शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५८१ - उत्प्रेषणयुक्त परमादेश

भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक:

निर्णय नं. ४५८१    ने.का.प. २०४९ ()  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

सम्वत् २०४६ सालको रि.नं.९११

आदेश भएको मिति: २०४९।७।३।२ मा

निवेदक      : का.न.पं. वा.नं.२७ त्यौडटोल बस्ने चैत्यनारायण डंगोल

विरुद्ध

विपक्षी : भूमि सुधार कार्यालय, काठमाडौंसमेत

विषय : उत्प्रेषणयुक्त परमादेश

(१)    कानुनी प्रक्रिया पूरा नगरी कुनै व्यक्तिको हक हनन् गर्ने अधिकार कुनै पनि निकायलाई प्राप्त नहुने ।

(प्रकरण नं. १२)

(२)   कानुन बमोजिम मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरेको मोहीलाई बिना कुनै कानुनी कारवाही र निर्णय मोहियानी हकबाट बन्चित गर्न नमिल्ने ।

(प्रकरण नं. १२)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की, विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापति

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

२.    काठमाडौं बाँगेमुढा बस्ने चिरीन्जीवी गोविन्द श्रेष्ठ जग्गाधनी, मोही म निवेदक कायम भएको काठमाडौं जिल्ला गोंगबू पञ्चायत वा.नं.५(ख) कि.नं.१७० को क्षेत्रफल ६० जग्गा र सो जग्गामा म मोही बसी आएको घर समेत नापी हुनु पूर्वदेखि जोताहाको हैसियतले भोगी चर्ची आएको, २०२१ सालमा नापी हुँदा समेत जोताहा कायम भई प्रत्यर्थी भूमिसुधार कार्यालयबाट ज.ध. चिरीन्जीवी गोविन्द र मोहीमा म निवेदक कायम भएको मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको, उक्त जोत हकको घर बारीको जग्गालाई कित्ताकाट गरी २ कित्तामा विभाजन गरी कायम भएको २८१ र २८२ मध्ये कि.नं.२८१ को ३० जग्गा म निवेदक मोहीलाई कायमै राखी ०३९।१।१२ मा जग्गा धनीले राजीनामा गरी चण्डिकाप्रसाद पाण्डेलाई दिनु भएको जग्गा धनीको नाममा बाँकी कि.नं.२८२ को क्षेत्रफल २० जग्गा कित्ताकाट गरी कायम भएको कि.नं.२८३ को ०३ जग्गा सोही जग्गामा रहेको मेरो भोगको घर समेत समावेश गरी ज.ध. ले नारायणप्रसाद भट्टराईलाई ०३९।१।२६ मा मोहीको महलमा मेरै नाम उल्लेख गरी राजीनामा गरी दिएको, बाँकी कि.नं.२८४ को २० जग्गा पनि नारायणप्रसादलाई म मोही उल्लेख गरी ०३९।२।५ मा हालैको बकसपत्र गरी दिएको उक्त कि.नं.२८४ को जग्गा बकसपत्र गरी लिएर दिएतर्फ लिखत बदर मुद्दा र मेरो भोग कायम भएको साविक कि.नं.१७० को घरबारीको जग्गामा रहेको घरलाई पृथक कित्ता नं.२८३ कायम गरी बिक्री गर्नसक्ने कानुनी हकै नपुग्ने जग्गा धनीले घर समेत बिक्री ज.ध. र प्रत्यर्थी नारायणप्रसाद भट्टराईले जालसाजी गरी हक मेटाएको हुँदा सो ०३९।१।२६ को राजीनामा लिखतलाई मेरो हक मेटाएको हदसम्म जालसाजी घोषित गरिपाउँ भन्ने काठमाडौं जिल्ला अदालतमा फिराद दिई कारवाही युक्त अवस्थामा छ ।

३.    प्रत्यर्थी नारायणप्रसाद भट्टराईले उल्लेखित कि.नं.२८३ र २८४ को २०३९ सालको बाली नबुझाएको भनी बाली भराई मोही निष्कासन गरिपाउँ भनी म उपर भू.सु.का. काठमाडौंमा फिराद दिई कारवाही हुँदा ०४० साल आषाढ १९ गतेको तारेख गुजारी ०४०।४।८।१ मा बिन्तिपत्र चढाई हु.प्र. बकस भएको प्रत्यर्थी भू.सु.का. काठमाडौंको २०४०।५।२।५ को १५ दिने सूचनामा समेत उपस्थित हुन नआई भूमि सुधार कार्यालयबाट ०४०।१२।१२ गते विपक्षीको दावी खारेज हुने निर्णय भएको थियो । प्रत्यर्थी नारायणप्रसाद भट्टराईले उल्लेखित कि.नं.२८३ को घरजग्गा कित्ता १ र कि.नं.२८४ को क्षेत्रफल २, मध्ये उत्तर पश्चिम तर्फबाट कि.का. भई कायम भएको कि.नं.३०७ को ०० जग्गा कित्ता १ समेत २ कित्ता जग्गा ०४०।३।१० मा प्रत्यर्थी महालक्ष्मी घिमिरेलाई, कि.नं.३०८ को ०० जग्गा निर्मला ढकाललाई हक छाडी दिई बाँकी कि.नं. ३०९ लाई पुनः कित्ताकाट गरी कायम भएको कि.नं.३९३ को १० विष्णुमाया भट्टराईलाई ०४३।७।५ मा हालैको बकसपत्र गरी दिनु भएको विष्णुमाया भट्टराईले पनि कि.नं.३९३ लाई २ कित्तामा विभक्त गरी कि.नं.३९७ को ०० विष्णुमाया तामाङलाई ०४४।१।१७ मा दिई बाँकी रहन आएको कि.नं.३९८ को जग्गालाई कित्ताकाट गरी कायम हुन आएको कि.नं.४२० को ०० अघिका मरठ्ठा र कि.नं.४२१ को ०० सीता पोखरेललाई ०४०।१२।२५ मा हालैको बकसपत्र गरी दिएको रहेछ । म निवेदकको नाम मोही महलमा नराखी उपरोक्त बमोजिम जग्गा बिक्री र बकसपत्र गरी दिएको कुरा टोल छिमेकमा हल्ला चल्दा मालपोत कार्यालय काठमाडौंबाट ०४६।६।६।५ मा नक्कल सारी हेरेपछि अवगत भएँ । मलाई जानकारी नदिई मेरो जोत हक कुन व्यहोराबाट कट्टा गरेछ भनी प्रत्यर्थी भूमिसुधार कार्यालयमै गई बुझ्न जाँदा मलाई कुनै आधिकारीक जानकारी नदिएको, मेरो नाउँको २ नं.अनुसूची बमोजिम तयार भएको मोहीको लगत र मोहियानी हकको प्रमाणपत्रको नक्कल सारी पाउँ भनी भूमि सुधार कार्यालयमा निवेदन प्रस्तुत गर्दा दर्ता र दरपीठ समेत नगरी नक्कल दिन नमिल्ने भनी मौखिक रुपमा भनी ०४६।८।३ गतेका दिन भनियो । मालपोत कार्यालय काठमाडौंमा रहेको उल्लेखित कि.नं.२८३ र २८४ को कित्ता २ को जग्गा धनी दर्ता श्रेस्ता (मोठ) को नक्कल पाउँ भनी ०४६।८।६ मा निवेदन दिई ०४६।८।९ मा नक्कल प्राप्त गरी हेर्दा उक्त मोठ श्रेस्तामा पत्र संख्या ५३२।२०३९।०४० मिति ०४०।२।१३ को भूमि सुधारको पत्र बमोजिम मोही चैत्यनारायण डंगोल खारेज गरी मोही नारायणप्रसाद कायम भनी कैफियत जनाइएको रहेछ । उक्त जोत हक कट्टा गरेको कारवाही मिसिल र निर्णयको नक्कल पाउन प्रत्यर्थी भू.सु.का मा पटक पटक निवेदन दिंदा पनि दर्ता र दरपीठ समेत गरिएन ।

४.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६क. अन्तर्गत मेरो हक भोग कायम भएको मोही हक स्थापित घरबारी जग्गामा निहित मेरो हकलाई प्रत्यर्थी नारायणप्रसाद भट्टराई र भूमिसुधार कार्यालयबाट मलाई कुनै थाहा जानकारी नदिई मेरो हक समाप्त गरी गरेको कारवाही र निर्णय प्राकृतिक न्यायको सर्वमान्य सिद्धान्त विपरीत छ । उपरोक्त भूमिसुधार र मालपोत कार्यालयको निर्णय र कार्यबाट मेरो संविधानको धारा १०(१), १०(२), ११(१) ११(२) (ङ) तथा १५ द्वारा प्रदत्त संवैधानिक हकबाट बन्चित भएकोले मेरो जोत कट्टा गर्ने गरी भएको प्रत्यर्थी भूमिसुधार कार्यालयको निर्णय र सो निर्णयको आधारमा मालपोत कार्यालय, काठमाडौंले मोही महलमा कायम रहेको मेरो नाउँ कट्टा गरी प्रत्यर्थी नारायणप्रसादको नाउँमा कायम गरिएको दर्ता कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी मोहीमा म निवेदकको नाम कायम गरी मोहियानी हकको प्रमाणपत्र दिनु र मोठ श्रेस्ताको मोही महलमा निवेदकको नाउँ जनाई दिनु भन्ने परमादेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन ।

५.    यस्मा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो, विपक्षहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको आदेश ।

६.    ज.ध.नारायणप्रसादले चैत्रनारायणसंग ०३९ सालको आयस्ता बाली दिलाई जग्गाबाट निष्कासन गरिपाउँ भनी यस कार्यालयमा फिराद दायर गरी कारवाही चलिआएकोमा वादीले ०४०।३।१९ को तारेख र थमाउने म्याद समेत गुजारी बसेको हुँदा ०४०।१२।१२ मा खारेजी फैसला भएको हो । रिट निवेदकको जोत कट्टा भएको सम्बन्धी मा.पो.का. मा लगत कट्टाको लागि पत्र पठाएको र जोत लगत कट्टा गर्ने गरी यस कार्यालयबाट निर्णय भएको मिसिल समेत यस कार्यालयमा नभेटिएको हुँदा रिटनिवेदन खारेज हुन अनुरोध छ भन्ने समेत भूमि सुधार कार्यालय काठमाडौंको लिखितजवाफ ।

७.    जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे नाप नक्सा हुँदा का.जि. गोंगबू गा.पं. वा.नं.५(ख) कि.नं.१७० को ६जग्गा कित्ताकाट हुँदै कायम भएको ३९८ को १० आना जग्गा मध्ये ५ आना जग्गा हामी मध्ये म अम्बिका मरहठ्ठाले र ५ आना म सीता पोखरेलले २०४४।१२।२५ मा दाता विष्णुमाया भट्टराईको हक छुट्टाई जोतपोत नै लिएको, मोठ श्रेस्तामा विपक्षीको कुनै हक अधिकार छैन, दाता विष्णुमायाले खरीद गरी कायम भएको मोठ श्रेस्तालाई स्वीकार गरी निजलाई विपक्षी नबनाएपछि हामीलाई विपक्षी बनाउँदैमा हाम्रो मोठ श्रेस्तामा विपक्षीको हक कायम हुन सक्दैन । हामीले जग्गा खरीद गरी लिएको कुरा विपक्षीले २०४५ सालमा नै थाहा पाएको विपक्षीले हामी उपर बागमती अञ्चल अदालतमा दिएको निषेधाज्ञा मुद्दाबाट प्रष्ट हुँदा २०४६।६।६।५ मा मालपोत कार्यालयबाट नक्कल सारी लिंदा मात्र थाहा भएको भन्ने झुट्टा कुरा लेखि रिटनिवेदन दिएको छ । म अम्बिका मरहठ्ठाले सो जग्गामा घर समेत निर्माण गरी बिजुली जडान गरेको, बहालमा दिएको कानुनी सेवा फोरमको नाउँमा टेलिफोन समेत जडान भएको, नगर पञ्चायततबाट झ. १४२६१२ का.न.पं. ३ को ब्लक नम्बर पनि दिइएको छ । मेरो घर बनाउँदा विपक्षीले नगर विकासमा र बिजुली जडान गर्दा विद्युत प्राधिकरणमा उजूरी दिई विपक्षीको उजूर प्रत्येक ठाउँमा निरर्थक सावित भइरहेको छ । दाताका दाता नारायणप्रसादले भू.सं. ऐन, २०२१ को दफा २५(५) बमोजिमको घरबारीको जग्गामा मोहियानी लेखिन गएको भनी मोही लगत कट्टा गराई लिनु दिनु गरे उपर लिखत बदर र जालसाजीमा विपक्षी चैत्यनारायण तथा निजका दाजु तुल्सीनारायण, तुल्सीमाया समेतको मुद्दा परी चैत्यनारायण समेत संगको मुद्दा हालसम्म चली रहेकोछ भने तुल्सीनारायण तथा तुल्सीमायासंग मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मुद्दा मिलापत्र भई नारायणप्रसादले लिएको तथा दिएको सदरै रहेको छ । सो मा अ.बं. ८६ नं.बमोजिम मुद्दा परी मिलापत्र बदर हुने भएमा मात्र हक स्थापित हुन सक्ने हो । उपरोक्त बमोजिम अति विलम्ब गरी विपक्षीले सफा हात नलिई दुषित मनसायले अनेक मुद्दा चल्दा चल्दै तथा हारेपछि दिएको रिटनिवेदन खारेज गरी मालपोत कार्यालय काठमाडौंबाट समेत भए गरेको कारवाही र हाम्रो नाउँमा रहेको मोठ श्रेस्तामा कुनै परिर्वतन नगरी सदर राखिपाउँ भन्ने समेत प्रत्यर्थी अम्बिका मरहठ्ठा र सीता पोखरेलको संयुक्त लिखितजवाफ ।

८.    यस्मा अन्य प्रत्यर्थीहरुको लिखितजवाफ परेको देखिएन ।

९.    नियम बमोजिम पेश भई आएकोमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्कीले काठमाडौं जिल्ला गोंगबू पंचायत वा.नं.५(ख) को कि.नं.१७० को ६० जग्गाको जग्गाधनी चिरन्जिवी गोविन्द श्रेष्ठ र मोही मेरो पक्ष चैत्यनारायण डंगोल भई मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको, उक्त जग्गा कित्ताकाट भई कि.नं.२८३ र २८४ को जग्गा नारायणप्रसाद भट्टराईले पाई सो जग्गाको ०३९ सालको बाली नबुझाएकोले मोही निष्कासन गरी पाउँ भनी दिएको मुद्दामा निजले तारेख गुजारी भूमि सुधार कार्यालयबाट ०४०।१२।१२ गते विपक्षीको दावी खारेज हुने गरी निर्णय भइरहेको स्थितिमा उक्त जग्गाहरु विभिन्न मितिमा विभिन्न कित्ताकाट कायम गरी बिक्री वितरण गरेको र मालपोत कार्यालयबाट प्राप्त गरेको उक्त जग्गाको दर्ता श्रेस्ता (मोठ) को नक्कलमा पत्र संख्या ५३२।२०३९।०४० मिति ०४०।२।१३ को भूमि सुधारको पत्र बमोजिम मोही चैत्यनारायण डंगोल खारेज गरी मोही नारायणप्रसाद कायम भनी कैफियत जनाइएको कार्य गैरकानुनी हुँदा सो बदर हुनुपर्दछ भन्ने समेत र निवेदक तर्फका अर्का विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधानले चैत्यनारायण डंगोलले विधिवत रुपमा प्राप्त गरेको मोहियानी हक भएको जग्गामा भूमि सुधार कार्यालयको पत्र बमोजिम भनी मालपोत कार्यालयले मोठ श्रेस्तामा मोही लगत कट्टा गरेको भनी कैफियत जनाएको, तर के कसरी सो लगत कट्टा भएको हो भन्ने विषयमा कारवाहीको कुनै जानकारी दिएको छैन, भूमि सुधार कार्यालयले मोही निष्कासन मुद्दामा वादी दावी खारेज हुने गरी ०४०।१२।१२ मा निर्णय गरी मोही यथावत रहेको छ भने भूमि सुधारकै ०४०।२।१३ को पत्रले मोही लगत कट्टा गरेको भन्ने जनाइएको काम कारवाही त्रुटिपूर्ण छ । जग्गा बिक्री वितरण गरेको सम्बन्धमा लिखत बदर र जालसाजी मुद्दा परेको र मोहियानीको लगत कट्टा गरेको सम्बन्धमा प्रस्तुत रिटनिवेदन दर्ता भएको हुँदा रिटबाट उक्त मुद्दामा असर पर्ने होइन, निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१०.    भूमि सुधार कार्यालयको प्रतिनिधित्व गर्नु हुने विद्वान सहन्यायाधिवक्ता श्री सत्यनारायण प्रजापतीले प्रस्तुत गर्नुभएको बहस समेत सुनी यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो सम्बन्धमा निर्णय दिन पर्ने हुन आयो ।

११.    निर्णय तर्फ विचार गर्दा यस्मा निवेदकको मोहियानी हकको कि.नं.२८३ र २८४ को जग्गामा भूमि सुधार कार्यालयको पत्र संख्या ५३२।०३९।०४० मिति ०४०।२।१३ को पत्र बमोजिम मोही खारेज गरेको भनी मोठ श्रेस्तामा कैफियत जनाएको बदर गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । उक्त विवादित कि.नं.२८३ र २८४ को जग्गा कि. नं.२८२ कित्ताकाट भई कायम भएको र कि.नं.२८२ को जग्गा कि.नं.१७० कित्ताकाट भई कायम भएको रहेछ । कि.नं.१७० को जग्गाको मोही निवेदक चैत्यनारायण डंगोल रहेको निजको नामको मोहियानी हकको प्रमाणपत्रबाट देखिएको छ । उक्त जग्गाका जग्गाधनी चिरन्जिवी गोविन्द श्रेष्ठले सो जग्गा कित्ताकाट गरी कि.नं.२८१ को जग्गा चण्डीकाप्रसाद पौडेललाई र कि.नं.२८३ को जग्गा नारायणप्रसाद भट्टराईलाई राजीनामा गरी दिएको र कि.नं.२८४ को जग्गा नारायणप्रसाद भट्टराईलाई हालैको बकसपत्र गरी दिएको लिखतमा मोहीको महलमा चैत्यनारायण डंगोल उल्लेख भएको छ । उपरोक्त जग्गामा जग्गाधनी नारायणप्रसाद भट्टराई र मोही चैत्यनारायण डंगोल बीच ०३९ सालको बाली नतिरेको भनी मोही निष्कासन मुद्दा समेत भूमि सुधार कार्यालयमा मुद्दा परी वादी नारायणप्रसाद भट्टराईले ०४०।३।१९ को तारेख गुजारी बसेको र थमाउने म्यादै समेत गुजारी बसेकोले मुद्दा खारेज हुने गरी मिति ०४०।१२।१२।१ मा निर्णय भएको भन्ने भूमि सुधार कार्यालयको लिखितजवाफबाट पनि देखिन्छ । अतः उक्त निर्णयबाट समेत विवादित कि.नं.२८३ र २८४ को मोही निवेदक चैत्यनारायण डंगोल रहेकोमा विवाद देखिएन ।

१२.   उपरोक्त कि.नं.२८३ र २८४ को जग्गा धनी दर्ता श्रेस्तामा संख्या ५३२।०३९।०४० मिति ०४०।२।१३ को भूमि सुधारको पत्र बमोजिम मोही चैत्यनारायण डंगोल खारेज गरी मोही नारायणप्रसाद कायम गरेको भनी कैफियत उल्लेख गरेको रहेछ । निवेदकको जोत लगत कट्टाको लागि मालपोत कार्यालयमा पत्र पठाएको र जोत लगत कट्टा गर्ने गरी निर्णय भएको मिसिल समेत नभेटिएको भन्ने भूमि सुधार कार्यालयको लिखितजवाफ देखिन्छ । के कुन व्यहोराबाट निवेदकको मोही लगत कट्टा गर्र्ने निर्णय भएको भन्ने कहीं कतैबाट खुल्न आएको देखिंँदैन ।

१३.   कानुनी प्रक्रिया पूरा नगरी कुनै व्यक्तिको हक हनन् गर्ने अधिकार कुनै पनि निकायलाई प्राप्त हुँदैन । प्रस्तुत रिटनिवेदनका सन्दर्भमा विधिवत रुपमा मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको, मोही निष्कासन मुद्दामा समेत वादीले तारेख गुजारी मुद्दा खारेज भई अन्तिम रहेको स्थितिमा सो मुद्दाको निर्णय ०४०।१२।१२ मा हुनु पूर्व नै अर्थात मुद्दा चली रहेको समयको मिति ०४०।२।१३ को भूमि सुधारको पत्र बमोजिम भनी उल्लेख गरी मोही लगत कट्टा गरेको देखिन्छ । तर भूमि सुधार कार्यालयबाट सो सम्बन्धी कुनै निर्णय र उल्लेखित पत्र समेतको सम्बन्धमा लिखितजवाफमा कुनै उल्लेख गर्न सकेको पाइएन कानुन बमोजिम मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरेको मोहीलाई बिना कुनै कानुनी कारवाही र निर्णय मोहियानी हकबाट बन्चित गर्न मिल्ने हुँदैन । अतः मालपोत कार्यालय काठमाडौंमा रहेको नारायणप्रसाद भट्टराईको नाउँको जग्गाधनी दर्ता श्रेस्तामा मोहीको नाम सच्याउने गरेको कार्य कानुन बमोजिम भए गरेको देखिन नआएकोले सो सच्याएको कार्य उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोमि बुझाई   दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केशवप्रसाद उपाध्याय

 

इति सम्वत् २०४९ साल कार्तिक ३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु