शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५७० - उत्प्रेषण मिश्रित परमादेश

भाग: ३४ साल: २०४९ महिना: असोज अंक:

निर्णय नं. ४५७०    ने.का.प. २०४९ ()  अङ्क ६

 

एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

२०४९ सालको रिट नं.२५००

आदेश भएको मिति: २०४९।३।२५।५ मा

निवेदक      : वीरगंज चिनी कारखाना लि. को तह ४ को जुनियर अफिस असिष्टेण्ट पदबाट अवकाश दिएको विमल शम्शेर ज.ब.रा.

विरुद्ध

विपक्षी : वीरगंज चिनी कारखाना, लिमिटेड वीरगंजसमेत

विषय : उत्प्रेषण मिश्रित परमादेश

(१)    उमेर भन्ने कुरा नोकरीमा प्रवेश हुँदा शैक्षिक योग्यता भए सो आधारमा र नभए सरकारी श्रेस्ताले कायम गरेकोलाई नै यकीन गर्नु भरपर्दो प्रमाण हुने ।

(प्रकरण नं. ७)

(२)   नोकरीबाट अनिवार्य अवकाश लिने स्थिति आइपरेपछि नागरिकता टोलीको श्रेस्तामा कायम भइरहेको श्रेस्ताका विपरीत पछि भारतको अजयनगर मधुवनी स्थित उच्च माध्यमिक विद्यालय भनिएको स्कुलको स्थानान्तर प्रमाणपत्रमा उल्लेखित जन्ममितिको आधार ग्राह्य गर्न नसकिने ।

(प्रकरण नं. ७)

आदेश

न्या.मोहनप्रसाद शर्मा

१.     नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

२.    म निवेदक वीरगंज चिनी का.लि. मा मिति २०२९।८।११ का दिन देखि तह ३ को ग्यारेज सुपरभाइजर पदमा नियुक्ति भई २०४८ सालमा तह ४ जुनियर अफिस असिष्टेण्ट पदमा बढुवा भयो । मिति २०३२।०३३ सालमा पर्सा जिल्लामा नेपाली नागरिक सूचिकरण गर्ने टोली खटेकोमा म घरमा नभई नोकरीमा भएको अवस्थामा मेरो नाम अन्दाजी हिसाबबाट सूचिकृत गरी दिएको रहेछ । उक्त वीरगंज चिनी का.लि. मा नोकरी बहाली गर्दा नागरिकताको प्रमाणपत्र पेश गरेको थिएन । नागरिकताको प्रमाणपत्र पेश गर्नु भनिएको बखत प्रशासकीय अधिकृतले सूचित गरे अनुसार जिल्ला कार्यालय पर्सामा जाँदा उक्त टोलीको लगत अनुसार मिति २०३४।१।५ का दिन ४५ वर्षको उमेर देखाई नागरिकता प्रमाणपत्र दिइयो । आफूले अध्ययन गरेको विद्यालयको जन्म मिति खुलेको प्रमाणपत्र तत्काल फेला नपरेको हुँदा वीरगंज चिनी कारखानामा सो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नै पेश गरे पछि आफूले अध्ययन गरेको विद्यालयको प्रमाणपत्र फेला परेकोले सोही आधारमा नाम संशोधनको लागि जिल्ला कार्यालयमा निवेदन दिए अनुसार मिति २०४८।८।१७ को निर्णयले जन्म मिति १९९८।९।१८ कायम गरी उमेर सच्याई सो निर्णय भएको व्यहोरा दर्शाई २०४७।१२।३ मा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गरियो ।

३.    सो उमेर संशोधन गरिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत साथै राखी उमेर संशोधन गरिपाउँ भनी ऐ.कारखानाका वरिष्ठ प्रशासकीय अधिकृतलाई संशोधन गरी मिति २०४७।१२।१७ मा निवेदन, ऐ.का महाप्रबन्धकलाई सम्बोधन गरी मिति २०४८।८।२५ मा, ऐ.का संचालक समितिको अध्यक्षलाई एक्सप्रेश डेलिभरी सर्भिस मार्फत मिति २०४८।१२।२२ मा त्यसपछि ऐ.का वीरगंज चिनी कारखाना वीरगंज कार्यालयमा मिति २०४८।१०।६ मिति २०४८।१२।३० का दिन निवेदन दर्ता गराएकोमा सो निवेदनहरुमा कुनै कारवाही भए नभएको सन्दर्भमा यकीन जानकारी दिइएन ।

४.    मिति २०४८।१२।३० प.सं.प्र. शा/एस.ए.वि. ४।१२८४ को पत्रद्वारा वरिष्ठ प्रशासकीय अधिकृतले वीरगंज चिनी कारखाना लि. को मिति २०४८।१२।३० को निर्णयानुसार मिति २०४९।१।५ देखि लागू हुने गरी मिति २०४९।१।४ मा उमेरको हद पूरा भएको हुनाले कारखानाको सेवाबाट अवकास दिएको सूचना दिइयो । मेरो उमेर अवकाश दिंदाको अवस्थामा ५० वर्ष २ महीना १६ दिन जति रहेको कुरा नेपाली नागरिकताको प्रमाणपत्रबाट स्थापित हुँदा हुँदै ९ वर्ष ९१२ महीना उमेर बाँकी छँदा छँदै सेवाबाट अवकाश दिएको हुनाले मैले मेरो उमेर संशोधन गर्न दिइएको निवेदनपत्रहरुमा यथार्थ निर्णय गरिपाउँ भनी अनवरत रुपले अनुरोध गर्दा पनि सो मा निर्णय नगरी मलाई तत्सम्बन्धमा कुनै जानकारी नभई अवकाश दिइएको हुनाले अन्यायमा पर्न गएको छु । विपक्षीको निर्णय निम्न आधारमा त्रुटिपूर्ण छ ।

५.    प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ तथा उमेर नाम जात सच्याउने नियमहरु, २०१७ को नियम ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ११ को उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांशले प्रदान गरेको अधिकार प्रयोग गरी श्री ५ को सरकारले मिति २०२८।५।१४ संख्या २० को नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उमेर नाम र जात सच्याउने नियमहरु, २०१७ अन्तर्गत अंचलाधीशलाई प्रदान गरिएको अधिकार स्थानीय प्रमुख जिल्ला अधिकारी ऐ. नियमहरुको नियम ३ अन्तर्गत अधिकार प्राप्त अधिकारी भएको हुँदा मैले शैक्षिक संस्थाबाट प्राप्त गरेको स्थानान्तरण प्रमाणपत्रको आधारमा उमेर सच्याउन जिल्ला कार्यालयमा निवेदन दिंदा ऐ.कार्यालयले आवश्यक जाँचबुझ गरी मिति २०४७।८।१७ मा निर्णय गरी मेरो जन्म १९९८।९।१८ गते भएको भनी उमेर सच्याई नागरिकता प्रमाणपत्र दिएको हुँदा मैले पहिले पेश गरेको जि.का. पर्साबाट मिति २०३४।१।५ मा नागरिकताको प्रमाणपत्र लिंदा लेखिएको उमेर बदर भइसकेको उमेरलाई आधार बनाइयो । निज अधिकारीले गरेको निर्णय र सच्याएको उमेर अन्यथा प्रमाणित नभएसम्म प्रमाण ऐन, २०३१ को दफा ६(ङ) ले निर्विवाद र बाध्यात्मक रुपले प्रमाणको रुपमा ग्रहण गरी उमेर हद सम्बन्धमा निर्णय गर्नु पर्नेमा अधिकार प्राप्त अधिकारीद्वारा प्रदान गरिएको प्रमाण र भएको उमेर सम्बन्धी निर्णयलाई प्रमाणमा नलिई स्वेच्छिक र अनधिकृत रुपले उमेरको हद नपुग्दै सेवाबाट अवकाश दिइएको हुनाले अवकाश दिने निर्णय र पत्र समेतको क्रिया नेपाल नागरिकता ऐन, २०२० उमेर नाम र जात सच्याउने नियमहरु, २०१७ को नियम ३ प्रमाण ऐन, २०३१ को दफा ६(ङ) र अ.बं. ३५ नं.समेतको विपरीत भई बदरभागी छ । मैले पेश गरेको अन्तिम रुपले कायम रहेको प्रमाणहरुको सम्बन्धमा निर्णय नगरी अधिकार प्राप्त अधिकारी प्रमुख जिल्ला अधिकारीको निर्णयद्वारा बदर भइसकेको उमेरको प्रमाणलाई प्रमाणमा लिई उमेरको हदबाट मैले सेवा गर्न पाउने मेरो उमेर निर्विवाद रुपले बाँकी हुँदा हुँदै पनि मलाई सेवाबाट अवकाश दिएको निर्णय अनधिकृत र प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको त्रुटियुक्त हुँदा उक्त मलाई अवकास दिने सम्बन्धमा गरिएको मिति २०४८।१२।३० को निर्णय र सो आधारमा प्रदान गरिएको पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो उमेरको हद २०५८।९।१७ गतेमा ६० वर्ष पुग्ने भएको हुनाले सो मितिसम्म कामकाज र सेवा दिनु भनी विपक्षीहरुको नाममा परमादेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

६.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा विपक्षीहरुबाट लिखितजवाफ मगाउनु पर्ने नपर्ने विषयमा निर्णय दिनु परेको छ ।

७.    यसमा निर्णयतर्फ विचार गर्दा रिट निवेदकले वीरगंज चिनी कारखानामा नोकरीमा बहाल गर्दा शुरुमा नागरिकताको प्रमाणपत्र पेश नगरेको र पछि कार्यालयले उमेर खुलेको नागरिकताको प्रमाणपत्र पेश गर्ने सूचना गरेपश्चात तत्कालीन नागरिकता टोलीले खडा गरेको लगत सूचीको आधारमा मिति २०३४।१।५ मा ४५ वर्षको उमेर देखाई जिल्ला कार्यालय पर्साबाट नागरिकताको प्रमाणपत्र लिई पेश गरे पछि शैक्षिक प्रमाणपत्र बमोजिम उमेर सच्याउनु उक्त जिल्ला कार्यालयमा निवेदन दिंदा जिल्ला कार्यालयले सो शैक्षिक प्रमाणपत्रको आधारमा मेरो जन्म मिति १९९८।९।१८ कायम गरी २०४७।८।१७ मा निर्णय गर्‍यो । उक्त निर्णयको प्रतिलिपि मिति २०४७।१२।३ मा मलाई प्रदान गरियो । यसै बमोजिम मैले पनि उमेर सच्याउन मिति २०४७।१२।१७ लगायतका विभिन्न मितिमा विपक्षी समक्ष निवेदन गरेँ । तर सो सम्बन्धमा कुनै कारवाही भएको जानकारी मलाई दिइएन । मिति २०४८।१२।३० को निर्णय अनुसार मिति २०४९।१।५ देखि लागू हुने गरी उमेरको हद पूरा भएको हुनाले कारखानाको सेवाबाट अवकाश दिइयो । अवकाश दिंदा मेरो उमेर ५० वर्ष २ महीना १६ दिन जति मात्र हुन्छ । ६० वर्ष पुग्न ९ वर्ष ९१२  महीना बाँकी छँदै नोकरीबाट अवकाश दिएको मिलेन बदर गरिपाउँ भन्ने समेतको मुख्य रिटनिवेदन जिकिर देखिन्छ । यस स्थितिमा निवेदकले शुरु मिति २०२९।८।११ मा वीरगंज चिनी कारखानाको नोकरीमा प्रवेश गर्दा नागरिकता पेश नगरी पछि कार्यालयले नागरिकता पेश गर्ने आदेश दिंदा मिति २०३४।१।५ मा आफ्नो उमेर ४५ वर्ष भएको भन्ने नागरिकता प्रमाणपत्रमा भएको सकार गरी नागरिकता लिएको भन्ने कुरा रिट निवेदनबाटै स्पष्ट देखिन्छ । २०३४ सालमै आफूले आफ्नो उमेर ४५ वर्ष भएको थाहा पाएको कुरालाई चुप लागी बसी २०४७ सालसम्म केही नगरी बसेको भन्ने कुरामा पनि निर्विवाद देखिन्छ । जब उमेरको हदको आधारमा नोकरीबाट अवकाश हुने स्थिति आइपर्दछ तब तत्कालै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नागरिकतामा उमेर सच्याउने प्रयास गरेको देखिन आउँछ । उमेर भन्ने कुरा नोकरीमा प्रवेश हुँदा शैक्षिक योग्यता भए सो आधारमा र नभए सरकारी श्रेस्ताले कायम गरेकोलाई नै यकीन गर्नु भरपर्दो प्रमाण हुन्छ । नागरिकता टोलीको श्रेस्तामा कायम भइरहेको श्रेस्ताको आधारमा नागरिकताको प्रमाण लिई २०४७ सालसम्म सो नागरिकतामा उल्लेखित उमेरमा चित्त बुझाई बसेको देखिन्छ । नोकरीबाट अनिवार्य अवकाश लिने स्थिति आइपरेपछि नागरिकता टोलीको श्रेस्तामा कायम भइरहेको श्रेस्ताका विपरीत पछि भारतको अजयनगर मधुवनी स्थित उच्च माध्यमिक विद्यालयको भनिएको स्कूलको स्थानान्तर प्रमाणपत्रमा उल्लेखित जन्म मितिको आधार गाह्य गर्न सकिने अवस्था नहुँदा विपक्षीहरुबाट लिखितजवाफ मगाई रहनु नपरी रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

इतिसम्वत् २०४९ साल असार २५ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु