निर्णय नं. ७९८६ - कर्तव्य ज्यान ।

निर्णय नं.७९८६ ने.का.प. २०६५ अङ्क ७
सर्वोच्च अदालत संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री गौरी ढकाल
संवत २०६३ सालको फौ.पु.नं.०६३–CR–०३६६
फैसला मितिः २०६५।३।१८।४
मुद्दाः— कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः जि.संखुवासभा स्यावुन गा.वि.स.वडा नं. १ घर भै हाल कारागार शाखा खाँदवारीमा थुनामा रहेको बाबुराम तामाङ
विरुद्ध
प्रत्यर्थी वादीः विष्णुमाया वि.क.को जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः–
मा.न्या. श्री भुपेन्द्रप्रसाद राई
पुनरावेदन फैसला गर्नेः
मा.न्या. श्री दिपकराज जोशी
मा.न्या. श्री फणिन्द्रदत्त शर्मा
§ मानिसहरु भेला जम्मा भएको भीडमा आफूले प्रहार गरेको खुकुरीले जो कोहिलाई लाग्नसक्छ भन्ने प्रतिवादीले स्वतः अन्दाज गर्न सक्ने र धारिलो हतियारको प्रयोगबाट मानिस मर्न सक्छ भन्ने सामान्य समझ भएका जो कोही मानिसले अनुमान गर्न सक्ने ।
§ खुकुरी जस्तो धारिलो हतियारको प्रहार गर्नेले आत्मरक्षाको लागि प्रहार गरेको भन्न नमिल्ने ।
§ मानिसको भीडमा खुकुरी प्रहार गर्ने कृत्य भवितव्य पूर्वकको हत्यामा पर्छ भन्न नमिल्ने।
(प्रकरण नं.४)
§ कसै उपर कुनै पूर्व इवी नभई तत्काल उत्पन्न परिस्थितिबाट घटना घट्न गएको व्यहोरा उल्लेख गरी प्रहरीमा उपस्थित हुन आएको, भएको सत्य साँचो व्यहोराको बयान दिई अनुसन्धान तथा मुद्दाको पूर्पक्ष गर्न सहयोग गरेको समेतवाट ठहरे बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद न्यौपाने
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
प्र.न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत धनकुटाबाट मिति २०६३।३।२२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः–
मिति २०६१।७।२६ गते मेरो घरमा जंगली पूजा भएको हुँदा धामी सुवास राईलाई बोलाई पूजा सकी बसेका थियौं । यस्तैमा राती अं. ९ बजेको समयमा बाबुराम तामाङ हामीहरुको घरमा आई पूजामा बसी गफ गरिरहेका थिए । के कुन निहुँमा सुवास राईसँग बाबुराम तामाङको वादविवाद हुँदै थियौं । हामीले किन झगडा गरेको भन्दाभन्दै बाबुराम तामाङले कम्मरमा भिरेको खुकुरी निकाली मेरो छोरा चन्द्रबहादुर विश्वकर्मालाई टाउकोमा प्रहार गर्दा छोरा भूईमा लडेपछि निज बाबुराम तामाङ के कता भागे, मैले छोरालाई उठाउन खोज्दा छोराको तत्कालै मृत्यु भयो । निजहरु बीच कुनै रीस इवी भएको थाहा छैन । के कुन आवेशमा आई मेरो छोरालाई काटी मारेका हुन्, निजलाई पक्राउ गरी कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको विष्णुमाया विश्वकर्माको २०६१।७।२८ को जाहेरी दरखास्त ।
मृतक चन्द्रबहादुर वि.क.को वायाँ कन्चट चल्निनेर कान माथि १५ से.मी लम्वाई ३ से.मि चौडाई ४ से.मि. गहिराई चोट भएको उक्त चोटबाट रगत तथा गिदीको टुक्राहरु रगतसँग बगेका अवस्थामा रहेको भन्ने समेत व्यहोराको मिति २०६१।७।२८ को घटनास्थल लाश जाँच मुचुल्का ।
मृतकको टाउकोमा भएको चोटबाट रगत बगी मृत्यु भएको The cause of death is Braining (Head Injury ) Leading to coma/haemorrhage) भन्ने समेत व्यहोराको मृतकको शव परीक्षण प्रतिवेदन ।
मिति २०६१।७।२६ गते मृतक चन्द्रबहादुर विश्वकर्माको घरमा पूजा हुँदा सो पूजाको लागी मलाई समेत निम्तो भएको हुँदा सो निम्तोमा म र छिमेकी ताराकुमार राई निज चन्द्रबहादुर विश्वकर्माको घरमा गयौं । निजको आगनमा धामी शुभाष राई कुखुरा पोल्दै थियो । निज धामीले रातको अवस्थामा हो– हल्ला गर्ने को हो भनी भनेको हुँदा निज धामी र म बीच सामान्य वादविवाद हुँदै थियो । सोही अवस्थामा पछाडिबाट मलाई एक्कासी मेरो दाहिने काँधमा को कस्ले लाठीले हिर्कायो । त्यसपछि मैले मेरो वायाँ कम्मरमा भिरेको खुकुरी निकाली पछाडि घुमाउँदा निज चन्द्रबहादुर विश्वकर्मालाई लागेछ । फर्की हेर्दा निज चन्द्रबहादुर विश्वकर्मा भूईमा लडेका रहेछन् । त्यसपछि म घर तर्फ भागी गएँ । निजको मृत्यु मैले प्रहार गरेको खुकुरीको कारणबाट भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी बाबुराम तामाङले अधिकार प्राप्त अधिकारी समक्ष गरेको मिति २०६१।८।१० को बयान ।
मिति २०६१।७।२६ गते चन्द्रबहादुर विश्वकर्माको घरमा जंगली पूजा भएकोले मलाई समेत निम्तो हुँदा बाबुराम तामाङ समेत निज चन्द्रबहादुर विश्वकर्माको घरमा गयौं । हामी जाँदा धामी शुभाष राई आगनमा कुखुरा पोल्दै थियो, धामी शुभाष र बाबुराम बीच के कुन कुरामा हो साधारण वादविवाद गर्दै थियो । सोही अवस्थामा मृतक चन्द्रबहादुर वि.क. आँगनमा निस्किएको थियो । चन्द्रबहादुर वि.क.को श्रीमतीले मान्छे मार्यो भनेको सुनी हेर्दा मृतक लडिरहेको थियो । निजलाई घर भित्र लाँदा लादै निजको मृत्यु भयो । बाबुराम तामाङ कता गयो थाहा भएन भन्ने समेत व्यहोराको मणीकुमार भन्ने मनी कुमार राईले गरिदिएको कागज ।
मिति २०६०।७।२६ गते स्याबुन– १ बस्ने चन्द्रबहादुर वि.क.को घरमा जंगली पूजा भएकोले मलाई समेत निम्तो भएकोले म पनि गएको थिएँ । धामी सुभाष राई र बाबुराम तामाङ साधारण बादविवाद गर्दै थिए । चन्द्रबहादुर वि.क. भित्रबाट वाहिर आई बाबुराम तामाङले नदेख्ने गरी पछाडिबाट लाठीले बाबुराम तामाङलाई हिर्काउँदा बाबुराम तामाङले भिरेको खुकुरी निकाली पछाडि मान्छे नहेरी हान्दा चन्द्रबहादुर वि.क.लाई लागी भूईमा लडे । त्यसपछि निज बाबुराम तामाङ के कता भागे, मृतकको मृत्यु सोही चोटबाट तत्कालै भएको हो भन्ने व्यहोराको ताराकुमार राईले गरेको कागज ।
जाहेरीमा उल्लेखित मिति समयमा पूजामा बोलाएकोले म जाहेरवालीको घरमा गई साथीहरुसँग गफ गरिरहेको अवस्थामा अचानक माछे मर्यो भन्ने सुनी हेर्दा चन्द्रबहादुर वि.क. भूईमा लडी छटपटाई रहेकोले हामीले बोकी घर भित्र लग्यौं । केही छिन पछि चन्द्रबहादुर वि.क.को मृत्यु भयो । बाबुराम तामाङ के कता गयो थाहा भएन भन्ने समेत व्यहोराको डम्बरबहादुर न्यौपानेले गरिदिएको कागज ।
मिति २०६१।७।२६ गते जाहेरवालीको घरमा पूजा भएकोले मलाई प्रसाद खान बोलाएको हुँदा गएको थिएँ । रातको ८ बजेको थियो होला निज चन्द्रबहादुर वि.क.को घर आगनमा मान्छे मर्यो भनी चिच्याएको आवाज आई के भो भनी हेर्दा चन्द्रबहादुर वि.क. भुईमा लडी रगताम्मे भएकोले आँगनबाट उठी भित्र लगेपछि निजको मृत्यु भयो । को कस्ले काट्यो भनी बुझ्दा बाबुराम तामाङले काट्यो भनी मृतकको आमा विष्णुमाया वि.क. ले भन्दा थाहा पाएँ । किन काटे मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको गितेस राईले गरिदिएको कागज ।
मिति २०६१।७।२६ गते स्याबुन–१ बस्ने चन्द्रबहादुर विश्वकर्माको घरमा पूजाको निम्तो भएकोले म उक्त पूजामा गएको थिएँ । रातको अं. ८ बजेको समयमा मान्छे मर्यो भन्ने आवाज आई हेर्दा चन्द्रबहादुर विश्वकर्मा भूईमा लडेको देखी हतार हतार गई उठाउन खोज्दा बोल्न नसक्ने अवस्थामा छटपटाई रहेको थियो । तत्काल घर भित्र लाँदा मृत्यु भयो । बाबुराम तामाङ कता भागे थाहा भएन । निजले खुकुरीले काटेको समेत मैले देखिन भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने दयाबहादुर राई समेतको मिति २०६१।८।१५ को कागज ।
मिति २०६१।७।२६ गते बेलुकी ४ बजेतिर मृतक चन्द्रबहादुर विश्वकर्मा आई म धामी भएको कारणले जंगली पूजा गरी दिनु पर्यो भनी भनेको हुँदा म बेलुकी ५ बजेतिर मृतक चन्द्रबहादुर विश्वकर्माको घरमा गई कुखुराले जंगली पूजा गरी दिएँ । पूजा सकी म आफूले नै कुखुरा बनाई रहेको अवस्थामा रातको अं.८ बजेको समयमा स्याबुन गा.वि.स.वार्ड नं. १ बस्ने बाबुराम तामाङ समेतको ३–४ जना मैले नाम नजानेको मानिसहरु म कुखुरा पोली रहेको अवस्थामा आई बाबुराम तामाङले के गरेको काका भनी निज मेरो छेउमा लड्यो । निजलाई मैले के गरेको भतीज तिमी अलिक मातेको रहेछौ भने । त्यसपछि निजले मातेको छैन भनी भन्यो, सोही कुरामा बाबुराम र मेरो साधारण वादविवाद भयो । हुँदाहुँदै मृतक चन्द्रबहादुर विश्वकर्मा घरभित्रबाट आई पछाडिबाट लडी मेरो घरमा बोलाएको धामीसँग किन वादविवाद गरेको भनी बाबुराम तामाङलाई लाठीले कुटेपछि निज बाबुराम तामाङले भिरेको खुकुरी निकाली हानेको जस्तो लागेको थियो । म डरले घरतर्फ लागें । मृतकलाई बाबुरामले मार्ने नियतले हानेको नभई तर्साउने हिसावले हानेको हुनुपर्छ । सम्बेदनसिल अंगमा चोट लाग्न गई सोही कारणबाट मृतकको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मौकामा कागज गर्ने शुभाष राईले गरिदिएको मिति २०६१।८।१५ को कागज ।
जाहेरवालीको छोरा चन्द्रबहादुर वि.क.लाई जिल्ला संखुवासभा स्याबुन गा.वि.स. वार्ड नं. १ बस्ने बाबुराम तामाङले २०६१।७।२६ गते खुकुरी प्रहार गरी काटी मारेको भन्ने कुरा सुनी थाहा पाएको हुँ । आँखाले देखेको होइन भन्ने समेत व्यहोराको बस्तुस्थित मुचुल्कामा बस्ने अमृतबहादुर श्रेष्ठ समेत पाँच जनाको मिल्दोजुल्दो व्यहोराको मिति २०६१।८।१५ को वस्तुस्थित मुचुल्का ।
प्रतिवादीको बयान मौकामा बुझिएका सुवाष राई, ताराकुमार राई समेतको कागज, घटनास्थल लाश जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन मृतकको फोटो समेतको आधार प्रमाणबाट प्रतिवादी बाबुराम तामाङले मृतक चन्द्रबहादुर विश्वकर्मालाई खुकुरी जस्तो जोखीमी हतियारले हानी काटी कर्तव्य गरी मारेको प्रमाणीत भएको हुँदा निज प्रतिवादी बाबुराम तामाङले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १,१३(१) नं. बमोजिम कसूर गरेको हुँदा ऐ. १३(१) नं. बमोजिम सर्वश्व सहितको जन्मकैदको सजाय हुन माग दावी लिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
मृतक चन्द्रबहादुर वि.क. कुकुर तिहारको दिन मेरो मीलमा धान लिई आएका थिए । निजले नै मेरो घरमा पूजा छ आउनु भनी बोलाएकोले अं. बेलुकी ६ बजेको समयमा म लगायत तारा सर र अन्य गाउँले समेत गएकोमा धामी सुभाष राईले किन हल्ला गरेको भनी भन्दा सामान्य विवाद हुँदाहुँदै मेरो वायां पिठ्यूमा लाठीले एक्कासी प्रहार गर्यो । त्यो प्रहार गर्ने व्यक्ति मैले चिनिन । त्यसपछि मैले भिरेको खुकुरी निकाली मैले पछाडि नहेरी खुकुरी घुमाएँ, सोही अवस्थामा चन्द्रबहादुर वि.क.को टाउकोमा लागेको अनुमान गरें, जाहेरीमा उल्लेख भए जस्तो खुकुरी प्रहार गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी बाबुराम तामाङले शुरु जिल्ला अदालतमा गरेको मिति २०६१।८।२० को बयान ।
आदेशानुसार वादी प्रतिवादीको साक्षी बकपत्र भई सो बकपत्र मिसिल सामेल रहेको ।
मृतक र प्रतिवादी बीच वादविवाद हुँदा प्रतिवादी बाबुराम तामाङले मृतक चन्द्रबहादुर वि.क.लाई खुकुरी जस्तो जोखीम हतियार प्रयोग गरी निजको मृत्यू भएको देखिएकोले वादी दावी अनुरुप प्रतिवादी बाबुराम तामाङलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको संखुवासभा जिल्ला अदालतको २०६१।१२।२२ को फैसला ।
सामान्य विवादको विषयलाई लिएर मलाई लाठी प्रहार गरी कुटपिट आत्मरक्षाको लागि आपराधिक कार्य र अपराधिक मनसाय बिना खुकुरी घुमाउँदा अकस्मात चन्दबहादुर वि.क. लाई लाग्न पुगी परिस्थितीजन्य घटनाबाट निजको मृत्यु हुन पुगेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम मलाई सर्वस्वसहित जन्मकैद हुने ठहराई संखुवासभा जिल्ला अदालतबाट भएको फैसला फौजदारी न्यायको सिद्धान्त विपरीत भएको हुँदा न्यायपूर्ण फैसला गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी बाबुराम तामाङको पुनरावेदन अदालत धनकुटामा परेको पुनरावेदन पत्र ।
यसमा प्रयोग गरेको खुकुरी ज्यान मार्ने मनसायगत अवस्थामा छाडिएको भन्ने स्थिती नदेखिएकोले सबुत प्रमाणको मूल्यांकनको रोहमा शुरु फैसला फरक पर्न सक्ने देखिंदा पुनरावेदन सरकारी वकिल कार्यालय धनकुटालाई पेशीको सूचना दिई पेश गर्नु भनी मिति २०६२।१२।१४ मा पुनरावेदन अदालत धनकुटाबाट भएको आदेश ।
मृतक र प्रतिवादी बीच विवाद हुँदा धारिलो हतियार प्रयोग गरी चन्द्रबहादुर वि.क.को मृत्यु भएको देखिएको अवस्थामा प्रतिवादी बाबुराम तामाङलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सजाय हुने ठहर गरेको शुरुको फैसला मनासिव नै देखिंदा सदर हुने ठहर्छ । तर मृतकसँग प्रतिवादीको कुनै रिसईवी राखेको भन्ने देखिन नआएको हुँदा अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १२ (बाह्र) हुनुपर्ने चित्तले देखेकोले सोही बमोजिम हुनुपर्ने हुँदा राय सहित सर्वोच्च अदालतमा साधक जाहेरी गर्नु भन्ने पुनरावेदन अदालत धनकुटाबाट मिति २०६३।३।२२ मा भएको फैसला ।
मृतक र मेरो बीच कुनै रीसईवी छैन । अपराधिक मनसाय बेगर गरेको कार्यलाई अपराध मान्न मिल्दैन भन्ने फौजदारी कानूनको सर्वमान्य सिद्धान्त समेतको वेवास्ता गरी भएको शुरु र पुनरावेदन अदालतको फैसला मिलेको छैन । मलाई एक्कासी पिठ्युँमा लाठी प्रहार गरी कुटेपछि आत्मरक्षाको लागि अपराधिक मनसाय बिना खुकुरी घुमाउँदा मृतक चन्द्रबहादुर वि.क.लाई लाग्न पुगी परिस्थितजन्य घट्नाबाट निजको मृत्यू भएपछि भएको अर्थात घट्ना उल्लेख गर्न आफै प्रहरी कार्यालयमा गएको अवस्था हुँदाहुँदै मलाई सजाय गर्ने गरी भएको फैसला नेपाल कानुन तथा फौजदारी न्यायको सर्वमान्य सिद्धान्त प्रतिकूल छ । पछाडिबाट मेरो पिठ्युमा हिर्काउने मानिस को थियो देखिन, सोही अवस्थामा मैले भिरेको खुकुरी घुमाउँदा मृतकलाई लाग्न गई मृत्यु हुन पुगेको हो । यस्तोमा ज्यान सम्बन्धी महलको १३(१) नं. लगाई सजाय गरेको हुँदा उक्त फैसला उल्टी गरी सफाई पाउँ, सफाई नभए पुनरावेदन अदालतबाट १२ वर्ष कैद गर्ने गरेको सजायलाई अलि कम गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक/ प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद न्यौपानेले प्रतिवादीको मृतक उपर कुनै रीस ईवी छैन, मृतकलाई मारौं भन्ने प्रतिवादीको नियत पनि मिसिलबाट देखिंदैन । यस्तो अवस्थामा ज्यान सम्बन्धी १३(१) नं. लगाई सर्वश्व सहित जन्मकैद गरेको पुनरावेदन अदालत समेतबाट भएको फैसला त्रुटिपूर्ण छ । तसर्थ प्रतिवादीलाई सफाई दिलाई पाऊँ । बैकल्पिक जिकिर यो छ कि प्रतिवादी उपर पुनरावेदन अदालतले अ.वं. १८८ नं. बमोजिम १२ वर्ष सजाय हुने भनी राय व्यक्त गरेकोमा सो मा घटाई कम सजाय हुने गरी फैसला होस भन्ने समेत वहस गर्नुभयो । उपरोक्त वहस जिकिर समेतलाई मध्यनजर गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ ? हेरी निर्णय दिनुपर्ने देखियो ।
२. इन्साफतर्फ बिचार गर्दा, मिति २०६१।७।२६ गते घरमा जंगली पूजा भएकोमा पूजा गरिदिनको लागि आएका धामी सुवास राई र बाबुराम तामाङ्ग बीच बिवाद झगडा हुँदाहुँदै बाबुराम तामाङले कम्मरमा भिरेको खुकुरी निकाली मेरो छोरा चन्द्रबहादुर विश्वकर्मालाई टाउकोमा प्रहार गरेको कारण मृत्यु भएको हुँदा निज बाबुराम तामाङलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिपाउँ भनी मृतककी आमा विष्णुमाया विश्वकर्माको परेको जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान तहकिकात भएको पाईन्छ । अनुसन्धान तहकिकातको क्रममा भएको घटनास्थल तथा लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान, मौकामा बुझिएका व्यक्तिहरुको कागज समेतबाट प्रतिवादी बाबुराम तामाङले मृतक चन्द्रबहादुर विश्वकर्मालाई खुकुरीले हानी काटी कर्तव्य गरी मारेको देखिएको आधारमा निज प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुन अभियोग माग दावी लिएको पाईयो । शुरु जिल्ला अदालतले प्रतिवादी बाबुराम तामाङलाई अभियोग दावी बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्याई फैसला गरेकोमा पुनरावेदन अदालतले सो फैसला सदर गरी ठहरेको कैदको सजाय गर्दा चर्को पर्ने भनी अ.वं. १८८ नं. लगाई १२ (बाह्र) वर्ष कैद सजाय गर्न मनासिव हुने भनी राय व्यक्त गरेको पाईन्छ ।
३. मृतकको घरमा मिति २०६१।७।२६ मा भएको जंगली पूजामा सामेल भएका प्रतिवादीले आफूले कम्मरमा भिरी राखेको खुकुरीले मृतक उपर प्रहार भएको कारण मृतक चन्द्रबहादुर विश्वकर्माको मृत्यु हुन पुगेको भन्ने कुरामा प्रतिवादीको विमती रहेको छैन । प्रतिवादीले गरेको अधिकार प्राप्त अधिकारी समक्ष र अदालत समक्ष गरेको बयान समेतबाट साँझको समयमा मृतकको घरमा जंगली पूजाको लागि आएका धामी सुवास राईसँग सामान्य वादविवाद हुँदै गर्दा पछाडिबाट मलाई एक्कासी दाहिने काँधमा को कसले लाठीले हिर्काएकोले मैले वायाँ कम्मरमा भिरेको खुकरी निकाली पछाडि नहेरी पछाडि घुमाउँदा चन्द्रबहादुर वि.क.को टाउकोमा लाग्न गएछ भन्ने उल्लेख गरी प्रतिवादी उपर मार्ने मनसाय नभएको जिकिर लिएको पाईन्छ । लाश जाँच प्रकृति मुचुल्काबाट मृतकको बायाँ कन्चट, चल्नी, बायाँ कान माथि १५ से.मी. लम्वाई, ३ से.मी. चौडाई, ४ से.मी. गहिराईको चोट भएको उक्त चोटबाट रगत तथा गिदीका टुक्राहरु रगतसँग बगेको भन्ने देखिन आएको छ । पोष्ट मार्टम रिपोर्टबाट The cause of death is braning (head injury) leading to coma/haemorrhage भन्ने उल्लेख भएको पाईन्छ । यसबाट मृतक उपर जोखिमी धारिलो हतियार मृतकको टाउको जस्तो संवेदनसिल अंगमा प्रतिवादीबाट प्रहार भएको कारण चन्द्रबहादुर विश्वकर्माको मृत्यु भएको पुष्टि हुन आउँछ ।
४. जहाँसम्म प्रतिवादीले आफूलाई पछाडिबाट हिर्काएकोले साँझको समयमा पछाडिपट्टि नहेरी आफूले भिरी राखेको खुकुरी घुमाएकोले कसैलाई मार्ने नियत नरहेको र मृतक उपर कुनै पूर्व रीस ईवी पनि नरहेको भन्ने जिकिर लिएको देखिन्छ, त्यसतर्फ बिचार गर्दा मृतकको घरमा साँझको समयमा जंगली पूजामा गाउँघरका मानिसहरु भेला जम्मा भएको भीडमा आफूले प्रहार गरेको खुकुरीले जो कोहिलाई लाग्न सक्छ भन्ने प्रतिवादीले स्वतः अन्दाज गर्न सक्ने कुरा हो । त्यसमा पनि धारिलो हतियारको प्रयोगबाट मानिस मर्न सक्छ भन्ने सामान्य समझ भएका जो कोही मानिसले अनुमान गर्न सक्तछ । मुलुकी ऐन ज्यान सम्बन्धीको १३(१) नं.मा धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जति जना भई हतियार छाडेको छ, उतिजना ज्यानमारा ठहर्छन् । सर्वश्वसहित जन्मकैदको सजाय गर्नुपर्छ भन्ने उल्लेख भएको र ऐ. १४ नं. ले धारिलो हतियारको प्रहारलाई समेटेको नदेखिएको सन्दर्भमा खुकुरी जस्तो धारिलो हतियारको प्रहार गर्ने प्रतिवादीले पुनरावेदन पत्रमा जिकिर लिए बमोजिम आत्मरक्षाको लागि प्रहार गरेको भन्न मिल्ने अवस्था रहदैन । मानिसको भीडमा खुकुरी प्रहार गर्ने प्रतिवादीको सो कृत्य भवितव्यपूर्वकको हत्यामा पर्छ भन्न मिल्ने पनि हुँदैन ।
५. तसर्थ प्रतिवादीले धारिलो हतियार खुकुरीको प्रहार गरेको कारण मृतक चन्द्रबहादुर विश्वकर्माको मृत्यु भएको मिसिल कागजातबाट देखिएको अवस्थामा प्रतिवादी बाबुराम तामाङलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम कसूरदार ठहर्याएको शुरु र पुनरावेदन अदालतको फैसला अन्यथा देखिएन । सो फैसला सदर हुने ठहर्छ ।
६. जहाँसम्म पुनरावेदन अदालतले प्रतिवादीलाई भएको सजाय चर्को पर्ने भनी कम सजाय हुन राय व्यक्त गरेको सन्दर्भ छ, कसै उपर कुनै पूर्व इवी नभई तत्काल उत्पन्न परिस्थितीबाट उक्त घटना घट्न गएको, प्रतिवादीले आफ्नो भएको व्यहोरा उल्लेख गरी प्रहरीमा उपस्थित हुन आएको, भएको सत्य साँचो व्यहोराको बयान दिई अनुसन्धान तथा मुद्दाको पूर्पक्ष गर्न सहयोग गरेको, सातजना परिवारलाई पाल्नु पर्ने दायित्व बोकेका ३९ वर्ष मात्र उमेर भएका प्रतिवादीलाई ठहरे बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने स्थितीमा अ.वं. १८८ नं. प्रयोग गरी निजलाई कैद वर्ष १२ (बाह्र) को सजाय हुन पुनरावेदन अदालत धनकुटाले व्यक्त गरेको राय न्यायसँगत हुदा सो राय समेत सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए अनुसार पुनरावेदक प्रतिवादी बाबुराम तामाङको हकमा शुरु र पुनरावेदन अदालतको फैसला सदर भई ठहरेको सजायको हकमा सम्म अ.बं. १८८ नं. बमोजिम १२ (बाह्र) वर्ष कैद हुने भएकोले जन्मकैद हुने गरी राखेको लगत संशोधन गरी यस अदालतबाट ठहरेको १२(बाह्र) वर्ष कैदको लगत राख्नु भनी शुरु जि.अ. मा लेखि पठाउनु ....१
यो फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी बाबुराम तामाङलाई तथा महान्यााियधवक्ताको कार्यालयलाई दिनु .....२
मिसिल नियमानुसार बुझाई दिनु .......३
उक्त रायमा सहमत छु ।
न्या.गौरी ढकाल
इति संवत् २०६५ साल असार १८ गते रोज ४ शुभम्..........
ई.अ.नृपध्वज निरौला