शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४६६० - जग्गा खिचोला

भाग: ३४ साल: २०४९ महिना: फागुन अंक: ११

निर्णय नं. ४६६०     ने.का.प. २०४९ ()  अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

२०४७ सालको देवानी विविध नं. ७२

फैसला भएको मिति: २०४९।११।२५।२ मा

निवेदक/प्रतिवादी: कास्की जि. आर्वा विजय गा.पं. वडा नं. ३ बस्ने काशीदत्त बराल

विरुद्ध

विपक्षी/वादी: ऐ ऐ.बस्ने स्यानी नन्दकला उपाध्याय बराल

मुद्दा : जग्गा खिचोला

(१)    जग्गामा खिचोला गर्न आएपछि मात्र मुद्दाको फिराद परेको देखिन्छ । खिचोला भएपछि फिराद परेको र प्रतिवादीको नाउँमा विवादित जग्गा दर्ता भएको समेत नदेखिएको अवस्थामा अपुतालीको हदम्याद भित्र फिराद नपरेको भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री हिरा रेग्मी

फैसला

न्या.मोहनप्रसाद शर्मा

१.     श्री ५ महाराजाधिराज सरकारबाट तत्कालिन न्यायिक समितिको सिफारिशमा प्रस्तुत मुद्दाको निर्णय सर्वोच्च अदालतबाट हेरी इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्स भई यस अदालतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र निर्णय यस प्रकार छ ।

२.    सौता दिदी ठूली नन्दकला २०१८।१।१८ मा परलोक हुनु भई निजको अंश चल अचलको नजिक हकदार म भई फैसला तथा कानुन समेतले मेरो अपुताली हक भएको विपक्ष काशीदत्त जिम्माको दिदी ठूली नन्दकलका नाउँमा ९० साल जाँचमा दर्ता भएको जग्गा मध्ये कि.नं. ३४०, ३४४, ३४९, १५३१, ५२६ मध्ये जग्गाहरुमा प्र.काशीदत्तले र कि.नं. ६१९, ७१६, ८८१, ८३८, ८४८, ८५४, ७७८, ४९७ द.नं. ४ समेत कित्ता मध्येको जग्गाहरु विपक्ष मध्येको प्र.भवानीले ०३० सालको बाली देखि हटक खिचोला गरी बाली समेत खाएको हुँदा उक्त जग्गा हक कायम सदर थामी पाउँ भन्ने समेतको सानी नन्दकलाको फिराद ।

३.    अपुताली सम्बन्धमा २०३१।८।१३ मा दिएको फिरादबाट साविक मु.ऐ. अपुतालीको २५ नं. हालको २० नं. ले इन्साफ तहकिकात गर्न मिल्दैन । अपुताली परेको मितिबाट ३ वर्ष भित्र उजूर गरी भोग चलन गर्नु पर्नेमा नभएबाट हदम्याद नाघेको फिराद लाग्नै नसक्ने, ठूली नन्दकला र म ३ पुस्ता भित्रको हकदार हुँदा स्याहार सुसार र काजक्रिया समेत मैले गरेको हुँदा ठूली नन्दकलाको सम्पत्तिमा मेरो हक हुने हो विपक्षको होइन भन्ने समेतको प्र.काशीदत्त बरालको प्रतिउत्तर जिकिर ।

४.    सौता नै सासू ठूली नन्दकला मेरो एकाघरमा नै २०१८ सालमा परलोक हुनुभएकोले काजक्रिया गरी वादी दावी समेतका ठूली नन्दकलाको अंश चल अचल समेत ०१८ सालको बाली देखि मेरो हक भई मैले नै चलन गरी आएको हुँ भन्ने समेतको प्र.भवानी पाध्यानीको प्रतिउत्तर जिकिर ।

५.    अपुतालीको १ नं. ले नन्दकलाको नजिकको हकदार वादी नै देखिन आएकोले अपुतालीबाट वादीको हक हुन आएको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेतको कास्की जि.अ.को २०३५।२।१९।१ को फैसला ।

६.    वादी दावीमा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याई गरेको शुरु अदालतको फैसला मिलेकै देखिएकोले सदर हुने ठहर्छ भन्ने समेतको गण्डकी अञ्चल अदालतको २०३७।६।१६ को फैसला ।

७.    काशीदत्त बरालले अपुतालीबाट जग्गा खाएको भन्ने जिकिर मनासिब देखिएन । भवानी र सानी नन्दकला बीच अपुतालीको प्रश्न विचारणीय छ तर काशीदत्तले अपुतालीको भनी दावी गर्न पाउने लोकसस्टान्डी देखिएन । यस स्थितिमा ग.अं.अ.को इन्साफ मनासिब छ भन्ने समेतको प.क्षे.अ.बाट मिति २०४०।११।२२ मा भएको फैसला ।

८.    कानुन प्रतिकूल भएको प.क्षे.अ.को इन्साफ नमिलेको हुनाले सर्वोच्च अदालतको नाउँमा सो फैसलाको इन्साफ जाँची न्याय गरी दिनु भन्ने हु.प्र.बक्स पाउँ भन्ने समेतको प्र.काशीदत्तले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा विशेष जाहेरी विभाग मार्फत २०४६।४।१३ मा चढाएको अ. १६३४ को विन्तिपत्रमा लेखिएको मुद्दामा न्याय मिलेको छ छैन हेरी जाहेर गर्नु भनी हु.प्र. बक्स भई विशेष जाहेरी विभाग मार्फत न्यायिक समितिमा दर्ता भएको रहेछ तत्कालिन न्यायिक समितिले चढाएको सिफारिशमा श्री ५ महाराजाधिराज सरकारबाट सर्वोच्च अदालतबाट हेरी इन्साफ जाँची कानुनबमोजिम गर्नु भन्ने हुकुमबक्स भई यस अदालतमा दर्ता हुनआएको रहेछ ।

९.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हिरा रेग्मीले विपक्षीको फिराद अपुतालीको महल बमोजिमको म्यादभित्र फिराद नपरी हदम्याद नाघेको र पृथक पृथक कित्ताको २ विषयमा दिइएको एउटै फिरादबाट अ.बं. ७२ नं. ले इन्साफ गर्न नमिल्ने हुँदा प्रस्तुत मुद्दामा इन्साफ जाँच हुनु पर्ने हो भनी गर्नु भएको बहस समेत सुनियो ।

१०.    यसमा इन्साफ जाँच हुनु पर्ने हो होइन भनी मिसिलहरु समेत अवलोकन गरी निर्णयतर्फ विचार गर्दा सौता दिदी ठूली नन्दकला २०१८।१।१८ मा परलोक भएपछि फैसला तथा कानुन समेतबाट स्यानी नन्दकलालाई अपुताली परी भोग चलन गरी आएकोमा २०३० सालमा निवेदक प्रतिवादी काशीदत्त बराल समेतले जग्गामा खिचोला गर्न आएपछि मात्र प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ । खिचोला भएपछि फिराद परेको र प्रतिवादीको नाउँमा विवादित जग्गा दर्ता भएको समेत नदेखिएको अवस्थामा अपुतालीको हदम्याद भित्र फिराद नपरेको भन्न मिलेन । मेरो पिताजीको दर्ता मेरो हकको ४ गरे भन्ने गरा समेतको जग्गा हराई दियो भन्ने निवेदन जिकिर भए तापनि उक्त जग्गाको सम्बन्धमा शुरु कास्की जिल्ला अदालतले गरेको निर्णयलाई खण्डन हुने प्रमाण निवेदक प्रतिवादीले पेश गर्न सकेको देखिएन । यसरी नक्शा र सबूद प्रमाणहरु समेत मूल्यांकन गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर कायम हुने ठहर्छ । इन्साफ जाँचको लागि आई हेरिएबाट केही गर्नु परेन । फाइल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इति सम्वत् २०४९ साल फाल्गुण २५ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु