निर्णय नं. ६१५८ - लिखत दर्ता बदर ।

निर्णय नं. ६१५८ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत २०५१ सालको दे.पु.नं. १८४५
फैसला मिति २०५२।९।१८।३
मुद्दाः लिखत दर्ता बदर ।
पुनरावेदक- जिल्ला सप्तरी गाउँ विकास समिति वसविटी वडा नं. ७ बस्ने बर्ष ३१ को उपेन्द्रलाल दास कथवनिया
प्रतिवादी
विरुद्ध
विपक्षी-
वादी ऐ. को चावखारी गाउँ विकास समिति वडा नं. ४ बस्ने मोहिया देवी दास कथवनिया
ऐ.ऐ. बस्ने सितम्बरलाल दास कथवनिया
लेनदेन व्यवहारको १० नं. ले आफूखुसी गर्न पाउने बाहेकको सम्पत्तिमा मात्र सगोलका अंशियारहरुको जति हक फिर्ता हुने, आफूखुसी गर्न पाउनेमा सगोलका अन्य अंशियारहरुको मञ्जुरी लिन नपर्ने व्यवस्था गरेको देखिन्छ । लेनदेन व्यवहारको १० नं. को व्याख्या गर्दा अंशवण्डाको १९ नं. को समग्र परिवेश वा सान्दर्भिकतालाई पन्छाएर व्याख्या गर्न मिल्ने नदेखिने
( प्र.नं. १५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दाश
विपक्षी वादी तर्फबाटः-×
अबलम्बित नजीर ×
फैसला
न्या. ओमभक्त श्रेष्ठ- पुनरावेदन अदालत राजविराजको मिति २०४९।५।२२ गतेको फैसला उपर प्रतिवादीको दोहोर्याई माग्ने निवेदनमा यस अदालत संयुक्त इजलासको मिति २०५१।३।१५ गतेको आदेशले दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. सितम्बर दासको २ छोरा जेठा बसन्त प्रसाद दास, कान्छा कुत नारायण दास र निज सितम्बरलाल दासको म वादी पत्नी हुँ । छोरा वसन्त प्रसाद समेतले सितम्बर लाल दास माथि मुद्दा दायर गरेकोमा छोराहरुले आ-आफ्नो अंश छुट्याई मिति २०४०।३।३० गते मिलापत्र गरेको मिसिल यस अदालतमा छ । हाल सितम्बर दास मेरो २ खण्डको १ खण्ड पाउने अंशियार हुन । विपक्षी सितम्बरलाल र म वादी सगोल मै रही बसी आएका थियौ । छोराहरुलाई छुट्याए पछि बाँकी रहेको सम्पत्ति लोग्नेकै नाममा रही आएको थियो । जग्गा जमिन बिक्री गर्नु पर्दा एकाघरका उमेर पुगेका व्यक्ति म भएकोमा मेरो समेत मञ्जुरी लिई जग्गाहरु बेचबिखन गर्नु पर्नेमा सो नगरी २०४१ साल वैशाखमा लोग्नेसँग झगडा भई म छोरा वसन्त प्रसादसँग बसी राखेकोमा मेरो हक मेट्नका लागि मेरो मञ्जुरी नै नगराई विपक्षीहरु मिलेमतो गरी मिति २०४१।२।२१ गतेमा राजिनामा लेखी लोग्ने सितम्बरलाल दासको नामको जिल्ला सप्तरी बसविटी गा.पं. वडा नं. ८ कि.नं. ११ को ०-५-१० र ऐ. दिधवा गा.पं. वडा नं. ९ को कि.नं. २६ को १-०-१२ मध्ये उत्तर पूर्व कुनाबाट ०-७-० समेत ०-१२-१० जग्गा मिति २०४१।२।२४ गते सप्तरी मालपोत कार्यालयबाट पारित गराएका रहेछन् । सो कुरा मलाई जानकारी थिएन, २०४१।१०।१२ गते मालपोत कार्यालयमा नक्कल लिँदा जानकारी हुन आयो । मेरो लोग्नेले मेरो समेत हक लाग्ने सगोलको जग्गा खरिद बिक्री गरेकोमा मेरो जति हक फिर्ता गराई माग्न कानूनको आधार लिई विपक्षीहरुले गराएको लिखत दर्ता बदर गरी माग्न लेनदेन व्यवहारको १० नं. बमोजिम थाहा पाएको ३५ दिन भित्र नालेश गरेको छु । विपक्षीको लिखत दर्ता बदर गरी मेरो नाममा दर्ता गरी चलन समेत पाउँ भन्ने समेत फिराद पत्र ।
३. वादीको फिराद लेख विलकुल बनावटी तथ्यहिन छ । शुद्ध व्यहोरा के हो भने मैले उपेन्द्रलाल दासलाई जग्गा बिक्री गर्ने कुरा बराबर भनी आएको थिए, त्यसमा विपक्षीलाई जिल्ला सप्तरी दिधवा गा.प. वडा नं. ९ कि.नं. २६ को १-०-१२ मध्ये उत्तर पूर्व कुनाबाट ०-७-० सातकठ्ठा मात्र जग्गा पारित गरेको थियो, तर वसविटी गा.पं. वडा नं. ८ कि.नं. ११ को ०-५-१० जग्गा बिक्री राजिनामा गरेको थिएन । निजबाट सक्कल राजिनामा झिकी बुझी अ.बं. ७८ नं. बमोजिम सनाखत गराई पाउँ भन्ने समेत प्रतिवादी सितम्बरलाल दासको प्रतिउत्तर पत्र ।
४. वादीलाई यो मुद्दा दिन हकदैया नभएको, किन भने वादीले अंश सावित गराई लिई सकेपछि म उपर यो फिराद पत्र दायर गर्नु पर्नेमा सो नगरी हकदैयाको अभाव भएको हुनाले अ.बं. ८२ नं. बमोजिम खारेज गरी पाउँ । मेरो दाता वादीको लोग्ने सितम्वरलाल दासले आफनो नाम दर्ताको सोमिया मसोमतानीसँग खरीद गरी आफ्ना नाममा दर्ता गराई लिएको जिल्ला सप्तरी गा.पं. वसविटि वडा नं. ८ को कि.नं. ११ को ०-५-१० दिधवा गा.पं. वडा नं. ९ को २६ को १-०-१२ मध्ये उत्तर पूर्व कुनाबाट ०-७-० समेत ०-१२-१० जग्गाको हक छाडी मिति २०४१।२।२१ गतेको राजिनामा लेखी छोरा वसन्तदास समेत साक्षी बसी मिति २०४१।२।२४ गतेको पारित गरी दिएको आफ्नो आर्जनको जग्गा लेनदेन व्यवहारको १० नं. बमोजिम आफ्नो खुस गर्न पाउँछ । त्यसमा कसैको मञ्जुरी लिन पर्दैन भनी कानूनी व्यवस्था भई राखेकोले मेरो दाता सितम्बरलाल दासले आफ्नो निजी आर्जनको जग्गा बिक्री गरेको हुनाले वादी दावी खारेज गरी पाउँ भन्ने समेत प्रतिवादी उपेन्द्रलाल दासको प्रतिउत्तर पत्र ।
५. मालपोत कार्यालय सप्तरीबाट मिति २०४१।२।२४ गतेमा पारित भएको र.नं. ५००७ को धनी उपेन्द्रलाल दास ऋणी सितम्बरलाल दास भएको रु. ९०००।– को लिखत देखाउँदा उल्लेखित ०-५-१० जग्गा मैले बिक्री गरेको होइन, पछाडिबाट थपिएको हो । मैले ०-७-० जग्गा मात्र बिक्री गरेको हुँ । कीर्ते गर्ने उपेन्द्रलाल दास र लेखक साक्षी जनार्दन प्रसाद चौधरीलाई सजाय गरी पाउँ भन्ने समेत प्रतिवादी सितम्वरलाल दासको वा. सत्यनारायण लाल दासको बयान ।
६. लिखतमा पछाडिबाट थपी किर्ते गरेको होइन मञ्जुरी लिखतमा सहिछाप गरेको हुँदा कीर्ते भन्ने सितम्बरलाई नै सजाय गरी पाउँ भन्ने प्रतिवादी वा. बौवालाल यादवको बयान ।
७. बयान सुने वादीको लोग्ने सितम्वरलालले कि.नं. ११ को ०-५-१० र कि.नं. २६ मध्येका ०-७-० समेत जग्गाको स्वेच्छाले हक छाडी राजिनामा लेखी छोरा वसन्त प्रसादलाई साक्षी बसाई पारित गरी दिएको हुँदा दावी बयान झुठ्ठा हो भन्ने समेत प्रतिवादी जनार्दन र उपेन्द्रको वा. बौबालाल यादवको बयान ।
८. अचलमा आधि सम्म आफूखुस गर्न पाउने नै हुँदा लिखत दर्ता बदर समेतमा वादी दावी पुग्न सक्ने ठहर्दैन भन्ने समेतको शुरु जिल्ला अदालतको फैसला ।
९. सप्तरी जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेकोले सो फैसला बदर गरी पाउँ भन्ने समेतको वादी माहिया र प्रतिवादी सितम्बरको पुनरावेदन परेकोमा कि.नं. ११ को ०-५-१० जग्गाको राजिनामामा थप गरी वादी सितम्वर लाल दासको हक मेट्ने प्रयास गरेको हुँदा सो हदसम्म प्रतिवादी उपेन्द्र र लेखक प्रतिवादी जनार्दन प्रसाद चौधरीले कीर्ते गरेको र ०-७-० जग्गाको हकमा वादी दावी अनुसार लिखत बदर दर्ता भई वादीको नाममा दर्ता हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको सगरमाथा अंचल अदालत राजविराज बेन्चको मिति २०४५।५।२८ गतेको फैसला ।
१०. उक्त फैसलामा चित्त नबुझेकोले बदर वातिल गरी मेरो राजिनामा बमोजिमको जग्गा सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी उपेन्द्रलाल दासको पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटामा परेको पुनरावेदनमा वादी प्रतिवादी बीच मुख नमिलेको एक अर्काको लिखत प्रमाण अर्को पक्षलाई सनाखत गराई अ.बं. ७८ नं. को कारवाही गर्नु पर्नेमा प्रतिवादीहरु बीच सम्ममा लिखत सनाखत गराई प्रतिवादीहरु बीच वादी प्रतिवादी कायम गरी कीर्ते दावी तर्फ फिराद दावीमा निहित नभई निर्णय गरेको अ.बं. ७८ नं. को कार्यविधि त्रुटि देखिएको र विवादित लिखतको जग्गा जुन जग्गामा आधी भन्दा कमै बिक्री गरेको समेत देखिएकोमा दावी बमोजिम आधी लिखत दर्ता बदर गरी वादीको कायम गर्ने गरेको समेत सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको फैसला फरक पर्ने देखिँदा विपक्षी प्रत्यर्थी र प्रतिवादी सितम्बरलाल दास समेतलाई अ.बं. २०२ नं. बमोजिम झिकाई पेश गर्नु भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत संयुक्त इजलासको मिति २०४६।५।२८ गतेको आदेश ।
११. न्याय प्रशासन ऐन, २०४८ को प्रादुर्भाव पश्चात क्षेत्राधिकारको आधारमा प्रस्तुत गर्दा प्रस्तुत मुद्दा पुनरावेदन अदालत राजविराजमा सरी गएकोमा ०-५-१० जग्गा प्रतिवादी उपेन्द्रलाल दास समेतका व्यक्तिले कीर्ते गरी थपी पारित गराएकोमा प्रमाणित हुँदा त्यस्तो सम्पत्तिमा वादी दावी निरर्थक रहने र प्रतिवादी सितम्बरले बिक्री गरेमा स्वीकार गरेको ०-७-० जग्गाको सम्बन्धमा वादी मोहिया प्रतिवादी सितम्वर सगोलको अंशियार देखिएको अवस्थामा ०-७-० जग्गाको सम्म आधा लिखत बदर हुने ठहर्याएको सगरमाथा अञ्चल अदालत, राजविराजको वेञ्चको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको मिति २०४९।५।२२ को फैसला ।
१२. पुनरावेदन अदालत, राजविराजको उक्त फैसला कानून त्रुटिपूर्ण हुँदा सो फैसला उपर दोहोर्याउने निस्सा पाउँ भन्ने समेतको प्रतिवादी उपेन्द्रलाल दासको यस सर्वोच्च अदालतमा परेको निवेदन पत्र ।
१३. प्रस्तुत मुद्दामा प्रतिवादी उपेन्द्रलाल दासले पेश गरेको कागज प्रतिवादी सितम्वरलाल दासलाई सुनाएको देखिँदा एउटा प्रतिवादीले पेश गरेको कागज अर्को प्रतिवादीलाई सुनाएको अ.बं. ७८ नं. विपरित देखिएकोले पुनरावेदन अदालत राजविराजको इन्साफमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) को त्रुटि विद्यमान भएको हुँदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासबाट मिति २०५१।३।१५ मा भएको आदेश ।
१४. नियम बमोजिम आजको पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी उपेन्द्रलाल दासको तर्फबाट विद्वान अधिवक्ता श्री कमल नारायण दासले लिखतका दुवै जग्गाहरु राजिनामा गरी हक छाडी दिएको कुरालाई वादी पक्षले स्वीकार गरेको अवस्थामा प्रतिवादीबाट पेश भएको लिखतहरु वादीलाई सुनाई रहनु पर्ने प्रयोजन रहेन । वादी दावी बमोजिम लिखत बदर हुने हो होइन त्यतिसम्म सीमित रही निरोपण हुनु पर्ने त्यसमा पनि अंशवण्डाको १९(१) नं. ले अचलमा आधा सम्म व्यवहार चलाउनलाई अंशियारहरुको मञ्जुरी लिन नपर्ने व्यवस्थालाई लेनदेन व्यवहारको १० नं. ले समेत आफूखुस गर्न पाउने बाहेक गरेको हुँदा मेरो पक्षले राजिनामा गरी लिएको कि.नं. ११ को लिखत किर्ते ठहर्याउँदै कि.नं. २६ को हकमा वादी दावी बमोजिम आधासम्म लिखत दर्ता बदर हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला नमिलेकोले बदर हुनु पर्छ भनी गर्नु भएको बहस जिकिर सुनियो । विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरको सन्दर्भमा पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
१५. निर्णय तर्फ विचार गर्दा यसमा वादी र प्रतिवादी सितम्वरलाल दास एकासगोलका अंशियार भएको कुरामा विवाद नभएपनि प्रतिवादी सितम्वरलाल दासले राजिनामाबाट बिक्री गरेको जग्गाको क्षेत्रफल निजको नाममा रहेको समुच्चा जग्गाको क्षेत्रफलको आधा भन्दा कम नै देखिएको सो को अतिरिक्त आफ्नो हकको अंश जति भने आफूखुसी गर्न पाउने अंश वण्डाको १९ नं. को देहाय ४ मा उल्लेख भएको देखिनाले सो जग्गाहरुको बिक्री सम्बन्धमा प्रतिवादी सितम्बरलाल दासले वादी मोहिया देवीको मञ्जुरी लिई रहनु पर्ने अवस्था विद्यमान रहेको पाईएन । लेनदेन व्यवहारको १० नं. आफूखुशी गर्न पाउने बाहेकको सम्पत्तिमा मात्र सगोलका अंशियारहरुको जति हक फिर्ता हुने, आफूखुसी गर्न पाउनेमा सगोलका अन्य अंशियारहरुको मञ्जुरी लिन नपर्ने व्यवस्था गरेको देखिन्छ । लेनदेन व्यवहारको १० नं. को व्याख्या गर्दा अंशवण्डाको १९ नं. को समग्र परिवेश वा सान्दर्भिकतालाई पन्छाएर व्याख्या गर्न मिल्ने देखिदैन । तसर्थ वादी दावी पुग्न नसक्ने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । वादी दावीको कि.नं. ११ को लिखतलाई अ.बं. ७८ नं. को गलत व्याख्या गर्दै किर्ते ठहर गरी कि.नं. २६ को लिखत र दर्ता आधा बदर हुने ठहराएको सगरमाथा अञ्चल अदालत राजविराजको वेञ्चको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको नहुँदा बदर भई उल्टी हुन्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी उपेन्द्रलाल दास के माथि इन्साफ खण्डमा लेखिए बमोजिम सगरमाथा अञ्चल अदालत राजविराज वेञ्चको मिति २०४५।५।२८ गतेको र सो लाई सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०४९।५।२२ को दुवै फैसलाहरु बदर भई उल्टी हुने ठहरेकोले उक्त फैसलाहरुले निज समेतलाई कीर्ते तर्फ गर्ने गरेको देहाय बमोजिम जरिवानाको लगत तथा अन्य लगतहरु कायम राख्नु पर्दैन, जरिवानाको हकमा असुल भई सकेको भए फिर्ता र नभए व्यहोरा जनाई अन्य सम्पूर्ण लगतहरु समेत कट्टा गरी दिनु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ. मा लगत दिनु ।
जरिवाना सगरमाथा अञ्चल अदालत राजविराज पुनरावेदन अदालत राजविराज
१. प्रतिवादी उपेन्द्रलाल दासके रु. १०००।- रु. १००।–
२. प्रतिवादी जनार्दन प्रसाद चौधरी के रु. १०००।- -
कोर्टफिः- प्रतिवादी उपेन्द्रलालबाट वादीलाई भराउने गरेको रु. ...............१७।२५ पैसा
दर्ता नामसारीः- वादी मोहिया देवी के जिल्ला सप्तरी दिधवा वडा नं. ९ कि.नं. २६ को ०-७-० जग्गाको आधामा दर्ता गरी दिने ।
रेकर्डः- जिल्ला न्यायाधीश दिपक कुमार कार्कीके इन्साफ उल्टीमा रेकर्ड राख्ने ।
ऐ.ऐ. को ऐ.ऐ. ठहरेकोले निजले सगरमाथा अंचल अदालत, राजविराज वेञ्चका फैसला उपर तत्कालिन पुर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा सोही अञ्चल अदालतमा राखेको धरौटी रु. १७।२५ निजले फिर्ता माग्न आए कानूनको रित पुर्याई फिर्ता खर्च लेखी निजले सोही अदालतमा राखेको कोर्टफि रु. ४।५० दोहोर्याउने निस्सा पाई यस अदालतमा राखेको रु. ३।– मिति २०५१।४।२८ गतेमा यस अदालतका पत्रले का. जि.अ. त. मा पठाएको देखिँदा उक्त कोर्ट फि जम्मा ७।५० पैसा भराई पाउँ भनी निजको म्याद भित्र दरखास्त परेमा दस्तुर केही नलिई विपक्षी वादी मोहिया देवीबाट भराई दिनु भनी सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु ।
सरोकारवालाले नक्कल लिन चाहेमा नियमानुसार लाग्ने दस्तुर लिई नक्कल उपलब्ध गराई दिनु ......।
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ..........।
उक्त रायमा म सहमत छु ।
न्या. उदयराज उपाध्याय
इति सम्वत् २०५२ साल पौष १८ गते रोज ३ शुभम् ।