शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५८० - कर्तव्य ज्यान

भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक:

निर्णय नं. ४५८०    ने.का.प. २०४९ ()  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

सम्वत् २०४८ सालको फौ.सा.नं.८८

फैसला भएको मिति: २०४९।६।२६।२ मा

वादी: विश्वनाथ खनालको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी: विराटनगर न.पं. वा. नं.२ बस्ने उद्धवकुमार पुडासैनी

मुद्दा : कर्तव्य ज्यान

(१)    मृतकले आफ्नो मृत्युको कारणको सम्बन्धमा मृत्यु पूर्व होस छँदै व्यक्त गरेको बयान, लास प्रकृति मुचुल्का समेतबाट मृतकको मृत्यु प्रतिवादीहरुले आगो लगाई दिएबाट नै भएको देखिन आएको हुनाले प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको अञ्चल अदालतको फैसला सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने ।

(प्रकरण नं. ३३)

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     पू.क्षे.अ.बाट २०४७।१।२४।२ मा फैसला भई साधक सदरको लागि जाहेर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    २०३७।११।२७ गते उद्धव पुडासैनीसंग मेरी छोरी संगीताको विवाह भई निजबाट १ छोरा पैदा भएको र छोरीको हाल ६ महीनाको गर्भ थियो । यही २०४१।१२।७ गते छोरी विराटनगर अस्पताल इमर्जेन्सी वार्डमा छ भन्ने चिठ्ठी आएकोले गई हेर्दा घाँटी देखि तल सबै शरीर जलेको बेहोस हालतमा देखी आई भोलिपल्ट श्रीमतीलाई पठाएँ । ३ दिन पछि श्रीमती अस्पतालबाट फर्केकीले ०४१।१२।१५ गते म गई छोरीसंग सोधपुछ गर्दा रोई रहेकी ज्वाई र संधिनीले समेत वास्ता नगरेकोले छोरीलाई बराबर सोधपुछ गर्दा ०४१।१२।१७ गते बिहान घरमा अन्न पानी केही थिएन, साँझ ८ बजेतिर सासूले किन खाना नपकाएकी भन्नु हुँदा घरमा के छ र भन्दा छोरालाई आउन दे अनि तेरो नतिजा देखाउँला भन्नु भयो, श्रीमान १० बजे राती मादक पदार्थ सेवन गरेर आउँदा कुरा लगाई दिए । श्रीमानले बिंडी खान सलाई माग्नु भएकोले ल्याइदिएँ । सासूले जगल्टा समाई लडाउन लाग्दा श्रीमानले नोख भएको जुत्ताले पेटमा हान्दा बेहोस भएछु, जीउमा आगोले पोलेकोले म उठी छटपटिई फेरि बेहोस भएछु । कसले अस्पताल ल्यायो थाहा छैन भनेको र छोरीको बाँच्ने आश छैन, निजको बयान गराई कारवाही गरी पाउँ भन्ने समेत विश्वनाथ खनालको जाहेरी दर्खास्त ।

३.    ०४१।१२।६ गते मंगलबार बेलुका ६ बजे देखि सासूसंग साधारण झगडा भइरहेको घरमा चामल नभएकोले खाना बनाएको थिइन, १० बजेतिर लोग्ने मादक पदार्थ सेवन गरी आएर सलाई माग्दा मैले भाडामा बस्ने गोपाल पौडेलसंग सलाई मागी दिएँ । सासूले लोग्नेलाई कुरा लगाई दिएछ । सासूले मलाई एक्कासी जगल्टा समाती मुड्कीले हान्ने र लोग्नेले नोख भएको जुत्ताले पेटमा हान्ने गर्दा म बेहोस भएछु । मलाई पछि सासू र लोग्नेले ओसारबाट भित्र कोठामा लगेछन् । मैले लगाएको कपडा तलबाट जली छातीमा पोलेकोले होस आउँदा आफ्नै कोठामा रहेछु, आगो लाग्यो भनी चिच्याउँदै उठ्दा कोठामा लोग्ने भएको, भित्रबाट छेस्किनी लागेको रहेछ । देवर प्रदिपले रिक्सामा अस्पताल ल्याएछ । ०४१।१२।९ गते मेरो ६ महीनाको गर्भ गिरेको थियो । सासू र लोग्ने भई मलाई मार्ने नियतले कुटी बेहोस बनाई आगो लगाई दिएको भन्ने मलाई लाग्छ भन्ने समेत संगीता पुडासैनीले अस्पतालमा डा.महावीरकृष्ण मल्लको रोहवरमा ०४१।१२।१७।७ मा गरेको कागज ।

४.    आजभन्दा १२।१३ दिन अगाडि दाजु उद्धव र भाउजु संगीताको बीच झगडा भएको सुनेको, झगडा शान्त भएपछि भाउजू मेरो घरमा आई दाजुले मलाई पिट्नु भयो कति दिन यसरी सही रहुँ भन्नु हुँदा सहनु पर्छ भनी सम्झाए पछि भाउजू जानु भयो । राती १०.३० बजे तिर आमाले आगो लाग्यो भन्थे, भाउजू नांगै हुनुहुन्थ्यो । रिक्सा ल्याई भाउजूलाई अस्पताल ईमर्जेन्सी वार्डमा भर्ना गरी फर्केको ६।७ दिन अघि भाउजूको गर्भ खसेछ । ३४ दिन सम्म दाजुले औषधि गराउँदै आउनु भएको, अहिले भाउजूको माईतीले औषधि गराउँदै आएको छन् । भाउजूको शरीरमा आगो लगाई दिएको हो वा आफै लागेको हो मैले नदेखेकोले थाहा छैन भन्ने समेत प्रदिप पुडासैनीले प्रहरीमा गरेको कागज ।

५.    आज भन्दा १३।१४ दिन अगाडि उद्धव बेलुका ७।८ बजे तिर घरमा गएका, दालको विषयमा वादविवाद हुँदा उद्धवले आफ्नी श्रीमतीलाई पिटेछन् र श्रीमतीले पनि सानो दाउराको अगुल्टोले पिट्न लाग्दा मेरो आमा र उद्धवको आमाले हटाई दिएको, उद्धवले जुत्ताले हानेछ भन्थे, मैले देखिन । राती अं. १० बजे उद्धवकी श्रीमतीले सलाई मागी दिएको, म आफ्नो कोठामा निदाएछु । उद्धवले आमा भनी कराएको र कोठामा आगो बलिरहेको देखी दाजु ढोका खोल्नुहोस भने, ढोका खुलेपछि काठ मिस्त्रिहरुले आगो निभाए । उद्धवको श्रीमतीलाई निजकै सासूले कोठाबाट बाहिर निकालिन, निजको शरीर जलेको र नाङगै थियो, के भएर आगो लाग्यो थाहा छैन भन्ने समेत पार्वती पौडेल र १३।१४ दिन अगाडि राती अं. ११ बजे आगो लाग्यो भनी हल्ला सुनी जाँदा उद्धवको घरको बरण्डामा उद्धवको श्रीमती उभिएको, हातमा पोलेको थियो । मैले रिक्सा हाँकी अस्पताल लगेको हो, बाटोमा कुनै कुरा गरिनन् होसमै थिइन् भन्ने समेत हितलाल यादवले प्रहरीमा गरेको कागज ।

६.    संगीता पुडासैनी २०४१।१२।७ गते भर्ना भई २०४१।१२।९ मा ५ महीनाको बच्चा आगोले पोलेको कारणले गर्भपतन भएको भन्ने कोशी अञ्चल अस्पतालको ०४१।१२।१९ को पत्र ।

७.    छोरी संगीताको उपचार हुँदा हँदै २०४१।१२।२० गतेका राती सोही कुटपीट र डढेको पीरबाट मृत्यु हुन गएको र गर्भ समेत पतन भएकोले अभियुक्तहरु माथि कारवाही गरिपाउँ भन्ने समेत विश्वनाथ खनालको जाहेरी दर्खास्त ।

८.    दाहिने पट्टी आगोले जली कालो दाग भएको, दाँहिने बायाँ कानमा आगोले जलेको घाउ, केश आगोले जली छोटो भएको, दाहिने हात छाती माथि खुम्च्याई आगोले खाई घाउ भएको, छाति देखि तल पैतालैसम्म आगोले जलेको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

९.    यही चैत्र ६ गते बेलुका अं. ६ बजेतिर घर पुगें, श्रीमती संगीताले मसुरीको दाल पकाएकोमा वादविवाद भई २ झापड गालामा पिट्दा श्रीमतीले चुल्होमा बली रहेको अगुल्टो निकाली मलाई पिट्न अघि सर्दा मैले अगुल्टो पक्रें तब मलाई धक्का दिई कोठाबाट बाहिर गई । श्रीमतीले कोठामा बत्ती बालेकी, म दक्षिणतर्फ फर्की सुतेको, एकछिन पछि फर्केर हेर्दा श्रीमतीको शरीरमा लगाएको कपडा तलदेखि दनदन बलीरहेको देखें, मैले श्रीमतीलाई मारौं भनी कुनियत लिई आगो लगाइएको, पेटमा हानेको होइन । आगोले जलेको कारणबाट अस्पतालमा श्रीमतीको मृत्यु भएको हो भन्ने समेत प्र.उद्धवकुमार पुडासैनीको प्रहरीमा भएको बयान ।

१०.    संगीता पुडासैनीलाई निजको सासू र श्रीमान समेतले कुटपीट गरेको थाहा छैन, आफैले आगो लगाएको भनेकी थिइन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

११.    आगोले जलेको कारणबाट मृत्यु भएको भन्ने लाश जाँच प्रतिवेदन ।

१२.   टुकी बाल्दा टुकीको मट्टितेल लुगामा परी सल्केको भनी बुहारीले भनेकी थिई । कुटपीटबाट गर्भ गिरेको होइन । आगोले जलेको औषधि खाँदा गिरेको हुनुपर्छ । कर्तव्यबाट आगो लगाएको होइन भन्ने समेत सरीता पुडासैनीको प्रहरीमा भएको बयान ।

१३.   मर्ने व्यक्तिले होस छँदै आफ्नो मृत्युको कारण सम्बन्धमा व्यक्त गरी लेखाई दिए अनुसार कुटपीट गरी बेहोस अवस्थामा आगो लगाई दिएको र सोही पिडाबाट १४ दिन पछि निजको मृत्यु भएको देखिएकोले मुख्य भई आगो लगाई दिने उद्धव पुडासैनीलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम र सो काममा सहयोग पुर्‍याई दिने सरीता पुडासैनीलाई सोही महलको १७(३) बमोजिम गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन ।

१४.   २०४१ साल चैत्र ६ गते बेलुका श्रीमतीले भाडामा बस्ने गोपालको श्रीमती पार्वतीसंग सलाई मागी शरीर बालेकी थिई, अं. २ मिनेट पछि हेर्दा श्रीमतीको शरीर सल्कन लागेको रहेछ, तन्ना र डसना समेतले निभाउन खोजें पूरै निभ्न पाएन । झुलमा पनि आगो लाग्यो, श्रीमतीलाई अस्पताल पुर्‍याई उपचार हुँदा हँुदै मृत्यु भएछ, मैले र मेरी आमा समेतले श्रीमती संगीतालाई कर्तव्य गरी आगो लगाएको होइन भन्ने समेत प्रतिवादी उद्धवकुमार उपाध्याय पुडासैनीको अदालतमा भएको बयान ।

१५.   आगो लाग्यो भनी छोराले कराएकोले मैले ढोका खोल्न लगाई भित्र पस्दा छोराले तन्दाले बुहारीको शरीरमा सल्केको आगो निभाउँदै गरेको देखेपछि बुहारीलाई बाहिर निकाली धेरै मानिस भेला भएपछि छोराले उपचारको लागि अस्पताल पुर्‍याएका हुन् । मैले बुहारीलाई सोधपुछ गर्दा डिबीया सल्काउँदा शरीरमा आगो लागी जलेको भनेकी हुन्, मैले जगल्टाई आगो लगाएको, छोराले कुटपीट गरी आगो लगाई कर्तव्य गरी मारेको होइन भन्ने समेत प्रतिवादी सरिता पुडासैनीको अदालतमा भएको बयान ।

१६.    मृतक संगीता पुडासैनीले २०४१।१२।१७ गते प्रहरी र डाक्टरको रोहवरमा गरेको बयान र जाहेरी झुठ्ठा हो, मृतक आफैले आगो लगाई मरेकी हुन् भन्ने समेत प्र. उद्धवको साक्षी सागर थपलियाको बकपत्र ।

१७.   उद्धवको श्रीमतीले मैले आफ्नो जीउमा आगो लगाई पिताको बहकाउमा लागी नराम्रो काम गरें भनेकी थिइन् भन्ने समेत प्र. उद्धवको साक्षी कमलप्रसाद भट्टको बकपत्र ।

१८.   मृतकले लोग्नेसंग साधारण झगडा भएको कारणबाट आवेशमा आएर आफ्नो शरीरमा आफैले आगो लगाएकी हुन्, कर्तव्यबाट आगो लगाइएको होइन भन्ने समेत प्र.उद्धवको साक्षी गौरीनारायण श्रेष्ठको बकपत्र ।

१९.    चैत्र ७ गते हस्पिटलमा हेर्न जाँदा मृतक संगीताले मैले आफैले आगो लगाएकी हुँ यस्तो होला भन्ने थाहा भएन भनेकीले कसैले कर्तव्यबाट आगो लगाएको होइन भन्ने समेत प्र.उद्धवको साक्षी शम्भु भारतीको बकपत्र ।

२०.   अस्पतालमा हेर्न जाँदा विरामी संगीताले मेरो मति बिग्रेर आफैले आगो लगाएँ भनेकीले कसैको कर्तव्यबाट मरेकी होइन भन्ने समेत प्र.सरीताको साक्षी किसुनदेव गिरीको बकपत्र र सोही व्यहोराको राधाकृष्ण गिरी, जगदीश कामत, केदारनाथ श्रेष्ठ, कनकराम मानन्धरको बकपत्र ।

२१.   संगीता बयान दिंदाका अवस्थामा बयान दिन सक्षम थिइन्, मेरो रोहवरमा बयान भएको हो बिरामी आउँदा निकै सिकिस्तै र पूरा होसमा थिइन भन्ने समेत डा.महावीरकृष्ण मल्लको बकपत्र ।

२२.   जाहेरीलाई समर्थन गरी भएको जाहेरवाला विश्वनाथ खनालको बकपत्र ।

२३.   मृतक संगीता पुडासैनीको शरीरमा आगो लागेको हो तर के कसरी लागेको हो भन्ने थाहा छैन भन्ने समेत प्रदिपकुमार शर्मा पुडासैनीको बकपत्र ।

२४.   आगो के कसरी लागेको हो म भन्न सक्दिन मलाई थाहा छैन भन्ने समेत पार्वती पौडेलको बकपत्र ।

२५.   मृतकले अस्पतालमा गरेको कागजमा पनि प्रतिवादीहरुले यो यस किसिमले आगो लगाई दिएको भनी किटान भन्न नसकी आगो लगाई दिएको हो भन्ने लाग्छ भनेको, उक्त कागज, उपचार गर्ने डाक्टरको बकपत्र तथा सरजमीनका मानिसले भनेको कुरा आपसमा बाझिएको, त्यस्तो परस्पर अमिल्दो मृतक संगीताको कागजको आधारले मात्र अन्य प्रमाणको अभावमा शंकाको आधारले प्रतिवादीहरुले आगो लगाई कर्तव्य गरी मारेको भन्ने फौज्दारी न्याय सिद्धान्त विपरीत हुने हुँदा प्रतिवादीहरुले प्रहरी प्रतिवेदन माग दावी बमोजिम आगो लगाई कर्तव्य गरी मारेको ठहर्दैन प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत मिति २०४३।११।२०।४ को मोरंग जिल्ला अदालतको फैसला ।

२६.   प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनु पर्ने भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट को.अं.अ.मा परेको पुनरावेदनपत्र ।

२७.   मृतक संगीताको मर्नु पूर्व भएको कागजलाई अन्यथा भन्न सम्झन मिल्ने प्रतिवादीहरुबाट ठोस सबूद प्रमाण पेश नभएको तथा पोष्टमार्टम रिपोर्ट समेतका आधार प्रमाणहरुबाट प्रतिवादी सरीता पुडासैनीले समेत कुटपीट गर्न सहयोग गरेको र प्रतिवादी उद्धव पुडासैनीले संगीता पुडासैनीलाई कुटपीट गरी बेहोस पारी कोठामा थुनी जीउमा आगो लगाई दिएको र सोही आगो लगाएको कारणबाट कानुनका म्याद भित्रै निजको मृत्यु भएको देखिन आएबाट प्रतिवादी उद्धव पुडासैनीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद र प्रतिवादी सरीता पुडासैनीलाई ज्यानसम्बन्धीको १७(३) नं.अनुसार १ वर्ष कैद हुने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको मिति २०४६।२।२५।४ को फैसला ।

२८.   कोशी अञ्चल अदालतको उक्त फैसला साधक जाहेर भई पू.क्षे.अ.मा पुगेकोमा प्रतिवादीहरुले प्रहरी प्रतिवेदन दावीको कसूर गरेको ठहर्‍याई प्रतिवादी उद्धवकुमार पुडासैनीलाई ज्यानसम्बन्धीको १३(३) र प्रतिवादी सरीता पुडासैनीलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम सजायँ गर्ने गरेको कोशी अञ्चल अदालतको फैसला मिलेकै देखिंदा सदर हुन्छ भन्ने समेत पू.क्षे.अ.को मिति २०४७।१।२४।२ को फैसला ।

२९.   पू.क्षे.अ.को फैसला साधक सदरको लागि यस अदालतमा दर्ता हुन आएकोमा प्रतिवादीहरुले आगो लगाई कर्तव्य गरी मर्ने संगीतालाई मारेको भन्ने शंकारहित प्रमाणबाट प्रमाणित हुनसकेको नदेखिंदा छलफलका लागि अ.बं. २०२ नं.बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०४९।२।२५।१ को आदेश ।

३०.   नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पू.क्षे.अ.को फैसला मिलेको छ छैन सो विषयमा निर्णय दिन पर्ने हुन आयो ।

३१.   निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी उद्धवकुमार पुडासैनी उपर आफ्नी श्रीमती संगीता पुडासैनीलाई कुटपीट गरी आगो लगाई घाइते बनाएको र सोही आगोले पोलेको कारणबाट निजको मृत्यु भएकोले आगो लगाई मारेको अभियोग लगाई मुद्दा चलेकोमा शुरु मोरङ जिल्ला अदालतले कसूरबाट सफाई दिए उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी कोशी अञ्चल अदालतबाट प्रतिवादी उद्धवकुमार पुडासैनीलाई कसूरदार ठहर्‍याई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको फैसला नै पू.क्षे.अ.बाट सदर भएको पाइन्छ । मृतक संगीता पुडासैनीको शरीरमा आगो लागि उपचारको लागि कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको र सोही अस्पतालमा उपचार हुँदा हुँदै निजको ०४१।१२।२० गते मृत्यु भएको रहेछ । निजको मृत्यु आगोले पोलेको कारणबाट भएकोमा विवाद भएन । मृतक संगीता पुडासैनीको शरीरमा आगो कसरी लागेको, कसको कर्तव्यबाट निजको शरीरमा आगो लागेको भन्ने विषयमा नै निर्णय दिनु पर्ने देखियो ।

३२.   मृतक संगीता पुडासैनीले मर्नु भन्दा अगाडि अस्पतालमा आफ्नो उपचार गरिरहेका डा.महाविरकृष्ण मल्लको रोहवरमा गरी दिएको कागजमा घटना घटेको दिन अर्थात २०४१।१२।६ गते सासूसंग र लोग्नेसंग पनि झगडा भएको, सासूले जगल्ट्याएर लोग्नेले नोख भएको जुत्ताले पेटमा हान्दा बेहोस भएछु आगोले छातीमा पोली होस् आउँदा आफ्नो कोठामा रहेछु, कोठामा भित्रबाट छेस्कीनी लागेको थियो, सासू र लोग्ने भई मार्ने नियतले कुटी बेहोस बनाई आगो लगाई दिएको भन्ने लाग्छ भन्ने लेखाई दिएको छ । उक्त कागजमा रोहवरमा बस्ने डा.महावीरकृष्ण मल्लले सो कागज हुँदा विरामी बयान दिन सक्षम अवस्थामा थियो भनी सो बयान निज बिरामीले भने बमोजिम लेखिएको हो भनी अदालतमा समेत बकपत्र गरिदिएका छन् । प्रतिवादीहरु उद्धव पुडासैनी र सरीता पुडासैनी आरोपित कसूरमा प्रहरी समक्ष र अदालतमा समेत इन्कार रही बयान गरे तापनि प्रतिवादीहरुले प्रहरीमा बयान गर्दा घटनाको दिनमा मृतकसंग झगडा भएको र प्रतिवादी उद्धवले मृतकलाई २ झापट हिर्काएकोमा पनि सावित भएका छन् भने अदालतमा बयान गर्दा प्रहरीमा भएका अरु सबै बयानलाई समर्थन गर्दै रक्सी खाएर आएको र कुटेको सम्म कुरामा इन्कार रहेको पाइन्छ । उक्त दिन मृतक संगीता र निजको लोग्ने प्रतिवादी उद्धव पुडासैनीका बीच झगडा भएको भन्ने कुरा प्रहरीमा कागज गर्ने प्रदिप पुडासैनी र पार्वती पौडेलको बयानबाट पनि पुष्टि भइरहेको देखिन्छ ।

३३.   मृतक संगीता पुडासैनी र प्रतिवादी उद्धवकुमार पुडासैनीका बीच वारदात घटेको दिन झगडा भएको कुरा मिसिल संलग्न कागजातहरुबाट प्रमाणित भइरहेको, मृतकले आफू घाइते भएको घटनाका सम्बन्धमा प्रतिवादी उद्धवकुमार पुडासैनी र सरीता पुडासैनी मिली कुटपीट गरी बेहोस बनाएको र बेहोसकै अवस्थामा शरीरमा आगो लागेको, सासू र लोग्नेले मिली आगो लगाई दिएको लाग्छ भन्ने लेखाई दिएको, उपचार गर्ने डाक्टरले घाइते बयान गर्न सक्षम अवस्थामा थियो भनी अदालतमा आई बकपत्र समेत गरी दिएबाट समेत मृतक संगीता पुडासैनीले अस्पतालमा गरिदिएको कागज प्रमाण, ऐन, २०३१ को दफा ११ बमोजिम प्रमाणमा लाग्न सक्ने नै देखिन्छ । मृतकले आफ्नो मृत्युको कारणको सम्बन्धमा मृत्यु पूर्व होस छँदै व्यक्त गरेको उक्त बयान, लास प्रकृति मुचुल्का समेतबाट मृतकको मृत्यु प्रतिवादीहरुले आगो लगाई दिएबाट नै भएको देखिन आएको हुनाले प्रतिवादी उद्धवकुमार पुडासैनीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको, कोशी अञ्चल अदालतको फैसला सदर गरेको पू.क्षे.अ.को इन्साफ मिलेकै देखिंदा साधक सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.मोहनप्रसाद शर्मा

 

इति सम्वत् २०४९ साल आश्विन २६ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु