निर्णय नं. ४५८७ - कर्तव्य ज्यान

निर्णय नं. ४५८७ ने.का.प. २०४९ (ख) अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
२०४८ सालको फौ.पु.नं.२९८
सम्वत् २०४९ सालको फौ.सा.नं.१०३
फैसला भएको मिति: २०४९।७।२।१ मा
पुनरावेदक/प्रतिवादी: झापा कारागारमा रहेको टंकप्रसाद रिजाल
विरुद्ध
प्रत्यर्थी/वादी: श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) प्रतिवादी पुनरावेदकले खुकुरी जस्तो जोखिम हतियार प्रयोग गरी सोही प्रहारबाट लागेको चोटबाट थला परी सेप्टीक भई मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिंदा प्रतिवादीले ज्यानसम्बन्धीको १३ (१) को अपराध गरेको ठहर्याएको मनासिब ठहर्ने ।
(प्रकरण नं. २१)
(२) प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय निहित रहेको नभई रिसको आवेगमा आफ्नो साथमा रहेको खुकुरीले खुट्टामा प्रहार गरेको देखिएको र सो खुकुरीले काटेको घाउ सेप्टिक भएको कारणबाट मृत्यु भएको देखिन आयो । अतः उक्त परिप्रेक्ष्यमा घटित अपराधलाई ध्यानमा राख्दा निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैदको सजायँ हुने ।
(प्रकरण नं. २२)
पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बेदप्रसाद सिवाकोटी
फैसला
न्या.रुद्रबहादुर सिंह
१. मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. जयप्रसाद रिजाललाई टंकप्रसाद रिजालले खुकुरीले २०४५।४।७ गते प्रहार गरी घाइते गरेकाले विराटनगर अस्पतालमा उपचार गराउँदा निको हुन नसकी भारत सिलगडी मेडिकल हलमा उपचार गराउँदा गराउँदै सोही चोटबाट २०४५।४।१४ मा जयप्रसादको मृत्यु भएको हुँदा खुकुरी प्रहार गर्ने टंकप्रसाद उपर कारवाही गरी पाउँ भन्ने व्यहोराको जाहेरी दर्खास्त ।
३. मृतकसंग ३ वर्ष अघि देखि बोलचाल थिएन २०४५।४।७ गते भन्दा ८।१० महीना अघि विष्णुमाया र भाइ समेतलाई कुट्नु भएको २०४५।४।७ गते अं.४ बजे बीउ उखेली रहेको अवस्थामा मृतक कराउँदै आई ए ज्यानमारा किन कुखुरा छाडेको भटमास खायो भनी कराउन लाग्दा काका सम्झाए भइहाल्छ नी भन्दा पाखुरा सुर्किन थालेपछि आमाले कुखुराले खाएको अर्मल तिर्छु भन्दा मेरो आमालाई कुटपीट गर्न लागेकोले आमालाई जोगाउन खोज्दा मृतकले फरुवा लिई आई लागेको देखी मेरो घर टाटीमा सिउरेको खुकुरी झिकी ल्याई पछाडि पट्टिबाट मृतकको दाहिने खुट्टाको छेपारिमा खुकुरीले प्रकार गरेको हुँ भन्ने समेत व्यहोराको अभियुक्त टंकप्रसाद रिजालको प्रहरीको बयान कागज ।
४. दमक न.पा. वार्ड नं.१५ स्थित घटनास्थल देखि ६०० मिटिर उत्तर घाईतेको धान खेतमा नांगो खुकुरी बरामद भएको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
५. टंकप्रसाद रिजालको खुकुरी प्रहारको चोट पीरबाट मृतक जयप्रसाद रिजालको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
६. ०४५।४।७ गते अन्दाजी ४ बजे होहल्ला भएको र टंक हातमा खुकरी बोकी उत्तर तिर जाँदै गरेको चारै तिर मानिस कुदेको देखी के भएछ भनी सोद्धा टंकले जयप्रसादलाई काट्यो भनेकाले गई हेर्दा जयप्रसादको गाउँमा भेला भएका मानिसहरुले पटुका बाँधेको देखेको हुँ भन्ने समेत व्यहोराको जयप्रसाद रिजालले गरेको कागज ।
७. टंकप्रसादको आमा र हामी बीच पहिले झगडा भयो, त्यसपछि टंकप्रसादले उसकी आमा र मेरी आमालाई नजीक भएका मानिसले छुट्याई दिएपछि टंकप्रसाद घर तर्फ लागी केही बेरपछि अं. ४ बजेको समयमा आमा र म अघि बुबा पछि पछि जाँदै गर्दा त्यसै बखत टंकप्रसादले आफ्नो शरीरमा लुकाई ल्याएको खुकुरीले बाबुको दाहिने खुट्टाको पिँढुलामा काटी भाग्यो । बाबुको उपचार गराउँदा गराउँदै टंकप्रसादले प्रहार गरेको खुकुरीको चोटको पीरबाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको गायत्री रिजालले गरेको कागज ।
८. कुखुराले भटमास खायो भन्ने निहुँमा टंकेकी आमा र मेरो श्रीमान बीच झगडा भएपछि टंके घर गयो छोरी गायत्री अघि अघि मेरो श्रीमान पछि पछि आउँदै गर्दा टंकेले लुकाई ल्याएको खुकुरीले पति जयप्रसादको खट्टामा प्रहार गरी उत्तरतर्फ भाग्यो भन्ने समेत व्यहोराको मृतकको श्रीमती रम्मादेवीले गरेको कागज ।
९. इलाज गर्दा गर्दै दाहिने खुट्टा काटिएको हुँदा मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।
१०. टंकप्रसादले प्रहार गरेको खुकुरीको चोट पीरबाट जयप्रसाद रिजालको मृत्यु भएको देखिंदा खुकुरी प्रहार गरेको ८ दिन पछि सोही काटिएको पीरले मरेको हुँदा टंकप्रसादलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३ को देहाय १ अनुसार सर्वश्वसहित जन्मकैद गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
११. २०४५।४।७ गते बेलुका ५ बजेको समयमा घाँस काट्न खुकुरी बोकी मृतकको खेत हुँदै गएको अवस्था बीचमा मृतक र निजका परिवार कोही लाठी बोकेकासंग भेट हुँदा तेरो कुखुराले भटमास खायो भनी जयप्रसादले विवाद निकाल्दा मैले अरमल तिर्छु भन्दा भन्दै मृतकको श्रीमतीले लाठीले हिर्काइन् मृतकले कपालमा समाई मलाई लडाए र काका मृतकले बोकेको फरुवाले हिर्काउन खोज्दा भाग्न प्रयास गर्दा मेरो हातमा भएको खुकुरीले निजको दाहिने खुट्टामा लाग्न गएको हो मारौं भनी प्रहार गरेको होइन घरबाट खुकुरी लुकाई ल्याई पछाडिबाट प्रहार गरेको होइन । ३ वर्ष देखि जयप्रसादसंग सम्बन्ध राम्रो थिएन भन्ने समेत व्यहोराको प्रतिवादी टंकप्रसाद रिजालले गरेको बयान ।
१२. प्र.टंकप्रसादले कर्तव्य गरी ज्यान मारेको प्रमाणित हुने हँुदा निज टंकप्रसाद रिजालले प्रहरी प्रतिवेदनको माग दावी बमोजिम ज्यान मारी कसूर गरेको ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको ०४५।८।१५ गतेको फैसला ।
१३. शुरु जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी टंकप्रसाद रिजालको मेची अंचल अदालतमा परेको पुनरावेदन ।
१४. अपराधको मात्रा अनुसार सजायँ हुन उपयुक्त देखिएकोले यस्ता अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिंदा निजलाई अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैदको सजायँ तोक्न मनासिब हुने भनी राय व्यक्त गर्दै अ.बं. १८६ नं.र न्या.प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १४(१) बमोजिम शुरु फैसला सदर गरी साधक जाहेर गर्ने ठहर्छ भन्ने समेत व्यहोराको मे.अं.अ.को २०४६।१०।१२ को फैसला ।
१५. ज्यान मार्ने अवस्थाको चोट परेको नपरेको केही जाहेरी शीघ्र १३(१) को कसूर भनी ठहर गरी सजायँ कम गर्दै राय दिंदा भन्ने मृत्युको कारण उक्त चोट नभई ठिक उपचार नभएको भनी सहमति जनाउँदा जनाउँदै पनि शुरु इन्साफ सदर गरी गरेको फैसला मिलेको नहुँदा उक्त फैसला बदर गरी सफाई दिने व्यवस्था गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको झापा कारागार शाखा मार्फत पू.क्षे.अ.मा परेको पुनरावेदन ।
१६. यसमा ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम अपराध गरेको ठहराएको शुरुको सदर गरेको मेची अं.अ.को फैसला मिलेकैैैैैै देखियो । सजायँको हकमा मृतकलाई मार्ने मनसाय नभई रिसको कारणबाट खुट्टामा खुकुरीले प्रहार गरेको देखियो । घाउ सेफ्टीक भई सोही कारणबाट मृत्यु भएको भन्ने हुँदा सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले मे.अं.अ.ले १० वर्ष कैद गर्ने राय व्यक्त गरेको पनि मनासिब छ भन्ने समेत व्यहोराको पू.क्षे.अ.को फैसला ।
१७. उक्त पू.क्षे.अ.ले गरेको फैसलामा मेरो चित्त बुझेन प्रत्यक्ष कानुनको त्रुटि गरी गरेको फैसला उल्टाई भवितव्य कायम गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१८. नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बेदप्रसाद सिवाकोटीले मृतकको खुट्टामा मेरो पक्षले खुकुरीले हिर्काए पनि अस्पतालले खुट्टा काटेको हो । मृतक मेरो पक्षको चोटबाट सेप्टीक भएर मरेको नभई अस्पतालले उपचारको सिलसिलामा हेलचेक्राई पूर्वक काटेको हुनाले सेप्टीक भई मृत्यु भएको हो । मेरो पक्षको मृतकलाई मार्ने मनसाय थिएन । कुखुराले भटमास खाएको कारणबाट उत्पन्न विवादमा तत्काल उठेको रिसबाट खुकुरीले प्रहार गरिएको मात्र हो भन्ने समेत गर्नुभएको बहस सुनियो ।
१९. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा पू.क्षे.अ.को इन्साफ मनासिब छ छैन, सो विषयमा निर्णय दिनु परेको छ ।
२०. यसमा निर्णयतर्फ विचार गर्दा पू.क्षे.अ.ले साधक जाँचको लागि पठाएको प्रस्तुत मुद्दामा प्र.टंकप्रसाद रिजालको पुनरावेदन परी पेश हुन आएको देखिंदा साधकको लगत काटी दिनु ।
२१. अब पुनरावेदनको रोहबाट हेर्दा यसमा मिति ०४५।४।७ मा प्रतिवादीको कुखुराले मृतकको खेतको भटमास खाँदा वादविवाद सृजना भई एकअर्कामा झैंझगडा हुँदा प्रतिवादीले आफ्नो साथमा रहेको खुकुरीले मृतकको खुट्टामा हिर्काएको र उपचार गर्दा गर्दै भारतको सिलगढी मेडिकल कलेजमा २०४५।४।१४ का दिन मृत्यु भएको तथ्यमा कुनै विवाद देखिँदैन । प्रतिवादीले मृतकलाई खुकुरीले दाहिने खुट्टामा हिर्काएको कुरा निजले अधिकार प्र्राप्त अधिकारी र अदालतमा समेत सावित भई बयान दिएको देखिन्छ । निज प्रतिवादीका साविती सरजमीनका व्यक्तिले अदालतमा आई बकपत्र गर्दा समर्थित हुन आएको पाइन्छ । मेची अञ्चल अस्पतालबाट भएको पोष्टमार्टम रिपोर्टमा मृतकको मृत्युको कारण दाहिने खुट्टामा भएको घाउ सेप्टीक भएर मृत्यु भएको हो भन्ने उल्लेख भएको देखिन्छ । यस स्थितिमा प्रतिवादी पुनरावेदकले खुकुरी जस्तो जोखिम हतियार प्रयोग गरी सोही प्रहारबाट लागेको चोटबाट थला पारी सेप्टीक भई मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिंदा प्रतिवादीले ज्यानसम्बन्धीको १३(१) को अपराध गरेको ठहराएको शुरुको सदर गरेको मेची अञ्चल अदालतको फैसलालाई मनासिब ठहराएको पू.क्षे.अ.को फैसला मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
२२. सजायँको हकमा पू.क्षे.अ.ले १० वर्ष मात्र कैदको सजायँ हुन जाहेर गरेको रायतर्फ विचार गर्दा निज प्रतिवादीको मृतकलाई मार्ने सम्मको मनसाय निहित रहेको नभई रिसको आवेगमा आफ्नो साथमा रहेको खुकुरीले खुट्टामा प्रहार गरेको देखिएको र सो खुकुरीले काटेको घाउ सेप्टीक भएको कारणबाट मृत्यु भएको देखिन आयो । अतः उक्त परिप्रेक्ष्यमा घटित अपराधलाई ध्यानमा राख्दा निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा अ.बं. १८८ नं.बमोजिम १० वर्ष मात्र कैदको सजायँ हुन्छ । अरु कुरामा तपसील बमोजिम गर्नु ।
तपसील
प्र.टंकप्रसाद रिजाल के माथि इन्साफ खण्डमा लेखिए बमोजिम १० वर्ष मात्र कैदको सजायँ हुने ठहरेकोले शुरुले राख्ने गरेको सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरी १० वर्ष मात्र कैद लगत कायम राख्नु भनी लेखि पठाउन का.जि.अ.त. शाखामा लगत दिनु ...१, प्रस्तुत मुद्दाकोे पुनरावेदनको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ...२
उक्त रायमा म सहमत छु ।
न्या.मोहनप्रसाद शर्मा
इति सम्वत् २०४९ साल कार्तिक २ गते रोज १ शुभम् ।