निर्णय नं. ६१६६ - कीर्ते जालसाजी

निर्णय नं. ६१६६ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत २०५० सालको फौ.पु.नं. ६४२
फैसला मिति २०५२।३।७।४
मुद्दाः कीर्ते जालसाजी ।
पुनरावेदक- जिल्ला सप्तरी फत्तेपुर गाउँ विकास समिति वडा नं. ३ बस्ने जगत साहु हलुवाई
वादी
विरुद्ध
विपक्षी- जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ बस्ने सुधिर कुमार चौधरी कैथल वैश्य
प्रतिवादी
सामान्यतया अर्को व्यक्तिको नामबाट सही गर्ने गराउने व्यक्तिले वास्तविक नामधारी व्यक्तिबाट लुकीछिपी नै त्यस्तो क्रिया गर्ने स्वाभाविक हुँदा त्यस्तो कीर्ते जालसाजीपुर्ण कार्यमा वास्तविक व्यक्तिहरुको संलग्नता थियो वा निजहरुलाई सो को जानकारी थियो भनी अन्यथा प्रमाणित नभएसम्म अदालतले अनुमान गर्न नमिल्ने।
( प्र.नं. १२)
बस्तुतः अड्डामा फिराद दर्ता गराउने व्यक्तिको म्याद तामेलमा कुनै किसिमको भूमिका हुने नभई सम्बन्धित अड्डाको सम्बन्धित कर्मचारीको प्रत्यक्ष संलग्नता रहने हुँदा सो फिरादको आधारमा तामेल भएको म्याद जालसाजीपुर्ण देखिन आएमा फिराद दिएको कारणले मात्र फिरादकर्ताको संलग्नता थियो भन्न कानूनतः मिल्ने नदेखिने ।
(प्र.नं. १३)
जुन कर्मचारीबाट म्याद तामेलीको क्रिया भएको हो सो क्रियालाई कीर्ते जालसाज भनी वादीले दावी लिएता पनि म्याद तामेलीको यावत प्रक्रियामा प्रमुख भूमिका राख्ने सम्बन्धित तामेलदार उपर कुनै दावी लिएको पाईदैन । केवल फिराद दिने र म्याद तामेलीमा साक्षी बस्ने भनिएका व्यक्तिहरु उपर दावी लिएकोबाट त्यस्तो कीर्ते जालसाजीपुर्ण म्याद तामेलीमा प्रतिवादी सुधिर कुमारको सहभागिता कहिकतैबाट प्रमाणित हुन आएको नहुँदा निजलाई कसूरबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहर्ने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री इन्द्रशेखर खड्का
विपक्षी प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह
अबलम्बित नजीरः ×
फैसला
न्या. इन्द्रराज पाण्डे- पुनरावेदन अदालत राजविराजको मिति २०४९।१२।२३ गतेको फैसला उपर वादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः-
2. फत्तेपुर गा.वि.स. वडा नं. १ बस्ने अन्तु चौधरी थारुसँग विगो नम्बर ९१२।४९४ को लेनदेन मुद्दामा जिल्ला सप्तरी गा.वि.स. भरुवा खाल वडा नं. ४ (ख) को कि.नं. ८३ को ०-१०-५ मध्ये ०-३-८ (तीन कठ्ठा आठ धुर) जग्गा लिलाम हुँदा सकार गरी सप्तरी जिल्ला अदालतको मिति २०४१।११।१।३ को पुर्जी बमोजिम म भुलकीवतीको नाममा कित्ताकाट भई कि.नं. ३३८ को ०-३-८ दर्ता मितिले भोगचलन गरी पोत समेत बुझाई आएकोमा विपक्षी मध्येको सुधिर कुमारले कि.नं. ८३ को ०-१०-५ भनी लेखी सो मध्ये पुर्व दक्षिणतर्फबाट ०-३-१० जग्गा २०४५।३।१५ गते खिचोला गरी चलन हटाई दिएकोले चलन चलाई पाउँ भन्ने समेत व्यहोराको हामी वादीहरुको नाममा १०५९ को जग्गा खिचोला चलन मुद्दा दिएकोमा हामीहरुको नाममा म्याद जारी भई जाँदा विपक्षी प्रतिवादी सुधिर कुमारले अदालतको तामेलदार उमेश राईलाई धोखा दिई हाम्रो नामको म्याद मेरो घरमा तामेल गर्न आउनु पर्नेमा नआई गा.प.स. हेम नरसिंहको घरमा मिति २०४५।७।३० का दिन अन्दाजी १:३० बजेको बखतमा प्रतिवादी सुधिर कुमार समेतका ४ जना प्रतिवादीले हामीहरुलाई थाहा नहुने गरी घर दैलोमा टाँसी तामेल गराई हामी वादीलाई उक्त जग्गा खिचोला मुद्दामा प्रतिउत्तर फिराउनबाट बञ्चित गराई एकतर्फी मिति २०४६।६।११ गतेमा फैसला गराई लिएको र विगो मुद्दामा विगो कोर्ट फी भराउन तर्फ कारवाही हुँदा मेरो नाममा ३५ दिने म्याद मिति २०४६।८।११ मा तामेल हुँदा मिति २०४६।८।१८ गतेमा उक्त द.नं. १०५९ को जग्गा खिचोला मुद्दाको फैसलाको नक्कल लिँदा थाहा हुन आएकोले विपक्षी माथि नालेश दिन आएको छु । यसरी हाम्रो हक भोगको उल्लेखित जग्गाको मोल रु. १३,०००।– जाने जग्गाबाट मेरो हक मेट्ने र आफुले लिने खाने जालसाज गरी तामेल गरेमा सो मुद्दाको थाहा जानकारी नदिई म्याद तामेल गरे गराएकोले कीर्ते कागजको १० नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेतको वादी दावी ।
3. दे.नं. १०५९ को उल्लेखित जग्गा खिचोला मुद्दामा जारी भएको इतलायनामा हामीहरुले म्याद तामेल गरेको होइन, छैन वादी दावी झुठ्ठा हो । हामीहरुको सहिछापको नमुनालाई उक्त तामेली म्यादमा भएको सहिछापसँग भिडाई झुठ्ठा दावीबाट मुक्त गरी पाउँ भन्ने हेम कुमार, पदम बहादुर राई र हेम नरसिंह कार्की समेतको संयुक्त प्रतिउत्तर पत्र ।
4. फिरादीले दुईजना मिली फिराद दायर गरेका छन् । त्यो गैर कानूनी हो । अर्को कुरा जुन जग्गालाई फिरादीले कि.नं. ८३ को जग्गाको दावी लिएका छन् । सो जग्गा साविकमा अन्तु चौधरीको नाममा जिल्ला सप्तरी भरुवाखाल गा.पं. वडा नं. १ को कि.नं. ८३ को ०-१०-५ जग्गा दा.खा. दर्ता गरी पाउँ भनी श्री मालपोत कार्यालय, सप्तरीमा निवेदन दिई मालपोत कार्यालयबाट मिति २०३८।६।२८ गतेमा जिल्ला सप्तरी भरुवाखाल गा.पं. वडा नं. १ को कि.नं. ८३ को ०-१०-५ जग्गा म सुधिर कुमारका नाममा दा.खा. दर्ता गरी दिने ठहर्छ भन्ने समेत व्यहोराको निर्णय भई मिति २०३८।६।१२ गतेमा मेरा नाममा जग्गा धनी दर्ता प्रमाण पुर्जा समेत कायम भएको छ । वादीको फिरादमा जिल्ला सप्तरी गा.पं. भरुवाखाल वडा नं. ४(ख) को कि.नं. ८३ का कुनै जग्गा पनि दर्ता छैन । फिरादीलाई मैले कुनै जालसाज गरी उजुरवाजुरको क्रियाकलाप समेत गरेको छैन । वडा नं. ४(ख) को कि.नं. ८३ को जग्गा निर्विवाद रुपले वादीले भोगी चलन गरी आएको र म सुधिर कुमारको वडा नं. १ को कि.नं. ८३ को जग्गा भोगी आएको छु । वादी दावीको जग्गामा मैले कुनै कार्य गरेको छैन । जग्गा खिचोला मुद्दामा जारी भएको म्याद मैले गरे गराएको छैन । वादी दावी झुठ्ठा हो मेरा नाममा दर्ता हुन आएको दिन देखि हालसम्म पोत समेत बुझाई आएको छु भन्ने समेत व्यहोराको प्रतिवादी सुधिर कुमार चौधरीको प्रतिउत्तर पत्र ।
5. जग्गा खिचोला चलन मुद्दामा जारी भएको म्यादमा भएको सहिछाप हामीहरुको होइन । जग्गा खिचोला खिचोला मुद्दाको वादी यस मुद्दाका प्रतिवादी मध्ये सुधिर कुमार चौधरीलाई थाहा होला । निजबाटै खुलाई कीर्ते जालसाज किसिमबाट हामीहरुको सहि गराएकोले कीर्ते जालसाजमा सजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी हेम कुमार श्रेष्ठ, प्रतिवादी हेम नरसिंहको बारिश भई आफ्नो हकमा समेत पदम बहादुर राईले मिति २०४७।३।१४ मा गरेको बयान ।
6. प्रतिवादी वारेश समेत पदम बहादुर राईले यस अदालतमा गरेको बयान झुठ्ठा हो । म्याद तामेल भएको दिन मलाई वारेस दिने सुधिर कुमार चौधरी सो दिन त्यहाँ गएको थिएन । तामेलदारले के कसरी ककसलाई साक्षी राखी म्याद तामेल गराएको हो निजै जानुन । पदम बहादुर समेतका साक्षी बस्नेलाई नमुना सहिछाप लिई विशेषज्ञबाट जाँच गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुधिर कुमारको वा. श्याम कुमार चौधरीले मिति २०४७।३।१४ मा गरेको बयान ।
7. प्रतिवादी हेम कुमार श्रेष्ठ, प्रतिवादी पदम बहादुर राई, प्रतिवादी हेम बहादुर नरसिंह कार्की समेतले तामेली म्याद कीर्ते जालसाजी गरेको भन्न मिलेन । यी व्यक्तिहरुका सम्बन्धमा जनाउ व्यक्तिहरुले सही गरेको देखिँदा निजहरुले सफाई पाउने ठहर्छ । प्रतिवादी सुधिर कुमार चौधरीका हकमा सोही विवादित तामेली म्यादकै आधारमा एकतर्फी फैसला समेत भएको र सो म्यादमा झुठ्ठा व्यक्तिहरु रहे भएको देखिन आई उक्त तामेली म्याद जालसाजी गरेको भई सो बाट वादीको हदम्याद तारीख गई नोक्सान हुन गएको देखिएकोले प्रतिवादी सुधिर कुमार चौधरीले वादी दावी कीर्ते जालसाजी गरेको ठहर्छ भन्ने समेत सप्तरी जिल्ला अदालतको २०४८।४।२१ गतेको फैसला ।
8. विना सबुद प्रमाणको अभावमा कीर्ते जालसाज गरेको ठहर्एको इन्साफ त्रुटिपुर्ण हुँदा बदर वातिल गरी सफाई पाउँ भन्ने समेतको प्रतिवादी सुधिर कुमार चौधरीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।
9. विवादको मिति २०४५।७।३० मा तामेली भएको भनेको इतलायनामा तामेली साक्षी बस्ने भनिएका हेम कुमार श्रेष्ठ, पदम बहादुर राई र हेम नरसिंह कार्कीको वास्तविक हस्ताक्षर र तामेलीमा लागेको सही भिड्दैनन् भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट राय व्यक्त भई आएको देखिएबाट सो इतलायनामा म्याद सहीरुपमा तामेल भएको देखिन नआई जालसाजीपुर्ण तामेली प्रमाणित हुने र अन्य कुनै व्यक्तिले तामेली म्यादमा साक्षी बस्न आएमा तामेलदारले साक्षीमा बस्न मिल्दैन भन्न सकिने अवस्था नदेखिँदा निजहरुले सफाई पाउने ठहराएको शुरुको फैसला मनासिव छ । प्रतिवादी सुधिर कुमारको हकमा त्यस्तो जालसाज गरी तामेल गर्नेमा मुख्य भूमिका निभाउने तामेलदार उपर कुनै किसिमको उजुर वादीले गर्न नसकेको र तामेलदारको सहयोग विना त्यस्तो जालसाज काम गर्न असम्भव नै देखिएको समेतबाट प्रतिवादी सुधिर कुमार चौधरीले पनि सफाई पाउनु पर्ने ठहर्याउनु पर्नेमा कसूरदार कायम हुने ठहराएकोसम्म शुरु सप्तरी जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत राजविराजको फैसला ।
10. उक्त फैसलाबाट प्रतिवादी सुधिर कुमारलाई सफाई दिने गरेको पुनरावेदन अदालत, राजविराजको इन्साफ त्रुटिपुर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
11. प्रतिवादी सुधिर कुमार समेतलाई सफाई दिने गरी गरेको पनि पुनरावेदन अदालत राजविराजको फैसला नमिलेकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत, संयुक्त इजलासको मिति २०५१।११।२३ गतेको आदेश ।
12. नियमानुसार आजको पेशीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावदेक वादीको तर्फबाट विद्वान अधिवक्ता इन्द्रशेखर खड्काले इतलायनामा म्याद जालसाली तवरले तामेल गराई जग्गा खिचोलामा मेरो पक्षको प्रतिउत्तर फिराउने हकबाटै वञ्चित गरी बढी लाभ प्राप्त गर्ने मुख्य प्रतिवादी सुधिर कुमारलाई अभियोगबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको नहुँदा बदर गरी निजलाई सजाय हुनु पर्छ भनी विपक्षी प्रतिवादी सुधिर कुमारको तर्फबाट विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंहले मेरो पक्षले जालसाजी गर्नै पर्ने भए जग्गा खिचोला मुद्दा हाल्नु पर्ने प्रश्न नै उठ्ने थिएन । अड्डाबाट जारी भएको इतलायनामा म्याद तामेलीको प्रक्रियामा मेरो पक्षले सो सम्बन्धी कुनै कार्य गर्नु नपर्ने हुँदा सफाई दिने गरेको पुनरावेदन अदालत, राजविराजको फैसला सदर कायम हुनु पर्छ भनी बहस जिकिर लिनु भएको छ । विद्वान अधिवक्ताहरुको उपर्युक्त बहस जिकिरलाई ध्यानमा राख्दै प्रतिवादी सुधिर कुमार चौधरी समेतका अन्य प्रतिवादीहरुलाई कीर्ते जालसाजको अभियोगबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ त्यसतर्फ निर्णय दिनु पर्ने भएको छ । निर्णय तर्फ विचार गरी हेर्दा यसमा जुन इतलायनामा म्याद कीर्ते जालसाज तवरले तामेल गरे गराएको भन्ने दावी छ, त्यसमा साक्षी बस्ने हेम कुमार श्रेष्ठ, पदम बहादुर राई, गा.पं.स. हेम नरसिंह कार्की भन्ने नाम उल्लेख भएकोमा निज हेम कुमार श्रेष्ठ र हेम नरसिंहको बारेश भई आफ्नो हकमा समेत अदालतमा आई बयान गर्ने पदम बहादुर राईले हेम नरसिंह र आफ्नो सहि नभएकोले कसले कहाँ बसी कीर्ते जालसाज गरेका हुन् थाहा छैन भनी बयानमा उल्लेख गरेको पाईन्छ । अदालतको रोहवरमा लिईएको निजहरुको सही र इतलायनामा म्यादमा भएको सहि तत् तत् व्यक्तिको नभएको भनी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानबाट मिति २०४८।२।६ गतेको राय प्रतिवेदनबाट उल्लेख भएको देखिन्छ । यसरी प्रतिवादी मध्येका सुधिर कुमार चौधरी वादी भई यिनै पुनरावेदक वादी मुलकीवति उपर दिएको जग्गा खिचोला चलन मुद्दाको इतलायनामा म्यादमा साक्षीको रुपमा उल्लेख भएका भनिएका व्यक्तिहरु वास्तविक रुपमा उनै व्यक्तिहरु नभई अन्य व्यक्तिहरुबाट सहि गराई कीर्ते जालसाजीपुर्ण तवरले तामेल गराईएको भन्ने प्रमाणित हुन आएको देखिन्छ । सामान्यतया अर्को व्यक्तिको नामबाट सहि गर्ने गराउने व्यक्तिले वास्तविक नामधारी व्यक्तिबाट लुकी छिपी नै त्यस्तो क्रिया गर्ने स्वभाविक हुँदा त्यस्तो कीर्ते जालसाजीपुर्ण कार्यमा वास्तविक व्यक्तिहरुको संलग्नता थियो वा निजहरुलाई सो को जानकारी थियो भनी अन्यथा प्रमाणित नभएसम्म अदालतले अनुमान गर्न नमिल्ने हुन्छ । अतएव मिति २०४५।७।३० मा तामेली भएको भनिएको उक्त इतलायनामा म्याद तामेली सहिरुपमा तामेल नभएको भनी कीर्ते जालसाजीपुर्ण ठहराउँदै प्रतिवादीहरु हेम कुमार श्रेष्ठ, पदम बहादुर राई र हेम नरसिंह कार्कीलाई वादी दावीको अभियोगबाट सफाई दिने गरेको पुनरावेदन अदालत राजविराजको उक्त फैसला मिलेकै देखिन्छ । परिणामस्वरुप त्यस्तो कीर्ते जालसाजीपुर्ण म्यादलाई कायम राखी आफु उपर चलेको जग्गा खिचोला चलन मुद्दामा प्रतिरक्षा गर्न पाउने हकबाट वादीलाई वञ्चित गराउन नमिल्ने हुँदा सो म्याद बदर हुने ठहर्छ ।
13. उल्लेखित प्रतिवादीहरु बाहेक अन्य को को भई तामेली म्याद कीर्ते जालसाजी गरेका हुन् भन्ने सन्दर्भमा प्रतिवादी सुधिर कुमार चौधरीलाई कीर्ते जालजाल गरेमा सजाय समेत गरी पाउँ भन्ने पुनरावेदन जिकिर भएतर्फ विचार गर्दा उक्त दे.नं. १०५९ को जग्गा खिचोला चलन मुद्दा निजले वादी भई दायर गरेकोमा विवाद नदेखिएता पनि म्याद जालसाजीमा निज सुधिर कुमारको प्रत्यक्ष संलग्नता कहिँकतैबाट प्रमाणित हुन आएको देखिँदैन । वस्तुतः अड्डामा फिराद दर्ता गराउने व्यक्तिको म्याद तामेलमा कुनै किसिमको भूमिका हुने नभई सम्बन्धित अड्डाको सम्बन्धित कर्मचारीको प्रत्यक्ष संलग्नता रहने हुँदा सो फिरादको आधारमा तामेल भएको म्याद जालसाजीपुर्ण देखिन आएमा फिराद दिएको कारणले मात्र फिरादकर्ताको संलग्नता थियो भन्न कानूनतः मिल्ने देखिँदैन । सबै भन्दा उल्लेखनिय पक्ष प्रस्तुत मुद्दामा जुन कर्मचारीबाट म्याद तामेलीको क्रिया भएको हो सो क्रियालाई कीर्ते जालसाज भनी वादीले दावी लिएता पनि म्याद तामेलीको यावत प्रक्रियामा प्रमुख भूमिका राख्ने सम्बन्धित तामेलदार उपर कुनै दावी लिएको पाईदैन । केवल फिराद दिने र म्याद तामेलीमा साक्षी बस्ने भनिएका व्यक्तिहरु उपर दावी लिएकोबाट त्यस्तो कीर्ते जालसाजीपुर्ण म्याद तामेलीमा प्रतिवादी सुधिर कुमारको सहभागिता कहिँकतैबाट प्रमाणित हुन आएको नहुँदा निजलाई कसूरबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन ।
14. उक्त जालसाजीपुर्ण म्याद तामेलीको काम तामेल गर्ने तामेलदार रमेश कुमार राई देखिएकोमा म्याद तामेलीको महत्वपुर्ण एवं गहन दायित्व बोकेको यस्तो अदालतको कर्मचारीद्वारा म्याद तामेल गराई समेत किन यस्तो हुन गएको हो त्यसको जाँचबुझ गरी कानून बमोजिम कारवाही हुन न्याय प्रशासनिक दृष्णिकोणबाट औचित्यपुर्ण हुँदा सो जाँचबुझ गरी निज तामेलदार उपर कानून बमोजिम कारवाही गर्नु गराउनु भनी प्रस्तुत फैसलाको एक प्रति नक्कल सप्तरी जिल्ला अदालतमा पठाई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति सम्वत् २०५२ साल आषाढ ७ गते रोज ४ शुभम् ...........।