शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९८८ - कर्तव्य ज्यान ।

भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक:

निर्णय नं.७९८८     ने.का.प. २०६५      अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री बलराम के.सी

सम्बत् २०६४ सालको फौ.पु.नं. .....०१६०

आदेश मितिः २०६५।७।२७।४

 

मुद्दाःकर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः गोरखा जिल्ला पन्दुङ गा.वि.स वडा नं. २ घर भै कारागार कार्यालय काभ्रेपलाञ्चोकमा थुनामा रहेको गंगाबहादुर गुरुङ   

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जयबहादुर गुरुङको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.जि.न्या श्री काशीनाथ पोखरेल

पुनरावेदन फैसला गर्नेः

का.मु.मु.न्या ऋषिराज जोशी

मा.न्या.श्री ठाकुर प्रसाद शर्मा

 

§  मानसिक रुपले विक्षिप्त भएको व्यक्तिले आफुले गरेको कामको परिणाम के हुनसक्छ भन्ने बुझ्न समर्थ नहुने र त्यस्तो व्यक्तिमा कामको परिणामको लेखा जोखा गर्न सक्ने क्षमताको अभाव रहने ।

§  आफुले के गर्दैछु र त्यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने बुझ्न नसक्ने गरी मानसिक रुपमा रोगी भएको व्यक्तिले अपराध गरेमा त्यस्तो व्यक्तिलाई आपराधिक दायित्वबाट मुक्त गर्ने फौज्दारी विधीशास्त्रीय मान्यता हो र फौजदारी कसूरमा मानसिक विक्षिप्ततालाई वैध प्रतिरक्षाको रुपमा लिइएकाले यसको लागि प्रतिवादी अपराध गर्दाको अवस्थामा मानसिक रुपले विक्षिप्त भएको थियो भन्ने कुरा निःसन्देहात्मक रुपमा प्रमाणित भएको हुनुपर्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री भिष्मराज कडरिया

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छः

दाजु मिनबहादुरका छोरा प्रतिवादी गंगाबहादुर गुरुङको ४/५ वर्षदेखि मानसिक असन्तुलन भएको र मिति २०५९।९।२२ गते अं.३.३० वजे निज प्रतिवादीले श्रीमती पिरमाया गुरुङलाई सख्त घाइते हुने गरी कुटपिट गरेको खवर पाई घटनास्थलतर्फ जाँदा निज गंगाबहादुर गुरुङ फरार भैसकेको र पिरमाया गुरुङ वेहोस अवस्थामा लडिरहेको देखि उपचारको लागि म समेतले ल्याउँदै गर्दा बाटैमा मृत्यु भएकोले गंगाबहादुर गुरुङलाई पक्राउ गरी कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत ब्यहोराको जयबहादुर गुरुङले मिति २०५९।९।२३ मा दिएको जाहेरी दरखास्त ।

मृतक लाश रहेको स्थानमा रगत जमेको, कपाल रगतले भिजेको, नाक कानबाट रगत बगेको, दाया वायाँ कञ्चटमा दुवै तर्फ ३x१ इन्चको घाउ भएको भन्ने घटनास्थल तथा लास जांच मुचुल्का ।

The cause of death was head injury भन्ने शव परिक्षण प्रतिवेदन ।

मलाई वेला बखत रिस उठ्ने टाउको दुख्ने भईरहन्यो । मिति २०५९।९।२२ गते खाना खाने वेलामा श्रीमती पिरमायाले खानामा मुसा मार्ने विष मिसाएको भन्ने विषयमा विवाद झगडा परी कुटपिट गर्दा निज श्रीमती भागेकी र लखेट्दै जाँदा घर देखि करिव ३/४ शय गज पश्चिम निमबहादुर गुरुङको जग्गामा भेटाई उतिसको लाठोले टाउकोमा ४ पटक र पिठ्युमा एक प्रकट प्रहार गर्दा वेहोस भई लडेकी र घरमा आउँदा छिमेकीहरु जम्मा हुन थालेकोले घरबाट भागेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ।

प्रतिवादी गंगाबहादुर गुरुङको स्वास्थ्य परिक्षण गर्दा Paranoid personality भन्ने समेत गोरखा अस्पतालको प्रतिवेदन ।

प्रतिवादी गंगाबहादुर गुरुङको मानसिक अवस्था ठिक रहेको र गोरखा अस्पतालको जाँच रिपोर्टमा Paranoid personality भन्ने लेखिएकोमा personality बारेमा बुझ्नु पर्दा निजको नजिकको नातेदार तथा आफन्तबाट निजको बारेमा बुझ्नु पर्ने देखिन्छ भन्ने समेत मानसिक अस्पताल पाटन ललितपुरको जाँच प्रतिवेदन पत्र ।

प्रतिवादी गंगाबहादुर गुरुङ्गको विगत ४/५ वर्ष देखि मानसिक असन्तुलन भएको थियो । निज कहिले टोलाउने, कहिले एकोहोरिने गर्दथे । मिति २०५९।९।२२ गते श्रीमतीलाई कुटपिट गरी सख्त घाईते तुल्याएको भन्ने खवर पाई जाँदा प्रतिवादी फरार भएको र घाईतेलाई वेहोस अवस्थामा देखि उपचार गर्न लाँदालाँदै मृत्यु भएको भन्ने समेत ब्यहोराको मिति २०५९।१०।२० को वस्तुस्थिति मुचुल्का ।

अनुसन्धानको क्रममा संलग्न सवूत प्रमाणको मूल्याङ्कन गर्दा प्रतिवादी गंगाबहादुर गुरुङले मुलुकी ऐन, ज्यान सम्बन्धीको १ र १३(३) नं. विपरीत कसूर गरेको देखिंदा ऐ. १३(३) नं. बमोजिम सजाय गरी पाउँ भन्ने समेत ब्यहोराको अभियोग मागदावी ।

विगत ४/५ वर्ष देखि मलाई अचानक रिस उठ्ने, कानमा झ्याउ झ्याउ हुने भईरहन्थ्यो । २०५९।९।२२ गते विहान भात खाने वेलामा भातमा मुसाको विष जस्तो देखि श्रीमतीसँग सोधपुछ गर्दा श्रीमती केही नवोली भागिन् । लखेट्दै जाँदा निम बहादुरको वारीमा फेला पारी साथमा लगेको उतिसको काठले टाउकोमा चार पटक, १ पटक पातामा हानी लडे पछि घ्याम्पेसाल वजार तर्फ गई वेलुका घरमा आएको हुँ । तत्पश्चात गाउँलेहरुले घेरा हाली समाती बाँधी प्रहरीमा बुझाएको हुन् भन्ने समेत ब्यहोराको प्रतिवादी गंगा बहादुर गुरुङ्गले अदालतमा गरेको बयान । 

प्रतिवादी गंगाबहादुर गुरुङ पहिले शाही नेपाल सेनामा कार्यरत हुँदा निजको मानसिक अवस्था सामान्य रहेको र पछि जागिर छाडी आएपछि मानसिक अवस्था असन्तुलन भई अचानक रिस उठ्ने झर्किने जस्तो क्रियाकलाप गर्दथ्यो । मिति २०५९।९।२२ गते निजले श्रीमतीलाई कुटपिट गरी भागेको र वेहोस अवस्थामा उपचारार्थ लादालादै मृत्यु हुन गएको हो र निजसँग सोधपुछ गर्दा श्रीमतीलाई मारेको हुँ मलाई जे गर्नुहुन्छ गर्नुहोस भनेका हुन् भन्ने समेत व्यहोराको जाहेरवाला जयबहादुर गुरुङ र सोही व्यहोरा मिलानको अन्य बुझिएका व्यक्ति भिमकुमार गुरुङको तथा प्रतिवादीले श्रीमतीलाई मारेको कुरा सुनेको हुँ भन्ने समेत ब्यहोराको सन्तसिंङ गुरुङको पृथक पृथक बकपत्र ।

प्रतिवादी गंगाबहादुर गुरुङले मृतक पिरमाया गुरुङलाई लाठीले हिर्काई मारेको पुष्टि भएको हुँदा अभियोग दावी अनुसार गंगाबहादुर गुरुङलाई सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु गोरखा जिल्ला अदालतको २०६०।२।१३ को फैसला ।

गोरखा जिल्ला अदालतको २०६०।२।१३ को फैसला साधक जाँचको लागि पुनरावेदन अदालतमा साधकमा दर्ता भएको ।

गोरखा जिल्ला अदालतको मिति २०६०।२।१३ मा प्रतिवादी गंगाबहादुर गुरुङलाई सर्वश्व सहित जन्मकैदको सजाय गर्ने गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पोखराको २०६३।१२।२५ को फैसला ।

पुनरावेदन अदालत पोखराले शुरु अदालतले जस्तै प्रतिवादीले मौका र अदालतमा गरेको वयानलाई फैसलाको मुल आधार लिएको छ, सो वयान साविती नभई तथ्यको स्वीकारसम्म हो । प्रहरीले पक्राउ गरी गराएको वयान तथा शुरु अदालतमा भएको वयानले प्रमाणको रुप ग्रहण    गर्दैन । प्रतिवादीको मानसिक अवस्था सन्तुलनमा नभएको भनी खुलाइएको बारेमा डाक्टर जाँच गराउदा गंगाबहादुरको मानसिक अवस्था ठीक छ भनी आएको अस्पतालको पत्र भन्ने कुरालाई आधार लिएको अपूर्ण छ । मानसिक अस्पताल पाटनले दिएको पत्रमा निजको तत्कालीन मानसिक अवस्था ठीक छ भन्दै निजको Paranoid Personality भनी सो बारेमा निजको नातेदार तथा आफन्तसँग बुझ्नु पर्ने देखिन्छ भन्ने उल्लेख भएकोमा प्रतिवादीको मानसिक अवस्थालाई वेवास्ता गर्दै जसरी भए पनि कसूर स्थापित गर्ने नियतले फैसला गरिएको छ । प्रतिवादीको मानसिक अवस्थाको पहिचान नगरी डाक्टरी रिपोर्टको पूर्ण रुप नहेरी केही अंशलाई लिई हदैसम्म सजाय गरेको फैसलामा न्यायीक मनको अभाव छ । प्रतिवादीका काकाले दिएको जाहेरीमा म पुनरावेदकको मानसिक अवस्था ठिक नभएको भनी उल्लेख छ । मौकामा बुझेका व्यक्तिहरुले सो कुरा लेखाई अदालतमा पुष्टि गरिदिएका छन् । मेरो स्वास्थ्य मानसिकतामा मार्ने मनसाय नभई मानसिक रोगको कारण उत्तेजित भई घटना हुन पुगेको वयानमा स्पष्ट पारेको हुँदा मेरो मानसिक अवस्थाको पूर्ण परिक्षण नभई कसूरदार कायम गर्न नमिल्ने कानूनले नै व्यवस्था गरेको छ । अतः बझ्नु पर्ने कुरालाई नबुझी हेर्नु जाँच्नु पर्ने प्रमाणको यथोचित परीक्षण नगराई घटनावलीको परिवेश र अभियुक्तको अवस्थाको समग्र विश्लेषण र विवेचना नगरी अभियोजन पत्रलाई समर्थन गर्दै सर्वश्व सहित जन्मकैद हुने शुरुको फैसला सदर गर्ने पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सफाई दिलाइपाऊँ भन्ने प्रतिवादीको यस अदालतमा २०६४।६।१० मा दर्ता भएको पुनरावेदन पत्र ।

२.    नियम बमोजिम पेशी सूचीमा चढी आज यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दासँग सम्बन्धित सम्पुर्ण मिसिल कागजात अध्ययनगरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता भीष्मराज कडरियाले प्रतिवादी मानसिक रुपमा अस्वस्थ रहेको कुरा जाहेरीले देखाएको, निज मनोरोगले विक्षिप्त रहेको मानसिक अस्पतालको पत्रमा उल्लेख भएको, प्रतिवादी मानसिक रोगले ग्रस्त देखी सोही आधारमा कारागार शाखा काभ्रेमा पठाई हालसम्म उपचार गराई रहेको अवस्थामा त्यस तर्फ ध्यान नै नदिई सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्‍याएको फैसला मिलेको छैन भनी गर्नु भएको बहस समेत सुनियो ।

३.    विद्वान अधिवक्ताको बहस एवं मिसिलबाट देखिएको तथ्य समेतलाई मध्यनजर गरी इन्साफतर्फ विचार गर्दा प्रतिवादी पुनरावेदकले आफ्नी पत्नी पिरमाया गुरुङलाई कुटपिट गरी मारेको भनी मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ नं. र १३(३) नं. को कसूरमा सोही महलको १३(३) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दावी देखियो । शुरु अदालतले प्र्रतिवादीलाई अभियोग मागदावी बमोजिम नै सर्वश्व सहित जन्म कैदको सजाय गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको पाइयो ।

४.    मृतक प्रतिवादीको पत्नी भन्ने देखिएको र निजको मृत्युको कारण टाउकोको चोट (Head injury) भन्ने लास जाँचको प्रतिवेदनमा उल्लेख भएको छ । प्रतिवादीले जिल्ला सरकारी वकिल कार्यालय गोरखामा गरेको वयानमा श्रीमतीले पौष १२, १३ र १४ गते खानामा मुसाको विष मिसाएर खान दिएकी, सुध्रने मौका दिएको, २२ गते खाना खान लाग्दा खानामा हरियो निलो जस्तो देखेर खानामा के मिसाएको, फेरि विष मिसाएको भनी सोध्दा होइन भनी पटक पटक इन्कार गरेकीले रिश उठी उत्तीसको लाठा उठाई कुटपिट गर्न लाग्दा श्रीमती भागेकीले पिछा गर्दै गई निम बहादुर गुरुङको जग्गामा फेला पारी सोही लाठाले टाउकोमा ४ पटक र पिठ्युंमा १ पटक प्रहार गरेपछि निज वेहोस भएकीले घर तिर फर्केको, घरमा छर छिमेकी भेला जम्मा हुन थालेकाले भागेको भन्ने उल्लेख गरेको देखिन्छ । अदालतमा बयान गर्दा विगत ४/५ वर्ष देखि अचानक रीश उठ्ने कानमा झ्याँउ झ्याउँ हुने, सानो कुरामा पनि अचानक रीश उठ्ने गरेको, २०५९।९।२२ गते विहानको भात आफैले पकाई नुहाउन गएको, घर आउँदा श्रीमती घरमै भएकी, भात खान पस्कन खोज्दा भातको बीच भागमा मुसाको विष जस्तो कालो हरियो जस्तो ढिका र दालमा पनि त्यस्तै देखि शंका लागी श्रीमतीसँग सोध्दा चुप लागेकीले पुनः सोधपुछ गर्दा भागेकीले रीश उठी पिछा गर्दै गई निम बहादुरको वारीमा फेला पारी साथमा लिएर गएको उत्तीसको लाठाले टाउकोमा ४ पटक र १ पटक पातामा हानी श्रीमती लडेपछि घ्याम्पेसाल बजार तर्फ गएको आफुले हिर्काए पछि श्रीमती घटनास्थलमा नै मरेकी हुन् भन्ने उल्लेख गरेको पाइन्छ ।

५.    प्रतिवादीले आफु मानसिक रोगले ग्रसित रहेको, मृत्तकलाई मार्ने मनशाय नरहेको भनी मानसिक विक्षिप्तताको प्रतिरक्षा लिन खोजेको देखियो । मानसिक रुपले विक्षिप्त भएको व्यक्तिले आफुले गरेको कामको परिणाम के हुनसक्छ भन्ने बुझ्न समर्थ हुँदैन र त्यस्तो व्यक्तिमा कामको परिणामको लेखा जोखा गर्न सक्ने क्षमताकोे अभाव रहने हुन्छ । आफुले के गर्दैछु र त्यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने बुझ्न नसक्ने गरी मानसिक रुपमा रोगी भएको व्यक्तिले अपराध गरेमा त्यस्तो व्यक्तिलाई आपराधिक दायित्वबाट मुक्त गर्ने फौज्दारी विधीशास्त्रीय मान्यता हो र फौजदारी कसूरमा मानसिक विक्षिप्ततालाई वैध प्रतिरक्षाको रुपमा लिईन्छ । यसको लागि प्रतिवादी अपराध गर्दाको अवस्थामा मानसिक रुपले विक्षिप्त भएको थियो भन्ने कुरा निःसन्देहात्मक रुपमा प्रमाणित भएको  हुनुपर्छ ।

६.    मुलुकी ऐन, दण्ड सजायको १ नं. को व्यवस्था हेर्दा कानुन बमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफुले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन ... भन्ने उल्लेख भएको देखिन्छ ।

७.    यो कानूनी व्यवस्था प्रतिवादीको हकमा आकर्षित हुन सक्छ वा सक्दैन भन्ने तर्फ हेर्दा प्रतिवादीले आफुलाई विगत ४/५ वर्ष देखि अचानक रिस उठ्ने, कानमा झ्याँउ झ्याँउ हुने, सानो कुरामा पनि अचानक रिस उठ्ने गर्दथ्यो भन्ने उल्लेख गरेको पाइन्छ । निज प्रतिवादीमा कहिलेकाहि अचानक रीश उठ्ने झर्किने जस्ता स्वभाव रहेको भन्ने जाहेरवाला जय बहादुर गुरुङ तथा अनुसन्धान अधिकारी समक्ष कागज गर्ने भिम कुमार गुरुङले अदालतमा वकपत्र गर्दा उल्लेख गरेको देखियो । कुनै कुरामा रीश उठ्नु र झर्किनु मानवीय स्वभाव र व्यवहारका प्रकृति हुन् । ती कुराहरु मानसिक विक्षिप्तता पुष्टि गर्ने आधार बन्न सक्दैनन् । मानसिक अस्पताल लगनखेल ललितपुरले जिल्ला प्रहरी कार्यालय गोरखालाई २०५९।१०।१४ मा च.नं. १७० बाट लेखेको प्रतिवेदन पत्रमा निजको Mental status Examination गर्दा हाल निजको मानसिक अवस्था सन्तुलनमा रहेको देखिन्छ भन्ने उल्लेख भएको पाइयो । मानसिक रोग विशेषज्ञले प्रतिवादीको मानसिक स्वास्थ्य जाँच गरी दिएको सो प्रतिवेदनलाई अन्यथा भन्न मिल्ने देखिदैन ।

८.    प्रतिवादीले जिल्ला सरकारी वकिल कार्यालयमा गरेको वयानमा श्रीमतीलाई लखेट्दै गई फेला पारी लाठाले कुटपिट गर्दा वेहोस भै लडेपछि घर आउँदा छिमेकी भेला जम्मा हुन थाले पछि घरबाट भागेको भन्ने उल्लेख गरेको र उक्त वयान आफुले स्वेच्छाले गरेको भनी अदालतमा स्वीकार गरेको पाईयो । आफ्नी पत्नीलाई कुटपिट गरी लडाएपछि घर आउँदा छिमेकीहरुको डरले भागेको भन्ने प्रतिवादीको भनाई हुँदा निज आफ्नो कामको परिणाम थाहा नपाउने अवस्थामा थिए भन्न सकिने अवस्था पनि देखिएन । निज प्रतिवादीले मौकाको वयानमा र अदालतको वयानमा समेत सोधिएको प्रश्नको युक्तियुक्तढंगले जवाफ दिएको देखिएको तथा वारदात अगाडि र पछि अस्वभाविक व्यवहार देखाएको भन्ने मिसिलबाट देखिन आएको छैन । प्रतिवादी मानसिकरुपमा अस्वस्थ रहेको भन्ने अपुष्ट भनाई बाहेक अन्य प्रमाण मिसिलबाट नदेखिंदा निजले मार्ने नियतले नै पत्नीलाई लखट्दै गई  लाठाले  पटक पटक टाउकामा प्रहार गरी निज लडेपछि भागेको भन्ने देखिन आएकोले प्रतिवादी गंगाबहादुर गुरुङलाई अभियोग दावीबाट सफाई दिन सकिने अवस्था नहुँदा निजलाई सर्वश्व सहित जन्म कैदको सजाय गर्ने गरेको गोरखा जिल्ला अदालतको २०६०।२।१३ को फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको २०६३।१२।२५ को फैसला मिलेकै देखिदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदकलाई फैसलाको जनाउ दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई  दिनु  ।

 

उक्त रायमा मेरो सहमत छ ।

 

न्या.वलराम के.सी.

 

इति सम्वत् २०६५ कार्तिक २७  गते रोज ४ शुभम् ......

 

इजलास अधिकृतःदीपककुमार दाहाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु