निर्णय नं. ६१९५ - अंश हक कायम गरी दर्ता नामसारी ।

निर्णय नं. ६१९५ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
२०५० सालको दे.पु. नं. १२८९
फैसला मितिः- २०५३।३।२१।६
मुद्दा: अंश हक कायम गरी दर्ता नामसारी ।
पुनरावेदक/प्रतिवादीः- नवलपरासी जिल्ला मुकुन्दपुर गा.वि.स. वडा नं. ३ भेडावारी बस्ने नन्द प्रसाद धिताल ।
विरुद्ध
विपक्षी/वादीः- ऐ.ऐ. बस्ने सीताराम धिताल ।
वण्डा हुनु पर्ने सम्पत्ति वण्डा नभई आफ्नो भोगमा रहेको सम्पत्तिमा अंश वण्डाको ३५ नं. बमोजिम जहिलेसुकै पनि दाबी गर्न सकिने कानूनी व्यवस्था भएको र भेडावारीको जग्गा वादीको नाउँमा दर्ता हुन आएको नदेखिएकोले प्रतिवादीको नाउँमा दर्ता रहेको भेडावारीको जग्गा मध्येबाट वादीले अंश भाग बमोजिम पाउने वादी दावीको जग्गामा वादीको हक लाग्ने देखिन आउने ।
(प्र.नं. १३)
पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी वादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी
विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली
अबलम्बित नजीरः- ×
फैसला
न्या. ओमभक्त श्रेष्ठः- पुनरावेदन अदालत बुटवलको मिति २०५०।२।२४ को फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
2. पिता ठाकुर प्रसादका २ श्रीमती जेठी उत्तम कुमारी र कान्छी तुलसा देवी भई जेठी तर्फबाट नेत्र प्रसाद, गणेश प्रसाद, उपेन्द्र प्रसाद र फिरादी सिताराम र कान्छी तर्फबाट विपक्षी नन्द प्रसाद, माधव प्रसाद, रामचन्द्र दिनेश प्रसाद समेतको जन्म भएको बाबु र आमाहरुको परलोक भै सकेको । पिताजीले मिति २०५१।८।१३ मा वण्डा पत्र खडा गराई जेठी तर्फको सम्पत्ति गणेश प्रसादले र कान्छी तर्फको नन्द प्रसादले जिम्मा लिने गरी वण्डा गरी दिनु भएको र सो अनुसार मधेश पहाड दुवै तर्फ सबैले बराबर पाउनु पर्ने उल्लेख भएको । विपक्षी नन्द प्रसाद तर्फका दाजु भाइहरु बीच मिति २०२१।५।४ मा वण्डा पत्र पारीत भएको र २०१५ सालको वण्डा पत्र बमोजिम भेडावारीको रैतानी जग्गामा विपक्षी नन्द प्रसाद तर्फका दाजु भाइको आधा र फिरादीको दाजु भाईको आधा हिस्सा रहेको छ । २०१७ साल र २०२६ सालको नापीबाट सो भेडावारीको जग्गा करिब १६ विगाहा जग्गा विपक्षीले आधा र म समेतको नामले आधा आधा भोग चलन गरी आएका छौं । त्यस मध्येबाट कि.नं. ९७, ५१, ५३ र ५० को जम्मा २ विगाहा जग्गा मैले अविच्छिन्न रुपमा भोग चलन गरी आएपनि उक्त मेरो २ विगाहा जग्गा विपक्षीले दर्ता गराएकोले उक्त जग्गाको निजको नाउँमा भएको दर्ताबाट मेरो हक कायम भै मेरो नाउँमा दर्ता नामसारी गरी पाऊँ भन्ने फिराद दाबी ।
3. वादी दावी झुठ्ठा हो । वादीले आफ्नो नाउँमा भएको जग्गा अंश बापतमा प्राप्त गरी भोगचलन गरेका छन् । मबाट निजले अंश पाउनु पर्ने बाँकी छैन । निजले दाबी गरेका जग्गा निजको हक भोगको होइन । निजको अंश भागको जग्गा भएको भए निजले अकाट्य सबुद प्रमाण पेश गर्न सक्नु पर्ने सो समेत नभएको हुनाले झुठ्ठा दाबीबाट अलग फुर्सद पाऊँ भन्ने समेतको प्रतिउत्तर जिकिर ।
4. वादी दावीको प्रतिवादीको नाममा नासोको रुपमा दर्ता रहेको भन्ने जग्गा प्रतिवादीको नामबाट वादीको नाउँमा दर्ता र हक कायम नहुने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको फैसला ।
5. २०१५ सालमा र २०२१ सालमा खडा भएको वण्डापत्रबाट समेत विपक्षीको नाउँमा दर्ता रहेको जग्गा अवण्डा गोश्वाराको जग्गा हो भन्ने स्पष्ट भैरहेको र सर्वोच्च अदालतबाट समेत गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी दर्ता भएकोमा गोश्वारा हक हुन अरु अंशियारहरुको हक टुटेको प्रमाण वेगर हक टुट्न नसक्ने भनी सिद्धान्त प्रतिपादन भई सकेको अवस्थामा हक स्थापित भएको प्रमाणलाई उपेक्षा गरी गरिएको फैसला त्रुटिपूर्ण छ । उक्त जग्गा हक भोग गरी जोताहा अस्थायी निस्सा, ७ नं. फाराम समेत भरी रहेको अवस्थामा प्रमाणको तथ्य भित्र प्रवेश नगरी हचुवा भरमा गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ अंशवण्डाको ३५ नं. अ.बं. १८५ नं. समेतको विपरीत हुँदा शुरु फैसला उल्टाई उक्त जग्गामा हक कायम गरी दर्ता नामसारी समेत गरी पाऊँ भन्ने वादीको लुम्वनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
6. मिति २०१५।८।१३ मा खडा भएको घरसारको वण्डापत्रको अन्तिम प्रकरणमा मधेश तर्फमा र पहाडमा समेत दर्ता भएको हामी तपसीलका अंशियारहरुको नाउँमा दर्ता भएका रैतानी समेत बाँडी खाने भन्ने उल्लेख भएको र फिराद साथ दाखिल गरेको सम्वत् १९९५ सालको नं. ४५६ मौजे भेडावारीको जग्गाको दर्ता उतार समेतबाट शुरुको इन्साफ विचारणीय हुँदा अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम प्रत्यर्थी झिकाउने भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।
7. विवादीत जग्गामा वादीको हक लाग्ने नै देखिँदा शुरु नवलपरासी जिल्ला अदालतले वादी दाबी नपुग्ने ठहराएको इन्साफ नमिलेको हुँदा उल्टी हुने र वादी दावीको जग्गामा वादी सीतारामको हक कायम भई दर्ता नामसारी हुने समेत ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५०।२।२४ को फैसला ।
8. विवादको जग्गा अवण्डा गोश्वाराको नभई मेरो नाउँमा दर्ता भएको मेरो एकलौटी हक भोग चलनको जग्गा हो । २०१७ र २०२६ सालमा समेत सर्भे नाप जाँच दर्ता हुँदा विपक्षी समेत कुनै कसैको उजूर छैन । अवण्डा गोश्वाराको लिखत विपक्षीले दिन गुजार्न सकेका छैनन् । मिति २०६५।८।१३ को वण्डापत्रमा दावीको जग्गा अवण्डा गोश्वारा भन्ने लेखिएको छैन । विपक्षीले जे जति अंश भाग पाउने हो । २०१५ सालमा भाग वण्डा बुझी लिने आफ्नो सहोदर दाजु गणेश प्रसादबाट पाउने हो । यदि अवण्डाको जग्गा भए अवण्डा जग्गाको तायदाती लिई छुट्टयाई पाऊँ भन्ने दाबी हुनु पर्नेमा त्यस्तो दाबी पनि छैन । अतः पुनरावेदन अदालत बुटवलको फैसलाको इन्साफ नमिलेको हुनाले सो बदर गरी शुरु नवलपरासी जिल्ला अदालतको इन्साफ सदर गरी न्याय पाऊँ भन्ने समेत प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
9. प्रमाणमा आएको वादी सीताराम धिताल प्रतिवादी गणेश प्रसाद धिताल समेत भएको अंश दर्ता नामसारी मुद्दामा प्रत्यर्थी सीताराम धितालले फिरादको प्रकरण (२) मा २०१५।८।१३ को वण्डापत्र अनुसार पिताको हकमा राखिएको जग्गा उहाँ परलोक भएपछि दुवै तर्फबाट आधा आधा गरी उहाँको दुबै श्रीमती उत्तम कुमारी र तुलसा देवीको नाउँमा बेग्ला बेग्लै दर्ता बहाली पाई सर्भे नापीमा पनि सोही अनुसार दर्ता गराई राखेको भनी उल्लेख गरेको समेतबाट वादी दावीको जग्गामा वादीको हक कायम गरी दर्ता नाउँसारी हुने ठहराएको पुनरावेदन अदालतको फैसला विचारणीय देखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने यस अदालतको आदेश ।
10. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले २०१५।८।१३ को घरसारको वण्डापत्र लिखत बमोजिम आ-आफ्ना भागमा परेको जग्गा दर्ता नामसारी र नाप जाँच दर्ता भै बिक्री व्यवहार सबै भईसकेको छ । २०१५।८।१३ मा घरसारको वण्डापत्र भै सकेपछि २०१५।९।१९ मा पिता ठाकुर प्रसाद परलोक भई सकेपछि उत्तम कुमारीले नामसारीको लागि निवेदन दिएकोमा उत्तम कुमारी, तुलसा देवी र दिनेश प्रसादको नाउँमा छुट्टाछुट्टै नामसारी गर्ने २०१८।२।९ मा पाल्ही मालबाट निर्णय भएको देखिन्छ । विवादको जग्गा प्रतिवादीको मात्र एकलौटी हक भोग चलनको हो । अवण्डा गोश्वाराको होइन । प्रतिवादीको नाउँमा सर्भे नाप जाँच दर्ता हुँदा कसैको उजुर परेको छैन । विवादको जग्गा अवण्डा गोश्वाराको हो भनी वादीले देखाउन सकेको छैनन् । वादी सीताराम प्रतिवादी गणेश प्रसाद भएको २०४२।२।८ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भएको अंश मुद्दामा मिति २०१५।८।१३ को वण्डापत्रलाई मान्यता दिइएको छ । सो फैसलाबाट उक्त वण्डापत्रमा अवण्डा गोश्वाराको जग्गा रहेका भन्ने नदेखिएको र २०१५।८।१३ को वण्डापत्रमा वादीले दाबी गरेका जग्गामा वादीको हक लाग्न नसक्नेमा पुनरावेदन अदालत बुटवलले वादी दावी पुग्न नसक्ने ठहराएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबी बमोजिम विवादको जग्गामा वादीको हक कायम गरी दर्ता नामसारी हुने ठहराएको फैसला बदर गरी शुरु नवलपरासी जिल्ला अदालतको फैसला कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
11. विपक्षी वादी सीताराम धितालको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री विश्वकान्त मैनालीले जियजियैको अंश हुनु पर्ने कानूनी व्यवस्था छ । २०१५ सालमा वण्डा भईसकेको भए २०२१ सालमा पुनः वण्डापत्र हुनु पर्ने थिएन । वादीले अंश पाएको देखिंदैन । विवादको जग्गाको ७ नं. फाँटवारी वादीले भरेको र यस अदालतको विपक्षी झिकाउने आदेशमा उल्लेख भए अनुसार २०३५ सालको वण्डापत्र बमोजिम आधा आधा खाने र भोग गर्नेसम्म उल्लेख भएको ठिक हो तर सो अनुसार आधा आधा सर्भेमा पनि नापी भै दर्ता भएको भने प्रमाणित हुँदैन । वण्डा बमोजिम बुझी लिएको सम्म हो तर दर्ता भएको छैन । अतः वादी दावीको जग्गामा वादीको हक कायम हुनु पर्ने हुँदा वादी दाबी पुग्न नसक्ने ठहराएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावीको जग्गामा वादीको हक कायम र दर्ता नामसारी हुने समेत ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला सदर कायम हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
12. उपरोक्त बहसहरु समेतलाई ध्यानमा राखी आज निर्णय सुनाउन पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल समेत अध्ययन गरी वादी दाबी पुग्न नसक्ने ठहराएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावीको जग्गामा वादीको हक कायम र दर्ता नामसारी हुने समेत ठहराएको पुनरावेदन अदालत बुटवलको इन्साफ मिलेको छ छैन त्यस तर्फ निर्णय दिनु पर्ने हुन आयो ।
13. मिति २०१५।८।१३ को वण्डापत्र बमोजिम भेडावारीको रैतानी जग्गा मध्येबाट कि.नं. ९७, ५१, ५३ र ५० को जम्मा २ विगाहा जग्गा मैले भोग गरी आए पनि सो जग्गा मेरो नाउँमा दर्ता नभई विपक्षी नन्द प्रसादकै नाउँमा दर्ता भएकोले उक्त जग्गामा मेरो हक कायम गरी दर्ता नामसारी गरी पाऊँ भन्ने फिराद दावी र वादी दावीका जग्गा वादीको हक भोगको नभएको र वादीले मबाट अंश पाउनु पर्ने जग्गा बाँकी नभई सो जग्गा निजको अंश भागको हो भन्ने अकाट्य प्रमाण पेश गर्न नसकेको समेतबाट झुठ्ठा दाबीबाट फुर्सद पाऊँ भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा वादी प्रतिवादीका बाबु ठाकुर प्रसादले मिति २०१५।८।१३ मा आफ्नी दुई श्रीमतीहरु जेठी उत्तम कुमारी तर्फको छोराहरु नेत्र प्रसाद, गणेश प्रसाद, उपेन्द्र प्रसाद र सीताराम र कान्छी तुलसा देवीको तर्फको छोरा नन्द प्रसाद, माधव प्रसाद, रामचन्द्र, दिनेश प्रसादलाई छुट्टयाई वण्डापत्र खडा गरेको कुरामा विवाद देखिंदैन । उक्त वण्डापत्रको अन्तिम भागमा मधेश र पहाडतर्फ समेतमा दर्ता भएका हामी तपसीलका अंशियारहरुको नाउँमा दर्ता भएको रैतानी समेत बाँडी खाने भनी सहीछाप गर्ने तुलसा देवी तर्फका जेठा छोरा नन्द प्रसाद धिताल भन्ने वाक्यांश परेको देखिन्छ । वादीले फिराद साथ पेश गरेको १९९५ सालको ४५६ नं. मौजे भेडावारीको जग्गाको दर्ता उतारमा भेडावारीको जग्गामा २००४ सालदेखि नन्द प्रसादको नाउँमा रैतानी कायम भएको भन्ने र २०२५ सालको ४५६ नं. मौजा भेडावारीको फाँटवारी जनकलालले दाखिल गरेको एकतर्फि लगतको उतारमा रैतानी नं. ३ नन्द प्रसाद धितालको नाउँमा विभिन्न १७ कित्ता जग्गा रहेको देखिन्छ । कान्छी तुलसा देवीका छोराहरुको बीचमा २०२१ सालमा भएको वण्डापत्रमा भेडावारीको नन्द प्रसादको नाउँको रैतानी विगाहा १५ को तिरो रु.२३२।५० लागेको कित्ताको खला रु.७५००।- सात हजार पांचसय रुपैयाँमा बन्धकी देव कुमारीलाई पास भै गएकोले हाल वण्डा गर्न नमिल्ने हुँदा थैली बुझाई यथोचित वण्डा गरी खाने भन्ने उल्लेख भएको देखिन्छ । २०१५ सालको घरसारको वण्डापत्रमा विवादको भेडावारीको जग्गा वण्डा भएको नदेखिनुको साथै २०२१ सालमा ठाकुर प्रसादकी कान्छी श्रीमती तुलसा देवी तर्फका छोराहरुको बीचमा मात्र वण्डापत्र भएको र सो २०२१ सालको वण्डापत्रमा समेत प्रतिवादी नन्द प्रसादको नाउँमा रहेको भेडावारीको जग्गा वण्डा भएको देखिएन । यसरी रैतानी जग्गा बाँडी खाने भन्ने सम्म उल्लेख भई प्रतिवादी नन्द प्रसाद धितालकै नाउँमा रहिरहेको देखिन आएको छ र सो भेडावारीको जग्गा वण्डा गर्नु नपर्ने गरी आफ्नो नाउँमा के कसरी प्राप्त हुन आएको हो ? सो प्रतिवादीले भन्न र कतै खुलाउन नसकेकोबाट प्रतिवादीको नाउँमा दर्ता रहेको भेडावारी मौजाको जग्गा वण्डा गर्नु नपर्ने हो भन्न सकिने अवस्था देखिएन । वादीले उक्त भेडावारीको जग्गा मध्येबाट हिसाव शान्ति अंश प्राप्त गरी वादीको नाउँमा दर्ता भएको मिसिल संलग्न कुनै पनि कागज प्रमाणबाट नदेखिनुको साथै वादी दावीको जग्गामा वादीको भोग छैन भन्ने कुनै पक्का प्रमाण समेत प्रतिवादीले दिन गुजार्न सकेको पाइदैन । त्यस्तो वण्डा हुनु पर्ने सम्पत्ति वण्डा नभई आफ्नो भोगमा रहेको सम्पत्तिमा अंशवण्डाको ३५ नं. बमोजिम जहिले सुकै पनि दावी गर्न सकिने कानूनी व्यवस्था भएको र भेडावारीको जग्गा वादीको नाउँमा दर्ता हुन आएको नदेखिएकोले प्रतिवादी नन्द प्रसाद धितालको नाउँमा दर्ता रहेको भेडावारीको जग्गा मध्येबाट वादीले अंश भाग बमोजिम पाउने वादी दावीको जग्गामा वादीको हक लाग्ने देखिन आयो । तसर्थ शुरु नवलपरासी जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावीको जग्गामा वादीको हक कायम गरी वादीको नाउँमा दर्ता नामसारी समेत हुने ठहराएको पुनरावेदन अदालत बुटवलको इन्साफ मनासिव ठहर्छ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्बत् २०५३ साल असार २१ गते रोज ६ शुभम् ।