निर्णय नं. ६१७७ - कुत मोही
निर्णय नं. ६१७७ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
सम्वत् २०५२ सालको दे.पु. नं. ....... २८७३
आदेश मितिः- २०५३।३।११।३
मुद्दा: कुत मोही ।
पुनरावेदक/प्रतिवादीः- पर्सा जिल्ला प्रसौनी माठा गाऊँ विकास समिति वडा नं. ६ बस्ने बलिदाश तत्मा ।
विरुद्ध
प्रत्यर्थी/वादीः- ऐ.ऐ. वडा नं. ९ बस्ने बबिता कुमारी ।
विवादित जग्गाको मोही पुनरावेदक प्रतिवादी भएकोमा विवाद छैन । दाबीको २०४९ सालको कुत बाली जग्गा धनीलाई बुझाएको तथा नबुझेकोले यो यस ठाउँमा धरौट राखेको छु भनी प्रतिवादीले भन्न सकेको पाइदैन । दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाको उजुरीको आधारमा सम्बन्धित भूमी सुधार अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्न आदेश दिन सक्ने कानूनी व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा भएको पाइन्छ । पहिलोपटक बाली नबुझाउने मोहीको मोहियानी हक यथावत रहने गरी भूमि सम्बन्धी ऐनले त्यस्तो मोहीलाई सहुलियत दिएको समेत देखिंदैन । अतः कानून बमोजिमको आफ्नो दायित्व निर्वाह नगर्ने मोहीलाई मोहीको रुपमा यथावत कायम राख्न उपयुक्त नहुने र भूमि सम्बन्धी ऐनको त्यस किसिमको मनसाय समेत रहे भएको नदेखिने ।
(प्र.नं.११)
पुनरावेदक प्रतिवादी तर्फबाटः- ×
प्रत्यर्थी वादी तर्फबाटः- ×
अबलम्बित नजीरः- ×
फैसला
न्या. मोहन प्रसाद शर्माः- पुनरावेदन अदालत, हेटौडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. मेरा नाम दर्ताको जिल्ला पर्सा प्रसौनी माठा गा.वि.स. वडा नं. ९ कि.नं. २७ को क्षेत्रफल ०-४-० जग्गा मोही विपक्षीको बाबु रघुविर दाश तत्मा भएको र निज परलोक भएपछि विपक्षीले नै जग्गा जोतकमोद गर्दै आएकोमा २०४९ सालको कुतवाली नबुझाएको र कहिं धरौट समेत राखेको जानकारी नपाएकोले कानून बमोजिम हुने कुत धान मन २-१-२-० को दिए जिन्सी नै र नदिए बजारभाउले हुने जम्मा रु.५२९।- दिलाई विपक्षीलाई उक्त जग्गाको मोहीबाट निष्कासन समेत गरी पाऊँ भन्ने समेत व्यहोराको वादी ।
३. दाबी बमोजिमको कुतबाली वादीलाई बुझाउनु पर्नेमा छोराको विवाह गरेकोले आर्थिक स्थिति कमजोर भएको कारण बुझाउन सकिन । वादीको बाली मेरो जिम्मा छ । बाली जिन्सी वा नगद बुझाउन लगाई मोहियानी यथावत कायम राखी पाऊँ भन्ने समेतको प्रतिउत्तर ।
४. दाबी बमोजिमको बाली बुझाउन प्रतिवादी तत्पर भएको हुँदा नियमानुसारको बाली प्रतिवादी मोहीबाट जग्गाधनी वादीले भराई लिन पाउने ठहर्छ । पहिला पटकको उजुरी भएकोले मोही निष्कासन गरी रहनु परेन भन्ने समेत शुरु भूमी सुधार कार्यालय पर्साको मिति २०५०।६।२६ को निर्णय ।
५. भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९(१) ले बाली नबुझाउने मोहीलाई मोहीयानीबाट निष्कासन समेत गर्नु पर्नेमा पहिलो पटकको भन्दै बाली मात्र भरी पाउने गरी मोही यथावत राख्ने गरेको शुरु भूमिसुधार कार्यालयको निर्णयमा चित्त नबुझी वादीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।
६. भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम मोही निष्कासन भएपछि मात्र दफा २९(३) ले बाली भराई दिनुपर्नेमा सो बमोजिम नभएको भूमी सुधार कार्यालय पर्साको निर्णय फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने समेतको मिति २०५१।७।१० को पुनरावेदन अदालत हेटौडाको आदेश ।
७. २०४९ सालका बाली बुझाएको प्रमाणको अभाव भएकोमा विवाद नभएको र बाली नबुझाउने मोहीको मोहीयानी यथावत कायम राख्न उपयुक्त नभएकोले दाबी बमोजिम प्रतिवादीलाई मोहीबाट निष्कासन समेत हुने ठहर्छ भन्ने समेतको मिति २०५१।१२।२८ को पुनरावेदन अदालत हेटौडाको फैसला ।
८. बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने भन्ने भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९(१) को व्यवस्था बाध्यात्मक होइन मुद्दा परे पछिको सालको बाली मैले भूमी सुधार कार्यालयमा धरौट राख्दै आएकोले बाली नबुझाउने भन्ने मेरो मनसाय होइन । तसर्थ मोही निष्कासन गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला उक्त दफा २९(१) को परिप्रेक्ष्यमा त्रुटिपूर्ण भएकोले बदर गरी पाऊँ भनी प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
९. नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात हेरी मोही निष्कासन गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
१०. निर्णय तर्फ हेर्दा मेरो नाम दर्ताको जिल्ला पर्सा प्रसौनी माठा गा.वि.स. वडा नं. ९ को कि.नं. २७ को क्षेत्रफल ०-४-० जग्गाको मोही विपक्षीले २०४९ सालको बाली नबुझाएकोले निष्कासन समेत गरी पाऊँ भन्ने वादीको मुख्य दाबी भएकोमा मोही यथावत राखी बाली मात्र भराई दिने गरेको शुरु भूमिसुधार कार्यालय, पर्साको निर्णय केही उल्टी गरी दाबी बमोजिम मोही निष्कासन गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा चित्त नबुझी प्रतिवादीको यो पुनरावेदन पर्न आएको देखियो ।
११. विवादित जग्गाको मोही पुनरावेदक प्रतिवादी भएकोमा विवाद छैन । दावीको २०४९ सालको कुत बाली जग्गा धनीलाई बुझाएको तथा नबुझेकोले यो यस ठाउँमा धरौट राखेको छु भनी प्रतिवादीले भन्न सकेको पाइदैन । दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाको उजुरीको आधारमा सम्वन्धित भूमी सुधार अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्ने आदेश दिन सक्ने कानूनी व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा भएको पाइन्छ । पहिलो पटक बाली नबुझाउने मोहीको मोहियानी हक यथावत रहने गरी भूमि सम्बन्धी ऐनले त्यस्तो मोहीलाई सहुलियत दिएको समेत देखिदैन । अतः कानून बमोजिमको आफ्नो दायित्व निर्वाह नगर्ने मोहीलाई मोहीको रुपमा यथावत कायम राख्न उपयुक्त नहुने र भूमि सम्बन्धी ऐनको त्यस किसिमको मनसाय समेत रहे भएको नदेखिँदा दाबी बमोजिमको जग्गाको मोहीबाट पुनरावेदक प्रतिवादीलाई निष्कासन गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१२।२८ को फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । धरौटी पुनरावेदन हुँदा फैसलाको जानकारी पुनरावेदकलाई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति सम्बत् २०५३ साल आषाढ ११ गते रोज ३ शुभम् ।