निर्णय नं. ४५९९ - अंश

निर्णय नं. ४५९९ ने.का.प. २०४९ (ग) अङ्क ८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
२०४७ सालको दे.पु.ई.नं. ८२
फैसला भएको मिति: २०४९।५।१६।३ मा
विन्तिपत्रवाला/वादी: कैलाली जि.सहजपुर गा.पं.वडा नं.८ मुल गाउँ बस्ने मणिरत्न सापकोटा
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ ऐ.बस्ने शशिराम सापकोटासमेत
मुद्दा : अंश
(१) कागज करकापसंग गराएको भनी यी वादीले यिनै प्रतिवादीहरु समेत उपर नालेश उजूर गरेकोमा करकाप गरेको नठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ सदर भई क्षेत्रीय अदालतबाट निर्णय भई अन्तिम रुपमा रहेको समेतबाट उक्त लिखतमा उल्लेख भएको व्यहोरा वादीले स्वइच्छाले गरेको देखिनुको साथै सो लिखत वादीको विरुद्ध प्रमाणमा लाग्दैन भन्न नमिल्ने ।
(प्रकरण नं. १६)
(२) वादी प्रतिवादीहरुले भूमिसुधार लागू हुँदाका बखत १ नं. तथा ७ नं. फाराम भरी पृथक पृथक पारिवारिक लगत देखाई सो आधारमा दर्ता गरी ज.ध.प्र.पु. समेत प्राप्त गरेको तथा वादी प्रतिवादी बीच बण्डापत्रको रीतपूर्वकको कागज नभए पनि मिसिल संलग्न कागज तथा व्यवहार प्रमाणबाट बण्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं. १६)
निवेदक/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४६।१।२९ को फैसला पूर्णइजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट प्रमाड्डी भई आई तत्कालीन सं.प्र.न्या.ज्यूको मिति २०४७।४।२६ गतेको आदेशानुसार पूर्णइजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. बुबा बालकृष्णका ६ छोरा शशिराम, म मनिरत्न, टिकाराम, डण्डपानी, नरहरी, तुलसीराम हौं । टिकाराम, तुलसीराम र डण्डपाणी आफ्नो कालगतिले परलोक हुँदा भाइ डण्डपाणीको श्रीमती उमादेवी भएको, पैत्रिक सम्पत्ति नरहरी शशिराम र केही म फिरादीको नाममा दर्ता भई मुख्य शशिराम भई व्यवहार चलाई आएकोमा मेल नहुँदा मेरो हिस्सा देऊ भनी भन्दा आलटाल गरेकाले २०४१।८।२२ गते अंश दिलाई पाउन सहजपुर गा.पं. मा हुलाकद्वारा निवेदन पठाउँदा २०४१।५।२१ गते मेरो भाग हिस्सा मार्ने नियतले मलाई थाहै नदिई अंशबण्डाको लिखत पास गराई सकेको लिखत बदर मुद्दा साथै पेश गरेको छु । विपक्षीहरु जिम्मा नै घरको सम्पत्ति रहेकोले अंशबण्डाको २०, २१, २२, २३ बमोजिम फाँटवारी लिई ४ भागको १ भाग दिलाई पाउँ भन्ने समेतको वादी मणिरत्न सापकोटाको फिरादपत्र ।
३. फिराद लेख बमोजिम हामीले अंश दिनु पर्ने छैन । होइन । २००७ सालमा बुबा परलोक भएपछि हामी भाइहरुले सहजपुरका ठकुरीहरुको नाममा रहेको ठेका स्थितिको हुँदा पर्ती जग्गाहरु त्यसै परिरहेकाले ठकुरीहरुलाई भनसुन गरी बेग्ला बेग्लै आफ्नो पुरुषार्थबाट बनाउन कमाउन सके जति छुट्टा छुट्टै कमाई गरी घर लगाई बसेकोमा २०१९ सालमा आफूले कमाएको जग्गा आफैंले भोगी रहेका थियौं तापनि आमाले तिमी छोरा मध्ये शशिराम, डण्डपाणी, नरहरी, तुलाराम म संग बस टिकाराम, मणिरत्न छुट्टै बसेका छन् ठीकै छ भन्नु हुँदा आमाको आज्ञा बमोजिम छुट्टाछुट्टै आ–आफ्नो आर्जनको जग्गाको आयस्ताबाट गुजर बसर गरी रहेका थियौं । २०२१ सालमा भूमिसुधार लागू हुँदा शशिरामले सगोलमा रहेका परिवारको लगतको १ नं. फाराम र भाइ टिकारामले मणिरत्न सापकोटा समेतको सगोलमा रहे बसेको १ नं. फाराम भरी भू.सु.का. मा पेश गरेका छन् । पछि भाइ डण्डपाणी परलोक हुँदा सो डण्डपाणीको चल अचल सम्पत्तिको अनुपातमा पाउने रु. ११,०००।– मणिरत्नलाई दिई कागज समेत लेखेको सो रु. ११,०००।– मा उजूर गर्ने छैन मैले फिर्ता दिनु पर्छ भनी हामीले आफूले आर्जेको जग्गा समेतको अंश भाग लिई स्वार्थ पूर्ति गर्ने उद्देश्यले झुठ्ठा फिराद गरेका हुन् हाम्रो साक्षी सबूद बुझी झुठ्ठा फिराद दावीबाट फुर्सद गरी पाउँ भन्ने समेतको उमादेवी सापकोटा, शशिराम सापकोटा, नरहरी सापकोटा समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. वादी प्रतिवादीहरु सगोलमा अंशियार हुन फिरादीले आफ्नो चित्त बुझ्दो बराबरी भाग हिस्सा नपाएको हुँदा फिराद गरेका हुन । यिनीहरु बीच अंश बण्डा भएको छैन । अंश पाउनु पर्ने हो भन्ने समेतको वादीका साक्षी रणबहादुर शाह, दानबहादुर खत्री, दानबहादुर शाही समेतको करिब एकै मिलानको बकपत्र ।
५. फिरादीले २०१९ सालतिर अंशपाई अंशबण्डा भएको हो भन्ने कुरा मैले गाउँबाट सुनी थाहा पाएको हो भन्ने समेतको प्रतिवादीको साक्षी धनबहादुर कमी, कृष्णबहादुर तडायत, शशिराम राना मगर, नन्दराम पौडेल, लिलाराम सापकोटा समेतको करिब एकै मिलान बकपत्र ।
६. छोरा टिकाराम र मणिरत्न २०१९ साल मै छुट्टी भिन्न भई बसेका हुन २०२८ मा शशिराम भिन्न भई बसेका डण्डपाणी र नरहरी सगोलमा हुँदा डण्डपाणी मरेपछि निजको श्रीमतीले आफ्नो भाग हिस्सा लिई भिन्न बसेकी हुन । सबैको सगोलको सम्पत्ति शशिरामको नाममा थियो । ०४१ भाद्र महीनामा नरहरी र शशिरामको भागबाट उमादेवीलाई निजले पाउने भाग बण्डा गराएको हो । फिरादीले आफ्नो आउने अंश पहिले नै लिएको हो भन्ने समेतको पेटबोलीबाट बुझिएको कौशिल्या भनेको कलावती सापकोटाले गरेको बयान ।
७. वादी प्रतिवादीहरुको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन गरी आएको देखिएको हुँदा वादी प्रतिवादीका अंश बण्डा भएको छैन वादीले प्रतिवादीहरुबाट अंश पाएको छैन भन्न सक्ने स्थिति देखिन आउँदैन । तसर्थ उल्लेखित सबूद प्रमाणबाट वादी प्रतिवादीहरुको बीच अघि नै अंशबण्डा भई लिनुदिनु गरी भोग चलनसमेत गरेको प्रमाण आधारबाट वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेतको कैलाली जि.अ.को फैसला ।
८. उमादेवीको अंश मार्ने नियतका कुरामा सम्झाई दिएको हुँ भन्ने प्रत्यर्थी हर्कबहादुरको जिकिर भएकोमा बिना कुनै सबूद प्रमाण मैले अंश भागको धारण बनाउने अधिकार प्रधानपञ्चलाई कहिबाट पनि नमिलेकोमा स्वयंलाई बेसरोकारको र निर्दोष भन्ने विपक्षी हर्कबहादुरले कानुन विपरीत असत्य कुरामा समर्थन जनाई मेरो विरुद्ध सहजपुर गा.पं. को माध्यमबाट उमादेवीको गलत दावीलाई साँचो भनी मेरो विपरीत प्रमाण खडा गर्न सहयोग गरेको हुनाले यी प्रत्यर्थीहरुले कसूर गरेको भन्ने तथ्य प्रमाणित हुँदा दावी नपुग्ने ठहर्याएको कैलाली जिल्ला अदालतको फैसला कानुन विपरीत हुँदा बदर गरी दावी बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादी रत्न सापकोटाको सुदूर पश्चिमाञ्चल क्षे.अ. मा पर्न आएको पुनरावेदनपत्र ।
९. अंश बापतको भनी २०३९ सालमा भएको रजिष्ट्रेशन पास नभएको कागज प्रमाणमा लिन नमिल्नेमा प्रमाणमा लिई गरेको फैसला त्रुटिपूर्ण भई उल्टिने देखिएकोले विपक्षी प्रतिवादी झिकाई पेश गर्नु भन्ने सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश ।
१०. २०१९ सालमा यी वादी प्रतिवादीहरु भिन्न भएका हुन भन्ने कुनै ठोस सबूद प्रमाण केही खुल्न नआउनुको साथै भूमिसुधारमा १ नं. फाराम छुट्टै भरी पारिवारिक लगत भाइले समावेश गरी दिइएको भन्ने आधारमा मात्र बण्डा भइसकेको हो भन्ने स्वीकार गर्न नमिल्ने हुँदा वादी दावी बमोजिम तायदाती फाँटवारीमा देखिएको सम्पत्तिको ४ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर्छ । अंश नपाउने ठहर्याएको कैलाली जि.अ.को फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको सु.प.क्षे.अ.को मिति २०४४।३।२१।१ को फैसला ।
११. वादीले भूमिसुधारमा १ नं. लगत र ७ नं. फाराम भर्दा अलग रुपमा भरेको र २०४१।३।२ मा रुपैयाँ भराई दिलाई पाउँ भनी सहजपुर गाउँ पञ्चायतमा यीनै वादीले दिएको निवेदन उजूरीबाट पनि अंश बण्डा भइसकेको प्रमाणित हुनेमा अंश पाउने ठहर्याएको क्षेत्रीय अदालतको फैसलामा गम्भीर कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१२. वादीले अंश भागमा पाएको जग्गाको १ र ७ नं. फाराम निजैले आफ्नो नाममा भरी लालपूर्जा समेत लिएको भन्ने भनाई भएपछि २०३९।१।८ को लिखत पास नभए पनि अंश बण्डाको ३० नं. को प्रयोजनको लागि मूल्यांकनमा लिनु पर्नेमा सो नलिई इन्साफ गरिएको अंश बण्डाको ३० नं. र नजीर समेतको व्याख्यात्मक त्रुटि हुँदा पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति २०४४।९।१७।६ को आदेश ।
१३. वादीको नाउँमा छुट्टै जग्गा दर्ता रहेको साथै भूमिसुधार लागू भएपछि जग्गावालाको १, ७ नं. फाराम भरेको नदेखिएको भनी प्रतिवादीको जिकिर बमोजिम वादीलाई आफ्नो सगोलको भाइ भनी देखाई वादीसित सगोलमा रहेको भनी देखाएका टीकारामले १, ७ नं. फाराम भरेको प्राप्त निजको नाउँको १ नं. फारामबाट देखिन आएकोले सोहीबाट वादीका नाउँमा जग्गा दर्ता भई जग्गाधनी प्रमाण पूर्जा पाएको भन्न पर्ने साथै २०३९ सालमा वादीले अंशियार दण्डपाणीका अंश भाग अपुताली परेमा खान पाउने भाग बापत रु. ११,०००।– बुझी गरिदिएको कागजमा आफू अघि देखि नै भिन्न भएको देखाएको समेतबाट अंश पाउने ठहर्याएको जिल्ला अदालतका फैसला बदर गरी अंश पाउने ठहर गरेको क्षेत्रीय अदालतको फैसला गल्ती हुँदा उल्टी हुन्छ जि.अ.ले वादी दावी पुग्न नसक्ने ठहर्याएको इन्साफ मनासिब ठहर्छ भन्ने समेत यस अदालत संयुक्तइजलासबाट मिति २०४६।१।२९ गते भएको फैसला ।
१४. उक्त संयुक्तइजलासको फैसला उपर वादीको मुद्दा दोहोर्याई हेरी दिनु भनी स.अ.का नाउँमा हुकुम प्रमाड्डी बक्स पाउँ भनी परेको विन्तिपत्रमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालतको संयुक्तइजलासबाट २०४६।१।२९ मा निर्णय भएको अंश मुद्दाको मिसिल झिकाई दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत हुकुम बक्स भएको भनी विशेष जाहेरी विभागबाट लेखी आई तत्कालीन सम्माननीय प्रधान न्यायाधीशज्यूका आदेश बमोजिम पूर्णइजलासको लगतमा दर्ता हुन आएको रहेछ ।
१५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसालले २०१९ सालमै अंश भइसकेको भन्ने कुरालाई समर्थन गर्ने कुनै ठोस लिखत सबूद प्रतिवादीतर्फबाट पेश हुनसकेको छैन । भूमिसुधार लागू हुँदा आ–आफ्नो छुट्टा छुट्टै फाराम भरेको भने पनि १ नं. फाराममा पारिवारिकको लगत दिंदा वादी स्वयंले आफ्नो छुट्टै लगत दिएको भन्ने कतैबाट खुल्न सकेको छैन । वादी प्रतिवादीको नाममा छुट्टा छुट्टै रुपमा जग्गा दर्ता हुँदैमा छुट्टी भिन्न भइसकेको भन्न मिल्दैन । २०३९।१।८ मा वादीले दण्डपाणीको अंश भाग बुझिलिएको भन्ने पारीत नभएको लिखतको आधारमा वादीको समेत अंशबण्डा भइसकेको भनी अर्थ गर्न मिल्दैन यसर्थ वादी दावी बमोजिम अंश पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले यी वादी प्रतिवादीहरुले भूमिसुधार लागू भएका बखत बेग्ला बेग्लै रुपमा १ तथा ७ नं. फाराम भरेका छन । २०३९ सालमा यी वादीले अंशियार दण्डपाणीको अंश भाग अपुताली परेमा खान पाउने भाग बापत रु. ११,०००।– बुझी आफ्नो भाग नखोज्ने भनी कागज गरिदिएको र सो कागज करकापसंग गराएको भनी यी वादीले फिराद गरेकोमा करकाप नठहर्ने भनी फैसला भई अन्तिम रुपमा रहेको समेतबाट वादी प्रतिवादी बीच अंशबण्डा भइसकेको पुष्टि हुन्छ । यसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मनासिब हुँदा सोही सदर हुनु पर्ने भनी बहस गर्नु भयो ।
१६. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा यसमा भूमिसुधार लागू भएको बखत वादी प्रतिवादीहरुको भिन्दाभिन्दै रुपमा १ नं. र ७ नं. फाराम भरेको देखिन्छ । उक्त फाराम बमोजिम वादीको छुट्टै पारिवारिक लगत देखाएको देखिन्छ । उक्त १ नं. तथा ७ नं. फाँटवारी मैले भरेको होइन । टिकारामले भरेको हुँदा सो मेरो सम्बन्धमा लागू हुँदैन भन्ने वादी निवेदकको भनाई रहेको पाइन्छ । टिकारामले १ नं. र ७ नं. फाराम भर्दा वादीलाई आफूसाथ सगोलमा रहेको देखाएको र सोही आधारमा वादीको जग्गा दर्ता हुनुको साथै जग्गाधनी प्रमाण पूर्जा समेत पाएकोबाट उक्त १ नं. तथा ७ नं. फाराम स्वीकारी सकेको देखिन्छ । यसरी १ नं. तथा ७ नं. फाँटवारी आफूले नभरेपनि टिकारामले भरेको कुरालाई मानेको देखिँदा आफ्नो हकमा सो फाराम प्रमाण ग्राह्य हुँदैन भन्ने वादीको जिकिर युक्तसंगत देखिएन । २०३९।१।८ मा यिनै वादीले अंशियार मध्येका दण्डपाणीको अपुताली परेमा खान पाउने भाग बापत रु. ११,०००।– बुझी गरिदिएको कागजमा आफू अघि नै छुट्टि भिन्न भइसकेको भन्ने उल्लेख गरी दण्डपाणीको मृत्यु भई सन्तान कोही नभई श्रीमती मात्र जीवित भएकोमा निज श्रीमती बाचुन्जेल दण्डपाणीको सम्पत्ति निजैले खाने र निजको शेषपछि अपुताली परेमा आफ्नो भागमा पर्ने हिस्सा बापत रु. ११,०००।– बुझिलिई कागज समेत गरिदिएको देखिन्छ । सो कागज करकापसंग गराएको भनी यी वादीले यिनै प्रतिवादीहरु समेत उपर नालेश उजूर गरेकोमा करकाप गरेको नठहर्याएको शुरु कैलाली जिल्ला अदालतको इन्साफ सदर भई मिति २०४४।३।२१ मा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भई अन्तिम रुपमा रहेको समेतबाट उक्त लिखतमा उल्लेख भएको व्यहोरा वादीले स्वइच्छाले गरेको देखिनुको साथै सो लिखत वादीको विरुद्ध प्रमाणमा लाग्दैन भन्न मिल्ने देखिएन । यो वादीले प्रतिवादी मध्येका शशिरामबाट तमसुक बमोजिमको कर्जा रु. ५,०००।– दिलाई भराई पाउँ भनी सहजपुर पञ्चायतमा उजूर गरी कारवाही चलाएको प्रतिवादी तर्फका कानुन व्यवसायीले इजलास समक्ष देखाएको कारवाही सम्बन्धी लिखतबाट देखिन्छ । यदि यी वादी प्रतिवादीहरु छुट्टि भिन्न नभई एकाघरमा रहे बसेका भए यसरी तमसुक गरी कर्जा लिनु दिनु र सो बमोजिम असूल उपर गराई माग्न उजूर बाजूर समेत गर्नु नपर्ने थियो । यसर्थ वादी प्रतिवादीहरुले भूमिसुधार लागू हुँदाका बखत १ नं. तथा ७ नं. फाराम भरी पृथक पृथक पारिवारिक लगत देखाई सो आधारमा दर्ता गरी ज.ध.प्र.पु.समेत प्राप्त गरेको तथा अंशियार मध्येको दण्डपाणीको अपुताली बापत आफ्नो भागमा पर्ने रु. ११,०००।– बुझी गरी दिएको कागजमा अघि नै छुट्टि भिन्न भइसकेको भन्ने व्यहोरा उल्लेख गरी वादीले कागज गरिदिएको तथा प्रतिवादी मध्येका शशिराम उपर कर्जा असूल उपर गराई माग्न तमसुक बमोजिम उजूर बाजूर गरेको समेतबाट वादी प्रतिवादी बीच बण्डापत्रको रीतपूर्वकको कागज नभए पनि मिसिल संलग्न कागज तथा व्यवहार प्रमाणबाट बण्डा भइसकेको देखिन आएकोले अंश पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । यसर्थ वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४६।१।२९ को निर्णय मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा केही गर्नु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.सुरेन्द्रप्रसाद सिंह,
न्या. ओमभक्त श्रेष्ठ
इति सम्वत् २०४९ साल भाद्र १६ गते रोज ३ शुभम् ।