निर्णय नं. ६२११ - कर्तव्यज्यान ।

निर्णय नं. ६२११ ने.का.प. २०५३
पुर्ण इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री अरविन्द आचार्य
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
२०५२ सालको फौ.पु.इ.नं. २७
आदेश मिति २०५२।१।१३।५
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादी बाँके जिल्ला विनौना गा.वि.स. वडा नं. २ घर भै जिल्ला कार्यालय केन्द्रीय कारागार नेपालगञ्जमा थुनामा रहेको चित्रबहादुर के.सी.
विरुद्ध
विपक्षी
वादी द्रोण बहादुरको जाहेरीले श्री ५ को सरकार
पहिले देखि नै अंश मुद्दा चली रहेको प्रतिवादीले बन्दुक लिई कोठाबाट निस्किएको भन्ने मृतककी छोरी सोभाले गरी दिएको बकपत्र प्रतिवादीको आमाले गरेको बकपत्र समेतबाट तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादीले आफ्नो साथमा रहेको बन्दुक चलाएको अवस्था देखिन आउने।
(प्र.नं. २०)
अ.बं. १८८ नं. आकर्षित हुनको लागि अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनु पर्ने देखिन आउनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा माथि विवेचना गरिए अनुसार मृतक कृष्ण बहादुर र पुनरावेदक प्रतिवादीका बीच अंश मुद्दाको विषयलाई लिएर मनमोटाव समेत भई रहेको पुनरावेदक प्रतिवादीले आफ्नो सहोदर भाईलाई बन्दुक जस्तो जोखिमी हतियार प्रयोग गरी गोली हानी मारेको र भाई मरेपछि प्रायश्चितको भावना समेत निजमा देखिन नआएकोबाट अ.बं. १८८ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय घटाउन पर्ने प्रकृतिको वारदात समेत देखिन नआउने।
(प्र.नं. २०)
पुनरावेदक तर्फबाट – विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराई
विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक
अवलम्बित नजिर- ×
फैसला
न्या.कृष्णजंग रायमाझी- यस अदालत संयुक्त इजलासमा मिति २०५१।९।१८ मा रायबाझी फैसला भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
2. अंश मुद्दा दिएबाट चित्र बहादुरको मृतक कृष्ण बहादुरको आमा र म समेतसँग मन मोटाव थियो । भाई कृष्ण बहादुरले आफ्नो भान्साघर अगाडि पाली थप्न भनी तीन वटा खम्बा गाड्न लाग्दा चित्रबहादुरले सो खामा थप्न पाउँदैनस भनी भन्दै थिए । २०४५।२।६ गतेका दिन अन्दाजी ४ बजे भाई कृष्ण बहादुर सोही खामा गाडेकै ठाउँनेर कुर्सीबाट तल आँगनमा खसी निजको घटनास्थलमा नै मृत्यु भएको जाहेरी गरेको छु भन्ने समेत जाहेरी दरखास्त ।
3. मृतकको छातीमा छर्रा लागी ठाउँ ठाउँमा छिया छिया परेको भन्ने समेत लास प्रकृति मुचुल्का ।
4. चित्र बहादुरको घरबाट दुईनाले बन्दुक बरामद भएको भन्ने समेत बरामदी मुचुल्का ।
5. मृतकसँग अंश मुद्दामा र प्रधानपञ्चको चुनावमा रिसइवी भै रहेको र २०४५।२।६ गतेका दिन मैले बन्दुक लोड गरी बोकी बगैचा तिर जान लाग्दा कृष्णबहादुर घरको आँगन नेर खम्बा गाडेको ठाउँमा थिए । निजलाई किन खम्बा गाडिस भनी भन्दा गाड्छु के गर्छस् गर भनेकोले आवेशमा आई लिएको बन्दुक फायर गर्दा निजको छातीमा लागेको र मृत्यु भयो भन्ने समेत प्रतिवादी चित्र बहादुरले प्रहरीमा गरेको बयान ।
6. चित्र बहादुरले हानेको बन्दुकको फायरबाट कृष्णबहादुरको मृत्यु भएको हो भन्ने समेत रघुवर, दल बहादुर, पुष्कर बहादुर, प्रमिला समेतले प्रहरीमा गरी दिएको कागज ।
7. कृष्ण बहादुरको मृत्यु चित्र बहादुरले हानेको बन्दुकको फायरबाट भएको हो भन्ने समेत सर्जमिन मुचुल्का ।
8. संकलित सबुद प्रमाणको आधारमा मिति २०४५।२।६ गतेका दिन चित्र बहादुरले आफ्नो बन्दुक फायर गरी सो फायर कृष्ण बहादुरलाई लागी निजको मृत्यु भएको देखिँदा निज प्रतिवादी चित्र बहादुरलाई ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरी पाउँ र बन्दुक जफत गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।
9. मिति २०४५।२।६ गते दिउसो बगैचामा चरा हान्न बन्दुक लोड गरी गएको थिए । चरा हान्न नपाई फर्की घरमा आउँदा कृष्णबहादुरसँग किन खामा गाडेको भनी निजले खामा गाडेको जग्गा मेरो हो र बन्दुक पनि मेरो हो भन्दै मेरो नगिचै आई बन्दुकको टुप्पीमा समात्यो र हामी दुईले बन्दुक तानातान गर्यौं । बन्दुक कसरी पड्कियो मलाई थाहा भएन । मैले मृतकलाई गोली हानी मारेको होइन भन्ने समेत प्रतिवादी चित्र बहादुरले अदालतमा गरेको बयान ।
10. कृष्णबहादुर घरको उत्तर तर्फ कुर्चिमा बसेको अवस्थामा चित्र बहादुरको बन्दुक फायर गरी कृष्ण बहादुरलाई मारेको हो भन्ने समेत जाहेरवाला वोण बहादुरले अदालतमा गरेको बकपत्र ।
11. कृष्णबहादुर र चित्र बहादुर बीच बन्दुक तानातान हुँदा पड्की कृष्णबहादुरलाई लागेको भन्ने समेत प्रतिवादीका साक्षीहरुको बकपत्र र मैले जे गर्नु पर्ने हो गरी हालै मैले भोग्नु पर्ने सजाय मैले नै भोग्नु पर्छ भनी प्रतिवादीले हामीलाई सुनाएका हुन् भन्ने समेत व्यहोरा उल्लेख गर्दै सर्जमिनका मानिसहरुले अदालतमा बकपत्र गरी दिएको रहेछन् ।
12. मिसिल संलग्न संकलित सबुद प्रमाणको आधारमा अंश सम्बन्धी पुरानो रिसइवी समेतको कारणबाट प्रतिवादी चित्र बहादुरले हानेको बन्दुकबाट कृष्णबहादुरको मृत्यु भएको देखिँदा निज प्रतिवादी चित्र बहादुरलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्छ र दसीको रुपमा बरामद भएको बन्दुक र लायसेन्स समेत जफत हुने ठहर्छ भन्ने समेत शुरु बाँके जिल्ला अदालतको फैसला ।
13. बन्दुक तानातान हुँदा बन्दुक पडकेको हो भन्ने कुरा मेरो बयान तथा साक्षीहरुको बकपत्रमा उल्लेख छ । यसबाट गोली मैले हानेको भन्ने कुरा कहिँ कतैबाट देखिँदैन ।
14. अंश मुद्दा पुष्करसँग चलेको कारण मृतकसँग सो विषयमा मेरो रिसइवी हुने कुरै छैन । जसबाट मलाई दोषी ठहराई गरेको शुरु फैसला त्रुटिपुर्ण हुँदा सो फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत प्रतिवादी चित्र बहादुर के.सी. ले तत्कालिन भेरी अंचल अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
15. प्रतिवादी चित्र बहादुर के.सी. ले प्रहरी प्रतिवेदन माग दावी अनुसारको कसूर गरेको देखिँदा निज प्रतिवादी चित्र बहादुर के.सी. लाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्म कैद हुने समेत ठहर्याएको शुरु बाँके जिल्ला अदालतको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ भन्ने समेत पुनरावेदन अदालत नेपालगञ्जको फैसला ।
16. पुनरावेदन अदालत नेपालगञ्जबाट भएको फैसला त्रुटिपुर्ण हुँदा बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको चित्र बहादुर के.सी. को यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
17. अ.बं. २०२ नं. बमोजिम छलफलका लागि महान्यायाधिवक्तालाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
18. अंश मुद्दा परेको कारण मृतक र प्रतिवादी बीच भनाभन मनमोटाव भै रहेको भन्ने र बन्दुक जस्तो घातक संगिन हतियार लिई गोली हानी आफ्नो सहोदर दाजुलाई मारेको देखिएको अवस्थामा पुनरावेदक प्रतिवादी चित्र बहादुर के.सी. लाई शुरु बाँके जिल्ला अदालतले सर्वश्व सहित जन्मकैद गरेको इन्साफलाई सदर गरेको पुनरावेदन अदालत नेपालगञ्जको फैसला मिलेकै देखिएको र अ.बं. १८८ नं. को प्रयोगको लागि उपयुक्त यो मुद्दा नभएको समेत हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मा.न्या. श्री ओमभक्त श्रेष्ठको राय र मृतक र प्रतिवादीका बीचमा आँगनमा खामो गाडी भान्साघर बढाउन लागेको कुरामा वादविवाद भै तत्काल उठेको रिस थाम्न नसकी निजले आफ्नो सहोदर भाई माथि बन्दुक फायर गरेको देखिन्छ । सो बखत निजको हातमा बन्दुक फायर गरेको देखिन्छ । सो बखत निजको हातमा बन्दुक नभै लाठी अथवा साधारण हतियार भए सो हतियारले त्यस स्थितिमा मारेको भए ज्यान सम्बन्धीको १४ नं. को अवस्था मिल्दो अपराध हुने थियो । जोखिमी हतियारले मार्नु वा साधारण हतियारले मार्नु प्रभावले एउटै कुरा भएपनि कानूनले पृथक सजाय गरेको कारणले सम्म प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. को सजाय गर्नु बाध्यता देखिन्छ । तजविजी सजाय नगरी १३(१) अनुसार गर्दा समान प्रभाव र प्रकृतिको अपराधको लागि असमान हुन जाने हुँदा १० बर्षसम्मको कैद सजाय गर्नु प्रस्तुत मुद्दाको अवस्था र स्थिति अनुकुल हुने देखिन्छ भन्ने मा.न्या. श्री केदारनाथ उपाध्यायको छुट्टै राय भएको मिति २०५१।९।१८ को रायबाझी फैसला ।
19. प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा तथा विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराईले घातक हतियार प्रयोग भएकै कारणले नियत समेत रहेको भन्न मिल्दैन । नियत भनेको मानसिक स्थिति हो । बन्दुक ताकेर हानेको भन्ने कुराको चश्मदिद गवाह केही छैन । मृतकको श्रीमती,जाहेरवालाको छोरा समेतले आवेशमा हानेको भनेका छन् । आवेश उत्तेजना भन्नु नियत मनसाय भन्नु अलग अलग कुरा हो । स्याल मार्न भरेको बन्दुकले हत्या भएको अवस्थामा अ.बं. १८८ नं. प्रयोग भएको देखिन्छ । (ने.का.प. २०४२ पृष्ठ २८५) प्रस्तुत वारदातमा भवितब्यको अवस्था समेत देखिन आउँछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठकले आफ्नो बहसको क्रममा भवितव्य हुन सक्ने ज्यान सम्बन्धी महलको ६ नं. को अवस्था यसमा छैन । जसलाई मार्नु थियो मारीसके भनी चित्र बहादुरले भनेको कुरा मृतकको छोरी शोभाले गरेको बकपत्र समेतबाट प्रतिवादीको पश्चातापको अ वस्था पनि देखिँदैन । जोखिमी हतियार प्रयोग गरेको अवस्था हुँदा अ.बं. १८८ नं. प्रयोग हुने स्थिति छैन भनी उल्लेख गर्नु भयो ।
20. आज निर्णय सुनाउन भनी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीले ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिमको कसूर गरेको ठहराएको पुनरावदेन अदालत, नेपालगञ्जको फैसला यस अदालत संयुक्त इजलासबाट सदर गरी अ.बं. १८८ नं. प्रयोग गरी तजविजी सयाय गर्नु पर्ने अवस्था भए नभएको भन्ने सम्बन्धमा सम्म रायबाझी भै यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । यसमा मृतक कृष्ण बहादुर के.सी. को मृत्यु बन्दुकको गोली लागि भएकोमा विवाद देखिँदैन । मृतक तथा प्रतिवादीका सहोदर दाजु द्रोण बहादुर के.सी. ले दिएको जाहेरी दरखास्तमा कान्छा भाई पुष्कर बहादुरले दायर गरेको अंश मुद्दामा चित्र बहादुर बाहेक अरु अंशियारहरुले अंश दिनु पर्ने भनी प्रतिउत्तर लगाएकोले तीनै भाई मिली मलाई एक्लै पारे भनी चित्र बहादुर के.सी. ले भन्दै हिड्यो । २०४५।२।६ गतेका दिन मृतक कृष्ण बहादुरले भान्सा घर अगाडि खामा गाड्न लागेको विषयलाई लिएर चित्र बहादुर र मृतकको बीच झगडा हुँदा चित्र बहादुरले मृतक कृष्ण बहादुरलाई गोली हानेको भनी उल्लेख गरेको र अदालतमा आई बकपत्र गर्दा समेत सोही कुरालाई समर्थन गरेको देखिन्छ । प्रतिवादी आरोपित कसूर गरेमा प्रहरीमा सावितै रहेको र अदालतमा आई बयान गर्दा घरमा खामा गाडेको सम्बन्धमा मृतकसँग भनाभन भएको र उस बखत आफुसँग भरेको बन्दुक साथमा रहेको कुरालाई समेत स्वीकारै गरी बन्दुक मेरो हो भनी भाई कृष्ण बहादुरले भनेकोले बन्दुक तानातान हुँदा कसरी पड्कियो थाहा छैन मैले मारेको होइन भन्ने सम्म उल्लेख गरेको देखिन्छ । प्रस्तुत वारदातको प्रत्यक्षदर्शी मृतककी छोरी शोभाले गरेको बकपत्रमा भान्सा घरमा तरकारी काटी रहेको अवस्थामा जेठा बुबा चित्र बहादुर के.सी. ले बन्दुक लिई कोठाबाट निस्किएको देखें । अब गोली खालास भने, बन्दुक पड्कियो, बुबा कुर्सीबाट खस्न लाग्दा म गई पकडें र बुबाको प्राण गयो । जसलाई मार्नु थियो मारी सके भाग्नु पर्दैन भनी चित्र बहादुरले भने भनी लेखाई दिएको पाईन्छ । पुनरावेदक प्रतिवादीको आमा रघुवर कुमारीले कृष्णबहादुरले अंश मुद्दा दिन लगाएको भनी चित्र बहादुरले रिस लिई राखेकोले गोली हानेको हो भनी अदालतमा बकपत्र गरेको देखिन आउँछ । मृतकको छातीको भागमा २ फिट १ इन्च गोलाईमा छर्रा लागि छातीको बाँया भागमा ठाउँ ठाउँमा छिया परेको भन्ने लाश प्रकृति मुचुल्काबाट देखिन आएको मिसिल संलग्न रेखा चित्रबाट करिव ७ हात फरकबाट गोली चलेको भन्ने उल्लेख भएको समेतबाट बन्दुक तानातान हुँदाका अवस्थामा बन्दुक पड्किन गएको भन्ने प्रतिवादीको भनाई पत्यारलायक देखिन आएन । पहिले देखि नै अंश मुद्दा चली रहेको, प्रतिवादीले बन्दुक लिई कोठामा निस्किएको भन्ने मृतककी छोरी शोभाले गरी दिएको बकपत्र, प्रतिवादीको आमाले गरेको बकपत्र समेतबाट तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादीले आफ्नो साथमा रहेको बन्दुक चलाएको अवस्था पनि देखिन आएन । मृतक कृष्ण बहादुर उपर गोली चलेको बन्दुक प्रतिवादी चित्र बहादुरबाट बरामद समेत भै आएको अवस्था देखिन्छ । अ.बं. १८८ नं. आकर्षित हुनको लागि अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनु पर्ने देखिन आउनु पर्ने हुन्छ । प्रस्तुत मुद्दामा माथि विवेचना गरिए अनुसार मृतक कृष्णबहादुर र पुनरावेदक प्रतिवादीका बीच अंश मुद्दाको विषयलाई लिएर मनमोटाव समेत भई रहेको पुनरावेदक प्रतिवादीले आफ्नो सहोदर भाईलाई बन्दुक जस्तो जोखिमी हतियार प्रयोग गरी गोली हानी मारेको र भाई मरेपछि प्रायश्चितको भावना समेत निजमा देखिन नआएकोबाट अ.बं. १८८ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय घटाउन पर्ने प्रकृतिको वारदात समेत देखिन आएन । अतः प्रस्तुत मुद्दामा अ.बं. १८८ नं. प्रयोग गर्नु पर्ने अवस्था समेत नभएको भनी ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको पुनरावेदन अदालत नेपालगञ्जको फैसला सदर गरेको माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौ ।
न्या. अरविन्दनाथ आचार्य
न्या. उदयराज उपाध्याय
इति सम्बत् २०५३ साल वैशाख १३ गते रोज ५ शुभम् ।