शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५५४ - लिखत बदर

भाग: ३४ साल: २०४९ महिना: असोज अंक:

निर्णय नं. ४५५४    ने.का.प. २०४९ ()  अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४६ सालको दे.पु.नं.८८८

फैसला भएको मिति: २०४९।४।२१।४ मा

निवेदक/वादी: का.न.पं. वा.नं.३१ बस्ने बलदेव उपाध्याय

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने गीता भट्टराई

मुद्दा : लिखत बदर

(१)    वादी र प्रतिवादी एकाघर सगोलमा रहे भएको अवस्थामा खरीद भएको विवादित जग्गा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने स्थिति हुँदा सगोलको अवस्थामा खरीद भएको भनी प्रमाण पुर्‍याउने भार वादी उपर थोपार्दा सो प्रमाण ऐनको दफा ६(क) को कानुनी व्यवस्थाको विपरीत हुने ।

(प्रकरण २४)

(२)   प्रमाण ऐन, २०३१ को दफा २९ मा अदालतले यस ऐन बमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्‍याउने भार सोही पक्षको हुनेछ भन्ने लेखिएको पाइन्छ । विवादको सम्पत्ति वादी समेतको अंश हक लाग्ने सगोलको सम्पत्ति हो भनी प्रमाण ऐन, ०३१ को दफा ६(क) बमोजिम अदालतले अनुमान गर्नु पर्ने भएकोमा सो वादी समेतको अंश हक लाग्ने सगोलको होइन प्रतिवादीको निजी एकलौटी स्वआर्जनको हो भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्‍याउनु पर्ने ।

(प्रकरण नं. २६)

(३)   सगोलको अवस्थामा खरीद भएको जग्गा आफ्नो नाउँमा खरीद गर्दैमा जग्गा स्वआर्जनबाट खरीद गरेको निजी एकलौटी भन्न नमिल्ने ।

(प्रकरण नं. २६)

(४)   स्वआर्जनबाट खरीद भएको एकलौटी निजीको पक्का प्रमाणको अभावमा विवादको जग्गा प्रतिवादीको एकलौटी हकको भन्न नमिल्ने ।

(प्रकरण नं. २७)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री      नारायण बल्लभ पन्त

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कालीराज जोशी

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     म.क्षे.अ.को मिति २०४५।१०।५ को आदेश उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको वादीको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    प्रतिवादी मध्येको गीता भट्टराई म फिरादीको श्रीमती हुन । सगोलको सम्पत्तिबाट २०४१।१।८।१ मा देवकुमारी गुरुङसेनीबाट साविक ल.पु.न.पं. वडा नं.२(ग) कि.नं.११० को रोपनी २१४० जग्गा मध्ये कित्ताकाट भई हाल कायम भएको कि.नं.३५३ को रोपनी १२ जग्गा रु. ४०,०००।मा मेरो श्रीमती विपक्षी गीता भट्टराईको नाउँमा खरीद गरेको थिएँ । मेरो समेत आधा हक लाग्ने उक्त जग्गा मध्ये रोपनी ०२ मेरो मन्जूरी बिना नै माहिला महर्जनलाई ०४२।१।३१।२ मा बकसपत्र पास गरी दिनु भएको ०४२।२।२५।६ मा लिखतको नक्कल सारी लिंदा थाहा भएकोले फिराद गर्न आएको छु ।

३.    लेनदेन व्यवहारको १० नं.बमोजिम मेरो आधा भागमा बकसपत्र बदर गरी निजको नाममा दर्ता बदर गरी मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको वलदेव उपाध्यायको फिराद दावी ।

४.    दान बकसको महलको १ नं.मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ भन्ने कानुनले अधिकार प्रदान गरेकोले अधिकार प्राप्त व्यक्ति प्र.मध्येकी मेरो दाता गीता भट्टराईले कसैको पनि मन्जूर लिन नपर्ने आफ्नो खुस गर्न पाउने ल.पु.न.पं. वडा नं.२(ग) कि.नं.३५३ को क्षेत्रफल १२ मध्ये क्षेत्रफल ०२ को जग्गा ०४२।१।३१ मा हालैदेखिको बकसपत्र पारित गरिदिनु भएकोले कित्ताकाट गरी कि.नं.३७६ मैले आफ्नो नाउँमा दर्ता गराई भोगचलन गरी आएकोमा सो लिखत तथा सम्पत्तिको सम्बन्धमा उजूर गर्न कानुनले अधिकार प्रदान नगरिएकोमा पनि आफ्नो स्वार्थसिद्ध होलाकी भन्ने दुष्प्रयास लिई मलाई अनाहकमा दुःख दिन झुठ्ठा कुराको विपक्षीको उजूरीबाट आधा लिखत तथा दर्ता बदर हुनु पर्ने अवस्था विद्यमान छैन । विपक्षीको निरर्थक दावाबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको माहिला महर्जनको प्रतिउत्तरपत्र ।

५.    प्रतिवादी मध्येकी गीता भट्टराईले शुरु म्यादै गुजारी प्रतिउत्तर नफिराई बसेको ।

६.    गीता भट्टराईको स्वआर्जनको सम्पत्ति दान बकस गर्दा वादीको मन्जूरी लिइरहन नपर्ने हुँदा मेरो मन्जूरी बेगर मेरो समेत आधी हक लाग्ने सम्पत्ति बकसपत्र गरी दिएको हुँदा आधी भाग बकसपत्र बदर गरी पाउँ भन्ने समेत व्यहोराको शुरु ल.पु.जि.अ.को मिति ०४३।१०।१५ को फैसला ।

 

७.    ल.पु.जि.अ.को मिति ०४३।१०।१५ को फैसला बदर गरी मेरो फिराद दावी बमोजिम लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको बलदेव उपाध्यायको पुनरावेदनपत्र ।

८.    यसमा निजी आर्जनको भन्ने कुराको भरपर्दो प्रमाणको अभावमा शुरु इन्साफ विचारणीय हुँदा अ.बं.२०२ नं.बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने वा.अं.अ.को मिति ०४४।१।२३ को आदेश ।

९.    यसमा मिति २०४१।८।१ मा निजै गीता भट्टराईले देवकुमारी गुरुङसेनीबाट निजको कि.नं.११० बाट कित्ताकाट गराई ज.क्षे.१२ को जग्गा राजीनामा रजिष्ट्रेशन पास गराई लिएको देखिन्छ । उक्त राजीनामा गरी लिंदा गीता भट्टराईले सगोलको सम्पत्तिबाट लिएको भन्ने उल्लेख छैन । यस कुराको कुनै ठोस प्रमाण पनि वादीबाट पेश भएको पाइँदैन । प्रस्तुत मुद्दा अंश मुद्दा नभएको समेत कारणले प्रतिवादी गीता भट्टराईले मिति २०४२।१।३१ मा माहिला महर्जनलाई गरी दिएको बकसपत्र गर्दाको अवस्थामा सो जग्गामा गीता भट्टराईको हक दर्ता छ छैन भन्ने नै मुख्य विचारणीय प्रश्न हुन आउँछ । त्यस अवस्थामा बकसपत्र गरी दिएको जग्गा समेत पूरै कि.नं.३५३ मा निज गीता भट्टराईको नै हक दर्ता कायम देखिएकोले निजले सो खुस गर्न नै पाउने हुँदा मिति ०४२।१।३१ को बकसपत्र वादीको पनि अंश हक लाग्छ भन्ने आधारमा बदर हुन सक्ने स्थिति देखिन्न । अतः वादीको दावी नपुग्ने ठहराएको शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने मिति ०४५।३।२ को वा.अं.अ.को फैसला ।

१०.    मिति २०४५।३।२ को वा.अं.अ.को फैसलामा चित्त बुझेन सो त्रुटिपूर्ण फैसला बदर गर्ने पुनरावेदनको अनुमति प्रदान गरी उचित इन्साफ पाउँ भन्ने समेत वादी बलदेव उपाध्यायको म.क्षे.अ.मा परेको निवेदनपत्र ।

११.    प्रस्तुत मुद्दामा निवेदककी श्रीमती गीता भट्टराईले देवकुमारी गुरुङसेनीबाट २०४१।८।१ मा प्रस्तुत विवादित जग्गा पारित राजीनामाबाट प्राप्त गरेको पाइन्छ । मुलुकी ऐन, स्त्री अंश धनको १ नं.ले कन्या सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको सम्पत्ति आफ्नो खुश हुँदा विवादित सम्पत्ति आफ्नो आर्जनको होइन भनी प्रमाणित गर्ने भार वादी उपर रहन्छ र वादीले प्रमाणको भार पुर्‍याउन नसकेको अवस्थामा स्त्री अंश धनको १ नं.को कानुनी व्यवस्था प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुमान सम्बन्धी व्यवस्थाको अपवाद मान्नु पर्ने देखिँदा आफ्नो हक दर्ताको जग्गा आफ्नो खुस गर्न पाउने ठहराएको शुरुको सदर गरेको वा.अं.अ.को फैसलामा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) अन्तर्गत कानुनी त्रुटि नहुँदा पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत मिति ०४५।१०।५ को म.क्षे.अ.को आदेश ।

१२.   वादी दावी नपुग्ने गरेको शुरु जि.अ.को इन्साफलाई सदर गरेको वा.अं.अ.को इन्साफ उपर पुनरावेदनको अनुमति नदिने गरेको म.क्षे.अ.को इन्साफ समेत कानुनी त्रुटि हुँदा चित्त बुझेन ।

१३.   अतः उक्त इन्साफ उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी बलदेव उपाध्यायको यस अदालत समक्ष परेको निवेदन ।

१४.   प्रस्तुत निवेदनमा विचार गर्दा प्रमाण ऐन, २०३१ को दफा २९ ले अनुमानलाई खण्डन गर्ने प्रमाण पेश भएमा बाहेक सो ऐनको दफा ६(क) को अनुमानको व्यवस्थालाई अमान्य गर्न सकिने कानुनी प्रावधान रहेको नदेखिएको र विवादित जग्गा घर बनाउनका लागि घडेरी भनी खरीद गरेको देखिँदा स्त्री अंश धनको १ नं.बमोजिम आफू खुस गर्न पाउने जग्गा हो भनी किटान गर्न सकिने अवस्था नभएकोले म.क्षे.अ.को आदेशमा न्या.प्र.सु. ऐन, (संशोधन सहित) २०३१ को दफा १३(५)(ख) र (ग) अनुसार प्रमाण ऐन, २०३१ को दफा ६(क), २९ र ५४ को व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्तइजलासको मिति ०४६।३।९ को आदेश ।

१५.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री नारायणबल्लभ पन्त समेतले प्रतिवादी गीता भट्टराई बलदेव उपाध्यायको श्रीमती हुन । यी दुवै पति पत्नी सगोलमा नै छन् । ०४१।८।१ गते गीता भट्टराईले देवकुमारी गुरुङसेनीबाट खरीद गरेको कि.नं.११० मध्येबाट कित्ताकाट भई कि.नं.३५३ गीता भट्टराईले ०४२।१।३१ गते माइला महर्जनलाई बकसपत्र गरी दिएछन् । उक्त बकसपत्र गरी दिएको जग्गा लेनदेन व्यवहारको १० नं.बमोजिम आधी लिखत बदर हुनुपर्दछ । उक्त बकसपत्र स्त्री अंश धनको १ नम्बर र प्रमाण ऐन, २०३१ को दफा ६(क) को अपवाद छ । यो सम्पत्ति गीता भट्टराईले अंश बण्डाको १८ नं.अनुसार कसैबाट दान बकस वा कसैको अपुताली परेको वा स्त्री अंश धनको ५ नं.बमोजिम पाएको सम्पति होइन । लेनदेन व्यवहारको १० नं.अनुसार निजी आर्जन भए संग बस्नेको मन्जूरी लिनु पर्दैन । निजी आर्जनको भन्नलाई आफ्नो आमदानी देखाउनु पर्छ र निजी तवरले दान बकस पाएको वा अपुताली परेको हो सबै देखाउनु पर्छ । यस सम्बन्धमा पूर्णइजलासबाट मिति २०४८।१२।२१ को लिखत बदर मुद्दा ललितमान विरुद्ध चित्रमानको मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको छ । यस मुद्दामा शुरु जि.अ.र अंचल अदालतले वादी दावी नपुग्ने भनी फैसला गर्‍यो । म.क्षे.अ.ले यसमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(४) अनुसार कानुनी त्रुटि नहुँदा पुनरावेदनको अनुमति प्रदान भएन ।

१६.    यस अदालतबाट अनुमति प्राप्त भई प्रस्तुत मुद्दामा शुरु जि.अ., वा.अं.अ.र म.क्षे.अ.समेतको फैसलामा कानुनी त्रुटि हुँदा उक्त फैसला बदर हुनुपर्छ भनी बहस गर्नुभयो ।

१७.   विपक्षी प्रतिवादी माहिला महर्जनको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री कालीराज जोशीले गीता भट्टराईले प्रतिउत्तर दिएन भन्दैमा सगोलको सम्पत्ति भन्न मिल्दैन । सगोलको सम्पत्ति भन्नेले आफ्नो दावी प्रमाणित गर्नुपर्छ । विवादको सम्पत्ति गीता भट्टराईको निजी आर्जन हो । निजी आर्जनको सम्पत्ति गीता भट्टराईले आफूखुश गर्न पाउँछिन । गीता भट्टराईले देवकुमारी गुरुङसंग उक्त जग्गा खरीद गर्दा सगोलको सम्पत्तिबाट खरीद गरेको भन्ने बोली परेको छैन । निजी आर्जनमा कसैको मन्जूरी लिनु पर्दैन । लेनदेन व्यवहारको १० नं.प्रस्तुत केशमा आकर्षित हुँदैन । अतः शुरु जि.अ., वा.अं.अ.को फैसलाको आदेश मिलेको छ भनी बहस गर्नुभयो ।

१८.   यसमा शुरु जि.अ., वा.अं.अ.को फैसला र म.क्षे.अ.ले अनुमति नदिने गरेको आदेश मिलेको छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।

१९.    यसमा विपक्षी प्रतिवादी गीता भट्टराई म फिरादीको श्रीमती हुन । हामी दुवैको सगोलको सम्पत्तिबाट ०४१।८।१ मा घर बनाई बसोवास गर्नको लागि देवकुमारी गुरुङसेनीबाट ल.पु.न.पं.वडा नं.२ (ञ) कि.नं.११० को रोपनी २१४० मध्ये खरीद गरेको कित्ताकाट भई कि.नं.३५३ रोपनी १२ कायम भएकोमा सो जग्गा मध्ये ०२ जग्गा विपक्षी श्रीमती गीता भट्टराईले ०४२।१।३१।२ मा विपक्षी मध्ये माहिला महर्जनलाई बकसपत्र पास गरी दिनु भएको र अंश नभएको अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा मेरो समेत मन्जूरी लिनु पर्नेमा मलाई थाहा नदिई मेरो समेत आधी हक लाग्ने उपरोक्त जग्गा मेरो मन्जूरी नलिई हालै देखिको बकसपत्र गरेकोले आधी भागमा बकसपत्र बदर गरी निजको नाउँमा दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरी पाउँ भन्ने वादीको मुख्य फिराद दावी देखिन्छ ।

२०.   यो वादी वलदेव उपाध्याय र प्रतिवादी गीता भट्टराईको बीचमा अंशबण्डा भएको पाइन्न । सगोलमा यी दुवै लोग्ने स्वास्नी रहेकोमा समेत विवाद देखिन्न ।

२१.   गीता भट्टराईले मिति ०४१।८।१ मा उक्त विवादको जग्गा देवकुमारी गुरुङसंग खरीद गरेको अवस्थामा समेत यी वादी बलदेव र प्रतिवादी गीता भट्टराईको बीच अंशबण्डा भएको वा मानो छुट्टिएको नभई एकासगोलमा नै बसेको पाइन्छ । सगोलको परिवारको रुपमा रहेकै अवस्थामा विवादको जग्गा गीताले देवकुमारीसंग खरीद गरेको र सगोलमा नै रहेको अवस्थामा नै उक्त विवादको जग्गा गीता भट्टराईले प्र.माहिला महर्जनलाई मिति ०४२।१।३१ मा बकसपत्र गरी दिनु भएको देखिन्छ ।

२२.   वादी लेनदेन व्यवहारको १० नं.बमोजिम आफ्नो हक जति बदर गराउन आएको पाइन्छ । लेनदेन व्यवहारको १० नं.लाई हेर्दा सो १० नं.मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुसी गर्न पाउने अरुको मन्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघर संगको अंशियार सबै साक्षी बसेको वा निजहरुले मन्जूरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ साक्षी पनि नबसेको र मन्जूरीको लिखत पनि नभए मन्जूर नहुनेले रजिष्ट्रेशन पास भएको मितिले एक वर्ष सम्ममा थाहा पाएको पैंतीस दिन भित्र उजूर गर्‍यो र निजको मन्जूरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराइदिनु पर्छ । सो बमोजिम फिर्ता भएकोमा साहूको थैली परेको भए फिर्ता भए जतिको थैली र ऐन बमोजिमको व्याज लिखत रजिष्ट्रशन दस्तूर समेत सो सम्पत्ति बेच बिखन गरी वा अरु कुनै किसिमले हक छाडी दिनेबाट साहुले कपाली सरह असूल गरी लिन पाउँछ । आफ्नो निजी आर्जनको भए संग बस्नेको मन्जूरी लिनु पर्दैन । बेच बिखन समेत गैह्र गर्न हुन्छभन्ने लेखिएको पाइन्छ ।

२३.   विवादको सम्पत्ति गीताले आफू खुशी गर्न पाउने रहेछ भने त्यस्तो सम्पत्तिबाट हक छाडी दिंदा सो मा अरुको मन्जूरी लिनु नपर्ने लेनदेन व्यवहारको १० नं.ले औंलाएको पाइन्छ । कन्या, सधवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउने हो भन्ने विपक्षी माहिला महर्जनका तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा विवादको सम्पत्ति सगोलको रहँदाको अवस्थामा खरीद भएको सगोलको अवस्थामा रहँदा बकसपत्रबाट दिएकोले सगोलको अवस्थामा खरिद भएको र सोही सगोलको अवस्था हक छाडी दिएको जग्गाका सम्बन्धमा अरु प्रचलित कानुन प्रमाण ऐन, ०३१ ले के व्यवस्था गरेको रहेछ भनी हेर्दा उक्त प्रमाण ऐन, ०३१ को दफा ६(क) मा अन्यथा प्रमाणित नभएसम्म एकाघर संगका अंशियार मध्ये जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने लेखिएको पाइन्छ ।

 

२४.   वादी र प्रतिवादी गीता भट्टराई एकाघर सगोलमा रहे भएको अवस्थामा खरीद भएको अवस्थामा खरीद भएको विवादित जग्गा उक्त प्रमाण ऐन, ०३१ को दफा ६(क) बमोजिम सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नु पर्ने स्थिति हुँदा सगोलको अवस्थामा खरीद भएको भनी प्रमाण पुर्‍याउने भार वादी उपर थोपार्दा सो प्रमाण ऐनको दफा ६(क) को कानुनी व्यवस्थाको विपरीत हुन जान्छ ।

२५.   स्वयं प्रतिवादी गीता भट्टराई विवादको जग्गा आफ्नो निजी आर्जनबाट खरीद भएको भनी भन्न आउन सक्नु भएको पाइन्न ।

२६.   प्रमाण ऐन, ०३१ को दफा २९ मा अदालतले यस ऐन बमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्‍याउने भार सोही पक्षको हुनेछ भन्ने लेखिएको पाइन्छ । विवादको सम्पत्ति वादी बलदेव उपाध्याय समेतको अंश हक लाग्ने सगोलको सम्पत्ति हो भनी प्रमाण ऐन, ०३१ को दफा ६(क) बमोजिम अदालतले अनुमान गर्नुपर्ने भएकोमा सो वादी समेतको अंश हक लाग्ने सगोलको होइन प्र.गीता भट्टराईको निजी एकलौटी स्वआर्जनको हो भनी जिकिर लिने प्र.माहिला महर्जनले सो कुराको प्रमाण पुर्‍याउनु पर्ने हुन जान्छ । तर विवादको सम्पत्ति गीताको निजी एकलौटी स्वआर्जनको हो भन्ने कुनै प्रमाण प्रतिवादीबाट आउन सकेको पाइन्न । सगोलको अवस्थामा खरीद भएको जग्गा आफ्नो नाउँमा खरीद गर्दैमा उक्त जग्गा स्वआर्जनबाट खरीद गरेको निजी एकलौटी भन्न मिल्दैन ।

२७.   उक्त कुरा प्रमाण ऐन, ०३१ को दफा ६(क) को व्यवस्थाले पनि पुष्टि गर्दछ । स्वआर्जनबाट खरीद भएको एकलौटी निजीको पक्का प्रमाणको अभावमा विवादको जग्गा प्रतिवादी गीता भट्टराईको एकलौटी हकको भन्न मिदैन । अतः वादी दावी नपुग्ने ठहराएको शुरु जि.अ.को इन्साफ सदर गरेको वा.अं.अ.को इन्साफ र वा.अं.अ.को फैसला उपर पुनरावेदनको अनुमति नदिने गरेको म.क्षे.अ.को आदेश समेत बदर हुने ठहर्छ । वादी दावी बमोजिम लिखत बदर भई आधी जग्गा वादीको हक कायम दर्ता हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने गरी गरेको शुरु ल.पु.जि.अ.को इन्साफलाई सदर गरेको वा.अं.अ.को आदेश इन्साफ उपर अनुमति नदिने गरेको म.क्षे.अ.को आदेश इन्साफ समेत उल्टी भई फैसला भएकोले शुरु ल.पु.जि.अ.तथा वा.अं.अ.को फैसलाले कायम गरेको लगत कट्टा भई शुरु ल.पु.जि.अ.मा फिराद दायर गर्दा वादीले राखेको कोर्ट फी रु. ३०।साथै वा.अं.अ.मा पुनरावेदन गरे बापत राखेको रु. ४।५० गरी जम्मा रु. ३४।५० प्रतिवादीहरुको जेथा देखाई भराई पाउँ भनी पू.वे. वादीको ऐन बमोजिम दर्खास्त पर्न आए वादीले प्रतिवादीहरुबाट भरी पाउने हुँदा प्रतिवादी गीता भट्टराई तथा माहिला महर्जनबाट दामासाहीका दरले हुने रु. १७।२५ निज प्रतिवादीहरुबाट भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु .....१, ऐ.ऐ. ठहर फैसला भएकोले पुनरावेदक वादी बलदेव उपाध्यायले यस अदालतमा राखेको कोर्टफी रु. ४।५० प्रतिवादीबाट भरी पाउँ भनी जेथा देखाई दर्खास्त दिन आए प्रतिवादीहरु गीता भट्टराई र माहिला महर्जनबाट दामासाहीका दरले हुने रु. २।२५ वादी बलदेव उपाध्यायलाई भराई दिनु भनी शुरु जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु .......२, मिसिल नियम बमोजिम गरी बुझाई दिनु ........३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्णजंग रायमाझी

 

इति सम्वत् २०४९ साल श्रावण २१ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु