शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५४३ - लागू औषध

भाग: ३४ साल: २०४९ महिना: भाद्र अंक:

निर्णय नं. ४५४३    ने.का.प. २०४९ ()  अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४७ सालको फौ.पु.नं.२२५, २२६, २२७, २३४, २३९, २४०, ३०२

फैसला भएको मिति: २०४८।११।४।१ मा

पुनरावेदक/प्रतिवादी: जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको तिलक श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/वादी: श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी: का.जि. गोल्कोपाखा बस्ने लालबहादुर गुरुङसमेत

मुद्दा : लागू औषध

(१)    लागू औषध सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा पर्ने श्री ५ को सरकार वादी भएको र अनुसन्धान कारवाहीको सिलसिलामा अभियुक्तहरुलाई पक्राउ गर्न सक्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ ले समेत व्यवस्था गरेकोले औषध नियन्त्रण अधिकारीले अभियुक्तहरुलाई पक्राउ गर्न वारेन्ट जारी नगरेकोबाट सम्पूर्ण कानुनी प्रकृया विहिन छ भन्ने तर्क कानुनसंगत नदेखिने ।

(प्रकरण नं. ४७)

(२)   जुन विषयमा शुरुमा नै विवाद उठाएको नदेखिए पछि विवाद नउठाइएको कुरामा अब आएर विशेषज्ञबाट नजचाएकोले हेरोइन नै होइन यकीन गर्नु नमिल्ने भन्नु कानुनसंगत नहुने ।

(प्रकरण नं. ४८)

(३)   अदालतको इन्कारी नै प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिनु पर्याप्त नहुने ।

(प्रकरण नं. ५०)

(४)   बिक्री गर्ने व्यवसायलाई तह तह राख्दै लिंदै गरेको कार्य बिक्री वितरणको परिभाषा भित्र नपर्ने ।

(प्रकरण नं. ५०)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री लक्ष्मण पौडेल, विद्वान अधिवक्ता श्री भगवान गुरुङ, विद्वान अधिवक्ता श्री यादव खरेल, विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी, विद्वान अधिवक्ता श्री आशिकराम कार्की

वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.केशवप्रसाद उपाध्याय

१.     म.क्षे.अ.को मिति २०४६।९।९।१ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी श्री ५ को सरकार तथा प्रतिवादीहरुको समेत अलग अलग पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरी पुनरावेदनमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    ७०० ग्राम हेरोइन सेतो लागू औषध छवि गुरुङको डेराबाट बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४३।६।१६ गतेको बरामदी मुचुल्का ।

३.    तिलक श्रेष्ठसंग हेरोइन छ भन्ने कुरा मलाई थाहा थियो, म यमबहादुरको डेरा सामाखुसीमा गएको र निजसंग गफ हुँदा हेरोइन व्यापार गर्न पाए पैसा कमाइन्छ भनी भनेबाट म र यमहादुर तिलकको डेरामा गयौं । त्यहाँ एकबहादुर र तिलक श्रेष्ठसंग भेट भयो । हामी हेरोइन बिक्री गरी दिन्छौं भन्दा तिलकले देखायो । ५ लाख दिए हुन्छ । बढी नाफा आए तिमीहरु खानु भनेकाले ७०० ग्राम हेरोइन मेरो डेरामा ल्याई ग्राहक खोजे, बिक्री गर्न सकिएन ३४ दिनपछि यमबहादुरले यो हेरोइन लिई गए भन्ने समेत व्यहोराको प्रतिवादी खगेन्द्र राइले प्रहरीमा गरेको बयान ।

४.    डिल्लीराजले हेरोइन छ भनी सोधेको र अहिले छैन खोजी ल्याई दिन्छु भनी ठमेल बस्ने दोर्जे भन्ने बाट ७०० ग्राम २ लाखमा किनी ल्याई पछि पैसा दिने शर्तमा डिल्लीराज उपाध्यायलाई रु. ३ लाखमा बिक्री गरेको हेरोइन यही हो देखे भन्ने समेत व्यहोराको प्रतिवादी सोनाम शेर्पाले प्रहरीमा गरेको बयान ।

५.    ७०० ग्राम हेरोइन एकबहादुर लामाको डेरामा लिई जाँदा एकबहादुर र तिलक श्रेष्ठ भेट भयो र रु. ३ लाख निजहरुलाई दिए ७८ हजार दिउँला भनेबाट म फर्की आएँ भन्ने व्यहोराको प्रतिवादी डिल्लीराज उपाध्यायले प्रहरीमा गरेको बयान ।

६.    ७०० ग्राम हेरोइन रु. ५ लाखमा बिक्री गरे पछि कमिसन एकबहादुरले दिने भनेकोले सो ५ लाखमा नै यमबहादुरलाई दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी तिलक श्रेष्ठले प्रहरीमा गरेको बयान ।

७.    ०४३।५।२३ मा यमबहादुर गुरुङले झोला लिई आए २ दिन राखी देउ भनेबाट राखी गए त्यसपछि लिन नआएकोले के रहेछ भनी हेर्दा प्लाष्टिकमा पाउडर जस्तो सेतो चिज रहेछ । त्यो चिज गोपी गुरुङलाई देखाउँदा सोधेर आउँछु भनी १ ग्राम जति झिकेर लग्यो त्यसको २ दिन पछि प्रहरीले कोठा तलासी लिएपछि हेरोइन रहेछ भन्ने कुरा थाहा पाएँ भन्ने समेत व्यहोराको प्रहरीमा सुश्री छवि गुरुङले गरेको बयान ।

८.    लालबहादुर गुरुङ र गोपी गुरुङले अलिकति सेतो हेरोइन बिक्री गर्न भनी ठहिटी तर्फ हिडिरहेको थियो त्यसबेला हामीसंग हेरोइन खरीद गर्ने भनी प्रहरीसंग सोध्न पुगेछौं । गोपी गुरुङ लालबहादुर र म समेतलाई प्रहरीले पक्राउ गरेको हो, पुरीया खोल्दा देखियो त्यसपछि तिमीहरुको स्टक कहाँ छ भनी सोध्दा सही कुरा बताएपछि ल्याएको हो भन्ने समेत व्यहोराको प्रतिवादी डिल्लीराज गुरुङले प्रहरीमा गरेको बयान ।

९.    प्रहरीले हामी ३ जनालाई पक्राउ गरेको हो र स्टक हेरोइन छवि गुरुङ कहाँ छ भन्दा छवि गुरुङ समेतलाई पक्राउ गरी ७०० ग्राम पक्राउ गरेको हो नमूना अलिकति चाँही पुरिया खोल्दा देखे भन्ने समेत व्यहोराको प्रतिवादी लालबहादुरले प्रहरीमा गरेको बयान ।

१०.    हामीहरुलाई प्रहरीले पक्राउ गरी स्टक कहाँ छ भन्दा छवि गुरुङलाई देखाई ७०० ग्राम हेरोइन समेत बरामद गरी ल्याएको हो भन्ने समेत व्यहोराको प्रतिवादी गोपी गुरुङले प्रहरीमा गरेको बयान ।

११.    तिलक श्रेष्ठलाई रु. ५ लाखमा दिने बाँकी बढी आएको रुपैयाँ निजले खाने शर्तमा तिलक श्रेष्ठलाई बिक्री गरिदिए त्यसपछि सो हेरोइन यमबहादुर मार्फत छवि गुरुङलाई दिएको रहेछ भन्ने समेत व्यहोराको प्रतिवादी एकबहादुर लामाले प्रहरीमा गरेको बयान ।

१२.   ७०० ग्राम हेरोइन छवि गुरुङ कहाँ लगी झोलामा हाली खाट मुनी राखेको हो भन्ने समेत व्यहोराको प्रतिवादी यमबहादुर गुरुङले प्रहरीमा गरेको बयान ।

१३.   मिति २०४३।३।१६ गते सुश्री छवि गुरुङको डेरा कोठाबाट ७०० ग्राम हेरोइन सेतो प्रहरीले बरामद गरी लगेको सुनेको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

१४.   ७०० ग्राम लागू औषध निज प्रतिवादीहरुले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूर गरी बरामदको लागू औषध हेरोइन ७०० ग्राम बिक्री वितरणको अपराध गरेको प्रष्ट देखिन आयो । तसर्थ निज प्रतिवादीहरु उपर सोही ऐनको दफा १४(ख) अनुसार कारवाही र सजायँ हुन र सोनाम शेर्पाको बयान अनुसार ७०० ग्राम हेरोइन बिक्री गर्ने ठमेल बस्ने दोर्जे भन्ने व्यक्ति हाल फेला नपरेकोले नाउँथर वतन खुल्न आएमा वा फेला परेका बखत छुट्टै प्रतिवेदन पेश गरिने व्यहोरा समेत अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।

१५.   मैले हेरोइन भन्ने नचिनेको र हेरोइन भएको झोला भन्ने थाहा पाइराखेको होइन, आरोप अनुसार सजायँ हुनु पर्ने होइन प्रहरीमा भएको बयान राजीखुसीको होइन भन्ने समेत व्यहोराको अदालतमा प्रतिवादी सुश्री छवी गुरुङले गरेको बयान ।

१६.    आरोप अनुसार मैले कुनै कसूर गरेको छैन प्रहरीमा भएको बयान मेरो राजीखुशीबाट भएको होइन खगेन्द्र राई र तिलक श्रेष्ठले पहिले देखि हेरोइनको कारोवार गरेको शंका लाग्छ भन्ने समेत व्यहोराको प्रतिवादी यमबहादुर गुरुङले अदालतमा गरेको बयान ।

१७.   प्रहरी प्रतिवेदन व्यहोरा झुठ्ठा हो प्रहरीमा भएको बयान कुटपिट गरी सही गराएको हुँदा मेरो राजीखुशीको होइन अरु प्रतिवादीहरुले प्रहरीमा गरेको बयान झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी तिलक श्रेष्ठले अदालतमा गरेको बयान ।

१८.   प्रहरी प्रतिवेदन अनुसार मैले कसूर गरेको होइन, प्रहरीमा मैले गरेको बयान राजीखुसीको होइन कुटपिट गरी व्यहोरा नसुनाई सही गराएको बयान हो भन्ने समेत व्यहोराको प्रतिवादी खगेन्द्र राईले अदालतमा गरेको बयान ।

१९.    प्रहरीमा भएको बयान खुशीराजीबाट भएको हेरोइन डरत्रासमा पारी सही गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी एकबहादुर लामाले अदालतमा गरेको बयान ।

२०.   प्रहरीमा भएको बयान प्रहरीले कुटपिट गरी सही गराएकोले सही गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी डिल्लीराम गुरुङले अदालतमा गरेको बयान ।

२१.   प्रहरीमा मैले गरेको बयान सबै झुठ्ठा हो मलाई मेरै कोठाबाट एक्लै प्रक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी गोपी गुरुङले अदालतमा गरेको बयान ।

२२.   प्रहरीमा भएको मेरो बयान कुटपिट गरी सही गराएको हो भन्ने समेत व्यहोराको प्रतिवादी डिल्लीराम उपाध्यायले अदालतमा गरेको बयान ।

२३.   प्रहरीमा भएको मेरो बयान पढी बाची नसुनाई लठ्ठीले हानी सही गराएको हो मैले लागू औषध देखेको र कारोबार गरेको समेत छैन भन्ने समेत व्यहोराको प्रतिवादी लालबहादुर गुरुङले अदालतमा गरेको बयान ।

२४.   प्रहरीमा भएको बयान मलाई कुनै व्यहोरा नसुनाई कुटपिट गरी गराएको हो मेरो राजीखुसीबाट गराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सोनाम शेर्पाले अदालतमा गरेको बयान ।

२५.   लालबहादुर गुरुङले लागू औषधको कारोवार गरेको भन्ने विश्वास लाग्दैन भन्ने प्रतिवादी लालबहादुरको साक्षी ढोर्को गुरुङले गरेको बकपत्र ।

२६.   गोपी गुरुङले लागू औषधको कारोवार गरेको भन्ने विश्वास लाग्दैन भन्ने गोपी गुरुङको साक्षी कृष्णबहादुर गुरुङको बकपत्र ।

२७.   सोनाम गुरुङ लागू औषधको कारोवार गर्दछन भन्ने मलाई विश्वास लाग्दैन निज ट्रेकिङमा काम गर्दैछन भन्ने सोनामको साक्षी आङलामा शेर्पाको बकपत्र ।

२८.   एकबहादुरले लागू औषधको कारोवार गरेको मलाई थाहा छैन भन्ने एकबहादुरको साक्षी कुलबहादुर तामाङको बकपत्र ।

२९.   छवि गुरुङ विद्यार्थी हो निजले लागू औषधको कारोवार गर्दिनन । हामी अघिदेखि आमा छोरीको व्यवहार गरी बसेका छौं भन्ने समेत व्यहोराको छवि गुरुङको साक्षी सूर्यकुमारी गुरुङको बकपत्र ।

३०.   यमबहादुरले लागू औषध सम्बन्धी काम गरेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको यमबहादुरको साक्षी होमबहादुर गुरुङको बकपत्र ।

३१.   लालबहादुर, डिल्लीराम, गोपी गुरुङ समेतलाई ठहिटीमा फेला पारी सोधपुछ गर्दा हेरोइन छवि गुरुङको कोठामा राखेको छ भनेकोले सो कोठामा गई तलासी गरी ७०० ग्राम हेरोइन र छवि गुरुङ समेत ४ जनालाई पक्राउ गरी पेश गरेको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्काका प्र.ना.नि. दामोदर लामिछानेले गरेको बकपत्र ।

३२.   छवि गुरुङको डेरा खानतलासी गर्दा सेतो हेरोइन बरामद भएकोले मुचुल्का लेखी पेश गरेको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा काम तामेल गर्ने प्र.ना.नि. गोपालप्रसाद श्रेष्ठले गरेको बकपत्र ।

३३.   निज प्रतिवादीहरुले आफूलाई लागेको आरोप लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ अनुसार प्रमाणको भार प्रतिवादीमा नै निहित रहँदा उक्त कुरा आफूले गरेको होइन भनी तथ्ययुक्त प्रमाण पेश गर्न सक्नु पर्ने बाध्यात्मक व्यवस्था भए अनुरुप खगेन्द्र राई, डिल्ली राम उपाध्याय, तिलक श्रेष्ठ एकबहादुर लामा, एमबहादुर गुरुङ र सोनाम सेर्पा समेतका ६ जना प्रतिवादीहरुले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को तत्काल प्रचलित दफा ४(ख) को कसूर गरेको देखिँदा निजहरुबाट भएको अपराधको मात्रा कसूरको प्रकृति एवं गंभीरतालाई समेत दृष्टिगत गरी निजहरुलाई ऐ.ऐनको दफा १४(ख) अनुसार जनही ८ आठ वर्षका दरले कैद र १०,०००।रुपैयाँका दरले जरिवाना हुने ठहर्छ बाँकी अभियुक्त मध्ये गोपी गुरुङ, लालबहादुर गुरुङ र डिल्लीराम गुरुङका हकमा निजहरुले छवि गुरुङको डेरामा रहेको सेतो धुलो हेरोइन नै हो भन्ने थाहा जानकारी नभएको, हेरोइनको दर भाउ समेत यकीन नभएको, अन्जान स्थितिमा नमूना लिई छोडेको भन्ने कुरा मिसिल संलग्न कागजातबाट देखिएको तर बरामद गरेको प्रमाणित नभएकोले निजहरु लागू औषधको बिक्री गर्ने कार्यमा लागी सकेको व्यक्ति नभए तापनि यस्तो लागू औषध जस्तो जघन्य अपराधमा माथि उल्लेखित अपराधीलाई मद्दत पुर्‍याएको देखिएको अभियुक्त मध्ये लालबहादुर गुरुङ, डिल्लीराम गुरुङ, गोपी गुरुङलाई मतियारसम्म मान्नु पर्ने हुन आई कसूरको प्रकृति र गम्भीरताको विचार गरी ऐ. ऐनको दफा १७ अनुसार जनही २ दुई वर्ष ६ महीनाका दरले कैद र १०००।रुपैयाँका दरले जरिवाना हुने ठहर्छ । अभियुक्त छवि गुरुङको हकमा निजकहाँ राख्न ल्याएको वस्तु के हो भन्ने सोधखोजै नगरी राख्न दिई अभियुक्त यमबहादुर समेतलाई सघाउ पुर्‍याएको देखिएबाट निश्चित दायित्वको सिद्धान्तले निज छवी गुरुङ विलकुलै निर्दोष भन्न मिलेन । नजानीकन भए पनि लागू औषध वस्तु राख्न दिई यमबहादुर समेतका अभियुक्तलाई सहयोग गरेबाट निजलाई कसूरको मात्रा हेरी ऐ.ऐन दफा १७ बमोजिम कैद वर्ष २ दुई र ५००।रुपैयाँ जरिवाना हुने ठहर्छ भन्ने समेत मिति २०४५।९।७।४ को वागमती विशेष अदालतको फैसला ।

३४.   अपराधमा सरिक रहेका ४ जना व्यक्ति सुश्री छवि गुरुङ, डिल्लीराम गुरुङ, गोपी गुरुङ र लालबहादुर गुरुङलाई सहुलियत दिई म अपराधमा संलग्न नभएको व्यक्तिलाई ८ वर्ष कैद र रु. १००००।जरिवाना गर्ने गरी भएको फैसलामा मेरो चित्त बुझेन उक्त शुरु वागमती विशेष अदालतबाट भएको गैरकानुनी फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी यमबहादुर गुरुङको मिति ०४५।११।३ पुनरावेदनपत्र ।

३५.   म आफूले कुनै पनि लागू औषधको कारोवार नगरेको व्यक्तिलाई ८ आठ वर्ष कैद रु. १०,०००।जरिवाना गर्ने गरी गरेको मिति २०४५।९।७।४ मा भएको फैसलामा मेरो चित्त बुझेन उक्त वागमती विशेष अदालतबाट भएको गैरकानुनी फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम सफाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४५।१०।१७।२ को सोनाम शेर्पाको पुनरावेदन ।

३६.   वागमती विशेष अदालतबाट यमबहादुर गुरुङले खगेन्द्रलाई पनि मेरो साथमा थियो भनी प्रहरीमा बयान गर्दैमा मलाई ८ वर्ष कैद र रु. १०,०००।जरिवाना गरी भएको फैसलामा मेरो चित्त बुझेन म लागू औषध बिक्री गर्ने कार्यमा संलग्न छैन उक्त वा.वि.अ.को फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम सफाई पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।१०।१७।२ को खगेन्द्र राईको पुनरावेदन ।

३७.   वागमती विशेष अदालतबाट मलाई लागू औषध बिक्री वितरण गर्नमा संलग्न रहेको भनी ८ आठ वर्ष कैद र रु. १०,०००।जरिवाना समेत गर्ने गरी भएको फैसलामा मेरो चित्त बुझेन उक्त कानुनी त्रुटिपूर्ण फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम सफाई पाउँ भन्ने समेत व्यहोराको डिल्लीराम उपाध्यायको मिति २०४५।११।१२।५ को पुनरावेदन पत्र ।

३८.   वागमती विशेष अदालतबाट मलाई लागू औषध बिक्री वितरण गर्नमा संलग्न भएको भनी कैद वर्ष ८ आठ र जरिवाना रु. १०,०००।गर्ने गरी भएको फैसलामा मेरो चित्त बुझेन मुख्य कसूरदारलाई सहुलियत दिई मलाई गडाउ गरी भएको फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम सफाई पाउँ भन्ने समेत व्यहोराको मिति ०४५।११।१९।५ को एकबहादुर लामाको पुनरावेदन ।

३९.   वागमती विशेष अदालतबाट मलाई बुझ्नुपर्ने प्रमाण नबुझी कसूरदार ठहर्‍याई कैद वर्ष ८ आठ र रु. १०,०००।जरीवाना समेत गर्ने गरी भएको फैसलामा मेरो चित्त बुझेन उक्त शुरु वागमती विशेष अदालतबाट भएको फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम गरिपाउँ भन्ने व्यहोराको मिति २०४५।१२।१५।३ को तिलक श्रेष्ठको पुनरावेदन ।

४०.   प्रतिवादी मध्येका गोपि गुरुङ, लालबहादुर गुरुङ, डिल्लीराम गुरुङ, र सुश्री छवी गुरुङ समेतलाई पनि लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(ख) अनुसारको सजायँ हुन माग दावी भएकोमा वागमती विशेष अदालतबाट फैसला गर्दा ऐ.ऐनको दफा १७ अनुसार सजायँ हुने ठहर्छ भनी भएको फैसलामा वादी श्री ५ को सरकारको चित्त बुझेन उक्त गैरकानुनी फैसला बदर गरी निजहरुलाई पनि लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूर गरेको हुँदा ऐ.ऐनको दफा १४(ख) अनुसार सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४६।३।२५।१ को वादी श्री ५ को सरकारको पुनरावेदन ।

४१.   यसमा जाहेरीबाट हिरोइन बिक्री गर्ने प्रतिवादी मध्येका लालबहादुर गुरुङ समेतले सम्पर्क राखेको देखिएको र प्रतिवादी छवी गुरुङको डेराबाट खानतलासी गर्दा ७०० ग्राम हिरोइन बरामद भएको देखियो । अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीहरुले लागू औषधको खरीद बिक्री गर्ने सल्लाह गरी हिरोइन खरीद बिक्री गरेको र एकले अर्कोलाई पोल गरी अपराधको विवरण खुलाई दिएको देखिनुको अतिरिक्त अदालतमा इन्कारी बयान गरेको तर शुरु बयान कागजमा लागेको सहिछाप निजकै हो भनी उल्लेख गरेको देखियो । प्रहरीले कुटपिट गरी सहिछाप गराएको भन्ने जिकिर लिएकोमा घाउखत नदेखिएको घाउ जाँच गराएको समेत देखिंदैन । तसर्थ सहअभियुक्तको पोलबाट मात्र कसुरदार कायम गर्न नमिल्ने भनी विद्वान अधिवक्ताहरुले लिएको जिकिर तर्फ हेर्दा प्रतिवादीहरुको सावितीलाई बरामद भएको दशीबाट समर्थन भएको र प्रतिवादीहरुले अदालत समक्ष बयान गर्दा उठाइएका जिकिर पुष्टि हुने गरी ठोस सबूद प्रमाण गुजार्न सकेको समेत नदेखिँदा शुरुमा प्रतिवादीहरुले कसूर गरेको भनी गरेको साविती बयान डरत्रासमा परी गरेको भन्ने नदेखिँदा वागमती विशेष अदालतको फैसलामा उल्लेखित बुँदा प्रमाण समेतबाट शुरु वागमती विशेष अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकार र पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ.को २०४६।९।९।१ को फैसला ।

४२.   प्रतिवादी लालबहादुर गुरुङ, प्र.गोपि गुरुङ, प्र.डिल्लीराम गुरुङ, प्र.सुश्री छवी गुरुङलाई लागू औषध नियन्त्रण संशोधन सहित ऐन, २०३३ को दफा ४(घ) को कसूरमा दफा १४(ख) बमोजिम सजायँको मात्र दावी गरिएकोमा उक्त ऐनको दफा १७ को कसूर ठहर्‍याई प्र.लालबहादुर, प्र.डिल्लीराम र गोपीलाई २ वर्ष ६ महीना कैद र रु. १ हजार जरीवाना र प्र.छवि गुरुङलाई २ वर्ष कैद र रु. ५००।जरिवाना गरिएको शुरु इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफमा चित्त बुझेन निज प्र.हरुलाई माग दावी बमोजिम नै सजायँ हुनु पर्ने सो नगरेको म.क्षे.अ.को इन्साफ उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी श्री ५ को सरकारको पर्न आएको निवेदनमा मतियार र सहयोगी मानी उपरोक्त ४ जना प्रतिवादीहरुलाई दफा १७ प्रयोग गरी तजविजी प्रयोग गरेको त्यस्तो तजविजी प्रयोग गर्ने दफा १७ मा कानुनी व्यवस्था नहुँदा ऐनको दफा १७ को त्रुटि हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिने भन्ने यस अदालत संयुक्तइजलासको २०४७।१।११ को आदेश ।

४३.   साथै लागू औषध जस्तो अपराधमा बिना प्रमाण आधार वेगर कसूरदार ठहर गर्न नमिल्नेमा कसूरदार ठहर गरेको र यदि कसूरदार नै ठहर गरेमा पनि १ वर्षभन्दा बढी कैद नहुनेमा त्रुटिपूर्ण तवरले बढी कैद ठेक्ने तथा सजायँ गर्ने गरेको म.क्षे.अ.को इन्साफ कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी यमबहादुर गुरुङले, प्र.सोनाम सेर्पा, प्र.एकबहादुर लामा प्र.खगेन्द्र राई, प्र.डिल्लीराज उपाध्याय, प्र.तिलक श्रेष्ठ समेतको अलग अलग पर्न आएको निवेदनमा घर कोठाबाट लागू औषध बरामद भएकोलाई ऐनको दफा ४(घ) अनुसारको अभियोग लगाउन मिल्ने नदेखिने र घर कोठाबाट लागू औषध बरामद भएको अवस्थामा ऐनको दफा ४(च) अनुसारको लागू औषध संचय गर्ने राख्ने सम्मको कसूर देखिने हुँदा प्रतिवादीलाई दफा ४(च) को कसूर गरेको भनी दफा १४(ख) अनुसार सजायँ गर्ने गरेको म.क्षे.अ.को फैसलामा उक्त दफा ४ र १४ को व्याख्यात्मक त्रुटि देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(१) अनुसार अनुमति दिने भन्ने समेत यस अदालत संयुक्तइजलासको २०४७।२।८ को आदेश रहेछ ।

४४.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी यमबहादुर गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्र.डिल्लीराज उपाध्यायको तर्फबाट विद्वान अधिवक्ता श्री लक्ष्मण पौडेल तथा विद्वान अधिवक्ता श्री भगवान गुरुङ प्र.सोनाम सेर्पाको तर्फबाट विद्वान अधिवक्ता श्री यादव खरेल प्र.खगेन्द्र राईको तर्फबाट विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी तथा विद्वान अधिवक्ता श्री आशिष कार्कीले प्रतिवादीहरु प्रहरी समक्ष साविती भए तापनि आफू कसूरदार रहेको कुरामा इन्कारी रहेको छन् प्रहरीमा भएको बयानलाई स्वतन्त्र रुपमा प्रमाणमा लिन मिल्ने स्थितिको छैन । प्रहरीको बयानलाई पुष्टी हुने अरु प्रमाणहरु वादी पक्षबाट प्रस्तुत हुन सकेको छैनन् केवल बरामदी मुचुल्कालाई नै आधार बनाएर प्रतिवादीहरुलाई सजायँ गरिएको छ लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को कसूरमा दफा १४(ख) बमोजिम सजायँको माग दावी लिई सो बमोजिम सजायँ गरेको म.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण छ । प्रतिवादीहरुले विक्री वितरण गरेको भनी अभियोग लगाइएकोमा सो बिक्री वितरण गरेको भन्ने कुनै पनि प्रमाण वादी पक्षबाट पेश भएको छैन । छवि गुरुङको घरबाट बरामद भएको लागू औषधलाई नै बिक्री वितरण गरेको भनी आकर्षित हुनै नसक्ने कानुनको दफा लगाई सजायँ गरिएको छ । यदि प्रतिवादीहरु उपर सजायँ हुन सक्ने अवस्था छ भने लागू औषध नियन्त्रण ऐनको दफा ४(च) को अभियोगमा ऐ. दफा १४(ग) अनुसार १ वर्ष कैद र १०,०००।सम्म जरिवाना हुन सक्दछ । गलत कानुनको प्रयोग गरी सजायँको माग दावी लिई प्रतिवेदन प्रस्तुत भइसकेपछि अब उक्त ऐनको प्रयोग समेत नगरी अभियोगबाट सफाई पाउने स्थिति छ साथै बरामदी मुचुल्का कानुन बमोजिमको छैन । बरामद भएको भनिएको हेरोइनको वैज्ञानिक परीक्षण समेत गरिएको छैन । लागू औषध नियन्त्रण अधिकारीको हैसियतले मात्र प्र.जि.अ.ले खानतलासी आदेश गर्न सक्ने हो, प्र.जि.अ.ले त्यस प्रकार आदेश गर्न मिल्दैन । लागू औषध नियन्त्रण अधिकारीको हैसियतले मुद्दा दायर गरेको समेत नहुँदा प्रतिवादीहरुलाई अभियोगबाट छुट्कारा हुनुपर्दछ प्रतिवादीहरुलाई गिरफ्तार गर्न लागू औषध नियन्त्रण अधिकारीबाट वारेन्ट जारी भएको छैन । कारवाही कानुनी प्रकृया विहिन छ भन्ने र वादी श्री ५ को सरकार तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी. ले उपरोक्त प्रतिवादीहरुलाई लगाइएको अभियोग तथा सजायँ समेत मिलेको छ । बरामदी मुचुल्का रीतपूर्वक भएको र मुद्दा दायर समेत लागू औषध नियन्त्रण अधिकारीको हैसियतले दायर भएको कुरा पुष्टि गर्दै म.क्षे.अ.ले प्रतिवादी मध्येका लालबहादुर गुरुङ, गोपी गुरुङ, डिल्लीराम गुरुङ तथा सुश्री छवि गुरुङलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १० प्रयोग गरी तजबिजी कैद सजायँ गरेको मिलेको छैन म.क्षे.अ.ले दफा १७ को गलत प्रयोग गरेको छ उपरोक्त बमोजिम यमबहादुर गुरुङ लगायतका अन्य प्रतिवादीहरुलाई हुने सजायँको आधी सजायँ गर्नु पर्नेमा सो हदसम्म म.क्षे.अ.को इन्साफ केही उल्टी हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिर समेत सुनियो ।

४५.   प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको निर्णय मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

४६.   यसमा प्रतिवादी खगेन्द्र राई, प्र.सोनाम सेर्पा, प्र.डिल्लीराज उपाध्याय, प्र.तिलक श्रेष्ठ, प्र.छवि गुरुङ, प्र.डिल्लीराज गुरुङ, प्र.लालबहादुर गुरुङ, प्र.गोपी गुरुङ, प्र.एकबहादुर लामा, प्र.यामबहादुर गुरुङ समेतका व्यक्तिहरु उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) को कसूरमा दफा १४(ख) बमोजिमको सजायँको माग दावी लिई प्रहरी प्रतिवेदन दायर भएकोमा प्रतिवादी मध्येका खगेन्द्र राई, डिल्लीराम उपाध्याय, तिलक श्रेष्ठ, एकबहादुर लामा, यमबहादुर गुरुङ र सोनाम सेर्पा समेतका ६ जना प्रतिवादीहरुले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को तत्काल प्रचलित दफा ४(घ) को कसूरमा अपराधका मात्रा कसूरको प्रकृति एवं गम्भीरतालाई समेत दृष्टिगत गरी निजहरुलाई उक्त ऐनको दफा १४(ख) अनुसार ८ वर्षका दरले कैद र १०,०००।रुपैयाँका दरले जरीवाना हुने ठहर्छ । वादी अभियुक्त मध्ये गोपी गुरुङ, लालबहादुर गुरुङ, डिल्लीराम गुरुङका हकमा लागू औषध जस्तो जघन्य अपराधमा माथि उल्लेखित अपराधीलाई मद्दत पुर्‍याई मतियारसम्म मान्न पर्ने हुन आई कसूरका प्रकृति र गम्भीरताको विचार गरी ऐनको दफा १७ अनुसार जनही २ वर्ष ६ महीनाका दरले कैद र रु. १०००।रुपैयाँका दरले जरिवाना हुने ठहर्छ, छवि गुरुङको हकमा नजानीकन भए पनि लागू औषध वस्तु राख्न दिई यमबहादुर समेतका अभियुक्तलाई सहयोग गरेबाट कसूरको मात्रा हेरी ऐ. ऐनको दफा १७ बमोजिम जनही कैद वर्ष २ र जरिवाना रु. ५००।हुने ठहर्छ भनी वागमती विशेष अदालतले गरेको इन्साफलाई म.क्षे.अ.ले सदर गरेको पाइन्छ ।

४७.   लागू औषध हिरोइन प्रतिवादी मध्येका छवि गुरुङका घरबाट बरामद भएको छ । खानतलासी गर्न औषध नियन्त्रण अधिकारीलाई तोकिएकोमा प्र.जि.अ.बाट भएको आदेश बमोजिम भएकोले बरामदी मुचुल्का गैरकानुनी छ भन्ने तर्कको हकमा औषध नियन्त्रण अधिकारीमा प्र.जि.अ.लाई तोकेकोमा विवाद देखिएन । प्र.जि.अ.ले आदेश दिएको मिसिलबाट देखिन्छ । प्र.जि.अ.को आदेश लागू औषधको सम्बन्धमा लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको अपराधको अनुसन्धानको सिलसिलामा दिएको आदेशलाई लागू औषध नियन्त्रण अधिकारीको आदेश होइन भनी भन्न मिल्ने देखिएन । प्र.जि.अ.ले खानतलासी गर्न दिएको स्वीकृति बमोजिम खानतलासी भएको छ र सो खानतलासी कानुन बमोजिम अधिकार प्राप्त अधिकृतबाट भएको देखिएकोले बरामदी मुचुल्का गैरकानुनी छ भन्ने तर्कसंग सहमत हुन सकिएन । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ७ बमोजिम औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गरेको छैन वारेण्ट बिना प्रतिवादीहरुलाई पक्राउ गरी कारवाही चलाई सजायँ गरेको कानुनी प्रकृया विहिन छ भन्ने बहस बुँदाको हकमा लागू औषध सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा पर्ने श्री ५ को सरकार वादी मुद्दा भएको र अनुसन्धान कारवाहीको सिलसिलामा अभियुक्तहरुलाई पक्राउ गर्न सक्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ ले समेत व्यवस्था गरेकोले औषध नियन्त्रण अधिकारीले अभियुक्तहरुलाई पक्राउ गर्न वारेण्ट जारी नगरेकोबाट सम्पूर्ण कारवाही कानुनी प्रक्रिया विहिन छ भन्ने तर्क कानुनसंगत देखिन आएन ।

४८.   सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को (संशोधन सहित) दफा ३(४) अनुसार प्रहरी प्रतिवेदन प्रस्तुत भएको कानुनसंगत छैन लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १९ ले लागू औषध नियन्त्रण अधिकारीले मुद्दा दायर गर्नु पर्नेमा नभएकोले अनाधिकृत भन्ने प्रश्न पनि बहसमा उठाइएको छ । लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्र.जि.अ.लाई लागू औषध नियन्त्रण अधिकारी तोकेको र प्र.जि.अ.को स्वीकृति बमोजिम प्रहरी प्रतिवेदन दायर भएको पाइन्छ । त्यसका अतिरिक्त लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २३ ले लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्र्तगतको मुद्दा श्री ५ को सरकार वादी हुने र सो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा समावेश भएको मानिने छ भनी उल्लेख गरेको र सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा समावेश भएको देखिएकोले सो ऐन अनुसार दायर भएको प्रहरी प्रतिवेदनको आधारमा कारवाई चल्न नसक्ने भनी सहमत हुन सकिने अवस्था देखिन आएन ।

४९.   प्रतिवादी मध्येका छवि गुरुङको घरबाट लागू औषध हेरोइन बरामद भएको छ । सो लागू औषध हेरोइन होइन भनी विवाद उठाएको पाइँदैन । प्रहरीको कागजमा प्रतिवादीहरुले सेतो धुलो हेरोइन हो भनी स्वीकार गरेको पाइन्छ । अदालतमा सो कुराको जिकिरसम्म पनि लिएको पाइएन । जुन विषयमा शुरुमा नै विवाद उठाएको नदेखिएपछि विवाद नउठाइएको कुरामा अब आएर विशेषज्ञबाट नजचाएकोले हेरोइन नै होइन, यकीन गर्नु नमिल्ने भन्नु कानुनसंगत भएन ।

५०.   लागू औषध हेरोइन छवि गुरुङको घरबाट निजको रोहवरमा बरामद भएको छ । यमबहादुर गुरुङले राख्न दिएकोले राखेको हुँ भनी प्रहरी कागजमा छवी गुरुङले लेखाएको पाइन्छ । सो कुरालाई छवि गुरुङले बा.वि.अ.मा गरेको बयानमा पनि स्वीकार गरेको छ । यमबहादुरले अदालतमा गरेको बयानमा छवि गुरुङको कागज बयानलाई अस्वीकार गरेको छ । प्रहरीको कागजमा भने छवि गुरुङको डेरामा झोला राखेमा सावित रही तिलक श्रेष्ठ र खगेन्द्र राईसंग भएको ७०० ग्राम हेरोइन बिक्री गर्न मन्जूर गरी बिक्री नभएकोले खगेन्द्र राईको डेरामा एक रात राखेपछि छवि गुरुङ कहाँ राखेकोमा सावित रहेको पाइन्छ । बरामद भएको हेरोइनको तौल समेत मिलेको र खगेन्द्र राईले गरेको कागजबाट यमबहादुरको कागज अनुसार एक रात आफू कहाँ हेरोइन राखेको कुरालाई स्वीकार गरेको छ । तिलक श्रेष्ठले एकबहादुरबाट लिएको र निजले यमबहादुरलाई दिएको कुरा तिलक श्रेष्ठको कागजबाट देखियो । एकबहादुरले लालबहादुरको साथ लागि चाबहिलमा गई डिल्लीराज उपाध्याय मार्फत सो बरामद भएको हिरोइन लिएको र डिल्लीराज उपाध्यायले सोनाम सेर्पाबाट पाई मूल्य तिर्ने गरी लिएको पाइन्छ । सोनाम शेर्पाले डिल्लीराजको भनाईलाई स्वीकार गरेको पाइन्छ । निज पुनरावेदक प्रतिवादीहरु अदालतमा इन्कार रहे पनि छवि गुरुङ कहाँबाट बरामद हुन आएको ७०० ग्राम हेरोइन नै सोनाम त्यसपछि डिल्लीराज, तिलक श्रेष्ठ, एकबहादुर यमबहादुर कहाँ आएको कुरा निजहरुले गरेको कागजबाट देखिएको छ । प्रतिवादीहरुले एक अर्कालाई पोल्नु पर्ने मनासिब माफिकको कारण देखाउन सकेको पाइँदैन । सो परस्परको पोललाई समर्थन हुने दशी ७०० ग्राम हेरोइन बरामद भएको छ सोही बरामद हुन आएको हेरोइनको आधारमा प्रतिवादीहरुको साथ समय समयमा तह तहमा बरामद भएको हेरोइन आफू कहाँ रहन आएको क्रमबद्धतालाई प्र्र्रष्टाएको देखिन्छ । अदालतको इन्कारी नै प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिनु पर्याप्त हुँदैन । निजहरुको सावितीको सम्पुष्टि बरामद भएको हेरोइनबाट भइरहेको छ । त्यसका अतिरिक्त निज पुनरावेदकहरुले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ अनुसार सफाइको तथ्ययुक्त सबूद दिनसकेको पाइएन । तसर्थ पुनरावेदक प्रतिवादीहरु पूर्णतः निर्दोष छन् भनी मान्न सकिने अवस्था देखिएन । प्रतिवादीहरु मध्ये पुनरावेदन गर्ने यमबहादुर गुरुङ, एकबहादुर लामा, खगेन्द्र राई, डिल्लीराज उपाध्याय, तिलक श्रेष्ठलाई तत्काल प्रचलित लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) को कसूरमा सोही ऐनको दफा १४(ख) बमोजिम सजायँको माग गरी प्रहरी प्रतिवेदन दायर भएको पाइन्छ । जसअनुसार लागू औषधको बिक्री वितरणको अभियोगमा ३ वर्ष देखि १४ वर्षसम्मको कैद र १ लाखसम्म जरिवानाको व्यवस्था छ । वागमती विशेष अदालतले पुनरावेदक प्रतिवादीहरुलाई जनही ८ वर्ष कैद र १० हजार जरिवाना गरी गरेको फैसलालाई म.क्षे.अ.ले सदर गरेको छ । पुनरावेदक प्रतिवादीहरुले बिक्री गर्न तह तह लागू औषध लिए राखेको कुरा मात्र मिसिलबाट देखिन्छ रुपियाँको लेनदेन भई बिक्री भएको कार्य भएको पाइदैन । सोनाम शेर्पा देखि लिएर छवि गुरुङ कहाँबाट बरामद भएको हेरोइन यथास्थितिमा रहेको छ । बिक्री गर्ने व्यवसायलाई तह तह राख्दै लिंदै गरेको कार्य बिक्री वितरणको परिभाषा भित्र पर्ने देखिंदैन । दावी बमोजिम प्रतिवादी पुनरावेदकहरुले हेरोइन बिक्री वितरणको कार्य गरेको कुनै ठोस सबूद छैन । मिसिलबाट खुलेको पनि छैन पुनरावेदक प्रतिवादीहरुले तत्काल प्रचलित लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ) को कसूर गरेको प्रमाणित हुन आएन । सो हुँदा निजहरुले १४(ख) बमोजिम सजायँको भागिदार हुनु पर्ने अवस्था पनि रहेन तर पुनरावेदक प्रतिवादीहरुले लागू औषध हेरोइन लिए राखेको निजहरुकै भनाईबाट र बरामद भएको लागू औषध हेरोइनबाट समर्थित हुन आएकोले प्रतिवादीहरुले लागू औषध सञ्चय गर्ने राख्ने, ओसार पसार गर्ने ऐनको दफा ४(च) को कसूर गरेको सम्म देखिन आएकोले लागू औषध (नियन्त्रण) ऐन, ०३३ को दफा १४(ग) अनुसार तपसील बमोजिम कैद सजायँ हुने देखिन्छ ।

५१.   श्री ५ को सरकार तर्फबाट परेको पुनरावेदनमा लालबहादुर गुरुङ, गोपी गुरुङ, डिल्लीराम गुरुङ छवि गुरुङका हकमा दावी बमोजिम सजायँ भएन भनी पुनरावेदन जिकिर लिएको पाइयो । म.क्षे.अ.ले वागमती विशेष अदालतको फैसलालाई सदर गरेको पाइन्छ । जसअनुसार लालबहादुर, डिल्लीराम र गोपी गुरुङलाई मतियार र छवी गुरुङलाई सहयोग पुर्‍याउने भनी लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा १७ बमोजिम सजायँ गरेको पाइयो । लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा १७ को व्यवस्था हेर्दा यस ऐन अन्तर्गत सजायँ हुने, अपराध गर्ने षडयन्त्र वा उद्योग गर्ने त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गर्ने वा त्यस्तो अपराध गर्नेमा मतियार हुने व्यक्तिलाई सोही अपराध गरे बापत हुने सजायँको आधी सजायँ हुने व्यवस्था भएको पाइन्छ । सोनाम शेर्पा समेतका प्रतिवादीहरुलाई ऐनको दफा १४(ख) बमोजिम ८ वर्ष कैद र १०,०००।रुपैयाँ जरिवाना हुने ठहर भएपछि म.क्षे.अ.ले सदर गरेको वागमती विशेष अदालतको फैसलाले ऐनको दफा १७ लगाई तजविजी सजायँ गर्न सक्ने देखिन आएन । विशेष अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को फैसला उपर प्रतिवादीहरुको पुनरावेदन नपरेको र श्री ५ को सरकार तर्फबाट परेको पुनरावेदनबाट उक्त फैसलाहरुले प्रतिवादीहरुलाई गरेको सजायँ कानुन प्रतिकूल देखिइसकेपछि सो सजायँलाई प्रतिवादीहरुको पुनरावेदन नपरेको भन्ने कारणबाट सदर कायम राख्नु कानुनसंगत भएन । अन्य प्रतिवादीहरुको हकमा वारदात लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) को बिक्री वितरणको ठहर भई सो ऐनको दफा ४(च) को कसूर ठहर भएको छ वारदात नै फरक परेपछि पुनरावेदन नगर्ने प्रतिवादीहरुको हकमा अ.बं. २०५ नं.ले पनि विचार गर्न सक्ने नै देखिन्छ । यी प्रतिवादीहरुका हकमा श्री ५ को सरकारको पुनरावेदन पनि परेकै छ । प्रतिवादीहरुको अपराधसंग प्रत्यक्ष सम्बन्ध रहेको मिसिलबाट देखिन्छ । लागू औषध हिरोइन साथमा लिई हिंडे लगेको र घर कोठामा राखेको मिसिलबाट देखिन आएको र सोनाम समेतका प्रतिवादीहरु भन्दा पृथक प्रतिवादीहरुको स्थिति देखिन नआएकोले लालबहादुर, डिल्लीराम, गोपी गुरुङ र छवि गुरुङका हकमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७ आकर्षित हुने देखिन आएन । निजहरुले पनि लागू औषध लिए लगी हिंडेको र सञ्चय गरेको निजहरुको कागजबाट समर्थित देखिँदा निजहरुले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (च) अनुसारको कसूर गरेकोले ऐनको दफा १४(ग) अनुसार तपसील बमोजिम सजायँ हुन्छ । वागमती विशेष अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को फैसला केही उल्टी हुन्छ ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वागमती विशेष अदालतको मिति २०४५।९।७।४ को फैसलालाई मनासिब ठहर गरेको म.क्षे.अ.को मिति ०४६।९।९।१ को फैसला केही उल्टी भई फैसला भएकोले उक्त बा.वि.अ.तथा म.क्षे.अ.का फैसलाको तपसील खण्डमा कायम गर्ने गरेको लगत कट्टा गरी दिनु भनी का.जि.अ.त. मा लगत दिनु.............१, माथि इन्साफ खण्डमा लेखिए बमोजिम देहायका प्रतिवादीहरुले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (च) अनुसारको कसूर गरेको भई ऐ. ऐनको दफा १४(ग) अनुसार देहाय बमोजिम कैद र जरिवाना हुने ठहरेकोले सो को लगत खडा गरी देहायका प्रतिवादीहरु एकै मिति २०४३।६।१७ देखि थुनामा परी ऐन बमोजिम लागेको १ वर्ष कैदको अवधि २०४४।६।१६ मा भुक्तान गरी जरिवाना वापतको समेत मु.ऐ. दण्ड सजायँको ५३ नं.बमोजिम जरिवाना बापत हुने कैद दिन १३ (तेह्र) महीना १० दिन समेत थुनामा रही भुक्तान गरी सकेको देखिएकोले सो जनाई लगत कट्टा गरी दिनु भनी का.जि.अ.त. मा लगत दिनु र हालसम्म निज प्र.हरु थुनामा नै रहेको देखिई थुनाबाट छुट्कारा पाउने हुँदा यस मुद्दा बाहेकका अन्य मुद्दामा थुनामा बस्नु पर्ने नभए अविलम्ब प्रस्तुत मुद्दाको थुनाबाट छुट्कारा दिनु भनी छिटो साधनद्वारा सम्बन्धित कारागार शाखामा लेखी पठाउनु ..............२,

प्र.यमबहादुर गुरुङके कैद वर्ष १ जरिवाना रु. १००००।

प्र.खगेन्द्र राई कै     ऐ.    ऐ.    ऐ.

प्र.तिलक श्रेष्ठ कै     ऐ.    ऐ.    ऐ.

प्र.एकबहादुर लामा कै ऐ.    ऐ.    ऐ.    ऐ.

प्र.डिल्लीराम उपाध्याय कै ऐ. ऐ.    ऐ.    ऐ.

प्रतिवादी सोनाम सेर्पाकै माथि इन्साफ खण्डमा लेखिए बमोजिम लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (च) को कसूरमा ऐ. दफा १४(ग) अनुसार १(एक) वर्ष कैद र रु. १०,०००।दश हजार जरीवाना हुने ठहरी फैसला भएकोले सो को लगत खडा गरी निज सोनाम सेर्पा मिति २०४३।६।१७ देखि थुनामा रही यस अदालतका मिति २०४७।१२।१२।३ का आदेश बमोजिम कैद बापत रु. २१,०००।एक्काइस हजार जरिवाना बापत रु. ११,०००।एघार हजार धरौट दाखेला गरी धरौट तोरखमा बसेको देखिँदा निजलाई ऐन बमोजिम हुने कैद १ एक वर्ष तथा जरिवाना बापत समेत १ वर्ष एक महीना दश दिन थुनामा नै रही भुक्तान गरी सकेको देखिँदा सो जनाई लगत कट्टा गरी निज प्र.सोनाम सेर्पाको कैद तथा जरिवाना बापत दाखेल हुन आएको धरौट रु. ३२,०००।बत्तीसहजार फिर्ता पाउँ भनी ऐन बमोजिमको दर्खास्त पर्न आए कानुन बमोजिम फिर्ता दिनु भनी का.जि.अ.त. मा लगत दिनु ...........३, पुनरावेदक नपरे पनि वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परी आएको देहायका प्रतिवादीकै माथि इन्साफ खण्डमा लेखिए बमोजिम लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(च) को कसूरमा ऐ. को दफा १४(ग) अनुसार १ वर्ष कैद र रु. १०,०००।दशहजार जरिवाना हुने ठहरेकोले सो को लगत राख्नु भनी का.जि.अ.त. मा लगत दिनु........४

प्र.लालबहादुर गुरुङ कै कैद वर्ष एक र जरिवाना रु. १०,०००।–, प्र.डिल्लीराम गुरुङ कै कैद वर्ष एक र जरिवाना रु १०,०००।–, प्र.गोपी गुरुङ कै कैद वर्ष एक र जरिवाना रु १०,०००।–, प्र.सुश्री छवी गुरुङ कै कैद वर्ष एक र जरिवाना रु १०,०००।–,

उपरोक्त दफा ४ मा लेखिएका प्रतिवादीहरु २०४३।६।१७ देखि थुनामा रही वागमती विशेष अदालतका मिति २०४५।९।७ का फैसला आदेश बमोजिम लागेको २ वर्ष ६ महीना कैद रु. १०००।जरिवाना तिरी कैद कट्टी मिन्हा गरी थुनाबाट छुट्टी सकेको देखिएको र माथि इन्साफ खण्डमा लेखिए बमोजिम निज प्रतिवादी लालबहादुर गुरुङ, डिल्लीराम गुरुङ समेत १ वर्ष कैद र जरिवाना बापत मुलुकी ऐन दण्ड सजायँको ५३ नं.बमोजिम जरिवाना बापत हुने कैद महीना १३ १० दिन समेत थुनामा रही कानुन बमोजिम असूल भइसकेको देखिएकोले सो को व्यहोरा जनाई कानुन बमोजिम गर्न र प्र.मध्येकी सुश्री छवी गुरुङ समेत मिति २०४३।६।१७ देखि थुनामा रही वा.वि.अ.का २०४५।७।७ को फैसला बमोजिम रु. ५००।समेत जरिवाना तिरी थुनाबाट मुक्त भइसकेको देखिएकोले माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजलाई लाग्ने कैद वर्ष एक र जरिवाना र. १०,०००।को हुने दण्ड सजायँको ५३ नं.अनुसार कैद जरिवाना वापतको सजायँ समेत भुक्तान गरिसकेको देखिएको वा.वि.अ.का फैसला बमोजिम जरिवाना गरेको रु. ५००।०४५।९।७ मा दाखेल गरेको देखिएकोले कानुन बमोजिम फिर्ता माग्न दर्खास्त परे फिर्ता दिनु भनी का.जि.अ.त.मा लगत दिनु ..........५, बरामद भएको लागू औषध कानुन बमोजिम गर्नु भनी का.जि.अ.त. लगत दिनु ..............६, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...........७

 

उक्त रायमा म सहमत छु ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०४८ साल फाल्गुण ४ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु