निर्णय नं. ६२१६ - लेनदेन.

निर्णय नं. ६२१६ ने.का.प. २०५३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
सम्बत् २०५० सालको दे.पु. नं. ११३९, १७५०
फैसला मिति २०५२।१।५।३
मुद्दाः लेनदेन ।
पुनरावेदक
वादी जिल्ला पर्सा, प्रसौनी विर्ता गा.वि.स. वडा नं. ५ बस्ने जोतिया तत्मिन
विरुद्ध
प्रत्यर्थी
प्रतिवादी - ऐ.ऐ. बस्ने गेनिया तत्मिन
पुनरावेदक-
प्रतिवादी जिल्ला पर्सा, प्रसौनीविर्ता गा.वि.स. वडा नं. ५ बस्ने गेनिया तत्मिनको मु.स. गर्ने चनरदास तत्मा ।
प्रत्यर्थी
वादी - ऐ.ऐ. बस्ने जोतिया तत्मिन
तमसुकमा केवल महिना मात्र उल्लेख भएको अवस्थामा सो महिनाको शुरुको मितिलाई इङ्गीत गरेको मान्न मिल्ने अवस्था देखिँदैन । महिनाको मात्र उल्लेख भएकोमा सो महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु पर्ने ।
(प्र.नं. १६)
महिनाको शुरु देखि अन्तिम दिन भन्दा अगाडिलाई इङ्गीत गर्न पर्ने अवस्थामा सो दिनलाई लिखतमा नै उल्लेख गरिने अवस्था हुन्छ । त्यसरी दिन (गते) को उल्लेख नभएको अवस्थामा उल्लेखित महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु न्यायिक दृष्टिबाट पनि उचित र विवेकपुर्ण देखिन आउने।
(प्र.नं. १६)
पुनरावेदक तर्फबाट – विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल
प्रत्यर्थी तर्फबाट-विद्वान अधिवक्ता श्री विनोद रोक्का
अवलम्बित नजिर- ×
फैसला
न्या. केशव प्रसाद उपाध्याय- पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनहरु न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
2. प्रतिवादीले घर खर्च गर्न रु. २५००१।– कर्जा लिई सयकडा १० का दरले ब्याज लगाई साँवा ब्याज समेत २०४२ साल चैत्र मसान्तमा एकमुष्ट चुक्ती बुझाउने भाखा गरी मिति २०४२।१०।२९ गतेमा कपाली तमसुक लेखी दिएकोमा भाखामा साँवा व्याज समेत नबुझाएकोले लिखतमा मिति २०४२।१०।२९ गते भएपनि २०४२।१०।१ गते नै मानिने हुँदा सो मिति देखि आजतकको व्याज रु. ४६९४।– समेत साँवा जम्मा रु २९६९४।– र फैसला मिति भरी भराउ हुने अवस्था सम्मको व्याज समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
3. वादी जोतिया र निजका लोग्ने जोधा तत्मा समेत ६ जनाले २०४४।१०।१ गते करकाप गरी के लेखेको नेपाली कागज थान २ मा सहिछाप गरी लिएको, सो बारे वादी समेत उपर २०४४।९।३ मा करकाप मुद्दाको फिराद दायर गरेको छु । करकाप गरी सहिछाप गराएको सोही कागजबाट यो फिराद गरेका हुन् वा के कसो कागज हो, अदालतबाट सो कागजहरु वादीबाट झिकाई मलाई देखाएको बखत यकीन गरी छुट्याउने हुँदा फिराद दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गेनिया तत्मिनको प्रतिउत्तर पत्र ।
4. वादीले पेश गरेको सक्कल लिखत देखे, सो लिखत करकापसँग गराई लिएको हुँदा करकाप मुद्दा नं. ७० को मुद्दा दायर गरेको छ । लिखत बमोजिमको रुपैयाँ लिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादीको वारेश रामदासले गरेको बयान ।
5. पेश गरेको लिखत सद्दे व्यवहारबाट भएको हो । करकापबाट सहिछाप गराएको होइन, छैन । प्रतिवादीले रुपैंया लिई लिखत गरी दिएको हो भन्ने समेत व्यहोराको वादीको वा. साहेवल राम हजारीले गरेको बयान ।
6. साथै पेश भएको करकाप मुद्दामा आज यसै बेन्चबाट करकाप गरेको ठहरी फैसला भएको लिखत हेर्दा पनि लिखत कागजमा सहिछाप परेपछि सो सहिछाप परे माथिबाट अक्षर पारी व्यहोरा भरेको देखिँदा त्यस्तो लिखतलाई सद्दे व्यवहारबाट भएको भन्न नसकिने हुँदा साँवा ब्याज भरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेतको मिति २०४५।१२।१४ को पर्सा जिल्ला अदालतको फैसला ।
7. उक्त फैसलामा चित्त बुझेन । शुरुको फैसला बदर गरी फिराद दावी बमोजिम साँवा ब्याज समेत भराई पाउँ भन्ने समेत व्यवहोराको वादीको तत्कालिन नारायणी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
8. वादी विपक्षी गेनिया तत्मिन समेत प्रतिवादी पुनरावेदक जोखनी तत्मिन समेत भएको फौ.पु.नं. १३ को करकाप मुद्दामा आजै यस इजलासबाट शुरु अदालतको फैसला उल्टी भै करकाप तर्फ वादी दावी नपुग्ने ठहरी पुनरावेदन किनारा भएको र लिखत हेर्दा कागज जाँचको महलको रितपुर्वक देखिएकोले लिखत बमोजिमको साँवा वादीले प्रतिवादीबाट भरी पाउने ठहराउनु पर्नेमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु अदालतको फैसला सो हदसम्म त्रुटिपुर्ण हुँदा सो हदसम्म उल्टी हुन्छ । वादी दावी लिखतको साँवा वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत हेटौडाको मिति २०४९।८।१५ को फैसला ।
9. ब्याज नदिलाए नभराएको हुँदा व्याज नभराएको हदसम्मको फैसलामा चित्त बुझेन । ब्याज नभराएको फैसला लेनदेन व्यवहारको २, ४ र ६ नं. प्रतिकूल भै बदर भागी छ, व्याज नदिलाए नभराएको हदसम्मको फैसला उल्टाई बदर गरी मेरो दावी बमोजिम ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादी जोतिया तत्मिनको यस अदालतमा परेको पुनरावेदन पत्र ।
10. पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसलाबाट सही न्याय इन्साफ परेको नदेखिँदा सो गैर कानूनी त्रुटिपुर्ण फैसला बदर गरी इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गेनिया तत्मीनको मु.स. गर्ने चनरदास तत्माको यस अदालतमा परेको पुनरावेदन पत्र ।
11. लेनदेन व्यवहारको ४ र ६ नं. बमोजिम ब्याज भराई दिनु पर्नेमा नभराएको पुनरावेदन अदालत हेटौंडाको फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५१।२।४ को आदेश ।
12. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्सालले व्याज समेत दिने लिने किटानी बोली तमसुक लिखतमा परेको र लिखत सद्दे साँचो भएको अवस्थामा केवल साँवा मात्र प्रतिवादीबाट वादीलाई भराउने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला कानूनी त्रुटिपुर्ण देखिएको छ । तमसुक लिखतमा उल्लेख भए बमोजिम व्याज समेत मेरो पक्षले कानून बमोजिम भराई पाउने हुँदा वादी दावी बमोजिम व्याज समेत प्रतिवादीबाट भराई पाउँ भनी गर्नु भएको बहस र पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विनोद रोक्काले वादी दावी बमोजिम मेरो पक्षले कुनै कर्जा नलिएको कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको अवस्था छ । प्रतिवादि गेनिया तत्मिनले गरी दिएको भनेको तमसुक वादी समेतले करकापबाट कागज गराएको लिखत भएकोले मेरो पक्ष वादी भै करकाप मुद्दा दिएकोमा हाल यसै सम्मानित अदालतमा मेरो पक्षको पुनरावेदन परी निर्णयार्थ आजै पेश भएको छ । यसरी करकापबाट तमसुक खडा गरिएको र तमसुक सद्दे साँचो नभएको हुँदा वादी दावी बमोजिम साँवा मेरो पक्षबाट भराउने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला कानून र न्याय संगत छैन । पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी गरी मेरो पक्षलाई वादी दावीबाट फुर्सद गराई पाउँ भनी गर्नु भएको बहस समेत सुनियो ।
13. विद्वान अधिवक्ताहरुको बहसलाई मनन गरी मिसिल अध्ययन गर्दा पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ? भन्ने विषयमा मुख्य रुपमा निर्णय दिनु पर्ने हुन आएको छ ।
14. यसमा प्रतिवादीले लिएको साँवा रु. २५००१।– को लिखतमा २०४२ साल माघ १ गते भए पनि २०४२ साल माघ १ गते नै मानिने हुँदा सो मिति देखिको व्याज समेत र फैसला मिति भरी भराउ हुने अवस्था सम्मको व्याज समेत दिलाई पाउँ भन्ने वादी दावी भएकोमा प्रतिवादीले प्रतिवाद गर्दा करकाप गरी सहिछाप गराएको, सोही कागजबाट यो फिराद दायर गरेका हुन वा के कस्ता कागज हो अदालतबाट सो कागजहरु वादीबाट झिकाई देखाएका बखत एकिन गरी छुट्याउने कुरालाई उल्लेख गरेको र वादीले पेश गरेको सक्कल लिखत हेरी प्रतिवादीका वारेसले बयान गर्दा लिखतको मिति पुच्छार र लिखितम् निर लागेको ल्याप्चे सहिछाप ऋणी गेनिया कै हो रुपैंयाँ लिएको छैन । रमई दास र जोधाल अंश वण्डाको कागज भनी गेनियाको ल्याप्चे सहिछाप २ वटा कागजमा गराएकोमा करकाप मुद्दा दायर गरेको भन्ने बयान गरेको देखिन्छ । वादीले प्रतिवादीबाट कर्जाको साँवा र ब्याज भराई पाउँ भनी प्रस्तुत गरेको कपाली तमसुकलाई प्रतिवादीले करकापबाट गराएको कागज हो भनी इङ्गीत गरेको देखिएको र पुनरावेदक वादी गेनिया तत्मानको मु.स. गर्ने चनरदास तत्मा र प्रत्यर्थी प्रतिवादी जोखनी तत्मिनी समेत भएको यसै लगाउको फौ.पु.नं. ८२१ को करकाप मुद्दामा आज यसै इजलासबाट वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत हेटौडाको फैसला सदर हुने ठहर्याई फैसला भएको हुँदा कपाली तमसुक करकापद्वारा गराए भन्ने पुनरावेदक प्रतिवादीको जिकिर एवं प्रतिवादसँग सहमत हुन सक्ने अवस्था रहेन ।
15. अब वादी दावी बमोजिम प्रतिवादीबाट २०४२ साल माघ बेमितिको कपाली तमसुक अनुरुपको साँवा व्याज भराई पाउने अवस्था छ, छैन ? भन्ने तर्फ विचार गर्दा उक्त कपाली तमसुकमा परेको ल्याप्चे सहिछापलाई प्रतिवादीले स्वीकार गरेको देखिन्छ । उक्त कपाली तमसुक करकापबाट खडा भएको हो भन्ने बाहेक अन्य कुनै प्रतिवाद गरी आफ्नो प्रतिवादलाई समर्थन गर्ने तथ्ययुक्त प्रमाण पुनरावेदक प्रतिवादीले गुजार्न नसकेको अवस्थामा प्रतिवादीले २०४२ साल माघ बेमितिको उक्त कपाली तमसुक आफ्नो राजीखुसीबाट गरी दिएको होइन भनी मान्न मिलेन । त्यसै गरी प्रतिवादीले गरी दिएको कपाली तमसुक रीतपुर्वकको मानेर पनि केवल लिखतमा उल्लेखित साँवा मात्र वादीले प्रतिवादीबाट भराई पाउने गरी फैसला गरेको देखिन्छ । वादीले प्रतिवादीबाट साँवाको अतिरिक्त व्याज भराई लिन पाउने अवस्था छ , छैन ? भनी बिचार गरी हेर्दा लेनदेन व्यवहारको ६ नं. मा "लिखतमा व्याज नलेखिएकोमा ब्याज पाउँदैन । बर्षको एकको साँवाको सयकडा दशभन्दा घटी ब्याज नलेखिएकोमा लिखत बमोजिम नै हुन्छ । लिखतमा ब्याज लिने दिने कुरा लेखी अङ्क नकिटिएकोमा वा बर्ष एकको साँवाको सयकडा दश भन्दा बढी ब्याजको अंक लेखिएकोमा वा ऐन बमोजिम व्याज भराउनु पर्ने अरु अवस्थामा साहुलाई आसामीबाट ब्याज भराउँदा बर्ष एकको साँवाको सयकडा दश भन्दा बढी भराउनु हुँदैन" भन्ने व्यवस्था भएको पाईन्छ । दावीको कपाली तमसुकमा सयकडा १०।– का दरले ब्याज दिने लिने कुराको उल्लेख भएको देखिँदा लिखतमा उल्लेखित साँवाको सयकडा १०।– का दरले ब्याज वादीले प्रतिवादीबाट भराई लिन पाउने देखियो ।
16. दावीको कपाली तमसुक २०४२ साल माघ वेमितिको भएकोले कुन मितिबाट वादीले प्रतिवादीबाट ब्याज भराई लिन पाउने हो भन्ने सम्बन्धमा विचार गर्दा सो तमसुकमा केवल महिना मात्र उल्लेख भएको अवस्थामा सो महिनाको शुरुको मितिलाई इङ्गीत गरेको मान्न मिल्ने अवस्था देखिँदैन । महिनाको मात्र उल्लेख भएकोमा सो महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु पर्ने हुन आउँछ । किनकी महिनाको शुरु देखि अन्तिम दिन भन्दा अगाडिलाई नै इङ्गीत गर्नु पर्ने अवस्थामा सो दिनलाई लिखतमा नै उल्लेख गरिने अवस्था हुन्छ । यसरी दिन (गते) को उल्लेख नभएको अवस्थामा उल्लेखित महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु न्यायिक दृष्टिबाट पनि उचित र विवेकपुर्ण देखिन आउँछ । अतः वादीले कपाली तमसुक २०४२ साल माघ वेमितिको भएकोले माघ १ गते नै मानिने भएकोले सो मिति बाटको ब्याज भराई पाउँ भन्ने दावी लिएको भए तापनि वादीले २०४२ साल माघ मसान्त देखिको उक्त कपाली तमसुक उल्लेखित साँवाको सयकडा १० का दरले ब्याज भराई पाउने देखिन आयो ।
17. यस प्रकार लगाउको करकाप मुद्दामा करकापबाट कागज नगराएको ठहरी फैसला भएको र दावीको कपाली तमसुक सद्दे होइन भन्ने तथ्ययुक्त प्रमाणको अभाव रहेको अवस्थामा वादी दावी बमोजिम वादीले प्रतिवादीबाट साँवा र ब्याज भराई पाउने ठहराउनु पर्नेमा व्याज भराउन नपर्ने गरी गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।८।१५ को फैसला सो हदसम्म नमिलेको हुँदा सो फैसला सो हदसम्म उल्टी हुन्छ । वादीले वादी दावी बमोजिम साँवा र सो को २०४२ साल माघ मसान्त (२०४२।१०।२९) देखिको ब्याज प्रतिवादीबाट भराई पाउने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।८।१५ को फैसला केही उल्टी भई कपाली तमसुकको साँवाको मिति २०४२।१०।२९ देखिको ब्याज समेत वादीले प्रतिवादीबाट भराई पाउने ठहरेकोले कपालीको तमसुकको साँवा रु. २५००१।– पुनरावेदन अदालत हेटौंडाको फैसलाले वादीलाई प्रतिवादीबाट भराई दिन लगत दिई सकेको देखिँदा कपाली तमसुकमा उल्लिखित साँवा रु. २५००१।– को मिति २०४२।१०।२९ गते देखि आज फैसला हुँदा सम्मको अवधि बर्ष ९ महिना २ दिन ६ को सयकडा१०।– ले हुने ब्याज रु. २२,९५९।२२ र फैसला बमोजिम भरी भराउको दरखास्त परेमा भराएको मिति सम्मको कानूनले पाउने ब्याज समेत प्रतिवादीबाट भराई पाउँ भनी प्रतिवादीको जेथा देखाई कानूनको म्याद भित्र पुनरावेदक वादी जोतिया तत्मीनको दरखास्त परेमा भराएको बिगोको सयकडा २।। का दरले दस्तुर बिगो भराई पाउनेबाट लिई कानून बमोजिम निज वादीलाई भराई दिन लगत राख्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाउनु .......१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदन अदालत हेटौंडाको फैसलाले पुनरावेदक वादीले पुनरावेदक प्रतिवादीबाट भराउने ठहराएको जम्मा कोर्ट फी रु. १३३४।९७ पुनरावेदक प्रतिवादीले पुनरावेदन गर्दा दाखिल गरी पुनरावेदन अदालत हेटौंडामा धरौटी रहेको देखिँदा उक्त कोर्टफी प्रतिवादीबाट भराई पाउँ भनी पुनरावेदक वादी जोतिया तत्मीनको कानूनका म्याद भित्र दरखास्त परेमा उक्त धरौटी रकमबाट निज वादीलाई केही दस्तुर नलिई कानून बमोजिम भराई दिन र पुनरावेदक वादीले यस अदालतमा पुनरावेदन गर्दा दाखिल गरेको कोर्टफि रु. ३१।१६ प्रतिवादीबाट भराई पाउँ भनी प्रतिवादीको यस सरहदको जेथा देखाई कानूनका म्याद भित्र पुनरावेदक वादी जोतिया तत्मीनको दरखास्त परेमा उक्त कोर्ट फि निज वादीलाई केही दस्तुर नलिई कानून बमोजिम भराई दिन लगत राख्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाउनु....२
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पुनरावेदक वादीलाई कपाली तमसुकको साँवा र फिराद दर्ता हुँदासम्मको व्याज रकम समेत गरी जम्मा रु. २९,६९४।– को कोर्टफि दाखिल भएको र तपसिल खण्डको प्रकरण नं. १ मा उल्लेख भए अनुसार अब साँवा र ब्याज समेत गरी जम्मा बिगो रु. ४७९६०।२२ भएको हुँदा कोर्टफि लिन बाँकी बिगो रु. १८२६६।२२ को कोर्टफि रु. ५४७।९८ र फैसला बमोजिम भरी भराउको दरखास्त परेमा फैसला भए पश्चात भरी भराउ हुँदासम्मको वादीले भराई लिन पाउने व्याज रकमको कोर्ट फि ऐन, २०१७ बमोजिम लाग्ने कोर्ट फि समेत प्रतिवादीबाट जरिवाना सरह कानून बमोजिम असुल गर्नु र प्रतिवादीबाट उपर्युक्त अनुसारको कोर्टफि असुल नभएमा वादीबाट जरिवाना सरह कानून बमोजिम असुल गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाउनु ............................................................३
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले पर्सा जिल्ला अदालतको मिति २०४४।८।२८ को आदेशनुसारको प्रतिवादी गेनिया तत्मीनको स्वर्गीय लोग्ने रामजितका नाउँमा रहेको कि.नं. ६६, ३०, १४०, ८ र १८ को जग्गाहरुको रोक्का फुकुवा भै नसकेको भए विगो भरी भराउको कार्य सम्पन्न भएपछि वा विगो भरी भराउको दरखास्त दिने म्याद भुक्तान भएपछि र प्रतिवादीबाट जरिवाना सरह असुल गर्नु पर्ने तपसिलको प्रकरण नं. ३ मा उल्लेख भए अनुसारको कोर्टफि असुल भएपछि उक्त कि.नं. हरुको जग्गाको रोक्का फुकुवा गरी दिनु भनी सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु भनी शुरु मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्बत् २०५२ साल बैशाख ५ गते रोज ३ शुभम् ।