शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६१४८ - जालसाजी

भाग: ३८ साल: २०५३ महिना: जेष्ठ अंक:

निर्णय नं. ६१४८                       ने.का.. २०५३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री हरिशचन्द्र प्रसाद उपाध्याय

सम्वत २०५० सालको फौ.पु.नं. ७६६

फैसला मिति २०५३।१।१२।४

 

मुद्दाः जालसाजी

पुनरावेदक-            

प्रतिवादी    काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं. ४ लोहसाल बस्ने शोभा गुरुङ

                  .. बस्ने गोवर्धन गुरुङ                     

विरुद्ध

       प्रत्यर्थी-

        वादी . वडा नं. १० कोटेश्वर बस्ने प्रकाश गुरुङ

मिसिल संलग्न तारेख भरपाईबाट २०५०।१।२२।३ मा पुनरावेदन दर्ता गर्दा २०५०।३।२७ गते हाजिर हुन आउनु भनी पुनरावेदकलाई तारेख तोकिएको देखिन्छ । निजले पाएको तारेख पर्चामा मिति २०५०।३।२७ मा हाजिर भै सो मितिबाट २०५०।९।५ गतेको तारेख तोकि पाएको देखिन आउँछ । २०५०।३।२७ का दिन यिनै पुनरावेदक वा. समेत गोवर्धन गुरुङले अंश लिखत दर्ता बदर मुद्दाको पुनरावेदन दर्ता गरी २०५०।५।२७ गतेको तारेख तोकि पाएको सो २०५०।५।२७ को तारेखमा हाजिर हुन जाँदा उक्त मुद्दामा २०५०।९।५ गते हाजिर हुन आउनु होला भनी तारेख तोकि पाएको समेत मिसिल संलग्न तारेख पर्चाबाट देखिन्छ । यसरी पुनरावेदकले प्रस्तुत मुद्दामा तारेख गुजारी बसेको भनेको दिनमा समेत अंश र लिखत दर्ता बदर मुद्दाको तारेखमा हाजिर भै २०५०।५।२७ का दिनको अर्को तारेख तोकि पाएको रहेछ । यसरी यी पुनरावेदकलाई तोकिएको तारेखमा हाजिर हुन जाँदा पुनः २०५०।९।५ को तारेख तोकि पाएको देखिए पछि उक्त गुजारी बसेको भनेको २०५०।३।२७ का दिन समेत यी पुनरावेदक अदालतमा हाजिर भएको देखिने र निजले अदालतमा प्राप्त गरेको प्रस्तुत मुद्दाको तारेख भरपाईमा २०५०।३।२७ बाट २०५०।९।५ गते मात्र तारेख तोकि पाएको देखिन आएको अवस्थामा निजले प्रस्तुत मुद्दामा २०५०।३।२७ गतेको तारेख गुजारेको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १३)

अदालतबाट आफुले पाएको पर्चामा तोकि पाएको तारेखका दिन उपस्थित हुन गएको अवस्था समेत देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदकले २०५०।३।२७ को तारेख गुजारी बसेको भनी गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।९ को डिसमिस फैसला मिलेको नदेखिने ।

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कुमार कार्की

प्रत्यर्थी वादी तर्फबाटः ×

अवलम्बित नजीरः×

फैसला

न्या. केशव प्रसाद उपाध्याय- पुनरावेदन अदालत पाटनबाट २०५०।८।९ मा प्रस्तुत मुद्दा डिसमिस फैसला हुने ठहर्‍याई भएको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः-

. चन्द्र विरका तीन भाई छोरा कृष्ण बहादुर गुरुङ, गोवर्धन गुरुङ र  रामशरण गुरुङ । अविवाहित भाई रामशरण गुरुङ १९९५ मा मृत्यु भएको, आमा सरस्वती गुरुङ २०२७ सालमा स्वर्गीय हुनु भएको र कृष्णबहादुर २०४४।१।१० मा स्वर्गीय हुनु भएको र च्यान्टी गुरुङ २००५ सालमा मृत्यु भएको तीन भाई मध्ये अंशियार खडा जिवित म फिरादी शोभा गुरुङ र मेरो श्रीमान  गोबर्धन मात्र हो । विपक्षीहरु जवान तीन मिली विपक्षी प्रकाश गुरुङलाई कृष्णबहादुर गुरुङ र च्याण्टी गुरुङको नक्कली छोरा बनाई मेरो सम्पत्ति हडप्ने प्रयास गरी कीर्ते नागरिकता बनाई का.जि.. मा अंश मुद्दा दिनु भएको छ । यसरी विपक्षीहरु मिली अर्कको हक मेट्ने कार्य भएकोले निजहरुले बनाएको नागरिकता जालसाजी भएकोले निजले लिएको नागरिकता बदर गरी पाऊँ । निजको आमा च्याण्टी गुरुङ २००५ सालमा नै मृत्यु भएको तर प्रकाश गुरुङले कसरी २०४४।१।१० गते मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्र लिनु भएको छ । निजको कुनै जायजन्म भएको छैन । यस्तो जालसाजी कार्यबाट फुर्सद अलग गरी पाउँ र निजले लिएको नागरिकताको प्रमाण पत्र र मृत्यु दर्ता प्रमाणपत्र बदर गरी पाउँ भन्ने मुख्य फिराद दावी रहेछ ।

.प्रकाश गुरुङलाई नक्कली छोरा बनाई कती मितिमा कुन कार्यालयबाट नम्बरको नागरिकता लिई दियौं  सो उल्लेख नगरी नाता कायम मुद्दामा प्रकाश गुरुङको तर्फबाट साक्षी बकी दियो भन्ने रिसइवीको आधारमा हामीलाई प्रतिवादी बनाएकोले वादीलाई नै सजाय गरी फिराद खारेज गरिपाऊँ । जालसाजी र कीर्ते भन्नलाई प्रमाण पुर्‍याउनु पर्छ । प्रमाण ऐनको दफा २५ ले वादी दावी प्रमाणित गर्ने भार वादीमा हुने प्रष्ट व्यवस्था गरी दिएको छ । वादीको कथन अनुसार नागरिकता कीर्ते हो भन्न कीर्ते कागजको १ नं. अनुसार कुन कार्य भयो सो भन्न नसक्नुको साथै कीर्ते कागजको ४ नं. १५ नं. र १६ नंसमेतको कुन व्यहोरा के भयो सो समेत भन्न सक्नु भएको छैन । एकछिनको लागि कीर्ते माने पनि नागरिकता कीर्ते मुद्दा सरकार वादी भई चलाउनु पर्छ  । व्यक्तिले र कीर्ते कागजको महल अनुसार मुद्दा चलाउन नमिल्ने हुँदा फिराद खारेज हुनु पर्दछ भन्ने प्रतिवादी सुर्य प्रसाद सापकोटा र अच्युत प्रसाद सापकोटाको प्रतिउत्तर जिकिर ।

. मैले २०४४।७।२६ मा नागरिकताको प्रमाणपत्र लिएको र २०४४।५।१८ मा नाता प्रमाणित प्रमाणपत्र लिएको छु ।  २०४७।९।१२ गते जालसाजी छ बदर गरी पाउँ भनी दावा गर्ने कीर्ते कागजको १८ नं. ले व्यवस्था भए गरेको मितिले २ वर्ष भित्र नपरेको हुँदा हदम्याद भित्र प्रस्तुत फिराद दर्ता नभएकोबाटै फिराद खारेज भागी छ । वादीले का.गु..का.मा २०४४।८।१० र २०४४।१०।२३ मा बयान गर्दा प्रकाश गुरुङ, कृष्णबहादुर गुरुङको छोरा हो वा होइन थाहा छैन भनेको र च्याण्टी गुरुङ २००५ सालमा मरेको भन्ने ठोस प्रमाण केही छैन भनी बयान गरेको समेतबाट च्याण्टी गुरुङ २००५ सालमा मरेको होइन भन्ने र म प्रकाश गुरुङ, च्यान्टी गुरुङ र कृष्ण गुरुङको छोरा हो भन्ने वास्तविक तथ्य प्रष्ट प्रमाणित भएकोमा यो जालसाजी र कीर्तेको फिराद पत्र लाग्न सक्ने होइन । तसर्थ म च्याण्टी गुरुङ र कृष्ण बहादुर गुरुङको छोरा भएको कारण समेतबाट फिराद खारेज गरी वादीलाई सजाय गरी न्याय पाउँ भन्ने प्रतिवादी प्रकाश गुरुङको प्रतिउत्तर जिकिर ।

. च्याण्टी गुरुङ टि.बी. रोग लागि २००५ सालमा मृत्यु भएको, उनीबाट कुनै सन्तान जायजन्म भएको छैन । प्रकाश गुरुङ, कृष्ण बहादुरको छोरा भन्ने मलाई थाहा छैन । च्यान्टी गुरुङबाट कुनै जायजन्म नभएकोमा केही व्यक्ति म च्याण्टीको छोरा भन्दछ भने जालसाज नहुने कुरै भएन । उहाँ च्याण्टीको छोरा भनेर आएको हुँदा कृष्ण बहादुरको छोरा हो भनेर म यकिन गर्न सक्दिन भनी वादीका साक्षी श्याम प्रसाद उपाध्यायले गरेको बकपत्र ।

. च्याण्टी गुरुङ प्रकाशको आमा हो । उहाँको दाजु भाई दिदी बहिनी कोही छैन । प्रकाशको पालन पोषण उहाँको आफ्नै पिता कृष्ण बहादुरले गरेको हो । प्रकाश कहिले मामा घरमा र कहिले घरमा बसी आएको छ भनी प्रतिवादीका साक्षी माधव कार्कीले गरेको बकपत्र ।

. कानून बमोजिम प्रक्रिया अवलम्बन गरी अधिकार प्राप्त अधिकारीबाट प्रतिवादी प्रकाश गुरुङले प्राप्त गरेको नेपाली नागरिकताबाट वादीको कुनै पनि हक अधिकारमा असर पारेको नदेखिएको तथा नागरिकता प्राप्त गर्दा कुनै झुठ्ठा व्यहोरा लेखाएको समेत नदेखिएको र वादीले दावी गरे बमोजिम २०४४।१।१० मा प्रतिवादीले च्याण्टी गुरुङको मृत्यु दर्ता प्रमाणपत्र लिएको समेत नदेखिएबाट जालसाजी तरिकाले प्रतिवादीले नागरिकता र मृत्यु दर्ता प्रमाणपत्र लियो भन्ने वादी दावी पुग्न सक्दैन भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०४९।१२।११ को फैसला ।

. उक्त फैसलामा चित्त बुझेन । सो फैसला उल्टाई वादी दावी बमोजिम गरी पाउँ भनी वादी तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

. प्रस्तुत मुद्दामा पु.वे.वा.. गोवर्धन गुरुङले मिति २०५०।३।२७ को तारेख गुजारी बसेको प्रमाणित भै आएको र अ.बं. ५९ नं. बमोजिम थाम्ने थमाउने म्याद समेत बाँकी देखिँदैन । प्रस्तुत पुनरावेदन अ.बं. १७९ नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।९ को फैसला ।

 १०. विपक्षीसँग प्रस्तुत जालसाजी मुद्दा समेतका का.जि.. को फैसला उपर पुनरावेदन गरी तारेखमा बसी आएका थियौं । ती मुद्दामा डिसमिस फैसला भएको बारे नाता कायम मुद्दामा विस्तृत लेखिएकोले सो मुद्दाको पुनरावेदनलाई यो पुनरावेदन अंग मानी बिचार गरियोस् । सोही आधारमा २०५०।३।२७ को मितिमा तारेख गुजारेको भनी गरिएको २०५०।८।९ को वेरितको डिसमिस फैसला बदर गरी पुनरावेदन अदालतमा दिएको पुनरावेदन कानून बमोजिम निर्णय गर्नु भनी फैसला गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।

११. यसमा पुनरावेदकले पेश गरेको तारेख पर्चाको फोटोकपि हेर्दा मिति २०५०।३।२७ बाट मिति २०५०।९।५ को तारेख तोकिएको र पुनरावेदन अदालत पाटनको मिसिल संलग्न तारेख भरपाई हेर्दा मिति २०५०।३।२७ को तारेख पुनरावेदकले गुजारेको भन्ने उल्लेख गरी तारेख भरपाई प्रमाणित गरेको देखिन्छ । यसरी तारेख भरपाईमा र पक्षले लिएको तारेख पर्चामा तारेखको मितिमा भिन्नता पाईएकोमा २०५०।८।९ मा पुनरावेदन अदालत पाटनबाट डिसमिस फैसला भएकोमा उक्त फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५१।९।२६ को आदेश ।

१२. नियम बमोजिम पेश भएकोमा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कुमार कार्कीले पुनरावेदन अदालतबाट उपस्थित मेरो पक्षलाई एउटा तारेख तोकि तारेख पर्चा दिएकोमा तोकिएको  तारेखमा उपस्थित हुन जाँदा मिसिलमा अर्कै तारेख तोकिएको व्यहोराबाट मुद्दा डिसमिस गराईयो । मेरो पक्षका उक्त अदालतको सोही फाँटमा रहेका अन्य मुद्दाहरुमा तारेख लिन उपस्थित भएको दिनमा नै यस मुद्दाको तारेख गुजारेको भनिएको छ । सोही फाँटमा अन्य मुद्दामा तारेख र प्रस्तुत मुद्दाको पनि सोही दिन तारेख भएको भए उपस्थित नजनाउने कारण छैन । मेरो पक्षलाई दिएको तारेख पर्चामा तोकिदै नतोकिएको तारेख गुजार्ने प्रश्नै आउँदैन भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

१३. यसमा निर्णय तर्फ विचार गर्दा, मिसिल संलग्न तारेख भरपाईबाट २०५०।१।२२।३ मा पुनरावेदन दर्ता गर्दा २०५०।३।२७ गते हाजिर हुन आउनु  भनी पुनरावेदकलाई तारेख तोकिएको देखिन्छ । निजले पाएको तारेख पर्चामा मिति २०५०।३।२७ मा हाजिर भै सो मितिबाट २०५०।९।५ गतेको तारेख तोकि पाएको देखिन आउँछ । २०५०।३।२७ का दिन यिनै पुनरावेदक वा. समेत गोवर्धन गुरुङले अंश लिखत दर्ता बदर मुद्दाको पुनरावेदन दर्ता गरी २०५०।५।२७  गतेको तारेख तोकि पाएको सो २०५०।५।२७ को तारेखमा हाजिर हुन जाँदा उक्त मुद्दामा २०५०।९।५ गते हाजिर हुन आउनु होला भनी तारेख तोकि पाएको समेत मिसिल संलग्न तारेख पर्चाबाट देखिन्छ ।  यसरी पुनरावेदकले प्रस्तुत मुद्दामा तारेख गुजारी बसेको भनेको दिनमा समेत अंश र लिखत दर्ता बदर मुद्दाको तारेखमा हाजिर भै २०५०।५।२७ का दिनको अर्को तारेख तोकि पाएको रहेछ । यसरी पुनरावेदकलाई तोकिएको तारेखमा हाजिर हुन जाँदा पुनः २०५०।९।५ को तारेख तोकि पाएको देखिए पछि उक्त गुजारी बसेको भनेको २०५०।३।२७ का दिन समेत यी पुनरावेदन अदालतमा हाजिर भएको देखिने र निजले अदालतबाट प्राप्त गरेको प्रस्तुत मुद्दाको तारेख भरपाईमा २०५०।३।२७ बाट २०५०।९।५ गते मात्र तारेख तोकि पाएको देखिन आएको अवस्थामा निजले प्रस्तुत मुद्दामा २०५०।३।२७ गतेको तारेख गुजारेको भन्न मिल्ने अवस्था देखिएन ।  अदालतबाट आफुले पाएको तारेख पर्चामा तोकि पाएको तारेखका दिन उपस्थित हुन गएको अवस्था समेत देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदकले २०५०।३।२७ को तारेख गुजारी बसेको भनी गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।९ को डिसमिस फैसला मिलेको नदेखिई वेरितको हुँदा बदर गरी दिएको छ । अब प्रचलित कानून बमोजिम निर्णय गरी दिनु भनी उपस्थित पक्षलाई तारेख तोकि मिसिल पुनरावेदन अदालत पाटनमा पठाई दिनु । रेकर्ड मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हरिशचन्द्र प्रसाद उपाध्याय

इति सम्बत् २०५३ साल वैशाख १२ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु