शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १६२० - जग्गा खिचोला

भाग: २५ साल: २०४० महिना: जेष्ठ अंक:

निर्णय नं. १६२०     ने.का.प. २०४० अङ्क २

 

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.फु.नं. ४२

फैसला भएको मिति : ०४०।१।१६।६ मा

निवेदक/वादी : जि.पर्सा वीरगञ्ज नगरपञ्चायत वडा नं.३ को हाल वार्ड नं.४ वीरगञ्ज विर्ता   बजार बस्ने मनलक्ष्मी ठकुरी

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.वार्ड नं.३ बस्ने गोविन्दबहादुर घर्ती

मुद्दा : जग्गा खिचोला

(१)                मिलापत्रको विवाद समाप्त भइसकेको स्थितिमा सद्दे कीर्तेतर्फ निर्णय गर्नुपर्ने भनी मध्यमाञ्चल क्षेत्रीयअदालतको फैसलालाई सदर गर्ने गरी डिभिजनबेञ्चबाट भएको फैसला मिलेको नदेखिने ।

(प्रकरण नं. २३)

निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

फैसला

प्र.न्या.नयनबहादुर खत्री

१.     प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३७।१।१५।१ मा भएको निर्णय दोहोर्‍याई पाउँ भन्ने निवेदकको न्यायिक समितिमा निवेदन परी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवार मार्फत जाहेर हुँदा नेपालको संविधाको धारा ७२(ख) बमोजिम दोहोर्‍याई दिनु भन्ने भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

२.    तथ्य यस प्रकार छ : श्री रानी सुभकुमारी देवीले छोरीको छोरा मेरो पति हंसबहादुरलाई आफ्नो जग्गा जिमिदारी विर्ता घर र अरू श्रीसम्पत्ति गैह्र १९९६ साल बैशाख २५।१ मा शेषपछिको बकसपत्र लेखी दिनुभएको मध्ये चल जति खुस गर्न पाउने र अचल जति जिउँता भर सम्म खान पाउने गरी २०००।११।१५।१ मा खड्गनिशानाबाट मोहनकुमारीको जिम्मा रहेकोमा वीरगञ्ज विर्ता बजारमा बनेको १ तल्ले २ नाले घर वरपर देखि उत्तर कुमाल टोल जाने देखि दक्षिणकुमारी थान र इनार देखि पूर्व बगैंचा समेत भएको जग्गा बिगाहा २द्र३ समेत हंसबहादुरलाई फिर्ता दिन पाउँ भनी मोहनकुमारीले विन्तिपत्र चढाउँदा फिर्ता पाएको जग्गा, घर नन्द झलक राजेश्वरीदेवीलाई ०२२।३।३।५ मा झलक राजेश्वरीदेवीले जग्गा बिगाहा द्र।।१ आफूलाई राखी बाँकी जग्गा १।।१ र सो जग्गामा भएको घरहरू मलाई २०२३।४।३१ मा बकस लेखी दिनुभयो बकस बमोजिम (साविक पेज नं. ३३) वीरगञ्ज गहवा विर्तामा भएको कुमाल टोल सडक देखि दक्षिणकुमारी थान र इनारा गोविन्दको घर देखि पूर्व नगवा जाने बाटो र पर्खाल देखि उत्तरका घरहरू समेतको बिगाहा १।।२ भोगी आएकोमा २०२३ आश्विनमा विपक्ष कृष्णदासको जग्गा बिगाहा १।।२ मध्ये उत्तर पश्चिमको मोल रू.३०००। जाने जग्गा कठ्ठा द्र३ मा घेरी राखेको तार उठाई खिचोला गरेको र पश्चिम तर्फ इनार देखी दक्षिणकुमारी थान देखि उत्तर गोविन्दबहादुरले भा.रु.१०००। जाने जग्गा कठ्ठा द्र१ र विपक्षी मुकुन्दप्रसादले मोल रू.३५०। जाने जग्गा धुर । र सुवेदार केशरनाथ उपाध्यायले मोल रू.४००। जाने जग्गा धुर द्र।३ समेत थामी खिचोला गरेकोले विपक्षीहरूको प्रमाण खिची बदर गर्न पर्ने जति बदर गरी जम्मा मोल रू.४,७५०। जाने जग्गामा लगाएको टण्टा छुट्याई चलन चलाई पाउँ भन्ने समेत वादी ।

३.    वादीको लाग्नेले हंसबहादुरलाई जग्गा कठ्ठा द्र१ मा मुकुन्दप्रसादलाई ।२ केशवनाथलाई ।३ जग्गामा खिचोला गर्‍यो भनी मुद्दा दिई वादीले तारेख गुजारे पछि ०२४।८।६ मा डिसमिस फैसला भएको अब फेरि सोही जग्गामा स्वास्नी यी वादीले दायर गरेकोले खारेज गरिपाउँ लोग्नेले शुभकुमारीको बकसपत्र पाएपछि रोक्का फुकुवा पाएको जग्गा हामीले चापेको छैन हंसबहादुरले फुकुवा बमोजिम किल्ला भन्दा बढाई बिक्री बकसपत्र समेत दिन नहुनेमा झलक राजेश्वरीले मनलक्ष्मीलाई बकस दिँदा गोविन्देको घर देखि पूर्व भन्ने पश्चिम तर्फ फुकुवामा समेत नलेखिएकोले नयाँ किल्ला लेखिदिन अधिकार नभएको समेत गोविन्दबहादुर, मुकुन्द, केशवनाथ समेतको प्रतिउत्तर ।

४.    रानी शुभकुमारी, मोहनकुमारी एउटै अंशको अंशियार सौतासौता भएको दरवारदेखी उत्तर पूर्व पश्चिम लाइन लगाई साझी बाटो देखि पूर्वको जग्गा शुभकुमारीको पश्चिमको मोहनकुमारीको भागको जग्गामा इनार उत्तर पश्चिमको कुनामा मोहनकुमारीले पिपलको बोट रोपी राखेको गाँछी सो उत्तर आमाको गाँछी सो पश्चिम विर्ता बजार जाने सडक से पूर्वकुमार टोल जाने सडक से दक्षिणको जग्गा कठ्ठा द्र३ साल २०२०।१२।११।३ गते मोहनकुमारीबाट बकस पाई बकसपत्र लेखी दिई जिमिदार पटवारीले पूर्जि दिएकोले भोग गरी आएको छु भन्ने समेत कृष्णदासको प्रतिउत्तर ।

५.    वादीले मेरो लोग्ने केशवनाथका नाउँमा मेरो दर्ताको जग्गालाई खिचोला गर्‍यो भनी फिराद दिनुभएकोमा लोग्नेले प्रतिउत्तर फिराउनु भइसकेकोले मेरो हकको जग्गालाई वादीले झुठ्ठा उजूर गरेको भन्ने समेत इन्द्रदेवीको बयान ।

६.    वादीले मेरो लोग्ने मुकुन्दप्रसादका नाउँमा फिराद दिनुभएकोमा प्रतिउत्तर फिराउनुभएकोले हकको जग्गालाई वादीले झुठ्ठा दावी गरेको भन्ने समेत मुकुन्दप्रसादको बयान ।

७.    खिचोला गरे भन्ने वादी दावी हुँदा फिराद खारेज हुने ठहर्छ भन्ने समेत पर्सा जिल्ला अदालतको फैसला ।

८.    सो फैसलामा चित्त बुझेन भन्ने वादीको पुनरावेदन पत्र ।

९.    तार लगायो भनी कृष्णदासलाई मात्र प्रतिवादी बनाएको देखिएको हाल यो फिरादमा प्रतिवादी कृष्णदास समेत ४ जना देखाएको मनलक्ष्मीले चढाएको निवेदन सनाखत भए गरेको नदेखिनाले खारेज (साविक पेज नं. ३४) गरेको मिलेन । इन्साफ गर्नु भन्ने समेत नारायणी अञ्चल अदालतको फैसला ।

१०.    नारायणी अञ्चल अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत कृष्णदासको पुनरावेदन ।

११.    वादीको लोग्ने हंसबहादुरले प्रतिवादी उपर दावी गरेको जग्गा जुन हो हाल वादीले दावी गरेको जग्गा सोही नै हो भन्ने नदेखिएकोले ठहर फैसला गर्नु भनी नारायणी अञ्चल अदालतको निर्णय मनासिव ठहर्छ भन्ने सर्वोच्च अदालतको फैसला ।

१२.   हक नपुग्नेबाट गराई लिएको बकसपत्रले जग्गा द्र३ मेरो भन्ने प्रतिवादी कृष्णदासको जिकिर पुग्न नसकी वादीको हक ठहर्छ हाल नाप नक्साबाट केशवनाथको ०।४ मुकुन्दको ०।२।। गोविन्दबहादुरको ०।।२।। जग्गा दर्ता भन्दा पश्चिममा झगडा जनाउको देखिएको वादीको बकसपत्रको १।।२ जग्गा नपुगी कम हुन आउने भई साँध मिलेको भनी प्रतिवादीले आफ्नो दर्ता भन्दा दावीको हकको जग्गा चापी खिचोला गरेको वादीलाई सघाई चलन चलाई दिन पर्ने समेत ठहर्छ भन्ने पर्सा जिल्ला अदालतको फैसला ।

१३.   पर्सा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत कृष्णदासको पुनरावेदन ।

१४.   रानी सुभकुमारीले हंसबहादुरलाई १९९६ सालमा शेषपछिको बकसपत्र लेखिएको सो सम्पत्ति खड्ग निसानाबाट २०००।११।१५ मा मोहनकुमारीको जिम्मा रहेको सोही जिम्मा रहेको सम्पत्ति हंसबहादुरलाई फिर्ता दिनलाई मोहनकुमारी देवीले ०२०।४।३१ गते निवेदन चढाई ०२०।८।२७ गते हुकुम प्रमांगीबाट वीरगञ्ज विर्ताको घर जग्गा २द्र३ फिर्ता पाएको निज हंसबहादुरले झलक राजेश्वरीलाई राजीनामा गरेको झलक राजेश्वरीको जग्गा द्र।।१ आफूलाई राखी १।।२ जग्गा ०२३।४।३१ गते मनलक्ष्मीलाई बकसपत्र लेखी दिएको जग्गा वीरगञ्जको घर कम्पाउण्डमा हक नभएको व्यक्तिबाट कृष्णदासले बकस लिएको कानुनसंगत देखिन नआएकोले उक्त जग्गा कठ्ठा द्र३ मा प्र.कृष्णदासको जिकिर पुग्न नसक्ने र केशवनाथ, मुकुन्द, गोविन्दको दर्ता भन्दा बढी वादीको हकको जग्गा चापी खिचोला ठहर्‍याएको पर्सा जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने नारायणी अञ्चल अदालतको फैसला ।

 

१५.   उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमती पाउँ भनी कृष्णदासको निवेदन मध्यमाञ्चल क्षेत्रीय अदालतमा परी पुनरावेदनको अनुमति पाएको ।

१६.    वादी प्रतिवादीहरूको लिखितबाट जग्गामा हक भएको भनेका लिखतहरू नै जालसाजी भनी बयान गराएको पछि मुख नमिलेका विवादास्पद कुरामा अ.बं.७८ नं.बमोजिम कार्यविधि अपनाई उक्त लिखतलाई सद्दे कीर्ते जालसाजी के भन्छ, त्यस तर्फ पनि कारवाही गरी ठहर गर्नुपर्नेमा जालसाजी तर्फ केही नबोलेको र खिचोला तर्फ मात्र निर्णय गरेको पर्सा जिल्ला अदालतको फैसला सदर गरी भएको नारायणी अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि देखिएकोले बदर हुने ठहर्छ। अब जे जो बुझ्नु पर्ने बुझी खिचोला तर्फ र जालसाजी तर्फ समेत एकै पटक निर्णय गर्नु भनी रुजु रहेका पक्ष विपक्षलाई पर्सा जिल्ला अदालतमा हाजिर हुन जानु भनी तारेख पठाई दिनु भन्ने म.क्षेत्रीय अदालतको फैसला । (साविक पेज नं. ३५)

१७.   मध्माञ्चल क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटिपूर्ण भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन पत्र ।

१८.   पास भएको लिखतहरूमा कुनै पक्षबाट कुनै किसिमको विवाद रहेको र नारायणी अञ्चल अदालत तहसम्म जालसाजी तर्फ कुनै दावी जिकिर नभएको हुँदा जालसाजी तर्फ केही नबोली खिचोला तर्फ निर्णय भएको हो । वादी वा प्रतिवादीको जिकिरै नभएकोमा अञ्चल अदालतले जालसाजी तर्फ पनि निर्णय गर्नुपर्ने पनि आधार लिई मध्यमाञ्चल क्षेत्रीय अदालतले नारायणी अञ्चल अदालतले फैसला बदर गर्ने गरेको फैसला सर्वोच्च अदालतद्वारा गोपी शाह तेली सु.भुपाल सिंह प्रधान (२०३१ ने.का.प.६२) भएको दे.फू.नं.८६ को मुद्दामा प्रतिपादीत सिद्धान्त समेतको विपरीत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी मनलक्ष्मीको निवेदन ।

१९.    यसमा पक्षहरूले जुन लिखतबाट जग्गामा हक भएको भनेका छन् ती लिखतहरू मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नं.अनुसार सद्दे कीर्तेमा सुनाउने कारवाही गरे पछि ठहर गर्नुपर्नेमा नगरी गरेको फैसला कानुनी त्रुटिपूर्ण देखिन्छ र त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा गम्भीर कानुनी त्रुटि भएको देखिँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने स.अ.डिभिजनेञ्चको २०३५।३।१ को आदेश ।

२०.   पुनरावेदन जिकिर बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला बदर गर्नुपर्ने हो होइन सो तर्फ विचार गर्नु परेको छ । यसमा मुलुकी ऐन अ.बं.७८ नं.अनुसार सद्दे कीर्तेमा पक्ष विपक्षको बयान समेत गराई त्यसमा निर्णय नगरी जग्गा खिचोला गरेको ठहर्छ भनी जग्गा खिचोला तर्फ मात्र निर्णय गरेको नारायणी अञ्चल अदालतको फैसला मिलेको नदेखिनाले जग्गा खिचोलाको साथ साथै कीर्ते जालसाज समेतमा निर्णय गर्नुपर्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ पक्ष विपक्षहरूलाई तारेख तोकी पर्सा जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत ०३७।१।१५।१ को डिभिजनबेञ्चको फैसला ।

२१.   निवेदक वादी मनलक्ष्मी ठकुरी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले कृष्णदास डंगोलको हकमा मिलापत्र भई विवाद टुंगिसकेकोमा फेरि जालसाजी तर्फ निर्णय गर्न पठाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयलाई सदर गर्ने गरी यस अदालत डिभिजनबेञ्चको मिति ०३७।१।१५।१ को फैसला मिलेको छैन र प्रतिवादी गोविन्द बहादुरको हकमा १७।। साडे सत्र धुर दावी गरेकोमा ७ धुर मात्र निजको देखिन आउने द्र।।.।। धुर निजले खिचोला गरेको ठहर्छ भन्ने अञ्चल अदालतले गरेको निर्णय सदर हुन पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

२२.   यसमा मिति ०३७।१।१५।१ मा यस अदालत डिभिजनबेञ्चबाट भएको फैसला हेर्दा यसमा मुलुकी ऐन अ.बं.७८ नं.अनुसार सद्दे कीर्तेमा पक्ष विपक्षको बयान समेत गराई त्यसमा निर्णय समेत नगरी जग्गा खिचोला गरेको ठहर्छ भनी जग्गा खिचोला तर्फ मात्र गरेको निर्णय नारायणी अञ्चल अदालतको फैसला मिलेको नदेखिनाले जग्गा खिचोलाको साथ साथै कीर्ते जालसाजी समेतमा निर्णय गर्नुपर्नेमा म.क्षेत्रीय (साविक पेज नं. ३६) अदालतबाट भएको इन्साफ मनासिव देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ ।

२३.   क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएको जालसाजी तर्फ पनि निर्णय गर्नुपर्ने भन्ने उल्लेख भएकोलाई उपरोक्त फैसलाबाट सदर गरेको हकमा हेर्दा सद्दे कीर्ते तर्फको विवाद बयान गर्ने वादी मनलक्ष्मी ठकुरी र प्रतिवादी मध्येका कुष्णदास डंगोल बीच रहेको देखिन आउँछ । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न पाउने गरी अनुमति भएपछि कारवाही हुँदा वादी मनलक्ष्मी ठकुरी प्रतिवादी कृष्णदास डंगोलका बीच २०३६।३।२४।१ मा मिलापत्र भएको देखिन आउँछ । सो मिलापत्रको आदेशमा मिलापत्र भएकोले प्र.गोविन्दबहादुर घर्तिको हकमा निर्णय गर्न बाँकी हुँदा मिलापत्र गर्नको हकमा लगत कट्टा गर्नु हाल दायरी दे.पु.नं.८८ को लगत काटी प्रतिवादी गोविन्दबहादुरको हकमा निर्णय गर्न देवानी पुनरावेदनको लगतमा दर्ता गरी पेश गर्नु भन्ने उल्लेख भएको समेतबाट वादी मनलक्ष्मी ठकुरी र प्रतिवादी कृष्णदास डंगोलका बीचको विवाद समाप्त भइसकेको स्थिति देखिन आउँछ । यस्तो अवस्थामा सोही सद्दे कीर्ते तर्फ निर्णय गर्नुपर्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई सदर गर्ने गरी यस अदालत डिभिजनबेञ्चबाट मिति ०३७।१।१५।१ मा भएको फैसला मिलेको देखिएन । मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

हामीहरूको सहमति छ ।

 

न्या.धनेन्द्रबहादुर सिंह

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल बैशाख १६ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु