शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५५८ - मोहियानी हकको प्रमाणपत्र पाउँ

भाग: ३४ साल: २०४९ महिना: असोज अंक:

निर्णय नं. ४५५८    ने.का.प. २०४९ ()  अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४७ सालको दे.वि.नं.६४

फैसला भएको मिति: २०४९।५।३१।४ मा

पुनरावेदक/वादी: जि.डोटी दिपायल न.पं. वा.नं.१० दिपायल बस्ने लालबहादुर खड्कासमेत

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने शंकरदत्त भट्ट

मुद्दा : मोहियानी हकको प्रमाणपत्र पाउँ

(१)    गुठी जग्गाको मोहियानी भू.सु.का. ले हेर्ने अधिकार भएको पाइँदैन । गुठी (कार्य व्यवस्था) विनियमको विनियम ११, १२, १३ ले गुठी संस्थानमा नै निवेदन दिनु पर्ने व्यवस्था गरेको देखिन्छ । पुनरावेदकहरुले जोताहाको निस्सा पाउँ भन्ने माग दावी नभई मोही हकको प्रमाणप्रत्र पाउँ भनेको मोहियानी हक सम्बन्धमा हेर्ने भू.सु.अ.को अधिकार क्षेत्र भित्र परेको नपाइने ।

(प्रकरण नं. २१)

(२)   भू.सु.का. ले गुठी जग्गाको मोहियानी तेरो मेरो परेको मुद्दामा मोही ठहर गरी प्रमाणपत्र दिने ठहर्‍याएको बदर गर्ने गरेको अंचल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. २२)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     सू.प.क्षे.अ.को इन्साफ उपर श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको विन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बक्स भई आएको मुद्दाको संक्षिप्त तथ्य जिकिर यस प्रकार रहेछ ।

२.    डोटी सिलगढी स्थित श्री काल श्रृड्डार अविवरण भैरवको पूजा र फकीर सन्यासीलाई खान खर्च समेतको लागि चौतारिया पुष्कर शाहले उक्त जग्गाको आयस्ताबाट चलाउन गुठी जग्गा, १६ घर मोही समेत राखी चलन भोग समेत गरी श्री को पूजा र सदावर्त चलाउने गरी आएको त्यस्तो गुठी जग्गामा भोगचलन गर्ने मोहीलाई मोहियानी हक प्रदान गर्ने नयाँ व्यवस्था भएको भन्ने बुझिन आएकोले पुस्तौं देखि जग्गा कमाउन १६ थर रैती भएकाले १८९० सालको लालमोहरमा लेखिएका इन्द्रचोक सदावर्त गुठी जग्गाको सम्बन्धमा भएको द्वारे र दिपालय ऐरा चौराई खेत कि.नं.१५, १६, २०, ५५, २०५ को कानून बमोजिम मोहियानी हकको प्रमाणपत्र गरिपाउँ भन्ने समेत व्यहोराको गोरखबहादुर खड्का समेतको उजूरी निवेदनपत्र ।

३.    सो उजूरी निवेदन हामीले दिएका हौं हामी साविक देखिको मोही हुँदा सो गुठी जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने समेत निवेदक वा.समेतको गोरखबहादुर खड्काले गरेको कागज ।

४.    मेरो बुवा डोटी सिलगढी इन्द्रचोक सदावर्त गुठीका मुखिया भई मधिरनाथको अनिनाथ योगीबाट १९९६ सालमा मोही धनिनाथले आफ्नो मोहियानीको राजीनामा गरी दिई गुठी रोक्का लालमोहरमा लेखिए अनुसारको काम गरे बापत तोकिएको आज यी काम गरी आएको यस अवस्थामा मुद्दा चली भएका फैसला बमोजिम समेत मोही भइरहेको लक्ष्मीदत्त भट्टका शेषपछि शंकरदत्त भट्टले आफ्ना नाममा दा.खा. नामसारी गरी सो बमोजिम निज बन्दी कायम गरी नापीबाट शंकरदत्त भट्टका नाममा नापी समेत भएको छ । साविक बमोजिम जो जे गर्न गराउन पर्ने काम काज गरी १६ थर संरक्षकहरुले लालमोहर हकमा लेखिए अनुसार काम गरेपछि आज पाउने हुँदा निजहरुको मोहियानी प्रमाणपूर्जा पाउने होइन झुठ्ठा उजूर गरेका हुन मेरो मोही कायम राखी पाउनेछु भन्ने समेतको प्रतिवादी शंकरदत्त भट्टको वा.धर्मराज श्रेष्ठले भू.सु.अ.शाखा डोटीमा गरेको बयान कागज ।

५.    दिपायल स्थित इन्द्रचोक सदावर्त गुठीको दि.न.पं. वा.नं.१० को कि.नं.१५, १६, २० रकमको जग्गामा पहिलेदेखि निवेदक १६ घर सेरालाहरुले भोग गर्दै आएको थिए र हाल पनि कमाएका छन् मोहियानी हक यिनीहरुले नै पाउनु पर्छ भन्ने समेतको न.पं. समक्ष पूर्णसिं कठायतको कागज ।

६.    इन्द्रचोक सदावर्त गुठी जग्गाहरु हालसम्म शंकरदत्त भट्टले चलन गरेको छ अरु कुरा मलाई थाहा छैन भन्ने समेतको न.पं.स.गोरखबहादुरको साक्षीले गरेको कागज ।

७.    मैले कमाएको सरो खेत हो सो जग्गा मैले ज्यालादारीमा कमाएको छु विवादित जग्गा पक्ष विपक्ष दुवैले जोत भोग गरेको छैन म यो जग्गाको वैधानिक अधिकारवाला हुन एकछिन भन्ने समेतको बलदेव साहू जोगी नेगी, कृष्णबहादुर कठायत, भोलि खत्री, मालबहादुर अग्रवाल, नरी जंगी, कालो साहु, दलबहादुर अग्रवाल समेतको व्यक्तिहरुको भू.सु.अ.शाखा, डोटीमा गरेको बयान ।

८.    मैले बाबु बाजेकै पालादेखि कमाई आएको इन्द्रचोक सदावर्त गुठीकै कि.नं.२०५ को जग्गा हो इन्द्रचोक सदावर्त गुठीको मोठमा गुठियारमा नाम दर्ता छ मैली भन्ने समेतको निवेदक जरी खड्काको वा.गोरखबहादुर खड्काले गरेको बयान ।

९.    मैले लामा सरो ज्यालादारीमा कमाई आएको छु । सो जग्गाको बाली शंकरदत्त भट्टलाई बुझाउने गरेको छु । मैले कमाएको जग्गा निवेदकहरुले जोतेको थाहा छैन भन्ने समेतको लाँगे सावद महादेव जगीलाल थापा समेतका बुझिएका व्यक्तिले भू.सु. शाखा डोटीमा गरेको बयान ।

१०.    इन्द्रचोक सदावर्त गुठीको हामी गुठीयार हौं लालमोहर रोक्काई २६ घरको आयस्ताबाट चलाउने भन्ने उल्लेख छ । गुठीको जग्गा बेच बिखन गर्न नपाउने व्यवस्था मिति १९९२।११।४ मा भारदारीको फैसलाबाट धनिनाथको सो गुठी जग्गामा हक समाप्ती भइसकेको छ । राजगुठी सदावर्तको गुठीको जग्गामा हामीहरुको हक मिटाउन विपक्षीको बाबु लक्ष्मीदत्त भट्ट लिने धनिनाथ दिने गरी जाल परिपञ्च मिलाई घर सारी राजीनामा लिने दिने गरेका हुन् । जोताहा अस्थायी निस्सा लिएर आउँछ उसैलाई प्रमाण पुर्जा दिने भनी नापीबाट भनेकोले सो सदावर्त गुठी जग्गाको ४ नं.जोताहाको प्रमाणपत्र हामीहरुले पाउने हो भन्ने समेत गोरखबहादुर खड्का लालबहादुर खड्का, जसूवा, मूल समेतले भू.सु. शाखा डोटीमा गरेको बयान कागज ।

११.    उजूरवालाहरुले पेश गरेको कागजहरु २००७ सालको खड्ग निसानले अमान्य भएको सो जग्गा निजहरुको हक भए २०३८ सालमा नापीमा आफ्नो नाममा नापी गराउनु पर्ने सो समेत गर्न नसकेको शंकर दत्त भट्टले आफ्नो नाममा दा.खा. नामसारी समेत गरी सकेको हुँदा उजूरवालाको उजूरी निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको शंकरदत्त भट्टको वा. धर्मराज श्रेष्ठले भू.सु. शाखा डोटीमा गरेको बयान कागज ।

१२.   जग्गा धनीको सम्बन्धमा इन्द्रचोक गुठी जनाई दर्ता समेत भइसकेको देखिँदा केही गरी रहनु परेन मोहियानीको सम्बन्धमा म धिरनाथको धनीनाथको जग्गाको दामकामसम्म गर्न पाउने दालुकदारी अधिकार मात्र प्राप्त व्यक्ति भएका सबूद प्रमाणबाट देखि भूमिसम्बन्धी ऐन र गुठी संस्थान ऐन, प्रारम्भ हुनु भन्दा अगावै मोहियानी हक कायम हुने गरी खडा भइरहेको अभिलेखमा निवेदकको बाबु बाजेहरुका नाममा दर्ता भई सो को लालमोहर बमोजिम लालमोहर रोक्का आदि प्रमाणबाट निवेदक १६ घर सेरालहरुको मोहियानी हक निषेधित रुपमा कायम भइरहेको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ४८ अनुसार निवेदकलाई दावी बमोजिम इन्द्रचोक सदावर्त गुठी जग्गा कित्तामा साविक अनुसारको शर्त पूरा गर्ने गरी जोताहा अस्थायी निस्सा दिने ठहराई मिति २०४३।११।३।१ मा भू.सु. शाखा डोटीले गरेको फैसला ।

१३.   इन्द्रचोक सदावर्त गुठी जग्गा निवेदक विपक्षीहरुले कमाएको र निजहरुको मोही हुन भन्ने कुरा कुनै प्रमाण पेश गर्न सकेका छैनन् सो जग्गा मेरो बाबुका पालादेखि कमाई आएको हाल मैले कमाएको प्रमाणहरु हुँदा हुँदै गम्भीर रुपमा कार्यविधि कानुनको त्रुटि गरी भू.सु. शाखा डोटीबाट भएको फैसला बदर गरी पाउँ भन्ने समेतको प्र.शंकरदत्त भट्टले से.अं.अ.मा मिति २०४३।११।२९ मा दिएको पुनरावेदनपत्र ।

१४.   गुठी संस्थान अधीनस्थ डोटीमाल तालुकको इन्द्रचोक सदावर्त गुठी जग्गामा भूमिसम्बन्धी सम्बन्धी ऐन, २०२१ बमोजिम अधिकार प्रयोग मोहियानी हकको तेरो मेरो उजूर लिई कारवाही किनारा गर्न पाउने गरी गुठी संस्थान ऐन, २०३३ बमोजिम विनियम तथा सूचनाद्वारा अधिकार प्रदान गरेको देखिन नआएकोबाट जिल्ला कार्यालय भूमिसुधार शाखा डोटीले विवादितग्रस्त मुद्दा लिई कारवाही किनारा गरेको अ.बं. ३५ नं.विपरीत गरे भएको देखिँदा पुनरावेदनको दावी लिएको मिति २०४३।११।३।१ को निर्णय अधिकार क्षेत्र बाहेकको देखिँदा बदर हुने ठहर्छ भन्ने समेत सेती अंचल अदालतको मिति २०४४।७।२६ को फैसला ।

१५.   गुठी संस्थान ऐन, २०३३ को दफा ४८ मा गुठी जग्गाको जोताहा अस्थायी निस्सा ज.ध.बनी स्थायी प्रमाण पूर्जा रैकर जग्गाको निस्सा गरिने कार्यालयले दिने छ भन्ने प्रष्ट व्यवस्था भएकोमा सोही ऐनको अधिकार प्राप्त गरी बनाएको विनियमले मुलुकी ऐनको व्यवस्थालाई काट्न नसक्ने हुँदाहुँदै भू.सु.शाखाले गरेको निर्णय बदर हुने भन्ने सेती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा फैसला बदर गरी भूमिसुधार शाखाले गरेको निर्णय कायम गराई पाउँ भन्ने समेत व्यहोराको गोरखबहादुर खड्का समेत जना ६ को तथा निवेदक कर्णबहादुर खड्काले सु.प.क्षे.अ.मा दिएको पृथक पृथक पुनरावेदनपत्र ।

१६.    गुठी संस्थान ऐन, २०३३ ले प्रष्ट गरेको कुराको विपरीत विनियम प्रकाशित भएको देखिन आएकाले समेत विनियम बमोजिम हुने समेत भनी प्रस्तुत मुद्दा बदर गरेको सेती अंचल अदालतको फैसला नमिलेकोले छलफल निमित्त अ.बं. २०२ नं.तथा क्षेत्रीय अदालतको नियमावली अनुसार विपक्षीलाई नोटिसको म्याद दिनु भन्ने समेतको सु.प.क्षे.अ.को मिति २०४५।३।१ को आदेश ।

१७.   मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने दावी भएको उजूरी गुठी संस्थान ऐन, २०३३ को दफा २६, २७ र ६५ तथा गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४२ को विनियम १२, १३ बमोजिम भूमि सुधार शाखाले लिनु र कारवाही किनारा गर्नु कानुनी व्यवस्था विपरीत भई अधिकार क्षेत्र विहिन भए गरेको र दावी नै नभई निर्णय गरेको कुरालाई कानुनी मान्यता दिन नमिल्ने भएकोले भूमि सुधार कार्यालय, डोटीले गरेको निर्णय उल्टी गरेको सेती अंचल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने सु.प.क्षे.अ.को फैसला ।

१८.   सु.प.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा इन्साफ जाँच गरी दिनु भन्ने हु.प्र.बक्स पाउँ भन्ने पुनरावेदकको श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको बिन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमाड्डीको जनाउ बिन्तिपत्रवालालाई दिनु भन्ने यस सर्वोच्च अदालतमा आएको बिन्तिपत्र विविधको लगतमा दर्ता गरी मिसिल झिकाई निवेदकलाई सूचना दिनु भन्ने यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासको आदेश ।

१९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले गर्नुभएको बहस समेत सुनियो ।

२०.   सु.प.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

२१.   यसमा निर्णय तर्फ विचार गर्दा गुठी संस्थान ऐन, ०३३ को दफा २७ ले गुठी जग्गामा खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने छभन्ने कानुनी व्यवस्था भएको र ऐ. ऐनको दफा ४८ मा गुठी जग्गाको जोताहा अस्थायी निस्सा र जग्गा धनीको स्थायी प्रमाण पूर्जा रैकर जग्गाको निस्सा दिने कार्यालयले दिनेछ भन्ने उल्लेख भएको पाइन्छ । गुठी जग्गाको मोहियानी भू.सु.का.ले हेर्ने अधिकार भएको पाइँदैन । गुठी (कार्य व्यवस्था) विनियमको विनियम ११, १२, १३, ले गुठी संस्थानमा नै निवेदन दिनु पर्ने व्यवस्था गरेको देखिन्छ । यी पुनरावेदकहरुले जोताहाको निस्सा पाउँ भन्ने माग दावी नभई मोही हकको प्रमाणपत्र पाउँ भनेको मोहियानी हक सम्बन्धमा हेर्ने भू.सु.अधिकारीको अधिकारक्षेत्र भित्र परेको पाइदैन ।

२२.   अतः भू.सु.कार्यालयले गुठी जग्गाको मोहियानी तेरो मेरो परेको मुद्दामा मोही ठहर गरी प्रमाणपत्र दिने ठहर्‍याएको बदर गर्ने गरेको सेती अंचल अदालतको इन्साफ सदर गरेको सू.प.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा पुनरावेदकहरुलाई केही गर्नु परेन । मिसिल नियम अनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इतिसम्वत् २०४९ साल भाद्र ३१ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु