निर्णय नं. ४५४८ - जीउ मास्ने बेच्ने

निर्णय नं. ४५४८ ने.का.प. २०४९ (ख) अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४५ सालको फौ.पु.नं.५३१, ५८०
फैसला भएको मिति: २०४९।३।२१।१ मा
पुनरावेदक/प्रतिवादी: केन्द्रीय कारागार शाखा काठमाडौंमा थुनामा रहेको कृष्णबहादुर घलान
विरुद्ध
विपक्षी/वादी: पार्वती वाइवाको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक/प्रतिवादी: जि.का. कारागार शाखा काठमाडौं, भद्रगोल शाखामा थुनामा रहेको लालबहादुर मोक्तान
विरुद्ध
विपक्षी/वादी: पार्वती वाइवाको जाहेरीले श्री ५ को सरकार
मुद्दा : जीउ मास्ने बेच्ने
(१) ज्यू मास्ने बेच्नेको १ नं.मा कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्नु हुँदैन भन्ने व्यवस्था पाइन्छ । यहाँ बिक्री गर्ने उद्देश्यले नेपाल सरहद बाहिर लगी बिक्री गर्ने कार्य नै मुख्य निषेधित कार्य रहेको छ ।
(प्रकरण नं. २५)
(२) ज्यू मास्ने बेच्ने संगीन प्रकृतिका अपराधजन्य कार्यको हकमा सोही महल बमोजिम हुने सजायँलाई खण्डे र हदको सीमाले सीमांकन गर्न मिल्ने नहुँदा जीउ मास्ने बेच्ने महल बमोजिम कैद वर्ष (२०) बीसको सजायँ ठेक भएको अवस्थामा पुनरावेदनको रोहबाट निर्णय हुँदा थप सजायँ गर्न नमिल्ने भन्ने जिकिर सारगर्भित भन्न मान्न नमिल्ने ।
(प्रकरण नं. २६)
पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री नरहरी आचार्य, विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना
विपक्षी/वादीतर्फबाट: विद्वान का.मु. सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापती
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ
१. म.क्षे.अ.को मिति २०४५।८।२।५ को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. जि.म. हाडी खोला गा.पं. वा.नं.१ चकरी गाउँ बस्ने हाल नाम थाहा भएकी श्रीमती विष्णुमाया दोड्डले २०४३।२।२२ गतेका दिन म मकै हेर्न जान लाग्दा भेटी मेरो दिदी विरामी भई उपचारार्थ विरगंज अस्पतालमा भर्ना भएको छ, साथी कोही पाइएन वीरगंजसम्म घुमेर आउँ भनी वीरगंज लगी आफ्नो पति खोजतलास गर्न आएकी मिना राजबंशी समेतलाई लिई वीरगंज अस्पताल गएँ, त्यहाँबाट डंकन अस्पताल लगेछ भनी रक्सौल पुर्याई विष्णुमायाको दाई भन्ने र देवर भन्ने आएपछि ५ जना रेलमा गई बम्बैको चिम्बुर भन्ने ठाउँमा नेपाली आइमाई भएको घरमा बेची गए, निजले हामीलाई अन्यत्र लान बाहिर ल्याउँदा त्यहाँबाट भागी भारतीय प्रहरीले मिना र म समेतलाई आश्रममा लगी राखे, केही महीनापछि अड्डासार गरी पठाउँदा ०४३।४।२४ गते यस कार्यालयमा बुझाउँदा मौकाको कागज समेत गरी गएको छु । निज विष्णुमायालाई देखी चिनी पक्राउ गरी बुझाउन ल्याएको, निजको दाई भन्ने देवर भन्ने को हुन खुलाई बकाई कारवाही गरी पाउँ भन्ने समेत पार्वती वाइवाको जाहेरी दर्खास्त ।
३. इन्सपेक्टर अफ पुलिस काइम ब्रान्च बम्बईको पत्र साथ अड्डासार भई आएकी पार्वती लामा समेतलाई अभिभावकका जिम्मा लगाउन अड्डासार गरी पठाएको जिल्ला प्रहरी कार्यालय पर्साको पत्र समेत मिसिल संलग्न कागज ।
४. मैले देखे चिन्ने ठेगाना र नाम थाहा नभएकी एकजना २५।२६ वर्षकी स्वास्नी मानिसले मलाई फकाई भारतको बम्बई शरहमा लगी बिक्री गरेको हो भन्ने समेत व्यहोराको पार्वती लामा भन्ने पार्वती वाइवाले गरेको कागज ।
५. भारत बम्बईबाट अड्डासार हुँदै आएकी पार्वती वाइवालाई निजको अभिभावक जिम्मा लगाएको मिति २०४३।४।२४ को मिसिल संलग्न कागज ।
६. लोग्ने दिलिपकुमार र गाउँकै कृष्णबहादुर घलानको भनाई अनुसार पार्वतीलाई फकाई विरगंज लगी अस्पतालनेर केहिछिन बसेपछि कृष्ण आई डकंन जाउँ भन्ने खबर गरेपछि म र पार्वती डंकन पुगे त्यहाँबाट अर्को एकजना केटी, पार्वती म लोग्ने र कृष्ण समेत बम्बई गई लोग्ने समेत भई पैसा लिई बेचेको हो के कतिमा बेचे लोग्नेलाई नै थाहा होला भन्ने समेत प्रतिवादी विष्णुमाया दोड्डले प्रहरी समक्ष गरेको बयान ।
७. विष्णुमायाको लोग्ने मंगले भन्ने दिलिपकुमार मोक्तान र म समेतले २०४२ साल जेष्ठ महीनामा पनि एउटा केटी भारत बम्बैमा बेची रु ३।३ हजार बाँडी खाएको हो र मिति २०४३।२।२२ मा पार्वती र मिना राजबंशी भन्ने केटीहरुलाई भारतको बम्बैमा लगी बिक्री गरेकोमा सो बापत आएको रु. १३०००।– बम्बैका नचिनेका गुण्डाहरुले खोसी लिएका हुन भन्ने समेत प्रतिवादी कृष्णबहादुर घलानले प्रहरीमा गरेको बयान ।
८. ०४२ सालमा पनि कृष्णबहादुर र मैले एउटा केटी बम्बैमा लगी बिक्री गरी ३।३ हजार बाँडी खाएको हो, राम्री केटी बिक्री गर्न पाए पैसा आउँछ भनी श्रीमतीलाई भनेको श्रीमतीले पार्वतीलाई फकाई विरगंज लगेको त्यहाँ मिना भन्ने केटी पनि भेटी उनलाई समेत लिई बम्बैमा रु. १३,०००।– मा बिक्री गरेको, सो रुपैयाँ गुण्डाहरुले खोसी लिएका हुन भन्ने समेत प्रतिवादी मंगले भन्ने लालबहादुर मोक्तानले प्रहरी समक्ष गरेको बयान ।
९. मलाई बम्बई लगी बिक्री गरी आउने यीनै कृष्णबहादुर घलान र मंगले भन्ने लालबहादुर रहेछन् निजहरुलाई देखे चिन्हे भन्ने समेत पार्वती वाइवाले गरी दिएको सनाखत कागज ।
१०. गत जेष्ठ २० र २१ गते विष्णुमाया मेरो घरमा आएकी, नातिनीसंग गानगुन कुरा गरेकी थिई, २२ गते बिहान नातीनी पार्वतीलाई मकैबारीमा मकै हेर्न पठाएकोमा निज नातीनी घरमा नआई खोजतलास गर्दा फेला नपरेको, बम्बैबाट फर्की आएपछि विष्णुमायाले बिक्री गर्न लगेको भन्ने थाहा पाएँ । निज विष्णुमायालाई देखे निजै हुन भन्ने समेत पुतलीमाया थोकरले गरेको कागज ।
११. प्रतिवादीहरुले नेपाली केटीहरुलाई बिक्री गर्छन भन्ने सुनेको पार्वतीलाई निजहरुले भारतमा लगी बिक्री गरेकोमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
१२. अभियुक्त विष्णुमाया दोङ, लालबहादुर मोक्तान, कृष्णबहादुर घलान समेतले मुलुकी ऐन ज्यू मास्ने बेच्नेका महलको १ नं.को कसूर गरेको प्रमाणित हुन आएकोले सोही १ नं.र ५ नं.बमोजिम सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।
१३. प्रहरीमा भएको मेरो बयान कुटपिट गरी गराएको हो । ०४३ जेष्ठ २०।२२ गतेतिर म र लालबहादुर विरगन्जमा फिल्म हेर्न गएको बखत विष्णुमाया दोङ र पार्वती वाइवा तामाङनी पनि आई मामा गणेशबहादुरकहाँ बम्बई घुम्न जाने जाउँ भनी सबै रक्सौलबाट रेल चढी जाँदा पुरानपुर भन्ने ठाउँमा पुगेपछि ९।१० जना गुण्डाले हामीलाई कुटपिट गरी रेलको वाथरुम भित्र लगी पिट्न लागे हामीसंगै गएका पार्वती वाइवा तामाङनी, विष्णुमाया दोङ र अर्को नाम नजानेको मदिसिनी कता गए थाहा पाइन भन्ने समेत प्रतिवादी कृष्णबहादुर घलानले वागमती विशेष अदालतमा गरेको बयान ।
१४. म पार्वतीसंग औषधि किन्न ०४३ जेठ २२ गते डंकन पुगी औषधि लिएपछि कृष्णबहादुर घलान र लालबहादुर मुक्तान भेट भई घुम्न जाउँ भनेकोले म, पार्वती र त्यही भेट भएकी नाम नजानेकी मदिसिनी समेत रेल चढी केही पर पुगेपछि कृष्णबहादुर र लालबहादुरलाई गुण्डाहरुले पिट्दै तानेर लग्यो, गुण्डाहरुले मलाई एकातिर पार्वतीलाई एकातिर पारी लगे मदिसिनी कहाँ गई थाहा छैन, पार्वतीलाई फकाई बिक्री गर्न लगेको होइन, प्रहरीमा सिस्नु लगाएकोले सही गरेको हो भन्ने समेत प्रतिवादी विष्णुमाया दोङले वागमती विशेष अदालतमा गरेको बयान ।
१५. मेरो दाजु गणेशबहादुरलाई भेट्न भमई भन्ने ठाउँमा जान भनी म र कृष्णबहादुर गएको रक्सौलमा विष्णुमाया र पार्वती वाइवा तथा अर्को नाम थाहा नभएकी मदिसिनी भेट भई घुम्न जाने भनेको हुँदा रेल चढी केही पर पुग्दा ९।१० जना गुण्डाहरुले मलाई र कृष्णबहादुरलाई बाथरुममा लगी पिट्न लागे त्यहाँबाट केटीहरु कहाँ गए थाहा भएन, प्रहरीले कुटपिट गरी बयानमा सही गराएको हो । पार्वतीलाई बेचेको होइन भन्ने समेत प्रतिवादी लालबहादर मुक्तानले वागमती विशेष अदालतमा गरेको बयान ।
१६. प्रस्तुत मुद्दाको जाहेरी दर्खास्त मैले दिएकी हुँ । प्रतिवादी मध्येकी विष्णुमाया दोङ, २०४३ साल जेष्ठ २२ गते मेरो घरमा आई पानी खाई कुराकानी गरी हेटौंडामा कुसुमे रुमाल हेर्न जाउँ भनेकी मैले घरबाट पठाउँदैन भन्दा भोलिपल्ट पनि आई फकाउन लागेकी पर्सीपल्ट हजुर आमालाई सोधेर जान लाग्दा पठाउनु भएन मकै हेर्न जाँदा विष्णुमायालाई भेट भई ट्रक चढी हेटौंडा पुगेपछि विरगंजमा दिदी विरामी छ भेटेर आउँ भनी विरगंज अस्पताल लग्यो त्यहाँबाट डंकन अस्पताल लगेको छ भनी त्यहाँ मिना भन्ने राजबंशी केटी भेट भई उ समेत ३ जना रक्सौल जाँदा त्यहाँ मंगले भन्ने लालबहादुर मुक्तान र कृष्णबहादुर भेट भई विष्णुमायाले कृष्णबहादुर दागु मंगले भन्ने देवर भनी चिनाएको, त्यहाँबाट सामान किन्ने भनी बम्बै लगी मलाई भा.रु. ७,०००।– मा र मिनालाई भा.रु. ६,०००।– मा बेचेका रहेछन, हामी त्यहाँबाट भागी प्रहरीले भेटी नेपाल पुुर्याई दिएको हो भन्ने समेत जाहेरवाला पार्वती वाइवा तामाङले गरेको बकपत्र ।
१७. प्रतिवादीहरु मध्ये लालबहादुर मुक्तान र कृष्णबहादुर घलान मुख्य देखिँदा जीउ मास्ने बेच्नेको महलको दफा १ बमोजिम २० वर्ष कैद, प्रतिवादी विष्णुमाया मद्दत सम्म दिने देखिएबाट निजलाई ऐ.ऐनको दफा ४ बमोजिम १० वर्ष कैद हुन्छ भन्ने समेत वागमती विशेष अदालतको मिति २०४४।२।२०।४ को फैसला ।
१८. वागमती विशेष अदालतको फैसलामा चित्त बुझेन बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी कृष्णबहादुर घलान र लालबहादुर मुक्तानको म.क्षे.अ.मा परेको छुट्टा छुट्टै पुनरावेदनपत्र ।
१९. वागमती विशेष अदालतको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४५।८।२।५ को फैसला ।
२०. म.क्षे.अ.ले हद सजायँ २० वर्ष भएकोमा अ.बं. २०३ नं.बमोजिम थप सजायँ गरेको फैसला उपर चित्त बुझेन, पार्वती वाइवालाई बेची नसकेको र म मुख्य कारणी पनि नभएको स्थितिमा जीउ मास्ने बेच्नेको ४ नं.बमोजिम मात्र सजायँ गर्नु पर्नेमा १ नं.बमोजिम सजायँ गरेको मिलेन भन्ने समेत प्रतिवादी कृष्ण घलानको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२१. वागमती विशेष अदालतको फैसला सदर गरेको म.क्षे.अ.को निर्णयमा चित्त बुझेन सफाई पाउँ भन्ने समेत प्रतिवादी लालबहादुर मोक्तानको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
२२. यसमा छलफलका लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालतको २०४८।८।१।१ को आदेश ।
२३. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी कृष्णबहादुर घलानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नरहरी आचार्यले मेरो पक्षले केटी ललाउने फकाउने काम नगरेकोमा २० वर्ष कैदको सजायँ गर्ने गरेको कसूर अनुसारको सजायँ भएन भन्ने समेत र पुनरावेदक प्रतिवादी लालबहादुर मुक्तानका तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले मेरो पक्षले केटी फकाउने काम गरेको छैन, वागमती विशेष अदालतले सजायँको अन्तिम हद २० वर्ष कैद सजायँ गरेकोमा म.क्षे.अ.बाट थप २ वर्ष कैद गरेको मिलेन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । वादी श्री ५ को सरकारका तर्फबाट उपस्थित का.मु.सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापतिले प्रतिवादीहरु उपर विदेशमा लगी केटी बिक्री गरेको अभियोगमा २० वर्ष सजायँ गरेकोमा क्षेत्रीय अदालतबाट सदर भएको हुँदा सयकडा १० थप गर्ने गरेको म.क्षे.अ.को इन्साफ मिलेकै हुँदा कायम रहनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
२४. यसमा म.क्षे.अ.को इन्साफ मिलेको छ छैन सो विषयमा हेरी निर्णय दिनु पर्ने हुन आयो ।
२५. निर्णयतर्फ हेर्दा यसमा जाहेरवाला पार्वती वाइवालाई फकाई बम्बईमा लगी बिक्री गरेको आरोपमा पुनरावेदक प्रतिवादीहरु कृष्णबहादुर घलान, लालबहादुर मुक्तानलाई वागमती विशेष अदालतबाट ज्यू मास्ने बेच्नेको १ नं.बमोजिम २० वर्ष कैद गर्ने गरेको र म.क्षे.अ.बाट सोही इन्साफ सदर भए उपर चित्त नबुझी पुनरावेदन परेको छ । प्रस्तुत मुद्दाको बम्बैमा बेचिएकी भनिएकी जाहेरवाला पार्वती वाइवाले गाउँको विष्णुमाया दोङले फकाई रक्सौल पुर्याई अरु २ जना समेत रेलमा चढी बम्बैमा बेचेको भनी जाहेरी दर्खास्त दिएबाट उत्थान भएको र बम्बैमा लगी बिक्री गरी आउने यिनै कृष्णबहादुर घलान र मंगले भन्ने लालबहादुर मुक्तान हुन भनी प्रतिवादीहरुलाई सनाखत समेत गरेको रहेछ । पुनरवेदक प्रतिवादीहरु केटी लगी बेचेकोमा सावित भई अख्तियार प्राप्त अधिकारी समक्ष बयान गरेका छन भने अदालतमा केटी बेच्न लगेकोमा इन्कार रहँदै वीरगंजमा विष्णुमाया दोङ र पार्वती वाइवासंग भेट भई घुम्न जाउँ भनी रक्सौलबाट रेल चढी जाँदा गुण्डाहरुले कुटपिट गरी केटीहरु कहाँ गए थाहा छैन भनी एकै मिलानको इकारी बयान गरेको पाइन्छ । जाहेरवाला पार्वती वाइवाले अदालत समक्ष समेत आफ्नो जाहेरीलाई नै समर्थन गरी बकपत्र गरेको पाइन्छ । जाहेरवाला पार्वती वाइवालाई बक्बैमा लगी बिक्री गरेको होइन भन्ने पुनरावेदक प्रतिवादीहरुको जिकिर सम्बन्धमा हेर्दा जाहेरवालाले प्रतिवादीहरु उपर किटानी रुपमा जाहेर गरेको छ । निज जाहेरवाला बम्बैमा पुगेको र इन्सपेक्टर अफ पुलिस क्राइम ब्रान्च बम्बैको पत्रसाथ जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेकीबाट निज बम्बईमा पुगेको कुरामा विवाद देखिएन । निज बम्बईमा किन र कसरी पुगीन भन्ने सम्बन्धमा हेर्दा निज पार्वती आफ्नो घरबाट प्रतिवादी विष्णुमाया दोङका साथ लागी रक्सौल सम्म पुगेकी र रक्सौलबाट पुनरावेदक प्रतिवादीहरु कृष्णबहादुर घलान र लालबहादुर मुक्तान समेतका साथमा रेल चढेकोसम्म तथ्यमा पुनरावेदक प्रतिवादीहरु समेत सहमत रहेका छन् । त्यस पछिको घटनाक्रम सम्बन्धमा प्रतिवादीहरुको अख्तियार प्राप्त अधिकारी र अदालत समक्ष भएको बयानमा भिन्नता रहेको छ । पुनरावेदक प्रतिवादीहरु पार्वती वाइवालाई बिक्री गरेमा अदालत समक्ष इन्कार रहे तापनि पार्वती वाइवाले किटानी जाहेरी गर्नु पर्ने कारणका सम्बन्धमा निजहरुले केही उल्लेख गर्न सकेको देखिंदैन । साथै प्रतिवादीहरुको कथन अनुसार पार्वतीसंग रेलमै छुटिएको भए पार्वती बम्बईमा पुग्नु पर्ने कारण पनि कहीं कतैबाट खुल्न आएको छैन । अतः जाहेरवाला पार्वती वाइवाले प्रतिवादीहरुलाई अनाहकमा आरोप लगाउनु पर्ने कारण समेत विद्यमान नरहेको स्थितिमा पुनरावेदक प्रतिवादीहरु कृष्णबहादुर घलान र लालबहादृुर मुक्तानले पार्वती वाइवालाई बेचेको होइन भन्ने जिकिर प्रतितलायक देखिएन । पार्वती वाइवालाई ललाउने फकाउने कार्य नगरेको हुँदा मुख्य मानी सजायँ गरेको मिलेन भन्ने जिकिरका सम्बन्धमा हेर्दा ज्यू मास्ने बेच्नेको १ नं.मा “कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन” भन्ने व्यवस्था पाइन्छ । यहाँ बिक्री गर्ने उद्देश्यले नेपाल सरहद बाहिर लगी बिक्री गर्ने कार्य नै मुख्य निषेधित कार्य रहेको छ । ललाउने फकाउने भन्ने उक्त मुख्य निषेधित कार्यको सहायक कार्य मात्र हो । पुनरावेदक प्रतिवादीहरुले जाहेरवाला पार्वती वाइवालाई बिक्री गर्ने उद्देश्यले बम्बईमा लगी बिक्री गरेको देखिएको हुनाले उक्त पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन ।
२६. पुनरावेदक प्रतिवादीहरु कृष्णबहादुर घलान र लालबहादुर मोक्तानलाई ज्यू मास्ने बेच्नेको महलको १ नं.बमोजिम कैद वर्ष २० बीसको सजायँ हुने ठहर भएकोमा पुनरावेदन जिकिर नपुगे बापत थप सजायँ गर्न मिल्ने होइन भन्ने जिकिरतर्फ हेर्दा, प्रस्तुत मुद्दाको प्रकृति र गाम्भीर्यतालाई दृष्टिगत गरी त्यस किसिमले सजायँको तय गरिएको देखिन्छ । कैद वर्ष (२०) बीसको सजायँ हुने भनी ऐनमा किटानी व्यवस्था भएकोलाई जन्मकैदकै सजायँ हो भन्ने विधिकर्ताको मनसाय होइन, ऐनमा पनि सो बमोजिम किटानी उल्लेख हुन नगएको, केवल खण्डे सजायँको सन्दर्भमा कैदको प्रयोजनार्थसम्म जन्मकैदको सजायँलाई (२०) वर्ष कैद भनी कानुनमा उल्लेख भएको देखिँदा जीउ मास्ने बेच्ने संगिन प्रकृतिको अपराधजन्य कार्यको हकमा सोही महल बमोजिम हुने सजायँलाई खण्डे र हदको सीमाले सीमांकन गर्न मिल्ने नहुँदा जीउ मास्ने बेच्ने महल बमोजिम कैद वर्ष २० बीसको सजायँ ठेक भएको अवस्थामा पुनरावेदक रोहबाट निर्णय हुँदा थप सजायँ गर्न नमिल्ने भन्ने जिकिर सारगर्भित भन्न मान्न मिल्दैन । अतः पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
देहायका पुनरावेदक प्रतिवादीहरु के इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले देहाय बमोजिम थप कैद सजायँ हुन्छ । असूल उपरका लागि सम्बन्धित अदालतमा लगत दिनु भनी का.जि.अ.मा लेखी पठाउनु ..................१
(१) कृष्णबहादुर घलान के थप कैद वर्ष १, शुरु कैद वर्ष २०(बीस)
(२) लालबहादुर मोक्तान के थप कैद वर्ष १ (एक) शुरु कैद वर्ष २०(बीस)
पुनरावेदक प्रतिवादीहरुबाट कारागार मार्फत पुनरावेदन परी आएको देखिँदा, फैसलाको जानकारी दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु.........१
उक्त रायमा म सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४९ साल आषाढ २१ गते रोज १ शुभम् ।