निर्णय नं. ६१६५ - अंश

निर्णय नं. ६१६५ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत २०५० सालको दे.पु.नं. १३१०
फैसला मिति २०५१।९।६।४
मुद्दाः अंश ।
पुनरावेदक- बुद्धिमानको छोरा मोरङ्ग जिल्ला विराटनगर नगरपालिका वडा नं. ४ बस्ने लिलाबहादुर कार्की
प्रतिवादी
विरुद्ध
प्रत्यर्थी- ऐ.ऐ. बस्ने पुनरावेदकको एकाघरकी श्रीमती अन्नपूर्णा कार्की
वादी
अंशवण्डाको महलको कानूनी व्यवस्थाले पाउने अंश सबै प्रकारको अंशियारहरुको अंशको हक सम्बन्धमा सामान्य व्यवस्था गरेको पाईन्छ । यस अंशवण्डाका महलले गरेको सामान्य व्यवस्था अन्तर्गत पर्ने लोग्ने र स्वास्नीको सम्बन्धको वैशिष्ट्यतालाई मध्यनजर राखी अंशवण्डाको महलमा उल्लेखित अवस्थाहरुको अलावा अंश र माना चामलमा स्वास्नी मानिसले कस्तो कस्तो अवस्थामा दावी गर्न पाईन्छ भन्ने कुराको अभिनिश्चय गरिएको पाईन्छ । यसरी विषयगत दृष्टिले मात्र विशिष्टता पाईने नभई अंशवण्डाको १० नम्बरमा लोग्नेस्वास्नीको ४ नं. मा लेखिएको कुरामा भने सोही बमोजिम हुनेछ भन्ने प्रष्ट रुपमा लोग्ने स्वास्नीको ४ नं. मा लेखिएको कुरामा अंशवण्डाको १० नं लागू नहुने प्रष्ट पारिएको छ । यसरी अंशवण्डाको व्यवस्था सामान्य व्यवस्था हो र लोग्ने स्वास्नीको ४ नं. को व्यवस्था विशेष व्यवस्था हो र ऐनको विशेष व्यवस्था हो र ऐनको विशेष व्यवस्था सामान्य व्यवस्था भन्दा प्रभावशाली हुने कानून व्याख्याको सामान्य सिद्धान्त जुन नयाँ मुलुकी ऐन भाग १ को नम्बर ४ मा अंङ्गीकृत छ । सो अनुकूल नै देखिन आउने ।
( प्र.नं. १०)
पुनरावेदक वादी तर्फबाटः-×
विपक्षी प्रतिवादी तर्फबाटः-×
अबलम्बित नजीर ×
फैसला
न्या. लक्ष्मण प्रसाद अर्याल- न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त जिकिर यस प्रकार छः-
2. विपक्षी पति लिला बहादुरसँग २०४० साल वैशाखमा मेरो विवाह भएपछि विपक्षी पतिबाट २०४२ सालमा अपार नामक एउटा छोरा जन्मिएको छ । विपक्षी पतिले पहिले पहिले देखि नै बराबर कुटपिट गरी रहनु हुन्थ्यो । तापनि सहेरै बसेकी थिएँ । २०४६ साल माघ २१ गतेका दिन अं. १० बजेको समयमा पतिले मलाई भातै खान नदिई लातैलाताले कुटि विराटनगर न.पं.वडा नं. ४ को घरबाट बाहिर निकाली दिएकोले नाबालक छोरालाई घरैमा पनि जिम्मा छाडी दिई रुँदै कराउँदै हिडी अलपत्र परी लोग्ने स्वास्नीको ४ नं. अंशवण्डाको ३५ नं. अ.बं. ३६ नं. र अ.बं. ८२ नं. अन्तर्गत नालेस गर्न आएको छु । अंशवण्डाको २०,२१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी लिई अंशवण्डाको १।२ नं. बमोजिम पतिको १ भाग नाबालक छोराको १ भाग मेरो १ भाग समेत ३ भाग लगाई मेरो भाग जति मलाई दिलाई चलन चलाई समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादी अन्नपुर्णा कार्कीले मिति २०४६।११।२ मा दिएको फिराद पत्र ।
3. वादीको दावी अनुसार निजलाई मैले कुटपिट गरेको भए कुटपिट गर्दा परेको घा खत जँचाई सप्रमाण नालेश गर्न सक्नु पर्दथ्यो सो गरेको छैन । त्यस्तै मैले वादीलाई खान लाउन नदिई घरबाट निकाला गरेको भए घरबाट निकाला गरेपछि म यस ठाउँमा यसको घरमा बसेको छु र यो पेशाबाट खान लाउन गरेकी छु भन्न लेख्न प्रमाण पुर्याउन सक्नु पर्नेमा निज वादी मेरै घर वि न.पा. वडा नं. ४ मै बसी राखेको कुरा निजैले फिरादमा निजको ठेगाना लेखेकोबाट विपक्षी वादी हालसम्म पनि मेरै घरमा बसी खाए लाएको प्रष्ट हुन्छ । मैले निजलाई खान लाउन नदिई घरबाट निकाला गरेको भन्ने कुरा निजकै फिरादबाटै देखिँदैन । वादीको फिराद दावी लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको भएको र सो ४ नं. मा लोग्नेले खान लाउन नदिई घरबाट निकाला गरेको समेत भए मात्र स्वास्नीले अंश छुट्याई लिन पाउने भन्ने उल्लेख भएकोले सो अनुसार कुटपिट गरी खान नदिई घरबाट निकाला गरेको भन्ने आरोप फिराद लेखाईबाटै मिथ्या सावित हुने हुनाले लोग्ने स्वास्नीको ४ नं. अनुसारको अंश पाउँ भन्ने दावी पुग्न नसक्ने कपोलकल्पित कुरा फिरादमा लेख्दैमा अंश पाउने होइन । अंशवण्डाको १० क नं. मा विवाह भएको कम्तीमा १५ बर्ष र उमेर कम्तीमा ३५ वर्ष पुगेकी स्वास्नी मानिसले चाहेमा लोग्नेसँग अंश लिई भिन्न बस्न पाउँछ भन्ने उल्लेख भएकोले वादीले फिरादमा उमेर लेख्दा बर्ष २८ लेखेकी र विवाह भएको २०४० सालमा अर्थात ६ बर्ष मात्र देखिएकोले सो अंशवण्डाको १०क नं. ले पनि वादीले अहिले नै मबाट अंशमा दावी लिन पाउने होइन भन्ने समेत व्यहोराको प्रतिवादी लिला बहादुर कार्कीको मिति २०४७।२।१८ को प्रतिउत्तर पत्र ।
4. आदेशानुसार वादी प्रतिवादीको साक्षीका बकपत्र भै मिसिल सामेल रहेको ।
5. वादीलाई घरबाट निकाला गरेपछि यस ठाउँमा सो व्यवसाय गरी खाई बसी जीवनयापन गरेको भन्ने कुरा वादीले फिरादपत्रमा लेख्न नसकी प्रतिवादीकै घर भएको ठाउँमा आफ्नो वतन देखाएको र अर्को श्रीमती ल्याए वा राखेको भन्ने समेत फिराद दावी नभएको र सो कुरा प्रमाणबाट पनि खुल्न नआएकोले अंशवण्डाको १० नं. र लोग्ने स्वास्नीको ४ नं. को अवस्था विद्यमान नदेखिँदा वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु मोरङ्ग जिल्ला अदालतको मिति २०४८।८।१७ को फैसला ।
6. शुरु फैसलामा मेरो चित्त बुझेन । सो फैसला बदर गरी मेरो वादी दावी अनुसार अंशवण्डाको २०,२१,२२ र २३ नं बमोजिम तायदाती फाँटवारी लिई अंशवण्डाको १ र २ नं. बमोजिम पतिको १ भाग, नाबालख छोराको १ भाग, मेरो १ भाग समेत ३ भाग लगाई लोग्ने स्वास्नीको ३ नं. को देहाय २ अनुसार नाबालख छोराको भाग मेरै जिम्मा राखी मेरो भाग बण्डा छुट्याई चलन समेत चलाई पाउँ र नाबालक छोरालाई खान लाउन शिक्षा दिक्षा औषधी उपचार समेत गराई पाउँ भन्ने समेत वादीको पुनरावेदन जिकिर रहेछ । शुरु मोरङ्ग जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्याई गरेको फैसला प्रमाणको मुल्याङ्कनको आधारबाट फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने पुनरावेदन अदालत विराटनगर संयुक्त इजलासको मिति २०४९।३।११ को आदेश ।
7. घरमा राखी खान लाउन दिनु पर्ने लोग्नेको कर्तव्य हुने दिन नसके अंश दिनु पर्ने भन्ने लोग्ने स्वास्नीको ४ नं. मा व्यवस्था भएको र सोही अनुसारको व्यवस्था गर्दै अंशवण्डाको १० नं. समेतमा लोग्नेले स्वास्नी छोरा छोरीलाई इज्जत आमद अनुसार खान लाउन दिनु पर्ने व्यवस्था गर्नका साथै ४ नं. मा लेखिएका कुरामा सोही बमोजिम हुने भन्ने उल्लेखित व्यवस्थाबाट लोग्ने स्वास्नीको ४ नं. को अवस्थामा सोही बमोजिम हुने कानूनी व्यवस्था रहेबाट अंश वण्डाको १०(क) नं. लगाई वादी दावी नपुग्ने ठहर्याएको शुरु मोरङ्ग जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको मिति २०५०।४।१७ को फैसला ।
8. पुनरावेदन अदालत विराटनगरको फैसलाको निर्णयाधार ज्यादै हलुका र मौजुदा कानूनको मनसाय विपरीत हुन गई अंशवण्डाको महल, लोग्ने स्वास्नीको महल, विहावारीको महलका कानूनी व्यवस्था जुन हाम्रो हिन्दु न्यायिक सिद्धान्त लोग्ने स्वास्नीको पारिवारिक, सामाजिक, धार्मिक, नैतिक अनुशासन दायित्व अधिकार र कर्तव्य सम्पूर्ण कुरालाई मध्यनजर राखी उल्लेखित महलहरुको विशेष कानूनी प्रावधान रहेकोले लोग्नेस्वास्नीको ४ नं. एक विशेष कानूनी व्यवस्था हो । त्यस्तै अंशवण्डाको १०(क) नं. उक्त ४ नं. सन्तुलन मिलाई राखिएको कानूनी प्रावधान हुन । निर्णयाधारका बुँदाहरु शुरु जिल्ला अदालतले गरेको सही व्याख्यालाई बदर गरी मान्यता नदिई ऐनको गलत व्याख्या तर्फ उन्मुख समेत रहेकोले सो बदर गरी शुरु जिल्ला अदालतको फैसला बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
9. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा इजलास समक्ष रहेको मिसिल समेत अध्ययन गरी हेर्दा यसमा पुनरावेदनको जिकिर पुग्न सक्ने नसक्ने के हो सो उपर निर्णय दिनु पर्ने भएको छ । यसमा पुनरावेदन अदालत विराटनगरले लोग्नेस्वास्नीको ४ नं. को प्रयोग गर्दा अंशवण्डाको १०(क) को व्यवस्था समेतको उपेक्षा गरी एक आपसमा सम्बन्धित रहेका उपरोक्त कानूनी व्यवस्थाहरुलाई विचारै नगरी स्पष्ट कानूनी व्यवस्थाको त्रुटिपुर्ण व्याख्या गरी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटिपुर्ण हुँदा बदर गरिपाऊँ भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ ।
10. अब यसमा निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा वादीले फिराद गर्दा लोग्ने स्वास्नीको महलको ४ नं. अंशवण्डाको ३५ नं. अनुसार एकभाग आफ्नो र एक भाग नाबालक छोराको अंश पाउँ भन्ने दावी गरेकोमा वादीको उमेर २८ बर्ष मात्र भएको र विवाह गरेको १५ बर्ष नपुगेको हुँदा अंश दिन इन्कार गरेको सोही प्रतिवादी जिकिरलाई स्वीकार्दै अंशमा दावी गर्न पाउने व्यवस्था पुगी सकेको नदेखिएकोले वादी दावी नपुग्ने शुरुले ठहर गरेकोमा पुनरावेदन अदालत विराटनगरले लोग्ने स्वास्नीको महलको विशेष व्यवस्था हुँदा अंशवण्डाको १०(क) को सामान्य अवस्था लागू नहुने हुँदा वादी दावी बमोजिम अंश पाउने ठहर्छ भनी फैसला गरे उपर प्रस्तुत पुनरावेदन परेको हुँदा लोग्ने स्वास्नीको ४ नं. र अंशवण्डाको १०(क) को अन्तरसम्बन्ध कस्तो छ भन्ने कुरामा विचार गर्नु पर्ने हुन आएको छ । अंशवण्डाको महलको कानूनी व्यवस्थाले पाउने अंश सबै प्रकारको अंशियारहरुको अंशको हक सम्बन्धमा सामान्य व्यवस्था गरेको पाईन्छ । यस अंशवण्डाका महलले गरेको सामान्य व्यवस्था अन्तर्गत पर्ने लोग्ने र स्वास्निको सम्बन्धमा वैशिष्ट्यतालाई मध्यनजर राखी अंशवण्डाको महलमा उल्लेखित अवस्थाहरुको अलावा अंश र मानाचामलमा स्वास्नी मानिसले कस्तो कस्तो अवस्थामा दावी गर्न पाईन्छ भन्ने कुराको अभिनिश्चित गरिएको पाईन्छ । यसरी विषयगत दृष्टिले मात्र विशिष्टता पाईने नभई अंशवण्डाको १० नं. मा लोग्नेस्वास्नीको महलको ४ नं. मा लेखिएको कुरामा भने सोही बमोजिम हुनेछ भनी प्रष्ट रुपमा लोग्नेस्वास्नीको ४ नं. मा लेखिएको कुरामा अंशवण्डाको १० नं. मा लागू नहुने प्रष्ट पारिएको छ । यसरी अंशवण्डाको व्यवस्था सामान्य व्यवस्था हो र लोग्ने स्वास्नीको ४ नं. को व्यवस्था विशेष व्यवस्था हो र ऐनको विशेष व्यवस्था सामान्य व्यवस्था भन्दा प्रभावकारी हुने कानून व्याख्याको सामान्य सिद्धान्त जुन नयाँ मुलुकी ऐनको भाग १ को नम्बर ४ मा अंगिकृत छ सो अनुकुल नै देखिन आउँछ । अंश वण्डाको महलको १०(क) नं. मा १० नं. मा जुनसुकै कुरा लेखिएको भएता पनि विवाह भएको १५ बर्ष र उमेर ३५ बर्ष पुगी सकेको स्वास्नी मानिसले चाहेमा लोग्नेसँग अंश लिई भिन्न बस्न पाउँदछन् भन्ने उल्लेख भएको पाईन्छ । अंश वण्डाको १० नं. ले लोग्ने स्वास्नीको ४ नं. लाई अपवादित गरेको हुँदा अंशवण्डाको १० नं. लाई समर्थ बनाउने अंश वण्डाको १० (क) नं. ले लोग्नेस्वास्नीको ४ नं. लाई बन्देजीत गर्दछ भनी सम्झन मिल्ने देखिएन । उक्त १०क नं. मा ३५ बर्ष उमेर वा विवाह भएको १५ बर्षको बन्देज पालित भएपछि अन्य कुनै शर्त पालना नगरिकनै सिर्फ स्वास्नी मानिसको चाहना भए पर्याप्त हुने व्यवस्था देखिन्छ । तर लोग्ने स्वास्नीको महलको ४ नं. ले तोकेको शर्त पालित हुनै पर्ने देखिन्छ। प्रस्तुत मुद्दामा सो शर्त पुरा भएको भन्ने पुनरावेदन अदालत विराटनगरको फैसलामा विवेचित भएको र त्यसलाई चित्त बुझ्ने गरी पुनरावेदनमा खण्डन गर्न सकेको नदेखिँदा समेत पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेकै देखिँदा मुनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. नरेन्द्र बहादुर न्यौपाने
इति सम्बत् २०५१ साल पौष ६ गते रोज ४ शुभम् ........।