शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८००० - मिलापत्र वदर ।

भाग: ५० साल: २०६५ महिना: मंसिर अंक:

निर्णय नं.८०००      ने.का.प. २०६५            अङ्क ८

 

सर्वोच्च अदालत संयुक्त इजलास

संम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

संवत २०५६ सालको दे.पु.नं..८५८७, ८५९०

फैसला मितिः २०६५।८।२३।२

 

मुद्दाः मिलापत्र वदर ।

 

पुनरावेदक/वादीः काठमाडौं जिल्ला का.म.न. पा वार्ड नं. ४ वस्ने टिकाकुमारी दाहालको मु.स. गर्ने कृष्णबहादुर दाहाल

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः काठमाडौं जिल्ला जितपुरफेदी गा.वि.स वार्डनं. ४ वस्ने सूर्यप्रसाद धिताल समेत

 

पुनरावेदक/प्रतिवादीः  काठमाडौं जिल्ला जितपुरफेदी गा.वि.स वार्ड नं. ४ वस्ने सूर्यप्रसाद       धिताल

विरुद्ध

प्रत्यर्थी/वादीः काठमाडौं जिल्ला का.म.न.पा वार्ड नं. ४ वस्ने टिका कुमारी दाहाल

 

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री ठाकुरप्रसाद शर्मा         

पुनरावेदन फैसला गर्ने

मा.न्या. श्री माधवराज थापा

मा.न्या. श्री हरिराम कोइराला

 

§  दर्ता कायम नै नरहेको जग्गा अनधिकृत रुपमा मिलापत्रमा उल्लेख गर्दैमा हककायम हुने स्थिति नहुने ।

§  आफ्नो हकभोग र दर्तामा नरहेको जग्गा कसैले मिलापत्रमा उल्लेख गराउँदैमा दर्तावालाको हक नजाने भएकोले त्यसलाई बदर गराइरहनुको औचित्य र प्रयोजन नरहने ।

(प्रकरण नं.३)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्री हरिहर दहाल एवं विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५५।१०।२५को फैसला उपर वादी तथा प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) (ख) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

            म फिरादीले नन्दकुमारीबाट मिति २०१९।७।१६ मा रु.२०००।मा मौजे हाडी गाउँको रै.नं. ११० र ५९५ को जग्गा राजिनामा गरी लिई वद्रीप्रसाद दुलाललाई २०२० सालमा कबुलियत गरी मोहीमा कमाउन दिई निजले र निजका छोरा श्रीमतीले कुत बुझाई आएका छन् । सो जग्गा सर्भे नापीमा का.जि.का.न.पा वार्ड नं. २३(ढ) कि.नं. १७ मा ३१०२ मा नापी भएको र दर्ता गरिपाऊँ भनी मा.पो. का.मा निवेदन दिई कारवाही चलेकोमा सो जग्गा शंकरमान श्रेष्ठ र दिलिप कुमार श्रेष्ठको नाउँमा अस्थायी दर्ता गरी दिने गरी मिति २०४८।३।११ मा भएको निर्णय वदर गरिपाऊँ भनी छुट्टै फिराद दिएको छु । उक्त मेरो जग्गा खाने गरी विपक्षी देवकुमारी वादी र सूर्यप्रसाद धिताल प्रतिवादी भै अंश मुद्दा गरी सो जग्गा सूर्यप्रसाद धितालको कायम हुने गरी मिति २०४७।८।१४ मा मुद्दा मिलापत्र गरेको जानकारी हुन आएको हुँदा फिराद गर्न आएको छु । मेरो जग्गा लिनुदिनुपर्ने गरी मिलापत्र गर्ने हक विपक्षीहरुलाई नभएकोले अ.वं. ८६ नं. हुने वमोजिम उक्त मिलापत्र वदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादी टिकाकुमारी दाहालको फिराद पत्र ।

            विवादीत जग्गा शम्शेरबहादुर पाण्डेको नाउँमा दर्ता भएको र उक्त जग्गा २००५।११।२८ गते आमा देव कुमारी धितालले भोग वन्धकी लिनु भएकोमा मिति २०३०।१०।२८ मा शम्शेरबहादुरको छोरा दिपेन्द्र जंग पाण्डेबाट फार्छे राजिनामा गराई लिएको जग्गा हो आमा देवकुमारी संगको अंश मुद्दामा मिति २०४७।८।१४ मा मिलापत्र गर्दा मेरो हक हुन आएको हुँदा मिलापत्र बमोजिम आआफ्नो अंशको जग्गा आआफ्नो गरिपाऊँ भनी मालपोत कार्यालयमा निवेदन परी कारवाही चलेको छ । मेरो उक्त राजिनामा उपर कसैको उजुर नपरि यथावत रहेको अवस्थामा दुःख दिनका लागि झुठ्ठा फिराद गरेको हुँदा अ.वं. १८० नं. वमोजिम खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको सूर्यप्रसाद धितालको प्रतिउत्तर पत्र ।

प्रतिवादी मध्येकी देवकुमारी धितालका नाउँमा जारी भएको इतलायनामा मिति २०४८।९।६ मा तामेल भएकोमा उक्त म्याद गुजारी प्रतिउत्तर नदिई वसेको देखिन्छ ।

पहिले परेको अंश मुद्दामा उक्त जग्गा तायदातीमा सम्म उल्लेख गरेको, तर जग्गाको हक भोग दर्ता तिरो जस्ता कुनै पनि श्रेस्ताले उक्त जग्गा सूर्यप्रसादको रहेछ भन्ने प्रमाण नदेखिदा सूर्यप्रसादको कायम हुने गरी मिति २०४७।८।१४ मा भएको मिलापत्र सो कित्ताको हक सम्म वदर हुने ठहर्छ । तर सो जग्गा यसै लगाउको दे.मि.नं. २०८६ को यिनै वादी र दिलिपकुमार श्रेष्ठ समेत प्रतिवादी भएको दर्ता वदर हक कायम मुद्दामा शंकर मान श्रेष्ठ समेतको ठहर्ने गरी आजै यसै इजलासबाट निर्णय भएकोले मेरो हक कायम गरिपाऊँ भन्ने वादी दावी भने पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५०।३।१० को फैसला ।

            मेरो राजिनामाको दाविको जग्गा विपक्षीहरु वीच चलेको अंश मुद्दामा मिति २०४७।८।१४ मा मिलापत्र गर्दा विपक्षी सूर्यप्रसादको हक कायम हुने गरी भएको हद सम्म मिलापत्र वदर हुने ठहर्‍याएको शुरुको फैसलामा चित्त बुझेको छ । तर सो जग्गामा मेरो हक कायम हुने नठहर्‍याई दावी नपुग्ने ठहर्‍याएको हद सम्म चित्त बुझेन किनभने शंकर मान श्रेष्ठ समेतले उक्त मिलापत्र वदरमा दावी गरेको छैनन्, सो जग्गा निजहरुको भए मिलापत्र वदरमा अ.वं. ८६ नं. वमोजिम फिराद दायर गर्ने थिए सो नगरेको अवस्थामा दावी भन्दा वाहिर गई ठहर गरेको फैसला अ.वं. १८४ (क) र १८५, १९२, प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को विपरीत  हुँदा सो फैसला वदर गरी वादी दावी वमोजिम इन्साफपाऊँ भन्ने समेत व्यहोरा को वादी टिका कुमारी दाहालको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

            वादी दावीको जग्गा शम्शेरबहादुर बाट भोग वन्धकी र निजको शेषपछि निजका हकवाला दिपेन्द्रजंग पाण्डेबाट फार्छे राजिनामा गरेको जग्गामा सो राजिनामा उपर दावी विरोध नभएको अवस्थामा वादीको हक नै नपुग्ने निजको फिराद पत्रबाट मिलापत्र वदर हुने ठहर्‍याएको शुरुको फैसला त्रुटीपूर्ण छ । विवादीत जग्गाको दर्ताका समवन्धमा यी वादीले मालपोत कार्यालयमा कुन मितिमा निवेदन दिएकी हुन फिरादमा खुलाउन सकेकी छैनन् । यसै लगाउको अर्को मुद्दामा मेरै पक्ष वनेका दिलिप कुमार समेत जना २ को २०३९।१२।९ मा र म पुनरावेदक को २०४७ चैत्रमा मालपोत कार्यालयमा निवेदन परी सकेको छ । दर्तामा विपक्षी र म पुनरावेदक गरी हामी दुवैको निवेदन परी उही वेलादेखि पक्ष विपक्ष भएको र वादीलाई उहि वेलामा नै मिलापत्र भएको कुरा थाहा भएकोले अ.वं. ८६ नं. को म्याद भित्रको फिराद नहुँदा अ.वं. १८० नं. वमोजिम खारेज गर्नुपर्नेमा सो नगरेमो शुरु फैसला वदर गरी झुठ्ठा दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्र. सूर्यप्रसाद धितालको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

            यस्मा वादी दावी भन्दा वाहिर गई सूर्यप्रसादको कायम हुने गरी मिलापत्र वदर हुने समेत ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिदा पुनरावेदन नपर्ने प्रतिवादी देव कुमारीलाई झिकाई आए पछि यसै लगाउको हक कायम दर्ता वदर मुद्दा साथै पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०५५।३।२२ को  आदेश ।

            विवादको कि.नं. १७ को जुन जग्गामा आफ्नो हक पुगेको छैन त्यस्तो जग्गालाई अंश मुद्दाको तायदातीमा दर्शाई मिलापत्र गरेकोलाई कानूनले मान्यता दिन मिल्ने अवस्था नहुँदा सूर्यप्रसादको कायम हुने गरी मिति २०४७।८।१४ मा भएको मिलापत्र सो कित्ताको हकमा सम्म वदर गर्ने गरेको र यसै लगाउको यिनै वादी र शंकरमान समेत भएको दे.पु.नं. ६०/७९ को हक कायम दर्ता वदर मुद्दामा शंकरमान समेतको ठहर्ने गरी शुरुबाट भएको फैसला आज यसै इजलासबाट सदर हुने गरी फैसला भएकाले उक्त जग्गामा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५०।३।१० को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।१०।२५ को फैसला ।

            विपक्षीहरु वीच भएको मिति २०४७।८।१४ को मिलापत्र उपर दावी नगर्ने शंकरमान श्रेष्ठ समेतको विवादीत कि.नं १७ को जग्गामा हक हुन नसक्ने, प्रतिवादी सूर्यप्रसादको सो कि.नं. १७ को जग्गामा हक नभएको भन्ने कुरा फैसलाले स्वीकार गरेको अवस्थामा र मेरो राजिनामालाई कसैले अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा दावी पुग्न नसक्ने ठहर गरेको शुरु तथा पुनरावेदन अदालतको फैसला अ.वं.१८४(क) १८५ र अ.वं. ८६ नं. समेतको विपरीत हुँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२ (१) (क) (ख) को आधारमा मुद्दा दोहोर्‍याई फैसला वदर गरिपाऊँ भन्ने समेत व्यहोराको वादी टिका कुमारी दाहालको निवेदनपत्र ।

मेरो आमा देव कुमारी र म बीच चलेको अंश मुद्दाको मिति २०४७।८।१४ को मिलापत्रको जानकारी वादीलाई तत्कालै भएकोले अ.वं ८६ नं. को म्याद भित्रको फिराद नपरेको फिराद खारेज गर्नुपर्ने नगरेको, आमा देव कुमारीको मिति २०४८।५।१ मा मृत्यु भएको व्यक्तिलाई विपक्षी बनाई गरिएको फिराद पनि खारेजभागी छ । हक कायममा दावी नपुग्ने वादीलाई मिलापत्र वदरको फिराद दिने हक अ.व. ८२ नं. ले  हुँदैन । हदम्याद भित्र नपरेको फिराद खारेज नगरेको र अ.वं. १८५ नं. वमोजिम वाद विवादको मुल्यांकन नगरि भएको पुनरावेदन फैसला न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा, (१) को खण्ड (क) र (ख) अनुसार मुद्दा  दोहोर्‍याई हेरी न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यप्रसाद दाहालको  निवेदन पत्र ।

यस्मा म फिरादीको जग्गा खानलाई आपसमा काठमाडौं जिल्ला अदालतबाट मिति २०४७।८।१४ मा अंश मुद्दामा गरेको मिलापत्र वदर गरिपाऊँ भन्ने वादी दावीमा मिलापत्र वदर हुने हो होइन भन्ने विषयमा निर्णय गर्नुपर्नेमा वादी दावी वाहिर गै मिलापत्र वदर हुने र हक कायम तर्फ दावी नपुग्ने भनी गरेको काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मुलुकी ऐन अ.वं. १८४ (क) नं १८५ नं. को व्याख्यात्मक त्रुटी एवं ने.का.प. २०५० नि.नं. ४७९६ पृष्ठ ५५४ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल हुनुको साथै यसै लगाउको दो.नि.नं. ६५४७ र ६५६३ मा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्ने आदेश भएको समेत आधारबाट यस्मा पनि न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षीहरुलाई झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५८।१०।१७ को आदेश ।

नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक बादीको तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्री हरिहर दहाल एवं विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले मिलापत्र बदर गरी बादीको हक कायम हुनुपर्नेमा मिलापत्र बदर गरी हककायम मुद्दाका प्रतिवादी दिलीप कुमार श्रेष्ठ समेतको हक कायम हुने ठहराएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी पुनरावेदकको हक कायम गरिनु पर्दछ भनी गर्नु भएको वहस सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन, र पुनरावेदक वादी र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।

२.    निर्णय तर्फ विचार गर्दा विपक्षी देवकुमारी वादी र सूर्यप्रसाद धिताल प्रतिवादी भै अंश मुद्दा गरी मेरो राजिनामा भित्रको कि.नं.१७ को जग्गा सूर्यप्रसाद धितालको कायम हुने गरी मिति २०४७।८।१४ मा मिलापत्र गरेको हुँदा बदर गरी हक कायम गरिपाऊँ भन्ने समेत वादी दावीमा कि.नं.१७ को जग्गा मिलापत्रमा उल्लेख गरेको हदसम्म बदर हुने ठहराएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उपर बादी प्रतिवादी दुवै पक्षको मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने निवेदन परी यस अदालतवाट लगाउको हक कायम दर्ता बदर मुद्दामा दोहोर्याउने निस्सा भएको आधारवाट प्रस्तुत मुद्दा पनि दोहोर्याई हेर्ने आदेश भएको  देखियो ।

३.    प्रत्यर्थीहरु बीच चलेको अंश मुद्दामा विवादित कि.नं. १७ को जग्गा पुनरावेदक प्रतिवादी सूर्यप्रसाद धितालको अंश भागमा पर्ने गरी मिति ०४७।८।१४ मा मिलापत्र भएको देखिए पनि सो जग्गा निजहरुको हो भन्ने साविक हक भोगको कुनै प्रमाण पेश भएको देखिएको छैन । प्रत्यर्थी प्रतिवादीहरुका नाउँमा दर्ता कायम नै नरहेको उक्त कि.नं. १७ को जग्गा अनधिकृत रुपमा मिलापत्रमा उल्लेख गर्दैमा निजहरुको हककायम हुने स्थिति पनि हुदैन । आफ्नो हकभोग र दर्तामा नरहेको जग्गा कसैले मिलापत्रमा उल्लेख गराउँदैमा दर्तावालाको हक नजाने भएकोले त्यसलाई बदर गराईरहनुको खासै औचित्य र  प्रयोजन पनि रहदैन । मालपोत कार्यालयले उक्त मिलापत्रलाई मान्यता नदिई विवादको जग्गा दिलीपकुमार श्रेष्ठ समेतका नाउँमा दर्ता गरी चित्त नबुझे अदालतमा जानु भनी पुनरावेदक सूर्यप्रसाद धिताल समेतलाई सुनाएकोमा सो अस्थायी दर्ता बदर तर्फ निजको फिराद नै नपरेवाट मालपोत कार्यालयको निर्णयलाई स्वीकारेको समेत देखियो।

४.    मालपोत कार्यालयको मिति २०४८।३।११ को निर्णयले दिलीपकुमार श्रेष्ठ समेतका नाऊंमा अस्थायी दर्ता भएको विवादित कि.नं १७ को जग्गा निजहरुका नाउँमा भएको अस्थायी दर्ता बदर गरिपाऊँ भनी यिनै पुनरावेदक वादीले दिएको यसै लगाउको दे.पु.नं.८५८८ र ८५८९ को हक कायम दर्ता बदर मुद्दामा वादी दावी नपुग्ने ठहराएको शुरुको सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहरी आज यसै इजलासवाट फैसला भएको हुँदा सोही मुद्दामा विवेचित आधारकारणवाट पुनरावेदक वादीको हक कायम हुने अवस्था रहेन । 

५.    अतः उल्लिखित आधार प्रमाणवाट शुरु काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१०।२५ को फैसला मनासिव देखिदा सदर हुने ठहर्छ । पुनरावेदक बादी र प्रतिवादी दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारप्रसाद गिरी

 

इति संवत २०६५ साल मंसिर २३ गते रोज २ शुभम्.....

 

इजलास अधिकृतः नारायण सुवेदी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु