शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५०० - अंश

भाग: ३४ साल: २०४९ महिना: असार अंक:

निर्णय नं. ४५००     ने.का.प. २०४९ ()   अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४४ सालको दे.पु.नं. ६८३

फैसला भएको मिति : २०४९।१।१०।४ मा

पुनरावेदक/प्रतिवादी: जि.अर्घाखाँची ठाडा गा.पं. वा.नं. १ बस्ने नरेन्द्रमान श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ. अर्घाखाँची ठाडा गा.पं. वडा नं. १ बस्ने दलकुमारी श्रेष्ठ

मुद्दा : अंश

(१)    २०३२ सालमा घरसारी लिखत बमोजिम अंशियाराका नाममा दर्ता नामसारी भएको समेत नदेखिँदा अंश बण्डाको ३० नं. बमोजिम वादी प्रतिवादीहरुका बीच बण्डा भएको भन्न नमिल्ने ।

(प्रकरण नं. ११)

पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह

प्रत्यर्थी/वादी तर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

फैसला

न्या.मोहनप्रसाद शर्मा

१.    प.क्षे.अ. को फैसला उपर न्या.प्र.सु. ऐन, २०३१ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    मूल पुरुष कृष्णमानका ५ भाइ छोरामा जेठा श्यामलाल, माइला सुमन्तलाल, साइला मेरा पति ओमप्रकाश, काइला नरेन्द्र र कान्छा जयनारायण हुन । जेठा श्यामलालले आफ्नो अंश लिई छुट्टि भिन्न भएकाले विपक्ष सावित्रा, सुमन्तलाल, नरेन्द्रमान र मेरा पति ओमप्रकाश कान्छा जयनारायण समेत ५ जनाको अंशबण्डा भएको छैन । मेरो पति ५ वर्ष भयो विदेश गएको अहिलेसम्म मरे बाँचेको कुनै खबर नआएको र २०४०।१०।२८ देखि विपक्षहरुले मलाई र मेरा छोरा छोरीलाई खान लाउन नदिएकोले मेरो पतिको भाग अंश दिनुहो्स भन्दा नदिएकोले फिराद गर्न आएकी छु । विवाह खर्च पर सार्नु पर्ने छैन । अंश बण्डाको २०, २१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी लिई ५ भागको १ भाग मेरो पतिले पाउने अंश दिलाई पाउँ भन्ने वादी दावी ।

३.    बाबु स्वर्गे भएपछि आमा सावित्रा विपक्षका पति ओमप्रकाश म नरेन्द्रमान र कान्छा जयनारायण पनि सबै अंशियारमा सगोलमा बस्न नसकी २०३२।११।३० मा अंश बण्डा गरी सो बण्डापत्र बमोजिम आफ्नो अंश बुझी लिएका र विपक्षका पतिले आफ्नो सम्पत्ति वादीकै जिम्मामा छाडी विदेश जानु भएको हुँदा अ.बं. १८० नं. बमोजिम फिराद खारेज गरी पाउँ भन्ने नरेन्द्रमान सावित्रा, सुमन्तलाल समेतको छुट्टा छुट्टै प्रतेवादी रहेछ ।

४.    वादीका साक्षीको बकपत्र मिसिल सामेल रहेछ ।

५.    वादी दलकुमारी श्रेष्ठ प्र.हरुका अंशियार देखिन आएकोले र वादी प्रतेवादीको बीच अंश बण्डा भएको सबूद प्रमाण नदेखिँदा वादी दावी बमोजिम पेश हुन आएको २०४२।५।३० को तायदाती फाँटवारी बमोजिम दलकुमारी श्रेष्ठले ५ भागको १ भाग वादीका पति ओमप्रकाशको भागको अंश पाउने ठहर्छ भन्ने अर्घाखाँची जिल्ला अदालतको फैसला ।

६.    हामी पुनरावेदक र वादीका लोग्नेको बीच २०३२।११।३० मा घरसारमा बण्डापत्र भई आफ्नो भागको दर्ता तिरो भोग बिक्री व्यवहार गरी नै आएका छौं । फिरादीलाई अंश दिनु पर्ने भएमा अंश माग्ने अधिकार फिरादीलाई नभई निजको लोग्ने जीवित नै रहेकोले ओमप्रकाशलाई छ । फिरादीलाई फिराद दायर गर्ने हक अधिकार नै नभएकोले शुरु जि.अ.को फैसला अ.बं. १८४(क) नं. विपरीत भएकोले शुरु फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिरबमोजिम हक इन्साफ पाउँ भन्ने प्र.सुमन्त समेतको प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।

७.    पुनरावेदक सावित्रा देवी श्रेष्ठनी समेत र विपक्षी वादी दलकुमारीका लोग्ने ओमप्रकाश अंशियार भएको कुरामा विवाद देखिएन । प्रतिवादीहरुले भनेको २०३२।११।३० को घरसारी बण्डापत्र सक्कलै देखाई वादीलाई सनाखत गराउने शुरु जि.अ. को आदेश बमोजिम प्र.हरुले सक्कल पेश गरी प्रतिउत्तर जिकिर पुष्टि गर्न सकेको देखिन नआएबाट बण्डा भएको भन्ने जिकिर साँचो भन्न मिलेन । अ.बं. १० नं. ले मुद्दा गर्ने अधिकार वादीलाई भएकै हुँदा र वादी प्रतिवादी बीच बिक्री व्यवहार भएको भन्ने कानुन ग्राह्य सबूत पेश हुन आएको नदेखिँदा वादीलाई प्रतिवादीहरुबाट ५ भागको १ भाग अंश दिलाउने ठहर्‍याएको शुरु अर्घाखाँची जि.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ. को मिति २०४४।२।२९ को फैसला ।

८.    सो फैसला उपर चित्त नबुझी प्र.हरुको यस अदालतमा पुनरावेदनको लागि अनुमतिको निवेदन परेकोमा यस अदालत संयुक्तइजलासको मिति २०४४।८।१६ को आदेश बमोजिम पुनरावेदनको अनुमति प्राप्त भएको रहेछ ।

९.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंहले पुनरावेदकहरु र वादीका श्रीमान ओमप्रकाश बीच २०३२ सालमा नै बण्डा पत्र भइसकेको छ । जसको सक्कल लिखत मिसिल संलग्न नै छ । यसै बमोजिम पाएको अंशमा जयनारायणले बिक्री व्यवहार समेत गरी सकेका छन् । यसरी एकपटक अंश पाई सकेपछि लोग्ने विदेश गएको अवस्था पारी विपक्षी वादीले दिएको झुठ्ठा फिरादको आधारमा अंश दिलाउने ठहर्‍याएको प.क्षे.अ. को इन्साफ त्रुटिपूर्ण छ भन्ने समेतको र प्रत्यर्थी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले २०३२ सालमा भएको भनिएको बण्डापत्र र रजिष्ट्रेशन पारीत हुनु पर्नेमा भएको नहुँदा त्यसको कुनै कानुनी अस्तित्व नै छैन । सो बमोजिम दाखेल खारेज नामसारी दर्ता केही भएको छैन । छुट्टी भिन्न भइसकेको भन्ने कुरा झुठ्ठा हुँदा अंश दिलाउने ठहर्‍याएको प.क्षे.अ. को इन्साफ मनासिब हुनु पर्छ भन्ने समेतको प्रस्तुत गर्नु भएको बहस जिकिर सुनियो ।

१०.   अब यसमा प.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु परेको छ ।

११.   निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदक प्रतिवादी सावित्रा देवी श्रेष्ठ समेत र प्रत्यर्थी वादी दलकुमारीका लोग्ने ओमप्रकाश अंशियार भएको कुरामा कुनै विवाद देखिन आएन । २०३२ सालमा नै बण्डा भइसकेको भन्ने प्रतिउत्तर जिकिर रहेको र यस अदालतबाट अनुमति प्रदान गर्दा जयनारायणले जग्गा विक्री गरेको देखिएको, निजलाई नबुझेको र वादीको पति जीवित रहेको भन्ने समेत आधार लिएको देखिन्छ । तर वादी वा निजका लोग्नेले अंशबाट पाएको यो यस्तो जग्गा बिक्री गरेको भन्ने नदेखिनुका साथै अ.बं. १३९ नं. बमोजिम यस अदालतबाट बुझेको जयनारायणले बण्डापत्र भएको छैन भनेका र २०३२ सालको घरसारी लिखत बमोजिम अंशियारका नाममा दर्ता नामसारी भएको समेत नदेखिँदा अंशबण्डाको ३० नं. बमोजिम वादी प्रतिवादीहरुका बीच बण्डा भएको भन्न मिलेन । तसर्थ वादीलाई प्रतिवादीहरुबाट ५ भागको १ भाग अंश दिलाउने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला मनासिब ठहर्‍याएको प.क्षे.अ. को इन्साफमा कुनै कानुनी त्रुटि नदेखिँदा परिवर्तन गरी रहनु परेन । सो फैसला सदर हुने ठहर्छ । कोर्टफी राखी मुद्दा दायर भएको देखिँदा अरु केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इतिसम्वत् २०४९ साल बैशाख १० गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु