शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४५९४ - बन्दीप्रत्यक्षीकरण

भाग: ३४ साल: २०४९ महिना: कार्तिक अंक:

निर्णय नं. ४५९४    ने.का.प. २०४९ ()  अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४६ सालको रिट नं.१०८६

आदेश भएको मिति: २०४९।६।२५।१ मा

निवेदक      : जि.का. कारागार शाखा काठमाडौंमा थुनामा बस्ने हिरामान श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी : तनहुँ जिल्ला अदालतसमेत

विषय : बन्दीप्रत्यक्षीकरण

(१)    जबरजस्ती करणी मुद्दामा लागेको कैद भोगी रहेको अवस्थामा कैदबाट भागेपछि डाँका ज्यान मुद्दामा फैसला भई सजायँ भएको भन्ने जिल्ला अदालतको लिखितजवाफबाट देखिएको हुँदा सो मुद्दामा लागेको कैद ठूलो खतमा गाभिन्छ भन्न नमिल्ने ।

(प्रकरण नं. ८)

अवलम्बित नजीर: वीरबहादुर थापा मगर विरुद्ध ललितपुर जिल्ला अदालत समेत भएको उत्प्रेषणको रि.पु.नं.५६ मा पूर्णइजलासबाट प्रतिपादित सिद्धान्त ।

आदेश

न्या.केदारनाथ उपाध्याय

१.     नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    वादी श्री ५ को सरकार प्रतिवादी निवेदक भएको जबरजस्ती करणी मुद्दामा २०३३ सालमा कैद वर्ष ११ गर्ने फैसला भई ०३३।७।९ देखि थुनामा रहेको कलम एक हे.क. भुपाल सिंहको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक समेत भएको डाँका ज्यान मुद्दामा ०३८।७।४ मा कैद वर्ष ६ र जरीवाना रु. ५,२८६।हुने भनी गरेको फैसलाको कलम एक र जि.का. कारागार शाखा तनहुँको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक समेत भएको थुनुवा भागे भगाए भन्ने मुद्दामा कैद वर्ष ४।१०।२३ हुने भनी मिति ०३८।७।२४ मा फैसला भएको कलम १ गरी उपरोक्त फैसला बमोजिम कैद म्याद ठेकी पठाउँदा ठूलो खत लागी जरिवाना कैद भएकोमा द.स. को ८ नं.बमोजिम खत नखापिने भएकोले जबरजस्ती करणी मुद्दामा लागेको कैद वर्ष ११ हुने हुँदा निवेदक ०३६।५।१४ देखि थुनामा रहेकोले ०४७।५।१३ सम्म कैदमा राख्ने गरी प्रत्यर्थी अदालतले ०३८।८।३० गते निवेदकको नाउँमा कैद म्याद ठेकूवा पुर्जी र प्रत्यर्थी कारागारलाई सोही बमोजिमको कैद ठेक्ने आदेश पत्र पठाएको थियो । तत्पश्चात जबरजस्ती करणी मुद्दामा कैद वर्ष ११ ठेकिएकोमा भुक्तान गरेको कटाई बाँकी कैद वर्ष ८।२।२४, थुनुवा भागे भगाए भन्ने मुद्दामा डेढी थप भएको कैद वर्ष ४।१।१२ र डाँका ज्यान मुद्दामा कैद वर्ष ६ र जरिवाना रु. ५,२८६।समेत जम्मा कैद वर्ष १८।४।६ र जरिवाना रु. ५,२८६।भएको द.स. को ४१ नं.बमोजिम कैद ठेक्न लेखी पठाएकोमा ज्यान डाँका मुद्दाको कैद वर्ष ६ जरिवाना रु. ५,२८६।को कैद वर्ष ४ र कारागारबाट भागेको मुद्दामा १० समेत कैद वर्ष २२।४।६ ठेकी ०३६।५।१४ देखि थुनिएको ०५८।९।२० मा छुट्ने गरी कैद ठेकिएको कैदी पुर्जी पठाइदिनु भनी जि.का. कारागार शाखाको पत्र बमोजिम कैदी पुर्जी दिइएको छ भनी ०३९।५।२८ गते प्रत्यर्थी अदालतबाट पुनः निवेदकको नाममा कैदी पुर्जी दिइएको छ ।

३.    अदालतबाट कानुन बमोजिम रीत पुर्‍याई थुन्न वा कैद गर्न पठाएको व्यक्तिलाई कारागार कार्यालयले बुझी लिई कैदमा राख्नु पर्ने र रीत नपुर्‍याई थुन्न वा कैद गर्न पठाइएकोमा बुझिलिई पुर्जी बमोजिम कैदमा राखी रीत नपुगेको कुराहरु खोली रीत पुर्‍याउनका लागि सम्बन्धित अधिकारी समक्ष कारागारले लेखी पठाउनु पर्ने व्यवस्था कारागार ऐन, २०१९ को दफा ४(१)(२) मा गरिएको, सो बमोजिम नगरी उपरोक्त बमोजिम अदालतलाई निर्देश गर्ने अधिकार प्रत्यर्थी कारागारलाई नभएको, अदालतले सो बमोजिम कैद म्याद ठेकी पठाएको बाट द.स. को ८ र ४१ नं.को विपरीत भएको हुँदा मिति ०३९।५।२८ को पुर्जी तथा सो बमोजिम प्रत्यर्थी कारागारले ठेकेको लगत बदर गरी मिति ०३८।१०।३० गते पठाइएको पुर्जी बमोजिम कैद लगत ठेकी ठेकाई पाउँ भन्ने समेत रिटनिवेदन ।

४.    यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो, विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको आदेश ।

५.    यस कार्यालयको लगत श्रेस्ता हेर्दा निवेदकलाई तनहुँ जिल्ला अदालतको आदेशानुसार जबरजस्ती करणी, डाँका ज्यान र थुनुवा भागे भगाए समेत मुद्दामा थुनामा राखेको र निज ०५८।९।२० गते छुट्कारा हुने देखिन्छ । अधिकार प्राप्त अदालतको आदेशानुसार थुनामा राखिएकोले रिटनिवेदन खारेज हुन अनुरोध गर्दछु भन्ने समेत प्रत्यर्थी कारागार शाखा काठमाडौंको तर्फबाट पर्न आएको लिखितजवाफ ।

६.    निवेदक हिरामान श्रेष्ठलाई वादी श्री ५ को सरकार प्रतिवादी हिरामान श्रेष्ठ भएको जबरजस्ती करणी मुद्दामा ०३३।७।१९ को यस अदालतको फैसलाले कैद वर्ष १० र सोही मुद्दामा ०३४।४।२१ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाले कैद वर्ष १ समेत जम्मा कैद वर्ष ११ लागेकोमा निज ०३३।७।११ देखि कैद कट्टीले मिति ०४४।७।१० गते तक कैदमा बसी ११ गते छुटी जाने गरी ०३४।६।१२ गते कैदी पुर्जी दिई कैदमा राखिएकोमा ०३६।४।१७ गते कारागारबाट भागी गई निजलाई हे.क. भुपालमान सिंहको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हिरामान श्रेष्ठ समेत भएको डाँका ज्यान मुद्दामा ०३८।७।४ गतेका फैसलाले कैद वर्ष ६ र जरिवाना रु. ५,२८६।८९ लागेको र जि.का. कारागार शाखा तनहुँको पत्रले वादी श्री ५ को सरकार प्रतिवादी हिरामान श्रेष्ठ समेत भएको थुनुवा भागे भगाए भन्ने मुद्दामा ०३८।७।२४ गतेका फैसलाले कैद वर्ष ४।१।१२ लागेकोले सम्पूर्ण मुद्दाको एउटै कैद ठेकिंदा जबरजस्ती करणी मुद्दामा लागेको बाँकी कैद वर्ष ८।२।२४, डाँका ज्यान मुद्दाको कैद वर्ष ६ जरिवाना बापतको कैद वर्ष ४ र थुनुवा भागें भगायो भन्ने मुद्दामा कैद वर्ष ४।१।१२ समेत गरी जम्मा कैद वर्ष २२।४।६ कायम गरी २०५८।९।१९ सम्म कैदमा बसी ऐ. २० गते छुटी जाने गरी कैद ठेकी कैदी पुर्जी दिई कैदमा राखिएको, द.स. ४१ नं.मा थुनामा बसेको अवस्थामा भागी अर्को कसूर गरेमा कानुन बमोजिम थप कैद ठेक्नु पर्छ भन्ने उल्लेख भए बमोजिम कैद ठेकिएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत प्रत्यर्थी तनहुँ जिल्ला अदालतको तर्फबाट पर्न आएको लिखितजवाफ ।

७.    नियम बमोजिम पेश भई आएको प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो सम्बन्धमा निर्णय तर्फ विचार गर्दा निवेदकलाई जबरजस्ती करणी मुद्दा, डाँका ज्यान मुद्दा र थुनुवा भागे भगाएको मुद्दामा भएको कैद मध्ये सबैभन्दा ठूलो सजायँ भएको जबरजस्ती करणी मुद्दामा लागेको कैद वर्ष ११ मात्र हुनु पर्नेमा छुट्टा छुट्टै कैद ठेकी २२ वर्ष ४ महीना ६ दिनको कैद लगत ठेकिएको मिलेन, सो बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । निवेदक हिरामान श्रेष्ठलाई के कुन अपराधमा कैद म्याद ठेकिएको रहेछ भन्ने हेर्दा निजलाई जबरजस्ती करणी मुद्दामा कैद वर्ष १० हुने गरी तनहुँ जिल्ला अदालतबाट ०३३।७।१९ मा फैसला भएको र सोही मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।४।२१ मा १ वर्ष लाग्ने गरी भएको समेत जम्मा कैद वर्ष ११ लागी कैद म्याद ठेकिएको रहेछ । निज मिति ०३३।७।११ देखि थुनामा रही सो मितिदेखि कैद कट्टी हुने गरी लगत कसिएको तनहुँ जिल्ला अदालतको लिखितजवाफबाट देखिन्छ । त्यसपछि निज मिति ०३६।४।१७ गते कारागारबाट भागेपछि ०३८।७।४ को फैसलाबाट डाँका ज्यान मुद्दामा ६ वर्ष कैद र जरिवाना रु. ५,२८६।८९ लागेको र कैदबाट भागे भगाएको भन्ने मुद्दामा निजले कैदबाट भाग्दा भोग्न बाँकी कैदमा डेढो थप हुने भई कैद वर्ष ४।१।१२ लागेको भन्ने समेत तनहुँ जिल्ला अदालतको लिखितजवाफमा उल्लेख भएको पाइन्छ । हाल निज निवेदक हिरामान श्रेष्ठको नाउँमा पहिलेको जबरजस्ती करणी मुद्दामा भुक्तान गर्न बाँकी रहेको कैद वर्ष ८।२।२४, कैदबाट भागे बापत लागेको कैद वर्ष ४।१।१२ र डाँका ज्यान मुद्दामा लागेको कैद वर्ष ६ र जरिवाना वापतको कैद वर्ष ४ समेत गरी जम्मा कैद वर्ष २२।४।६ को कैद लगत ठेकिएको रहेछ ।

८.    निवेदकलाई लागेको ३ कलमको कैदमध्ये ठूलो कलमको सजायँमा सानो कलमको सजायँ खापिनु पर्ने भन्ने निवेदन जिकिरका सम्बन्धमा हेर्दा दण्ड सजायँको ४१ नं.मा सबभन्दा ठूलो सजायँमा सानो सजायँ गाभ्ने व्यवस्था गर्ने क्रममा “......तर फैसला भइसकेपछि कैद नबस्दै वा थुना बसेको अवस्थामा वा थुना कैदबाट छुटेको वा भागेको अवस्था अर्को कसूर गरेकोमा सो कसूर बापत कानुन बमोजिम थप कैद ठेक्नु पर्छभन्ने व्यवस्था गरिएको छ । निवेदक जबरजस्ती करणी मुद्दामा लागेको कैद भोगी रहेको अवस्थामा कैदबाट भागेपछि डाँका ज्यान मुद्दामा फैसला भई सजायँ भएको भन्ने तनहुँ जिल्ला अदालतको लिखितजवाफबाट देखिएको हुँदा सो मुद्दामा लागेको कैद ठूलो खतमा गाभिन्छ भन्न मिलेन । थुनाबाट भागे भगाएको मुद्दामा लागेको कैदका सम्बन्धमा रिट निवेदक वीरबहादुर थापा मगर विपक्षी ललितपुर जिल्ला अदालत समेत भएको उत्प्रेषणको रि.पू.ई.नं.५६ मा पूर्णइजलासबाट प्रतिपादित सिद्धान्त अनुसार कैदबाट भागेमा भोग्न बाँकी सजायँमा डेढी सजायँ हुने भन्ने भएको हुँदा समेत प्रस्तुत रिटनिवेदनमा निवेदकलाई ठेकिएको कैदको लगत मिलेकै देखिन आयो । अतः यसमा रिटनिवेदन माग बमोजिमका आदेश जारी गर्न मिलेन । रिटनिवेदन खारेज हुने ठहर्छ फाइल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०४९ साल आश्विन २५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु