शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९९६ - जीउ मास्ने बेच्ने ।

भाग: ५० साल: २०६५ महिना: कार्तिक अंक:

निर्णय नं.७९९६      ने.का.प. २०६५      अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला

सम्वत् २०५९ सालको स.फौ.पु.नं.३१७८

आदेश मितिः २०६५।४।२७।२

 

मुद्दाः जीउ मास्ने बेच्ने ।

 

पुनरावेदक वादीः सावित्री वि.क. को जाहेरीले नेपाल सरकार

बिरुद्ध

प्रत्यर्थी प्रतिवादीः नुवाकोट जिल्ला लिखु गा.वि.स. वडा नं. ५ हिले गाउँ घर भै हाल कारागार शाखा भद्रगोलमा थुनामा रहेको शेरे भन्ने शेरबहादुर लामा समेत

 

शुरु फैसला गर्नेः

मा.न्या. श्री शारदाप्रसाद घिमिरे

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री गौरी ढकाल

मा.न्या.श्री मधुसुदनलाल राजभण्डारी

 

§  कसूरको अनुपातमा सजाय गर्नुपर्ने गरी तजवीजी अधिकार (Discretionary power)  अदालतलाई प्रदान गरेको पार्इदा सजायको न्यूनतम र अधिकतम हद ऐनले नै निर्धारण गरेको अवस्थामा कसूरको गम्भीरताको आधारमा कसूरको मात्रा निर्धारण गरी सोही अनुपातमा सजाय गर्ने गरी न्यायपूर्ण ढंगले तजवीजी अधिकारको प्रयोग गर्नुपर्ने ।

§  अन्य प्रतिवादीहरु तथा पीडितको साथमा लागि जानुसम्मको क्रियाकलाप कसूरको रुपमा मानेको अवस्थामा पनि त्यस बापत अधिकतम वा उच्चतम सीमाको सजाय गर्नु न्यायपूर्ण नहुने।

(प्रकरण नं.५)

 

पुनरावेदक वादी तर्फवाटः उपन्यायाधिवक्ता श्री वज्रेश प्याकुरेल

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

            न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को देहाय (ग) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भै पुनरावेदन अदालत, पाटन ललितपुरको मिति २०५९।५।४।३ को फैसला उपर वादी नेपाल सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

            मलाई ललाई फकाई भारत लगी बिक्री गरी आउने दोर्जे लामा, कान्छी लामा र सानी वि.क. लाई पक्राउ गरी कारवाही गरिपाऊँ भनी सावित्री वि.क. को मिति २०५४।५।१६ को जाहेरी दरखास्त ।

            मलाई बेच्न भनी लाने र सो कार्यमा सहयोग पुर्‍याउने व्यक्तिहरु दोर्जे लामा तामाङ, कान्छी लामा तामाङ, सानी वि.क., शेरबहादुर लामा, दीर्घवहादुर तामाङ हुन भनी जाहेरवालीको मिति २०५४।१०।२२ को वयान कागज ।

            सावित्री वि.क. लाई बिक्री गर्ने मुख्य व्यक्तिहरु दोर्जे लामा, कान्छी लामा, डल्ली लामा, दीर्घ तामाङ र शेरबहादुर लामा हुन भनी प्रतिवादी सानी वि.क. को वयान ।

            सावित्री वि.क. लाई बिक्री गर्न मैले रु.१०,०००।लगानी गरेको हुँ । के कतिमा बिक्री गरे भन्ने कुरा दोर्जे लामा, डल्ली तामाङ र कान्छी तामाङलाई थाहा छ भन्ने प्रतिवादी शेरबहादुर तामाङको बयान ।

            पिपामा कार्यरत दीर्घवहादुर तामाङ मिति २०५४।३।१५ वाट ऐ. ३१ गते सम्म विदामा वसेको भन्ने शाही नेपाली जंगी अड्डाको पत्र ।

            होटलमा राम्रो काम लगाई दिने भनी ललाई फकाई दोर्जे लामा, कान्छी लामा, डल्ली तामाङनी समेतले वम्वैमा लगी सावित्री वि.क. लाई बेचेको हो भन्ने रुपा राई तथा पेमा शेर्पाको कागज ।

            दोर्जे लामा, निजको श्रीमती कान्छी लामा, सानी वि.क., दीर्घवहादुर तामाङ, डिल्ली तामाङ, डिल्लीको भाई नाम थाहा नभएको, कान्छी तामाङको दाजु नाम थाहा नभएको र शेरे भन्ने शेरबहादुर तामाङ समेतको मिलोमतोवाट मिति २०५४।३।१६ गते पीडित सावित्री वि.क. लाई बेच्ने सल्लाह गरी ऐ. १७ गते पोखरा लगी त्यहाँवाट भारत सिलगुढी पुर्‍याई भोलिपल्ट विहान दिल्ली सम्म जाने रेलमा चढाई दोर्जे लामा, कान्छी लामा, सानी वि.क. ले दिल्ली सम्म लगेको, दीर्घ तामाङ, सेरे भन्ने शेरबहादुर तामाङ, डल्ली तामाङनी, सिलगुढीवाट काठमाडौ फर्केको र पीडितलाई दिल्लीवाट ट्याक्सीमा चढाई वम्वै पुर्‍याई विमला तामाङनीको वेश्यालयमा बिक्री गरी त्यहाँवाट भारतीय प्रहरीको सहयोगमा पीडित नेपाल फर्कन सकेको कुरा सप्रमाण पुष्टि भएको छ । प्रतिवादी शेरे भन्ने शेरबहादुर तामाङ, सानी विश्वकर्मा, दोर्जे लामा, कान्छी तामाङ, दीर्घ तामाङले जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन २०४३ को दफा ४(क) को कसूर अपराध गरेको सिद्ध हुन आएको हुँदा निज प्रतिवादी शेरे भन्ने शेरबहादुर तामाङ, सानी विश्वकर्मा, दोर्जे लामा, कान्छी लामा, दीर्घ तामाङलाई सोही ऐनको दफा ८(१) अनुसार हदै सम्म सजाय गरी सोही ऐनको दफा ८(५) अनुसार थप सजाय हुन माग दावी लिइएको छ । साथै प्रतिवादी सानी वि.क. को उमेर १३ बर्षको भएको हुँदा उल्लेखित कसूरमा निज सानी वि.क. लाई बालबालिका ऐन २०४८ को दफा ११(२) अनुसार हुन तथा फरार रहेका प्रतिवादी दीर्घ तामाङ, दोर्जे लामा, कान्छी लामा, तामाङलाई म्याद जारी गरी कानून बमोजिम हुन र डल्ली तामाङनी , डल्लीको भाई, कान्छीको दाजुको वतन यकिन नखुलेको हुँदा यकिन वतन खुली आएमा वा पक्राउ परी आएमा सजायको दावी लिई छुट्टै अभियोग पेश गरिने र बिक्री गरेको वेला थैली हाल खुल्न नआएकोले पछि खुली आएका बखत अ.बं. ८८ नं. बमोजिम पेश गरिने भन्ने समेत ब्यहोराको मिति २०५४।१२।३ को अभियोग दावी।

            मैले सावित्रीलाई फकाएर लगेको होइन, सावित्रीले मलाई फकाई लगेको हो भन्ने प्रतिवादी सानी विश्वकर्माको वयान ।

            मैले अभियोग दावी अनुसार सावित्री वि.क. लाई बिक्री गर्ने कार्यमा संलग्न भएको छैन भन्ने प्रतिवादी शेरबहादुर लामाको बयान ।

            प्रतिवादी शेरबहादुर लामालाई थुनामा पठाई दिनु, अर्की प्रतिवादी सानी वि.क. लाई साधारण तारेखमा राख्नु भन्ने शुरु अदालतको मिति २०५४।१२।५ को आदेश ।

            प्रतिवादी शेरबहादुरले जाहेरवालीलाई बिक्री गर्न लगेको छैन । बिक्री गरेको होइन भन्ने शेरबहादुरका साक्षी मानवहादुर तामाङको बकपत्र । सोही मिलानको रामबहादुर तामाङको बकपत्र ।

            मलाई बिक्री गर्न बम्वै लादा सिलगुढी सम्म जाने डल्ली तामाङनी यिनै हुन् भनी जाहेरवाली सावित्री वि.क. ले गरी दिएको सनाखत कागज ।

            जाहेरवालीलाई बिक्री गर्न मैले सिलगुढीसम्म पुर्‍याएको हो भन्ने प्रतिवादी कान्छी तामाङनीको वयान ।

            कान्छी तामाङले सावित्री वि.क. लाई ललाई फकाई बिक्री गरेको थाहा पाएको हुँ भन्ने कान्छा लामा, धनबहादुर खड्काको कागज ।

            प्रतिवादी डल्ली तामाङ भन्ने कान्छी तामाङले जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ४(क) को कसूर अपराध गरेको सिद्ध हुन आएको हुँदा निज डल्ली भन्ने कान्छी तामाङनीलाई सो कसूर अपराधमा सोही ऐनको दफा ८(२) अनुसार हदै सम्म सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी ।

            जाहेरवाली सावित्री वि.क. लाई मैले बेच्न लगेको होइन भन्ने प्रतिवादी कान्छी तामाङको वयान । पछि ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादी कान्छी तामाङलाई थुनामा राखि पुर्पक्ष गर्नु भन्ने शुरु अदालतको आदेश ।

            कान्छी तामाङ म संग सिलगुढी सम्म गएकी हुन् भन्ने जाहेरवाली सावित्री वि.क. को अदालतमा भएको बकपत्र ।

            शेरबहादुर तामाङ वाहेक अरु सवैलाई अभियोग माग दावी अनुसार सजाय हुनु पर्ने हो भन्ने जाहेरवाली सावित्री वि.क.को वयान ।

            प्रतिवादीहरु कान्छी लामा, दोर्जे लामा, दीर्घवहादुर तामाङ, शुरु म्यादै गुजारी वसेको देखिंदा  निजहरुको हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवीमा राखिदिने ठहर्छ । प्रतिवादीले पीडितलाई बिक्री गर्ने उद्देश्यले आफु समेत साथ लागी गएको र यी प्रतिवादीले बिक्री गरेको नदेखिएको पीडितलाई बिक्री गर्ने उद्देश्यले संग साथ गएको सक्ने देखिंदा प्रतिवादी शेरबहादुर तामाङलाई जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन २०४३ को दफा ८(२) बमोजिम १०(दश) बर्ष कैद हुने ठहर्छ । अन्य कुरामा दावी पुग्न सक्दैन । यी प्रतिवादी सानी वि.क. १३ बर्षको भएकी र निजलाई वालवालिका सम्बन्धी ऐन २०४८ को दफा (२) बमोजिम सजाय गरिपाऊँ भन्ने दावी देखिंदा निजलाई दावी बमोजिम वालवालिका सम्बन्धी ऐन २०४८ को दफा ११(२) बमोजिम ६(छ) महिना कैद हुने ठहर्छ ।

            साथै प्रतिवादी कान्छी तामाङ्गले आफुले पीडितलाई बेच्न लगेको होइन भनी उल्लेख गरे पनि सो तर्फ कुनै प्रमाण पुष्ट्याई गराउन सकेको समेत नदेखिएको र यी प्रतिवादी समेत भई पीडितलाई बिक्री गर्ने उद्देश्य राखि विदेश लगेको प्रमाणित भएको देखिंदा प्रतिवादी कान्छी तामाङलाई जीउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन २०४३ को दफा ८(२) बमोजिम दश बर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौ जिल्ला अदालतको मिति २०५७।१०।२ को फैसला।

            शुरु जिल्ला अदालतले म पुनरावेदकलाई कसूरदार ठहराई १० बर्ष कैद हुने गरी गरेको फैसलामा चित्त बुझेन । मैले पीडितलाई बिक्री गरेको कुरा सावित नभई रहेको अवस्थामा म पुनरावेदक पीडित सग सिलगुढी सम्म जानु मात्रले म समेतले निजलाई बिक्री गर्न गएको भनी अर्थ लगाउँन मिल्ने होइन । म सिलगुढी व्यापारको सिलसिलामा मेकअपको सामान लिन गएको थिए । जुन कुरा मैले अधिकार प्राप्त अधिकारी तथा अदालत समेतमा वयान गर्दा प्रष्ट संग लेखाई दिएको नै छु । शुरुको फैसला उल्टी गरी अभियोग दावीवाट सफाई पाउ भन्ने समेत व्यहोराको प्रतिवादी शेरे भन्ने शेरबहादुर लामाको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

            म पुनरावेदकलाई कसूरदार ठहराई १० बर्ष कैद हुने गरी गरेको फैसलामा चित्त बुझेन । आफ्नो काम विशेषले अन्य प्रतिवादी संग उक्त स्थान सम्म जाँदैमा मेरो समेत उपरोक्त पराधिक कार्यमा संलग्नता थियो भनी अर्थ लगाउंन मिल्ने होइन । फेरि म सिलगुढी सम्म पीडितलाई बिक्री गर्न नै गएको कुरा अन्य संलग्न प्रमाण कागज कतैबाट पनि पुष्टि हुन सकेको छैन । यसरी किटानी जाहेरी दिंदैमा म समेतले निजलाई बिक्री गर्न लगेको भनी अनुमानित निष्कर्ष निकाली मलाई समेत जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण ऐन) ऐन, २०४३ को दफा ८(१) बमोजिम दश बर्ष कैद हुने गरेको शुरुको फैसला उल्टी गरी अभियोग दावीवाट सफाई पाउं भन्ने प्रतिवादी डल्ली भन्ने कान्छी तामाङनीको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

            यि प्रतिवादी समेत उपर जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ को दफा ४(क) को कसूर अपराधमा ऐ ऐनको दफा ८(१) बमोजिम सजाय गरी सोही ऐनको उपदफा ५ बमोजिम थप सजाय समेत हुन माग दावी लिएकोमा दावी भन्दा कम ऐ ऐनको दफा ८(२) बमोजिम यी प्रतिवादीलाई सजाय गरेको शुरुको फैसलामा चित्त बुझेन । यी प्रतिवादी समेतले बिक्री गर्न भनी भारत सिलगुढी पुर्‍याएको, पीडित जाहेरवाली  बिक्री भएको भन्ने कुरामा विवाद नभै सकेपछि यी प्रतिवादी समेतलाई अभियोग माग दावी बमोजिम ऐ ऐनको दफा ८(१) बमोजिम नै सजाय गर्नुपर्नेमा नगरेको उक्त फैसला कानूनी रुपले त्रुटीपूर्ण हुँदा वदर भागी छ । यी प्रतिवादीलाई शुरु अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।

            यस्मा पुनरावेदक प्रतिवादीहरु शेरे भन्ने शेरबहादुर लामा र डल्ली भन्ने कान्छी तामाङको नाम जाहेरी दरखास्तमा नलेखिएको र निजहरुले आरोपित कसूर गरेको होइन भनी जाहेरवालीले अदालतमा बकपत्र गरेको समेतको अवस्थामा निजहरुको हकमा भएको शुरु फैसला फरक पर्न सक्ने देखिंदा छलफलको लागि सरकारी वकिललाई सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।   

            पीडित सावित्री वि.क. बेचिएकोमा शंका नदेखिई निजलाई प्रतिवादीहरुले बिक्री गरेको भन्ने मिसिल प्रमाणबाट प्रमाणित भएको नहुँदा प्रतिवादी शेरबहादुरको हकमा जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४(क) को कसूरमा ८(१) बमोजिम सजाय हुनुपर्ने भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन ।

            प्रतिवादी शेरबहादुर र कान्छी तामाङ समेत पीडितसग साथ गै भारत सिलगुढी सम्म गै फर्की आएको भन्ने प्रतिवादीहरुको बयानबाट देखिएको र प्रतिवादी शेरबहादुर दुनोट बनाउने काम गर्ने व्यक्तिले श्रृंगारको सामान किन्न सिलगुढी गएको भन्ने मिल्दो नदेखिनुको साथै निजले कसूर गरेको होइन भन्न सकिने सम्मको प्रमाण पेश हुन सकेको देखिदैन । प्रतिवादी कान्छी तामाङनी पनि संगसाथमा भारत सिलगुढी गै फर्की आएको भन्ने समेत आधारमा प्रतिवादीहरुले ऐ. ऐनको दफा ४(ख) को कसूर गरेको ठहर फैसला मनासिव देखिने र सजाय तर्फ विचार गर्दा निज प्रतिवादीहरुले पीडितलाई ललाई फकाई गरेको नभै विदेश जादा दोर्जे लामा समेत सग सम्म गएको देखिएकोले ऐ. ऐनको दफा ८(२) बमोजिम हदैसम्म सजाय गर्दा चर्को पर्ने हुँदा सजाय कम हुनु पर्ने देखिएकोले प्रतिवादीहरुले जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ को दफा ४(ख) को कसूर गरेको ठहराएको मनासिव हुने र सजायको हकमा कसूरको मात्रा अनुसार सोही ऐनको दफा ८(२) बमोजिम १०(दश) बर्ष कैद गरेको हदसम्म चर्को देखिंदा जनही ५(पांच) बर्ष कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत,पाटनको मिति २०५९।५।४ गतेको फैसला ।

            पुनरावेदन अदालत, पाटनले प्रतिवादीहरुलाई जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ को दफा ४(क) को कसूरमा दफा ८(१) बमोजिम सजाय हुनु पर्ने भन्ने वादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन भनी प्रतिवादीहरुलाई ऐ. ऐनको दफा ४(ख) को कसूर ठहर गरेको फैसला मनासिव देखाएको र सोही ऐनको दफा ८(२) बमोजिम १० बर्ष कैद गरेको हदसम्म चर्को पर्ने भै ५ बर्ष मात्र कैद हुने फैसला उपर हाम्रो चित्त बुझेन । प्रतिवादीहरु शेरबहादुर लगायतका प्रतिवादी पीडितलाई बिक्री गर्न भारत गएको कुरामा विवाद भएको अवस्था मिसिल कागजबाट प्रमाणित भएको देखिएको छ । यी प्रतिवादीहरुले बिक्री गर्न भनी भारत सिलगुढी पुर्‍याएकी पीडित जाहेरवाली बिक्री भएको भन्ने कुरामा विवाद छैन । यस्तो अवस्थामा प्रतिवादीहरुलाई शुरु अभियोग दावी बमोजिम सजाय नगरी दावी भन्दा कम जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ को दफा ४(ख) को कसूर गरेको ठहर्‍याई सजायको हकमा ८(२) बमोजिम १० बर्षको सट्टा चर्को पर्ने देखिई पाच बर्ष कैद सजाय हुने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला कानूनी त्रुटीपूर्ण हुँदा बदर गरी शुरु अभियोग माग दावी अनुसार प्रतिवादीहरुलाई सजाय होस भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन जिकिर ।

            यसमा प्रतिवादी शेरबहादुरले पीडितलाई बिक्री गर्ने सिलसिलामा भारत सिलगुढी सम्म गएको कुरामा विवाद नभएको अवस्थामा अभियोग दावी बमोजिम कसूर कायम नगरी शुरुले गरेको सजाय चर्को पर्ने भनी न्यूनतम सजाय गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ र सजायको कसूरको गम्भिर प्रकृति र अवस्था सग नमिल्दो देखिएकोले फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०६३।८।२४।१ को आदेश।

            नियम बमोजिम आजको पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकार तर्फवाट उपस्थित हुनु भएका विद्वान उपन्यायाधिवक्ता बज्रेश प्याकुरेलले पुनरावेदन अदालत, पाटनले प्रतिवादी शेरबहादुर र कान्छी तामाङ्गलाई शुरु अभियोग माग दावी बमोजिम सजाय नगरी जीउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ को दफा ४(ख) को कसूर ठहराई जिल्ला अदालतले ऐ दफा ८(२) अनुसार १० दर्श बर्ष कैद हुने ठहराएकोमा १० बर्ष कैद सजाय चर्को हुने भै सोही दफा अनुसार ५ (पाँच) बर्ष सजाय हुने ठहराएको फैसला मिलेको छैन । प्रतिवादीहरु शेरबहादुर र कान्छी तामाङ पीडितलाई बिक्री गर्ने सिलसिलामा भारत सिलगुढी सम्म गएको कुरामा विवाद छैन । पीडित जाहेरवाली सावित्री वि.क. बिक्री भएको कुरामा समेत शंका देखिदैन । यस्तो अवस्थामा प्रतिवादीलाई शुरु अभियोग दावी बमोजिम सजाय हुनु पर्नेमा सजाय नगरेको तथा शुरुले गरेको सजाय घटाई गरेको उक्त फैसला बदर गरी शुरु अभियोग दावी बमोजिम सजाय होस भन्ने समेत गर्नुभएको बहस गर्नुभयो ।

            विद्वान उपन्यायाधिवक्ताले गर्नुभएको बहस जिकिर सुनी मिसिल अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा यस्मा पुनरावेदन अदालत, पाटनको मिति २०५९।५।४ को फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन सोही विषयमा निर्णय दिनुपर्ने देखियो।

            २.    यस्मा प्रतिवादीहरुले ललाई फकाई भारततर्फ लगी बिक्री गरी  आउने दोर्जे लामा तामाङ, कान्छी लामा तामाङ, सानी वि.क., शेरबहादुर लामा, दीर्घवहादुर तामाङलाई पक्राउ गरी कारवाही गरिपाऊँ भनी पीडित जाहेरवाली सावित्री बि.क.को मिति २०५४।५।१६ को जाहेरी दरखास्त परी प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । उक्त कुरालाई समर्थन गरी पीडित सावित्रीले मौकामा अदालत समक्ष गरेको बयान र पछि साक्षीको रुपमा अदालत समक्ष आई बकपत्र गरिदिएको पाइन्छ । प्रतिवादी मध्येका शेरबहादुर तामाङले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा निज पीडित सावित्रीलाई बिक्री गर्दा आफूले रु.१०,०००।लगानी गरेको हुँ भन्ने स्वीकारी बयान गरेको तर अदालतमा बयान गर्दा इन्कारी बयान गरेको देखिन्छ । प्रतिवादी कान्छी तामाङ्गले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा आफूले पीडितलाई बिक्री गर्न सिलगढी सम्म पुर्‍याएको भने पनि अदालतमा इन्कारी भएको देखिन्छ । तर पीडितले यिनै प्रतिवादी कान्छी लामा आफूसंग सिलगढी गएको भनी अदालतमा उपस्थित भै बयान गरेको पाइन्छ । प्रतिवादी मध्येकै सानी वि.क. ले यिनै दुई जना प्रतिवादी शेरबहादुर र कान्छी तामाङ्गसमेत भै बिक्री गरेका हुन् भनी बयान गरेको अवस्था छ भने प्रतिवादी शेरबहादुर तामाङले कान्छी तामाङलाई पोल गरी बयान गरेको पाइन्छ । प्रतिवादीहरु कान्छी तामाङ्ग समेतले सावित्रीलाई ललाई फकाई बिक्री गरेको हो भनी कान्छा लामा, धनवहादुर खड्काले होटेलमा राम्रो काम लगाई दिन्छौ भनी यी प्रतिवादीहरु समेतको सहयोगमा बेचेको भनी रुप राई र पेमा शेर्पाले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष कागज गरेको पाइन्छ ।

            ३.    प्रतिवादी दिर्घबहादुर तामाङ्ग शाही नेपाली जंङ्गी अड्डाको पिपा गोश्वारा कार्यालयको निजामती सेवा अन्तर्गतको पिपा भएको शाही नेपाली जङ्गी अड्डाको च.नं. ९२७ मिति २०५४।११।१९ को पत्रबाट देखिन आएको छ । घटना भएको समयमा मिति २०५४।३।१५ देखि ३१ सम्म विदामा बसेको भनी शाही नेपाली जंगी अड्डाको पत्रबाट देखिएको छ । मिति २०५४।३।१६ गते प्रतिवादीहरुले पीडित सावित्री वि.क. लाई बेच्ने सल्लाह गरी ऐ १७ गते पोखरा हुँदै सिलगुढी र दिल्ली हुँदै बम्वै लगी बिक्री गरेको र यी प्रतिवादी कान्छी तामाङ्ग र शेरबहादुर निज पीडितलाई लिई सिलगुढी लगेकोसम्म देखिन आएको छ । यसको विपरीत प्रतिवादी शेर भन्ने शेरबहादुर लामा र डल्ली भन्ने कान्छी तामाङ्गले पोखरा हुँदै सिलगुढी गएर त्यहाँवाट दिल्ली हुँदै वम्वै लगी साबित्री बि.क. लाई विक्री गरेको पुष्टि हुने ठोस आधार, प्रमाण पुनरावेदक नेपाल सरकारले पेश गर्न सकेको मिसिल कागजातबाट देखिदैन ।

            ४.    अब प्रस्तुत मुद्दामा प्रतिवादीहरु शेरबहादुर लामा र कान्छी तामाङ्ग उपर लगाइएको आरोप हेर्दा उक्त दुबै जना उपर जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४क को कसूर गरेकोमा सोही ऐनको दफा ८(१) अनुसार सजायको मांगदावी गरी अभियोग पत्र दायर भएको देखिन्छ । उक्त दफा ४(क) मा कुनै पनि उद्देश्यले मानिस बेच बिखन गर्ने कार्यलाई अपराध घोषित गरेको छ भने त्यस्तो गर्नेलाई सोही ऐनको दफा ८(१) अनुसार १० देखि २० बर्ष सम्म कैद सजायको व्यवस्था गरिएको छ । प्रतिवादीहरु शेरबहादुर र कान्छी तामाङ्गले उक्त दफा ४(क) को कसूर गरेको प्रमाणित हुन नसकेकोले निजहरुलाई दावीको दफा ८(१) अनुसार सजाय हुन सक्ने अवस्था देखिन आएन । यी प्रतिवादीहरुले पीडित साबित्री बि.क. लाई भारतको सिलगढी सम्म लगेको तर बिक्री गरेको नदेखिएकोले निजहरुले जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को खण्ड (ख) अन्तर्गतको बेच बिखन गर्ने उद्देश्यले मानिसलाई बिदेशमा लैजाने कसूर सम्म गरेको देखिन आएकोले सो कसूर गरेका प्रतिवादीहरुलाई सोही ऐनको दफा ८(२) अनुसार ५ बर्ष देखि १० बर्ष सम्म कैद सजाय हुन सक्ने ऐनले निर्दिष्ट गरेको पाइन्छ ।

            ५.    सजायको हकमा बिचार गर्दा कसूरको मात्रा र गम्भीरता अनुसार ५ बर्ष देखि १० बर्ष सम्म कैद सजायको ब्यवस्था ऐनले गरी कसूरको अनुपातमा सजाय गर्नुपर्ने गरी तजवीजी अधिकार Discretionary power अदालतलाई प्रदान गरेको पाइन्छ । यसप्रकारले सजायको न्यूनतम र अधिकतम हद ऐनले नै निर्धारण गरेको अवस्थामा कसूरको गम्भीरताको आधारमा कसूरको मात्रा निर्धारण गरी सोही अनुपातमा सजाय गर्ने गरी न्यायपूर्ण ढंगले उपरोक्त तजवीजी अधिकारको प्रयोग गर्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा प्रतिवादीहरुले अन्य प्रतिवादीहरु तथा पीडितको साथमा लागि भारतको सिलगुढी सम्म गएको अवस्था छ । त्यति जानुसम्मको क्रियाकलाप कसूरको रुपमा मानेको अवस्थामा पनि त्यस बापत अधिकतम वा उच्चतम सीमाको सजाय गर्नु न्यायपूर्ण नहुने देखिन्छ ।  

            ६.    तसर्थ माथि उल्लेखित आधार कारणबाट प्रतिवादी शेरे भन्ने शेरबहादुर लामा र कान्छी तामाङ्गलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ को दफा ४(ख) को कसूरमा ऐ दफा ८(२) बमोजिम जनही ५ (पाँच) बर्ष कैद सजाय गर्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५९।५।४ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । सजायको मात्रको सम्बन्धमा प्रत्यर्थी झिकाउँदा यस अदालतको आदेशमा लिइएको आधारसंग यो इजलास सहमत छैन । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जनाउ   महान्यायाधिवक्ताको  कार्यालयलाई दिनु । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियम बमोजिम बुझाइदिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इति सम्वत् २०६५ साल श्रावण महिना २७ गते रोज २ शुभम् ––––

इजलास अधिकृतः हरिप्रसाद शर्मा उपाध्याय पंगेनी

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु