निर्णय नं. ४५९२ - बन्दीप्रत्यक्षीकरण

निर्णय नं. ४५९२ ने.का.प. २०४९ (ख) अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
२०४८ सालको रिट नं.२२७४
आदेश भएको मिति: २०४९।७।२६।४ मा
निवेदक : कारागार शाखा पर्सामा थुनामा रहने देवनन्दन महतो कोइरीको हकमा सेवक दास तत्मा
विरुद्ध
विपक्षी : जिल्ला प्रशासन कार्यालय, कारागार शाखा पर्सासमेत
विषय : बन्दीप्रत्यक्षीकरण
(१) आरोपित कसूर गरेको प्रमाण तत्काल विद्यमान भए नभएको आधारमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्ने ।
(प्रकरण नं. १४)
(२) निवेदक उपर ज्यानसम्बन्धी महलको १७(२) नं.अन्तर्गत ज्यान मार्न संयोग पारी दिएको भन्ने अभियोग लगाई मुद्दा चलाएको देखिएको तर सो संयोग पारिदिने यो यस्तो कार्य निवेदकले गरेको, यो यस्तो तत्काल प्राप्त प्रमाणबाट देखिएको भन्ने शुरु जिल्ला अदालतको आदेशमा उल्लेख भएको नदेखिंदा उक्त आदेश कानुन अनुरुपको भन्न नमिल्ने ।
(प्रकरण नं. १४)
(३) निवेदकको के कस्तो कार्यबाट मृतकको ज्यान मार्नमा संयोग परेको भन्ने उल्लेख नभएको जाहेरी दर्खास्तलाई आरोपित कसूर गरेको देखिने तत्काल प्राप्त प्रमाण मान्न कानुनसंगत हुने नदेखिने ।
(प्रकरण नं. १४)
(४) थुनछेकको आदेश गर्दा प्रत्येक अभियुक्तहरुले यो यस्तो अपराधजन्य कार्य गरेको भन्ने कुराको प्रतिव्यक्ति प्रमाण हुनु पर्ने यी निवेदक समेतका प्रतिवादीहरुका सम्बन्धमा केवल गोश्वारा रुपमा कसूरदार हो भन्ने मनासिब प्रमाण भएको हुँदा थुनामा राखी पूर्पक्ष गर्नु भन्ने आदेश भएको समेत अ.बं. ११८(२) नं.को मनसाय अनुकूल नदेखिने ।
(प्रकरण नं. १४)
(५) निवेदकलाई अभियोगसंग प्रत्यक्ष रुपले सम्बन्धित तत्काल प्राप्त प्रमाणहरुको अभावमा अ.बं. ११८(२) नं.अन्तर्गत थुनामा राखी मुद्दाको पूर्पक्ष गर्ने गरेको जिल्ला अदातलको आदेश र सो लाई सदर गरेको पुनरावेदन अदालतको आदेश समेत त्रुटिपूर्ण भई त्यस्तो त्रुटिपूर्ण आदेशको आधारमा निवेदकलाई थुनामा राख्ने गरेको गैरकानुनी देखिंदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ।
(प्रकरण नं. १४)
निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लबकुमार मैनाली
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता अलिअकबर मिकरानी
आदेश
न्या.लक्ष्मणप्रसाद अर्याल
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. विपक्षी नं.४ र ५ ले मृतक रामदास गिरीको मृत्यु सम्बन्धमा म निवेदक समेतको नाम जाहेरीमा उल्लेख गरी जि.प्र. का मा झुठ्ठा उजूरी गरी म पक्राउ भई ०४८।२।२४ मा मैले निर्दोषिता व्यक्त गर्दै बयान गरे, म उपर ज्यानसम्बन्धी महलको १७(२) अन्तर्गतको दावी लिई प्रहरी प्रतिवेदन दर्ता भई थुनछेक आदेश हुँदा कसूरदार हो भन्ने मनासिब प्रमाण भएको भनी अ.बं. ११८ को (२) आकर्षण गरी थुनामा राखी पूर्पक्ष गर्ने आदेश भए उपर अ.बं. १७ नं.अन्तर्गत विपक्षी नं.३ मा निवेदन गर्दा पनि विपक्षी नं.२ को आदेश सदर भयो ।
३. जाहेरीमा मृतकको मृत्यु ०४८।१।१२ गते राती अं. ८ बजे २० जनाको हुलले घेरी कुटपीट गरेको कारणले भएको भन्ने उल्लेख, सो राती अध्यारो हुनाले हुलमा कसैले कसैलाई देख्ने चिन्ने स्थिति आउँदैन । निवेदक एवं जाहेरवाला तथा मृतक बीच कुनै झगडा विवाद थियो भन्ने जाहेरीमा नभएको, जाहेरीमा मुछिएका अन्य प्रतिवादीले प्रहरी एवं अदालतमा बयान गर्दा र सरजमीनले समेत म निवेदकको सो घटनामा उपस्थिति र संलग्नता थियो भनी नभनेका, सरजमीन व्यहोराले जाहेरीलाई समर्थन नगरेको, मार्न संयोग पारेको भन्ने जाहेरीमा छैन, यो आधार प्रमाणबाट म निवेदकले मृतकलाई मार्न संयोग पारें भन्ने प्रहरी प्रतिवेदनले भन्न लेख्न र प्रमाण दिन सकेको छैन । प्रहरी तथा अदालतमा म इन्कारछु । कुनै दसीप्रमाण छैन । अ.बं.११८ को देहाय २ को प्रयोजनको लागि तत्काल प्राप्त प्रमाण र मनासिब आधार हुनु पर्ने र थुनछेकका आदेशमा सो प्रष्ट खुलाई लेखिनु पर्दछ । विपक्षी जि.अ.ले त्यस्तो प्रमाण र मनासिब आधारको विद्यमानता देखियो भनी भन्न सकेको छैन । अ.बं. ११८ को (२) मेरो हकमा मनोगत तवरले प्रयोग भई मेरो वैयक्तिक स्वतन्त्रता अपहरण भएको छ । विपक्षी पुनरावेदन अदालतले पनि ०४८।११।२३ को आदेशमा यो संवेदनशिलता उपर ध्यानाकर्षण गरेन ।
४. अतः विपक्षी बारा जि.अ.को ०४८।३।१४।३को आदेश र सो सदर गरेको विपक्षी पुनरावेदन अदालतको ०४८।११।२३।६ को आदेश र तत्सम्बन्धी कार्यवाही एवं पत्राचारबाट मेरो वैयक्तिक स्वतन्त्रता अपहरण भएकाले उक्त आदेश बदर गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भन्ने समेत रिटनिवेदन ।
५. यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी गर्न नपर्ने हो, विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४९।१।१४।१ को आदेश ।
६. सो सम्बन्धमा यस अदालतमा रहेको अभिलेख हेर्दा जाहेरवाला सुरेन्द्र गिरीको निवेदनमा उल्लेखित प्र.रामबाबु साहकानू, शिबचन्द्र महतो, गणेशदास तत्मा, भोला महतो, ठगा साह कानू, वशी गिरी समेतको हकमा शुरु जिल्ला अदालतले गरेको विवेचना समेतबाट अन्यथा आदेश गर्नु पर्ने अवस्था विद्यमान नदेखिनाले केही गर्नु परेन, निजहरुको हकमा कानुन बमोजिम गर्नु । निवेदक प्र.हीरालाल साह कानूलाई बारा जिल्ला अदालतले अ.बं. ११८ को देहाय २ बमोजिम थुनामा राख्ने आदेश गर्दा फरार रही अदालतमा उपस्थित भएको सरजमीनको मोहनदास तत्माले घटनास्थलमा निजले कुटपीट गरेको देखेको भनी उल्लेख गरेको पाइन्छ । तर फरार रही अदालतमा उपस्थित रहेको कारण मात्रै कुनै वारदातमा संलग्न रहेको तथ्य प्रमाणित हुने अवस्था नहुने हुनाले र सरजमीनको मोहनदास पनि मृतकलाई प्र.हीरालालले प्रहार गरेको प्रत्यक्ष देखेको हुँ भनी लेखाएको अवस्था नहुनाले अ.बं. ११८ को देहाय २ ले निर्धारित तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिन आउने अवस्था विद्यमान नहुँदा निज प्र.हिरालाल साह कानुलाई बारा जिल्ला अदालतले ०४८।८।१७ मा थुनामा राख्ने गरी गरेको आदेश मिलेन, सो आदेश बदर गरी दिएको छ । प्र.राम अयोध्या, प्र.राम अध्याय, प्र.राम प्रवेश गिरीको हकमा विचार गर्दा मृतक रामदास गिरी यी प्रतिवादी राम अयोध्या र प्र.राम अध्यायका सहोदर दाज्यू र प्र.राम प्रवेशका काका नाताका व्यक्ति देखिन्छ । मृतक र यी प्रतिवादीहरुको बीचमा कुनै प्रकारको रिसइवी मिसिलबाट देखिन आएको छैन । प्र.राम अयोध्या र प्र. राम अध्या प्रहरी र अदालतमा र प्र.रामप्रवेश अदालतमा आरोपित कसूरमा इन्कार रहेको देखिन्छ । भोला र छोटेलालका बीचमा भएको आपसी झै झगडाका कारणले सो झगडामा राम दरेशको मृत्यु भएको र सो झगडामा स्वयं प्र.राम अयोध्या र प्र.राम अध्या घाइते भएको अवस्था समेत भएको हुनाले निजहरुको हकमा अ.बं. ११८ को देहाय २ को अवस्था नहुँदा बारा जिल्ला अदालतले प्र.राम अयोध्या र प्र.राम अध्यायलाई मिति २०४८।३।१४ मा र प्र.रामप्रवेश गिरीलाई २०४८।६।१ मा थुनामा राख्ने भनी गरेको आदेश मिलेको देखिएन । निजहरुको हकमा सम्म सो मितिको आदेश बदर गरी दिएको छ । सबै प्रतिवादीहरुको पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम गर्ने गरी हाललाई निज प्र.राम अयोध्या गिरी र प्र.राम अध्या गिरी, प्र.रामप्रवेश गिरीलाई अन्य मुद्दाबाट थुनामा राख्न पर्ने नभए प्रस्तुत मुद्दाको हकमा थुनाबाट मुक्त गरी पूर्पक्षको लागि तारेखमा राख्नु । अन्य प्र.जम्दार दास, अमिन मिया, सत्य नारायण दास, देवनन्दन महतोको हकमा कानुन बमोजिम गर्नु भनी यस अदालतबाट २०४८।११।२३।६ मा आदेश भएको कानुन बमोजिम भएको हुँदा निवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी पुनरावेदन अदालत, हेटौंडाको लिखितजवाफ ।
७. अदालतहरुकै थुनछेक गर्न पाउने अधिकार प्राप्त अधिकारीले कुनै अपराधको अनुसन्धानको सिलसिलामा वा कैदको सजायँ भएकोलाई थुनछेक गर्न पठाएमा कारागारले बुझी लिई निजलाई थुनामा वा कैदमा राख्नुपर्ने भन्ने व्यवस्था कारागार ऐन, २०१९ को दफा ४ र कारागार नियमावली, २०२० को दफा ४ अनुसार कारागारले बुझिलिई थुनामा राख्नु पर्ने बाध्यता भएकोले निज निवेदकलाई सुरेन्द्र गिरीको जाहेरी परेको ज्यान मुद्दामा पूर्पक्षको लागि बारा जिल्ला अदालतको आदेशले थुनामा राख्न पठाएको भन्ने २०४८।३।१६ को कारागार शाखा बाराको पत्रसाथ आएकोले निज थुनामा रहेको लगत श्रेस्तामा देखिएकोले थुनामा राखिएको छ भन्ने समेत प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय कारागार शाखा पर्साको लिखितजवाफ ।
८. ०४८।१।१२ गते बेलुकी ८ बजेको समयमा निवेदक सत्यनारायण दास समेतले कुटपीट गरी ०४८।१।१३ गते बिहान नारायणी अञ्चल अस्पतालमा मृत्यु भएको भन्ने निर्विवाद रुपमा सिद्ध हुन आएकोले घटनास्थलमा उपस्थित रही मर्ने रामदास गिरीलाई मार्ने कार्यमा सहयोग गरेको देखिंदा ज्यानसम्बन्धीको १७(२) अनुसार सजायँको माग दावी भएको, मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरा निर्विवाद रुपमा निवेदक उपर जाहेरवालाको जाहेरी किटानी भएको अन्य प्रतिवादीहरुले आफू इन्कार भई निवेदक समेतले वारदातस्थलमा रहेको जाहेरवाला समेतलाई कुटपीट गरेका हुन भनी बयान गरेकोले अभियुक्तहरुको जिकिर कतैबाट प्रमाणित हुन सकेको छैन । निवेदक समेतलाई अ.बं. ११८(२) को देहाय (२) बमोजिम कसूरदार हो भन्न मनासिब प्रमाण भएको हुँदा थुनामा राखी पूर्पक्ष गर्नु भन्ने बारा जिल्ला अदालतबाट ०४८।३।१४ गतेको आदेश, निवेदकको नारायणी अञ्चल अदालतमा निवेदन परी कैफियत प्रतिवेदन जाहेर गरी पठाएको प्रतिवेदन पुनरावेदन अदालतमा पेश हुँदा निवेदकको हकमा कानुन बमोजिम गर्नु भन्ने समेत व्यहोराको आदेश ०४८।११।२३ मा भएकोले निवेदन खारेज गरी पाउँ भन्ने समेत बारा जिल्ला अदालतको लिखितजवाफ ।
९. अन्य प्रतिवादीहरुको तर्फबाट लिखितजवाफ पर्न आएको देखिएन ।
१०. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री लबकुमार मैनालीले निवेदक उपर किटानी जाहेरी र सरजमीनले समर्थन गरेको भन्ने आधारमा बारा जिल्ला अदालतबाट थुनछेकको आदेश भएको, पुनरावेदन अदालतले सोही आधारमा थुनछेकमा परेका, ज्यानसम्बन्धीको १३(१) नं. अन्तर्गत प्रहरी प्रतिवेदन दावी परेका प्रतिवादीहरुलाई थुनाबाट छाड्ने गरी आदेश भएको छ, तर निवेदकको हकमा शुरुले गरेको थुनछेकको आदेशलाई नै कायम गरेको छ, कुनै प्रतिवादीको हकमा जाहेरीमा उल्लेखित कुरालाई आधार लिई थुनछेकको आदेश गर्ने र कुनैलाई सो आधार नलिने गरेको आदेश त्रुटिपूर्ण छ । निवेदकको हकमा पनि थुनामा राख्ने पूर्वावस्थाको अभाव छ, तत्काल प्राप्त कुनै पनि प्रमाणबाट निवेदकलाई थुनामा राखी कारवाही गर्ने स्थिति विद्यमान नदेखिंनेमा थुनामा राखी पूर्पक्ष गर्ने भनी गरेको बारा जिल्ला अदालतको आदेश र सो आदेशलाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको आदेश समेत त्रुटिपूर्ण हुँदा बदर भई निवेदकलाई थुनाबाट मुक्त गर्ने आदेश जारी हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी पुनरावेदन अदालत समेतको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री अलिअकबर मिकरानीले मृतक रामदरसको मृत्यु कर्तव्यबाट भएको र प्रतिवादीहरु सो स्थानमा उपस्थित भएको तत्काल प्राप्त प्रमाणबाट देखिएको हुनाले थुनामा राखी पूर्पक्ष गर्ने आदेश गरेको मिलेकै हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
११. यस्मा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो विषयमा हेरी निर्णय दिन पर्ने हुन आयो ।
१२. निर्णयतर्फ विचार गर्दा यस्मा मैले ज्यान मार्न संयोग पारेको भन्ने जाहेरीमा सरजमीनमा नभएको, म अदालत र प्रहरीमा समेत इन्कार रहेको स्थितिमा म उपर १७(२) नं. अन्तर्गत दावी गर्न मिल्ने होइन, अ.बं. ११८ को देहाय (२) बमोजिमको थुनछेकको आदेशमा तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा राख्न मनासिब देखिएको कुरा उल्लेख हुनु पर्नेमा आदेशमा केही उल्लेख नगरी मनोगत तवरले मेरो वैयक्तिक स्वतन्त्रता अपहरण गरिएको हुनाले सो आदेशहरु बदर गरी बन्दीप्रत्यक्षीकरण जारी गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेछ । रिटनिवेदनमा उल्लेखित बारा जिल्ला अदालतको २०४८।३।१४।६ को आदेश हेर्दा मृतकको मृत्यु कर्तव्यबाट भएको, मृतकको मृत्यु अभियुक्तहरुको कुटपीटबाट भएको हो भनी जाहेरवालाले किटानी जाहेरी दिएको, सरजमीनका अधिकांश व्यक्तिहरुले जाहेरी दर्खास्तको समर्थन गरेको, प्रतिवादी जम्दार समेत वारदातस्थलमा रहेको र निजहरुलाई नै जाहेरवाला समेतका व्यक्तिहरुले लाठीले कुटपीट गरेका हुन भनी इन्कारी भई बयान गरेको, कुटाई खाएको भन्ने कथन घा जाँच नभएको हुँदा समर्थन हुन नसकेको, अन्य अभियुक्तहरुको अन्यत्र रहेको जिकिर कतैबाट पनि प्रमाणित हुन नसकेको भन्दै प्रतिवादी राम अयोध्या, रामाध्या, जम्दार, सत्यनारायण, देवनन्दन, अमिन समेतलाई अ.बं. ११८(२) को देहाय (२) बमोजिम कसूरदार हो भन्ने मनासिब प्रमाण भएको हुँदा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु भन्ने उल्लेख भएको छ । उक्त आदेश उपर प्रतिवादीहरुको अ.बं. १७ नं.अन्तर्गत पुनरावेदन अदालत हेटौंडामा निवेदन पर्दा जिल्ला अदालतबाट पूर्पक्षका लागि थुनामा राख्ने भनिएका राम अयोध्या, रामाध्या समेतलाई पूर्पक्षको लागि थुनामा राख्न नपर्ने र यी निवेदक जम्दार, सत्यनारायण, देवनन्दन, अमिनका हकमा भने जिल्ला अदालतको आदेश यथावत कायम हुने गरी पुनरावेदन अदालतबाट आदेश भएको रहेछ ।
१३. बारा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौंडाका उक्त आदेशहरु मिलेको छ छैन भनी बारा जिल्ला अदालतबाट प्राप्त शुरु मिसिल हेर्दा राम प्रवेश गिरी, रमेश गिरी, रामअध्या गिरी, रामजोध्या गिरी, तुलसी महतो धानुक, अमिन मिया, रसुलमिया, गणेशदास तत्मा, जम्दार दास तत्मा, सिउचा महतो कहार, सत्यनारायण दास तत्मा, जंगलीदास तत्मा, देवनन्दन महतो, बंशी गिरी, भोला महतो, रामबाबु सा कानू ठगासा कानू समेत आई हामीलाई घेरामा पारी विपक्षी मध्येका बंशी गिरी, भोला महतो कोइरी समेतले अग्रसर भई आज झगडा मिलापत्र नभएकोले हामीलाई मर्का पर्ने कुरा रहेछ, यी नरेन्द्र गिरी, सुरेन्द्र गिरी, रामदरस गिरी समेतलाई बेस गरेर कुट जे पर्छ देखाजाला भनी बचन दिई सबैले बचन मानी अमिन मियाँले हातमा बन्दूक लिई ठाउँमा उभी रहेका रामअध्या गिरी राम जोध्या गिरी, राम प्रवेश गिरी, रमेश गिरी, रसुल मियां, जंगलीदास तत्मा समेत हाम्रा बाबुराम दरश गिरीलाई बाँसको लठ्ठी र बाँसको सिप्टाबाट टाउकोमा र आंग ज्यूमा धमाधम कुट्न लाग्दा जोखमी चोट परी बेहोस भएको, अरु विपक्षीहरुले हामी नागेन्द्र गिरी, सुरेन्द्र गिरीलाई गणेश दास र रामबाबु सा कानू समेतले हानेको, म सुरेन्द्र गिरीलाई तुलसी महतो धानुकले ज्यानै लिने उद्देश्यले फलामको फर्साले टाउकोमा हानेको भनी जाहेरी दर्खास्तमा उल्लेख भएको पाइन्छ । यस उल्लेखनबाट मृतकलाई कुटपीट गर्ने र जाहेरवालाहरुलाई कुटपीट गर्ने कार्य अलग अलग चरणमा भएको, निजहरुलाई कुट्ने व्यक्तिहरुको नाम वारदातको घटनाक्रम विवरण गर्दा खोलेको पाइन्छ । यी निवेदकको नाम उक्त कुटपीट गर्ने मध्येमा नपरेको, केवल एक हुल भई यी निवेदक समेतको नाम उल्लेख गरी घेरा हालेको भन्ने जाहेरीमा लेखेको छ । मृतकलाई कुट्ने भनी जाहेरीमा किटान गरेका केही प्रतिवादीहरु हाल तारेखमा रहेका छन् । यी निवेदकले मृतकलाई मार्नमा के कसरी संयोग पारी दिएको भन्ने जाहेरीमा कुनै संकेत गरेको देखिँदैन ।
१४. अ.बं. ११८ को देहाय (२) मा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा त्यस्तो प्रमाणबाट कसूरदार भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा अन्यथा प्रमाणित नभएसम्म अभियुक्तलाई थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । सो व्यवस्था अनुसार आरोपित कसूर गरेको प्रमाण तत्काल विद्यमान भए नभएको आधारमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नुपर्ने हुन्छ । निवेदक उपर ज्यानसम्बन्धी महलको १७(२) नं. अन्तर्गत ज्यान मार्न संयोग पारी दिएको भन्ने अभियोग लगाई मुद्दा चलाएको देखिएको, तर सो संयोग पारी दिने यो यस्तो कार्य निवेदकले गरेको, यो यस्तो तत्काल प्राप्त प्रमाणबाट देखिएको भन्ने उक्त शुरु बारा जिल्ला अदालतका आदेशमा उल्लेख भएको नदेखिंदा उक्त आदेश कानुन अनुरुपको भन्न मिलेन । निवेदकको के कस्तो कार्यबाट मृतकको ज्यान मार्नमा संयोग परेको भन्ने उल्लेख नभएको जाहेरी दर्खास्तलाई आरोपित कसूर गरेको देखिने तत्काल प्राप्त प्रमाण मान्न कानुनसंगत हुने देखिँदैन । थुनछेकको आदेश गर्दा प्रत्येक अभियुक्तहरुले यो यस्तो अपराधजन्य कार्य गरेको भन्ने कुराको प्रति व्यक्ति प्रमाण हुनु पर्ने, यी निवेदक समेतका प्रतिवादीहरुका सम्बन्धमा केवल गोश्वारा रुपमा कसूरदार हो भन्ने मनासिब प्रमाण भएको हुँदा थुनामा राखी पूर्पक्ष गर्नु भन्ने आदेश भएको समेत अ.बं. ११८(२) नं. को मनसाय अनुकूल देखिएन । अतः निवेदकलाई अभियोगसंग प्रत्यक्ष रुपले सम्बन्धित तत्काल प्राप्त प्रमाणहरुको अभावमा अ.बं. ११८(२) नं. अन्तर्गत थुनामा राखी मुद्दाको पूर्पक्ष गर्ने गरेको बारा जिल्ला अदालतको मिति ०४८।३।१४ को आदेश र सो लाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको ०४८।११।२३ को आदेश समेत त्रुटिपूर्ण भई त्यस्तो त्रुटिपूर्ण आदेशको आधारमा निवेदकलाई थुनामा राख्ने गरेको गैरकानुनी देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । आदेशको प्रतिलिपि जानकारीको लागि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.सुरेन्द्रप्रसाद सिंह
इतिसम्वत् २०४९ साल कार्तिक २६ गते रोज ४ शुभम् ।