निर्णय नं. ६२०८ - अंश

निर्णय नं. ६२०८ ने.का.प. २०५३
पुर्ण इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्बत् २०५१ सालको दे.पु. नं. ५७
फैसला मिति २०५३।३।२०।५
मुद्दाः अंश ।
पुनरावेदक-
वादी जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. २ बस्ने सन्तनुलाल श्रेष्ठ
जिल्ला बाँके, नेपालगञ्ज नगरपालिका वडा नं. २ बस्ने अरुणलाल श्रेष्ठ
ऐ.ऐ. बस्ने मोहनलाल श्रेष्ठ
ऐ.ऐ. बस्ने विजयलाल श्रेष्ठ
विरुद्ध
विपक्षी
प्रतिवादी- जिल्ला कैलाली चौभार गा.वि.स. वडा नं. १ बस्ने मदनलालको श्रीमती सरिता श्रेष्ठ
ऐ.ऐ. बस्ने ऐ को छोरा बसन्तलाल श्रेष्ठ
पुनरावेदकहरुले स्वआर्जनको भनी जिकिर लिएता पनि सो को ठोस सबुद प्रमाण निजहरुले गुजार्न सकेको पाईदैंन । सगोलका परिवार मध्ये जुनसुकै अंशियारहरुको नाउँमा सम्पत्ति रहेता पनि अन्यथा प्रमाणित नभएसम्म प्रमाण ऐन,२०३१ को दफा ६(क) अनुसार सबै अंशियारहरुको हक लाग्ने मान्नु पर्ने हुँदा विवादित सम्पत्ति बण्डा नलाग्नु पर्ने भन्ने पुनरावेदकको जिकिर मनासिव नदेखिने ।
(प्र.नं. १७)
पुनरावेदक वादी तर्फबाट – ×
विपक्षी तर्फबाट- विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
अवलम्बित नजिर- ×
आदेश
न्या. केशव प्रसाद उपाध्याय- बाजे पदमलाल श्रेष्ठका २ वटा छोराहरुमा जेठा स्व. बैकुण्ठ लाल श्रेष्ठ र कान्छा स्व. मदन लाल श्रेष्ठ हुन् । स्व. बैकुण्ठलाल श्रेष्ठका छोराहरु हामी वादी मोहनलाल श्रेष्ठ-१ र सान्तनु लाल श्रेष्ठ-१ समेतले एकासगोलमा बसी सम्पत्तिको भोग चलन गरी आएको, बुबा र काकाको निधन भै सकेकोले हामी वादीहरुको तर्फबाट मदनलाल श्रेष्ठको श्रीमती सरिता श्रेष्ठले मिति २०२९।१०।८ गते भूमि प्रशासन कार्यालय, कैलालीमा मदन लालको नाउँमा रहेको सगोलको जग्गा बसन्त लालको नाउँमा नामसारी गरी पाउन निवेदन दिई मदन लालको नाउँको जग्गा मध्ये ऐठा र उमा गा.पं. को जग्गा विजय लाल श्रेष्ठ र सरिताको हस्तवारीबाट बसन्तलाल श्रेष्ठको नाउँमा नामसारी गर्ने लिनगरको जग्गा अप्रमाणित हुँदा पछि ठहरे बमोजिम गर्ने भनी मिति २०४१।१०।२१ गते बसन्तलालले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरी सकेपछि मिति २०४१।१०।२८ गते हाम्रो हित्तचित्त नमिलेको हुँदा अंश गरौं भनी विपक्षीहरुसँग भन्दा हामी तिमीहरुलाई अंश दिन्नौ जे गर्नु छ गर भनी अंश वण्डा गर्न इन्कार गरेकोले विपक्षीहरुबाट चल अचल सम्पत्तिको फाँटवारी लिई हाम्रो बुबा स्व .बैकुण्ठ लाल श्रेष्ठले पाउनु पर्ने २ खण्डको १ खण्ड अंश भाग दिलाई भराई पाउँ भन्ने व्यहोराको मिति २०४१।११।१६ को मोहनलाल श्रेष्ठ समेतको संयुक्त फिराद पत्र ।
2. पदमलालका २ छोराहरुमा जेठा बैकुण्ठ र कान्छा मदनलाल जिवित रहेकै अवस्थामा आ-आफ्नो अंश हिस्सा लिनु दिनु गरी जेठा बैकुण्ठ लाल नेपालगञ्जमा बसेका र कान्छा मदन लाल २००२ साल तिर नै धनगढीमा आई पर्ति जमिन ओढखोढ गरी बसेका र २०१३ सालको नापीमा उक्त पर्ति जमिन निजका नाममा दर्ता श्रेस्ता समेत भएको र खुर्खुरियाको जग्गा महाजन मुस्तफाबाट रुपैयाँ कर्जा लिई खरिद गरेको हो वादीहरुका बुबा बैकुण्ठकै पालामा अंश हिस्सा लिनु दिनु भई सकेको हुँदा निज वादीहरुलाई अंश भाग गर्नु दिनु पर्ने होइन वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी वसन्त लाल श्रेष्ठ समेतको मिति २०४१।१।१३ को संयुक्त प्रतिउत्तर पत्र ।
3. वादी प्रतिवादी काकी र भतिजा नाताका हुन्, यिनीहरुका बीच अंश बण्डा भएको छैन होला जस्तो लाग्छ, वादी र प्रतिवादी दुबै पक्षको नाउँमा खुर्खुरिया र उर्मामा जग्गा छ भन्ने सुनेको हुँ, वादीको नाममा बिक्री वितरणमा पाएको जग्गा र प्रतिवादी आफैंले किनेको जग्गा छ भन्ने सुनेको हुँ । नेपालगञ्ज र धनगढीमा घर जग्गा छ, पहिले मदनलालले भोग चलन गरी आएका थिए । हाल कसले चर्चेको छ थाहा छैन भन्ने समेतको वादीका साक्षी रत्न भक्त समेतले मिति २०४२।३।४ मा गरेको एकै मिलानको बकपत्र ।
4. वादी र प्रतिवादीका बाबु २००२ सालमा छुट्टी भिन्न भै सकेका थिए, २०१३ सालको सर्भे नापीमा मदन लालले उर्माको जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । हाल उक्त जग्गा बेची धनगढी नगर पञ्चायतमा जग्गा खरिद गरेको छ । प्रतिवादीहरुको नामको जग्गामा वादीहरुले अंश पाउने होइनन् भन्ने समेतको प्रतिवादीका साक्षी निर्मम कुमार श्रेष्ठ समेतले मिति २०४२।३।४ मा गरेको एकैं मिलानको बकपत्र ।
5. विजयलाल श्रेष्ठ तथा सरिता श्रेष्ठ समेतबाट बसन्तलाल श्रेष्ठको नाउँमा जग्गा नामसारी गर्ने बारेको भूमि प्रशासन कार्यालय कैलालीको तथा मालपोत कार्यालय कैलालीबाट भएको निर्णयका प्रतिलिपिहरु मिसिल सामेल रहेको ।
6. वादी पक्षबाट पेश भएको रु १०,५०००।– को मिति २०४३।९।१३ को फाँटवारी र प्रतिवादीको पक्षबाट पेश भएको रु १,७७,६५०।– को मिति २०४३।९।१४ को फाँटवारी मिसिल सामेल रहेको ।
7. वादी प्रतिवादीहरु काकी भतिजा नाता पर्ने अंशियार भएको कुरामा मुख मिलेकै देखिएको, वादीहरुले प्रतिवादीहरुबाटै अंश भाग छुट्याई लिएको कानूनी रित पुगेको प्रमाण प्रतिवादीहरुबाट पेश हुन आएको नदेखिनाले अदालतबाट लिईएको फाँटवारी मध्येबाट वादी दावी बमोजिमको २ खण्डको १ खण्ड अंश भाग वादीहरुले प्रतिवादीबाट छुट्याई लिन पाउने ठहर्छ भन्ने समेतको कैलाली जिल्ला अदालतको मिति २०४३।१०।२९ को फैसला ।
8. आमा पिताम्बरीका नाउँको बकसपत्र बमोजिमको नेपालगञ्जको घर जग्गा म विजयलालको नाउँको स्व आर्जनबाट किनेको महेन्द्रनगरको घडेरी, म शान्तनु की पत्नी रेणु देवी श्रेष्ठका नाउँको जग्गा एवं बकसपत्र बमोजिमको जग्गा समेत वण्डा भित्र पारी गरेको कैलाली जिल्ला अदालतको फैसला त्रुटिपुर्ण हुँदा सो हदसम्म बदर गरी पाउँ भन्ने वादी पक्षबाट सेती अंचल अदालतमा मिति २०४३।१२।४ मा परेको पुनरावेदन ।
9. फिराद दायर भएको मितिलाई मानो छुट्टिएको मिति कायम गरी त्यसको अघिल्लो दिनसम्मको चल अचलको तायदाती फाँटवारी माग गरी दुवै पक्षका तायदाती फाँटवारीमा उल्लेख भएको चल अचल वण्डा हुने ठहर्याई कैलाली जिल्ला अदालतले गरेको फैसला मुनासिवै भएकोले पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको सेती अंचल अदालतको मिति २०४४।३।१६ को फैसला ।
10. बकसपत्र, राजीनामा, स्वआर्जनबाट घडेरी किनेको रसिद पत्र जस्ता अकाट्य प्रमाणहरुको मूल्याङ्कन नै नगरी अन्यथा प्रमाणित नभएमा अदालतले गर्नु पर्ने अनुमानको भरमा सेती अंचल अदालतले कैलाली जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्याई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको निवेदक वादी पक्षको सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको अनुमतीको निवेदन ।
11. आफूखुस गर्न पाउने सम्पत्तिलाई समेत फाँटवारीमा उल्लेख भएकै कारणले त्यस्तो सम्पत्तिलाई समेत अंशियारहरुको बीचमा वण्डा लाग्ने ठहर्याई कैलाली जिल्ला अदालतले गरेको इन्साफलाई मुनासिव ठहर्याई सेती अंचल अदालतले गरेको फैसला न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) बमोजिमको त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्न अनुमति दिईएको छ भन्ने समेत व्यहोराको सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।९ को आदेश ।
12. रेणुदेवी श्रेष्ठका नाउँको जिल्ला कैलाली त्रिनगर गा.पं. वडा नं. १ को कि.नं. ४ को ज.वि. १-३-० कि.नं. ६ को ज.वि. १-१-० समेत ज.वि. २-३-० को जग्गा र बाँके नेपालगञ्ज न.पं. वडा नं. २ को मोहनलाल श्रेष्ठ समेत जना ४ का नाउँको संयुक्त दा.खा. को ज.वि. ०-१-११ र कञ्चनपुर महेन्द्रनगर न.पं. को विजयलाल श्रेष्ठका ६०×१०० बर्ग फिटको घडेरीका जग्गा निजी तवरले बकसपत्र पाएको,निजी आर्जनको समेत हुँदा त्यसमा अंश वण्डाको १८ नं. ले प्रतिवादीहरुले अंश नपाउने सो बाहेक अरु जग्गाको हकमा कैलाली जिल्ला अदालतले गरेको इन्साफ र सो हदसम्म मुनासिव ठहर्याई सेती अंचल अदालतले गरेको इन्साफ मुनासिव ठहरी कैलाली जिल्ला अदालत र सेती अंचल अदालतको इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत मिति २०४५।१२।१ को तत्कालिन सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
13. कैलाली जिल्ला अदालत र सेती अंचल अदालतले गरेको फैसलालाई आंशिक सदर गरी दिन सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गर्न पुनरावेदनको अनुमतीको लागि दिएको निवेदनमा न्याय प्रशासन ऐन,२०२१ को दफा १३(५) को खण्ड ख.ग. तथा उपदफा (७) को अवस्था विद्यमान रहेको देखिन नआएको भनी यस अदालतबाट अनुमती नपाउँदा यस अदालतबाट प्रतिपादित सिद्धान्त एवं प्रचलित कानूनको विपरीत देखिएकोले उक्त फैसला बदर गरी वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत बिन्तिपत्र ।
14. यसमा यसै लगाउको वि.नं. ११३ को फैसला बदर मुद्दामा दोहोर्याउने निस्सा प्रदान भएको हुँदा उक्त मुद्दाबाट यसमा पनि प्रत्यक्ष असर पर्ने हुँदा यसमा पनि दोहोर्याउन् निस्सा प्रदान गरिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको आदेश ।
15. सर्वोच्च अदालत संयुक्त इजलासबाट अनुमतिको निस्सा प्रदान नगर्ने गरी गरेको आदेश उपर सर्वोच्च अदालत संयुक्त इजलासबाट हेर्न उपयुक्त नहुने हुँदा पुर्ण इजलासमा पेश गर्न सम्माननीय प्रधान न्यायाधीश समक्ष पेश गर्ने भन्ने समेत मिति २०५१।९।५ को यस अदालतको संयुक्त इजलासको आदेश ।
16. संयुक्त इजलासको लगत कट्टा गरी पुर्ण इजलासको लगतमा दर्ता गरी नियम बमोजिम पेश गर्नु भन्ने समेत सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
17. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी सरिता श्रेष्ठ समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले गर्नु भएको बहस जिकिर समेत सुनियो । यसमा आमा पिताम्बरीले सुशिला देवी उपाध्यायबाट ०१३।९।१९ मा रजिष्ट्रेशन पारित हुने गरि बक्स पाएको समयमा बकसमा उल्लेखित जग्गा मध्ये जग्गै खरिद गर्न भनी रु ४००१।- लिई खरिद गरेको जग्गा मध्येकै कि.नं. ९९३ समेत सिता जानकी थरुनीलाई मिति २०१४।२।२४ मा बिक्री गरी सोही रकमबाट बढे बढाएको सम्पत्तिबाट १२७ नं. समेतको बहाल बिटौरी रु. ५।३४ लाग्ने किनेको आमाको निजी आर्जनको हो आमा मरेपछि हाम्रो नाउँमा दर्ता भएको सम्पत्ति समेत वण्डा लाग्ने ठहराई भएको फैसला अंशवण्डाको महलको १८ नं. को विपरीत छ भनी पुनरावेदकहरुले जिकिर लिएको देखिन्छ । पुनरावेदकहरुले स्वआर्जनको भनी जिकिर लिएता पनि सो को ठोस सबुद प्रमाण निजहरुले गुजार्न सकेको पाईदैन । सगोलका परिवार मध्ये जुनसुकै अंशियारहरुको नाउमा सम्पत्ति रहेता पनि अन्यथा प्रमाण नभएसम्म प्रमाण ऐन, २०३१ को दफा ६ (क) अनुसार सबै अंशियारहरुको हक लाग्ने मान्नु पर्ने हुँदा विवादित सम्पत्ति वण्डा नलाग्नु पर्ने भन्ने पुनरावेदकको जिकिर मनासिव देखिएन । यसै लगाउको दे.पु.इ.नं. ५६ पुनरावेदक वादी रेणुका श्रेष्ठ प्रतिवादी सरिता श्रेष्ठ समेत भएको फैसला बदर मुद्दामा रेणुका श्रेष्ठको नाउँको कि.नं. २७४, ८७० को जग्गा समेत प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरुका बीच वण्डा लाग्ने ठहराएको हदसम्म तत्कालिन सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी हुने ठहराई आजै यसै इजलासबाट फैसला भएकोले उक्त कि.नं. २७४ तथा ८७० को जग्गा यस मुद्दाका वादी प्रतिवादीहरुका बीच वण्डा लाग्ने अवस्था देखिन आएन । अतः रेणुका श्रेष्ठको नाउँमा उक्त कि.नं. २७४ तथा ८७० का जग्गा समेत यस मुद्दाका वादी प्रतिवादीहरुका बीच वण्डा लाग्ने ठहराएको हदसम्म तत्कालिन सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम सूदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला केही उल्टी भै रेणुका श्रेष्ठको नाउँको कि.नं. २७४, ८७० को जग्गा वादी प्रतिवादी बीच वण्डा नलाग्ने ठहरेकोले उक्त कि.नं. का जग्गा बण्डा लाग्ने ठहराई राखेको लगत बमोजिम गर्नु नपर्ने हुँदा सो हदसम्मको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ...................१
मिसिल नियमानुसार गरी बुझाई दिनु ...............................................................................................................२
उक्त रायमा हामी सहमत छौं ।
न्या. हरिप्रसाद शर्मा
न्या. इन्द्रराज पाण्डे
इति सम्बत् २०५३ साल असार २० गते रोज ५ शुभम् ।