शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९८५ - कर्तब्य ज्यान ।

भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक:

निर्णय नं.७९८५     ने.का.प. २०६५      अङ्क ७

 

सर्वोच्च अदालत पूर्ण इजलास

माननीय न्यायाधीश श्री तपबहादुर मगर

माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

सम्बत २०६५ सालको फौ.पु.इ.नं. ०६४–CF–००२९

फैसला मितिः २०६५।६।९।५

 

मुद्दाःकर्तब्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः जिल्ला ओखलढुङ्गा माम्खा गा.वि.स. वडा नं. ८ घर भै हाल कारागार शाखा         मोरंग विराटनगरमा थुनामा रहेको रामबहादुर बस्नेत

विरुद्ध

प्रत्यर्थी वादीः रामबहादुरको जाहेरीले, नेपाल सरकार

 

शुरु फैसला गर्ने न्यायाधीशः

मा.जि.न्या. श्री पुरुषोत्तम भण्डारी

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री भिमेन्द्रवहादुर कार्की

मा.न्या.श्री राघवलाल वैद्य

 

§  पुनरावेदन गर्न पाउने विषय कानूनी हक भएकाले यसलाई सारवान हक कै रुपमा लिइनु पर्ने ।

(प्रकरण नं.३)

§  मातहत अदालतले जन्मकैदको सजाय ठहर गरेका मुद्दाहरुमा यस अदालतले आफ्नो सुपरीवेक्षकीय अधिकार अन्तर्गत साधकको रोहवाट हेर्ने कुरा र पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गत पुनरावेदन सुन्ने विषय पृथकपृथक हुँदा जन्मकैद सजायको अन्तिम अनुमोदन यस अदालतवाट हुनै पर्ने बाध्यात्मक कानूनी व्यवस्थाका कारण त्यस्तो सजाय भएका मुद्दाहरुमा पक्षको पुनरावेदन नपरे पनि सम्वन्धित अदालतले साधक जाहेर गर्नुपर्ने ।

(प्रकरण नं.४)

§  मिसिल संलग्न प्रमाण वा वस्तुस्थितसँग मेल नखाने विशेषज्ञको राय प्रमाणमा लिन नमिल्ने।

§  मिसिल संलग्न प्रमाणलाई नजरअन्दाज गरी न्यायकर्ताले विशेषज्ञको रायलाई बाध्यात्मक रुपमा स्विकार गर्नै पर्दछ भनी न्यायकर्ताको विवेकलाई बन्धक बनाउन नमिल्ने ।

§  प्राविधिक कुरामा सम्वन्धित विषयका विशेषज्ञको विज्ञतालाई सहजै इन्कार गरिदैन । तर विशेषज्ञको राय मिसिल संलग्न वस्तुस्थित एवं सबुद प्रमाणसँग मेल नखाने र वारदातवाट स्थापित तथ्यभन्दा ज्यादै नै पृथक भई शंकास्पद देखिन्छ भने त्यसलाई अस्विकार गर्न सकिने ।

§  भैरहेको कानूनी प्रावधानको उपेक्षा गरी वा गलत अर्थ लगाइ विशेषज्ञको रायलाई प्रमाणमा लिइनु पर्ने भन्ने जिकिर ग्रहणयोग्य नदेखिने ।

(प्रकरण नं.८)

§  अपराध गरिसकेपछि अपराधबोध गरी अनुसन्धान र अदालतमा सत्य तथ्य कुरा राखी न्यायीक प्रक्रियालाई सघाउनु पर्नेमा उल्टै पटकपटक भ्रमात्मक कुरा गरी न्यायीक प्रक्रियालाई नै गुमराहमा पार्ने प्रयास गरेको देखिदा त्यस्तो व्यक्तिप्रति सहानुभूति राखि ठहर भएको संजाय घटाउनु पर्ने अवस्था नदेखिने ।

(प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल एवं अधिवक्ताद्वय श्री मोतिलाल श्रेष्ठ र हरिबहादुर कार्की

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.तपवहादुर मगरः न्याय प्रशासन ऐन २०४८को दफा ९ बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति २०६२।११।२९ को फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा साधकको रोहवाट यस अदालतवाट फैसला भइसकेको कारण पुनः समानस्तरको संयुक्त इजलासले हेर्न नमिल्ने भई पूर्ण इजलासवाट हेरिनु पर्ने भन्ने संयुक्त इजलासको आदेश बमोजिम पूर्ण इजलासमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

धरान १४ स्थित पूर्वमा ओम कटुवालको कुखुरा फाराम, पश्चिममा सार्वजनिक बाटो, उत्तर दक्षिण खाली जग्गा, यति चार किल्ला भित्र भक्तबहादुर भुजेलको पश्चिम मोहडाको टिनले छाएका ३ कोठे घर, सो कोठाहरु मध्ये दक्षिण तर्फ रहेको पश्चिम ढोका भै खुल्ला रहेको, उक्त कोठा भित्र पश्चिम दक्षिण कुनामा चुलामा भाडाकुडाहरु यत्रतत्र रहेको, बीच भागमा पूर्व उत्तर टाउको दक्षिण पश्चिम खुट्टा भै उत्तानो अवस्थामा रहेको मृतक लास, दलिनमा धुलो ध्वासो जस्ताको तस्तै यथावत रहेको, मृतक लासको अवस्था आखा दुवै बन्द, नङ सेतो, खुट्टाहरु अर्ध खुम्चिएको, अर्ध मुठी, मुख अर्ध खुल्ला भै दांत देखिएको, र्‍याल निस्की लगाएको भेष्ट र दाहिने पट्टि कन्चटसम्म आई कपाल समेतमा लागेको, घाँटीमा डाम भै बांया भागमा १ ईञ्च गोलो डाम रातो देखिएको र घाटीको भागमा कडा भएको, मलद्वारबाट केही नआएको भन्ने समेत ब्यहोराको घटनास्थल लास जाँच मुचुल्का ।

घटनास्थलमा उल्लेखित कोठा भित्र रहेको लासको टाउको पट्टि रहेको हरियो (कालो, पहेंलो, रातो बुट्टा भएको) साडी थान १ बरामद भएको भन्ने बरामदी मुचुल्का । 

मेरो श्रीमती ओम कुमारी र म समेत भै २०६०।११।२ गते कुखुरा काटी मासुभात खाई सुती भोलिपल्ट बिहान ८ वजे धरान १८ मा मेरो काम भएकोले बाहिर गै फर्की आउँदा मेरी श्रीमती आफ्नो कोठाको माथि रहेको काठको दलिनमा आफ्नो कटनको सारीको पासो लगाई झुण्डिएको अवस्थामा देखी बाच्छेकी भनी पासो खोली घाँटीबाट निकाली रुदा कराउँदा स्थानीय व्यक्तिहरु आई हेर्दा मृत्यु भै सकेको हुँदा प्रहरीलाई फोन गर्न लगाई घटनास्थल लास जाँच मुचुल्का समेतको कार्य सम्पन्न भै सकेकाले लास सदगतका लागि जिम्मा पाऊँ । कोही कसैको कर्तब्य नभै आफैं झुण्डिएकी हुन् भन्ने समेत ब्यहोराको रामबहादुर बस्नेतको २०६०।११।४ को जाहेरी दरखास्त ।

जाहेरवाला र निजको कान्छी श्रीमती ओम कुमारी बस्नेत दुवै जना मादक पदार्थ सेवन गर्ने र घटना भएको १ दिन अगाडि कुखुरा काटी दुवै जना मासु भात खाई मादक पदार्थ सेवन गरिरहेको अवस्थामा एक आपसमा वादविवाद तथा झगडा गरी श्रीमतीले श्रीमानलाई नङले कोतारी दिएको हुँदा जाहेरवाला रामवहादुर वस्नेतले श्रीमतीलाई कुटपिट गर्नुको साथै घाँटी थिची कर्तब्य गरी मारेको हुँदा निज रामबहादुर बस्नेतलाई कारवाहीको लागी पेश गरेको भन्ने प्र.स.नि.सुरेश कुमार हायुको प्रतिवेदन।

प्रतिवादी रामबहादुर बस्नेतको विभिन्न अङ्गहरुमा हालसालै चिथोरिएको (Abrasion) विभिन्न नाप आकारका घाउहरु रहेको भन्ने समेत ब्यहोराको वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भएको स्वास्थ्य परीक्षण रिपोर्ट ।

मिति २०६०।११।२ गते राती कुखुरा काटी मासु भात पकाई श्रीमान श्रीमती बसी रक्सी मासु खाई केही वेर पछि वाँकी मासु भात खाई पुनः रक्सी खानु पर्यो भनी श्रीमतीसँग पैसा माग्दा नदिए पछि मैले श्रीमतीलाई एक मुड्की हिर्काउँदा श्रीमतीले पनि मलाई प्रतिकार स्वरुप मेरो कपाल समातेर तान्दा लुछालुछ हुँदा श्रीमतीले आफ्नो नङ्ग्राले मेरो अनुहार कोतरी मेरो अण्डकोष समाती च्याप्दा मैले पीडाले खप्न नसकी प्रतिकार स्वरुप श्रीमतीको घाँटी दाहिने हातले समाती न्याक्दा एकछिन पछि प्रतिकार गर्न छाडेपछि मैले निजलाई घरमा नै छोडी बाहिर निस्कदा विहानको उज्यालो भै सकेकाले वेलडाडा र अमरहाट समेत घुमफिर गरी भोलिपल्ट २०६०।११।३ गते दिनको २ बजे खाना खानको लागि फर्की आउँदा श्रीमतीलाई मृतक अवस्थामा देखेको हुँ । सजाँय हुँदैन भनी वाँच्नको लागि आत्महत्यामा जाहेरी गरेको हुँ भन्ने समेत ब्यहोराको प्रतिवादी रामबहादुर बस्नेतको अधिकारप्राप्त अधिकारी समक्ष भएको बयान कागज ।

पहिलादेखि नै मादक पदार्थ सेवन गर्ने वानी भएका, सँगसँगै श्रीमतीलाई पनि खुवाउने गरेको र घटना वारदात भएको दिन रक्सी मासु खाई पुनः रक्सी खान भनी पैसा माग्दा नदिए पछि रामवहादुर वस्नेतले आफ्नो श्रीमतीलाई घाँटी थिची कर्तव्य गरी मारेको हो भन्ने समेत व्यहोराको लालवहादुर पाण्डेको अनुसन्धान अधिकारी समक्ष भएको कागज ।

Cause of death Asphyxia as a result of hanging भन्ने शव परीक्षण प्रतिवेदन ।

मृतक ओम कुमारी वस्नेतलाई प्रतिवादी रामवहादुर वस्नेतले मादक पदार्थ सेवन गरी वाद विवाद गर्दा घाँटी थिची मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको केशर श्रेष्ठ समेतका व्यक्तिहरुले लेखाई दिएको वस्तुस्थित मुचुल्का ।

रामवहादुर वस्नेतले मेरो श्रीमती झुण्डिएर मरिन दाह संस्कार गरी दिनु पर्‍यो भनी भनेकोले त्यस्तो लासको दाह संस्कार प्रहरीलाई खवर नगरी गर्न हुँदैन भन्ने लागी मैले प्रहरीलाई लास नहेरी मौखिक खवर गरेको हुँ । तर निजको कोठा भित्र हेर्दा मृतकले कुनै पनि पासो लगाएको नदेखिएको डाम चिन्ह समेत नदेखिएको घाँटीमा औलाको डाम देखेको हो । श्रीमान् श्रीमती वीच झगडा हुँदा घाँटी थिची कर्तव्य गरी मारे मराएका हुन भन्ने शिवराज चाम्लिङ्गको कागज ।

रामवहादुर वस्नेत र निजको श्रीमती ३ वर्ष अगाडि देखि मेरो घरमा वस्दै आएका हुन । निजहरु रक्सी सेवन गरी झै झगडा गर्दथे । मेरो अर्को पनि घर भएकोले त्यस घरमा वस्दिन । घटना भएको दिन म त्यहा थिईन । घाँटी थिची श्रीमतीलाई रामवहादुर वस्नेतले मारेको भनी सुनेको हो भन्ने समेत व्यहोराको भक्तवहादुर भुजेलको कागज ।

२०६०।११।२ गते राती कुखुराको मासु भात पकाएर मासुसँग पहिला रक्सी ल्याई श्रीमान श्रीमती दुवै जनाले खाएका, रक्सी मासु पछि मासुभात पनि खायौं । त्यसपछि पनि वाँकी रहेको मासुसँग रक्सी खानु पर्‍यो भनी श्रीमतीसँग रक्सी किन्ने पैसा माग्दा नदिएपछि रिस उठी एक मुडकी डाढमा हिर्काएँ । श्रीमती पनि वाद विवाद गर्न लाग्दा तानातान , लुछालुछ हुँदा श्रीमतीले आफ्नो नग्राले मेरो अनुहारमा कोतरी अण्डकोष समाती च्याप्दा मैले सहन नसकी रिसले प्रतिकार स्वरुप श्रीमतीको घाँटी दाहिने हातले समाती एकछिन न्याक्दा प्रतिकार गर्न छाडेकी र मैले घाँटी न्याकेको कारणवाट श्रीमतीको मृत्यु भएको हो भन्ने प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गरेको ततिम्वा वयान ।

प्रतिवादी रामवहादुर वस्नेतले आफ्नो श्रीमती ओम कुमारी वस्नेतलाई आफुलाई पीडा गर्ने गरी अण्डकोष च्यापिदिएको रिसवाट घाँटी थिची कर्तव्य गरी मारेको प्रमाणित भएकोले ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाँय गरिपाऊँ भन्ने अभियोग दावी ।

म मिति २०६०।११।३ गते वाँस काट्ने काममा गै १२ वजे आफ्नो घरमा आउँदा दलीनको काठमा सारीको पासो घाँटीमा वाँधी श्रीमती झुण्डी रहेको दखो । हल्ली रहेको जस्तो देखी खोल्दा निजको मृत्यु भै सकेको रहेछ । निजको मृत्यु कहिले भयो थाहा भएन । त्यस पछि गाउँका मानिस वोलाई प्रहरीलाई खवर गरेको हो । मृतक ५।६ वर्ष अगाडि देखि मुटुको विरामी थिईन । वेला वेलामा मर्छु भन्ने गर्थिन । मिति २०६०।११।२ गते वेलुकी हामी २ जना कुखुराको मासु भात र रक्सी खाई रहेको अवस्था श्रीमतीले किन हो मेरो गालामा चिथोरी दिएकी सम्म थिईन । भोलिपल्ट विहान ५ वजे उठी म काममा जान लाग्दा श्रीमती ओछ्यानमा वसी विडी खाई रहेकी थिई । मैले दिएको जाहेरी ठिक हो । मैले घाटी थिची कर्तव्य गरी मारेको होईन भन्ने समेत व्यहोराको प्रतिवादी रामवहादुर वस्नेतले अदालतमा गरेको वयान ।

प्रतिवादीको कोठामा सामान यत्रतत्र छरिएको र अनुसन्धानको क्रममा वुझ्दा निजले मार्ने धेरै सम्भावना देखिएको भन्ने प्र.स.नि.सुरेश कुमार हायुको अदालतमा भएको वकपत्र ।

मृतक र प्रतिवादी कुखुरा काटेर दुवैजना संधै रक्सी खान्थे निजहरु वीच झै झगडा भै रहेको हुन्थ्यो । मृतक ओम कुमारीलाई प्र. रामवहादुर वस्नेतले कर्तव्य गरी मारेको हो भन्ने सो सुनेको हो भन्ने समेत वस्तुस्थितका शिवराज चाम्लिङ्गको अदालतमा भएको वकपत्र ।

प्रतिवादीले अभियोग दावी अनुसार कसूर गरेको हुनाले निज प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अपराध हुँदाको अवस्थामा मार्ने पूर्व तयारी, मनसाय, पूर्व रिसईवि पनि नदेखिएको र तत्काल उठेको रिसवाट आवेशमा आई घाँटी थिची मृत्यु भएको देखिँदा सजाँय चर्को पर्ने भएकोले ८ (आठ) वर्ष कैद हुने गरी अ.वं.१८८ नं.वमोजिम राय व्यक्त गरिएको छ भन्ने समेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०६१।५।२३।४ को फैसला ।

लास प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टमा भिन्नता आएमा परीक्षण गर्ने मेडिकल अधिकृतलाई साक्षी सरह वकपत्र गराउनु पर्नेमा सो नगराईएको , अनुमान र शंकाको भरमा दोषी करार गरिएको तथा प्रहरीले सावित गराएकै आधारमा अभियोग दावीअनुसार कसूर कायम गरी सजाँय हुने ठहर्‍याएको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण झुण्डिई सास रोकिएकोले मृत्यु हुन गएको (as a result of hanging) भन्ने उल्लख भएको देखिएवाट शुरुको फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको विराटनगरको आदेश ।

Post mortem report मा Post morteum lividity on hanging भन्ने उल्लेख भएको तथ्य प्रचलित Medical Jurisprudence हरुमा देखाईएको Hanging मा हुने lividity स्थित भन्दा फरक र अमिल्दो देखिँदा सो लगायत Post mortem report मा व्यक्त राय र तथ्यहरुका सम्वन्धमा सम्वन्धित चिकित्सकलाई झिकाई वकपत्र गराउनु पर्ने भएको हुँदा प्रमाण ऐन, २०३१ को दफा १८ को प्रयोजनको लागि शव परीक्षण प्रतिवेदन तयार गर्ने चिकित्सकलाई वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवाट झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको आदेश ।

शव परीक्षण प्रतिवेदन तयार गर्ने चिकित्सक भारत सरकारको तर्फवाट काजमा आउनु भएको शिक्षक भएको र पदावधि पुरा भई स्वदेश फर्की सक्नु भएको छ भन्ने समेत व्यहोराको वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको च.नं. ३२६५।०६२।०६३ मिति २०६२।६।१९ को पत्र

मृतक ओम कुमारीलाई निजकै लोग्ने रामवहादुर वस्नेतले हत्या गरी मारेको र सो वापत निजलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई मुलुकी ऐन अदालती वन्दोवस्तको १८८ नं. को प्रयोग गरी ८ वर्ष कैद हुने राय लगाई गरेको शुरु जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६२।११।२९ को फैसला ।

शव परीक्षण प्रतिवेदनलाई भन्दा लाश जाँच मुचुल्कालाई फैसलाको मुख्य आधारका रुपमा लिइएको छ । घाँटी थिचेर मारेको भए घाँटीमा औंला हत्केलाको छाप देखिनु पर्नेमा सो देखिएको छैन । अर्को तर्फ शव परीक्षण प्रतिवेदनवाट Round Ligature Mark देखाइएवाट मैले घाटी थिची मारेको भन्ने आधार लिई गरेको फैसला आफैंमा खण्डित छ । विशेषज्ञको रायलाई प्रमाणमा लिनुपर्ने भन्ने प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्थाको त्रुटि गरी न्यायाधीश आफैंले विशेषज्ञको भूमिका बहन गरी भएको फैसला आत्मनिष्ठ छ । बादी पक्षले कसूर प्रमाणित गर्नुपर्नेमा मसँग सफाइको प्रमाण मागेको फैसलाको आधार प्रमाण ऐन, २०३१ को दफा २५ प्रतिकूल बदर भागी छ । अतः चिकित्सा विधिशास्त्रको मान्यता र सिद्धान्त विपरीत भएको पुनरावेदन अदालतको फैसला बदर गरी सफाइ पाँऊ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

यसमा यसै मुद्दामा संयुक्त इजलासवाट साधकको रोहमा निर्णय भै सकेकोमा हाल प्रतिवादीको पुनरावेदन परेको देखिदा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासवाट मिति २०६५।२।२२ मा भएको आदेश ।

नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फवाट रहनु भएका विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल एवं अधिवक्ताद्वय श्री मोतिलाल श्रेष्ठ र हरिबहादुर कार्कीले प्रतिवादीको पुनरावेदन परिरहेको अवस्थामा साधकको रोहवाट फैसला गरिएको छ । पुनरावेदन गर्न पाउने कानूनी हक नै भएको हुँदा साधकको रोहवाट भएको फैसला बदर गरिनु पर्दछ । श्रीमतीको झुण्डिएर मृत्यु भएको भनी प्रतिवादी स्वयंले जाहेरी दिएको अवस्था छ । शव परीक्षण प्रतिवेदनवाट समेत जाहेरीको सोही तथ्य प्रमाणित भएको छ । मौकामा चिकित्सकले शव परीक्षण गरी दिएको उक्त प्रतिवेदनलाई प्रमाणमा लिन नमिल्ने कुनै कारण छैन । प्रहरीमा कुटपिटवाट गराइएको प्रतिवादीको बयान समेतको परिस्थितजन्य प्रमाणको आधारमा मात्र कसूरदार ठहर गर्न मिल्दैन । प्रतिवादीको उक्त बयानलाई आधार लिने हो भने पनि भवितव्य सम्म ठहर हुने अवस्था छ । अतः शुरु र पुनरावेदन अदालतको फैसला उल्टि गरी पुनरावेदकलाई आरोपित कसूरवाट सफाई दिइनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

पुनरावेदक प्रतिवादी तर्फका कानून व्यवसायीहरुले गर्नु भएको उल्लिखित बहस जिकिर मनन् गरी पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो,होइन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।

२.    निर्णय तर्फ विचार गर्दा प्रतिवादीले आफ्नै श्रीमतीको घाँटी थिची मारेको हुँदा मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भन्ने समेत अभियोग माग  दावी रहेको देखिन्छ । आरोपित कसूरमा सावित हुँदै पुनरावेदक प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको देखिए पनि अदालतमा इन्कारी बयान गरेको देखिन्छ । अभियोग माग बमोजिम सजाय गरेको शुरुको फैसला पुनरावेदन अदालतवाट सदर भएकोमा साधकको रोहवाट हेरी यस अदालतको संयुक्त इजलासवाट सदर भएको अवस्था रहेछ । सो फैसला गर्नु अघि प्रतिवादीको पुनरावेदन परे नपरेको सम्वन्धमा पुनरावेदन दर्ता फाँटमा सोधिएकोमा मिति २०६३।२।२८ मा तामेल भएको पुनरावेदनको म्याद भित्र पुनरावेदन नपरेको भन्ने जवाफ प्राप्त भएको आधारमा साधकको रोहवाट फैसला गरिएको देखिन्छ । यद्दपि मिति २०६३।५।१८ मा पुनरावेदन गर्ने म्याद भित्रै प्रतिवादीको कारागार शाखा मोरङ्ग मार्फत पुनरावेदन परिसकेकोमा सो पुनरावेदन पत्र मिति २०६३।६।१ मा मात्र यस अदालतमा प्राप्त हुन गएको कारणवाट त्यस प्रकारको अवस्था पर्न गएको देखिन्छ ।

३.    पुनरावेदन गर्न पाउने विषय कानूनी हक भई यसलाई सारवान हककै रुपमा लिइने गरिन्छ । न्याय प्रशासन ऐन,२०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) मा पुनरावेदन अदालतले दश बर्ष वा सो भन्दा बढी कैद गरेको मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने भन्ने स्पष्ट कानूनी प्रावधान रहेको देखिदा प्रस्तुत मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने कुरामा कुनै सन्देह छैन । सोही दफा १०(३) मा साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदनको रोहवाट हेर्नु पर्ने भन्ने स्पष्ट कानूनी व्यवस्था हुनुका साथै मुलुकी ऐन अदालती बन्दोबस्तको २१५ नं.मा साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत कट्टा गरी पुनरावेदनको रोहवाट हेर्नुपर्छ भन्ने बाध्यात्मक कानूनी प्रावधान रहेकोवाट समेत साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेको अवस्थामा साधकको लगत कट्टा गरी पुनरावेदनको रोहवाट सुनुवाई गर्नुपर्ने देखिन आउछ ।

४.    साधकको रोहवाट पुनरावेदन अदालतको इन्साफ जाँच भैसकेको भनी प्रतिवादीको रीतपूर्वक परेको पुनरावेदनलाई वेवास्ता गर्ने हो भने पक्षलाई कानूनद्वारा प्रदत्त पुनरावेदन गर्न पाउने सारवान हक कुण्ठित हुन जाने अवस्था पर्न आउँछ । त्यसो गर्न उल्लिखित कानूनी प्रावधानहरुले अनुमति पनि दिदैन । मातहत अदालतले जन्मकैदको सजाय ठहर गरेका मुद्दाहरुमा यस अदालतले आफ्नो सुपरीवेक्षकीय अधिकार अन्तर्गत साधकको रोहवाट हेर्ने कुरा र पुनरावेदकीय अधिकारक्षेत्र अन्तर्गत पुनरावेदन सुन्ने विषय पृथकपृथक हुन । जन्मकैद सजायको अन्तिम अनुमोदन यस अदालतवाट हुनै पर्ने बाध्यात्मक कानूनी व्यवस्थाका कारण त्यस्तो सजाय भएका मुद्दाहरुमा पक्षको पुनरावेदन नपरे पनि सम्वन्धित अदालतले साधक जाहेर गर्नुपर्ने हुन्छ । त्यसरी जाहेर गरिएको साधकमा यस अदालत समक्ष पक्षले कुनै कुराको जिकिर लिन पाएको हुदैन । पेश भएको साधकको रोहवाट यस अदालतले माताहत अदालतको निर्णय जाँच्ने सम्मको अवस्था रहने भएपनि पुनरावेदन सुनुवाई गर्दाको जस्तो फैसलाको त्रुटीका सम्वन्धमा पक्षले उठाउने कानूनी र तथ्यगत जिकिरको निरुपण गर्नुपर्ने अवस्था पर्दैन । त्यस कारणवाट पनि साधकको रोहवाट इन्साफ जाँच भइसकेको भनी पक्षको पुनरावेदनलाई पन्छाउन मिल्दैन ।

५.    पुनरावेदक हिमा कुमारी भट्टराई विरुद्ध श्री ५ को सरकार समेत भएको २०५४ सालको फौ.पु.इ.नं.३२ को कर्तव्य ज्यान मुद्दामा यस अदालतको बृहद पूर्ण इजलासवाट मिति २०५७।५।८ मा साधकको रोहवाट इन्साफ जाँच भइसकेको भन्ने अर्थ गर्दा पुनरावेदन गर्न पाउने व्यक्तिको सारवान अधिकारमा नै संकुचन लाग्नजाने सम्भावना रहन्छ, जो सर्वथा न्यायीक स्वविवेक अनुकूल हुन सक्दैन । पुनरावेदनको रोहवाट सुनुवाई हुने हुँदा साधकको रोहवाट भएको यस अदालत संयुक्त इजलासको फैसला स्वतः बदर हुने भनी निर्णय भई ने.का.प.२०५७ अंक १०।११ पृष्ठ ७०४ मा सिद्धान्त प्रतिपादन भैसकेको अवस्था देखिदा सोही प्रतिपादित सिद्धान्त र कानूनी व्यवस्थाको आधारमा प्रस्तुत मुद्दामा समेत साधकको रोहवाट संयुक्त इजलासले गरेको मिति २०६४।२।१८ को फैसला स्वतः बदर हुन्छ ।*

६.    अव पुनरावेदक प्रतिवादीको पुनरावेदन सम्वन्धमा विचार गर्दा, पुनरावेदकको श्रीमती मृतक ओम कुमारीको मृत्यु भएको भन्ने तथ्यमा कुनै विवाद रहेको छैन । निजको मृत्यु स्वभाविक अर्थात कालगतिवाट भएको भन्ने पनि मिसिलवाट खुल्न आएको अवस्था छैन । अभियोजन पक्षले पुनरावेदकले घाँटी थिची मारेको दावी लिएको छ भने सो तथ्यलाई अधिकारप्राप्त अधिकारी समक्ष स्वीकार गर्ने प्रतिवादी अदालत समक्ष इन्कार रहेको देखिएको छ । पुनरावेदकले उक्त घटनालाई आत्महत्याको संज्ञा दिएको अवस्था छ । शव परीक्षण प्रतिवेदनमा Round Ligature Mark देखाइएवाट झुण्डिएर मरेको प्रमाणित भैरहेकोमा विशेषज्ञको रायलाई प्रमाणमा नलिई घाटी थिची  मारेको भनी ठहर गरेको फैसलामा प्रमाण ऐन,२०३१ को दफा १८ को त्रुटि भएको भन्ने नै पुनरावेदक प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको छ ।

७.    सो सम्वन्धमा प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्था हेर्दा तहकिकात वा जाँचबुझको सिलसिलामा तयार भएका लिखतमा उल्लेख भएको कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै बयान गरेको अवस्थामा मात्र प्रमाणमा लिन मिल्ने देखिन्छ । त्यसै गरी सोही दफाको प्रतिवन्धात्मक बाक्याशंको खण्ड (क) ले शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको कुनै कुराका सम्वन्धमा पक्षहरुवीच विवाद नभएमा वा सो कुरा मिसिलमा देखा परेको कुनै प्रमाण वा वस्तुस्थितसँग असँगत नदेखिएमा विशेषज्ञ अदालतमा उपस्थित नभए पनि प्रमाणमा लिन हुन्छ भन्ने समेत कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा मृतकको शव परीक्षण गरी प्रतिवेदन दिने चिकित्सक अदालत समक्ष उपस्थित भई बकपत्र गरेको अवस्था छैन भने भारत सरकारको तर्फवाट वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काजमा आएका निज चिकित्सक स्वदेश फिर्ता भइसकेको भन्ने देखिदा सो कार्य अव सम्पन्न हुन सक्ने संम्भावना समेत रहेको पाइदैन । Cause of death Asphyxia as a result of hanging या जबलनष्लन भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको कुराका सम्वन्धमा मुद्दाका पक्षहरुका बीच मत्यैक्यता नरही बादी पक्षले अस्विकार गरेको अवस्थामा पुनरावेदकले आधार लिएका उल्लिखित कानूनी प्रावधानवाटै त्यस्तो रायलाई प्रमाणमा लिन मिल्ने अवस्था देखिदैन ।

८.    विशेषज्ञले दिएको जस्तोसुकै रायलाई पनि अदालतले प्रमाणमा लिनु पर्ने भन्ने प्रमाण ऐन,२०३१ को दफा १८ को आशय रहेको पाइदैन । दफा १८ को प्रतिवन्धात्मक वाक्यांशको खण्ड (क)मा प्रयुक्त सो कुरा मिसिलमा देखापरेको कुनै प्रमाण वा कुनै वस्तुस्थितसँग असँगत नदेखिएमा भन्ने वाक्याशंवाट मिसिल संलग्न प्रमाण वा वस्तुस्थितसँग मेल नखाने विशेषज्ञको राय प्रमाणमा लिन नमिल्ने नै देखिन्छ । यसवाट मिसिल संलग्न प्रमाणलाई नजरअन्दाज गरी न्यायकर्ताले विशेषज्ञको रायलाई बाध्यात्मक रुपमा स्विकार गर्नै पर्दछ भनी न्यायकर्ताको विवेकलाई बन्धक बनाउन मिल्ने देखिदैन । सामान्यतया प्राविधिक कुरामा सम्वन्धित विषयका विशेषज्ञको विज्ञतालाई सहजै इन्कार गरिदैन । तर विशेषज्ञको राय मिसिल संलग्न वस्तुस्थित एवं सबुद प्रमाणसँग मेल नखाने र वारदातवाट स्थापित तथ्यभन्दा ज्यादै नै पृथक भई शंकास्पद देखिन्छ भने त्यसलाई अस्विकार गर्न सकिने हुन्छ भन्ने कुरालाई प्रमाण ऐनको उल्लिखित कानूनी व्यवस्थाले नै अंगिकार गरिरहेको अवस्थामा भैरहेको सो कानूनी प्रावधानको उपेक्षा गरी वा गलत अर्थ लगाइ विशेषज्ञको रायलाई प्रमाणमा लिइनु पर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर ग्रहणयोग्य देखिएन ।

९.    झुण्डिएर मरेको भनी विशेषज्ञले दिएको राय अनुरुप मृतको शरिरमा कुनै लक्षण नपाइएको भनी लाश प्रकृति मुचुल्कामा उल्लिखित तथ्यगत कुराहरुको आधारमा शुरु जिल्ला अदालतको निर्णयमा बिस्तृत रुपमा विश्लेषण गरिएको देखिन्छ । मृतकको ओठ फुस्रो नदेखिएको, आँखाको नानी ठूलो नभएको, आँखा बाहिर ननिस्केको, दुवै आँखा बन्द रहेको, जिव्रो बाहिर ननिस्किएको, मुख, कान, गुदद्वार आदि इन्द्रियको प्वालवाट रगत र्‍याल लगायतका लस्सादर पदार्थ र वीर्य समेत ननिस्केको,मृतकको घाटीको चारै तर्फ गोलाकार रुपमा डोरीको डाम परी झुण्डिएको भनेको भाग तर्फ समेत डाम परेको भन्ने जस्ता लास प्रकृति मुचुल्कामा उल्लेख भएका तथ्यहरु समेतवाट शुरु अदालतले विशेषज्ञको रायलाई अस्विकार गरेको देखिएको छ ।  त्यसैगरि जुन ठाँउमा झुण्डिएको भनेको हो, धैंसो लागेको दलिनको त्यस भागमा डोरीको डाम नदेखिएको, झुण्डिएको लाशलाई पुनरावेदक प्रतिवादी एक्लैले पासो लगाएको वस्तु समेत नकाटी कसरी फुकाइ निकालेको हो भन्ने कुरा विश्वसनिय नदेखिएको भन्ने समेतका मिसिल संलग्न बस्तुस्थित मुचुल्कावाट देखिएको तथ्यगत आधारवाट प्रतिवादीलाई गडाउ गरिएको देखिएको छ । प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको बयान समर्थित हुने गरी प्रतिवादी र मृतकवीच रक्सी सेवन गरी हात हालाहाल हुँदा मृतकले प्रतिवादीका निधार, घाँटी, गाला, चिउडो लगायत अनुहारको भागमा चिथोरीदिएको (Abrasion) घाउहरु पाइएको, मृतकको हात, घुडा लगायतका भागमा निलडाम (Contusion) देखिएको, प्रतिवेदक प्र.स.नि. सुरेशकुमार हायु र वस्तुस्थित मुचुल्कामा वस्ने शिवराज चाम्लीङ्गले दिएको मौकाको प्रतिवेदन र लेखाएको व्यहोरा पुष्टि हुने गरी मृतक र प्रतिवादी वीच सधैं रक्सी सेवन गरी झैझगडा हुने गरेकोले प्रतिवादीले नै कर्तव्य गरी मारेको हो भनी अदालत समक्ष बकपत्र गरेको देखिन्छ ।

१०.    अतः शुरुले पुनरावेदक प्रतिवादीलाई कसूर ठहर गर्न आधार लिएका उल्लिखित आधारहरु समेतवाट पुनरावेदन अदालतवाट शुरु निर्णय सदर गरिएकोमा मिसिल संलग्न उक्त तथ्यलाई पुनरावेदकले यस अदालत समक्षको पुनरावेदनपत्रमा कुनै ठोस आधार सहित खण्डन गर्न सकेको पाइएन । बिश्लेषित उक्त आधार कारण, र कानूनी व्यवस्था समेतवाट पुनरावेदक उपरको अभियोग दावी प्रमाणित भइरहेको हुँदा प्रतिवादीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६२।११।२९ को फैसला मनासिव देखिदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

११.    जहाँसम्म प्रतिवादीलाई ठहरे बमोजिम सजाय गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम आठ बर्ष कैद हुन शुरुले व्यक्त गरेको रायलाई पुनरावेदन अदालतवाट सदर गरिएको छ सो सम्वन्धमा विचार गर्दा, प्रतिवादी रातदिन रक्सी सेवन गरी श्रीमतीसँग झगडा गरिरहने प्रकृतिका व्यक्ति हुन भन्ने देखिन्छ । उक्त वारदात हुँदाका राति समेत अघिवाटै रक्सी सेवन गरिरहेकोमा पुनः थप रक्सी किन्न श्रीमतीसँग पैसा मागेको र मृतकले नदिएको कारणवाट हातहालाहाल गरी श्रीमतीको घाँटी थिचेको (न्याकेको) भन्ने देखिएको छ । लामो समय सम्म घाँटी जस्तो संवेदनशील अंगमा थिच्दा मानिस मर्न सक्ने कुरा सामान्य अनुमान र ज्ञानको विषय हुँदा त्यस्तो कार्यलाई मनशाय रहित वा भवितव्य हो कि भन्न सकिने अवस्था हुदैन । यसका साथै प्रतिवादीले घटनालाई स्वभाविक रुपमा प्रकट हुन नदिन श्रीमती पासो लगाई आफैं मरेकी हुन भन्ने अतिरंन्जनात्मक अवस्था देखाउने प्रयास गरेको पनि पाइएको छ । अपराध गरिसकेपछि अपराधबोध गरी अनुसन्धान र अदालतमा सत्य तथ्य कुरा राखी न्यायीक प्रक्रियालाई सघाउनु पर्नेमा पुनरावेदकले उल्टै पटकपटक भ्रमात्मक कुरा गरी न्यायीक प्रक्रियालाई नै गुमराहमा पार्ने प्रयास गरेको देखिदा त्यस्तो व्यक्तिप्रति सहानुभूति राखी ठहर भएको संजाय घटाउनु पर्ने अवस्था नदेखिदां अ.बं. १८८ नं. बमोजिम आठ बर्ष कैद हुन शुरुले लगायको राय सदर गरेको पुनरावेदन अदालतको रायसँग सहमत हुन सकिएन । पुनरावेदनको लगत कट्टा गरी मिसिल नियम बमोजिम बुझाइ दिनु । 

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.रामकुमारप्रसाद शाह

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इति संवत २०६५ साल आश्विन महिना ९ गते रोज ५ शुभम्................

 

इ.अ.नारायण सुबेदी

 

* उल्लेखित मुद्दा साधकको रोहवाट हेरी मिति २०६४।२।१८ मा संयुक्त इजलासवाट फैसला भएको र सर्वोच्च अदालत वुलेटिन वर्ष १६, अंक ८, श्रावण दोस्रो अंक, पूर्णांक ३६२ मा प्रकाशित भएको थियो ।                                सम्पादक

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु