निर्णय नं. ७०२२ - हक कायम निर्णय वदर ।

ने.का.प.२०५८ अङ्क ७/८
निर्णय न.७०२२
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ
सम्वत् २०५३ सालको दे.पु.ई.नं..... १०३
फैसला मितिः २०५८।४।३२।५
मुद्दा :— हक कायम निर्णय वदर ।
निवेदक/पुनरावेदक
वादीः वागमती अञ्चल काठमाडौं जिल्ला काठमाडौं न.पं. वडा नं. २२ अन्तर्गत रणमुक्तेश्वर पुरानो भन्सार बस्ने नाती भाईको छोरा अशोककाजी वनीया
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः वागमती अञ्चल काठमाडौं जिल्ला काठमाडौं न.पं. वडा नं. १६ अन्तर्गत क्षेत्रपाटी बस्ने छिरींग फिन्छोक समेत
§ मुद्दा हारजीत भई फैसला भएपछि सगोलमा रहेकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं.को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भै मुद्दाको अन्तिम हुने सिद्धान्त (Finality of Decision) को प्रतिकूल हुन जाने हुन्छ । घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आकर्षित हुने अवस्था देखिँदैन । वादीकी आमासंगको मुद्दामा सानुभाईको छोरा कायम भएको व्यक्ति विपक्षी प्रतिवादी मेरो नाताको होइन भन्ने हक यी वादीलाई रहने देखिँदैन भने सो तर्फ स्पष्ट दावी पनि छैन । यसरी एकासगोलकी मुख्य भई काम गर्ने आमा हेराकेशरीले निजलाई प्रतिवादी बनाई घर खिचोला गरे उपर प्र. छिरिङले दिएको मुद्दामा छिरिङ फिन्छोक सानुभाईको छोरा ठहरी भएको म.क्षे.अ.को ०३३।२।२४ को फैसला अन्तिम भएको, सो फैसलाको आधारमा प्र.छिरिङले दावीको घर कूलवीर सिंहबाट भूमी प्रशासन कार्यालयमा थैली राखी निखनी लिएको, सो निखनी पाएको निर्णय वदर नभै अन्तिम बसेको यस अवस्थामा मौकैमा उजुर गरी निर्णय वदर नगराई २०३७ सालमा मात्र ०३३ सालको फैसला वदर गरी पाऊँ भनी फिराद लिई दावी गर्ने हकदैया वादीको हुन्छ भन्न नमिल्ने ।
(प्र.नं. १६)
पुनरावेदक वादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विव्दान अधिवक्ता श्री ध्रुव पन्त
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विव्दान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विव्दान अधिवक्ताहरु श्री गुरुप्रसाद वराल, श्री वालमुकुन्द श्रेष्ठ
अवलम्वित नजिरः
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४६।३।५।२ को फैसला उपर इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमाङ्गि वक्स पाउँ भनी फैसला भएको मितिले द्द वर्ष भित्रै श्री ५ महाराजाधिराजमा विन्तिपत्र परी भई आएको हुकुम प्रमाङ्गी अनुसार यस अदालतको संयुक्त इजलासमा पेश हुँदा २०५३।५।७ मा दोहोर्याई हेर्ने आदेश भए अनुसार सर्वोच्च अदालत नियमावली, २०४९ (संशोधन सहित) को नियम ३(६) वमोजिम पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
२. वावु नातीभाई तथा माहिला बाबा सानुभाई बीच २००८।४।१४ मा काठमाडौं नगरपञ्चायत मार्फत् वण्डा छुट्याई बसेको, बाबु २०१५ सालमा र माहिला बाबु २०२५ सालमा परलोक भएको निजको अरु सन्तान श्रीमती नहुँदा मैले श्राद्ध समेत गरी आएकोले हाल नापीमा का.न.पं. वडा नं. २२ को कित्ता नं. १८२ को घर स्ववासी दर्ता गराउन नापीमा दर्खास्त दिएकोमा नापी बुझ्दा विपक्षीहरुले आपसमा मुद्दा गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला गराएको जानकारी भयो। विपक्षीहरुले मुद्दा गरी फैसला गराउँदैमा मेरो अधिकारमा असर नपर्ने हुँदा अ.वं. ८६ नं. वमोजिम मिति २०३३।२।२४।१ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला वदर गरी पाऊँ भन्ने समेत व्यहोराको २०३७।८।२७ को फिरादपत्र ।
३. भोग वन्धकी दिएको घरलाई लिई छिरिङ्ग फिन्छोकले दिएको खिचोला चलन समेत मुद्दामा सानुभाई र नाती भाईको वण्डा छुट्टिएको देखिएन । काठमाडौं जिल्ला अदालतबाट वादी दावी पुग्न नसक्ने ठहराई फैसला भएकोमा सो उपर वागमती अंचल अदालतमा पुनरावेदन परी सो अदालतबाट छिरिङ्ग फिन्छोक सानुभाईको छोरा ठहर्ने र घर खिचोला गरेको पनि ठहर्ने फैसला भएको सो फैसला उपर पुनः पुनरावेदन पर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट बन्धकीमा रहेको घर खिचोला गर्यो भन्ने र चलन चलाई दिन नमिल्ने, वादी छिरिङ्ग फिन्छोक सानु भाईको छोरा ठहर्ने र सानु भाईको सम्पत्तिमा वादीको हक पुग्ने भन्ने समेत फैसला भएको हुँदा वादी दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हेरा केशरीको प्रतिउत्तर पत्र ।
४. सानुभाइको म एकमात्र छोरा हुँ, सो कुरा ठहर भै सकेको समेतबाट वन्धकीको घर मैले निखनी पाएको छु, अतएवः फिराद दावा आधारहिन भएकोले खारेज गरी पाऊँ भन्ने समेत व्यहोराको छिरिङ फिन्छोकको प्रतिउत्तर पत्र ।
५. २०३३।२।२४ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाबाट प्र.छिरिङ फिन्छोक सानुभाईको छोरा ठहर्ने फैसला भएको र सो उपर पुनरावेदनको अनुमति सर्वोच्च अदालतबाट प्रदान नभएको, सो मुद्दा वादीको आमा प्रतिवादी भई चलेको बाट मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको २०३८।४।२० को फैसला ।
६. सो फैसलामा चित्त बुझेन, आधारहिन र अन्यायपूर्ण उक्त फैसला वदर गरी पाऊँ भन्ने समेत व्यहोराको वादी तर्फबाट वागमती अंचल अदालतमा परेको पुनरावेदन ।
७. वादीकी आमाले यी वादीले काजकृया गरेको भनी जिकिर लिएको उक्त मुद्दामा छिरिङ फिन्छोक सानु भाईको छोरा ठहरी फैसला भएको यिनै छिरिङले सानु वावुले कुलवीरलाई दिएको बन्धकी थैली बुझाई निखनेको, वादीको सो सम्पत्तिमा हक भएको भए वन्धकी थैली बुझाई समयमै निखन्नु पर्ने ननिखनेको समेतबाट शुरु इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको २०३९।६।५ को फैसला ।
८. सो फैसलामा कानूनी त्रुटी विद्यमान हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी तर्फबाट मध्यमान्चल क्षेत्रीय अदालतमा परेको निवेदन ।
९. शुरुले प्रमाणको मूल्यांकन नगरी खारेज गर्ने गरेको फैसलामा वागमती अंचल अदालतले पनि पुनः सवुद प्रमाणको मूल्यांकन गरी फैसला गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालतमा पठाउनु पर्नेमा सो नगरी मनासिव ठहर्याएको वागमती अंचल अदालतको फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालत सिंगल बेन्चको २०४१।६।३०।३ को आदेश ।
१०. फिरादीले माहिलावावु सानुभाइको शेषपछि निजको सन्तान कोही नभएको भन्ने आधारमा निजको सम्पत्तिमा दावी लिएको पाईन्छ तर प्रमाणमा आएको वादी छिरिङ फिन्छोक र प्रतिवादी यिनै यस मुद्दाका प्रतिवादी हिरा केशरी वानीया समेत भएको घर खिचोला चलन मुद्दामा यि प्रतिवादी छिरिङ फिन्छोक सानुभाईको छोरा भनी यस अदालतबाट २०३३।२।२४ मा अन्तिम फैसला भएको देखिन्छ । यसबाट वादीको हक आउने देखिंदैन । यदि हक आउने थियो भने सानु भाई २०२५ सालमा परलोक भएपछि समय मै हक स्थापित गराउनु पर्नेमा नगरी २०३७ सालमा मात्र दावी लिई आएको देखिन्छ । एकासगोलकी आमाले २०३३।२।२४ मा मुद्दा हारी सकेपछि अ.वं. ८६ नं. वमोजिम समयमा आउनु पर्नेमा २०३७।८।२७ मा मात्र आएको साथै सानुभाईको घर छिरिङ फिन्छोकले वन्धकी भू.प्र.का.बाट उकास गराई लिएको समेत देखिन आएकोबाट सो निर्णय समेत वदर गराउन नसकेको हुँदा शुरु काठमाडौं जिल्ला अदालतले खारेज गरेको फैसला सदर गरेको वागमती अंचल अदालतको फैसला मुनासिव ठहर्छ भन्ने समेत २०४३।६।७ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
११. यसमा वादीले माहिला वावु सानु भाइको कोही सन्तान नभएको भनी निजको सम्पत्तिमा दावी लिई आएको देखिन्छ । तर यसै मुद्दाका प्रतिवादीहरु विच चलेको घर खिचोला चलन मुद्दामा यस मुद्दाको प्रतिवादी छिरिङ फिन्छोक विपक्षी सानु भाईको छोरा कायम गरी मध्यमान्चल क्षेत्रीय अदालतबाट मिति २०३३।२।२४ मा भएको फैसला अन्तिम भएको देखिन आउँछ । जसबाट वादी अशोक काजीले सानुभाइको सम्पत्तिमा हक प्राप्त गर्न सक्ने स्थिति रहेन । यसरी एकासगोलकी आमाले मुद्दा हारिसकेपछि अ.वं. ८६ नं. वमोजिम समयमा नै आउनुपर्नेमा २०३७।८।२७ मा मात्र प्रस्तुत फिराद पर्न आएको देखिन्छ भने सानुभाइको मृत्यु २०२४ सालमै भएकोमा पनि आफ्नो हक स्थापित गराउन समयमा फिराद दिन आएको पाइँदैन । त्यस्तै सानुभाईको हकको घर कुलवीर सिं. लाई वन्धकी गएकोमा प्र. छिरिङ फिन्छोकले भूमि प्रशासन कार्यालयबाट उकास गराई लिएको देखिन्छ । भू.प्र.का.को उक्त निर्णयलाई वादीले वदर गराउन सकेको पनि देखिँदैन । अतः यस्तोमा वादी दावी खारेज गर्ने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको वागमती अंचल अदालतको फैसला मुनासिव ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०४६।३।५।२ को फैसला ।
१२. प्रस्तुत मुद्दा अ.वं. ८६ नं. अन्तर्गत दायर भएको हो, विपक्षीहरु बीच परस्परमा चलेको घर खिचोला चलन मुद्दामा मलाई प्रतिवाद गर्ने मौका समेत नदिएकोमा त्यस्तो मुद्दामा भएको निर्णयबाट मेरो हक समाप्त हुने होइन, प्रकाश नगरी राखेको स्वास्नीबाट जन्मेको छोराले अंशमा दावी गर्न नपाउने अंश वण्डाको ८ नं. मा व्यवस्था भएको र प्रतिवादीको आमा नै थाहा पत्ता नभएकोमा प्रतिवादीले मेरो वडावावुको सम्पत्तिको हक प्राप्त गर्ने कुरै आउँदैन । विपक्षी मेरो आमाले २०३३।२।२४ सालमा मुद्दा हार्दा म नावालक भएको, त्यसवखत विपक्षीले सो कुरा मलाई नभनेको र पछि नापी हुँदा मात्र विपक्षीहरुको नाममा संयुक्त दर्ता भएको थाहा पाएकोले सो जानकारी पाएको मितिबाट ३५ दिन भित्र परेको मुद्दा हदम्याद भित्र छैन भन्न मिल्दैन, मेरा माहिला वावु र मेरा वावु बीच अंशवण्डा नभै सगोलमै रहेकोमा विपक्षीले अंशवण्डा दावी गर्न नसक्ने भएकोले घर खिचोला मुद्दा गरेकोमा त्यस्तो मुद्दाबाट अंशियार जस्तो देखाई प्रतिवादीलाई जिताएकोले अ.वं. ८६ तथा अंशवण्डाको महलको कानूनी व्यवस्था प्रतिकूल निर्णय भएको हुँदा प्रस्तुत मुद्दामा सर्वोच्च अदालतको निर्णय दोहोर्याई हेरी एकपटक इन्साफ जाँची दिनु भनी सर्वोच्च अदालतको नाममा हुकुमको प्रमाङ्गी वक्स पाउँ भन्ने वादीको मिति २०४७।६।२४ को विन्तिपत्र ।
१३. यसमा प्रस्तुत विन्तिपत्र फैसला भएको मितिले दुई वर्ष भित्र परी भई आएको हुकुम प्रमाङ्गी अनुसार तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको फैसला सदर गरी गरेको सर्वोच्च अदालतको फैसला छानवीन गरी हेर्दा निवेदक नावालक रहेको अवस्था निजको आमा र विपक्षी छिरिङ फिन्छोक वीच चलेको खिचोला मुद्दा हारेको मैले थाहा नपाएको र हाल नापी हुँदा मात्र मैले विपक्षीको नाममा संयुक्त दर्ता भएको निवेदकले थाहा पाएपछि अ.वं. ८६ नं. वमोजिम ३५ दिनभित्र प्रस्तुत मुद्दाको फिराद परेको देखिएकोले र ‘‘फैसलाको नक्कल सारेको मितिले वादीको फिराद अ.वं. ८६ नं. को हदम्यादभित्रै परेको देखिन आउँछ । हदम्याद नाघी फिराद दायर भएको मान्न मिल्ने देखिएन’’ भन्ने समेत ने.का.प. २०४६, अंक १०, नि.नं. ३९७०, पृष्ठ १०६० मा यस अदालतबाट सिद्धान्त प्रतिपादन भइरहेको देखिँदा नावालक छँदाकै अवस्थामा मुद्दा हारी प्रतिवादीको हक कायम भइसकेको घरमा पुन विवाद उठाउने वादीलाई हकदैया नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको फैसलालाई सदर गरेको सर्वोच्च अदालतको निर्णय नमिलेको देखिँदा मुद्दा दोहोर्याई हेर्नुपर्ने देखिँदा विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०५३।५।७ को यस अदालतको संयुक्त इजलासको आदेश ।
१४. नियमानुसार पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री धु्रव पन्तले ४ भाई अंशियारहरु रहेकोमा २ भाईको मात्र वण्डा छुट्टिई सानोभाई र नातीभाईको अंश सगोलमा नै रहेको भन्ने २००८ सालको वण्डा मुचुल्काबाट देखिन्छ । सो वण्डा मुचुल्काले यी दुई भाईको बीच वण्डा नभै सगोलमा रहेको भन्ने देखाएको छ, सो वण्डा मुचुल्कालाई वादी प्रतिवादी दुबैले स्वीकार गरेका छन् । सानोभाई २०२५ सालमा परलोक हुनु पूर्व यी प्रतिवादी छिरिङ फिन्छोक सानोभाईको छोरा हुन भन्ने कतैबाट देखिएको छैन । छिरिङको नागरिकतामा क्षेत्रपाटी भन्ने उल्लेख भएको छ । नावालक हुँदा आमाले मुद्दा हारेको थाहा नपाएको र पछि आफू उमेर पुगेपछि मात्र मुद्दा हारेको थाहा पाएकोले अ.वं. ८६ नं. वमोजिम थाहा पाएको मितिबाट फिराद गर्न आएकोलाई हदम्याद नाघेको भन्न मिल्दैन, अतः हकदैयाको अभाव देखाएर फिराद खारेज गर्ने गरेको फैसला अ.वं. ८६ नं. तथा प्रमाणको मूल्यांकन समेतको आधारमा मिलेको छैन भन्ने र प्रतिवादी छिरिङ फिन्छोकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता श्री गुरुप्रसाद वराल र विद्वान अधिवक्ता श्री वालमुकुन्द श्रेष्ठले यी वादीकी आमा उपर प्रतिवादी छिरिङ फिन्छोकले दायर गरेको खिचोला मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालत सम्मबाट प्रतिवादी सानुभाईको छोरा ठहर भै जग्गा खिचोला गरेको ठहर गरेको २०३३।२।२४ को फैसला उपर अनुमति पाउ भनी सर्वोच्च अदालतमा परेको निवेदनमा अनुमति प्राप्त नभई अन्तिम भएर रहेको छ । यो फिराद सर्वोच्चले अनुमति नदिएको आदेश विरुद्ध दायर भएको पनि हैन, सानुभाईले गरिदिएको वन्धकी लिखतमा मेरो एकलौटी हक भनी उल्लेख भएको हुँदा अंश वण्डा नभएकोमा त्यस्तो एकलौटी हक भनी उल्लेख हुने सवाल उठ्दैन । वादीको आमाको हकबाट हेर्दा प्रतिवादी वादीकी आमाको भतिजो हो भन्ने तथ्य स्थापित छ, वादीले फिरादमा नाता सम्बन्धमा स्पष्ट दावी लिन सकेको छैन । खिचोला मुद्दामा कुलवीर प्रतिवादी छ, तर प्रस्तुत मुद्दामा कूलवीरलाई प्रतिवादी बनाएकै छैन । प्रतिवादी छिरिङले भूमिसुधार कार्यालयमा उजुर गरी निखनी चलन पाएकोमा यी वादीले त्यस उपर उजुरी दिन सकेका छैनन् । उल्लेखित कारण तथा एकासगोलकी आमाले मुद्दा हारी सकेको विषयमा ऐन वमोजिमको हदम्याद समेत नघाई गरेको फिरादबाट इन्साफ गर्न नमिल्ने भनी फिराद खारेज गरेको निर्णय मिलेकै हुँदा सदर हुनुपर्दछ भनी गर्नु भएको वहस समेत सुनियो ।
१५. अब पुनरावेदक अशोककाजी वानीयांको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन र सर्वोच्च अदालतको मिति २०४६।३।५ को फैसला मिले नमिलेको के रहेछ भन्ने तर्फ नै निर्णय दिनुपर्ने भै तत्सम्बन्धमा प्रस्तुत पुनरावेदन तथा त्यससंग सम्बद्ध प्रमाण मिसिल समेत हेर्दा यसमा वावु नाती भाई तथा महिला वावा सानुभाईबीच २००८।४।१४ मा काठमाडौं नगरपंचायत मार्फत् वण्डा छुट्याई बसेको, वावु २०१५ साल र माहिला वावु २०२५ सालमा परलोक भएकोमा माहिला वावु सानुभाइको आफ्नु सन्तान र श्रीमती कोही नहुँदा मैले श्राद्ध समेत गरी आएकोले हाल नापी का.न.पं. वडा नं. २२ को कि.नं. १८२ को घर स्ववासी दर्ता गराउन नापीमा दर्खास्त दिएकोमा नापी बुझ्दा विपक्षीहरुले आपसमा मुद्दा गरी मध्यमान्चल क्षेत्रीय अदालतबाट फैसला गराएको जानकारी भयो । विपक्षीहरुले मुद्दा गरी फैसला गराउँदैमा मेरो अधिकारमा असर नपर्ने हुंदा अ.वं. ८६ नं. वमोजिम २०३३।२।२४।१ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला वदर गरी पाऊँ भन्ने व्यहोराको फिराद दावी रहेको देखिन्छ । भोग बन्धकी लिएको घरलाई लिई छिरिङ फिन्छोकले दिएको खिचोला चलन समेत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट वन्धकीमा रहेको घर खिचोला गर्यो भन्ने र चलन चलाई दिन नमिल्ने, वादी छिरिङ फिन्छोक सानुभाईको छोरा ठहर्ने र सानुभाईको सम्पत्तिमा वादीको हक पुग्ने समेत फैसला भएको हुँदा दावीबाट फुर्सद पाउँ भन्ने समेत हेराकेशरीको र सानुभाईको म एकमात्र छोरा हुँ, सो कुरा ठहर भैसकेको समेतबाट वन्धकीको घर मैले निखनी पाएको छु, तसर्थ दावा आधारहीन भएकोले फिराद दावी खारेज गरी पाऊँ भन्ने छिरिङ फिन्छोकको प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा प्राप्त भएको प्रमाण मिसिल हेर्दा यस मुद्दामा प्रतिवादी बनाइएका छिरिङ फिन्छोकले मेरा वावु २०२५।५।१६ मा परलोक भएपछि निजको काजकृया गरी आफ्नो घरको सामान बन्द गरी ताला लगाई ल्हासा तर्फ गई फर्कि आउँदा प्रतिवादी हेराकेशरीले खिचोला गरी भोग चलन गर्न नदिएकोले घर खिचोला गरेकोले फिराद गर्न आएको छु । वावुको म एकमात्र छोरा मेरो हक भोगको घर जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाऊँ भनी २०२६।३।१६ मा फिरादपत्र दायर गरी शुरु भएको मुद्दामा सानुभाई र नाती भाईको अंश भएको नदेखिएको, अंश तर्फ दावी नभएको तथा खिचोला मुद्दाबाट नाता कायम तर्फ बोल्न नमिल्ने भएकोले नातीभाई र सानुभाईको सन्दर्भमा अंश हक तर्फ उजुर परेमा छोरो हो होइन भन्ने तर्फ पनि उसै वखत ठहरे वमोजिम हुने र अंश तर्फ दावी नभएकोले अंशको ठहर नभई खिचोलामा निर्णय गर्न मिलेन, अंशमा उजुर गर्नु भनी वादीलाई सुनाउनु भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०२८।१।२९ मा फैसला भएको देखिन्छ । उक्त फैसलामा पुनरावेदन पर्दा वाग्मती अंचल अदालतबाट वादी छिरिङ फिन्छोक सानुभाईको छोरा ठहर्छ, वादीको वावुले वण्डापत्रमा लेखिएको मध्येको घर आफ्नो एकलौटी हकको भनी २०११।३।३१ मा कुलवीर सिंह तुलाधरलाई वन्धकी पास गरिदिएको देखिएबाट वादी दावी वमोजिम घर खिचोला गरेको ठहरी चलन पाउने समेत ठहर्छ भनी २०२९।११।२ मा फैसला भएको देखिन्छ । सो फैसला उपर मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन पर्दा वादी सानुभाईको छोरा ठहर्ने र सानुभाईको सम्पत्तिमा वादीको हक कायम हुने सम्म फैसला मनासिव छ । दावीको घर कूलवीर सिंहले वन्धकीमा दिइ राखेकोमा त्यस्तो वन्धकी थैली नतिरेसम्म प्रतिवादीले खिचोला गरेको ठहराई चलन चलाउने समेत गरेको सम्म इन्साफ नमिलेकोले सो थैली नतिरेसम्म चलन चलाउन मिल्दैन भन्ने मध्यमान्चल क्षेत्रीय अदालतबाट २०३३।२।२४ मा फैसला भएको देखिन्छ ।
१६. उल्लिखित मध्यमान्चल क्षेत्रिय अदालतको फैसला अन्तिम भइरहेको देखिएबाट यस मुद्दाका प्रतिवादी छिरिङ फिन्छोक सानुभाईको छोरा ठहरेको र निजको सम्पत्तिमा छिरिङ फिन्छोकको हक लाग्ने कुरामा कुनै विवाद उठाउने स्थिति रहेन । तत्पश्चात् उक्त फैसलाको आधारमा यस मुद्दाका प्रतिवादी छिरिङ फिन्छोकले तत्कालिन जिल्ला कार्यालय भूमि प्रशासन शाखामा भोग वन्धकी निखनी पाऊँ भनी निवेदन गरी २०३४।८।२१ को ठहर पर्चा वमोजिम निखनी लिएको देखिन्छ । उक्त निर्णय उपर पनि कतै उजुर परी वदर भएको नदेखिई अन्तिम भएर रहेको देखिन्छ । यसरी प्रस्तुत मुद्दामा यस मुद्दाको वादीको एकासगोलमा बस्ने आमा हेराकेशरीले प्रस्तुत दावीको घर खिचोला गरेको भनी प्रतिवादी छिरिङ फिन्छोकले दिएको मुद्दा हारी बसेकीले निज वादी नावालक भएको भने पनि सगोलकी आमाले मुद्दा हारी सकेको अवस्थामा निजको मुद्दा गर्ने हक श्रृजना हुन सक्ने अवस्था भएको भन्न मिलेन । प्रस्तुत मुद्दामा कूलवीर उपर दावी भएको समेत देखिँदैन । कूलवीर सिंहलाई वन्धकी गरिदिएको घर छिरिङ फिन्छोकलाई निखनाई दिने गरी भएको भूमि प्रशासनको निर्णय उपर समय मै मुद्दा गरी वदर गराउन सकेको पनि देखिंदैन । घरको मुख्य भई काम गर्ने हिराकेशरीले मुद्दा हारिबसेको सोही फैसला वदर गराउन अ.वं. ८६ नं. को आधारमा प्रस्तुत फिराद परेको देखिन्छ । एकासगोलमा रहेकी आमा उपर परेको मुद्दा हारजीत भई फैसला भएपछि सगोलमा रहेकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं.को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भै मुद्दाको अन्तिम हुने सिद्धान्त (Finality of Decision) को प्रतिकूल हुन जाने हुन्छ । घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आकर्षित हुने अवस्था देखिँदैन । वादीकी आमासंगको मुद्दामा सानुभाईको छोरा कायम भएको व्यक्ति विपक्षी प्रतिवादी मेरो नाताको होइन भन्ने हक यी वादीलाई रहने देखिँदैन भने सो तर्फ स्पष्ट दावी पनि छैन । यसरी एकासगोलकी मुख्य भई काम गर्ने आमा हेराकेशरीले निजलाई प्रतिवादी बनाई घर खिचोला गरे उपर प्र. छिरिङले दिएको मुद्दामा छिरिङ फिन्छोक सानुभाईको छोरा ठहरी भएको म.क्षे.अ.को ०३३।२।२४ को फैसला अन्तिम भएको, सो फैसलाको आधारमा प्र.छिरिङले दावीको घर कूलवीर सिंहबाट भूमी प्रशासन कार्यालयमा थैली राखी निखनी लिएको, सो निखनी पाएको निर्णय वदर नभै अन्तिम बसेको यस अवस्थामा मौकैमा उजुर गरी निर्णय वदर नगराई २०३७ सालमा मात्र ०३३ सालको फैसला वदर गरी पाऊँ भनी फिराद लिई दावी गर्ने हकदैया वादीको हुन्छ भन्न मिलेन । वादी दावी खारेज गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको खारेजी फैसला सदर गरेको वागमती अंचल अदालतको फैसलालाई मुनासिव ठहर्याई गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलालाई सदर गरेको यस अदालतको संयुक्त इजलासको मिति २०४६।३।५ को फैसला परिवर्तन हुन सक्ने अवस्था नदेखिँदा सदर हुने ठहर्छ । वादीको जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उपयुक्त रायमा हामी सहमत छौं ।
न्या.केदारनाथ आचार्य
न्या.ज्ञाइन्द्रबहादुर श्रेष्ठ
इति सम्वत् २०५८ साल श्रावण घद्द गते रोज छ मा शुभम् .............. ।