निर्णय नं. ७९९० - कीर्ते जालसाज ।

निर्णय नं.७९९० ने.का.प. २०६५ अङ्क ७
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
सम्वत २०५७ सालको दे.पु.नं. २४६२
फैसला मितिः २०६५।२।२०।२
मुद्दा :– कीर्ते जालसाज ।
पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, कप्तानगंञ्ज गा.वि.स. वडा नं. ५ बस्ने बन्देश्वरप्रसाद मेहता समेत
विरुद्ध
प्रत्यर्थी वादीः जिल्ला सुनसरी, कप्तानगंञ्ज गा.वि.स. वडा नं. २ बस्ने, सत्यदेव सिंह मरी मु.स.गर्ने सुहागवती सिंह राजपुत
शुरु फैसला गर्ने
मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री प्रेम शर्मा
मा.न्या. श्री राजेन्द्रप्रसाद राजभण्डारी
§ विवाद नभएको विषयमा विशेषज्ञले दिएको राय आफैंमा स्वीकारयोग्य नहुने ।
(प्रकरण नं.५)
§ अदालतबाट फैसला भै अन्तिम भैरहेको अबस्थामा सो फैसला अन्यथा हुने गरी लिखतको औचित्यमा प्रश्न उठाई जालसाजीमा फिराद दिने र त्यस्तो फिरादबाट सो फैसलालाई असर गर्ने गरी सो लिखत जालसाजी हो होइन भनी अदालतले न्याय निरोपण गर्दै जाने हो भने अन्तिम भई बसेका जुनसुकै फैसला उपर जहिलेसुकै पनि फिराद दिन सकिने स्थित उत्पन्न हुने ।
§ साधिकार अदालतबाट थैली समेत भराई दिने ठहर भै अन्तिम भैरहेको फैसलामा उल्लेखित लिखतलाई हाल आएर जालसाजी हो भनी छुट्टै फिराद गर्न नसकिने ।
§ लिखत जालसाजी भएतर्फ मौकैमा प्रतिवाद समेत गरी सद्दे किर्ते तर्फ बयान जीकिर गर्न सक्नुपर्नेमा प्रतिवाद गर्न समाव्हान वा इतलायनामा रीतपुर्वक तामेल नभएको कारणले असमर्थ भएको भए अ.व.२०८ नं को कानुनी व्यबस्था बमोजिम प्रतिउत्तर सरहको निवेदन दिई त्यस्तो इतलायनामा वेरीतपूर्वक तामेल भएको भन्ने जीकिर लिई कानुनी उपचारको बाटो अबलम्वन गर्न सक्नुपर्ने ।
(प्रकरण नं.६)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री विदुर विक्रम थापा र अशोक वराल
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.दामोदरप्रसाद शर्माः पुनरावेदन अदालत, बिराटनगरको मिति २०५६।३।२० को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः
म फिरादी नेपालमा जन्मेको भए पनि कामको सिलसिलामा मेरो स–परिवार भारतको मुजफ्फरपुर जिल्लामा गै नोकरी गरेको र मेरो बुबा आमा सुनसरी जिल्लाको कप्तानगंञ्ज गा.वि.स. वडा नं. २(ख) कि.नं. ८ को १–५–१० जग्गामा घर बनाई तुलफुल, बगैंचा समेत लगाई भोगी आएको जग्गा मातापिताको मृत्यु पश्चात मेरो नाउँमा नामसारी भै सकेको थिएन । उक्त जग्गा म आफैंले भोगचलन गर्दै आएकोमा उपरोक्त जग्गा वार्षिक रु.४,५००।– का दरले ठेक्कामा ०५१।०५२ सालको २ वर्षसम्म बाली लगाई खान पाउने गरी रु.९,०००।– मात्र बिपक्षी मध्येको निरस महतोबाट एकमुष्ट मिति २०५१।१।५ का दिन बुझी लिई निजलाई उक्त जग्गा सो रुपैयाँ बापत खान दिएकोमा निजले सो रुपैयाँको सुरक्षाको लागि कपाली तमसुक बनाउँदा अन्तरसाक्षीमा रामानुज सिंहलाई राखेको थियो । पछि उक्त तमसुकमा सुवालाललाई समेत साक्षी राखी कीर्ते खडा गरेछन् । ०५१।०५२ साल गरी २ वर्षको ठेक्का सिद्धियो, अब फेरि जग्गा कमाउन ठेक्का दिनु पर्यो भनी घरमा आउँदा जग्गाको बास रुख समेत काटेको देखी गाउँलेसँग बुझ्दा निरस महतोले म उपर लेनदेन मुद्दा दायर गरी प्रतिउत्तर नपरेको आधारमा एकतर्फी रुपमा मिति २०५२।८।२८ मा फैसला भएछ । उक्त फैसलाको नक्कल हेर्दा मैले खाँदै नखाएको कपाली तमसुक गरी दिंदा पनि रु.९,०००।– मात्र गरी दिएकोमा सो ९,०००।– अंकमा एउटा सुन्नाथपी रु.९०,०००।– र अक्षरमा नबहजारलाई नव अक्षरमा "व" लाई "ब" बनाई सो उपर दोलटो "नबै" बनाई रु.९,०००।– लिखतलाई अंक अक्षर थपी ऐन बमोजिम रीतपूर्वक सहिछाप भै रहेको सच्चा लिखतमा कुनै व्यहोरासँग थपी मिलाई उडाई ९,०००।– को लिखतलाई ९०,०००।– को मतलब निस्किने गरी कीर्ते गरी सो कीर्ते गरेको कारणले मेरो हक मेटिने, नोक्सान पार्ने नियतले नभए नगरेको झुठ्ठा कुरा गरे भएको हो भनी मिति, अंक, व्यहोरा, थपी फरक पारी बिपक्षीहरु सबै मिली कीर्ते कागजको १ र ३ नं.ले निषेध गरेको अपराध गरेकाले तत्सम्बन्धमा सक्कल लिखत हेर्न पाएका अवस्थामा अझ सविस्तार विपक्षको अपराधको वर्णन गर्ने नै हुँदा ९,०००।– लाई ९०,०००।– बनाई बिपक्षीहरुले त्यस्तो कीर्ते जालसाजी कार्य गरेकोमा कीर्ते कागजको ७ र १० नं. बमोजिम हदैसम्मको सजाय गरी कीर्ते तमसुक निस्कृय घोषित समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
बिपक्षीको दावी अनुसार ९,०००।– लाई ९०,०००।– र अक्षरमा नव लाई नवै बनाई कीर्ते गरेको होइन, छैन । बिपक्षीलाई मैले रु. ९०,०००।– गनी गनाउ गरी दिई निजले रुपैयाँ बुझी बन्देश्वर मेहताले तमसुक लेखी बिपक्षीले सहिछाप गरी सुबालाल र रामानुज साक्षी बसेका छन् । लिखत सही सत्य व्यहोराबाट भएको हो । लिखतको सहीछाप अन्यथा भन्न सकेको छैन । बिपक्षीको जग्गा कमाउन दिएको पनि होइन । जग्गा कमाउन दिंदा र लिंदाको अवस्था करार शर्तको लिखत हुने गर्दछ, नकि रुपैयाँ लेनदेनको । यसबाट जग्गा कमाउन दिएर रुपैयाँ लेनदेनको कागज गरी दिएँ भन्ने कुरा नै स्वयम्मै पत्यारलायक छैन । जहाँसम्म लिखत सच्याइयो भन्ने दावी छ, त्यो अवस्था लिखतबाट देखिँदैन । बिपक्षी र निरस महतो– बीच रु. ९०,०००।– को लेनदेन कारोबार भएकोले लिखत लेखिदिनुहोस् भनी म बन्देश्वरलाई भन्नु भएकोले मैले रु.९०,०००।– को नै लिखत लेखिदिएको र सो लिखत हेरी पढी बुझी बिपक्षीले सहिछाप गर्नु भएको हो । लिखत भै सकेपछि म सुवालाल साक्षी बसेको हो । तसर्थ जालसाजी गरियो भन्ने सम्पूर्ण वादी दावी विल्कुलै झुट्टा हो भन्ने समेत व्यहोराको प्र. निरस महतो, बन्देश्वर महतो र सुवालाल महतो समेतको संयुक्त प्रतिउत्तरपत्र ।
वादीका साक्षी श्री लाल मेहता र प्रतिवादीका साक्षीहरु विलास यादव र महादेव महतोले गरेको बकपत्र मिसिल सामेल रहेको ।
मिति २०५१।१।५।२ को सक्कल लिखत देखाउँदा हेरे देखे । सोमा भएको सहिछाप मैरै हो, तर मैले निज बिपक्षीलाई रु.९,०००।– को कागज मात्र गरी दिएकोमा पछि गएर बिपक्षीले सो ९,०००।– मा एउटा सुन्ना थपी अक्षरमा पनि नवलाई नबै अर्थात् "व" लाई "ब" बनाई अक्षर समेत कीर्ते गरी साक्षीमा समेत दोश्रा साक्षी सुवालाल समेत पछि थपी कीर्ते गरी मेरो हक मेट्ने कार्य गरेकाले बिपक्षीलाई हदैसम्मको सजायँ गरिपाऊँ भन्ने समेत व्यहोरा मिति २०५४।५।४ को वादीका वारेस लोमसबहादुर पौडेलको सनाखत बयान ।
वादीको बयान झुट्टा हो । सक्कल लिखत रु.९०,०००।– कै हो, । पछिबाट सुन्ना थपी ९,०००।– लाई ९०,०००।– बनाएको होइन र "व" को अक्षरलाई सच्चाइएको पनि होइन । लिखत सद्दे हो, जालसाजी होइन भन्ने समेत व्यहोराको प्रतिवादीका वारेश कुमार बरालले गरेको बयान ।
वादीले आफ्नो फिरादपत्रमा प्रतिवादीबाट जग्गा भोग गर्न दिए बापतको रकम बुझेको भनेकोमा लिखतमा घर खर्च गर्न बापत तथा अरु साहुको ऋण तिर्न बापत रकम सापट लिएको भनी उल्लेख भएबाट वादीको दावी जिकिरसँग लिखत व्यहोरा मिल्न आएको देखिएन । लिखतमा उल्लेख भएको अंक अक्षरलाई हेर्दा वादी जिकिर अनुसार पछि शुन्य थपेको भन्ने देखिन आउँदैन । अतः वादी जिकिर अनुसार विवादित लिखतमा अंक कीर्ते गरेको भन्ने देखिन नआएबाट वादीको दावी पुग्ने ठहर्दैन भन्ने समेत व्यहोराको मिति २०५४।६।५ को शुरु सुनसरी जिल्ला अदालतको फैसला ।
मिति २०५१।१।५ को सक्कल कपालीमा जम्मा ९,०००।– नौ हजारको मात्र लिखत भएकोमा सो ९,०००।– को अंक अक्षर थपी ९०,०००।– नब्बे हजार बनाएकाले सो हदसम्म कीर्ते र अमान्य घोषित गरिपाऊँ भन्ने मुख्य दावी भै मुख नमिलेको कुरा सोही भएकोमा सो हदसम्म मुद्दाको सम्बद्ध तथ्य मुद्दामा ठहर गर्नु पर्ने विषय भएकोले सोमा अ.बं. ७८ नं. को कार्यविधि पूरा भै सकेपछि सो सक्कल लिखतलाई हस्तरेखा विशेषज्ञ कहाँ जँचाए पछि मात्र थपेको हो, होइन सो यकिन गरी सद्दे कीर्ते छुट्याउने फैसला गर्नु पर्नेमा सो लिखतलाई जँचाउँदै नजँचाई शुरु फैसला भएको हुँदा प्रस्तुत मुद्दामा उल्लेखित सक्कल लिखत जाँच गरी ९(नौ) लाई नब्बे बनाएको हो, होइन, सो यकिन गरी शुरु सुनसरी जिल्ला अदालतबाट गरेको मिति २०५४।६।५ को फैसला बदर गरी मेरो फिराद दावी बमोजिमको हक इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको तर्फबाट पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
पुनरावेदक वादीले लेनदेन मुद्दामा पेश भएको २०५१।१।५ को लिखतमा उल्लेख भएको रु. ९,०००।– लाई रु.९०,०००।– बनाई प्रतिवादीले कीर्ते गर्यो भनी दावी गरेपछि अनुसन्धान तहकिकात नै नगरी शुरु सुनसरी जिल्ला अदालतले दावी पुग्न नसक्ने भनी ०५४।६।५ मा गरेको निर्णय कानुनी त्रुटि गरी गरेको देखिँदा अ.बं.२०२ नं.बमोजिम बिपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०५४।१२।१८ को पुनरावेदन अदालतको आदेश ।
रेखा तथा लेखा विशेषज्ञको प्रतिवेदन हेर्दा थैली अंक ९०,०००।– को अन्तिम शुन्यको आकार अलि लाम्चिलो आकारमा अन्य शुन्यको तल्लो भाग भन्दा केही तल पुगी लेखिएको थैली अक्षर रुपीको नवैको "व" को लेखाइमा देखिएको लिखतको मूल स्वभावसँग सोही तमसुकको अन्य "व" अक्षरमा लेखिएको लिखतको मूल स्वभावसँग मेल नभएको भन्ने बुँदा समेतको आधारबाट कपाली तमसुकको थैली अंक ९,०००।– मा शुन्य थपी ९०,०००।– बनाएको र अक्षरुपीको "नौ" लाई "नवै" बनाएको देखिएको उक्त तमसुकको अन्तरसाक्षी सुवालाल महतोको नाम ठेगाना र सही लिखत लेखिएकै कलम र मसीले नलेखिई पछि अर्कै कलम र मसी प्रयोग गरी लेखेको पाइएको भन्ने उल्लेख भई आएको देखिँदा कपाली तमसुकको थैली रु. ९,०००।– को अंकमा पछाडि शुन्य थप गरी ९०,०००।– बनाई साथै नौ हजारलाई नवै हजार बनाई कीर्ते गरी वादी पुनरावेदकलाई प्रत्यक्ष नोक्सानी गरी आफूलाई अनुचित फाइदा गर्ने दुष्प्रयास गरी कीर्ते कागजको १ नं. ले गरेको परिभाषा विरुद्धको अपराध गरी उक्त ऐनको २ नं. विपरीत कीर्ते गरेको ठहर्छ, भन्ने समेत व्यहोराको मिति २०५६।३।२० को पुनरोदन अदालत, विराटनगरको फैसला ।
फिरादीले फिराद गर्दाका अवस्थामा लिखतमा यो यस मितिमा यो ठाउँमा बसी सच्याएको कीर्ते गरेको भनी स्पष्ट दावी लिन सक्नु पर्नेमा त्यस्तो दावी छैन । विशेषज्ञले व्यक्त गरेको राय निज अदालतमा साक्षीको रुपमा उपस्थित भै बकपत्र नगरेसम्म प्रमाणमा लिन मिल्ने अवस्था पनि हुँदैन । वादी म पुनरावेदक निरस महतोले प्रत्यर्थीका पति सत्यदेव सिंह उपर लेनदेन मुद्दा दिई फैसला भइसकेको र सो फैसला उपर पुनरावेदन नपरी अन्तिम भएको छ । अ.बं. २०८ नं. को अवस्था पनि छैन । त्यस्तो अन्तिम भैरहेको फैसला मान्न अ.बं. ८५ नं. तथा न्याय प्रशासन ऐन, ०४८ को दफा १९(१) बमोजिम प्रत्यर्थीं बाध्य छन् । लिखत हुँदाकै अवस्था लिखत साक्षी बसेको म बन्देश्वरले कीर्ते हो भन्ने जानी बुझी सही गरेको भन्ने अर्थ गर्न मिल्दैन । किनभने लिखत हुँदा नै बन्देश्वरबाट लिखत लेखाई सही गरे भन्ने वादीको कथन छ । यस अवस्थामा कीर्ते लिखत हो भन्ने कुरा जानी जानी साक्षी बसेको भनी हामीलाई सजायँ गर्ने गरेको फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भै बदर भागी छ । अतः शुरुले दावी नपुग्ने गरी गरेको फैसला उल्टाई कीर्ते गरेको ठहर्याई गरिएको फैसला प्रत्यक्ष कानुनी त्रुटिपूर्ण भै बदर भागी रहे भएकोले सो फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीहरु बन्देश्वरप्रसाद मेहता, सुवालाल महतो र निरस महतोको तर्फबाट यस अदालतमा दर्ता भएको संयुक्त पुनरावेदन पत्र ।
यसै लगाउको यिनै वादी प्रतिवादी पक्ष विपक्ष भएको दे.पु.नं. ६८४५ को फैसला बदर मुद्दामा आजै यसै इजलासबाट बिपक्षी झिकाउने आदेश भएकोले यसमा पनि बिपक्षीलाई छलफलको लागि झिकाई आएपछि पेश गर्नु भन्ने मिति २०६०।९।१४ को आदेश ।
यसमा विवादित मिति २०५१।१।५ गतेको कपाली तमसुकका सम्बन्धमा राय व्यक्त गर्ने रेखा विशेषज्ञ केशवबहादुर थापाको प्रमाण ऐन,२०३१ को दफा २३(७) अनुसार बकपत्र भएको नदेखिँदा निजलाई बकपत्रका लागि झिकाई बकपत्र कार्य सम्पन्न भएपछि लगाउको मुद्दा साथ राखी नियमानुसार पेश गर्नु भन्ने मिति २०६२।३।२० को आदेश ।
थैली अंकमा ९ पछि लेखिएका तीनवटा शुन्यको बीचको दुरी एक आपसमा फरक फरक ढंगबाट लेखिएकोले त्यस्तो लेख्ने लेखकले चौथो शुन्य थप्ने मनसायले उक्त भाग खाली छोडी त्यसपछि ठाडो धर्को तानेको देखिन्छ । यदि चौथो शुन्य लिखत लेखिएको अवस्थामा लेखिएको भए अन्य शुन्य सरह समानुपातिक ढंगले लेखिनु पर्थ्यो । सो नदेखिएको व्यहोरा रायपत्रमा १ देखि ७ सम्म स्पष्ट उल्लेख गरेर देखाएकै छु भन्ने समेत व्यहोराको मिति २०६२।७।७ को रेखा विशेषको बकपत्र ।
पुनरावेदक प्रतिवादीको वारेसले यस इजलास समक्ष प्रस्तुत मुद्दाको मिति २०५१।१।५ को लिखतमा अंक थप गरेको भन्ने विशेषज्ञले राय दिएको भए पनि निजको राय लिखतको चरित्रसँग मेल नखाने हुनुका साथै पछि लिखतमा त्यसरी अंक थप्ने गरी खाली स्थान रहन नसक्ने र लिखतमा अक्षरुपी समेत उल्लेख भै रहेको अवस्थामा विशेषज्ञ केशवबहादुर थापाले दिएको राय विश्वास योग्य नभएको हुनाले अन्य विशेषज्ञबाट समेत उक्त लिखत जाँच गरिपाऊँ भनी निवेदन दिएकाले लिखत जाँच गर्दा लाग्ने दस्तूर प्रतिवादी तर्फबाट दाखिल गराई विवादको मिति ०५१।१।५ को लिखतमा सत्यदेव सिंहले गरी दिएको सक्कल तमसुक लिखतको आठौं हरफमा अंकमा ९,०००।– लाई पछि सच्चाई ९०,०००।– बनाएको हो होइन ? अक्षरमा नौ हजारलाई नवै हजार बनाएको हो, होइन ? मौकामा साक्षी नबसी पछि साक्षीमा नाम थप गरिएका भनिएका सुवालाल महतोको नाम, सही र तमसुक लेख्दाको अवस्थाको समयको अन्तराल फरक देखिन्छ, देखिँदैन ? भन्ने सम्बन्धमा रोनाष्टका रेखा तथा लेखा विशेषज्ञबाट जाँच गराई विवादित लिखत जाँच गरी राय दिने विशेषज्ञको बकपत्र समेत गराई लगाउको मुद्दा साथै राखी नियमानुसार पेश गर्नु भन्ने मिति २०६३।५।१ को आदेश ।
लिखतमा रहेको ९०,०००। अंकहरु तथा नवै शब्दको प्रकृतिमा लिखत व्यहोराको अन्य अक्षरको तुलानामा कैफियत पाइन्छ । सुवालाल महतोको महलमा गरिएको दस्तखत तथा हस्ताक्षर स्बभाविक रुपमा उक्त लिखत ब्यहोरा लेखिएकै समयमा लेखिएको हो, होइन यकीन गर्न सकिएन भन्ने राष्ट्रिय बिधि बिज्ञान प्रयोगशालाका सहायक बैज्ञानिक अधिकृत मुकुल प्रधानको राय ।
लिखतको ९०,०००। अंकको पछिल्लो ०००० शुन्यको वनावटमा कलमको गति र आपसी दूरी कहींकतै नमिलेकोले एकरुपता नदेखिएको र "नबै" को पहिल्लो "बै" को बनावटमा पनि "ब" को सो अनुसारको बनाबट लिखतमा अन्यत्र नदेखिएको भन्ने निज मुकुल प्रधानको बकपत्र ।
नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फका बिद्वान अधिवक्ताद्वय बिदुर विक्रम थापा र अशोक बरालले बिवादित २०५१।१।५ को लिखतमा भएको सहीछापलाई वादीले स्वीकारै गरेको छन् । ९०००। लाई ९००००। कसले के कुन रीतबाट बनाई कीर्ते गरे भनी यकीन दाबी लिन सकेको छैन । आफैले सहीछाप गरेको लिखतको व्यहोरा कीर्ते गरे भन्नु मात्र पर्याप्त हुँदैन । कीर्ते गरेको भन्ने प्रमाणद्धारा पुष्टि हुनुपर्छ । कीर्ते दाबी प्रमाणित गर्ने भार वादीमै रहेकोमा सो पुष्टी गर्न सकेको छैन । लिखत जाँच गर्ने बिशेषज्ञको राय एवम् बकपत्र समेतबाट पनि लिखत ब्यहोरा कीर्ते नै गरी खडा गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन । विना प्रमाण र कानूनी आधार आफैले सहीछाप गरेको लिखत कीर्ते गरे भन्ने वादी दावी पुग्नै नसक्नेमा कीर्ते ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो फैसला बदर गरिपाऊँ भनी बहस प्रस्तुत गर्नुभयो ।
पुनराबेदन सहितको मिसिल अध्ययन गरी उपर्युक्त बहस बुँदा समेतलाई मनन गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? भन्ने सम्वन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, कि.नं. ८ को १–५–१० जग्गा प्रतिवर्ष रु.४,५०० का दरले २०५१ र २०५२ दुई वर्षको रु.९,०००। एकमुष्ट बुझी बिपक्षीलाई भोग गर्न दिएको र सो रुपैयाँ बुझेवापत मिति २०५१।१।५ मा कपाली तमसुक समेत गरिदिएकोमा बिपक्षीले उक्त कपाली तमसुकमा उल्लेखित रकम रु.९,०००। लाई रु.९०,०००। बनाएको र अन्तरसाक्षी समेत पछि थप गरी अंक अक्षर समेत कीर्ते गरी तमसुक जालसाजी रुपमा तयार गरेको र सोही तमसुक बमोजिम लेनदेन मुद्दा समेत दिई एकतर्फी फैसला गराएकोले सो तमसुकमा रहेको रु.९,०००। लाई रु.९०,०००। बनाएको कार्य जालसाजी घोषित गरीपाउँ भन्ने मुख्य मागदावी रहेको पाइन्छ । शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने गरी गरेको फैसला पुनरावेदन अदालत विराटनगरबाट उल्टी भै वादी दावी बमोजिम बिवादित लिखत कीर्ते जालसाज ठहर्याई फैसला भएकोमा सो फैसला उपर प्रतिवादीले प्रस्तुत पुनरावेदन यस अदालतमा दायर गरेको अवस्था छ ।
३. मिति २०५१।१।५ को विवादित लिखत वादी प्रतिवादीका बीच भएको तथ्यलाई बादीले स्वीकारै गरेको हुँदा सो लिखतमा भएको सहीछाप समेत कारणीकै भएकोमा विवाद हुने ठाउँ छैन । उक्त लिखतमा उल्लेखित रकम रु.९,०००। मा पछि एउटा "०" शुन्य सम्म कीर्ते गरी थप गरेको र अक्षरमा उल्लेखित "नब" शब्दलाई "नबै" बनाई थप गरेको र लिखत हुँदाका बखत अन्तरसाक्षीमा नबसेको व्यक्ति सुबालाल महतो समेत पछि थप गरी जालसाजीपूर्वक साक्षी र लिखतको अंक अक्षर समेत थपेको भन्दै सो हदसम्म वादीले दावी गरेको देखिन्छ । वादी दावीको सो लिखत व्यहोरामा थप भएको अंक र अक्षरको सम्बन्धमा यस अदालतका रेखा तथा लेखा विशेषज्ञबाट जाँच गराउँदा थैली अंक ९०,०००। को अन्तिम शुन्यको आकार अरु शून्यको आकार र लवजसंग मेल नखाने र अक्षरेपि "व" को लेखाईमा समेत अन्यत्र लेखिएको "व" को स्वभावसँग मेल नखाने भनी प्रतिवेदन दिई बकपत्र समेत गरेको भएता पनि सो रायलाई पुनरावेदकले विश्वास योग्य नभएकोले अर्को विशेषज्ञबाट जाँच गराई पाउँ भनी निवेदन दिएको र सो लिखत विधिविज्ञान प्रयोगशालाबाट जँचाउने गरी भएको आदेशानुसार जाँच हुँदा सो विवादित लिखतमा रहेको ९०,०००। अंकहरु तथा "नवै" शब्दको प्रकृतिमा लिखत व्यहोराको अन्य अक्षरको तुलनामा कैफियत पाइन्छ र अन्तरसाक्षी सुवालाल महतोको महलमा भएको दस्तखत तथा हस्ताक्षर स्वाभाविक रुपमा उक्त लिखत लेखिएकै समयमा लेखिएको हो, होइन यकीन गर्न सकिएन भन्ने विशेषज्ञको राय प्राप्त भएको र सोही व्यहोराको बकपत्रसमेत भएको देखिन्छ।
४. मिति २०५१।१।५ को विवादित लिखत हेर्दा थैली अंक रु.९०,०००। लेखिएको स्थानमा सो ९०,०००। अंक लेख्दा ९० पछि (,) कमा दिई सो कमा पछाडि तीन वटा शून्य (०००) लेखिएको देखिन्छ । त्यसरी अंकमा ९०,०००। लेख्दा वादीले जीकिर लिए जस्तो ९०००। को ठाउँमा एउटा ० (शून्य) थपी ९०००। लाई अंकमा ९०,०००। बनाएको अबस्था भए सो थैली रु ९०,०००। लेख्दा ९ भन्दा पछाडिको चारवटा शून्य (०) हरुमध्ये कुनै न कुनै (०) शून्य अस्वाभाविक रुपमा अर्को शून्यसँग जोडिएको देखिनु पर्ने थियो । तर लिखत हेर्दा सो ९०,०००। को लेखाईमा ९ पछिका चारवटै शून्य (०) अंक बराबरीको दूरीमा स्वाभाविक रुपमा लेखिई कमा पनि सही स्थानमा दिईएको देखिंदा शुन्य थप्दा हुने अस्वाभाविकता समेत लिखतमा देखिएको छैन ।
५. त्यस्तै अक्षरमा "नव" लाई नबै बनाएको भन्ने जीकिर तर्फ हेर्दा पनि सो "नबै" मा "ब" को ( ै ) ऐकारमध्ये पहिलो स्वाभाविक र दोश्रो सम्म केही केरिएको जस्तो देखिन्छ । सो ऐकार मध्ये पहिलो स्वाभाविक भए पछि त्यसैबाट अक्षरमा "नबे" हजार लेखिएको देखिन आउँछ । यसरी विवादित लिखतको अंक र अक्षरमा लेखिएको थैली अंक ९०,०००। तथा अक्षरमा "नबै" हजार समेत ९०००। "नव" हजारलाई ९०,०००। "नबै" हजार बनाएको भन्ने देखिंदैन । प्रस्तुत विवादमा कीर्ते भनी विवाद उठाएको "नव" लाई "नबै" बनाएको भन्ने हो । त्यसैले विवादित विषय अक्षरको "ब" नभई "बै" हो । तर सो लिखत जाँच गर्ने विशेषज्ञले विवादभन्दा बाहिर गई "ब" को लेखाई लिखतमा अन्यत्र लेखिएको "ब" सँग नमिलेको भनी राय दिएको देखिन्छ । विवाद नभएको विषयमा विशेषज्ञले दिएको राय आफैंमा स्वीकारयोग्य हुँदैन । साथै "ब" नभई "नबै" हुनसक्ने अवस्था पनि हुँदैन । त्यसैले "नबै" को "ै" ऐकार पछि थपेको हो होइन भन्ने सम्बन्धमा राय दिनुपर्नेमा "ब" को बिषयमा राय दिएको आफैमा मिलेको देखिएन ।
६. विवादित लिखतमा उल्लेखित ऋण रु ९०,०००। भराई पाउँ भनी पुनरावेदक निरस महतोले प्रत्यर्थीका पति सत्यदेव सिंह उपर दिएको लेनदेन मुद्दामा सुनसरी जिल्ला अदालतबाट फिराद दावी बमोजिम साँवा व्याज भराई पाउने गरी फैसला भै सो फैसला अन्तिम भै बसेको देखिन्छ । अदालतबाट विवादित लिखतमा उल्लेखित रकम भराई दिने गरी फैसला भै अन्तिम भैरहेको अबस्थामा सो फैसला अन्यथा हुने गरी लिखतको औचित्यमा प्रश्न उठाई जालसाजीमा फिराद दिने र त्यस्तो फिरादबाट सो फैसलालाई असर गर्ने गरी सो लिखत जालसाजी हो होइन भनी अदालतले न्याय निरोपण गर्दै जाने हो भने अन्तिम भई बसेका जुनसुकै फैसला उपर जहिले सुकै पनि फिराद दिन सकिने स्थिती उत्पन्न हुन जान्छ । तसर्थ साधिकार अदालतबाट थैली समेत भराई दिने ठहर भै अन्तिम भैरहेको फैसलामा उल्लेखित लिखतलाई हाल आएर जालसाजी हो भनी छुट्टै फिराद गर्न सकिने पनि हुँदैन । लिखत जालसाजी भएतर्फ मौकैमा प्रतिवाद समेत गरी सद्दे किर्ते तर्फ बयान जीकिर गर्न सक्नु पर्छ । यदि प्रतिवाद गर्न समाव्हान वा इतलायनामा रीतपुर्वक तामेल नभएको कारणले असमर्थ भएको भए अ.व.२०८ नं को कानुनी व्यबस्था बमोजिम प्रतिउत्तर सरहको निवेदन दिई त्यस्तो इतलायनामा वेरीतपूर्वक तामेल भएको भन्ने जीकिर लिई कानुनी उपचारको बाटो अबलम्वन गर्न सक्नु पर्दछ । प्रतिवादीले प्रस्तुत मुद्दामा प्रतिवादको मौका खोज्ने हो । त्यसको लागि आफ्नो नाममा तामेल भएको इतलायनामामा कुनै किसिमको कैफियत भए सो को जीकिर लिई कानुनी उपचारको बाटो समाई आउनु पर्ने हो । जसरी अन्य मुद्दाहरुमा त्यस किसिमको उपचारको बाटो सम्बन्धित पक्षले अवलम्वन गरिरहेको पाइन्छ । तर प्रत्यर्थी वादीले त्यस्तो उपचारको मार्ग नअपनाई फैसला भैसकेको लिखतका सम्बन्धमा जालसाजी भनी लिएको दावी उक्त कानुनी व्यबस्थाको परिप्रेक्ष्य समेतबाट समर्थित हुन सक्ने देखिंदैन ।
७. अदालतबाट फैसला भई अन्तिम भइरहेको मुद्दामा पेश भएको लिखतलाई जालसाजी किर्ते हो भनी दावी लिएको फिराद खारेज गर्नुपर्नेमा सो नगरी दावी नपुग्ने गरी भएको शुरुको फैसला सदर भएको अवस्थामा समेत तात्विक भिन्नता नपर्ने भएकोले उल्लेखित आधार कारण समेतबाट वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु फैसला उल्टी गरी वादी दावी बमोजिम लिखत व्यहोरा कीर्ते गरेको ठहर्याई पुनरावेदन अदालत, विराटनगरबाट मिति २०५६।३।२० मा भएको फैसला मिलेको नदेखिंदा उल्टी भै वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु सुनसरी जिल्ला अदालतको मिति २०५४।६।५ को फैसला सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
वादी दावी बमोजिम कीर्ते ठहर गरेको पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी नपुग्ने ठरेको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत, विराटनगरको मिति २०५६।३।२० को फैसलाको तपसिल खण्डको देहाय १ मा उल्लेखित लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नू भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउनु ..१
दायरी लगत कट्टा गरी मिसिल बुझाई दिनु ....२
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत २०६५ साल जेष्ठ २० गते रोज २ शुभम्..........
इजलास अधिकृत : विदुर कोइराला