शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९९९ - लिखत दर्ता वदर दर्ता ।

भाग: ५० साल: २०६५ महिना: मंसिर अंक:

 निर्णय नं.७९९९     ने.का.प. २०६५            अङ्क ८

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री बलराम के.सी.

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री गौरी ढकाल

दे.पु.ई.नं.०६३–DF–००११

आदेश मितिः २०६५।८।१९।५

 

मुद्दा :लिखत दर्ता वदर दर्ता ।

 

पुनरावेदक/वादीः रौतहट जिल्ला, जोकहा गा.वि.स.वडा नं. ५ वस्ने शेष मरगुवको हकमा र आफ्नो हकमा समेत अवदा खातुन                                               

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः रौतहट जिल्ला, जोकहा गा.वि.स.वडा नं. ५ वस्ने शेष रउफ समेत

 

§  अंशवण्डाको महल अन्तर्गत व्यवहार चलाउने भन्ने विषयलाई जुनसुकै कारोवार (Transaction) का रुपमा भन्दा पनि घर व्यवहार चलाउने अर्थमा लिनुपर्ने ।

§  अंशवण्डाको महललाई समग्रतामा अध्ययन गर्दा यसले सगोलको सम्पत्तिमाथि परिवारका सदस्यहरुको अधिकारलाई सुनिश्चित तुल्याएको देखिन्छ भने व्यवहार चलाउने मुख्य व्यक्तिलाई व्यवहार चलाउने शर्तमा केही थप अधिकार र जिम्मेवारीको प्रबन्ध पनि गरेको देखिन्छ । व्यवहार चलाउने व्यक्तिमा निहीत रहेको त्यस्तो अधिकार र जिम्मेवारीको स्रोत भनेको कानून नै हो । निश्चित कानूनलाई आधार बनाएर आफ्नो अधिकारको जिकिर लिने व्यक्तिले सोही कानूनद्वारा निर्दिष्ट प्रक्रियाको अवलम्वन गर्न इन्कार गर्न नहुने ।

(प्रकरण नं.४)

§  रिझ वापत वकसपत्र गरी हक हस्तान्तरण गर्ने क्रियाले घर व्यवहार चलाउने क्रियाको प्रतिनिधित्व गर्न नसक्ने ।

(प्रकरण नं.६)

§  व्यवहार चलाउने प्रयोजनका लागि जुनसुकै प्रकारले हक छाडे पनि त्यसको वदलामा केही प्राप्त भएको हुनुपर्ने, त्यसरी व्यवहार चलाउने प्रयोजनका लागि विक्री व्यवहार नभै रिझ वापत वकसपत्र गरी दिएको अवस्थामा यदि प्रमाणबाट in return केही प्राप्त भएको नदेखिने हो भने अंशवण्डाको १९(१) नं. विपरीत खर्च गरेको मान्नुपर्ने । 

(प्रकरण नं.७)

§  घरको मुख्य व्यक्ति हुँदैमा सबै अंशियारको हक लाग्ने अचल सम्पत्ति आधा भन्दा बढी खर्च गर्ने सम्बन्धमा खास, विशेष, थप वा छुटै अधिकार वा सहुलियत प्राप्त नहुने ।

§  सगोलको सम्पत्ति सबै अंशियारहरुको बराबर हक लाग्ने common property भएको कारण व्यवहार चलाउन खर्च गर्न सक्ने अधिकारको नाममा घरको मुख्य व्यक्तिको हैसियतले प्राप्त अधिकारको दुरुपयोग नहोस् भनेर एक प्रकारले Checks and Balance को रुपमा आधा भन्दा बढी अचल सम्पत्ति खर्च गर्नलाई हक पुग्नेहरुको मञ्जुरीको लिखत वा साक्षी वसेकोमा सदर हुने व्यवस्था भएको पाइने ।

§  घर व्यवहार चलाउने जिम्मा मुख्य व्यक्तिको हुन्छ र त्यस्तो मुख्य व्यक्तिले व्यवहार चलाउनु पर्दा व्यवहार चलाउने प्रयोजनका लागि मात्र अंशवण्डाको १९ नं. मा तोकिए वमोजिमको प्रकृया अन्तर्गत रही खर्च गर्न पाउने ।

§  सगोलको सम्पत्ति व्यवहार चलाउन चलमा सबै र अचलमा आधासम्म खर्च गर्न सक्ने भन्नु र अरु कसैबाट कुनै कुरामा रिझीएर वा कसैबाट तत्कालै वा भविष्यमा केही सहुलियत वा मद्दत वा सहारा वा लाभ पाउने उद्देश्यले आफ्नो एकलौटी भइसकेको सम्पत्ति वकस वा दान दिने भन्नु फरक फरक उद्देश्यका कार्य हुने ।

§  अंशवण्डाको १९(१) नं. लाई हेर्दा व्यवहार चलाउन परेको तर अन्य स्रोत नभएको कारणले गर्दा अचल सम्पत्ति खर्च गर्नु परेको अवस्थालाई ईंगित गरेको देखिन्छ, त्यसको अर्थ घर व्यवहार चलाउनका लागि गरिएको बिक्री व्यवहारको कार्यलाई जनाउँछ, ताकि बिक्री व्यवहारबाट आएको रकमले घर व्यवहार चल्न सक्छ । सामान्य शाब्दिक अर्थमा दान वकस दिँदा घर व्यवहार चलाउनका लागि आवश्यक रकम प्राप्त हुँदैन, त्यसैले पिता पूर्खाको पालाको अचल सम्पत्ति व्यवहार चलाउन परेकोले खर्च गरेको भन्ने जिकिर लिनेले रिझ वापत वकसपत्र नै दिएपनि त्यसको वदलामा रिझ वापत वकसपत्र प्राप्त गर्ने व्यक्तिको कारण घर व्यवहार चलाउनमा मद्दत पुगेको भन्ने कुरा प्रमाणित गरी देखाउनु पर्ने ।

§  अंश हक लाग्ने पैतृक सम्पत्ति मन्जुरी वेगर वकसपत्रको लिखत गरी हक हस्तान्तरण गर्न कानूनतः नमिल्ने ।

(प्रकरण नं.१०)

 

पुनरावेदन वादी तर्फवाटः

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः केशवप्रसाद नेपाल वि.निलकण्ठ नेपाल (ने.का.प. २०४८, अंक ११, निर्णय नं. ४४२२, पृष्ठ ७८१) मा प्रतिपादित संयुक्त इजलासवाट सिद्धान्त इखभचचगभि भएको ।

 

आदेश

            न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहर्‍याई पाऊँ भनी परेको निवेदनमा निस्सा प्रदान भै सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) वमोजिम पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-

हामी वादीको मूल पुरुष शेष अमदालको छोरा शेष असिज, निजको एकमात्र छोरा शेष रउफ र निजको एकमात्र छोरा शेष मरगुव भएकोमा बुढा ससुरा शेष अमदाल र बुढी सासुका साथै ससुरा शेष अजिज र सासु समेत धेरै अघि नै स्वर्गवास हुनु भएको र अंशियार मध्येको लोग्ने शेष रउफ म वादी शेष अवदा खातुन र मेरो नावालक छोरा शेष मरगुव समेत जना ३ अंशियार मात्र भै जो भएको पैतृक सम्पत्ति अंशियारहरुको संयुक्त आयवाट कमाएको श्रीसम्पत्ति जग्गा जमिन समेत केही जग्गा प्रतिवादी शेष रउफको नाममा र केही जग्गा स्व. ससुरा शेष अजिजको नाममा दर्ता राखी एकासगोलमा वसी भोग चलन गरी आएका   थियौं । प्रतिवादी मध्येको लोग्ने शेष रउफले जग्गा जमिन वेचविखन गर्न लाग्दा सो रोक्न खोज्दा प्रतिवादी मध्येको हामी वादीका लोग्ने र वावु शेष रउफले नमानी निजको नाम दर्ताको जग्गा जोकहा गा.वि.स.वडा नं. २ कि.नं. ६ को ०६ र ऐ गा.वि.स. जोकहा वडा नं. २ कि.नं. ५ को ०१६ समेत दुवै कित्ताको जग्गा ०२ मा हामी वादीहरु समेतको अंश हक लाग्ने जग्गा हुंदा हामीहरुलाई कुनै जानकारी नदिई गुपचुप तरिकावाट हामी वादीहरुको मन्जुरी वेगर प्रतिवादी मध्येका शेष ईर्सादलाई हालैको वकसपत्र लेखी पास गरी दिए भनी गाउँ घरमा चर्चा भएपछि लिखतको नक्कल २०५६।६।२ गते लिई जानकारी भएकोले प्रतिवादीहरुका नाउँमा नालेस गर्न आएका छौं । हाम्रो साक्षी प्रमाण वुझी प्रतिवादी शेष रउफको नाउँमा दर्ता रहेको जोकहा गा.वि.स.वडा नं. २ कि.नं. ६ को ०६ र ऐ ऐ वडा नं. २ कि.नं. ५ को ०१६ समेत दुवै कित्ताको जम्मा ०२ जग्गामा हामी वादी समेतको अंश हक लाग्ने भएकोले कि.नं. ६ को ०६ मध्ये दक्षिणवाट ३ भागको २ भाग अर्थात ०४ जग्गा र कि.नं. ५ को ०१६ मध्ये पश्चिम तर्फवाट तीन भागको दुई भाग समेत ०४ जग्गा समेतको लिखतहरु वदर गरी सो लिखतवाट प्रतिवादी शेष ईर्सादको नाममा दर्ता भएको सो दर्ता समेत वदर गरी  हामी वादीहरुको नाममा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५६।६।२१ को फिरादपत्र ।

            वादीले फिरादमा लेखाउनु भएको पुस्तावली ठिकै हो । वादी अवदा खातुन, शेष मरगुव समेत श्रीमती छोरा हुन, सगोलमा वसी आएको अंशियार हुन त्यस तर्फ मेरो विरोध छैन । म प्रतिवादी शेष रउफको नाम दर्ताको जिल्ला रौतहट, जोकहा गा.वि.स. वडा नं. २ कि.नं. ६ को ०६ र ऐ गा.वि.स.वडा नं. २ कि.नं. ५ को जग्गा ०१६ समेत दुवै कित्ताको जम्मा ०२ जग्गा प्रतिवादी मध्येको शेष ईर्सादलाई विक्री व्यवहार गरेको तीन भागको दुई भाग लिखत वदर गरिपाऊँ भन्ने वादी दावी भएको हुँदा घर व्यवहार चलाउन मैले प्रतिवादी मध्येको शेष ईर्सादलाई विक्री व्यवहार गरेको हुंदा वदर हुनुपर्ने होईन छैन भन्ने समेत व्यहोराको प्रतिवादी शेष रउफको प्रतिउत्तर पत्र ।

            वादीहरु प्रतिवादी रउफ सित अंश पाउने अंशियार नै होईनन् । अवदा खातुन आफ्नो फिराद लिई आउँदा उमेर २८ वर्ष भनी देखाउनु भएको छ । अंशवण्डा को १० नं. वमोजिम विवाह भएको १५ वर्ष र उमेर कम्तिमा ३५ वर्ष पुगी सकेकी स्वास्नी मानिसले मात्र अंश पाउँछे भन्ने व्यवस्था भएको छ । वादीहरुको आफ्नो सगोलको निजी आर्जनको सम्पत्ति नभै पैतृक सम्पत्ति भएकोले वादी दावी अनुसारको लिखत दर्ता वदर हुनुपर्ने होईन, वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी शेष ईर्सादको प्रतिउत्तर पत्र ।

            प्रतिवादी शेष रउफको नाउँमा यो दावी गरिएको ०२ जग्गा वाहेक सो भन्दा धेरै जग्गा रहे भएको स्थितिमा अंशवण्डाको १९ नं. समेतलाई दृष्टिगत गर्दा सो जग्गा आफुले मात्र हक हस्तान्तरण गर्न नपाउने भन्न मिलेन । शेष रउफका नाउँको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि समेतवाट १ विगाहा भन्दा वढी जग्गा देखि रहेको अवस्थामा वादी दावी वमोजिम लिखत दर्ता वदर गर्नुपर्ने सम्मको स्थिति नहुंदा दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५७।३।२६ को शुरु रौतहट जिल्ला अदालतको फैसला ।

            शुरु फैसला चित्त वुझेन । अंशवण्डाको १९ नं. मा दान वकस दिने भन्ने वाक्यांश छैन, विक्री व्यवहार गर्न हुने भन्ने वाक्यांश छ । आफुखुस गर्न पाउने वाहेक अरुमा अंशियार समेतको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानवकस गरी दिन हुंदैन भन्ने कानूनी व्यवस्था गरेको देखिन्छ । प्रतिवादी शेष रउफले सुक्री विक्री गरी नदिएका र आफुखुस गर्न पाउने सम्पत्ति नभै हाम्रो अंश हक लाग्ने सम्पत्ति वकस गरी दिएकोमा विक्रीको संज्ञा दिई भएको त्रुटिपूर्ण फैसला वदर गरी फिराद दावी अनुसार इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन जिकिर ।

            प्रतिवादी शेष रउफका नाउँमा वकस गरी दिएको दावी अनुसारको जग्गा वाहेक धेरै नै जग्गा वांकी रहेको भन्ने देखिन आएको छ । तसर्थ, अंशवण्डाको १९ नं. समेतको सन्दर्भमा दावी अनुसारको जग्गा प्रतिवादीले हक हस्तान्तरण गर्न नपाउने भन्न नमिल्ने देखिँदा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु रौतहट जिल्ला अदालतको मिति २०५७।३।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।११।४ को फैसला ।

            दान वकसको १ नं. अनुसार वकसपत्र गर्दा आफुखुसी गर्न पाउने सम्पत्ति मात्र वकसपत्र गर्न पाउने हो । अरुको समेत अंश हक लाग्ने जग्गामा अंशवण्डाको १९ नं. अनुसार मन्जुरी लिन नपर्ने भन्न मिल्दैन । घर व्यवहार चलाउन वकस गरी दिएको भनी अनुमानकै भरमा आधीसम्म आफूखुस गर्न पाउने भन्ने आधार गैरकानूनी छ । साथै लोकनाथ उपाध्याय विरुद्ध सिताराम ढकाल भएको वकसपत्र लिखत वदर मुद्दामा सम्मानित सर्बोच्च अदालतवाट ने.का.प. २०५४ अंक ५ पृ. २४७ को मुद्दामा घर व्यवहार चलाउन वकसपत्र गरी दिएको भन्ने जिकिर लिंदैमा पुग्दैन, प्रमाणद्धारा सो कुराको पुष्टि हुनु पर्दछभन्ने सिद्धान्त समेत प्रतिपादन भै सकेको हुंदा पुनरावेदन अदालत हेटौंडाको त्रुटिपूर्ण फैसला वदर गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १२  (१) को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहर्‍याई पाऊँ भन्ने समेत व्यहोराको वादीको निवेदन ।

            यसमा शेष रउफले पैतृक जग्गा आफ्नो छोरा श्रीमतीको मन्जुरी नलिई शेष ईरसादलाई वकसपत्र गरी दिएको लिखत वदर गरिपाऊँ भनी परेको उजुरीका दावी अनुसार लिखत वदर नहुने भनी शुरु रौतहट जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा अंशवण्डाको १९(१) नं. र ने.का.प. २०५४ नि.नं. ६३६८ पृ. २४७ मा प्रतिपादित कानूनी सिद्धान्त समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) अनुसार मुद्दा दोहर्‍याउने निस्सा प्रदान गरिदिएको छ । विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।६।७ को आदेश ।

            यसमा निवेदक अवदा खातुन समेतको तर्फवाट तारेखमा रहेका अधिवक्ता सुशिल अधिकारीले यस अदालतवाट तोकी पाएको मिति २०६०।७।१४ को तारेख गुजारेको भनी तामेलीको लागि इजलास समक्ष पेश हुन आएकोमा प्रस्तुत मुद्दामा यस अदालतवाट मुद्दा दोहर्‍याई हेर्ने निस्सा प्रदान भएको देखिएकोले मुलुकी ऐन अ.वं. २०१ नं. ले प्रस्तुत मुद्दा फैसला नै गर्नुपर्ने अवस्थाको हुँदा तामेलीमा राख्न मिलेन । कोर्ट फि समेतका दस्तुरको हकमा पछि फैसला हुँदा ठहरे वमोजिम हुने गरी प्रस्तुत मुद्दा पूर्व आदेशानुसार पुनरावेदकको लगतमा दर्ता गरी नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।१२।२३ को आदेश ।

व्यवहार चलाउनलाई २१ वर्ष मुनिका स्वास्नी छोरा, विधवा वुहारीको मन्जुरी नलिए पनि हुने गरी अंशवण्डाको १९(१) ले छुट दिएकोमा रिझ वापत वकस गरी दिए सम्वन्धमा २१ वर्ष मुनिकाको मन्जुरी लिन नपर्ने भनी सम्झन मिल्ने देखिन आएन । अंशवण्डाको १९ (१) नं. वमोजिम पिता पूर्खाको पालाको चल अचल गैह सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफूखुस गर्न पाउँछ । अचलमा आधी भन्दा वढी भने व्यवहार चलाउनै परे पनि २१ वर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिइ गरेको सदर हुँदैनभन्ने कानूनी व्यवस्था भएको  पाइन्छ । पुनरावेदक वादीहरुको समेत अंश हक लाग्ने पैतृक सम्पत्ति निजहरुको मन्जुरी वेगर हालैको वकसपत्रको लिखत गरी हक हस्तान्तरण गर्न कानूनतः मिल्ने अवस्था नदेखिँदा वादी दावी वमोजिम कि.नं. ६ को ०६ र कि.नं. ५ को ०१६ समेत जम्मा ज.वि. ०२ जग्गा प्रतिवादी शेष रउफले प्रतिवादी मध्येकै शेष ईर्सादलाई र.नं. २२८४ मिति २०५५।७।२९ को हालैको वकसपत्रको लिखत वदर गरी ३ भागको २ भाग जग्गा वादीहरुको नाउँमा दर्ता हुने   देखिन्छ । वादी दावी नपुग्ने ठहरी शुरु रौतहट जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याई भएको पुनरावेदन अदालत हेटौंडाको मिति २०५७।११।४ को फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । यस अदालतवाट केशवप्रसाद नेपाल विरुद्ध निलकण्ठ नेपाल समेत भएको  ने.का.प. २०४८, अंक ११, नि.नं. ४४२२, पृ. ७८१ को वकसपत्र वदर मुद्दामा वादीहरुको उमेर १७ वर्ष, ७ वर्ष र ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन, अंशवण्डाको महलको १९ (१) नं. अनुसार निजहरुको मन्जुरी लिन पर्ने अवस्था नदेखिने भनी प्रतिपादित भएको सिद्धान्तसँग यो इजलास असहमत हुँदा सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३ (ख) वमोजिम प्रस्तुत मुद्दा पूर्ण ईजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०६३।११।६ मा भएको फैसला ।

            २.    नियम वमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा हाम्रो समेत अंश हक लाग्ने कि.नं. ५ र ६ को जम्मा जग्गा विगाहा ०२ जग्गा प्रतिवादी शेष रउफले प्रतिवादी मध्येका शेष ईरसादलाई हालैको वकसपत्र पास गरी दिएकोले ३ भागको २ भाग लिखत वदर गरिपाऊँ भनी शेष रउफको श्रीमती अवदा खातुनले १० वर्षको नावालकको हकमा समेत अ.वं. १० नं. वमोजिम अदालतको अनुमती लिई दान वकसको ५ नं. वमोजिम फिराद दिएकोमा आफूले घर व्यवहार चलाउन प्रतिवादी मध्येको शेष ईर्सादलाई विक्री व्यवहार गरेको हुँदा वदर हुनुपर्ने होईन भनी प्रतिउत्तर फिराएको देखिन्छ । यी पुनरावेदक वादीहरु प्रतिवादी शेष रउफको स्वास्नी, छोरा भएको र फिराद दिँदाको समयमा एकासगोलमै रहे वसेको भन्ने कुरामा दुबै पक्ष बीच मुख मिलेकै देखिन्छ । विवादित कि.नं. ५ को ०१६ र कि.नं. ६ को ०६ जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको र त्यसमा यी पुनरावेदहरुको समेत अंश हक लाग्ने र प्रतिवादी शेष रउफले प्रतिवादी मध्येकै शेष ईर्सादलाई हालैको वकसपत्र गरी दिएको तथ्यमा पनि विवाद देखिँदैन । प्रतिवादी शेष रउफले घर व्यवहार चलाउन उक्त जग्गा विक्री व्यवहार गरेको हुँदा वदर हुनुपर्ने होईन भन्ने जिकिर लिएको देखिएको र यस अदालतको संयुक्त इजलासबाट अंशवण्डाको १९(१) नं. को कानूनी व्यवस्था वमोजिम पुनरावेदक वादीहरुको समेत अंश हक लाग्ने पैतृक सम्पत्ति निजहरुको मन्जुरी वेगर हालैको वकसपत्रको लिखत गरी हक हस्तान्तरण गर्न नमिल्ने भन्ने समेतको आधारमा वादी दावीको कि.नं. ६ र कि.नं. ५ समेतको जम्मा ज.वि. ०२ जग्गा प्रतिवादी शेष रउफले प्रतिवादी मध्येकै शेष ईर्सादलाई दिएको मिति २०५५।७।२९ को हालैको वकसपत्रको लिखत वदर गरी ३ भागको २ भाग जग्गा वादीहरुको नाउँमा दर्ता हुने निष्कर्षमा पुगी यस अदालतवाट केशवप्रसाद नेपाल विरुद्ध निलकण्ठ नेपाल समेत भएको  ने.का.प. २०४८, अंक ११, नि.नं. ४४२२, पृ. ७८१ को वकसपत्र वदर मुद्दामा वादीहरुको उमेर १७ वर्ष, ७ वर्ष र ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन, अंशवण्डाको महलको १९ (१) नं. अनुसार निजहरुको मन्जुरी लिन पर्ने अवस्था नदेखिने भनी प्रतिपादित सिद्धान्तसँग असहमत भै निश्चित सिद्धान्त कायम हुनका लागि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (ख) वमोजिम पूर्ण इजलासमा पेश भएको देखिन्छ । उल्लिखित परिप्रेक्ष्यमा हेर्दा प्रस्तुत मुद्दामा अंशवण्डाको १९ नं. को देहाय (१) मा रहेको पिता पूर्खाको पालाको अचल सम्पत्ति व्यवहार चलाउनलाई आधी सम्म आफूखुस गर्न पाउने भन्ने व्यवस्था अन्तर्गत आफू खुस गर्न पाउनेले के कुन प्रयोजनका लागि उपयोग गर्न पाउने हो ? भन्ने प्रश्नको निरुपण गर्नुपर्ने देखिन्छ । 

            ३.    प्रस्तुत मुद्दामा वादीको समेत अंश हक लाग्ने कि.नं. ५ र ६ को जग्गा प्रतिवादी शेष रउफले अर्का प्रतिवादी शेष ईरसादलाई घर व्यवहार चलाउन विक्री व्यवहार गरेको भन्ने कुरा प्रतिवादीले फिराएको प्रतिउत्तरबाट देखिएतापनि मिति २०५५।७।२९ को विवादित लिखतको व्यहोरालाई हेर्दा रिझ वापत वकसपत्र गरेको भन्ने देखिन्छ । लिखतले नै रिझ वापत विवादका जग्गाहरु वकसपत्र गरी दिएको भन्ने स्पष्ट गरेको अवस्थामा सो लिखत गरिदिने शेष रउफले उक्त कि.नं. ५ र ६ का जग्गाहरु घर व्यवहार चलाउन विक्री व्यवहार गरेको भनी लिएको दावी प्रतितलायक देखिँदैन ।

            ४.    मुलुकी ऐन, अंशवण्डाको १९(१) नं. को कानूनी व्यवस्थालाई हेर्दा पिता पूर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफूखुस गर्न पाउँछ । अचलमा आधि भन्दा वढी भने व्यवहार चलाउनै परे पनि २१ वर्ष नाघेका स्वास्नी, छोरा र विधवा वुहारीको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिइ गरेको सदर हुँदैनभन्ने व्यवस्था गरिएको देखिन्छ । उक्त व्यवस्थाले व्यवहार चलाउने मुख्य व्यक्तिलाई अभिभावकको नाताले आश्रित व्यक्तिहरुको तुलनामा केही बढी अधिकार र जिम्मेवारी प्रदान गरेको स्पष्ट नै छ, तर त्यस्तो अधिकार र जिम्मेवारीलाई निरपेक्ष रुपमा नभै व्यवहार चलाउनु पर्ने कर्तव्य पालनासँग सापेक्ष तुल्याइएको देखिन्छ । अंशवण्डाको महल अन्तर्गत व्यवहार चलाउने भन्ने विषयलाई जुनसुकै कारोवार (Transaction) का रुपमा भन्दा पनि घर व्यवहार चलाउने अर्थमा लिनुपर्ने हुन्छ । अंशवण्डाको महललाई समग्रतामा अध्ययन गर्दा यसले सगोलको सम्पत्तिमाथि परिवारका सदस्यहरुको अधिकारलाई सुनिश्चित तुल्याएको देखिन्छ भने व्यवहार चलाउने मुख्य व्यक्तिलाई व्यवहार चलाउने शर्तमा केही थप अधिकार र जिम्मेवारीको प्रबन्ध पनि गरेको देखिन्छ । व्यवहार चलाउने व्यक्तिमा निहीत रहेको त्यस्तो अधिकार र जिम्मेवारीको स्रोत भनेको कानून नै हो । निश्चित कानूनलाई आधार बनाएर आफ्नो अधिकारको जिकिर लिने व्यक्तिले सोही कानूनद्वारा निर्दिष्ट प्रक्रियाको अवलम्वन गर्न इन्कार गर्नु हुँदैन ।

            ५.    अधिकारको निरपेक्ष उपभोगको चाहना कसैले पनि गर्नु हुँदैन, अधिकारसँगै केही कर्तव्यहरु पनि जोडिएर आउँछन् । कर्तव्यको पालनाले अधिकारलाई सुनिश्चित बनाउँछ भने अधिकारको उपभोगले कर्तव्यको आग्रह गर्दछ । अर्थात् अधिकारको प्रयोग गर्दा अधिकार प्रयोग गर्न पाउने शर्त र परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पनि हेर्नु पर्ने हुन्छ । अधिकार र कर्तव्यका बीचको यो अन्योन्याश्रित सम्बन्ध र सन्तुलनको सान्दर्भिकता घर व्यवहारको सञ्चालनमा पनि रहन्छ । अंशवण्डाको १९(१) नं. ले व्यवहार चलाउने व्यक्तिलाई प्रदान गरेको आफूखुस गर्न पाउने अधिकारभित्र व्यवहार चलाउने कर्तव्य पनि जोडिन पुगेको छ । व्यवहार चलाउने कर्तव्यलाई पञ्छाएर सम्पत्ति आफूखस गर्न पाउने अधिकारको निरपेक्ष उपभोगको दावीले नै प्रस्तुत विवादको जन्म भएको हो । आफू खुस गर्न पाउने अधिकारलाई  घर व्यवहार चलाउनु पर्ने कर्तव्यले नियन्त्रण गर्दछ भन्ने कुरालाई घर व्यवहार चलाउन विक्री व्यवहार गरेको भनी प्रतिउत्तरमा लिइएको जिकिरबाट पनि स्वीकार गरिएको देखिन्छ । तर त्यसरी घर व्यवहार चलाउन विक्री गरेको भन्ने दावी लिँदा लिँदै पनि विवादित कित्ता नं. ५ र ६ को जग्गा शेष ईरसादलाई हक हस्तान्तरण गरिएको वकसपत्रको लिखतको कैफियत महलमा रिझ वापत वकसपत्र गरेको भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

            ६.    त्यसरी रिझ वापत वकसपत्र गरी हक हस्तान्तरण गर्ने क्रियाले घर व्यवहार चलाउने क्रियाको प्रतिनिधित्व गर्न सक्दैन । रिझ वापत वकसपत्र दिने र घर व्यवहार चलाउन पिता पूर्खाको पालाको सम्पत्ति अंशवण्डाको महलको १९(१) नं. मा तोकिएका नाताभित्रका व्यक्तिहरुको मञ्जुरी नलिएको भन्ने समेतको जिकिर लिने व्यक्तिले आफ्नो जिकिर अनुसार रिझ वापत दिएको वकसपत्रबाट घर व्यवहार चलाएको भन्ने समेतको प्रमाण पुर्‍याउनु पर्छ, त्यस्तो प्रमाण पुर्‍याउनु पर्ने भार निजमा नै रहन्छ । तर यदि रिझ वापत वकसपत्र दिने मुख्य व्यक्तिले त्यस्तो प्रमाणित गर्न नसकेको अवस्थामा भने अंशवण्डाको १९(१) नं. विपरीत खर्च गरेको अनुमान गर्नुपर्ने हुन्छ ।

            ७.    सगोलको सम्पत्तिको उपयोग घर व्यवहार चलाउने प्रयोजनका लागि गर्दा परिवारका सवै सदस्यहरुले त्यसको लाभ प्राप्त गर्दछन् र सम्पत्तिको त्यस प्रकारको उपयोगमा सहभागी हुने अवसर प्राप्त गर्दछन् भने कसैप्रति खुशी भएर वा रिझ वापत दिइने वकसपत्रबाट वकसपत्र दिने व्यक्ति वाहेक परिवारका अन्य सदस्यले कुनै प्रकारको प्रतिफल पाउने अवस्था हुँदैन । वकसपत्र दिने व्यक्ति बाहेक परिवारका अन्य सदस्यहरुको सहभागिता नरहेको र उनीहरुलाई जानकारी समेत नभएको अवस्थामा त्यस्तो लिखतबाट उनीहरुले न त कुनै सन्तुष्टि नै प्राप्त गर्दछन्, न त त्यस्तो लिखतप्रति उनीहरुको अपनत्व नै रहन्छ । घर व्यवहार चलाउने कर्तव्यसँग जोडिएको व्यापक विषयलाई एउटा व्यक्तिको खुशी र सन्तुष्टिमा सीमित तुल्याउने गरी व्याख्या गर्दा त्यसले अंश हक सम्बन्धी विद्यमान कानूनी व्यवस्था र हाम्रो पारिवारिक संरचनामा नै प्रतिकूल प्रभाव पार्न सक्छ । त्यसैले अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफूखुस गर्न पाउँछ भन्ने अंशवण्डाको १९(१) नं. को व्यवस्थाले मुख्य व्यक्तिले अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा रिझ वापत वकसपत्र दिने कार्य घर व्यवहार चलाउन खर्च भएको भन्ने जनाउँदैन । व्यवहार चलाउने भन्ने कुराले व्यवहार चलाउने प्रयोजनका लागि जुनसुकै प्रकारले हक छाडे पनि त्यसको वदलामा केही प्राप्त भएको हुनुपर्ने भन्ने कुरालाई जनाउँछ । त्यसरी व्यवहार चलाउने प्रयोजनका लागि विक्री व्यवहार नभै रिझ वापत वकसपत्र गरी दिएको अवस्थामा यदि प्रमाणबाट in return केही प्राप्त भएको नदेखिने हो भने अंशवण्डाको १९(१) नं. विपरीत खर्च गरेको मान्नु पर्ने  हुन्छ । 

            ८.    लिखतमा नै रिझ वापत भनी वकसपत्रको लिखत गरिदिएको व्यहोरा उल्लेख भएको स्थितिमा दान वकसको महलमा रहेको कानूनी व्यवस्था पनि सान्दर्भिक हुन आउँछ । मुलुकी ऐन, दान वकसको महलको नं. १ मा रहेको आफ्नो हक पुग्ने सम्पत्ति दान वा वकस गरी दिन हुन्छ ... । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मञ्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वा वकस गरिदिन हुँदैनभन्ने व्यवस्था गरिएको देखिन्छ । अंशवण्डाको महल र दान वकसको महल दुबै सम्पत्ति सम्बन्धी कानून  हुन् । यी दुई कानूनले आआफ्नो ठाउँमा सम्पत्ति आर्जन गर्ने र भोग गर्ने अधिकार प्रदान गरेपनि सम्पत्तिमा आफ्नो हक छाड्ने सम्बन्धी अधिकारमा केही भिन्न भिन्न व्यवस्थाहरु गरेको देखिन्छ । यसको लागि सम्पत्तिको प्राप्ती हुने आधार र स्रोत पनि हेर्नु पर्ने हुन्छ । हाम्रो कानूनले सम्पत्ति प्राप्त हुने सम्बन्धमा तीन प्रकारका व्यवस्थाहरु गरेको पाइन्छ । पहिलोकुनै परिवारमा जन्मेको कारणले परिवारको सदस्यको नाताले नैसर्गिक अधिकारका रुपमा अंश वापत प्राप्त गरेको सम्पत्ति, दोस्रोआफ्नो ज्ञान सीपबाट आर्जन गरेको सम्पत्ति र तेस्रोकसैबाट दान वकस वा अपुतालीबाट प्राप्त गरेको सम्पत्ति । अंशवण्डाको महलले सगोलको सम्पत्तिमा प्रत्येक अंशियारको वरावरको हक प्रदान गर्दछ । त्यस बाहेक परिवारको मुख्य व्यक्तिलाई केही जिम्मेवारी र कर्तव्य पनि अंशवण्डाको महलमा तोकिएको छ । प्रस्तुत मुद्दामा अंशवण्डाको महल र दान वकसको महलले गरेको व्यवस्थाका साथै त्यस सम्बन्धी विधायिकी मनसायलाई पनि हेर्नु पर्ने देखिन्छ ।

            ९.    अंशवण्डाको महलले घरको मुख्य व्यक्तिलाई परिवारका अन्य आश्रित सदस्यको अभिभावकको हैसियतको दर्जा दिई त्यस्तो अभिभावकको हैसियत राख्ने मुख्य व्यक्तिले सबैको अंश लाग्ने सम्पत्ति खर्च गर्ने कुरामा केही बन्देज लगाएको देखिन्छ । पारिवारिक Hierarchy मा घर व्यवहार चलाउन घरको मुख्य व्यक्तिलाई केही विशेष र थप सम्मान र हैसियत भएतापनि सबै अंशियारको बराबर हक लाग्ने सम्पत्ति खास गरी अचल सम्पत्तिको विषयमा घरको मुख्य व्यक्तिलाई सबै अंशियारहरु मध्येमा पहिलो अर्थात् first among the equals को रुपमा राखेको देखिन्छ । घरको मुख्य व्यक्ति हुँदैमा सबै अंशियारको हक लाग्ने अचल सम्पत्ति आधा भन्दा बढी खर्च गर्ने सम्बन्धमा खास, विशेष, थप वा छुटै अधिकार वा सहुलियत प्राप्त हुँदैन । सगोलको सम्पत्ति सबै अंशियारहरुको बराबर हक लाग्ने common property भएको कारण व्यवहार चलाउन खर्च गर्न सक्ने अधिकारको नाममा घरको मुख्य व्यक्तिको हैसियतले प्राप्त अधिकारको दुरुपयोग नहोस् भनेर एक प्रकारले Checks and Balance को रुपमा आधा भन्दा बढी अचल सम्पत्ति खर्च गर्नलाई हक पुग्नेहरुको मञ्जुरीको लिखत वा साक्षी वसेकोमा सदर हुने व्यवस्था भएको हो । घर व्यवहार चलाउने जिम्मा मुख्य व्यक्तिको हुन्छ र त्यस्तो मुख्य व्यक्तिले व्यवहार चलाउनु पर्दा व्यवहार चलाउने प्रयोजनका लागि मात्र अंशवण्डाको १९ नं. मा तोकिए वमोजिमको प्रकृया अन्तर्गत रही खर्च गर्न पाउने देखिन्छ । ऐ. १९(१) नं. मा रहेको व्यवहार चलाउन भन्नाले घर व्यवहार चलाउन भन्ने नै बुझिन्छ, त्यसमा विवाद हुन सक्दैन । सगोलको सम्पत्ति व्यवहार चलाउन चलमा सबै र अचलमा आधासम्म खर्च गर्न सक्ने भन्नु र अरु कसैबाट कुनै कुरामा रिझीएर वा कसैबाट तत्कालै वा भविष्यमा केही सहुलियत वा मद्दत वा सहारा वा लाभ पाउने उद्देश्यले आफ्नो एकलौटी भइसकेको सम्पत्ति वकस वा दान दिने भन्नु फरक फरक उद्देश्यका कार्य हुन् । अंशवण्डाको १९(१) नं. लाई हेर्दा व्यवहार चलाउन परेको तर अन्य स्रोत नभएको कारणले गर्दा अचल सम्पत्ति खर्च गर्नु परेको अवस्थालाई ईंगित गरेको देखिन्छ, त्यसको अर्थ घर व्यवहार चलाउनका लागि गरिएको बिक्री व्यवहारको कार्यलाई जनाउँछ, ताकि बिक्री व्यवहारबाट आएको रकमले घर व्यवहार चल्न सक्छ । सामान्य शाब्दिक अर्थमा दान वकस दिँदा घर व्यवहार चलाउनका लागि आवश्यक रकम प्राप्त हुँदैन, त्यसैले पिता पूर्खाको पालाको अचल सम्पत्ति व्यवहार चलाउन परेकोले खर्च गरेको भन्ने जिकिर लिने प्रतिवादीले रिझ वापत वकसपत्र नै दिएपनि त्यसको वदलामा रिझ वापत वकसपत्र प्राप्त गर्ने व्यक्तिको कारण घर व्यवहार चलाउनमा मद्दत पुगेको भन्ने कुरा प्रमाणित गरी देखाउनु पर्छ । तब मात्र पिता पुर्खाको पालाको अचल सम्पत्ति अन्य अंशियारको मञ्जुरी नलिई आफूखुशी गर्न पाउनेले सही रुपमा आफूखुशी गरेको रहेछ भन्न सकिन्छ । तर प्रस्तुत मुद्दाका प्रतिवादी शेष रउफले अर्का प्रतिवादी शेष ईर्सादलाई हालैको वकसपत्रको लिखत गरिदिँदा न त अंशवण्डाको १९(१) नं. वमोजिम व्यवहार चलाउने प्रयोजनका लागि दिएको भन्ने नै देखिन्छ, न त दान वकसको १ नं. मा उल्लेख भएझै हक पुग्नेहरुको मञ्जुरी लिएको नै देखिन्छ ।

१०.    तसर्थ पुनरावेदक वादीहरुको समेत अंश हक लाग्ने पैतृक सम्पत्ति निजहरुको मन्जुरी वेगर हालैको वकसपत्रको लिखत गरी हक हस्तान्तरण गर्न कानूनतः मिल्ने अवस्था नदेखिँदा वादी दावी वमोजिम कि.नं. ६ को ०६ र कि.नं. ५ को ०१६ समेत जम्मा ज.वि. ०२ जग्गा प्रतिवादी शेष रउफले अर्का प्रतिवादी शेष ईर्सादलाई गरिदिएको र.नं. २२८४ मिति २०५५।७।२९ को हालैको वकसपत्रको लिखत वदर गरी ३ भागको २ भाग जग्गा वादीहरुको नाउँमा दर्ता हुने ठहर्‍याएको यस अदालत संयुक्त इजलासको मिति २०६३।११।६  को फैसला मनासिव ठहर्छ ।

            ११.    यस्तै विवादको विषयवस्तु समावेश भएको केशवप्रसाद नेपाल विरुद्ध निलकण्ठ नेपाल समेत भएको वकसपत्र वदर मुद्दा (ने.का.प. २०४८, अंक ११, नि.नं. ४४२२, पृ. ७८१) मा वादीहरुको उमेर १७ वर्ष, ७ वर्ष र ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन, अंशवण्डाको महलको १९(१) नं. अनुसार निजहरुको मन्जुरी लिन पर्ने अवस्था नदेखिने भनी ठहर गरेको यस अदालत संयुक्त इजलासबाट मिति २०६३।३।११ मा भएको रुलिङ overrule गरिएको छ । अरुमा तपसील वमोजिम गर्नु ।

 

तपसिल

 

माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भै  दावीको कि.नं. ६ र कि.नं. ५ समेतको जम्मा ज.वि. ०२ जग्गा प्रतिवादी शेष रउफले अर्का प्रतिवादी शेष ईर्सादलाई गरिदिएको र.नं. २२८४ मिति २०५५।७।२९ को हालैको वकसपत्रको लिखत वदर भै ३ भागको २ भाग जग्गा वादीहरुको नाउँमा दर्ता हुने ठहरेको हुँदा उक्त लिखत मध्ये ३ भागको २ भाग लिखत वदर गरी वादीहरुको नाउँमा दर्ता समेत गरिदिनु भनी सम्बन्धित मालपोत कार्यालयलाई लेखी पठाउन रौतहट जिल्ला अदालतलाई जनाउ दिनु ......१

कोर्टफिको हकमा विचार गर्दा शुरु जिल्ला अदालतमा फिराद गर्दा वादीले राखेको कोर्ट फि रु.३००।–, पुनरावेदन गर्दा कोर्ट फि ऐनको दफा १८ वमोजिम राखेको कोर्ट फि रु.४५।समेत जम्मा रु.३४५।राखेको देखिँदा माथि इन्साफ खण्डमा लेखिए अनुसार ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहरेको हुँदा जम्मा कोर्ट फि मध्ये ३ खण्डको २ खण्ड अर्थात् रु.२३०।प्रतिवादीबाट भराई पाउँ भनी निजको यसै सरहदको जेथा देखाई ऐनको म्यादभित्र वादीले दरखास्त दिए केही दस्तुर नलिई उक्त रकम प्रतिवादीबाट वादीलाई भराई दिनु, साथै यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भए पछि कोर्ट फि ऐन, २०१७ को दफा १९ वमोजिम लाग्ने दस्तुर रु.२०।वादीबाट दाखिल भएको नदेखिँदा प्रतिवादीबाट असूल गर्नु, निजबाट असूल हुन नसके वादीबाट असूल गरी सदर स्याहा गर्नु भनी शुरु अदालत तहसिल शाखालाई लेखी पठाईदिनु .......... २  

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ३

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.दामोदरप्रसाद शर्मा

न्या. गौरी ढकाल

 

इति सम्बत् २०६५ साल मार्ग १९ गते रोज ५ शुभम् ................

इजलास अधिकृतः उमेश कोईराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु