निर्णय नं. ४५१४ - कर्तव्य ज्यान

निर्णय नं. ४५१४ ने.का.प. २०४९ (क) अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
सम्वत् २०४८ सालको फौ.पु.नं. ३२०
फौ.सा.नं. ७६
फैसला भएको मिति : २०४९।३।२२।२ मा
पुनरावेदक/प्रतिवादी: कारागार शाखा बाग्लुड्डमा थुनामा रहेकी मनिमाया श्रीस
विरुद्ध
वादी: पूर्णबहादुरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) पति अनन्तकालसम्म बाहिर रहेको भन्ने कुरा मनिमायाको बयान समेतबाट खुल्न आएको, धनबहादुरसंग अनुचित सम्बन्ध कायम राखी गर्भ धारण गरी परिवार समाजको लोकोपवादको कारण जन्मिएको जातकलाई मनिमायाले मारेको भन्ने मनिमायाको भनाइमा अविश्वसनीयता नरहेको स्थिति अवस्थामा निजलाई सर्वश्वसहित जन्मकैदको सजायँ नै कायम गरिदिंदा सजायँको दृष्टिकोणबाट कठोर हुने हुँदा अ.बं. १८८ नं. अनुसार कैद वर्ष १० (दश) हुने ।
(प्रकरण नं. २६)
पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना, विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. प.क्षे.अ.को फैसला उपर प्रतिवादी तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यस प्रकार छ ।
२. मेरो भाइ नोकरीको लागि भारत गएको १०।१२ वर्ष भयो । प्रतिवादी मनिमाया भाइ बुहारी हुन् निजले धनबहादुर साहनी मगरसंग करणी लिनु दिनु गरी गर्भ धारण गरिछन् । आफूले यसरी अनैतिक तवरले गर्भ धारण गरी जातक जन्माएको कुरा मनिमायाले स्वीकार गरी सकेकीले गर्भ पतन वा के हो ? कानुन बमोजिम होस् भन्ने समेत व्यहोराको पूर्णबहादुर श्रीसको जाहेरी ।
३. जातक पुरुष जातिको भएको दुबै हात कम्मर सडेको, टाउको पूरा कपाल आइसकेको, गोडा र हातको औंलामा नङ नआएको, जातकको शरीरमा कुनै चोट नदेखिएको, जातक मास पूरा भई जन्मिएको भन्ने लाश प्रकृति मुचुल्का ।
४. ०४४ साल भाद्र महीनाको प्रथम हप्तातिर हो धनबहादुरसंग भेट भई हामी बीच करणी लिनु दिनु भएको थियो, त्यसबाट मलाई गर्भ रहेछ । ०४५ वैशाख १७ गते मास पूरा भयो र छोरा जातक जन्मियो । गाउँ समाजले थाहा पाउलान् भन्ने डरले जातकलाई मैले नै घाँटी थिची मारेको हुँ । जातक मर्नमा कसैको मत सल्लाह सहमति समेत छैन । लोग्ने विदेश गएका हुन् । १८ र १५ वर्षका दुई छोरा छन् । यो स्थितिमा गाउँले समाजले के भन्लान् भन्ने सामाजिक डरबाट जातकलाई मैले मारी दिएको हुँ भन्ने समेत व्यहोराको मनिमायाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
५. पुरुष जातीको बच्चाको घाँटी थिची मारेको मनिमायाले गर्भ धारण गरी मास पूरा भएपछि जातक जन्माएको भन्ने समेत बाग्लुड्ड अस्पतालबाट भएको लाश जाँच प्रतिवेदन सहितको शरीर परीक्षणपत्र ।
६. ०४४ भाद्र महीनाको प्रथम हप्तातिर हो, मनीमाया र म बीच राजीखुसीबाट करणी लिनु दिनु भएको थियो, त्यसबाट निजलाई गर्भ रहेछ मलाई थाहा भएन, निजसंग भेट पनि नभएकोले बच्चा मारेको मलाई थाहा भएन । मैले विवाह गरेको १२ वर्ष भई जायजन्म भएको थिएन, निज मनिमायाले मेरो करणी विर्यबाट गर्भ बोकेकी थाहा भएको भए मैले निजलाई भिœयाउने थिएँ, मेरो उक्त बच्चा जन्माई मार्नमा सरसल्लाह सहमत केही छैन भन्ने समेत अधिकार प्राप्त अधिकारी समक्ष धनबहादुर साहनी मगरले गरेको बयान ।
७. मनिमाया श्रीस मेरो सहोदर आमा हुन् मेरो बाबु भारत गएको १०, १२ वर्ष जति भयो घरमा आउनु भएको छैन । आमाले को कसको गर्भ बोकेकी थाहा छैन । निजले के कसरी बच्चा जन्माइन् र मारे नमारेको निज आमालाई नै थाहा होला मलाई केही थाहा छैन भन्ने समेत यामबहादुर श्रीसको कागज ।
८. २०४५।१।१७ गतेका दिन मनिमाया श्रीसले बच्चा जन्माई लुकाई राखेकी छिन् भन्ने हल्ला गरेकोले निजसंग सोधपुछ गर्दा धनबहादुर साहनीको गर्भ हो, सो गर्भबाट बच्चा जन्माई बाकसमा लुकाई राखेकी छु भनेकीले बाकस खोली हेर्दा मरेको छोरा जातक बच्चाको लाश देखेको हो, मृतक नवजातक पुरुष जातीकोे लाश मास महीना पुगी जन्मेको कारण निज मनिमाया श्रीसले जीउँदै जातक बच्चा जन्माई कर्तव्य गरी मारेकोमा शंका लाग्छ, धनबहादुर साहनी अन्य सहयोगी मतियार होलान् जस्तो लाग्दैन भन्ने समेतको सरजमीन मुचुल्का ।
९. मनिमाया श्रीसले लोग्ने घरमा नभएको अवस्था धनबहादुर साहनीको गर्भ बोकी जीउँदो मास पुगेको पुरुष जाती बच्चा पैदा गरी लोकलज्जाको कारण उक्त जातकलाई घाँटी थिची मारी बाकसमा लुकाई राखेको देखिन आएकोले निज मनिमाया श्रीस मगरले ज्यानसम्बन्धी महलको १ नं. को कसूर गरेको हुँदा निजलाई ऐ.को १३ (३) अनुसार सजायँको माग दावी लिइएको छ भन्ने समेत प्रहरी प्रतिवेदन ।
१०. प्रहरीमा गरेको बयान मैले भने बमोजिम लेखिएको ठिक हो प्रहरीले कुटपिट गर्ला भन्ने डरत्रासले त्यस्तो व्यहोरा लेखाई दिएकी हुँ । धनबहादुर साहनीसंग हामी दुबैको मन्जूरीले करणी लिनु दिनु गरी गर्भ रहन गएको कसैलाई भनिन । ०४५ वैशाख १७ गते मलाई बेथा लागी बेथाको पिडाले घरको सिरान तलामा गई घरको धुरी बलोमा घाँस बाँध्ने डोरीले बाँधी त्यसैमा हातले समाती झुण्डी उचालिने र पछारिने गरी रहेकी अवस्था डोरीमा झुण्डिएको बखत बच्चा पैदा भई जोडसंग पछारिन जाँदा काठको ठेका माथि परी ठेका समेत पल्टिई बच्चालाई दाहिने घाँटीमा थिचेछ, म अचेत अवस्थामा भई करीब १ घण्टा पछि होशमा आउँदा बच्चा मरी रहेको रहेछ, लोकलज्जाको कारण कोही कसैलाई नभनी बोरामा राखी आएकी हुँ । मैले मारेको होइन र अरु मद्दति मतियार समेत कोही छैनन् भन्ने समेत प्रतिवादी मनिमाया श्रीसले बाग्लुड्ड जिल्ला अदालतमा गरेको बयान ।
११. मनिमाया श्रीससंग मेरो करणी लिनु दिनु भई गर्भ रहेको रहेछ, मलाई थाहा थिएन, निजले गर्भ बोकेको कुरा र बच्चा जन्माएको कुरा चाल पाएको भए म निजलाई भिœयाउने थिएँ । के कसरी उक्त बच्चाको मृत्यु भयो मारे मराएको सम्बन्धमा मलाई केही थाहा छैन भन्ने समेत धनबहादुर साहनीको बकपत्र ।
१२. सबै जम्मा भएको समयमा मनिमायाले बाकसमा राखेको मृतक बच्चा देखेको हुँ, कसले मार्यो मलाई थाहा छैन भन्ने समेत सरजमीनका मानिस पदम बहादुर पुन, दिलकुमारी पुन, टेकबहादुर पुन, तिलिचना पुन, देवीप्रसाद पुन बच्चा आफैं मरेको हो भन्ने कृपासुर पुन, बच्चा मरेको अवस्थामा बाकसमा देखेको हुँ, मनिमायाले मारे नमारेको मलाई थाहा छैन भन्ने मनबहादुर पुन, बच्चा मरेको अवस्थामा देखेको र भएको कुरा नढाँटी बच्चा देखाई दिएकीले बच्चा केही हुन गई मरेको जस्तो लाग्छ, मनिमायाले कर्तव्य गरी मारेको जस्तो लाग्दैन भन्ने नरबहादुर घर्ती मगरको बकपत्र ।
१३. २०४५ वैशाख १८ गते म गोठबाट घर आउँदा मान्छे जम्मा भएको देखी सोद्धा मनिमायाले बच्चा जन्माएर बाकसमा राखिरहेकी रहिछन्, सो पुरुष जातक बच्चा मरेको अवस्था देखेको हुँ, कसले मारी राखेको थाहा छैन, गाउँ घरमा सोद्धा बच्चा बाकसमा थियो भन्दथे मारे नमारेको मलाई थाहा छैन भन्ने समेत जाहेरवाला पूर्णबहादुर श्रीसको बकपत्र ।
१४. आफ्नो लोग्ने घरमा नभएको अवस्थामा परपुरुषको गर्भ बोकी बच्चा पैदा गरेमा प्रतिवादी सावितै भएकीले केवल लोकलज्जाको कारणले बच्चालाई मारी दबाएको खण्डमा आफू पवित्र देखिन्छ भन्ने भावनाले जीउँदो बच्चालाई घाँटी थिची प्रतिवादी मनिमाया श्रीसले मारेको ठहर्नाले ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ, प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को सजायँ हुन जाने लागेकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदसम्म गर्नु समुचित देखी राय जाहेर गरेको छु भन्ने समेत बाग्लुड्ड जिल्ला अदालतको मिति ०४६।२।३।३ को फैसला ।
१५. सर्वश्वसहित जन्मकैद गर्ने गरेको शुरु बाग्लुड्ड जिल्ला अदालतको फैसला न्याय विवेक र औचित्य समेतको प्रतिकूल हुँदा सो बदर गरी सफाई पाउँ भन्ने समेत प्रतिवादी मनिमाया श्रीसले धवलागिरी अञ्चल अदालतमा चढाएको पुनरावेदनपत्र ।
१६. प्रतिवादीलाई दावी बमोजिम सजायँ हुने ठहर भएको देखिन आएको र उक्त ऐन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ चर्को हुने देखिई १० वर्ष मात्र सजायँ हुन समुचित हुने भनी शुरुबाट व्यक्त गरेको राय समेत मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत धवलागिरी अञ्चल अदालतको ०४६।१०।८।१ को फैसला ।
१७. धवलागिरी अञ्चल अदालतको कानुनी त्रुटिपूर्ण फैसला बदर गरी न्याय पाउँ भन्ने समेत प्रतिवादी मनिमाया श्रीसको प.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
१८. मृतक बालकको घाँटीमा लागेको निलो दागबाट एकातर्फ प्रतिवादीले घाँटी थिची मारेको सबूद देखिन्छ भने अर्कोतर्फ टाउको वा अन्य स्थानमा कुनै चोटको दागको अभावमा ठेकीमा बज्रन गई मरेको भन्ने प्रतिवादीको कथन ठोस आधारमा टिकेको मान्न नमिल्ने, मृतक बच्चालाई प्रतिवादीले मृत्यु उप्रान्त पनि बाकसमा लुकाई राखेको तथ्य सरजमीनका मानिसहरुको अदालतमा भएको बकपत्र समेतबाट खंभीर हुन आएकोले आफ्नो कसूरलाई दबाउने छपाउने नियत रहेनछ भन्न पनि नमिल्ने समेतको प्रमाण परिबन्दबाट आरोपित कसूरमा सजायँ गर्ने ठहराई अ.बं. १८८ नं. बमोजिम १० वर्ष मात्र कैद गर्ने राय समेत प्रकट गरेको बा.जि.अ. को इन्साफलाई सदर गरेको धवलागिरी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ. को २०४७।३।२५।२ को फैसला ।
१९. मलाई कैद वर्ष १० गर्ने गरेको प.क्षे.अ. को फैसला कानुनी त्रुटिपूर्ण हुँदा सफाई दिलाई पाउँ भन्ने समेत प्रतिवादी मनिमाया श्रीसको यस अदालतमा परेको पुनरावेदनपत्र ।
२०. यसरी नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक प्रतिवादी मनिमायाको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले धनबहादुरसंग करणी लिनु दिनु गरी मनिमायाले गर्भ धारण गरेको जन्मिएको नवजातकलाई निजैले कर्तव्य गरी मारेको भन्ने अभियोगमा ज्यानसम्बन्धी महलको १३(३) को सजायँको दावी लिइएको छ । मनिमायाको गर्भबाट जन्मेको जातक मृत अवस्थामा नै देखेको भन्ने स्वयं जाहेरवालाको भनाई छैन । जन्मिएको जातकलाई लोकोपवादको कारण मैले मारेको भन्ने कुरामा सम्म प्रतिवादी सावित छन् । यध्यापि जातक मृतक अवस्थामा नै जन्मिएको थियो कि जिवित ? यो सवालको निरोपण हुन सकेको छैन । कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको मुद्दामा एक अवला नारीलाई कठोर सजायँको आरोप लगाई केवल उनको सावितीको भरमा सजायँको भागिदार ठहराउनु कानुन र न्यायसंगत हुने नहुँदा पुनरावेदक प्रतिवादीले सफाई पाउनु पर्छ भनी बहस जिकिर प्रस्तुत गर्नु भयो भने मनिमायाकै तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले मनिमायाले अवैध रुपबाट गर्भ धारण गरेको, नवजातकलाई जन्म दिएको, र सो जातकलाई घाँटी थिची मारेको भन्ने कुरा मिसिल संलग्न कागजबाट देखिन आएको छ । तर मृतक जातकको घटनास्थल प्रकृति मुचुल्का तथा जाँच प्रतिवेदन समेतले जातकलाई मनिमायाले कर्तव्य गरी मारेको भन्ने निस्कर्षमा पुग्न सकिने स्थिति छैन यसमा पर्याप्त शंकाको स्थिति अवस्था विद्यमान देखिएको छ ।
२१. प्रवस वेदनाले पिडित अवला नारीलाई प्रहरी समक्ष उपस्थित गराउँदा निजको मानसिक स्थिति कस्तो हुन्छ निजले आफू उपरको आरोपको बारेमा के कति जानकारी राख्ने प्रयास गरिन र निजलाई कसरी साविती गराइयो । यो जटिल सवाल र परिस्थितिले मनिमायाको सावितीलाई चुनौति दिने हुन्छ । यस स्थिति प्र्रति तहगत अदालतको दृष्टि पुगेको छैन । अभियुक्तलाई कसूरको आरोप लगाई सजायँ दिनु मात्र न्याय होइन, परिस्थिति समेतलाई मध्यनजर राखी दण्ड दिनुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा यस्तो हुन नगएकोले तहगत अदालतको फैसला मिलेको नहुँदा विपक्षी वादीलाई झिकाई इन्साफ बदर हुनुपर्दछ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
२२. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मनिमायालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने ठहर गरेको शुरु जिल्ला अदालतको इन्साफलाई सदर गरेको अञ्चल अदालतको फैसलालाई मनासिब ठहर गरेको क्षेत्रीय अदालतको निर्णय मिलेको छ छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।
२३. यसमा पुनरावेदक प्रतिवादी मनिमायाले धनबहादुरको गर्भ धारण गरी नवजातक जन्माएकोमा विवाद नरहेको, सो जातकलाई घाँटी थिची मारेको भनी निज मनिमाया अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा सावित रहेको तर अदालत समक्ष बयान गर्दा प्रसव वेदनाको कारण डोरीमा झुण्डिएको र सोही अवस्थामा जातक गर्भबाट खसी जोडसंग पछारिएको कारणबाट मृत्यु हुन गएको भनी लेखाएको पाइन्छ ।
२४. मनिमायाले अवैध रुपमा गर्भ धारण गरी जातक जन्माई घाँटी थिची मारेको हुँदा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने अभियोग प्रतिवेदनबाट उठान भएको प्रस्तुत कर्तव्य ज्यान मुद्दामा मनिमाया र धनबहादुर बीच करणी लिनु दिनु भएको, मनिमायाले गर्भ बोकी जातक जन्माएको समेतमा विवाद देखिन आएन । जातकलाई लोकोपवादको कारण घाँटी थिची मारेको भन्ने साविती र प्रसव वेदनाको अवस्थामा जन्मिएको जातक पछारिएर मरेको भन्ने मनिमायाकै अदालत समक्षको बयान एकै मिलानको देखिँदैन, तर पनि जातक मृत अवस्थामा नै जन्मिएको भन्ने कुरा मनिमायाको दुबै बयानबाट खुल्न आएको छैन । अवैध रुपबाट गर्भ धारण गरी मृत अवस्थामा नै जन्मिएको जातक, जिवित अवस्थामा फेला परेको हुँदैन भने ज्यानसम्बन्धी महल बमोजिमको आरोपित कसूरबाट सफाई दिन कानुन र न्यायसंगत हुँदैन । किनकी परपुरुषसंग अनुचित सम्बन्ध राखी गर्भ धारण गरी जन्मिएको जातक अन्यथा प्रमाणित भएमा बाहेक, जिवित अवस्थामा फेला नपरेको स्थितिमा सो जातक मृत अवस्थामा नै जन्मिएको थियो भनी अनुमान गरी अभियुक्तलाई निर्दोष सावित गर्न कानुनको रोहबाट पनि मिल्ने हुँदैन ।
२५. अतः पुनरावेदक प्रतिवादी मनिमायाले धनबहादुर परपुरुषसंग अनुचित सम्बन्ध कायम गरी जातक जन्माई कर्तव्य गरी मारेको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन आएकोले, निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफ सदर गरेको, अञ्चल अदालत र क्षेत्रीय अदालतको फैसला कानुनसंगत नै देखिन आएकोले मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२६. तर, पति नोकरीको सिलसिलामा नेपाल सरद बाहिर रहे बसेको, १५ र १८ वर्षमा दुई छोराहरु भए पनि निज मनिमायाले आफ्नो उमेर केवल ३५ वर्षकी भएँ भनी लेखाएको देखिन्छ । पति अनन्तकाल सम्म बाहिर रहेको भन्ने कुरा मनिमायाको बयान समेतबाट खुल्न आएको, धनबहादुरसंग अनुचित सम्बन्ध कायम राखी गर्भ धारण गरी परिवार र समाजको लोकोपवादको कारण जन्मिएको जातकलाई मनिमायाले मारेको भन्ने मनिमायाको भनाईमा अविश्वसनीयता नरहेको, स्थिति अवस्थामा निजलाई सर्वश्वसहित जन्मकैदको सजायँ नै कायम गरिदिंदा सजायँको दृष्टिकोणबाट कठोर हुने हुँदा अ.बं. १८८ नं. अनुसार कैद वर्ष १०(दश) हुन्छ । कारागार मार्फत पुनरावेदन परी आएको देखिँदा फैसला भएको जानकारी प्रतिवादी थुनामा रहेको सम्बन्धित कारागारमा दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केशवप्रसाद उपाध्याय
इतिसम्वत् २०४९ साल आषाढ २२ गते रोज २ शुभम् ।