निर्णय नं. ४५५५ - उत्प्रेषण

निर्णय नं. ४५५५ ने.का.प. २०४९ (ख) अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्वत् २०४७ सालको रिट नं.८३७
आदेश भएको मिति: २०४९।५।३१ मा
निवेदक : का.न.पा. वडा नं.१९ यटखा दमाईटोल बस्ने भाइकाजी सिलाकार
विरुद्ध
विपक्षी : म.क्षे.अ.समेत
विषय : उत्प्रेषण
(१) सोही मुद्दामा उसै झगडियाका नाउँमा अ.बं. ८५ नं.ले फिराद नलाग्ने हो । सोही मुद्दाको बस्तुस्थिति एवं दावी र यो मुद्दाको वस्तुस्थिति र दावी एकै हुनुपर्छ । अघिल्लो मुद्दाको विवादको विषय तथा निर्कोल गरिनु पर्ने कुरा र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निर्कोल गर्नुपर्ने कुरा एउटै हुनु पर्ने ।
(प्रकरण नं. २०)
(२) वादी दावीको कुरामा प्रतिवादीले पृथक कुराको जिकिर लिएबाट वादी र प्रतिवादी बीच मुख नमिलेको कुरामा र सो मुद्दामा संलग्न वादी प्रतिवादी अथवा निजहरुको हकमा सोही मुख नमिलेको कुरामा आउने जोसुकै व्यक्तिका सम्बन्धमा अघि फैसला भइसकेको स्थितिमा प्राड्डन्यायको सिद्धान्त लाग्ने ।
(प्रकरण नं. २१)
(३) रिट निवेदक र विपक्षको बीच अघि हक कायम मुद्दा चली हक कायम भएकोमा पछि सो सम्पत्ति भोगै गर्न नदिई खिचोला गरेको अवस्थामा सो खिचोला मेटाई भोगचलन गराई पाउन मुद्दै गर्न नपाइने भनी न्याय वा कानुनको कुनै सिद्धान्त रहेको देखिँदैन । तसर्थ प्राड्डन्यायको सिद्धान्त विरुद्ध क्षे.अ.बाट फैसला भएको छ भन्ने विद्वान अधिवक्ताको बहससंग सहमत हुन नमिल्ने ।
(प्रकरण नं. २१)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. विपक्षी मध्येको रामप्रसादसंग वर्तमान म.क्षे.अ.मा परेको मुद्दामा सो मुद्दा पर्नु भन्दा अघि नै सो चोक ढोका झ्याल सम्बन्धमा म.क्षे.अ.सम्मबाट किनारा लागि सकेको छ । सो मुद्दामा का.जि.अ.बाट फैसला हुँदा साविक बमोजिमको झ्याल ढोका कायम राखी मन्दिर सम्म आवत जावत गर्न प्रतिवादीले पाउने नै देखिएकोले सो लाई आवश्यक पर्ने बाटोसम्म यथावत कायम राखी अरु झगडा परेको बाँकी चोक फिरादीको हक कायम हुने भनी फैसला भएकोमा वा.अं.अ.ले अरु शुरु जि.अ.कै इन्साफ मिलेकै र ढोका झ्यालका हकमा न.पं. बोर्ड अपील कमिटीबाट मिति ०२१।३।१५ मा भएको फैसला अन्तिम रहेकोेले सो फैसला अनुरुप नहुने हुँदा शुरु फैसला केही उल्टी हुने ठहर्छ भनी ठहर भई चोकमा रहेको मन्दिरमा म प्रतिवादी भाइकाजी समेतले पूजा गर्न जान पाउने भन्ने शुरुको ठहर सदरै गरेकोलाई वादी रामप्रसादको कुनै उजूरी दावी र अनुमति समेतको निवेदन नपरेको हुँदा सो वा.अं.अ.ले ठहराएको ठहर अ.बं. ८५ नं.ले अकाट्य भई बसेको छ ।
३. ३×३ इन्चको फरकमा डण्डी हाल्ने गरी कमिटीबाट फैसला नभएको हुँदा फैसला बाझियो पुनरावेदन गर्ने अनुमति पाउँ भनी म.क्षे.अ.मा परेको मेरो निवेदनमा कानुन बमोजिम गर्नु भनी ०४१।७।५ मा आदेश भयो ।
४. वर्तमान म.क्षे.अ.मा भएको मुद्दामा ०४७।४।३० गते फैसला गर्दा म.क्षे.अ.सिंगलबेञ्चको निर्णय आदेशलाई असर पर्ने गरी अ.बं. ८५, ८६ नं.विपरीत मेरो घरको छिंडीबाट चोकमा रहेको ढोकाबाट बाहिर गई मैले र अरु समेतले चोकमा रहेको मन्दिरमा विराजमान कुमारीको पूजा गर्ने हक पाइसकेको र सो छिंडी तल्लाको ढोका समेत खुल्ला नै रहेको नक्सा समेतलाई विचार नगरी फैसला गरियो यस सम्मानीत अदालतमा पुनरावेदन गर्ने अनुमतिको लागि आएकोमा निवेदन नलाग्ने भनी दरपिठ समेत गरी दिएकोले संविधानको धारा ७१ अन्तर्गत यो निवेदन गर्न आएको छु ।
५. म.क्षे.अ.संयुक्तइजलासबाट भएको ०४७।४।३० को फैसलाले मेरो संविधानको धारा ११(१) को वैयक्तिक स्वतन्त्रताको हक अपहरण हुन गएको र ११(२) (घ)(ङ) र १५ द्वारा प्रदत्त हक हनन् हुन गएको छ । चोकमा रहेको कुमारी देवीको सदाकाल पूजा गर्न मेरो घरको खुला ढोकाबाट गई पूजा गर्न पाउने हकमा र एकपटक निर्णय फैसला भइसकेकोमा पुनः फैसला गरी मेरो हकमा असर परेकोले संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायत उपयुक्त जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी म.क्षे.अ.को ०४७।४।२० को फैसला बदर गरी पाउँ भन्ने रिटनिवेदन जिकिर ।
६. यसमा के कसो भएको हो प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको ०४७।६।२५ को आदेश ।
७. का.जि. यटखा दमाई टोल स्थित साविक कि.नं.५१९ हालको कि.नं.१७६२ मा रहेको मेरो हकभोगको एकलौटी चोकलाई विपक्षीले अनेक जाल झेल गरी चोक साझा भनी विवाद उठाएको हुँदा ०१७ साल देखि उठेको विवादको निरोपण का.न.पं. अपील कमिटीको मिति ०२१।३।१५ को फैसलाले गरेको हो उक्त फैसलाले मेरो उक्त चोकतर्फ खोलिएको विपक्षीको छिंडी तलाको झ्याल बन्द गर्नु पर्ने र चोक एकलौटी हुने स्पष्ट गरेको छ । त्यसपछि विपक्षीसंग पर्न गएको सोही चोक सम्बन्धित विवादमा सम्मानीत स.अ.र का.जि.अ., वा.अं.अ.र म.क्षे.अ.बाट भएका निर्णयहरुले सोही का.न.पं. अपील कमिटीको ०२१।३।१५ को फैसला बमोजिम हुने भनी अपील कमिटीको फैसलालाई नै अन्तिम रुप दिइएको हो ।
८. विपक्षीले पुनः सम्पूर्ण फैसलाहरुलाई बेवास्ता गरी चोकमा मैले आफैंले पूजा गर्न बनाएको सानो मन्दिर पूजा गर्न पाउने निजको हक हो भनी पूजा गर्ने बाहनाले तलामा रहेको बन्द झ्यालमा रहेको फल्याक र डण्डी झिकी ढोका खोली मेरो एकलौटी चोक खिचोला गर्न आएकोले मैले अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत का.जि.अ.मा खिचोलातर्फ विवाद दायर गरी सो मुद्दा मिति ०४७।४।२० मा म.क्षे.अ.बाट अन्तिम फैसला भइसकेको छ । सो फैसला का.न.पा. अपील कमिटीको मिति ०२१।३।१५ को निर्णय बमोजिम गर्नु पर्ने हुँदा विपक्षीले खिचोला गरेको ठहर्याएको छ । यसरी अदालतको साधारण अधिकार क्षेत्रभित्र रही म.क्षे.अ.ले गरेको अन्तिम फैसला उपर यस सम्मानीत अदालतमा अनुमतिको निवेदन दर्ता गर्न नहुने र मुद्दाको अन्तिम किनारा लागी सकेको कुरामा पुनः सम्मानीत अदालतको असाधारण क्षेत्र अन्तर्गत रिटनिवेदन कुनै हालतमा पनि लाग्न नसक्ने हुँदा विपक्षीको रिटनिवेदन स्वतः खारेज योग्य छ । अतः अन्तिम किनारा लागी सकेको मुद्दामा पुनः असाधारण अधिकार गुहार्न आउने विपक्षीको नियत सिर्फ अदालतलाई बुर दिने मात्र हुँदा विपक्षीको रिटनिवेदन खारेज गरिपाउँ भन्ने विपक्षी रामप्रसाद मानन्धरको लिखितजवाफ ।
९. वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतको फैसला उपर वादी रामप्रसाद मानन्धरको वागमती अंचल अदालतमा पुनरावेदन परेकोमा शुरु का.जि.अ.को फैसला सदर हुने ठहर्छ भन्ने ०४३।९।२४ को वागमती अंचल अदालतको फैसला उपर चित्त नबुझाई पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा एक न्यायाधीशको इजलासबाट न्या.प्र.सु. ऐन दफा १३(४) को (घ)(ङ) अनुसार अनुमति पाई संयुक्तइजलास समक्ष पेश हुँदा वादी दावी पुग्न नसक्ने ठहर्याएको उक्त का.जि.अ.को फैसला सदर गर्ने गरेको वा.अं. को इन्साफ त्रुटिपूर्ण हुँदा बदर भई वादी दावी बमोजिम प्रतिवादीले वादीको एकलौटी हकको चोकमा खिचोला गरेको ठहर्याई शुरु र वा.अं.अ.को इन्साफ बदर हुने ठहर्याएको यस अदालतको फैसला कानुन बमोजिम नै भए गरेको हुँदा सो फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्दछ भन्ने प्रत्यर्थी रिटनिवेदन स्वतः खारेज हुने हुँदा खारेज गरी पाउन सादर अनुरोध छ भन्ने म.क्षे.अ.को लिखितजवाफ ।
१०. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदक तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले मेरो पक्ष उपर प्रस्तुत खिचोला मुद्दा पर्नु अघि चोक एकलौटी कायम गरिपाउँ भन्ने मुद्दा परी साविक बमोजिम झ्याल ढोका कायम राखी मन्दिरसम्म आवत जावत गर्न पाउने देखि आवश्यक पर्ने बाटोसम्म यथावत कायम राखी बाँकी झगडा परेको चोक वादीको कायम गरी मन्दिरमा जान आउन पाउने हक पहिलेकै मुद्दामा स्थापित भइरहेकोमा त्यसलाई असर पर्ने गरी पछि परेको खिचोला मुद्दाबाट बोल्न नमिल्नेमा अ.बं. ८५ एवं ८६ नं.विपरीत भई संविधानको धारा ७१ अन्तर्गतको उत्प्रेषण लगायतको उपयुक्त आदेश जारी गरी म.क्षे.अ.को ०४७।४।३० को फैसला बदर हुनुपर्दछ भन्ने र प्रत्यर्थी अदालतको तर्फबाट बहसको लागि उपस्थित विद्वान सरकारी सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले कानुन बमोजिम प्रमाणहरुको मूल्यांकन गरी अधिकार प्राप्त अदालतबाट भएको फैसलामा कुनै त्रुटि नहुँदा रिट जारी हुन पर्ने होइन भन्ने र प्रत्यर्थी रामप्रसाद मानन्धरको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरेले रिट निवेदकले निवेदनमा जिकिर लिए बमोजिम अगाडि फैसला भइसकेको विषयमा असर पर्ने गरी पछि फैसला भएको छैन । अघि फैसला भएको विषय र पछि भएको विषय एउटै नभई अलग्गै हुँदा अ.बं. ८५, ८६ नं.को त्रुटि भयो भन्नु गलत हुने हो कानुन बमोजिम प्रमाणहरुको मूल्यांकन गरी भएको फैसलाबाट रिट निवेदकको मौलिक हकमा हनन् भएको छैन । साथै प्रमाणहरुको मूल्यांकन रिटबाट हुने समेत होइन । तह तह इन्साफ भई आएको कुरामा रिटबाट बदर गर्ने समेत मिल्ने नहुँदा रिटनिवेदन खारेज हुनुपर्दछ भनी गर्नुभएको बहस जिकिर समेत सुनियो ।
११. प्रस्तुत विषयमा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा का.जि.अ.ले मिति ०४०।१।२५।६ मा फैसला गर्दा सो फैसलाको ठहरमा साविक बमोजिमको झ्याल ढोका कायम राखी मन्दिरसम्म आवत जावत गर्ने प्रतिवादीले नै पाउने देखिएकोले सो लाई आवश्यक पर्ने बाटो यथावत कायम राखी अरु झगडा परेको बाँकी चोक फिरादी वादीको हक हुने ठहर्छ भनी फैसला भयो र सो उपर पुनरावेदन पर्दा वा.अं. अदालतबाट चोकमा रहेको मन्दिरमा सबैले पूजा आजा पनि गर्न पाउने नै हुँदा सो मन्दिरमा आउन प्रतिवादीलाई बाधा नपुग्ने गरी विवादित चोक वादीको एकलौटी हक कायम हुने गरी शुरु जि.अ.ले गरेको फैसला मिलेकै र ढोका झ्यालका हकमा न.पं. बोर्ड अपील कमिटीबाट मिति ०२१।३।१५ मा गरेको फैसला अन्तिम रहेकोले सो फैसला अनुरुप नै हुने हुँदा शुरु फैसला केही उल्टी हुने ठहर्छ भनी मिति ०४०।९।८ मा फैसला भयो ।
१३. निज वादी रामप्रसादको कुनै उजूरी दावी र अनुमति समेतको निवेदन नपरेको हुँदा सो वा.अं.अ.फैसला अ.बं. ८५ नं.को ऐनले अकाट्य रह्यो ।
१४. निज रामप्रसादको यो मुद्दामा वा.अं.अ.को फैसला उपर म.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति आदेश भई ०४७।४।३० मा फैसला हुँदा सो म.क्षे.अ.सिंगलबेञ्चबाट उक्त २०२१।३।१५ को फैसलामा झ्याल ३ इन्चको फरकमा ३५ दिनभित्र डण्डी हाल्नु पर्ने हो ढोकालाई होइन भनी व्याख्या गरी सकेकोे सो म.क्षे.अ.सिंगलबेञ्चको निर्णय आदेश अ.बं. ८५, ८६ नं.को ऐन बमोजिम वादी रामप्रसादले केही गर्न नसकी मानी बसी सकेको सो सिंगलबेञ्चको निर्णय आदेशलाई असर पर्ने गरी उक्त अ.बं. ८५, ८६ नं.मा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नामको फिरादपत्र लिई सुन्न हुँदैन । लिएको भए पनि खारेज गरिदिनु पर्छ । फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जानेछ त्यसैले थाहा पाएका ३५ दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होइन भनी आफ्नो हक जतिमा झगडियाको नाममा नालेश दिए इन्साफ गरी दिनु पर्छ भन्ने लेखिएको पाइन्छ । एकपटक निर्णय फैसला आदेश भएकोमा सो उपर अ.बं. ८५ र ८६ का ऐन बमोजिम पुनरावेदनतर्फ अथवा फिराद दावी उजूर नपरेपछि सो एकपटक भएको निर्णय फैसला आदेशको मुद्दामा पक्ष विपक्ष नभएका र विपक्षी रामप्रसादलाई प्रमाण ऐनको दफा ३४ विबन्धित भई मान्न कर लाग्ने र दोहोरो फिराद गरेको अ.बं. १८० बमोजिम रामप्रसादले दिएको फिराद खारेज हुने सो ऐनहरुको हकमा समेत आघात पुर्याएको सो म.क्षे.अ.को संयुक्तइजलासको ०४७।४।३० को फैसला उत्प्रेषण अथवा जो चाहिने आदेश वा पुर्जी जारी गरी बदर गरी दिएको छ भन्ने आदेश पाउँ भन्ने रिटनिवेदनको मुख्य जिकिर भएको पाइन्छ ।
१५. निवेदकतर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले अघि विपक्षी यिनै रामप्रसादले मेरो पक्ष निवेदक भाइकाजी सिलाकार उपर का.जि.अ.मा मुद्दा दिई ०४०।१।२५ मा फैसला भएको सो मुद्दा पुनरावेदन परी वा.अं.अ.बाट समेत ०४०।९।८ मा फैसला भई अन्तिम रहेको छ । सो विषयमा यिनै विपक्षी रामप्रसादले का.जि.अ.मा मुद्दा दिनु भयो । सो मुद्दा का.जि.अ.र वा.अं.अ.बाट समेत फैसला दावी पुग्न नसक्ने ठहर भएकोमा पुनरावेदक रामप्रसादले पुनरावेदनको अनुमति पाई म.क्षे.अ.बाट वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ सदर गर्ने गरेको वा.अं.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा बदर भई वादी दावी बमोजिम प्रतिवादीले वादीको एकलौटी हकको चोकमा खिचोला गरेको ठहर्छ भनी ०४७।४।३० मा फैसला भयो ।
१६. उक्त फैसला अ.बं. ८५ को त्रुटि छ । पक्ष विपक्ष एकै छन् । मुद्दाको विषय एकै छ यस्तो मिति ०४७।४।३० को म.क्षे.अ.को फैसला अ.बं. ८५ नं.को त्रुटि छ भनी मुख्य बहसको जिकिर लिनु भएको पाइन्छ ।
१७. सो तर्फ हेर्दा विपक्षी रामप्रसादले यिनै निवेदक भाइकाजी उपर अघि मुद्दा ंिदंदा चोक एकलौटी कायम गरिपाउँ भनी मुद्दा दिएको पाइन्छ तर प्रस्तुत मुद्दाको फिराद दावीतर्फ हेर्दा मेरो हक भोगको कि.नं.५१९ को हाल कि.नं.१७६२ मा मेरो घर तथा चोक रहेको छ । यस चोकमा विवाद उठेकोमा विपक्षले विवादित चोकमा आउनको लागि खुला गरेको झ्याल बन्द गर्नुपर्ने भन्ने फैसला का.न.पा. बाट भएको छ । यसबाट पनि विवादित चोकमा मेरो एकलौटी हकभोग भएकोमा विपक्षीले उक्त बन्द गरेको छिंडी तल्लो ढोका पुनः खोली भाद्र महिनादेखि सो चोकमा रहेको देवता पूजा गर्न हक छ भन्दै चोकमा प्रवेश गरी खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने फिराद दावी परेको पाइन्छ ।
१८. मुलुकी ऐन अ.बं. ८५ नं.मा “अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाको नामको फिरादपत्र लिई सुन्न हुँदैन, लिएको भए पनि खारेज गरिदिनु पर्छ” भन्ने लेखिएको पाइन्छ ।
१९. प्रस्तुत केशमा पक्ष विपक्ष एकै भए पनि अघिल्लो मुद्दाको फिरादको बस्तुस्थिति एवं दावी र प्रस्तुत मुद्दाको वस्तुस्थिति एवं दावी अलग अलग भिन्न देखिन्छ, अघिल्लो मुद्दा चोक एकलौटी कायम गरी पाउँ भन्ने थियो भने प्रस्तुत मुद्दामा चोकमा खिचोला गरे भन्ने छ ।
२०. सोही मुद्दामा उसै झगडियाका नाउँमा अ.बं. ८५ नं.ले फिराद नलाग्ने हो । सोही मुद्दाको वस्तुस्थिति एवं दावी र यो मुद्दाको वस्तुस्थिति र दावी एकै हुनुपर्छ । अघिल्लो मुद्दाको विवादको विषय तथा निर्कौल गरिनु पर्ने कुरा र पछिल्लो मुद्दाको विवादको विषयवस्तु र निर्कौल गर्नु पर्ने कुरा एउटै हुनुपर्छ तर प्रस्तुत केशमा सो भएको देखिन्न । यस्तो अवस्थामा अ.बं. ८५ नं.आकर्षित हुन्छ भनी यस मुद्दाको प्रतिउत्तरमा समेत भन्न नसकी केवल म.क्षे.अ.को निर्णय मात्र अ.बं. ८५ नं.को विपरीत भयो भनी प्रस्तुत रिटनिवेदन म.क्षे.अ.को निर्णय बदर गराउन आएको देखिन्छ ।
२१. निवेदकतर्फका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले प्राङन्यायको सिद्धान्त ९च्भक व्गमष्अबतब० को आधारमा समेत निवेदकले खिचोला गरेको ठहर गरेको मिल्ने होइन भनी बहस जिकिर लिनु भएको छ । वादी दावीको कुरामा प्रतिवादीले पृथक कुराको जिकिर लिएबाट वादी र प्रतिवादी बीच मुख नमिलेको कुरामा र सो मुद्दामा संलग्न वादी प्रतिवादी अथवा निजहरुको हकमा सोही मुख नमिलेको कुरामा आउने जोसुकै व्यक्तिका सम्बन्धमा अघि फैसला भइसकेको स्थितिमा प्राङ न्यायको सिद्धान्त लाग्ने कुरा हो । रिट निवेदक र विपक्षको बीच अघि हक कायम मुद्दा चली हक कायम भएकोमा पछि सो सम्पत्ति भोगै गर्न नदिई खिचोला गरेको अवस्थामा सो खिचोला मेटाई भोगचलन गराई पाउन मुद्दै गर्न नपाइने भनी न्याय र कानुनको कुनै सिद्धान्त रहेको देखिँदैन । तसर्थ प्राङ न्यायको सिद्धान्त विरुद्ध म.क्षे.अ.बाट फैसला भएको छ भन्ने विद्वान अधिवक्ताको बहससंग सहमत हुन मिल्ने देखिएन । अतः म.क्षे.अ.बाट कानुन बमोजिम निर्णय भएको देखिँदा उक्त म.क्षे.अ.को फैसला परिवर्तन गर्ने स्थिति भएन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.केदारनाथ उपाध्याय
इति सम्वत् २०४९ साल भाद्र ३१ गते रोज शुभम् ।