शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९९५ - चिकित्सकको रुपमा दर्ता गराईपाउँ ।

भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक:

निर्णय नं.७९९५     ने.का.प. २०६५      अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी

सम्वत २०६३ सालको दे.पु.नं९०४८

आदेश मितिः २०६५।७।३।१

 

मुद्दा :चिकित्सकको रुपमा दर्ता गराईपाउँ ।

 

पुनरावेदकः का.जि.का.म.न.पा.वडा नं. ३ बाँसबारी स्थित नेपाल मेडिकल काउन्सिल समेत

विरुद्ध

प्रत्यर्थीः महोत्तरी बथनाहा गा.वि.स. वडा नं.६ घर भई हाल धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ९ साकेतनगर बस्ने सुरेश झा

 

शुरु निर्णय गर्नेः

नेपाल मेडिकल काउन्सिल

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री नन्दराजअधिकारी

मा.न्या. श्री दुर्गाप्रसाद उप्रेती

 

§  एउटै संस्थाबाट अन्य व्यक्तिहरुले प्राप्त गरेको प्रमाण पत्रले मान्यता पाइरहेको अवस्थामा प्रत्यर्थीले पेश गरेको प्रमाण पत्रले मान्यता नपाउनु पर्ने कारण, ठोस आधार प्रमाणबाट पुष्टि हुनुपर्ने ।

(प्रकरण नं.८)

§  चिकित्सकको रुपमा दर्ता हुन निवेदन पर्न आएमा जाँचबुझ गरी नाम दर्ताको निर्णय गर्ने अख्तियारवाला निकाय नेपाल मेडिकल काउन्सिल भएकोले पेश गरेको प्रमाण पत्रको सम्बन्धमा आवश्यक तथ्यहरु बुझी पुनः निर्णय गर्न स्वतन्त्र एवं सक्षम देखिने ।

§  विदेशमा विद्यार्थीको हैसियतबाट अध्ययन गरी संस्थाबाट प्राप्त गरेको भनी पेश गरेको प्रमाण पत्र सम्वन्धमा लामो अवधिसम्म अडिग रहि जिकिर लिई रहन्छ भने त्यसलाई अन्यथा भन्ने संस्थाले उसलाई सन्तुष्ट हुने गरी कारण देखाउनु पर्ने ।

(प्रकरण नं.९)

 

पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सन्ध्या पुडासैनी

प्रत्यर्थी तर्फवाटः

अवलम्वित नजीरः

 

आदेश

            न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) ले यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

            मैले सम्वत २०४५ सालमा एस.एल.सि. र सन.१९९१ मा आई एस्सी उर्तीण गरेको थिए । दगेस्थान स्टेट मेडिल इस्टिच्युटको ता १२।१९९२ ई को एडमिसन कन्फर्मेशन तथा यू.एस. एस.आर एम्बेसी ईन नेपाल, काठमाण्डौंको पत्रबाट म लगायतका अन्य नेपाली विद्यार्थीहरुको एडमिसन फाइनान्समा कन्फर्म भएको थियो । श्री ५ को सरकार राष्ट्रिय योजना आयोग (जनशक्ति विकास समन्वय शाखा) सिंहदरबारको प.सं. (निजी खर्च १७) मिति ०४८।८।२० को पत्र द्वारा श्री ५ को सरकारको जनशक्ति आपुर्ति हेतु दगेस्थान स्टेट मेडिकल इन्स्टिच्युटमा जनरल मेडिसीनमा एम.डी अध्ययन गर्न श्री ५ को सरकार शिक्षा मन्त्रालयको नाउँमा स्विकृतिका लागि एमडी अध्ययन गर्न श्री ५ को सरकार शिक्षा मन्त्रालयको नाउँमा स्विकृतिका लागि विदेशी मुद्रा उपलव्ध गराउन नेपाल राष्ट्र बैंकलाई मिति ०४८।८।२५ को पत्रबाट लेखि पठाएको आधारमा म शोभियत रुस एम.डी (जनरल मेडिसन) अध्ययन गर्न गए । मैले सन १९९११९९८ ई को कोर्षमा पुरा सहभागी भई एम.डी (जनरल मेडिसिन) को परीक्षाहरु उर्तीण गर्दै आएको कुरा इन्स्टिच्युटबाट दिएको क्वालिफीकेशनल रेकर्ड तथा डिप्लोमा बाट स्थापित छ । मैले एम .डी ( जनरल मेडिसन ) गरी नेपाल फर्के पछि मिति ०५५।८।२३ मा परीक्षण दर्ताका लागि काउन्सील समक्ष दरखास्त दिएँ । काउन्सीलका रजिष्ट्रारले प्रोभिजन रजिष्ट्रेशनका लागि काउन्सील समक्ष दरखास्त दिएको भनी ता १४।६।२००० ई प.स. ३३०।०५६।०५७ मा प्रमाणित गरी दिएको आधारमा मैले नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजको च.नं.१८३ मिति ०५८।५।११ को पत्रद्वारा अनरेरी चिकित्सक भई कार्य प्रारम्भ गरे । काउन्सीलका रजिष्ट्रारले मलाई ता २५।१।१९९९ ई ( ५५।१०।११। प.सं. २६०। ०५५।०५६ को पत्र द्वारा मेरो प्रमाण सम्बन्धमा विविध प्रश्नहरु उठाई सो को अधिकार प्राप्त निकायबाट प्रमाणित गराई ल्याउन निमित्त निर्देशन दिएकोमा युनियन अफ सोभियत सोसलिष्ट रिपब्लिकको विघटन भएपछि शैक्षिक संस्थाले यू.एस.एस.आर लेखिएको फर्मेटमा नै शैक्षिक प्रमाण दिने गरेको र कुनै कुनै शैक्षिक संस्थाले गभर्नमेन्ट अफ शोभियत फेडरेसन लेखि प्रमाण पत्र दिने गरेकोले भ्रम परेपछि म पुनः रुस गई मेरो पुरानो फर्मेटको शैक्षिक उपाधीलाई नयाँ फर्मेटमा परिवर्तन गरिपाऊँ न अनुरोध गरेपछि दगेस्थान स्टेट मेडिकल एकेडेमी (पछि द.आई एम सचेनोभ मस्को मेडिकल एकेडेमी भनी नामाकृत) बाट नयाँ फर्मेटमा डिप्लोमा प्रदान गर्नुका साथै ऐ. एकेडेमीले ता २।३ १९९९ ई को प.सं. ८४३४ को पत्र द्वारा पुरानो र नयाँ फर्मेटको डिग्री सम्बन्धमा स्पष्ट गरी पत्र समेत लेखि दिएको पुरानो फर्मेटको डिग्री तथा सो को बैद्यता सम्बन्धमा समेत रुसी दुतावास नेपालले प्रमाणित गरी दिएको हुँदा सो समेत काउन्सील समक्ष पेश गरेको थिए । काउन्सीलका रजिष्ट्रारले पुनः मिति ०५८।१।१४ को पत्रद्वारा मेरो डिग्री शंकास्पद देखिएकोले ती प्रमाण पत्रको सत्यता प्रमाणित गर्न सात दिन भित्र आधार प्रमाण पेश गर्न जानकारी दिएकोले मैले सो पत्र मिति ०५८।४।२० का दिन प्राप्त गरी म्याद भित्रै आफ्नो भएको व्यहोराको जवाफ र प्रमाणहरु पेश गरी चिकित्सकको रुपमा दर्ता गर्न पटक पटक निवेदनहरु दिएको भन्ने निवेदन व्यहोरा ।

            श्री सुरेश झा को योग्यताको प्रमाण पत्र आधिकारिक रुपमा रुजु गर्दा परराष्ट्र मन्त्रालय (काठमाण्डौं) को प.स.यु.आके ।३८३ मिति ०६०।१०।१ को पत्रबाट मस्को स्थित शाही नेपाली राजदुतावास मार्फत प्राप्त रुसी स्वास्थ्य मन्त्रालयबाट पठाएको पत्रमा निवेदकले Diploma को (D.No.) नं.१६७३८६ को प्रमाण पत्र निजले अध्ययन गरिएको भनिएको एकेडेमीबाट जारी नभएको व्यहोरा स्पष्ट उल्लेख भै आएको हुँदा मिति ०६०।१०।९ का दिन काउन्सीलको पूर्ण बैठकबाट निवेदक सुरेश झाको नाम चिकित्सकको रुपमा दर्ता नगर्ने निर्णय भयो भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सीलको निर्णय ।

            शुरु नेपाल मेडिकल काउन्सीलको निर्णयमा चित्त बुझेन । रुसी राजदुतावास नेपालको पत्र, मिनिष्ट्री अफ पब्लीक हेल्थ एण्ड मेडिकल ईन्डस्ट्री अफ रसियन फेडेरेशनको प.स. ९४।२४ सी ता ९।५।१९९९ ई को पत्र मेरो पुरानो र नयाँ फर्मेटको डिप्लोमा मैले अध्ययन गर्दा प्राप्त गरेको विदेशी मुद्रा सुविधाका प्रमाणहरु, मेरो नामाकंनको कन्फर्मेशन पत्रहरु, मेरो रुस प्रवासको पासपोर्टको प्रमाण लगायतका उल्लेखित प्रमाणहरुको आधारमा मलाई चिकित्सकरुपमा ऐनको दफा १४(२) अन्तर्गत परीक्षण दर्ता गर्नु गराउनु भनी काउन्सील र रजिष्ट्रारको नाउँमा आदेश समेत गरिपाऊँ भन्ने सुरेश झाको पुनरावेदन पत्र ।

            यसमा मास्को मेडिकल एकेडेमीद्वारा पुनरावेदकले गरेको अध्ययनको सम्बन्धमा नेपाल मेडिकल काउन्सीललाई सम्बोधन गरी लेखेको १० अक्टुबर २००१ को पत्रको व्यहोराको मूल्यांकन नै नगरी पुनरावेदकलाई चिकित्सकको रुपमा दर्ता नगर्ने भनी गरिएको निर्णय फरक पर्न सक्ने देखिएकोले छलफलको निमित्त अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षीहरुलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने आदेश ।

            पुनरावेदक शुरेश झाले प्राप्त गरेको ०००९६३५ को उपाधिको सम्बन्धमा समानता र न्यायसंगत रुपमा डा.रामप्रसाद सापकोटा र डा. उर्मिला पराजुली सरह पुनरावेदकको हकमा पुन निर्णय गर्नु भनी प्रस्तुत मुद्दाको पुनरावेदक सुरेस झालाई नेपाल मेडिकल काउन्सिलमा हाजिर हुन जानु भनी तारेख तोकी शुरु मिसिल समेत नेपाल मेडिकल काउन्सिलमा पठाई दिने ठहर्छ भनी पुनरावेदन अदालत पाटनबाट मिति ०६२।११।२२।२ मा भएको फैसला ।

            पुनरावेदक सुरेश झाले नेपाल मेडिकल काउन्सिलमा दर्ताका लागि निवेदन दिंदा निवेदन साथ मस्को मेडिकल एकेडेमीको डिप्लोमा नं.१६७३८६ पेश गरेको सो सम्बन्धमा सम्बन्धित एकेडेमीमा पत्राचार गर्दा सुरेश झा आफ्नो विद्यार्धी नभएको र त्यस्तो प्रमाण पत्र पनि निजले एकेडेमीबाट नलिएको भनी जवाफ दिएको पाइन्छ । साथै परराष्ट्रबाट बुझ्दा पनि सुरेश झालाई जनरल मेडिसिनको डिप्लोमा प्रदान नगरिएको भनी रुसी स्वास्थ्य मन्त्रालयबाट लेखि आएको छ । सुरेश झाले नेपाल मेडिकल काउन्सिल समक्ष दर्ताको लागि निवेदन साथ पेश गरेको डिप्लोमा प्रमाण पत्र र पछि पेश गरेको डिप्लोमा फरक फरक रहेको छ । सम्बन्धित निकायमा बुझ्दा सुरेस झा मस्को एकेडेमीमा अध्ययन नगरेको साथै डिप्लोमा न.१६७३८६ र डिप्लोमा नं.०००९६३५ जारी नभएको भन्ने उल्लेख छ । डा. उर्मिला पराजुली र डा. रामप्रसाद सापकोटाले प्राप्त गरेको प्रमाण पत्र र डा. सुरेस झाको प्रमाण पत्र आपसमा नमिल्नुको साथै एकै मितिमा जारी भएको डा. उर्मिला पराजुली र डा. सुरेश झाको प्रमाणपत्रमा भएको रेक्टर, डिन तथा सेक्रेटरीको हस्ताक्षर फर फरक रही असमान देखिएको अवस्थामा त्यस सम्बन्धमा अध्ययन अनुसन्धान गरी नेपाल मेडिकल काउन्सिलबाट सुरेस झालाई मान्यता नदिएको निर्णय कानून सम्मत भइरहेको स्थितमा मिसिल संलग्न प्रमाणको मूल्यांकन नगरी पुनरावेदन अदालतबाट भएको फैसलामा तथ्य एव कानूनको त्रुटि भएको हुँदा सो फैसला उल्टी गरी शुरु निर्णय सदर गरिपाऊँ भनी मेडिकल काउन्सीलको तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।   

            २.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सन्ध्या पुडासैनीले प्रत्यर्थी सुरेस झाले नेपाल मेडिकल काउन्सीलमा दर्ताका लागि दिएको निवेदन साथ पेश गरेको डिप्लोमा न. १६७३८६ र पछि पेश गरेको डिप्लोमा नं. ०००९६३५ का सम्बन्धमा सम्बन्धित मस्को मेडिकल एकेडेमीमा पत्राचार गरी बुझ्दा उक्त एकेडेमीले डा. सुरेश झाले आफ्नो एकेडेमीमा अध्ययन नगरेको र ती प्रमाण पत्रहरु आफूले जारी नगरेको भनी जवाफ प्राप्त भएको र डा.रामप्रसाद सापकोटा एवं डा.उर्मिला पराजुलीको प्रमाण पत्र डा.सुरेश झाको प्रमाण पत्रसग मेल नखाई असमान प्रकृतिको देखिइरहेको अवस्थामा समानताको प्रतिकूल भएको भन्ने पुनरावेदन अदालतको फैसला तथ्य एवं कानून समेतको नजरमा त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी भै शुरु नेपाल मेडिकल काउन्सिलको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस सुनियो ।

            ३.    माथि उल्लेखित विद्वान अधिवक्ताले गर्नु भएको बहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? नेपाल मेडिकल काउन्सिलको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

            ४.    यसमा डा.सुरेश झाले मास्को मेडिकल एकेडेमीबाट आफूले प्राप्त गरेको डिग्रीको प्रमाणपत्र सहित नेपाल मेडिकल काउन्सीलमा रजिष्ट्रेशनको लागि निवेदन दिएकोमा नेपाल मेडिकल काउन्सिलले निजको प्रमाणपत्रको सम्बन्धमा शंका व्यक्त गरी सम्बन्धित एकेडेमीमा पत्राचार गर्दा निवेदक सुरेश झाले पेश गरेको प्रमाण पत्र आफ्नो अध्ययन संस्थाबाट जारी नभएको भन्ने जवाफ प्राप्त भएको आधार देखाई मिति ०६०।१०।९ को काउन्सिलको पूर्ण बैठकबाट निवेदक सुरेश झाको नाम चिकित्सकको रुपमा दर्ता नगर्ने निर्णय भएको देखिन्छ । उक्त निर्णयमा चित्त नबुझाई सुरेश झाले पुनरावेदन गरेकोमा पुनरावेदन अदालत पाटनले नेपाल मेडिकल काउन्सिलको निर्णय समानताको सिद्धान्त प्रतिकूल भएको भन्ने आधारमा पुनरावेदक सुरेश झाको हकमा पुनः निर्णय गर्नु भनी प्रस्तुत मुद्दाको मिसिल नेपाल मेडिकल काउन्सिलमा पठाउने निर्णय गरेको पाइन्छ । त्यसमा चित्त नबुझाई नेपाल मेडिकल काउन्सिल समेतको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।

            ५.    प्रत्यर्थी सुरेश झाले जुन अध्ययन संस्थामा अध्ययन गरेको भनी योग्यताको प्रमाण पत्र पेश गरेका हुन् । सो प्रमाणपत्रका सम्बन्धमा आधिकारिकता रुजु गर्दा निजले अध्ययन गरेको भनिएको एकेडेमीबाट जारी नभएको व्यहोरा स्पष्ट उल्लेख भै आएको हुँदा निवेदक सुरेश झाको नाम चिकित्सकको रुपमा दर्ता नगर्ने निर्णय भएको हो भन्ने नेपाल मेडिकल काउन्सिलको पुनरावेदन जिकिर रहेको छ । त्यसतर्फ विचार गर्दा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा १४(१) ले यो ऐन र यस अन्तर्गत बनेको नियमको अधिनमा रही अनुसुचीमा लेखिए बमोजिमको योग्यता प्राप्त व्यक्तिले दर्ता किताबमा नाम दर्ता गराउनको लागि तोकिए बमोजिमको दस्तुर तिरी तोकिए बमोजिमको ढाँचामा काउन्सिल समक्ष दरखास्त दिनु पर्ने कानूनी व्यवस्था अनुसार सुरेश झाले मस्को मेडिकल एकेडेमीबाट एम.डी गरी नेपाल फर्के पछि मिति ०५५।८।२३ मा परीक्षण दर्ताको निमित्त दिएको निवेदनमा तीन वर्षसम्म पनि दर्ता सम्बन्धमा कुनै टुंगो नलगाएको कारणले निज सुरेश झाले सर्वोच्च अदालतमा मिति ०५८।७।२७ मा नेपाल मेडिकल काउन्सिल विरुद्ध परमादेशको रिट निवेदन दिंदा यस अदालतबाट मिति ०५९।७।२६।३ मा नेपाल मेडिकल काउन्सिलले समयमा नै निर्णय नगरेबाट निवेदकको पेशा रोजगार गर्न पाउने हकमा समेत प्रतिकूल असर नपरेको भन्न सकिने अवस्था नहुँदा निवेदकले परीक्षण दर्ता गरिपाऊँन भनी दिएको निवेदनमा तीन महिना भित्र टुंगो लगाउन काउन्सिलको नाममा परमादेश जारी भएपछि मिति २०६०।१०।९ मा प्रत्यर्थी सुरेश झालाई चिकित्सकको रुपमा दर्ता नगर्ने निर्णय गरेको देखिन्छ ।

            ६.    प्रत्यर्थी सुरश झाले तत्कालिन श्री ५ को सरकार राष्ट्रिय योजना आयोग (जनशक्ति विकास समन्वय शाखा) सिंहदरबारको प.स.ज. (निजी खर्च १७) मिति ०४८।८।१० को पत्रद्वारा श्री ५ को सरकारको जनशक्ति आपूर्ति हेतु दगेस्तान स्टेट मेडिकल इन्स्टिच्यूटमा जनरल मेडिसन एम.डी. अध्ययन गर्न श्री ५ को सरकार शिक्षा मन्त्रालयको नाउँमा स्वीकृतिका लागि लेखी पठाइएको र शिक्षा मन्त्रालयबाट समेत सो अध्ययनका लागि विदेशी मुद्रा उपलव्ध गराउन नेपाल राष्ट्र बैंकलाई प.स.च.नं. ३३७६ मिति २०४८।८।२५ को पत्रबाट लेखि पठाएको आधारमा सोभियत रुसमा एम.डी. (जनरल मेडिसिन) अध्ययन गर्न गई एम.डी गरी फर्केपछि निरन्तर चिकित्सकको रुपमा दर्ताको लागि प्रयासरत रहेको पाइन्छ ।   

७.    पुनरावेदकले पुनरावेदन पत्रमा सुरेश झाले नेपाल मेडिकल काउन्सिलमा दर्ताका लागि निवेदन दिंदा निवेदन साथ मास्को मेडिकल एकेडेमीको डिप्लोमा नं.१६७३८६ पेश गरेको र पछि डिप्लोमा नं.०००९६३५ को प्रमाण पत्र पेश गरी फरक फरक प्रमाण पत्र पेश गरेको  भन्ने मुख्य जिकिर लिएको देखिन्छ । तर नेपाल मेडिकल काउन्सिलको मिति ०६०।१०।९ को पूर्ण बैठकबाट सुरेस झाको नाम चिकित्सकको रुपमा दर्ता नगर्ने भनी गरिएको निर्णयमा डिप्लोमा नं.१६७३८६ का बारेमा मात्र बुझिएको भन्ने देखिन्छ । पुनरावेदकले आफ्नो पुनरावेदन पत्रमा माथि उल्लेखित दुवै डिप्लोमा नं. को सम्बन्धमा बुझ्दा मस्को मेडिकल एकेडेमीमा प्रत्यर्थीले अध्ययन नगरेको साथै डिप्लोमा नं.१६७३८६ र डिप्लोमा नं. ०००९६३५ आफ्नो संस्थाबाट जारी नभएको व्यहोरा उल्लेख गरेको छ भनेतापनि काउन्सिलको निर्णयमा डिप्लोमा नं. ०००९६३५ का बारेमा कुनै विश्लेषण गरिएको पाइदैन ।

            ८.    अर्कोतर्फ पुनरावेदक मेडिकल काउन्सिलले ५ अक्टुबर २००१ मा सुरेश झाले अध्ययन गरेको भनिएको अध्ययन संस्थामा लेखेको पत्रको जवाफमा सो अध्ययन संस्थाले नेपाल मेडिकल काउन्सिललाई लेखेको मिसिल संलग्न रहेको १० अक्टुबर २००१ को पत्रमा  सुरेश झाले मस्को मेडिकल एकेडेमीबाट २२ जुन १९९९ मा डाक्टर अफ मेडिकल उर्तिण गरेको  हो । निजको रजिष्ट्रेशन नं. २५३ डिप्लोमा नं.००९६३५ हो । सुरेश झा र सुरेश कुमार झा एउटै व्यक्ति हुन् र उक्त नामको बीचको नाम कुमार भूलबाट छुटेको हो ।भन्ने समेतको व्यहोरा उल्लेख गरेको देखिन्छ । त्यसै गरी प्रत्यर्थी सुरेश झाले अध्ययन गरी प्राप्त गरेको उपाधी जस्तै सोही संस्थामा अध्ययन गरी उपाधी प्राप्त गर्ने डा.रामप्रसाद सापकोटा र डा. उर्मिला पराजुलीलाई पुनरावेदक नेपाल मेडिकल काउन्सिलले आफनो दर्ता किताबमा दर्ता गरी चिकित्सा व्यवसाय गर्न अनुमति दिएको कुरामा पनि विवाद छैन । यसरी त्यही संस्थाबाट प्राप्त गरेको डिग्रीले मान्यता पाइरहेको अवस्थामा निवेदकले प्राप्त गरेको डिग्री अमान्य गर्नु पूर्व मेडिकल काउन्सिल ठोस आधार प्रमाणबाट सन्तुष्ट हुनु पर्दछ । पेश भएको प्रमाण पत्र सम्बन्धित संस्थाले दिंदा गल्ती हुन गएको वा सम्बन्धित संस्थासग सरोकार नै नभएको प्रमाण पत्र निवेदकले पेश गरी अनुचित लाभ लिन खोजेको हो ? निवेदकले त्यो संस्थामा अध्ययन गरे, नगरेको के हो ? गरेर असफल भै गलत प्रमाण पत्र पेश गरेको वा संस्थाको सांगठनिक रुपमा कुनै परिवर्तन भए अनुरुप प्रमाण पत्रमा परिवर्तन भएको कारण अन्यौल सिर्जना भएको हो, निवेदकको नाममा भएको कुमार को लेखाईमा भएको फरक परेको भनेको के हो ? आदि सबै कुराको खोजी गरी निष्कर्षमा पुग्नु पर्दछ । एउटै संस्थाबाट अन्य व्यक्तिहरुले प्राप्त गरेको प्रमाण पत्रले मान्यता पाइरहेको देखिएको अवस्थामा प्रत्यर्थी सुरेश झाले पेश गरेको प्रमाण पत्रले मान्यता नपाउनु पर्ने कारण, ठोस आधार प्रमाणबाट पुष्टि हुनु पर्दछ, अन्यथा निजको हकमा असमान व्यवहार भयो भन्ने निजको भनाई रहीनै रहन्छ । असमान नभएको भए के कति कारणले भएन कारण सहितको निर्णय पुनरावेदक नेपाल मेडिकल काउन्सिलबाट हुनुपर्दछ । अन्यथा निवेदकलाई अन्याय पर्ने कुरा एकातिर छ भने अर्को तर्फ त्यस्तो व्यक्तिबाट समाजले पनि नराम्रा प्रतिफल भोग्नु पर्ने हुन्छ । यस विषयमा नेपाल मेडिकल काउन्सिल गम्भीर हुनै पर्दछ ।

            ९.    नेपाल मेडिकल काउन्सिल ऐन २०२० र नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ अनुसार योग्यता प्राप्त व्यक्तिले चिकित्सकको रुपमा दर्ता हुन सम्बन्धित दर्ता किताबमा नाम दर्ता गराउनको लागि रितपूर्वको निवेदन नेपाल मेडिकल काउन्सिलमा दिएमा त्यसमा जाँचबुझ गरी नाम दर्ताको निर्णय गर्ने एक मात्र अख्तियारवाला निकाय नेपाल मेडिकल काउन्सिल भएकोमा विवाद छैन । प्रत्यर्थी सुरेश झाले काउन्सिलमा पेश गरेको प्रमाण पत्रको सम्बन्धमा आवश्यक तथ्यहरु बुझी पुनः निर्णय गर्न स्वतन्त्र एवं सक्षम नै देखिन्छ । एउटा नेपाली नागरिक निवेदकले विदेशमा विद्यार्थीको हैसियतबाट अध्ययन गरी संस्थाबाट प्राप्त गरेको भनी पेश गरेको प्रमाण पत्रमा यति लामो अवधिसम्म अडिग रहि जिकिर लिई रहन्छ भने त्यसलाई अन्यथा भन्ने संस्थाले उसलाई सन्तुष्ट हुने गरी कारण देखाउनु पर्ने हुन्छ । पुनरावेदन अदालत पाटनले पनि प्रत्यर्थी सुरेश झालाई कुनै छानबीन नै नगरी चिकित्सकको प्रमाण पत्र दिनु भनी फैसलामा भनेको नभै निज जस्तै एउटै संस्थामा अध्ययन गर्ने अन्य व्यक्तिले प्राप्त गरेको प्रमाण पत्रले मान्यता पाएको देखिएको अवस्थामा निजको हकमा पुनः निर्णय गर्न नेपाल मेडिकल काउन्सिलमा पठाउने गरी गरेको निर्णयमा पुनरावेदकलाई पुनरावेदन गर्नुपर्ने कुनै आधार कारण देखिदैन । यसबाट निर्णय हुनुपर्ने विषयलाई अझ पछाडि धकेल्ने काम मात्र हुन गएको छ । पुनरावेदक काउन्सिल र अदालतको पनि महत्वपूर्ण समयको क्षतिमात्र हुन गएको छ ।

            १०.    अतः माथि गरिएको विवेचनाबाट प्रत्यर्थी सुरेश झाको हकमा पुनः निर्णय गर्नु भनी पुनरावेदन अदालत पाटनले शुरु मिसिल समेत नेपाल मेडिकल काउन्सिलमा पठाउने ठहराएको मिति ०६२।११।२२।२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.ताहिरअलि अन्सारी

 

इति सम्वत २०६५ साल कार्तिक महिना ३ गते रोज १  शुभम् .... ।

 

उप रजिष्ट्रारपुष्पराज थपलिया

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु