शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५०३ - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: असार अंक:

निर्णय नं. ४५०३     ने.का.प. २०४९ ()   अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४७ सालको फौ.पु.नं. २९३

फैसला भएको मिति : २०४९।२।२८।४ मा

पुनरावेदक/वादी: अर्जुन वादीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: दाङ परनधारा गा.वि.स. वार्ड नं. ९ कपूरेनी डेरा गरी बस्ने सज्जन वादी

मुद्दा : कर्तव्य ज्यान

(१)    मार्नेसम्मको इवी अदावतले चोट छाडेको भए मृतकको टाउको वा शरीरमा अनेकौं त्यस किसिमको चोट आघात छाडेको देखिनु पर्ने, सो समेत नदेखिएकोले बाबु छोरा बीच भनाभन भई मौकामा उठेको रिस आवेशबाट सोही ठाउँ भेटिएको सजीवनको लठ्ठी जस्तो जोखिम रहित सामान्य कुटपिटमा प्रयोग हुने लाठा ढुंगा प्रकृतिको (दाउरा) लठ्ठी प्रयोग गर्दा बुढो उमेरको बाबुलाई टाउको जस्तो मर्मस्थानमा चोट लागी सोही आघातबाट निजको मृत्यु भएको देखिएकोले ज्यान सम्बन्धीको १४ नं. मा वर्णित अवस्था मिल्दो कसूर देखिने ।

(प्रकरण नं. २१)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ

फैसला

न्या.केदारनाथ उपाध्याय

१.    म.प.क्षे.अ. को मिति २०४७।५।१२।३ को फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    २०४५ साल फाल्गुण २५ गतेका दिन सम्म अं. ७ बजेको समयमा मेरो डेरामा आई माछा मार्न गएको मौका पारी सज्जन वादीले वालकृष्ण वादीलाई सम्पत्तिको कारणबाट दाउराले हानी मारेकोले अपराधी सज्जन वादीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महल अन्तर्गत कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने २०४५।११।२६ को जाहेरी दर्खास्त ।

३.    घाटीको भाग सुनिएको, बायाँ छाती माथि खोस्रिएको, दाग देखा परेको भन्ने लाश जाँच प्रकृति मुचुल्का ।

४.    सम्पत्ति सम्बन्धमा आमासंग झगडा हुँदा बाबुले मलाई हानें सोही रिसको आवेगमा मैले एकपटक हातले र पछि साजको लठ्ठीले टाउको र घाँटीमा हान्दा बाबुको मृत्यु भएको हो भन्ने समेत सज्जन वादीको प्रहरीमा भएको बयान ।

५.    प्रतिवादी सज्जन वादीलाई मुलुकी ऐ. ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ अनुसार सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

६.    २०४५।११।२५ गतेका साँझ ७ बजेको समय हुँदो हो मैले बहिनीसंग भात मागी खाएँ बाबु केही समय पछि आई रक्सी र भात खाई फेरि घरबाट निस्की गएका हुन आधा घण्टा पछि फिर्ता भई आमालाई दाउराले ३/४ पटक हाने किन यसरी आमालाई हान्नु हुन्छ भनी भन्दा बुबाले मलाई एकपटक दाउराले हानेकाले मलाई रिस उठी सोही दाउराले एकपटक टाउकोमा र हातले गालामा हानेको सोही चोटबाट बाबुको मृत्यु भएको भन्ने सज्जन वादीले दाङ देउखुरी जिल्ला अदालतमा गरेको बयान ।

७.    पहिले देखि नै बाबुसंग धन सम्पत्तिको बारेमा झै झगडा भई रहँदा एक पटक न एकपटक नमारी छाड्दिन भनी भनेको थियो धनको बारेमा झगडा भएर मारेको भन्ने सुनेको हुँ, प्रतिवादी बाहेक अरु कसैले बाबुलाई मारेको होइन भन्ने अर्जुन वादीले जि.अ. मा गरेको बकपत्र ।

८.    रिस थाम्न नसकी हान्दा सोही चोटले ज्यान मरेकोले ज्यान सम्बन्धीको १४ नं. अनुसार प्र. सज्जन वादीलाई १० वर्ष कैद हुने ठहर्छ भन्ने दाङ देउखुरी जिल्ला अदालतको मिति ०४६।७।२७ को फैसला ।

९.    ज्यान सम्बन्धीको १४ नं. अनुसार कम सजाय गरेको दाङ देउखुरी जिल्ला अदालतको फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार सजाय गरी पाउँ भन्ने श्री ५ को सरकारको तर्फबाट राप्ती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

१०.   सम्पत्तिको सम्बन्धमा बेला बखत वादविवाद भई रहने र सो विवादको आवेसमा आई रिस थाम्न नसकी लाठीले टाउको र घाँटीमा हानेको भन्ने कुरा मिसिल प्रमाणबाट पुष्टी भइरहेको देखिएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु इन्साफ मनासिब ठहर्छ भन्ने राप्ती अञ्चल अदालतको २०४७।२।३ को फैसला ।

११.   शुरु जि.अ. को इन्साफ मनासिब ठहर्‍याएको राप्ती अञ्चल अदालतको निर्णय बदर गरी माग दावी बमोजिम गरिपाउँ भन्ने श्री ५ को सरकारको म.प.क्षे.अ. मा परेको पुनरावेदन ।

१२.   मिसिल संलग्न लास जाँच प्रतिवेदनबाट दाउरा जस्तो भुत्ते हतियारको हिर्काइबाट टाउकोमा पर्न गएको चोटबाट मृत्यु भएको भन्ने उल्लेख भएबाट प्रतिवादीले कुनै जोखिमी हतियारले हानेको भन्ने पनि देखिएन । पहिले देखि नै सम्पत्तिका कुरामा बाबुसंग झगडा गर्ने र नमारी छाड्दिन भन्ने गरेकोले मार्ने मनसाय इविले नै मारेको देखिन्छ भन्ने विद्वान क्षेत्रीय न्यायाधिवक्ताको बहस जिकिर भएकोमा अघि झगडा हुने गरेको र नमारी छोड्दिन भनेको हुँदैमा घरमा यस्तो झगडा हेर्नु गर्नु र आवेशमा त्यस्तो बोल्नु पनि कुनै असामान्य कुरा होइन र यसबाट मात्र मारी हाल्ने मनसाय र इवि लिएको रहेछ भन्ने पुष्टि हुन सक्दैन । यसर्थ सो बहस जिकिर संग यो बेञ्च सहमत हुन सकेन । अतः प्रतिवादीलाई प्रतिवेदन दावी अनुसार ज्या.सं. को १३(३) नं. अनुसार कसूरदार नठर्‍याएको शुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ सदर गरेको राप्ती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.प.क्षे.अ. को २०४७ भाद्र १२ गतेको फैसला ।

१३.   प्रतिवादीलाई मु.ऐ.ज्या.सं. को १३(३) बमोजिम सजायँ हुनु पर्नेमा १४ नं. अनुसारको कसूरदार ठहर्‍याई सजायँ गर्ने गरेको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको म.प.क्षे.अ. को इन्साफ त्रुटिपूर्ण हुँदा चित्त बुझेन । अतः विपक्षी प्रतिवादीलाई झिकाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकारको यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

१४.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठले प्रतिवादी सज्जन वादीलाई मु.ऐ.ज्या.सं. को १३(३) नं. बमोजिम सजायँ गरिपाउँ भनी प्रहरी प्रतिवेदन माग दावी भएकोमा ज्या.सं. को १४ नं. लगाई १० वर्ष मात्र कैद हुने ठहर गरेको दाङ जि.अ. तथा राप्ती अञ्चल अदालतको इन्साफलाई सदर गरेको म.प.क्षे.अ. को इन्साफ मिलेको छैन । प्रतिवादीकै चोटबाट मृतक वालकृष्णको मृत्यु भएको कुरामा अदालतमा समेत सावित देखिएकै छ । मृतक र प्रतिवादी बीच सम्पत्ति सम्बन्धमा पुरानो रिसइवी भएको भन्ने कुरा जाहेरवालाको बकपत्रबाट देखिन्छ र सो कुरा प्रतिवादी स्वयंले पनि स्वीकार गरेको छ । पटक पटक दाउराले हानी मारेको देखिएबाट समेत प्रतिवादीलाई ज्या.सं. को १४ नं. बमोजिम सजायँ नभई ज्यान सम्बन्धीको १३(३) बमोजिम नै सजाय हुनु पर्ने हुँदा झगडिया झिकाउन आदेश हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनियो ।

१५.   प्रस्तुत मुद्दामा प्रतिवादीलाई ज्या.सं. को १४ नं. बमोजिम १० वर्ष कैद सजायँ हुने गरी गरेका म.क्षे.अ. को इन्साफको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१६.   यस्मा प्रस्तुत मुद्दामा सम्पत्ति सम्बन्धित विवाद उठेको नभई पहिले देखिकै रिसइवीको अवस्था सृजना भएको देखिन्छ र प्रतिवादी सज्जन वादीले आफ्नो बाबुलाई ५ पटक हानेर बल्ल मारें भनी ज्ञानकुमारीले सुने भनी लेखिदिएकोले र टाउको जस्तो मर्मस्थानमा हानेकोले प्रतिवादी सज्जन वादीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम ज्या.सं. को १३(३) अनुसार सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदनको मूल जिकिर देखिन्छ ।

१७.   मौकाको मिति २०४५।११।२६ को शुरु जाहेरी दर्खास्त हेर्दा जाहेरवाला अर्जुन वादीले यो प्रतिवादी सज्जन वादीको मृतक आफ्नो बाबु वालकृष्ण वादीसंग अघिदेखि रिसइवी थियो र आफ्नो बाबुलाई मार्ने मनसायले दाउराले हानेको भनी लेखिदिन सकेको पाइदैन ।

१८.   प्रतिवादी सज्जन वादीको मौकामा भएको प्रहरी कागज हेर्दा सो कागजबाट समेत निज प्रतिवादीको मर्ने बाबु बालकृष्ण वादीसंग अघि देखि रिसइवी भएको नदेखिई झगडाको सिलसिलामा रिसको आवेशमा लठ्ठीले टाउको घाँटीमा हानेको पाइन्छ । प्रतिवादी सज्जन वादीको अदालतमा भएको बयानबाट पनि आमाको कुरालाई लिएर विवाद हुँदा बाबुलाई झनक्क रिस उठी दाउराले टाउकोमा एकपटक हानेको पाइन्छ ।

१९.   मृतक वालकृष्णकी पत्नी रामकुमारीको अदालतको बकपत्र हेर्दा निजले तत्काल उठेको रिसले मेरो लोग्नेलाई मारेको होइन । पुरानो रिसइवीले मारेको हो प्रतिवादीले लोग्नेलाई पाँच पटक हानेर बल्ल आज मारे भनी ज्ञानकुमारीले भन्दा सुनेको हुँ भनी लेखी दिए पनि निजले सुनेको कुरा लेखी दिएको पाइन्छ । वारदात हुँदाको अवस्था निज गाउँतिर रहेकी निजको बकाइबाट देखिँदा निजले सुनेको कुरा बकी लेखी दिएको लिई भर गर्ने स्थिति भएन ।

२०.   वारदात हुँदाको अवस्था प्र.सज्जन वादीको दिदी राजुबदेनी सो ठाउँमा रहेकी र भात खाई रहेको अवस्थामा देखिन्छ । चस्मदिद राजुवदेनीले बाबुले गाली गर्दा प्रतिवादी एकाएक उठी बाबुलाई दाउराले हान्दा बाबु मरेको देखेको हुँ । दाउराले पिठ्यूमा तीनपटक र टाउकोमा एकपटक हानेको भनी बकी लेखी दिएको पाइन्छ र निजको बकाईबाट अघिदेखिको रिसइवी भएको भन्ने समेत देखिन्न । बाबुलाई मार्ने पूर्व योजना थियो भन्ने लेखाई पनि छैन ।

२१.   श्री ५ को सरकारको पुनरावेदन जिकिर र विद्वान सरकारी वकीलको बहसमा प्रतिवादी र निजका बाबु बीच धनसम्पत्तिको भाग बण्डा सम्बन्धी रिसइवीबाट प्रतिवादीले आफ्नो बाबुलाई मारेको हो भन्ने कुरामा विशेष महत्व दिएको देखिन्छ । धन सम्पत्तिको भाग बण्डामा चित्त नबुझेको कारणले आफ्नो जन्मदाता बाबुलाई कसैले मार्ने सम्मको रिसइवी लिन्छ भन्ने कुरा सामान्यतः अनुमान गर्न हुने कुरा नभएको र यस परिप्रेक्ष्यमा यस वारदातलाई विचार गर्दा प्रतिवादीले निजको बाबुलाई मार्ने मनसाय लिई वारदातस्थलमा आएको भए निज खाली हात आउनु पर्ने अवस्था थिएन । घटना वारदात सम्बन्धी समुचित तथ्य र त्यसलाई पुष्टि गर्ने प्रमाणले प्र.सज्जन वादी केही समय देखि घरबाट बाहिर भारत बसी आएको र त्यहाँबाट फर्केपछि बाबुसंग पटक पटक धन सम्पत्तिको भाग बण्डा माग्ने गरेको भन्ने देखिन्छ । वारदातको दिन पनि सोही प्रसंगमा भनाभन भई तत्काल उठेको रीसको आवेसमा वारदातस्थलमै भेटिएको सजिउनको लठ्ठी जस्तो सामान्य चिज वस्तु प्रयोग गरेको पाइन्छ, विद्वान सरकारी वकीलले तर्क प्रस्तुत गर्नु भए जस्तो मार्ने नै अभिप्रायले बाबु भए ठाउँमा गएका भए प्रथमतः निज प्रतिवादीले कुनै हतियार लिएर आएको हुनु पर्ने, दोश्रो त्यस्तो हतियार ज्यान लिने प्रकृतिको जोखिमी हुनु पर्ने सो रहे भएको देखिँदैन । साथै लास जाँच मुचुल्का एवं सव परीक्षण प्रतिवेदनबाट पुनरावेदनमा जिकिर लिए जस्तो पटक पटक चोट छाडेको भन्ने पनि नदेखिएको र टाउकोमा एउटा मात्र चोट लागेको त्यसै चोटको कारणले मृत्यु भएको भन्ने डाक्टरले गरेको राय समेतबाट पुष्ट्याई हुन आउँछ । मार्ने सम्मको इवी अदावतले चोट छाडेको भए मृतकको टाउको वा शरीरमा अनेकौं त्यस किसिमको चोट आघात छाडेको देखिनु पर्ने, सो समेत नदेखिएकोले बाबु छोराको बीच भनाभन भई मौकामा उठेको रीस आवेसबाट सोही ठाउँ भेटिएको सजिवनको लठ्ठी जस्तो जोखिम रहित सामान्य कुटपीटमा प्रयोग हुने लाठ्ठी ढुंगा प्रकृतिको (दाउरा) लठ्ठी प्रयोग गर्दा बुढो उमेको बाबुलाई त्यस्मा पनि टाउको जस्तो मर्मस्थानमा चोट लागी सोही आघातबाट निजको मृत्यु भएको देखिएकोले ज्यान सम्बन्धीको १४ नं. मा वर्णित अवस्था मिल्दो कसूर देखियो । तसर्थ सोही १४ नम्बरको ऐन लगाई तद् अनुकूलको प्रतिवादीलाई कसूरदार ठहराई शुरु र अञ्चल अदालतको इन्साफ सदर गरी १० वर्ष कैद गर्ने गरेको म.प.क्षे. अ. को इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्छ । मिसिल संलग्न समुचित प्रमाण र वारदात सम्बन्धी तथ्यगत कुराहरुबाट ज्यान सम्बन्धीको १३(३) नं. मा वर्णित अवस्था र स्थिति मिल्दो कसूरदार ठहराउन मिल्ने कुनै अवस्था वा आधार नदेखिएकोले सर्वश्व सहित जन्मकैद हुनु पर्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् २०४९ साल जेष्ठ २८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु