शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१४५ - लुटपिट

भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक:

निर्णय नं. ६१४५                                              ने.का.. २०५३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

सम्वत २०५० सालको फौ.पु.नं. ८२३

आदेश मिति २०५२।५।७।४

 

मुद्दाः लुटपिट

पुनरावेदक-            

  वादी      दैलेख बेलासपुर गा.वि.. वडा नं. ६ बस्ने धनराज आचार्य

                  .. बस्ने प्रेम प्रसाद आचार्य

                  .. बस्ने मुकुन्द प्रसाद आचार्य

.. बस्ने याम प्रसाद आचार्य

.. बस्ने टेकराज आचार्य

.. बस्ने जयकृष्ण आचार्य

.. बस्ने भिमप्रसाद आचार्य

.. बस्ने शान्ति प्रसाद आचार्य

.. बस्ने टिकाराम आचार्य समेत जवान ९ को वा. भई आफ्नो हकमा समेत पुनरावेदन गरी पुर्पक्षमा रहने ऐ.. बस्ने जगत प्रसाद आचार्य

                                                            विरुद्ध

       विपक्षी-

      प्रतिवादी           कालिकोट ओदान कु. गा.वि.. वडा नं. १ बस्ने रामप्रसाद उपाध्याय

                        .. बस्ने नवराज काफ्ले

                        .. बस्ने नरप्रताप काफ्ले

आफ्नो सम्पत्ति सहजै कसैले लुट्ने मानिसहरुलाई लुट्न दिँदैन ।  वादी लेखबाट सहजै लुटपिट भएको देखिन्छ । वादी दावी प्रमाणित गर्ने भार वादीको हो । तर वादीहरुको साक्षीहरुको बकपत्रमा समेत एकरुपको बकाई देखिन्न । गाली बेइजतीको वारदात ठहर भएको कारणबाट लुटपिट भएको ठहर हुने स्थिति नहुने ।

( प्र.नं. १६)

पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

विपक्षी तर्फबाटः

अबलम्बित नजीरः ×

फैसला

न्या. त्रिलोक प्रताप राणा- पुनरावेदन अदालत  वीरेन्द्रनगर सुर्खेतको फैसला उपर चित्त नबुझी पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छः-

. कालिकोट माहावे डाडामा प्रत्येक वर्षको पर्वमा शिवजीको पुजाको लागि विधिवत पुर्खौली र सनद बमोजिम आज्ञा पुजाको लागि सामान लिई हामीहरु २०४६ साल श्रावण ३२ गते विहान शिवजीको साथमा माहावे डाँडामा गै दुधको धारा दिई पुजा पाठ गरी पुजाको सरसामान र आफ्नो पासमा भएको नगदी जिन्सी लिई २०४९।४।३२ गतेको बेलुकी ४:३० बजेको टाईममा दैलेख जिल्ला अन्तर्गत पर्ने बालुवाटार गा.पं. वडा नं. ८ पानी ढल माथिल्लो लिस्नोको ओरालोमा आई पुगेको अवस्थामा अन्यायी ५ जनाले कालिकोट जिल्लाको ८०/९० जना हामी भएको ठाउँमा आई महादेव श्री शिवजीको आज्ञा पुजा गर्ने विषयमा हामीसँग झगडा उठाई अन्यायीहरुले हामीलाई बेइज्जती गर्दै लछार पछार गरी नगदी र जिन्सी समेतको विगो रु. ६१,३२५। को धनमाल लुटपिट गरी लगेकोले गाली बेइज्जी तर्फ छुट्टै उजुर गरेको हुँदा लुटपिटको विगो विपक्षी ५ जनाबाट बराबरका दरले हामीलाई भराई दिलाई लुटपिटको ६ न . बमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको टिकाराम उपाध्याय समेत जना १० को संयुक्त फिराद पत्र ।

. विपक्षी जगतप्रसाद उपाध्याय समेतले हाम्रो परापुर्वको पाला देखि आज सम्म मैले नै चलाई रहेको श्री महादेव शिवजीको पुजा आजा होम गर्ने कार्य खोसी लिन खानको लागि काल्पनिक कुरा रचि ६१,३२५। को धनमाल लुटपिट गरी लिए भनी झुठ्ठा फिराद दिएको हुन् । विपक्षी जगत प्रसाद उपाध्याय समेतको पुजाआजा गर्ने कार्य मैले खोसेको वा पुजा गर्न नदिएको भए विपक्षीहरुले आफ्नो हक बेहकमा देवानी तर्फ मुद्दा दायर गर्नु पर्ने । त्यसतर्फ दावी नलिई हुँदै नभएको गर्दै नगरेको असम्भव विगो खोली झुठ्ठा मुद्दा दिएको हुँदा मुलुकी ऐन अ.बं. ७२ नं. ले सो मुद्दा खारेज गरी दण्ड सजायको १८ नं. बमोजिम विपक्षीहरुलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको रामप्रसाद उपाध्यायले दिएको प्रतिउत्तर पत्र ।

. परापूर्वकाल देखि हाम्रा पुर्खाहरुले श्री महादेव देवताको नित्यपुजा गरी हालसम्म सो पुरा आजा गर्ने कार्य हामीहरुले नै गरी आएको सो पुजा आजा गर्ने कार्य खोसी लिन खानको लागि हामीहरुलाई झुठ्ठा लुटपिट मुद्दा दिएकोले सो झुठ्ठा मुद्दाबाट फुर्सद गरी उजुर गर्ने विपक्षी जना १० लाई मुलुकी ऐन दण्ड सजायको १८ नं. बमोजिम सजाय गरी विपक्षीहरुबाट क्षतिपुर्ति समेत भराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नरप्रताप काफ्ले, नवराज काफ्ले, रणबहादुर सिंह, भक्त सिंह समेतले दिएको संयुक्त प्रतिउत्तर पत्र ।

. वादी दावी बमोजिमको मालसामान प्रतिवादीहरुले लुटपिट गरी लगेको हुन भन्ने फेरादीका साक्षी हेमराज भट्टराई, नारायण प्रसाद शर्मा, गणेश प्रसाद भट्टराई, माधव प्रसाद उपाध्याय, प्रतिमान शर्मा, कुशमाखर जैशी, डिलबहादुर वडवाल, हस्तराज अधिकारी, वीरबहादुर सिंह, तिलकप्रसाद उपाध्याय, गंगाबहादुर कटुवाल, धनबहादुर मल्ल, कर्णबहादुर खत्री समेतले अदालतमा गरेको बकपत्र ।

. प्रतिवादीहरुले वादी दावी अनुसार लुटपिट गरेको होइनन्, वादी दावी झुठ्ठा हो भन्ने प्रतिवादीको साक्षी विष्णुबहादुर शाही, जय प्रसाद अधिकारी, राजबहादुर शाही, खङ्गे कामी, स्वानु सिंह, खड्ग बहादुर शाही, कमलामान विष्ट, लक्ष्मी प्रसाद उपाध्याय, कृष्णप्रसाद उपाध्याय, नन्दप्रसाद काफ्ले, सुनिल सिंह, प्रेम बहादुर शाही, मानबहादुर सिंह, रनकेशर विष्ट जयरुप कोइराला समेतको नाउँमा बन्द सवाल ।

. वादीका सम्पूर्ण साक्षीहरुले बकपत्र गर्दा प्रतिवादीहरुले वादी वादीको धनमाल लुटपिट गरी लगेको हो भनी वादी मिलान किटानी उल्लेख गरेको देखिँदा प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भनी दैलेख जिल्ला अदालतबाट मिति २०४८।९।११ मा भएको फैसला ।

. श्रेस्ता प्रमाण सनद लाल मोहर तथा साक्षीहरुको बकपत्र समेतको मूल्याङ्कन विहिन भएको दैलेख जिल्ला अदालतको त्रुटिपुर्ण फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको रामप्रसाद उपाध्याय र नवराज काफ्लेले श्री पुनरावेदन अदालत सुर्खेतमा चढाएको संयुक्त पुनरावेदन पत्र ।

. प्रतिवादीहरुले वादीको धनमाल लुटेको भन्ने वादीको साक्षीको बकाई र वादीको लेखाईमा मेल नखाएको । प्रतिवादीको साक्षीले लुटपिट गरेको छैन भनी लेखाएको देखिएकोले लुटेको ठहर्‍याएको शुरुको इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भनी पुनरावेदन अदालत सुर्खेतबाट मिति २०४९।७।२४  मा भएको आदेश ।

१०. ती पुजाका सामान वादी वा प्रतिवादी के कसको जिम्मामा रहने हुन सो सम्बन्धी उजुरी परेमा कानून बमोजिम हुने नै हुँदा अन्य लुटपिटको सामनहरुको हकमा वादीका देख्ने साक्षीहरुले पछि किटानी रुपमा बकपत्र गर्न नसकेको हुँदा वादी दावी अनुसार प्रतिवादीहरुले लुटपिट गरेको ठहर्दैन । लुटपिट ठहर गरेको शुरु दैलेख जिल्ला अदालतको फैसला मिलेको नहुँदा उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतको संयुक्त इजलासबाट भएको मिति २०४९।११।२६ को फैसला ।

११. विपक्षी रत्न प्रसादले १९८३ सालमा सो को सनद आफ्नो पुर्खाले पाएको भनी उल्लेख गरेता पनि सो सनद पेश गर्न सकेका छैनन् । हाम्रो फिरादमा उक्त श्री शिवजी महादेवको स्थानमा शुद्ध दुधको धारा हाल्ने, रुद्रि बेद पाठ गर्ने कार्य हुन्छ भनी हामीले उल्लेख गरेकोमा विपक्षी राम प्रसाद बोका काट्ने धामी बस्ने कार्य समेत हुने भनी उल्लेख गरेकोमा विपक्षीकै साक्षी प्रेम बहादुर सिंहले उक्त महादेवको स्थानमा बोका नकाटिने धामी नबसिने केवल शुद्ध दुधको धारा हाली रुद्रि वेद पाठ गरिने कार्य हुने र बोका काटिने धामी बसिने कार्य उक्त श्री शिवजीको स्थानबाट लिङ्गो ल्याएको दमौडा भन्ने ठाउँमा जगन्नाथ महादेवको स्थानमा हुने भनी बकपत्र गरी दिएबाट समेत विपक्षी उक्त श्री शिवजीको पुजारी नभएको सिद्ध छ । साथै निज प्रेम बहादुर सिंहले १९५२ सालको सनद नै उक्त श्री शिवजीको हकमा भएको पहिलो सनद हो भनी उल्लेख गरेबाट समेत हामी उक्त श्री शिवजीको पुजारी भएको र उल्लेखित पुजाआजाका सामानहरु हाम्रो भएकोमा विवाद छैन । विपक्षीहरु लगायतका ८०, ९० जना मानिसहरुको हुलले हामीहरुलाई घेराउ गरी लुटपिट गरी हाम्रो साथमा भएको पुजाआजाका सामग्री समेत लिई गएका देखेका हौ भनी हाम्रो साक्षी वीरबहादुर सिंह लगायतका मानिसहरुले बकपत्र गरी दिएका छन् भने ककसले के कति लुटपिट गरी लिए भनी खुलाउन नसक्ने अवस्था पर्न गएको तथ्य समेतलाई दृष्टिगत नगरी गरिएको फैसला त्रुटिपुर्ण भै मिलेको छैन । शुरु दैलेख जिल्ला अदालतको फैसला उल्टी गरी गरिएको फैसला त्रुटिपुर्ण भएको हुँदा सो उल्टी गरी शुरु दैलेख जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने मिति २०५०।३।१३ को पुनरावेदन अदालत सुर्खेत मार्फत यस सर्वोच्च अदालतमा पर्न आएको वादी जगत प्रसाद आचार्य समेतको पुनरावेदन पत्र ।

१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावदेन सहितको मिसिल अध्ययन गरियो ।  पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले सोही वारदातमा भएको वादी दावी बमोजिम गाली वेइज्जती गरेको ठहर भएको छ । तर सोही वारदातमा घटेको लुटपिट पुनरावेदन अदालतबाट ठहर भएन । प्रतिवादीहरुले वादी दावी बमोजिम लुटपिट नगरेको भन्ने जिकिरलाई पुष्टि गर्न सकेको देखिँदैन । वादीहरुको साक्षीले लुटपिट गरेको भनी अदालतमा आई बकपत्र गरेकोबाट वादी दावी प्रमाणित भएको छ । यस स्थितीमा वादी दावी बमोजिम प्रतिवादीहरुले लुटपिट गरेको ठहर हुनु पर्नेमा शुरु जिल्ला अदालतको फैसला उल्टाई प्रतिवादीहरुले लुटपिट गरेको ठहर्दैन भनी गरेको पुनरावेदन अदालतको फैसला बदर भागी छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१३. उक्त बहस समेतलाई दृष्टिगत गरी निर्णय तर्फ विचार गर्दा वादी दावी अनुसार यी प्रत्यर्थी प्रतिवादीहरुले लुटपिट गरेको ठहर्दैन भनी पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतले गरेको फैसला मिलेको छ कि छैन भनी निर्णय दिनु पर्ने हुन      आयो ।

१४. विधिवत पर्खौली र सनत बमोजिम कालिकोट माहावे डाँडामा शिवजीको पुजाआजा गरी फर्किँदा २०४६।४।३२ गते बेलुका ४:३० बजेको समयमा अन्यायी ५ जनाले कालिकोट जिल्लाको ८०/९० जना ल्याई हामी भएको ठाउँमा आई महादेव शिवजीको पुजाआजा गर्ने विषयमा हामीसँग झगडा उठाई हामीहरुलाई बेइज्जती गर्दै लछार पछार गरी नगदी र जिन्सी समेतको विगो रु. ६१,३२५। को धनमाल लुटपिट गरी लगेकोले सो विगो विपक्षी ५ जनाबाट भराई लुटपिटको ६ नं. बमोजिम सजाय समेत गरी पाउँ भन्ने फिराद दावी भएकोमा परापूर्व कालदेखि श्री महादेव देवताको नित्य पुजा हामीहरुले नै गरी आएकोमा सो पुजाआजा खोसी लिन खानका लागि हामीहरुलाई झुठ्ठा मुद्दा दिईएको हुँदा झुठ्ठा उजुर गर्ने वादीहरुलाई दण्ड सजायको १८ नं. बमोजिम सजाय गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको पाईन्छ ।

१५. यसमा प्रतिवादीहरु जना ५ को बचन मानी निजहरुको साथमा रहेको ८०/९० जनाले बेइज्जती गर्दै लछार पछार गरी लुटपिट गरी लगे भन्ने फिराद दावी गरेको पाईन्छ । वादीहरुले लुटपिट गर्ने प्रतिवादीहरु बाहेक अरु ८०/९० जना मध्ये कुनैको पनि नाम खुलाउन सकेको पाईन्न। खास लुटने ८०/९० जना भएको भन्ने देखिन्छ । यी प्रतिवादीहरु मध्ये कसले कति लुटेको सो कुरा फिरादमा खुलाउन सकेको पाईन्न । लुटेको माल रुपैंयाहरु प्रतिवादीहरुलाई कसरी प्राप्त भयो। ८०/९० जना तिनिहरुले यी प्रतिवादीहरुलाई कहाँ कसरी लुटेको धन बुझाए सो फिरादमा खुल्न सकेको पाईन्न ।

१६. सो वारदातमा वादीहरुकै भनाई बमोजिम लछार पछार भएको पाइन्छ । लछार पछार भई घाउ चोट लागे तर्फ कुनै केश फाराम भएको पाइन्न । आफ्नो सम्पत्ति सहजै कसैले लुट्ने मानिसहरुलाई लुट्न दिँदैन । वादी लेखबाट सहजै लुटपिट भएको देखिन्छ । वादी दावी प्रमाणित गर्ने भार वादीको हो । तर वादीहरुको साक्षीहरुको बकपत्रमा समेत एकरुपको बकाई देखिन्न । गाली बेइजतीको वारदात ठहर भएको कारणबाट लुटपिट भएको ठहर हुने स्थिती हुँदैन । लुटपिटका सामानहरुका हकमा वादीको देख्ने साक्षीको किटानी बकपत्र नभइ गोल मटोल बकपत्र देखिँदा वादी दावी अनुसार प्रतिवादीहरुले लुटपिट गरेको नठहर्याएको पुनरावेदन अदालत विरेन्द्रनगर सुर्खेतको इन्साफ मुनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्बत २०५२ साल भाद्र ७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु