावी बाहिर गई निर्णय गर्न समेत मिल्ने देखिँदैन र विवादको जग्गा वादीको नाउँमा समेत बण्डा नै हुने हो भने पनि ०३३।५।३ को मिलापत्रमा उल्लेखित सबै अंशियार बीच बण्डा गरिनु पर्ने हुँदा वादीले ४५ धुर भन्दा बढी जग्गा पाउने होइन भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।

१६.    यस्मा वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको स.अं.अ. राजविराज बेञ्चको फैसला उपर पुनरावेदनको अनुमति नदिने गरी भएको पू.क्षे.अ. को आदेश मनासिब बेमासिब के रहेछ सो मा नै निर्णय दिनु पर्ने देखियो ।

१७.   यस सन्दर्भमा विचार गर्दा यी वादी प्रतिवादी बीच चलेको ०३२ सालको अंश मुद्दामा तायदाती पेश हुनु भन्दा अगावै ०३३।५।३ मा मिलापत्र भएको देखिन्छ । यसरी सम्पत्तिको तायदाती नै पेश नभएको अवस्थामा सम्पत्ति लुकाई अंश दपोट गरेको भन्न मिल्ने नदेखिँदा अंश दपोट गरेको भन्ने वादी दावी पुग्न सक्दैन, तर विवादको सम्पत्ति यी वादी प्रतिवादीका बाबु निचित यादवको नामबाट प्रतिवादीले आफ्नो नाउँमा नामसारी दर्ता गराएको देखिन्छ र उक्त सम्पत्ति ०३३।५।३ को मिलापत्रमा बण्डा भएको समेत देखिँदैन । यस्तो अवस्थामा उक्त सम्पत्तिलाई अबण्डा नै मान्नु पर्ने हुन्छ । यस्तो अवण्डा सम्पत्तिमा सबै छोराहरुको बराबर अंश भाग लाग्ने कुरामा कुनै शंका छैन । प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताले विवादको अबण्डा सम्पत्ति बण्डा गरिपाउँ भन्ने वादी दावी भएकोमा वादी दावी भन्दा बाहिर गई निर्णय गर्न मिल्ने होइन र उक्त सम्पत्ति बण्डा नै हुने हो भनेपनि ०३३।५।३ को मिलापत्रमा उल्लेखित सबै अंशियार बीच बण्डा गरिनु पर्छ भन्ने जिकिर लिनु भएको देखिन्छ । वादीले दिएको फिराद हेर्दा उक्त फिरादको प्रकरण ४ मा ३ भागको एक भाग आफ्नो अंश भागको र अर्को एक भाग प्रतिवादी खुशिलाल यादवले अंश दपोट गरेवापत निजको भागको समेत गरी विवादको सम्पत्तिको ३ भागको २ भाग आफ्नो नाउँमा कायम गराई पाउँ भन्ने उल्लेख गरेको देखिँदा आफ्नो भागको जग्गामा निजको दावी नभएको भन्न मिलेन । अब ०३३।५।३ को मिलापत्रमा उल्लेखित सबै अंशियारहरु बीच विवादको सम्पत्ति बण्डा गरिनु पर्ने हो होइन भन्ने तर्फ विचार गर्दा बाबुहरुको अंश छुट्टिएपछि सो बाबुको सम्पत्तिबाट मात्र छोराहरुको अंश हक लाग्ने हुँदा बाजेको नाउँको सम्पत्तिमा सोझै नातिहरुको अंश हक लाग्ने र सो अनुरुप निजहरुको नाउँमा समेत अंश बण्डा गरिनु पर्ने भन्ने कुरा अंश बण्डाको १ नं. तथा ३ नं. समेतको विपरीत हुने हुँदा प्रस्तुत मुद्दाबाट यी वादी प्रतिवादीका छोराहरुको अंश भाग छुट्याउनु पर्ने भन्ने कुरा मिल्ने देखिन आएन । अतः अबण्डा रहेको कि.नं. ३६२ को जग्गा विगहा १८ र कि.नं. २८२ को जग्गा विगहा ०  समेत जम्मा जग्गा विगहा १११   मध्ये वादी दावी अनुसार तीन भागको १ भाग ०१०   नौ कठ्ठा साढे दश धुर जग्गा वादीको अंश हक कायम हुने ठहर्छ । अंश हक कायम हुने नठहराएको हदसम्म शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको स.अं.अ. राजविराज बेञ्चको इन्साफ र सो उपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरी भएको पू.क्षे.अ. को आदेश समेत गल्ती हुँदा बदर हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि उल्लेख गरिए बमोजिम कि.नं. ३६२ को जग्गा विगहा १८ र कि.नं. २८२ को जग्गा विगहा ०  समेत जम्मा जग्गा विगाहा १११  मध्ये वादी नसिबलाल यादवले जग्गा विगाहा ०१०  नौ कठ्ठा साढे दश धुर पाउने ठहरेकाले सो अनुरुप आफ्नो नाउँमा दर्ता गरिपाउँ भनी कानुन बमोजिम निवेदन दिन आए निजको नाउँमा दर्ता गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउन का.जि.अ.त. लगत दिनु । वादी दावी आंशिक ठहर भएकोले निजले शुरु जि.अ. मा राखेको कोर्टफी २२०।स.अ. राजविराज बेञ्चमा राखेको कोर्टफी रु. ३३।र यस अदालतमा राखेको कोर्टफी रु. ३३।समेत जम्मा रु. २८६।को आधा रु. १४३।प्रतिवादीबाट भरी पाउने हुँदा सो भरी पाउन कानुन बमोजिम दर्खास्त दिए भराई दिनु भनी ऐ.ऐ. .....१ मिसिल नियमानुसार गरी बुझाई दिनु ....१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इतिसम्वत् २०४८ साल फागुन २५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु